दमक/ नेकपा एमालेको आसन्न ११ औं महाधिवेशनमा पार्टी सचिवका लागि अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापाबाटै दुई जनाले आफ्नो दाबेदारी कार्यकर्ताहरुमाझ प्रस्तुत गरेका छन् ।
एमाले पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री देवेन्द्र दाहाल र स्थायी कमिटी सदस्य एवं कोशी प्रदेशका बहालवाला मुख्यमन्त्री समेत रहेका हिक्मत कुमार कार्कीले सचिव पदमा आआफ्नो दाबी प्रस्तुत गरेका हुन् ।
अध्यक्ष ओलीको आफ्नै गृह जिल्ला त्यो पनि ओली आफैं प्रतिनिधि सभामा निर्वाचित हुँदै आएको भुगोल ( झापा क्षेत्र नं ५ ) बाट एकै पदमा दुई जना हाइप्रोफाइलले दाबी प्रस्तुत गरेसँगै ओलीमाथि दबाब सिर्जना भएको एमालेजनहरुले अड्कलबाजी गर्न थालेका छन् ।
भदौ २३ र २४ गतेको घटना अघिसम्म दाहाल नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको रूपमा कार्यरत थिए । कुशल संगठकको रूपमा लामो समय जिल्ला राजनीतिमा बिताएका उनी पार्टी भित्रको र लाभको पद ढिलो मात्र पाउने नेताको रूपमा चिनिन्छन्। जीवनशैलीमा सरलता र कार्यशैलीमा दृढता उनको परिचायक पनि हो ।
को हुन् दाहाल ?
राजनीतिक क्षेत्रमा परिचित एमाले झापाको भुगोलमा बसेर पार्टीको जिल्ला कमिटी सचिवालय सदस्यदेखि सचिवका रुपमा झण्डै १५ बर्ष बिताएर केन्द्रिय राजनीतिमा अघि लम्किएका दाहालले यो क्षेत्रमा पार्टी अध्यक्ष ओलीको निर्वाचन क्षेत्रमा निर्वाचन परिचालन मूल कमिटी संयोजकका रुपमा पनि जिम्मेवारी निर्वाह गरेबाट उनी अध्यक्ष ओलीका विश्वास पात्र भएको बुझ्न गाह्रो छैन ।

पञ्चायती निरङ्कुशताको जगजगी भइरहेको बेला त्यसको विरुद्ध २०३६ सालमा उठेको विद्यार्थी आन्दोलनबाट प्रभावित भएर किशोरावस्था देखि नै कम्युनिस्ट पार्टीको राजनीतिमा उदाएका दाहाल २०४५ साल देखि तत्कालीन नेकपा मालेको झापा जिल्ला कमिटीमा आबद्ध भए भने सोही बेलादेखि २०५१ सालसम्म नेकपा मालेदेखि एमालेसम्मको जिल्ला कमिटी सचिवालयको जिम्मेवारीमा काम गरेका नेता हुन् ।
२०५१ देखि २०५३ सम्म जिल्ला उपसचिव रहेका दाहाल २०५३ जेठ २३ गते देखि २०६६ साल भदौ २७ गतेसम्म एमाले झापाको नेतृत्व सम्हालेका उनले लगातार करीब १३ वर्ष झापा एमालेको नेतृत्व गरिसकेका छन् ।
स्थानीय तहको निर्वाचन २०५४, २०५६ सालको आम निर्वाचनको कमाण्ड सम्हालेका उनको कमाण्डमा नै केपी शर्मा ओली, आरके मैनाली र सिपी मैनालीहरू झापा जिल्लाबाट निर्वाचित भएर सरकारको बागडोर सम्हाल्न सफल भए । तर दाहाल २०६४ सालको संविधानसभा निर्वाचनमा उम्मेद्वारमै सिमित भएका थिए ।
पार्टीको सङ्घीय संरचना बन्दा प्रदेश कमिटी सदस्य हुँदै २०७५ जेठ ३ पछि केन्द्रीय सदस्यको रूपमा उनले आफूलाई स्थापित गरे र २०७८ मङ्सिरमा चितवनमा भएको नेकपा एमालेका दशौं राष्ट्रिय महाधिवेशनबाट पार्टीको पोलिटब्युरो सदस्य निर्वाचित भएका थिए ।
पूर्णकालिन राजनीतिमा लागेका उनी राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुँदै सोही सभामा दलको नेताका रुपमा रहेका दाहाल ०८१ असार ३१ देखि ०८२ भाद्र २४ सम्म भौतिक पूर्वाधार तथा यातायात मन्त्री बने । उनको छोटो मन्त्री कालमा समेत उल्लेखनीय कामका नतिजाहरू देखाउन सफल भएका निकटस्थ एमाले कार्यकर्ताहरुको बुझाई छ ।
राष्टिय सभाको सांसदको रूपमा ६ वर्षे कालकालको उत्तरार्धमा पुग्नु भएका दाहालको भूमिकालाई सशक्त रुपमा लिइन्छ । नेकपा एमालेको प्रमुख सचेतक हुँदै संसदीय दलको नेता तथा मन्त्री समेत भई सकेका नेता दाहालको अहिले पार्टीको सचिव पदको उम्मेदवारीलाई स्वभाविक रुपमा कार्यकर्ताहरुले लिदँै उनको पक्षमा खुलेर लागिरहेका बताइएको छ ।

 

Facebook Comments Box