दमक ७ का ज्येष्ठहरुलाई स्वास्थ्य जाँचसहित सम्मान, प्रतिष्ठानको साधारण सभा (फोटो फिचरसहित)

दमक/ दमक नगरपालिका वडा नं ७ को वडा कार्यालयले ८० बर्षमाथिका ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण , निशुल्क औषधि वितरण लगायतका सेवामुलक कार्यक्रमसहित सम्मान कार्यक्रम गरेको छ ।
ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपाल दमक ७ वडा समितिको साधारण सभामानै वडा कार्यालयले वडा भित्रका ८० बर्षमाथिका ज्येष्ठलाई सम्मानसहित स्वास्थ्य सेवा प्रदान गरेको हो ।
वडाध्यक्ष भिमप्रसाद पौडेलको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा उनले स्थानीय सरकार सबै वडाबासीप्रति उत्तरदायी रहेको बताए ।
ज्येष्ठ, युवा, बालबालिका, महिला अपाङगता भएका सबै नागरिकहरुलाई लक्षित गरेर वडाले विभिन्न कार्यक्रमहरु ल्याइरहेको बताउँदै वडाध्यक्ष पौडेलले दमकबासी नागरिकहरुको सेवानै आफ्नो मुख्य लक्ष्य रहेको बताए ।


ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान दमक ७ का अध्यक्ष इन्द्रप्रसाद रेग्मीको अध्यक्षतामा सञ्चालन भएको सो कार्यक्रममा वडास्थित नगर स्वास्थ्य केन्द्रका प्रमुख नगेन्द्र भट्टराई, वडासदस्य अतित वान्तवा राई , प्रतिष्ठानका केन्द्रिय अध्यक्ष दुर्गा पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए भने स्वागत मन्तव्य प्रतिष्ठानकी अम्बिका चापागाइँ (पौडेल)ले राखेकी थिइन् ।


सो अवसरमा लाइफलाइन अस्पताल दमक, थुलुङ डेन्टल, विर्ताज्योती आँखा अस्पताल दमकले बिषयगत स्वास्थ्य सेवा प्रदान गरेका वडासचिव योगेश भट्टराईले जानकारी दिए ।
सो अवसरमा वडा भित्रका ८० बर्षमाथिको ८५ जना लाई सम्मान गरिएको थियो भने कार्यक्रममा वडा सदस्य इन्दु पौडेल, मानबहादुर खवास, तारादेवी रणपहेंली, ज्येष्ठ नागरिक प्रतिष्ठानकी केन्द्रिय सदस्य गायत्रा लामिछाने, लाइफलाइन अस्पतालका डा. मनोज शाह, थुलुङ डेन्टलकी डा. सोफिया थुलुङ, राप्रपाका वडा समिति अध्यक्ष विक्रम सुब्बा लगायत विभिन्न राजनीतिक दल, टोल बिकास संस्थाहरु तथा ज्येष्ठ नागरिकहरुको विशेष उपस्थिती रहेको थियो । शिविरमा १ सय ५० जना भन्दा बढीले विभिन्न किसिमका स्वास्थ्य जाँच सेवा लिएका थिए ।

सो कार्यक्रममा होलसेल व्यवसायी संघ दमकले ज्येष्ठहरुलाई टोपी र जुत्ता सम्मान स्वरुप प्रदान गरेको थियो भने औषधिमा सहयोग महावीर फार्मेसी दमक, देउराली जन्ता फर्मासिटिकल्स काठमाडौ र प्राइम फम्र्युसिटिकल्स विरगन्जले सहयोग गरेका थिए । कार्यक्रमको सञ्चालन रिङकुमार आचार्यले गरेका थिए ।

तेस्रो कार्यकालका लागि एमाले अध्यक्षमा ओली निर्वाचित

दमक/ नेकपा एमालेको ११औँ महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै बिहीबार सम्पन्न भएको छ । शनिबार भक्तपुरमा उदघाटन भएको महाधिवेशनको बन्द सत्र आइतबारदेखि काठमाडौँको भृकुटीमण्डपमा सञ्चालन भएको थियो ।
महाधिवेशनबाट एमाले अध्यक्षमा तेस्रो कार्यकालका लागि केपी शर्मा ओली निर्वाचित भएका छन् । उनले १ हजार ६६३ मत पाए भने प्रतिस्पर्धी ईश्वर पोखरेलले ५६४ मत पाएका छन् । एमाले एघारौँ महाधिवेशनबाट पदाधिकारीसहित ३०१ जना केन्द्रिय नेता निर्वाचित भएका छन् । जसमध्ये ओलीले निर्वाचन लड्दै आएको भुगोल झापा क्षेत्र नं ५ का मात्रै एक सचिवसहित एक दर्जन नेता छन् । त्यस्तै, उपाध्यक्षमा विष्णुप्रसाद पौडेल, रामबहादुर थापा ‘बादल’, पृथ्वी सुब्बा गुरुङ, गोकर्ण विष्ट र रघुजी पन्त निर्वाचित भएका छन्।
महासचिवमा शंकर पोखरेल पनि दोश्रो कार्यकालका लागि निर्वाचित भएका छन् । पोखरेलले १ हजार २२८ मत पाए भने प्रतिस्पर्धी सुरेन्द्र पाण्डेले ९९९ मत पाएका थिए ।
यसैगरी, उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई निर्वाचित भएका छन्। ।
यस्तै सचिवमा खगराज अधिकारी, छविलाल विश्वकर्मा, पद्मा अर्याल, भानुभक्त ढकाल, महेश बस्नेत, राजन भट्टराई, शेरधन राई र हिक्मतकुमार कार्की निर्वाचित भएका छन्।् । सचिवमा निर्वाचित कार्की ओलीको निर्वाचन क्षेत्र अन्तर्गतका हुन् । उनी कोशी प्रदेश सरकारका मुख्यमन्त्री समेत छन् ।
यससँगै एमालेको महाधिवेशनले केन्द्रीय अनुशासन आयोग र केन्द्रीय लेखा आयोगका पदाधिकारी र सदस्य पनि निर्वाचित गरेको छ ।
केन्द्रिय समितिमा निर्वाचित केन्द्रीय सदस्यहरुमा देवेन्द्र दाहाल (दमक) , गीता अधिकारी ( दमक) , इन्द्र भण्डारी (दमक) दिपक कार्की, (गौरादह) गोविन्द थापा (दमक) होमबहादुर थापा (दमक) मेनुका काफ्ले, (कमल) रोमनाथ ओली (कमल) र जलबर्षा राजवंशी (गौरादह) रहेका छन् । ओलीको गृह जिल्लाका र ओली निकट रहेका तर यसपटक इश्वर पोखरेलको कित्तामा पुगेका सचिव पदका उम्मेदवार नेता अग्नी खरेल झिनो मतान्तरले पराजित हुन पुगेका छन् ।

दमकमा ख्रीष्टमस उत्सव- शुभकामना आदनप्रदान , गायक ताजपुरीयालाई सम्मान

दमक/ इसाइ धर्मावलम्बीहरुले येशु ख्रीष्टको जन्म अर्थात वडा दिनको अवसर पारेर ख्रीष्टमस उत्सव विशेष कार्यक्रमको शुरुवात गरेका छन् । दमकमा रहेका इसाई धर्मावलम्बीहरुको साझा संस्था दमक नगर इसाई समाजको आयोजनामा यस अवसरमा बुधबार दमकस्थित गोरखा डिपार्टमेन्टको प्राङगणमा धार्मीक प्रवचतसहित शुभकामना आदानप्रदान, साँगितीक तथा साँस्कृतिक र सम्मान कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा पुराना लोकगायक सिताराम ताजपुरियालाई सम्मान गरिएको छ ।

रेडियो नेपालमा ३४ वर्ष लामोसमय सेवागरी हाल सेवानिवृत जीवन बिताइरहेको पुराना लोकगायक ताजपुरियालाई दमक नगरपालिकाकी उपप्रमुमख तथा कार्यक्रमकी प्रमुख अतिथी रेगिना भट्टराई प्रसाई, कार्यक्रमका अध्यक्ष पाष्टर हेमन्त सुब्बा, कार्यक्रम संयोजक पारष्ट आकाश थुलुङ राईले दोसल्ला ओढाएर नगद १५ हजार रुँपैयासहित सम्मान“पत्र द्धारा सम्मान गरेका हुन् ।
६७ बर्षीय गायक ताजपुरीया २०४२ सालमा रेडियो नेपालमा प्रवेश गरेका हुन । ताजपुरियाका दर्जनौ लोकगीतहरु रेर्कड भएका छन । त्यसमध्ये गौरादहको बजारैमा माया हाम्रो बस्यो …….गीत अहिले सम्म कालजयी बनेर गुञ्जीरहेको छ ।

सो कार्यक्रममा गायक पाष्टर आमोस गजमेर, गायक पिन्हास रसाइली लगायतले येशु ख्रीष्टको महिमासहितका गीतहरु प्रस्तुत गरेर मनोरञ्जन दिलाएका थिए भने स्थानीय चर्च मण्डलीहरुमा आवद्ध कलाकारहरुले पनि जातीय साँस्कृतिक र पंरम्परागत भेषभूषासहितका नृत्य प्रस्तुत गरेका थिए ।

दमक नगर इसाई समाजका अध्यक्ष पाष्टर हेमन्त सुब्बाको अध्यक्षतामा र दमक नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उपप्रमुख भट्टराईले आध्यात्मिक चिन्तनले मानिसले अनुशासनमा राख्ने र अनुशासित नागरिकहरुको सभ्य समाज निर्माण हुने भएकाले जुनसुकै धर्मप्रति आस्थावान नागरिकहरु राज्यका निम्ती बराबर हुने उल्लेख गरिन् ।


पोखराबाट दमकमा ख्रीष्टमस मनाउन आएका इसाई धर्मावलम्वीका अगुवा रेभ डाक्टर शामुएल संग्राम राई प्रमुख बक्तासमेत रहेका थिए । रेड डाक्टर राईले ख्रीष्टमसका विषयमा बिचारहरु राखेका थिए ।
नयाँ दिल्ली भारतबाट बाइबलमा स्नातक, बेलायतबाट पाष्टरीय शास्त्र र इन्डोनेशियाबाट डाक्टररेट हासिल गरेका रेड डा.राईले येशूख्रीष्टको सम्मान र आराधना गर्नुका महत्वका बारेमा प्रष्ट पारेका थिए ।
पाष्टर दावा शेर्पाले प्रार्थनागरी सञ्चालन भएको कार्यक्रममा दमक नगर इसाई समाजका उपाध्यक्ष पाष्टर राम राईले शब्दद्धारा स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रममा जीवन चक्र समाज नेपालका अध्यक्ष गणेशप्रसाद गौतम, दमक उद्योग बाणिज्य संघका अध्यक्ष देबीप्रसाद (गोपाल) गुरागाई, दमक नगर इसाई समाजका पूर्व अध्यक्षसमेत रहनुभएका अन्तर धार्मीक शान्ति सञ्जाल झापाका अध्यक्ष पाष्टर राजकुमार नाछिरिङ राई, दमक नगर इसाई समाजका पूर्व अध्यक्ष तथा कार्यक्रम संयोजक पाष्टर आकाश थुलुङ राईले शुभकामना मन्तब्य राखेका थिए ।
दमक नगर इसाई समाजका सचिव पाष्टर अजय पाठक र पूर्व सचिव पाष्टर कुमार तामाङले सञ्चालन गरेका कार्यक्रममा पाष्टर डिके बेघा, पाष्टर युवराज गजमेर, पाष्टर सन्ताष रणपहेली, दिदीबहिनी समुहकी अध्यक्ष पारु खापुङ राई लगायत सहभागी थिए ।

वाणिज्य संघको व्यवसायी हितकोष मार्फत ६ लाख ३९ हजार राहत

दमक/ झापाको दमकका उद्यमी, व्यवसायीहरुको साझा संस्था दमक उद्योग वाणिज्य संघमा रहेको व्यवसायी हितकोष मार्फत एक बर्षको अवधिमा कूल २० जना व्यवसायीहरुलाई नगद ६ लाख ३९ हजार २ सय ५० रुपैयाँ राहत सहयोग प्रदान गरिएको छ ।
दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाइँका अनुसार गत आर्थिक बर्ष २०८१/०८२ मा मात्रै सो कोषबाट हित कोषबाट राहत प्रदान गर्ने सम्बन्धिको कार्यविधि अनुसार एक जना प्रोप्राइटरको निधन भएकाले एक लाख रुपैयाँ र अन्य  प्रोप्राइटरको परिवारमा शोक परेकाले प्रति परिवार नगद २५ हजार रुपैयाँका दरले सो राहत रकम प्रदान गरिएको हो ।
संघका अनुसार दमक ३ स्थित लक्ष्मी ट्रेडर्सका प्रोप्राइटर मिश्रीलाल साहको निधनमा उनको परिवारलाई हितकोषबाट नियमानुसार एक लाख रुपैयाँ प्रदान गरिएको थियो ।
संघले व्यवसायी हितकोषमा आवद्ध व्यवसायीक फर्मका प्रोेप्राइटर स्वयंको निधनमा एक लाख रुपैयाँ राहत प्रदान गर्ने गरेको छ भने प्रोप्राइटरको एकाघरमा कसैको निधन भएको अवस्थामा नगद २५ हजार रुपैयाँसहित परिवारमा संघको तर्फबाट भेट गरी शोक सभा गर्दै आएको छ ।
त्यसैगरी सो कोषबाट एक जना बिरामीलाई आवश्यक रगत निशुल्क उपलब्ध गराउने क्रममा नगद १४ हजार २ सय ५० रुपैयाँ भुक्तानी गरिएको संघका तृतीय उपाध्यक्ष रुवल अधिकारीले जानकारी दिए । संघले घरेलू तथा साना उद्योग कार्यालयमा फर्म दर्ता गरी नविकरण गराउन सहजीकरण पनि गर्दै आएको छ ।
त्यसैगरी संघले सदस्यता दर्ता भएका व्यवसायीक फर्महरु ६९ वटालाई कूल ३४ हजार रुपैयाँ छुट प्रदान गरिएको छ भने नविकरण भएका कूल २ हजार २ सय ७० व्यवसायीक फर्मलाई नविकरण शुल्कमा दिइएको छुट सुविधा बापतको रकम ४ लाख ६ हजार हाराहारी रहेको जनाइएको छ ।
दमक उद्योग वाणिज्य संघमा गएको एक आर्थिक बर्षको अवधिमा नयाँ ६९ वटा व्यवसायिक फर्महरु आवद्ध भइ सदस्य बनेका छन भने २ हजार २ सय ७० वटा फर्महरु नविकरण भएका एवं आजिवन नविकरण भएका २८ वटा समेत गरी कूल २ हजार ३ सय ६७ फर्म हाल संघको सदस्यका रुपमा रहेका छन् ।
तर यसपटक हुन लागेको ३४ औं बार्षिक साधारण सभा अन्तर्गत हुने निर्वाचनमा मत हाल्न पाउने योग्यताका व्यवसायीक फर्मको संख्या २ हजार २ सय ९८ रहेको संघले जनाएको छ । संघको ३४ औं साधारण सभा यही पुष ४ गते शुक्रबार कस्मिक पाटी प्यालेस दमकको सभाहलमा सञ्चालन गर्ने अन्तिम तयारी पूरा भएको संघका द्धितीय उपाध्यक्ष ज्ञाननाथ पौडेलले जानकारी दिए । सोही सभाले संघको बिधान बमोजिम निर्वाचन कार्यक्रम घोषणा गर्ने जनाइएको छ ।

कमल २ मा उत्कृष्ट काम गर्ने टोल बिकास र बजार समिति पुरस्कृत

दमक/ कमल गाउँपालिका २ नं. वडा कार्यालयको आयोजनामा वडाको समग्र बिकासका बिषयमा क्याम्पामा नयाँ तथा पुराना टोल विकास संस्था तथा नयाँ तथा पुराना बजार व्यवस्थापन समितिहरूबीच अन्तक्र्रियात्मक कार्यक्रम सञ्चालन गरिएको छ ।
सो अवसरमा उत्कृष्ट कार्य गर्ने टोल बिकास संस्था र बजार व्यवस्थापन समितिलाई सम्मान गरियो ।


वडा सदस्य महेन्द्र खत्रीको अध्यक्षता र वडाध्यक्ष अशोक सुब्बाको प्रमुख आतिथ्यमा आफ्नो कार्यकाल अवधिमा उत्कृष्ट कार्य सम्पादन गरी समुदाय विकासमा महत्वपूर्ण योगदान पुरयाएका समितिहरूका निवर्तमान पदाधिकारीहरुलाई सम्मान गरिएको हो ।
वडा कार्यालयको तर्फबाट भुत्लुङ टोल विकास संस्था र समयगढ बजार व्यवस्थापन समितिको योगदानलाई उत्कृष्ट घोषणा गरी सम्मान स्वरुप प्रमुख अतिथी वडाध्यक्ष सुब्बाले मायाको चिनो प्रदान गरेका छन् ।
वडा सदस्य तथा कार्यक्रमका अध्यक्ष खत्रीले सबै टोल विकास संस्था र बजार व्यवस्थापन समितिका निवर्तमान पदाधिकारीहरुलाई सम्मान पत्र प्रदान गरे ।
नागरिकहरुबीच अनुभव, योगदान र सिकाइबाट नयाँ समितिहरूलाई थप जिम्मेवार, सक्रिय र परिणाममुखी रूपमा कार्य गर्न सकारात्मक प्रेरणा र उर्जा मिल्ने विश्वास लिइएको वडाध्यक्ष सुब्बाले बताए ।

महेन्द्ररत्न माबिको ५८ औं बार्षिकोत्सव

कमल/  झापाको कमल गाउँपालिका–२ समयगढस्थित महेन्द्र रत्न माध्यमिक विद्यालय विभिन्न कार्यक्रम गर्दै ५८ औं वार्षिक उत्सव मनाएको छ ।   वार्षिक उत्सवको उद्धाटन गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई गर्नु भएको थियो ।

सोही अवसरमा विद्यायालयको नवनिर्मित मुल प्रवेश द्वारा, वाँस्केट वल कोर्ट र कमल गाउँपालिका १ का वडा अध्यक्ष केदार कटुवालका स्वा.पिता कीर्तिबहादुर कट्वालको स्मृतिमा स्थापना गरिएको कीर्ति पुस्तकालयको समेत अध्यक्ष राईले समुद्घाटन गर्नु भएको थियो ।

समुदायको माग र चाहाना अनुसार यस विद्यालयमा प्रविधी मैत्री शिक्षण सिकाई हुनुका साथै शिक्षकहरुको लगनशिलता, विध्यालय व्यवस्थापन समितीको सक्रियताका कारण विद्यालयले पछिल्लो समय धेरै प्रगति गर्न सफल भएको गाउँपालिकाका अध्यक्ष राईले बताउनुभयो ।

विद्यायालयमा स्थापना भएका नारायण प्रसाद संन्जेल समृति छात्रवृति, कर्ण कुमारी पुष्पा होतांके अक्षयकोष,तोपगाछी धरमपुर मैत्रिसमाज मद्धतिकोष लगायत एक दर्जन अक्षयकोष दाताहरु बाट प्राप्त रकमले एक सयजना बन्दा बढी विद्यार्र्थीलाई छात्रवृति प्रदान गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पवन राईको अध्यक्षता भएको वार्षिक उत्सवको पुर्व सन्ध्यामा आयोजना गरिएका विभिन्न अतिरिक्त कृयाकलापमा उत्कृष्ट विध्यार्थिलाई पुरस्कृत समेत गरिएको गियो । त्यस्तै सो अवसरमा शिक्षक विध्यालयलाई सहयोग गर्ने दाता लाई समेत सम्मान गरिएको थियो

विद्यालयका प्रधानाध्याक बालकृष्ण संग्रौलाले विध्यालयले पछिल्लो समय गुणस्तरीय शिक्षा, संस्कारयुक्त सिपमा आधारित शिक्षा, प्रविधिमैत्री शिक्षा र अनुशासनमा जोड दिएको बताउदै विद्यालयको संक्षिप्त वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी,वडा अध्यक्षहरु, प्रमुख प्रशासकिय अधिकृत केशावकुमार ढकाल, लेखा अधिकृत श्रृजना राई ,शिक्षा शाखाका प्रविधिक रविन गौतम, छिमेकी विद्यालय व्यवास्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापक लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रमको संचालन विद्यालयका शिक्षक विष्णु प्रकाश निरौलाले गर्नु भएको थियो ।

 

ओली र पोखरेलले ५५ मिनट लगाएर गरे मतदान, मत बदर भने नहुने

दमक/ नेकपा एमालेको ११ औँ महाधिवेशनमा मतदानका लागि प्रयोगमा ल्याइएको बिद्युतीय भोटिङ मेसिनको प्रयोगमा पाका नेतालाई समस्या देखिएको छ । एकजना व्यक्तिलाई मतदान गर्न करिब ३० देखि ३५ मिनेट लाग्ने बताइए पनि करिब एक घण्टा लागेको छ ।

नयाँ प्रविधिमा अपडेट नभएका प्रतिनिधिलाई मतदानमा समस्या भएको निर्वाचन आयोगका एक सदस्यले जानकारी दिए । ‘लेख पढ नभएका र पाका नेताहरूलाई समस्या भएको देखिन्छ । कसैले त एक घण्टामा पनि मतदान गरि सक्नुहुन्न।
त्यस्तालाई सहजीकरण गर्ने व्यवस्था पर्याप्त छैन’, निर्वाचन आयोगका एक सदस्यले भने, ‘मतपत्र बदर हुने सम्भावना छैन तर मतपत्रमा छाप लगाउने बानी परेकाहरूलाई भने समस्या देखिन्छ ।’ एमालेको ११ औं महाधिवेशनमा अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल बीच प्रतिस्पर्धा भइरहेको छ ।

केन्द्रीय निर्वाचन आयोगका सदस्य सानुराजा पोखरेलका अनुसार अध्यक्षका प्रतिस्पर्धी केपी ओली र ईश्वर पोखरेललाई मतदान गर्न ५५ मिनेट लागेको छ ।
महाधिवेशनमा कूल दुई हजार २६३ जना प्रतिनिधिले मतदान गर्नेछन् । मतदान प्रक्रिया सुरु भएपछि अध्यक्ष उम्मेदवार ओली र पोखरेलले पहिलो मतदान गरेका हुन् ।

 

झापा ५ मा नेकपाको एकता अधुरो, एसका नेताहरु नेकपा संयुक्तसँगको छलफलमा

दमक/ तत्कालिन नेकपा माओवादी केन्द्र , नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको राजेन्द्र श्रेष्ठ समुहबीच एकता भई घोषणा गरिएको नेपाली कम्युनिष्ट पार्टी एकता झापामा कार्यान्वयन हुन सकेको छैन । एकता पक्षमा एकीकृत समाजवादीका जिल्लास्तरीय नेता, कार्यकर्ताहरु तयार देखिएका छैनन् ।
बरु उनीहरु एकीकृत समाजवादी पार्टीको पुगर्नठन गर्ने अभियानमा सक्रिय भएका छन् ।

एकीकृत समाजवादीका नेताहरु तत्कालिन पार्टी अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रसँग गरेको एकता प्रकृयामा असन्तुष्ट झापाको क्षेत्र नं ५ अन्तर्गत दमक, कमल, गौरादह र गौरीगञ्जका नेता, कार्यकर्ताहरु पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीमा नजोडिएका एकीकृत समाजवादी झापाका नेता अनिलदेव राईले बताए । उनका अनुसार सिमित जिल्लास्तरका र केन्द्रस्तरका केही नेताहरु प्रचण्डसँग गए पनि जिल्ला तथा गाउँ नगरस्तरका अधिकांश नेताहरु पार्टी पुनर्गठनको अभियानमा जुटेका उनले बताए । पार्टी पुनर्गठनको अभियानमा जोडिएका नेताहरु सहितको टोलीले गौरादह, कमल, गौरीगञ्ज र दमकस्थित अधिकाशं तल्लो तहदेखिका कार्यकर्ताहरुसँग बहस र अन्तरक्रिया गरेको छ । यसबीचमा  नेकपा एकीकृत समाजवादी मोरङका तत्कालिन इञ्चार्ज तथा हाल नेकपा संयुक्तका कोशी प्रदेश सह इञ्चार्ज महेश रेग्मीले नेकपासँगको एकतामा नगएका समाजवादीका नेता, कार्यकर्ताहरुसँग दमकमा भेट गरी समसामयिक राजनीतिक बिषय , वाम आन्दोलन र आगामी कार्यभार लगायतका बिषयमा छलफल गरेका बताइएको छ ।

साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष लामा पक्राउ , यस्तो रहेछ कारण

  काठमाडौं/ हर्क साम्पाङले नेतृत्व गरेको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राज कुमार तामाङ लामालाई प्रहरीले पक्राउ गरेको छ ।

विश्वक्रान्ति, कुमार र देवराज लामा भनेर चिनिने ५० वर्षीय लामालाई मंगलबार कपनबाट पक्राउ गरिएको सीआईबीका एसएसपी शिव कुमार श्रेष्ठले जानकारी दिए ।

२०६८ मा काठमाडौँको बबरमहलमा भएको बम विस्फोटमा संलग्न मुद्दामा जेलबाट छुटेका लामा अहिले पाँचथरमा दर्ता भएको विस्फोटक पदार्थ सम्बन्धी मुद्दामा पक्राउ परेका हुन् । पाँचथरमा दर्ता भएको मुद्दामा उनी फरार देखिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

२०६९ असारमा पाँचथरको भुसपातेमा उनलाई प्रहरीले विस्फोटक पदार्थ सहित पक्राउ गरेर काठमाडौँ पठाएको थियो ।

बबरमहलमा ३ जनाको मृत्यु हुने गरी भएको विस्फोटको घटनामा त्यसबेला फरार रहेका लामालाई प्रहरीले अनुसन्धान गरेर अभियोजन गरेको थियो ।बबरमहल घटनामा कैद सजायको फैसला भएपछि नख्खु कारागारमा सजाय भुक्तान गरेर लामा २०७६ फागुन ७ मा प्रजातन्त्र दिवसको दिन छुटेका थिए ।

उनी विरुद्ध पाँचथरमा दर्ता भएको मुद्दा विचाराधीन अवस्थामा रहेको भेटिएको छ । उनलाई सीआईबीले थप अनुसन्धानको लागि पाँचथर पठाएको छ ।

चुलाचुलीको शिवओरक मिलन पोखरीः पर्यटन बिकास गर्न चासोक तङनाम

चुलाचुली/  इलामको चुलाचुली ३ मा रहेको शिवओरक मिलन पोखरीको पर्यटन बिकासका लागि यस बर्ष बृहत रुपमा चासोक तङनाम साँस्कृतिक कार्यक्रम आयोजना गरिँदैछ ।

स्थानीय युवाहरुको सक्रिय सहभागितामा किराँतहरुको साँस्कृतिक पर्व चासोक तङनामको अवसर पारेर पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्दै आन्तरिक पर्यटनको बिकासका लागि साँस्कृतिक कार्यक्रमसहित चासोक मनाउन लागिएको हो ।

चासोक तङनाम आयोजक समितिले आज चुलाचुली ३ को मिलन चोकमा पत्रकार सम्मेलन गर्दै ऐतिहासिक धार्मिक पर्यटनको क्षेत्रका रुपमा रहेको शिव ओरक मिलन पोखरीमा यही पुष ५ गते चासोक तङनाम (उद्यौली) यले तङवे ५०८५ साँस्कृतिक कार्यक्रम आयोजना गरिएको जानकारी दिएको हो ।

समितिका अध्यक्ष टेकबहादुर नुगो (ओजाहाङ)ले सो साँस्कृतिक कार्यक्रमका माध्यमबाट त्यस क्षेत्रको पर्यटन बिकासमा मद्धत पुग्ने विश्वास लिइएको बताए । उनले इलामको कान्छो पहाड र तराईबाट सबैभन्दा नजिकको पहाडका रुपमा रहेको यो क्षेत्र प्राकृतिक रुपमानै आकर्षक रहेकोले झापा मोरङ र इलामका करिब ३ हजार भन्दा बढी मानिसहरुले सो साँस्कृतिक कार्यक्रम र त्यहाँको प्राकृतिक सौन्दर्यतालाई नियाल्ने मौकाका रुपमा उपयोग गर्न सक्ने विश्वास लिइएको बताए । सो कार्यक्रममा कलाकारहरु सुनिता थेगिम लिम्बु, बबिना किराँती लगायत आधा दर्जन बढी चर्चित कलाकारहरुको विशेष प्रस्तुती रहने आयोजकले जनाएको छ ।

आयोजक समितिका पुष्पराज आङदेम्बेले शिवओरक पर्यटकीय क्षेत्रको पृष्ठभुमी , यसको अवस्था र बिकासको सम्भावनाबारे प्रष्टाउँदै परापुर्व कालमा भगवान शिवले बासस्थान गरेको ठाउँका रुपमा यस ठाउँलाई लिने गरिएको बताए । उनले चासोक तङनाम प्रकृतिसँग जोडिएको एउटा साँस्कृतिक पर्व समेत भएकाले सबै जातजाती भाषभाषीहरुको लागि यो महत्वपूर्ण भएको बताए ।

स्थानीय मणिकुमार केरुङले अन्नबाली उत्पादन भएपछि यसलाई मानवजातीले खानु अघि देवी देवतालाई चढाउनु र प्रकृतिलाई सम्मान सहित चढाएर मात्रै सेवन गर्ने प्रचलन रही आएको र यसैलाई न्वागी पूजा समेत भन्ने गरिएको , किराँतीहरुको नयाँ बर्ष समेत यसैबेलादेखि शुरु हुने भएकाले चासोक एउटा साँस्कृतिक विबिधताले भरिएको, प्रकृतिसँग जोडिएको पर्वका रुपमा रहेको उल्लेख गरे । उनले सामाजिक एकता र सदभावलाई कायम राख्न पनि यस किसिमका साँस्कृतिक कार्यक्रमहरुले योगदान दिने विश्वास लिइएको बताए ।

न्वागी पूजाआजासहित शुरु हुने सो कार्यक्रममा जातीय पहिरन लगाएर विभिन्न जातजातीका परम्परागत लोकभाकाहरुमा नाच्ने, गाउने र युवा पुस्तालाई आकर्षित गर्न स्थानीय तथा राष्ट्रियस्तरका कलाकारहरुको समेत प्रस्तुती राखिने आयोजकले जनाएको छ । स्थानीय सञ्जय लिम्बुले शिवओरक पर्यटकीय क्षेत्रको बिकासमा स्थानीय सरकार (चुलाचुली गाउँपालिका) ले चासो र महत्व राखेर बजेट व्यवस्थापन गरिदिएको उल्लेख गर्दै आगामी दिनमा यसको बृहत्तर बिकासका लागि योजना अघि बढाउने स्थानीयबासीले लिएको बताए ।

सोही दिन गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङ, आयोजक समितिको टिम र सञ्चारकर्मीहरुको समुहले कार्यक्रमस्थल शिवओरक पर्यटकीय क्षेत्रको स्थलगत अवलोकन समेत गरेको छ । कार्यक्रमलाई भव्य र उपलब्धीमुलक बनाउन स्थानीय सरकारका तर्फबाट गरिनुपर्ने सहयोगमा कमि आउन नदिने अध्यक्ष केरुङले प्रतिबद्धता जनाएका छन् ।