यही मंसिर २७ गतेदेखि हुन लागेको नेकपा एमालेको एघारौँ महाधिवेशनमा उपाध्यक्षका लागि उम्मेदवारी दिन तयार भीमप्रसाद आचार्य पोखरा विमानस्थलमा भएको भ्रष्टाचारका मुख्य प्रतिवादी बनेका छन्। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको भ्रष्टाचारमा उनको मुख्य संलग्नता रहेको ठहरसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित अन्य मन्त्री र कर्मचारीविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा चलाएको छ ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार मुद्दामा नेकपा (एमाले) का नेता एवम् पूर्वपर्यटनमन्त्री आचार्यलाई मुख्य प्रतिवादी बनाउँदै विशेष अदालतमा आरोपपत्र दायर गरेपछि उनी उपाध्यक्षमा उठ्ने सम्भावना पनि करिब सकिएको छ ।
सरकारवादी फौजदारी मुद्दा भएका कारण उनी एमालेबाट निलम्बित हुन सक्छन् । यसअघि एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध नक्कली भुटानी शरणार्थी प्रकरणमा मुद्दा चलेको थियो । त्यसयता उनी एमालेबाट निलम्बित अवस्थामा छन् ।
आचार्य यसपटक अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट उपाध्यक्षमा उम्मेदवारी दिने तयारीमा थिए । उनी कोशी प्रदेशका पूर्वमुख्यमन्त्री समेत हुन् । उनी २०७९ को चुनावमा सुनसरी क्षेत्र नम्बर ३ बाट विजयी भएका थिए ।
आचार्यले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री र नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिको अध्यक्ष रहँदा (२०७० पुस–फागुन) सार्वजनिक खरिद ऐनको ठाडै उल्लंघन गरी चिनियाँ कम्पनी चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडलाई अस्वाभाविक मूल्यमा ठेक्का दिने निर्णयमा निर्णायक भूमिका खेलेको अख्तियारको ठहर छ।