दमक/ झापाको दमक र छिमकी कमल गाउँपालिका ५ का समेत उद्योगी व्यवसायीहरुको छाता संगठनका रुपमा रहेको दमक उद्योग वाणिज्य संघले ३४ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
साधारण सभाले संघको आगामी कार्यकालका लागि नेतृत्व चयन गर्ने चुनावी मिति समेत तोकेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण बैद्यले साधारण सभाको शुक्रबार दमक –८ स्थित कस्मिक पार्टी प्यालेसको सभाहलमा उदघाटन गरेका छन् ।

कार्यक्रमको प्रमुख अतिथी समेतको भुमिकामा रहेका उपाध्यक्ष बैद्यले निजी क्षेत्र जुनसुकै खाले सरकार बन्दा पनि सधैं उपेक्षामा पर्ने गरेको गुनासो गरे । उनले सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने किसिमका कार्यक्रमहरु ल्याउन जरुरी भएको बताउँदै लगानीमैत्री वातावरणको सिर्जना गरे निजी क्षेत्रले बिद्यमान बेरोजागरी समस्याको हल गर्दै मुलुकलाई आत्मनिर्भरताको बाटोमा डोहोरयाउन योगदान दिन सक्ने बताए ।

साधारण सभामा व्यवसायीक क्षेत्रका माध्यमबाट दमकको आर्थिक बिकास र संघको संस्थागत बिकासमा योगदान दिएको भन्दै दमक बजारकै अगुवा उद्योगी व्यवसायीहरु नन्दिकेशर अधिकारी, राजकुमार श्रेष्ठ, विष्णु चौधरी, दिपक श्रेष्ठ, विक्रमकुमार साह , राजेन्द्रकुमार अग्रवाल , लोकनाथ सिग्देल र रुक्मिणा काफ्लेलाई सम्मान गरिएको छ ।

त्यसैगरी दमक उद्योग वाणिज्य सङ्घका गतिविधि तथा व्यवसायिक हकहितको पक्षमा कलम चलाएर दमकको व्यवसायीक क्षेत्रमा योगदान दिएको भन्दै यस क्षेत्रका अग्रज पत्रकार गञ्जबहादुर दाहाललाई नगद ११ हजार ५ सय ११ रुपैयाँ, सम्मानपत्र तथा खादा–मालासहित सम्मान गरिएको थियो ।

सो अवसरमा सभाका अध्यक्षता गरेका दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईंले भाद्र २३ र २४ गते जेनजी पुस्ताले भ्रष्टाचार निवारण लगायतका माग राख्दै गरेको आन्दोलनमा विभिन्न स्वार्थ समूहको घुसपैठका कारण देशभर सरकारी तथा निजी क्षेत्रका कार्यालय र ठूला व्यापारिक प्रतिष्ठानमा भएको आक्रमण, आगजनी र लुटपाटबाट दमकले समेत ठुलो नोक्सानी ब्यहोर्नु परेको र यसबाट व्यवसायीहरु प्रत्यक्ष अप्रत्यक्ष रुपमा प्रभावित हुन पुगेको बताए ।

उनले पटक–पटक निजी उद्योग तथा प्रतिष्ठानमाथि हुने आक्रमण, सरकारी उद्योग–कलकारखाना बन्द हुँदै जानु, लगानीमैत्री वातावरण नहुनु तथा उत्पादनशील क्षेत्रमा लगानी हुन नसक्नु व्यवसायिक क्षेत्रका गम्भीर चुनौती भएको उल्लेख गरे ।

सरकारले उद्यमी–व्यवसायीको हक अधिकार संरक्षण गर्दै शान्ति सुरक्षा कायम गरी लगानीमैत्री वातावरण तयार गर्नु आजको टड्कारो आवश्यकता रहेको पनि अध्यक्ष गुरागाइँले उल्लेख गरे ।

अध्यक्ष गुरागाइँले संघको तर्फबाट बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने सबै प्रतिवेदनको सारांश डिजिटल माध्यमबाट प्रस्तुत गरिएको थियो । साधारण सभाको उदघाटन कार्यक्रममा प्रमुख अतिथी बैद्यसँगै महासंघका केन्द्रिय कार्यकारिणी सदस्य तथा संघका पूर्व अध्यक्ष गोकूल श्रेष्ठ, दमक नगर उपप्रमुख रेगिना भट्टराई (प्रसाइँ), संघका पूर्व अध्यक्ष प्रकाश प्रसाइँ, लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा वडाध्यक्षहरु, स्थानीय उद्यमी–व्यवसायी तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू तथा उद्योग वाणिज्य संघका विभिन्न जिल्ला तथा गाउँ नगर प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । साधारण सभा तथा कार्यक्रमको सञ्चालन दमक उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष राजकुमार योङ्याले गरेका थिए भने स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष एवं साधारण सभा तयारी उपसमिति संयोजक राजु खड्काले राखेका थिए ।

साधारण सभामा दमक उद्योग वाणिज्य सङ्घको आगामी कार्यसमितिको निर्वाचन आगामी पुष १८ गते हुने जानकारी गराइएको छ ।

Facebook Comments Box