दमक/ दमकका उद्योगी व्यवसायीहरुको साझा संस्था दमक उद्योग वाणिज्य संघको नेतृत्व चयनका लागि व्यवसायीहरु चुनाव केन्द्रित बनेका छन् ।

शुक्रबार सम्पन्न ३४ औँ वार्षिक साधारण सभाले निर्वाचनका लागि लिला गुरागाइँको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरेसँगै वर्तमान नेतृत्वको कार्यकाल समापन भएको छ ।
सभाले निर्वाचनको मिति यही पुष १८ गतेका लागि तय गर्दै निर्वाचन समितिलाई जिम्मा लगाएको छ । निर्वाचन समितिले आइतबार दिउँसो निर्वाचनका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।
यससंगै व्यवसायीहरु आगामी तीन बर्षे कार्यकालका लागि नेतृत्व चयनमा केन्द्रित भएका छन् ।

व्यवसायी अगुुवाहरु संघको कार्यसमितिमा जिम्मेवारी लिन तयार पदाधिकारी, सदस्यहरु, लेखा समितिका संयोजक र सदस्यहरु कसकसलाई अघि सार्ने, उम्मेदवारका रुपमा सारिएका व्यवसायी नेताहरु कसले अधिकतम व्यवसायीहरुको मन र मत दुवै जित्न सक्लान ? भन्ने बहसमा केन्द्रित छन् ।
संघको निर्वाचनमा अभिच्छिन्न रुपले व्यवसायीहरुको मन र मत जित्दै पछिल्लो समय २०७९ माघमा भएको निर्वाचनमा संघको अध्यक्ष पदमा देवीप्रसाद गुरागाइँ (गोपाल)ले जित हासिल गरेका थिए ।
आफ्नो आस्थावान पुरानो राजनीतिक दल नेकपा एमाले रोज्ने कि दमक उद्योग वाणिज्य संघ रोज्ने ? भन्ने प्रश्न निवर्तमान अध्यक्ष गुरागाइँका अगाडी तेर्सिएको बेला एकाएक उनले वाणिज्य संघनै रोजेपछि व्यवसायीहरुले खुलेर उनको पक्षमा मत जाहेर गर्दै संघको अध्यक्ष बनाएका थिए ।

उनलाई संघको अध्यक्षमा नेपाली कांग्रेसको स्थानीय नेतृत्वले समर्थन जनाएर आफ्नो पक्षमा माहौल बनाउँदै गुरागाइँ नेतृत्वको सिंगो टिमनै निर्वाचित गराउन सफल भएको थियो ।
तीन बर्षे कार्यकाल पुरा भएसँगै अध्यक्ष गुरागाइँ वाणिज्य संघको चुनावमा अन्तिम पटक होमिएका छन् ।
उनले आफ्नो पुरानो टिममा आशिंक संशोधन गर्दै टिम लिएर चुनावी मैदानमा होमिँदैछन् भने उनीसँग प्रतिस्पर्धाका लागि यसअघि आफ्नै टिम भित्रबाट संघको वरिष्ठ उपाध्यक्षमा चुनाव जितेका राजु खड्का र दमक उद्योग वाणिज्य संघसहित अन्य सामाजिक तथा व्यवसायिक संघ संस्थामा नेतृत्व गरिसकेका अर्का व्यवसायी भरत चम्लागाइँ पनि अध्यक्षका लागि चुनावी प्रतिस्पर्धा गर्दैछन् ।
खड्कालाई हालसालै प्रवेश गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन गर्दैछ भने चम्लागाइँले नेकपा एमालेले समर्थन गर्दैछ । दलीय रुपमा तीन वटा प्यानल नेतृत्वको रस्साकस्सीमा छन भने अन्य राजनीतिक दलहरु पनि घोषित अघोषित रुपमा ति प्यानलको नेतृत्वमा सहभागी हुँदैछन् ।

हाल सम्म नेपाली कम्युनिष्ट पार्टीले गुरागाइँ नेतृत्वको टिममा आफ्ना तर्फबाट सहभागी हुने उम्मेदवारहरुको नाम प्रस्ताव गरेको र ति नाममा समर्थन पाइसकेकाले नेकपासहितको टिम गुरागाइँले बनाएका छन् । अन्य राजनीतिक दलहरुको सहभागिता कुन प्यानलमा हुन्छ र कस्तोे टिम बन्छ ? भन्नेबारे जिज्ञासा मेटिसकेको छैन ।
समाचार स्रोतहरुका अनुसार संघमा गुरागाइँ नेतृत्वको टिमबाट वरिष्ठ उपाध्यक्षमा हालका द्धितीय उपाध्यक्ष ज्ञाननाथ पौडेल, महिला उपाध्यक्षमा संगीता राई (तुम्बापो) , प्रथम उपाध्यक्षमा हालका द्धितीय उपाध्यक्ष रुवल अधिकारी, द्धितीय उपाध्यक्षमा हालका कार्यसमिति सदस्य टिकाराम खतिवडा र तृतीय उपाध्यक्षमा हालका कार्यसमिति सदस्य सुवासचन्द्र गर्तौला उम्मेदवारका रुपमा चुनावी मैदानमा उत्रिएका छन् ।

सोही टिमबाट कार्यसमिति सदस्यहरुमा बुद्धिशेखर बजगाइँ (विवेक) , भरत दुलाल, चिरन न्यौपाने लगायतको उम्मेदवारी सामाजिक सञ्जाल मार्फत सार्वजनिक भइरहेको छ ।
चम्लागाइँ नेतृत्वको टिमबाट अन्य उम्मेदवारहरुको नामावली सार्वजनिक भइनसके पनि वरिष्ठ उपाध्यक्षमा भगवान बस्नेत र द्धितयि उपाध्यक्षमा रमेश लुइँटेलको नाम सार्वजनिक भइसकेको छ । खड्काको टिमबाट द्धितीय उपाध्यक्षमा नविन अग्रवाल उम्मेदवारका रुपमा अघि सारिएका बताइएको छ । औपचारिक रुपमा केही उम्मेदवारहरु नखुलेका भए पनि भित्र भित्रै मतदाताहरु र नेतृत्व पत्तिंसँग छलफलमा रहेका बताइएको छ ।

 

Facebook Comments Box