सहकारीका लेखा समितिलाई नगरले दियो प्रशिक्षण

दमक/ दमक नगरपालिकाले नगरभित्र रहेका सहकारी संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक तथा सदस्यहरुका लागि क्षमता विकास सम्बन्धीको एक दिने तालिम सञ्चालन गरेको छ ।

तालिमको दमक नगर प्रमुख राम थापाले उदघाटन गरे । उनले सहकारी संस्थामा रहेका पदाधिकारीहरु बित्तिय अनुुसासनमा बस्न नसके सहकारी समस्यामा पर्ने बताए । सञ्चालक समितिलाई समेत खबरदारी गर्ने लेखा सुपरिवेक्षण समिति भएकोले यसका संयोजक तथा पदाधिकारीहरु झन चनाखो बन्नु पर्ने उनको भनाई छ ।

कार्यक्रममा दमक नगर उपप्रमुख रेगिना भट्टराइ (प्रसाइँ)ले सहकारीले मुलुकको बिकासमा ठुलो योगदान गरेको उल्लेख गर्दै यो क्षेत्रलाई ब्यवस्थित बनाउन स्थानीय सरकार प्रयत्नशील रहेको बताइन् । महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउन पनि सहकारीको ठुलो भुमिका रहेकोले सहकारी क्षेत्र महिला सशक्तिकरणको सफल माध्यम भएको उनको भनाई छ ।
दमक नगरपालिका अन्तर्गतको सहकारी बोर्डका संयोजक पुण्य दाहालले सहकारी संस्थाको सञ्चालक समितिले गरेको निर्णयहरुमा समेत टिप्पणी गर्ने लेखा सुपरिवेक्षण समिति भएकोले यसका संयोजक तथा पदाधिकाहरु अझ जिम्मेवार बन्नु पर्ने बताए ।

कार्यक्रममा प्रशिक्षक मनोज कार्कीले सहकारी संघ संस्थाहरूलाई प्रभावकारी रुपमा सेवा प्रवाह गर्नका लागि लेखा सुपरिवेक्षण समितिले निरन्तर मार्गनिर्देश गर्ने विधि र औजारहरूको बारेमा छलफल तथा अन्तरक्रिया गराएका थिए ।

नगर भित्र सञ्चालित सहकारीहरुको लेखा सुपरिवेक्षण समितिलाई आवश्यक ज्ञान र सीप उपलव्ध गराउन तालिम सञ्चालन गरिएको दमक नगरपालिकाको सहकारी शाखा प्रमुख ईच्छाराम चौलागाईंले जानकारी दिए । निरीक्षण, अवलोकन, सोधपुछ, गणना, पुनगणना आदी विधिको प्रयोग गरी समितिले पेश गर्नुपर्ने प्रतिबेदन तयार गर्न समेत तालिममा सिकाइएको उनले बताए ।

दमकका व्यवसायीहरुको चुनावमा धमाधम खुल्दै उम्मेदवारहरु

दमक/ दमकका उद्योगी व्यवसायीहरुको साझा संस्था दमक उद्योग वाणिज्य संघको नेतृत्व चयनका लागि व्यवसायीहरु चुनाव केन्द्रित बनेका छन् ।

शुक्रबार सम्पन्न ३४ औँ वार्षिक साधारण सभाले निर्वाचनका लागि लिला गुरागाइँको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरेसँगै वर्तमान नेतृत्वको कार्यकाल समापन भएको छ ।
सभाले निर्वाचनको मिति यही पुष १८ गतेका लागि तय गर्दै निर्वाचन समितिलाई जिम्मा लगाएको छ । निर्वाचन समितिले आइतबार दिउँसो निर्वाचनका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।
यससंगै व्यवसायीहरु आगामी तीन बर्षे कार्यकालका लागि नेतृत्व चयनमा केन्द्रित भएका छन् ।

व्यवसायी अगुुवाहरु संघको कार्यसमितिमा जिम्मेवारी लिन तयार पदाधिकारी, सदस्यहरु, लेखा समितिका संयोजक र सदस्यहरु कसकसलाई अघि सार्ने, उम्मेदवारका रुपमा सारिएका व्यवसायी नेताहरु कसले अधिकतम व्यवसायीहरुको मन र मत दुवै जित्न सक्लान ? भन्ने बहसमा केन्द्रित छन् ।
संघको निर्वाचनमा अभिच्छिन्न रुपले व्यवसायीहरुको मन र मत जित्दै पछिल्लो समय २०७९ माघमा भएको निर्वाचनमा संघको अध्यक्ष पदमा देवीप्रसाद गुरागाइँ (गोपाल)ले जित हासिल गरेका थिए ।
आफ्नो आस्थावान पुरानो राजनीतिक दल नेकपा एमाले रोज्ने कि दमक उद्योग वाणिज्य संघ रोज्ने ? भन्ने प्रश्न निवर्तमान अध्यक्ष गुरागाइँका अगाडी तेर्सिएको बेला एकाएक उनले वाणिज्य संघनै रोजेपछि व्यवसायीहरुले खुलेर उनको पक्षमा मत जाहेर गर्दै संघको अध्यक्ष बनाएका थिए ।

उनलाई संघको अध्यक्षमा नेपाली कांग्रेसको स्थानीय नेतृत्वले समर्थन जनाएर आफ्नो पक्षमा माहौल बनाउँदै गुरागाइँ नेतृत्वको सिंगो टिमनै निर्वाचित गराउन सफल भएको थियो ।
तीन बर्षे कार्यकाल पुरा भएसँगै अध्यक्ष गुरागाइँ वाणिज्य संघको चुनावमा अन्तिम पटक होमिएका छन् ।
उनले आफ्नो पुरानो टिममा आशिंक संशोधन गर्दै टिम लिएर चुनावी मैदानमा होमिँदैछन् भने उनीसँग प्रतिस्पर्धाका लागि यसअघि आफ्नै टिम भित्रबाट संघको वरिष्ठ उपाध्यक्षमा चुनाव जितेका राजु खड्का र दमक उद्योग वाणिज्य संघसहित अन्य सामाजिक तथा व्यवसायिक संघ संस्थामा नेतृत्व गरिसकेका अर्का व्यवसायी भरत चम्लागाइँ पनि अध्यक्षका लागि चुनावी प्रतिस्पर्धा गर्दैछन् ।
खड्कालाई हालसालै प्रवेश गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन गर्दैछ भने चम्लागाइँले नेकपा एमालेले समर्थन गर्दैछ । दलीय रुपमा तीन वटा प्यानल नेतृत्वको रस्साकस्सीमा छन भने अन्य राजनीतिक दलहरु पनि घोषित अघोषित रुपमा ति प्यानलको नेतृत्वमा सहभागी हुँदैछन् ।

हाल सम्म नेपाली कम्युनिष्ट पार्टीले गुरागाइँ नेतृत्वको टिममा आफ्ना तर्फबाट सहभागी हुने उम्मेदवारहरुको नाम प्रस्ताव गरेको र ति नाममा समर्थन पाइसकेकाले नेकपासहितको टिम गुरागाइँले बनाएका छन् । अन्य राजनीतिक दलहरुको सहभागिता कुन प्यानलमा हुन्छ र कस्तोे टिम बन्छ ? भन्नेबारे जिज्ञासा मेटिसकेको छैन ।
समाचार स्रोतहरुका अनुसार संघमा गुरागाइँ नेतृत्वको टिमबाट वरिष्ठ उपाध्यक्षमा हालका द्धितीय उपाध्यक्ष ज्ञाननाथ पौडेल, महिला उपाध्यक्षमा संगीता राई (तुम्बापो) , प्रथम उपाध्यक्षमा हालका द्धितीय उपाध्यक्ष रुवल अधिकारी, द्धितीय उपाध्यक्षमा हालका कार्यसमिति सदस्य टिकाराम खतिवडा र तृतीय उपाध्यक्षमा हालका कार्यसमिति सदस्य सुवासचन्द्र गर्तौला उम्मेदवारका रुपमा चुनावी मैदानमा उत्रिएका छन् ।

सोही टिमबाट कार्यसमिति सदस्यहरुमा बुद्धिशेखर बजगाइँ (विवेक) , भरत दुलाल, चिरन न्यौपाने लगायतको उम्मेदवारी सामाजिक सञ्जाल मार्फत सार्वजनिक भइरहेको छ ।
चम्लागाइँ नेतृत्वको टिमबाट अन्य उम्मेदवारहरुको नामावली सार्वजनिक भइनसके पनि वरिष्ठ उपाध्यक्षमा भगवान बस्नेत र द्धितयि उपाध्यक्षमा रमेश लुइँटेलको नाम सार्वजनिक भइसकेको छ । खड्काको टिमबाट द्धितीय उपाध्यक्षमा नविन अग्रवाल उम्मेदवारका रुपमा अघि सारिएका बताइएको छ । औपचारिक रुपमा केही उम्मेदवारहरु नखुलेका भए पनि भित्र भित्रै मतदाताहरु र नेतृत्व पत्तिंसँग छलफलमा रहेका बताइएको छ ।

 

वाइजो अनलाइन कविता प्रतियोगिताका विजेतालाई पुरस्कार

दमक/ साहित्यकार तथा लेखक हर्कराज खेवाको कृति वाइजोमा आधारित रहेर सञ्चालन गरिएको वाइजो अनलाइन कविता प्रतियोगिताका विजेताहरुलाई नगद पुरस्कार सहित सम्मान गरिएको छ ।
प्रतियोगितामा ताप्लेजुङका कवि लक्ष्मीप्रसाद मादेन (लेकाली कान्छा मुकुम) प्रथम भएका छन् । उनको नयाँ साम्राज्य शीर्षकको कविता पहिलो हुँदै नगद २१ हजार रुपैयाँ राशीको सो पुरस्कार जितेको हो ।
त्यसैगरी दमक बहुमुखी क्याम्पसकी छात्रा प्रिती राना मगरको कविता बाटुली पो शहर जाने रे दोश्रो हुँदै नगद पुरस्कार १५ हजार रुपैयाँ जित्न सफल भएको हो भने संक्रान्तीका कवि सरोज विकको कविता तेस्रो, दिलिप सागर राई विनिता लिम्बु र राज आङदेम्बेका कविताहरु क्रमश तेस्रो र सान्तवना घोषित भए ।
प्रतियोगिताका निर्णायक समेत रहेका प्राज्ञ मुनाराज शेर्माले प्राज्ञ सुमित्रा वाङदेल चेलीको प्रमुख आतिथ्यमा शनिबार दमकमा आयोजित कार्यक्रममा वाइजो अनलाइन कविता वाचन प्रतियोगिताको नतिजा सार्वजनिक गरेका हुन् । सोही अवसरमा विजेता स्रष्टाहरुलाई पुरस्कृत गरिएको थियो ।

झापामा सक्रिय बन्यो नेकपा (संयुक्त)

विर्तामोड / तत्कालिन नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीबीच भएको एकतामा असहमत हुँदै अधिकांश झापाली नेताहरु नेकपा(संयुक्त)मा सक्रिय भएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) जिल्ला कमिटी झापाको आयोजनामा अगुवा नेता तथा कार्यकर्ताहरुको आन्तरिक बहस, भेटघाट तथा अन्तरक्रिया कार्यक्रम शनिबार संम्पन्न भएको छ । विर्तामोडमा आयोजित कार्यक्रममा बामपंन्थी आन्दोलनका आरोह , अवरोहका बारेमा उनीहरुबीच विचार विमर्श चलेको थियो ।

सो अवसरमा झापा आन्दोलनका अगुवा सिएन सापकोटाले नेपालमा बामपंथी विचार, दर्शन, सिदान्त पछिल्लोसमय कमजोर बन्दै जानु दुःखद भएको बताए ।
सापकोटाले जनताका आधारभूत समस्यालाई पर राखेर आफ्ना निम्ति मात्रै सोच्ने प्रवृतिले नेपाली समाजमा कम्युनिष्ट आन्दोलन असफल बन्दै गएको बताए ।
त्यस्तैं, झापाका पुराना बामपंन्थी नेता दुर्गा भट्टराईले समाजवाद विचार, दर्शन, सिद्धान्तले मात्रै नेपाली जनतालाई न्याय दिन नसक्ने बताए ।

नेकपा (संयुक्त) का केन्द्रीय सदस्य भीम बस्नेतले पुँजीपति वर्ग र श्रमजीवी जनताबीचको अन्तरविरोधका बारेमा बोलेका थिए ।
नेता बस्नेतले अहिले समाजवाद प्राप्त गर्ने नाममा धेरै भ्रम, अन्योलता सिर्जना गरिएको र नेपालको राजनीतिमा समाजवादी नामका धेरै संख्यामा पार्टीहरू निर्माण हुन र फुट्दै जानुपर्ने अवस्थामाथि प्रकाश पारेका थिए । नेकपा (सँयुक्त) का केन्द्रीय सदस्य निलमणी बरालले जनताको सर्घष, त्याग र बलिदानबाट गठन भएको नेपाल कम्युनिष्ट पार्टीलाई केही पुँजीपति बर्गको बिचार र प्रवृतिले गर्दा आन्दोलनलाई कमजोर बनाएको बताए । नेता बरालले नेपाली जनतालाई समाजवादी व्यवस्थातिर लैजान नेपालका कम्युनिष्ट पार्टीहरुवीच अझैपनि एकता र सहकार्य हुन जरुरी रहेको औंल्याए । नेता बरालका अनुसार नेपालमा कम्युनिष्ट पार्टीहरुले समाजवादको बिचार, दर्शन र सिद्धान्तलाई बाहिर देखाएपनि व्यवहारमा क्रमश छाड्दै–छाड्दै गइरहेका छन् ।

सो कार्यक्रममा झापाका अग्रज पत्रकार एवं विश्लेषक लीला बरालले समाजवादप्रती नेपाली समाजमा नकारात्मक बुझाई रहेको र त्यसलाई वामपंन्थी पार्टीहरुले प्रष्ट बनाउँदै लैजानुपर्नेमा जोड दिए ।
पूर्ववत नेकपा (एकीकृत समाजवादी) झापाका उपसचिव होमबहादुर बराल, नेता कमल बुढाथोकी, दमक नगर कमिटी अध्यक्ष हरिप्रसाद नेपाल लगायतले आ–आफ्ना बिचारहरु राखेका थिए ।
त्यस्तैं, प्रदेश कमिटी सदस्य श्री सिटौला, मदन खतिवडा, शुशिला तिवारी बराल, कलम बुढाथोकी, लक्षमण खतिवडा, रतज राजवंशी, गोविन्द बास्तोला, प्रमिला महतो, हर्कबहादुर कुँवर, पदम कट्टेल, भीम बराइली, मदन ढकाल लगायतले आ–आफना जिज्ञासा र सुझावहरु राखेका थिए ।

झापामा दुखद खबर– मोटरसाइकल दुर्घटनामा दुई युवकको मृत्यु

दमक/ निर्माणाधीन एशियन हाइवे अन्तर्गत झापाको विर्तामोड ६ स्थित गिरीबन्धु टि स्टेट अगाडी भएको सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ ।

शनिबार साँझ साढे पाँच बजे चारआलीबाट विर्तामोड तर्फ आउँदै गरेको मोटरसाइकल अनियन्त्रीत भई दुर्घटना हुँदा भद्रपुर-९ का भुपाल अधिकारी र मोटरसाइल पछाडी सवार तत्काल नाम थर नखुलेका २५/२६ बर्षका अर्का एक युवकको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दुर्घटना लगत्तै तत्काल बिएण्डसी अस्पताल विर्तामोड लगिएका उनीहरु दुवै जनालाई अस्पतालले साँझ साढे ६ बजे मृत घोषणा गरेको हो ।

 

दमक उद्योग वाणिज्य संघको ३४ औं साधारण सभा, व्यवसायी– पत्रकार सम्मान

दमक/ झापाको दमक र छिमकी कमल गाउँपालिका ५ का समेत उद्योगी व्यवसायीहरुको छाता संगठनका रुपमा रहेको दमक उद्योग वाणिज्य संघले ३४ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
साधारण सभाले संघको आगामी कार्यकालका लागि नेतृत्व चयन गर्ने चुनावी मिति समेत तोकेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण बैद्यले साधारण सभाको शुक्रबार दमक –८ स्थित कस्मिक पार्टी प्यालेसको सभाहलमा उदघाटन गरेका छन् ।

कार्यक्रमको प्रमुख अतिथी समेतको भुमिकामा रहेका उपाध्यक्ष बैद्यले निजी क्षेत्र जुनसुकै खाले सरकार बन्दा पनि सधैं उपेक्षामा पर्ने गरेको गुनासो गरे । उनले सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने किसिमका कार्यक्रमहरु ल्याउन जरुरी भएको बताउँदै लगानीमैत्री वातावरणको सिर्जना गरे निजी क्षेत्रले बिद्यमान बेरोजागरी समस्याको हल गर्दै मुलुकलाई आत्मनिर्भरताको बाटोमा डोहोरयाउन योगदान दिन सक्ने बताए ।

साधारण सभामा व्यवसायीक क्षेत्रका माध्यमबाट दमकको आर्थिक बिकास र संघको संस्थागत बिकासमा योगदान दिएको भन्दै दमक बजारकै अगुवा उद्योगी व्यवसायीहरु नन्दिकेशर अधिकारी, राजकुमार श्रेष्ठ, विष्णु चौधरी, दिपक श्रेष्ठ, विक्रमकुमार साह , राजेन्द्रकुमार अग्रवाल , लोकनाथ सिग्देल र रुक्मिणा काफ्लेलाई सम्मान गरिएको छ ।

त्यसैगरी दमक उद्योग वाणिज्य सङ्घका गतिविधि तथा व्यवसायिक हकहितको पक्षमा कलम चलाएर दमकको व्यवसायीक क्षेत्रमा योगदान दिएको भन्दै यस क्षेत्रका अग्रज पत्रकार गञ्जबहादुर दाहाललाई नगद ११ हजार ५ सय ११ रुपैयाँ, सम्मानपत्र तथा खादा–मालासहित सम्मान गरिएको थियो ।

सो अवसरमा सभाका अध्यक्षता गरेका दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईंले भाद्र २३ र २४ गते जेनजी पुस्ताले भ्रष्टाचार निवारण लगायतका माग राख्दै गरेको आन्दोलनमा विभिन्न स्वार्थ समूहको घुसपैठका कारण देशभर सरकारी तथा निजी क्षेत्रका कार्यालय र ठूला व्यापारिक प्रतिष्ठानमा भएको आक्रमण, आगजनी र लुटपाटबाट दमकले समेत ठुलो नोक्सानी ब्यहोर्नु परेको र यसबाट व्यवसायीहरु प्रत्यक्ष अप्रत्यक्ष रुपमा प्रभावित हुन पुगेको बताए ।

उनले पटक–पटक निजी उद्योग तथा प्रतिष्ठानमाथि हुने आक्रमण, सरकारी उद्योग–कलकारखाना बन्द हुँदै जानु, लगानीमैत्री वातावरण नहुनु तथा उत्पादनशील क्षेत्रमा लगानी हुन नसक्नु व्यवसायिक क्षेत्रका गम्भीर चुनौती भएको उल्लेख गरे ।

सरकारले उद्यमी–व्यवसायीको हक अधिकार संरक्षण गर्दै शान्ति सुरक्षा कायम गरी लगानीमैत्री वातावरण तयार गर्नु आजको टड्कारो आवश्यकता रहेको पनि अध्यक्ष गुरागाइँले उल्लेख गरे ।

अध्यक्ष गुरागाइँले संघको तर्फबाट बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने सबै प्रतिवेदनको सारांश डिजिटल माध्यमबाट प्रस्तुत गरिएको थियो । साधारण सभाको उदघाटन कार्यक्रममा प्रमुख अतिथी बैद्यसँगै महासंघका केन्द्रिय कार्यकारिणी सदस्य तथा संघका पूर्व अध्यक्ष गोकूल श्रेष्ठ, दमक नगर उपप्रमुख रेगिना भट्टराई (प्रसाइँ), संघका पूर्व अध्यक्ष प्रकाश प्रसाइँ, लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा वडाध्यक्षहरु, स्थानीय उद्यमी–व्यवसायी तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू तथा उद्योग वाणिज्य संघका विभिन्न जिल्ला तथा गाउँ नगर प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । साधारण सभा तथा कार्यक्रमको सञ्चालन दमक उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष राजकुमार योङ्याले गरेका थिए भने स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष एवं साधारण सभा तयारी उपसमिति संयोजक राजु खड्काले राखेका थिए ।

साधारण सभामा दमक उद्योग वाणिज्य सङ्घको आगामी कार्यसमितिको निर्वाचन आगामी पुष १८ गते हुने जानकारी गराइएको छ ।

इसाई समाज र दमक थुलुङ डेन्टलद्धारा निशुल्क दन्त शिविर

दमक/ दमक नगर इसाई समाजले दमक–५ स्थित नारायण गोपाल टोलमा निःशूल्क दन्त शिविर सञ्चालन गरेको छ ।
ख्रीष्टमसको अवसर पारेर समाजले स्थानीय कर्नर स्टोन चर्चमा शुक्रबार आयोजना गरेको दन्त शिविरमा दमक थुलुङ डेन्टल क्लिनिकको प्राविधिक सहयोग रहेको थियो । कर्नर स्टोन चर्चको व्यवस्थापनमा भएको सो शिविरमा बालबालिकाहरुसहित ६५ जनाले सेवा लिएका थिए ।

दमक थुलुङ डेन्टल क्लिनिकका सञ्चालक समेत रहेकी दन्त रोग विशेषज्ञ डाक्टर सोफिया थुलुङसहितको चिकित्सक र अन्य प्राविधिकहरुले शिविरमा सेवा प्रदान गरेका थिए ।
दमक नगर इसाई समाजका अध्यक्ष पाष्टर हेमन्त सुब्बाको अध्यक्षतामा भएको शिविरको शुभारम्भ कार्यक्रममा ख्रीष्टमसको खुशीयालीमा गीतमार्फत सहभागिहरुलाई मनोरञ्जन गराइएको थियो । त्यस्तैं, शिविर सुचारु गर्नुअघि इसाई धर्मावलम्वीहरुका अगुवा रेभ एनडी थुलुङले प्रार्थना गरेका थिए ।

शिविरमा समाजका पुर्वअध्यक्ष तथा अन्तर धार्मीक शान्ति सञ्जाल झापाका अध्यक्ष पाष्टर राजकुमार नाछिरिङ राईले शिविरको औचित्य, महत्व र यसबाट लिनुपर्ने फाइदाका बारेमा चर्चा गरेका थिए । पाष्टर राईले यतिवेला नेपालसहित विश्वभरका मानवजातीहरु ख्रीष्टमसको स्वागत तथा खुशीयाली मनाइरहेको बताए ।

खुशीयालीसंगै समाजका केही राम्रा र असल कार्यहरु पनि पुरा गर्नुपर्ने दायित्व भएकोले दन्त शिविरको आयोजना गरिएको पाष्टर राईले बताए । दमक नगर इसाई समाजका सचिव पाष्टर अजय पाठकले सञ्चालन गरेको कार्यक्रममा समाजका पूर्वअध्यक्ष तथा सल्लाहकार आकाश थुलुङ राई, पूर्वअध्यक्ष तथा कर्नर स्टोनका पाष्टर दावा शेर्पा, समाजका उपाध्यक्ष पाष्टर राम राई, सहसचिव पाष्टर दीपक कार्की, युवा संगतीका अध्यक्ष एल्डर सुरज लिम्बू लगायत अगुवाहरुको उपस्थिती थियो ।

शिविरमा दमक थुलुङ डेन्टलका डाक्टर थुलुङसहित डाक्टर हाङमा माखिम, करुणा कार्की, धनमाया घिमिरे र शरद राजवंशीको टोलीले स्वास्थ्य परिक्षण गर्नुका साथै सेवाग्राहीहरुलाई मुख तथा दाँतको हेरचार, यसको महत्वका बारेमा सहजिकरण गरेका थिए ।

 

दमकमा लुटिएका गोलीगठ्ठासहितका तीन थान हतियार काँसघारीमा बरामद

दमक/   जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते झापाको दमकस्थित इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका हातहतियार र गोली गठठ बेवारिशे अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार आज शुक्रबार करीब ५ बजे तीन थान इन्सास (हतियार), ३०३ को जंगी राउण्ड गोली १३४ थान, एसएलआरको जंगी राउण्ड पाँच थान, इन्सासको जंगी राउण्ड २० थान र गोली राख्ने बिन्दुली तीन थान फेला परेको हो ।
दमक नगरपालिका वडा नं. १ बुद्ध टोलस्थित रतुवा खोला किनारको काँसघारीमा बेबारिसे अवस्थामा केही हातहतियारहरु तथा गोलीगठ्ठाहरु स्थानीयबासीले देखेर इलाका प्रहरी कार्यालयमा दमकमा जानकारी गराएपछि इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नायव उपरीक्षक किशोर लम्सालको कमाण्डमा खटिएको टोलीले ति हतियार बरामद गरेको हो ।

 ति हतियार रितपूर्वक इलाका प्रहरी कार्यालय दमकमा ल्याइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

शुभमंगल सहकारीको साधारण सभामा १४ जना सदस्यलाई सम्मान (फोटो फिचरसहित)

दमक/ झापाको दमक ९ चियादोकानमा स्थानीयहरुले आर्थिक सशक्तिकरणका लागि सञ्चालनमा ल्याएको शुभमंगल बचत तथा ऋण सहकारी संस्थाले १६ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
कन्काई पाटी प्यालेसमा आयोजित साधारण सभाको अवसरमा विभिन्न बिधामा उत्कृष्ट शेयर सदस्यहरु १४ जना र ज्येष्ठ सदस्यलाई सम्मान गरिएको छ ।
संस्थाका अध्यक्ष उमाकान्त आचार्यको सभापतित्व र दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई (प्रसाइँ)को प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो ।
साधारण सभामा बोल्दै प्रमुख अतिथी भट्टराईले सहकारीताका माध्यमबाट ससानो पुँजीलाई बढाएर स्वरोगारको अवसर सिर्जना गर्न सकिने भएकाले सहकारी क्षेत्रको प्रवद्र्धन र संरक्षणका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको उल्लेख गरिन् । उनले आर्थिक अनुशासनको बाटो सहकारी सञ्चालक, कर्मचारी र संस्थाका शेयर सदस्यहरुले बिराएको खण्डमा मात्रै सहकारी संस्थाहरुमा संकट आउने भएकाले त्यस किसिमको बाटो बिराउने गतिबिधि हुनबाट जोगाउनु सबैको दायित्व हुने पनि बताइन् ।
साधारण सभाले विबिध कारणबश संस्थाको सञ्चालक समितिमा रिक्त रहेका चार पदहरुको समेत परिपुर्ति गरेको संस्थाका व्यवस्थापक दिलिप घिमिरेले जानकारी दिए ।
संस्थाको सञ्चालक समिति उपाध्यक्षमा सार्के धिमाल , कोषाध्यक्षमा रञ्जु भट्टराई (गडतौला) , र सदस्यहरुमा चम्पा मिश्र (आचार्य) तथा बिमला दर्जीलाई सभाले सर्वसम्मत चयन गर्दै सञ्चालक समितिलाई पूर्णता दिइएको हो । संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष आचार्यले बिषम परिस्थितीका बाबजुद सो सहकारीले गत आर्थिक बर्षमा एक करोड हाराहारीमा कारोबार बृद्धि गर्न सफल भएको बताए । संस्थाको बार्षिक वासलात करिब ७ करोड पुगेको जनाउँदै संस्थामा सदस्यहरुको आकर्षण बढदो रहेको अध्यक्ष आचार्यले जानकारी दिए ।

ठुलो निक्षेपलाई प्राथमिकता नदिई सानो अंकको निक्षेपलाई प्राथमिकतामा राखिएको र संस्थामा हाल १ हजार ६ सय हाराहारीमा सदस्यहरु रहेको अध्यक्ष आचार्यले जानकारी दिए । एक करोड भन्दा बढी शेयर पुँजी रहेको संस्थाले उद्धेश्य मिल्ने समान प्रकृतिका र स्थानीयस्तरमा सञ्चालित सहकारी संस्थाहरुसँग एकीकरणको लागि पनि ढोका खुल्ला राखिएको अध्यक्ष आचार्यले उल्लेख गरे ।
साधारण सभाको उदघाटन विशेष अतिथी दमक बहुमुखी क्याम्पस सञ्चालक समितिका पूर्व अध्यक्ष देवीप्रसाद दाहाल र अध्यक्ष आचार्यले संयुक्त रुपमा गरेका थिए । कार्यक्रममा प्रमुख अतिथी उपप्रमुख भट्टराई, विशेष अतिथी दाहाल, समता कृषि सहकारी संस्थाका अध्यक्ष पर्शुराम रिजाल, दमक बहुमुखी क्याम्पसका प्राध्यापक भुमिप्रसाद दाहाल लगायतले पनि शुभकामना मन्तव्य राख्दै संस्थाको बृहत्तर हितमा शेयर सदस्यहरुको भुमिका उच्च हुने बताए ।
सो अवसरमा सहभागीहरुबीच लक्की ड्र मार्फत तीन जनालाई प्रथम, द्धितीय र तृतीय पुरस्कार समेत प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन सिताराम निरौलाले गरेका थिए ।

छुट्दैछन लामिछाने, एक करोड धरौटी, बिगोबापतको २ करोड ७४ लाख ८४ हजार जमानत बुझाउनु पर्ने

काठमाडौं/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई तुलसीपुर उच्च अदालतको बुटवल इजलासले धरौटीमा छाड्न आदेश गरेपछि उनी थुनामुक्त हुने भएका छन्।  आदेश अनुसार रविले जिल्ला अदालतले सुरुमा माग गरेको एक करोड धरौटी, बिगोबापतको २ करोड ७४ लाख ८४ हजार जमानत बुझाउनु पर्नेछ। यस्तै पछि फैसला हुँदा धरौटी र बिगोबापतको जमानतभन्दा बढी फैसला भएको खण्डमा पनि स्वीकार गर्नुपर्नेछ।

धरौटीमा थुनामुक्त हुने भए पनि उनीविरूद्ध सहकारी ठगी तथा सांगठनिक अपराध, सम्पत्ति शुद्धीकरण जस्ता मुद्दा विभिन्न अदालतमा विचाराधीन नै छन्।

यस्तो अवस्थामा लामिछानेले आउने चुनावमा भाग लिन पाउँछन् कि पाउँदैनन् भन्ने धेरैलाई चासो छ।

संविधान र कानुनी प्रावधान हेर्दा आउने चुनावमा सांसद पदका लागि लड्न अहिलेसम्म रवि लामिछाने अयोग्य छैनन्।

अधिवक्ता शर्मिला श्रेष्ठ नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय भएको र अरू कानुन अनुसार अयोग्य करार भएको व्यक्ति चुनावमा उठ्न नपाउने संवैधानिक तथा कानुनी प्रावधान रहेको बताउँछिन्।

उनका अनुसार सम्पत्ति शुद्धीकरण, राहदानी र भ्रष्टाचारका मुद्दामा सजाय पाएको व्यक्तिलाई पनि प्रतिनिधिसभा निर्वाचन सम्बन्धी कानुनले उम्मेदवार बन्न रोक लगाएको छ।

‘तर ती कानुन अनुसार अदालतले सजाय गरेको अवस्थामा मात्र चुनाव लड्न अयोग्य हुने हो। अभियोग लागेको अवस्थामा मात्र त चुनाव लड्न पाइन्छ,’ उनले भनिन्, ‘पहिला रेशम चौथरी पनि थुनामै रहँदा उम्मेदवारी दिएर चुनाव लडेको नजिर छ।’

सहकारी ठगीजस्तो आर्थिक अभियोगमा सजाय भएर जेलमै गएको भए पनि चुनाव लड्न कानुनले नरोक्ने अधिवक्ता श्रेष्ठले बताइन्।

‘संविधान र कानुनले नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय पाएको मानिसले मात्र संसदको सदस्य बन्न नपाउने भनेको छ। सहकारी ठगी, बैंकिङ कसुर भनेका त आर्थिक अपराध भए। सामान्यत: यिनलाई नैतिक पतन देखिने फौजदारी अभियोग मानिँदैन,’ उनले भनिन्, ‘राहदानी, भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणजस्ता फौजदारी मुद्दा र नैतिक पतन देखिने अन्य मुद्दामा सजाय पाएको भए चाहिँ चुनाव लड्न जो कोही अयोग्य हुन्छ।’