दमक/ तत्कालिन नेकपा माओवादी केन्द्र , नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको राजेन्द्र श्रेष्ठ समुहबीच एकता भई घोषणा गरिएको नेपाली कम्युनिष्ट पार्टी एकता झापामा कार्यान्वयन हुन सकेको छैन । एकता पक्षमा एकीकृत समाजवादीका जिल्लास्तरीय नेता, कार्यकर्ताहरु तयार देखिएका छैनन् ।
बरु उनीहरु एकीकृत समाजवादी पार्टीको पुगर्नठन गर्ने अभियानमा सक्रिय भएका छन् ।
एकीकृत समाजवादीका नेताहरु तत्कालिन पार्टी अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रसँग गरेको एकता प्रकृयामा असन्तुष्ट झापाको क्षेत्र नं ५ अन्तर्गत दमक, कमल, गौरादह र गौरीगञ्जका नेता, कार्यकर्ताहरु पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीमा नजोडिएका एकीकृत समाजवादी झापाका नेता अनिलदेव राईले बताए । उनका अनुसार सिमित जिल्लास्तरका र केन्द्रस्तरका केही नेताहरु प्रचण्डसँग गए पनि जिल्ला तथा गाउँ नगरस्तरका अधिकांश नेताहरु पार्टी पुनर्गठनको अभियानमा जुटेका उनले बताए । पार्टी पुनर्गठनको अभियानमा जोडिएका नेताहरु सहितको टोलीले गौरादह, कमल, गौरीगञ्ज र दमकस्थित अधिकाशं तल्लो तहदेखिका कार्यकर्ताहरुसँग बहस र अन्तरक्रिया गरेको छ । यसबीचमा नेकपा एकीकृत समाजवादी मोरङका तत्कालिन इञ्चार्ज तथा हाल नेकपा संयुक्तका कोशी प्रदेश सह इञ्चार्ज महेश रेग्मीले नेकपासँगको एकतामा नगएका समाजवादीका नेता, कार्यकर्ताहरुसँग दमकमा भेट गरी समसामयिक राजनीतिक बिषय , वाम आन्दोलन र आगामी कार्यभार लगायतका बिषयमा छलफल गरेका बताइएको छ ।