पार्टीको विशेष महाधिवेशनमा तगारो बन्दै तरुण दल, नेताहरु के भन्छन ?

दमक/ नेपाली कांग्रेसका महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाईमा यही पुष २७ र २८ गते काठमाडौंमा आयोजना गरिएको नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई प्रभाव पार्ने गरी संस्थापन समुहले सो पार्टीका तरुणहरुको भेला आयोजना गरेको छ ।
संस्थापन पक्षको असहमतिका बाबजुद महामन्त्रीद्धयको अगुवाइमा आयोजना गरिएको विशेष महाधिवेशनलाई लक्षित गर्दै तरुण दलका केन्द्रिय नेताहरुको भेला आयोजना गरिएको हो ।
नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष विद्धान गुरुङले हस्ताक्षर गरेर शुक्रबार एक सूचना जारी गर्दै यही फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचन र बैशाख २८ देखि ३१ सम्म आयोजना हुने नेपाली कांग्रेसको १५ औं नियमित महाधिवेशनका सन्दर्भमा छलफल गर्न तरुण दलका केन्द्रिय नेताहरुको भेला बोलाएका हुन् ।
विशेष महाधिवेशन पक्षधरहरुले राखेको महाधिवेशनको उदघाटन कार्यक्रमकै दिन आकस्मिक रुपमा तरुण दलको केन्द्रीय नेतृत्वलाई पार्टी कार्यालयमा बोलाउनुले सो भेलाको उद्धेश्य विशेष महाधिवेशन प्रभावित पार्नु हो भन्ने सहजै अनुमान लगाउन सकिन्छ ।
यसैबीच झापाबाट ठुलो संख्यामा नेता, कार्यकर्ताहरु पार्टीको विशेष महाधिवेशनमा सहभागी हुने देखिएको छ ।
विशेष महाधिवेशन पक्षधर झापाली नेताहरु केही दिनदेखि निरन्तर महाधिवेशनको व्यवस्थापनका लागि काठमाडौंमा छन् ।
झापाको क्षेत्र नं ५ बाट निर्वाचित २४ मध्ये २१ महाधिवेशन प्रतिनिधिहरु विशेष महाधिवेशनमा भाग लिने तयारीमा लागेका हुन् । त्यसैगरी क्षेत्र नं १ र २ बाट पनि अधिकांश महाधिवेशन प्रतिनिधिहरु विशेष महाधिवेशनमा भाग लिन काठमाडौं पुगेका विशेष महाधिवेशन पक्षधर पार्टी महासमिति सदस्य समेत रहेका नेता मेदनी प्रसाद सिटौलाले बताए । ३ र ४ बाट पनि आंशिक रुपमा महाधिवेशन प्रतिनिधि साथीहरु आउँदै हुनुहुन्छ, देशैभर कांग्रेसमा परिवर्तन पक्षधर र यथास्थिती पक्षधरहरु छुट्टिने समय पनि हो यो यसले कांग्रेसमा सुधार र परिवर्तनका लागि मार्गप्रशस्त गर्ने वातावरणको सिर्जना भएको छ, हामी अलिकति पनि विचलित छैनौं– झापा ५ बाट निर्वाचित कांग्रेसका महासमिति सदस्य समेत रहेका युवा नेता अइन्द्रविक्रम केरुङले भने ।
कांग्रेस नेता एवं कोशी प्रदेश सहमहामन्त्री खड्ग फागो कोशी प्रदेशबाट दुई तिहाई प्रतिनिधिहरू विशेष महाधिवेशनमा सहभागी हुने दाबी गर्छन ।
फागोले पार्टी रूपान्तरणको पक्षमा रहेको भन्दै कोशी प्रदेशबाट विशेष महाधिवेशनमा दुई तिहाइ प्रतिनिधिहरू सहभागी हुने दाबी गरेका हुन् ।
कोशी प्रदेशमा कुल प्रतिनिधि संख्या ७ सयभन्दा बढी रहेको बताउँदै उनले तीमध्ये ठुलो हिस्सा विशेष महाधिवेशनको पक्षमा उभिएको बताए । ‘कोशीको बहुमत मात्र होइन, करिब दुई तिहाइ प्रतिनिधिहरू विशेष महाधिवेशनको पक्षमा छन्,’ फागोले दाबी गरे ।

विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुने सम्भावनाबारे फागोले भनेका छन्– ‘विशेष महाधिवेशन भनिसकेपछि नयाँ नेतृत्व पनि आउन सक्छ, अन्य नेतृत्व र नीतिमा फेरबदल पनि हुन सक्छ । यो सबै पार्टीलाई जीवन्त बनाउनका लागि हो ।’

कमलबाट शुरु भयो कोशी घुम्ती अस्पताल, मुख्यमन्त्री कार्कीले गरे उदघाटन

दमक/ कोशी प्रदेशको पहिलो “कोशी घुम्ती अस्पताल” झापाको कमलमा उदघाटन गरिएको छ । शुक्रबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कमल २ स्थित कमल नगर अस्पतालमा सो घुम्ती अस्पतालको उदघाटन गरेका हुन् ।
स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका ग्रामीण तथा अर्ध–शहरी समुदायलाई लक्षित गरेर प्रदेश सरकारले सो कार्यक्रम सञ्चालनमा ल्याएको मुख्यमन्त्री कार्कीले उल्लेख गरे ।

नेपालकै ईतिहासमा पहिलो घुम्ती अस्पताल आफ्नै निर्वाचन क्षेत्र कमल गाउँपालिकाबाट सुरु गरिएको बताउँदै उनले दिर्घकालीन रुपमा सञ्चालन गर्न मन्त्रालयका कर्मचारीलाई निर्देशन दिए ।
गाउँगाउँमा सहज रुपमा स्वास्थ्य सेवा पुर्याउने उद्धेश्यले सञ्चालनमा ल्याएको घुम्ती अस्पतालबाट नागरिकलाई सहज रुपमा सेवा उपलब्ध हुने र यस्ता कार्यक्रममलाई साथ र सहयोग गर्नुपर्ने स्वास्थ्य मन्त्री मान बहादुर लिम्बुले बताए ।
कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले कोशी प्रदेश सरकार द्वारा सञ्चालनमा ल्याइएको पहिलो घुम्ती अस्पताल कमल गाउँपालिका बाट सुरु गरेकोमा कोशी प्रदेश सरकारलाई धन्यवाद दिदैं घुम्ती अस्पताल कार्यक्रम मार्फत कमल गाउँपालिकाका नागरिकले विशेषज्ञ डाक्टर बाट सेवा पाएकोमा धन्यवाद दिए ।
सो अवसरमा स्वास्थ्य जाँच अन्तर्गत पिसाब परीक्षण, मधुमेह (सुगर) जाँच, थाइराइड जाँच,मुटु सम्बन्धी परीक्षण,इसिजी (मुटुको भिडियो एक्स–रे),हड्डी तथा नसासम्बन्धी रोगको जाँच तथा विशेषज्ञ परामर्श र आवश्यक औषधि निःशुल्क वितरण गरिएको थियो ।
कार्यक्रमा स्वास्थ्य निर्देशनालय कोशीका निर्देशक ज्ञान बहादुर बस्नेत, जिल्ला समन्वय समिती झापाका प्रमुख विश्वनाथ बराल, झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, कोशी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव यदुचन्द्र घिमिरे, विशेषज्ञ चिकित्सक, जनप्रतिनिधी, सेवाग्राही सर्वसाधारणको उल्लेखीय उपस्थिती रहेको कमल नगर अस्पतालका प्रमुख दिपक दाहालले जानकारी दिए ।

दमकको आगलागीमा एक करोड ३० लाख नोक्सान

दमक/ दमक ९ क्याम्पसमोड नजिकै स्वस्तिक थुक्पा उद्योग र सँगै जोडिएको उद्योगका सञ्चालक पदम भण्डारीको घरमा शुक्रबार बिहान भएको आगलागीका कारण एक करोड ३० लाख रुपैयाँ बराबरको धनमाल नोक्सान भएको छ । बिहान अन्दाजी ०९ः४५ बजे भण्डारीले संचालन गरेको उद्योगमा बिद्युत चुहावट भई आगोलागी हुँदा उद्योग र सँगै रहेको तीन तले पक्की घर पुर्ण रुपमा जलेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सो घटनामा एक करोड ३० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण छ ।
आगोलागी दमक नगरपालिका, कमल गाउँपालिका, उर्लाबारी नगरपालिका , गौरादह नगरपालिका पथरी शनिश्चरे नगरपालिका र शिवसताक्षी नगरपालिकाबाट समेत आएको अग्नी नियन्त्रकसहितको वारुण यन्त्रको सहायताबाट करीब साढे ११ बजे निभाइएको थियो ।

दमकमा पाँच बर्षीया बालिकाको गलाबाट सुन चोरी गर्ने समुह पक्राउ

दमक/ झापाको दमक ५ लालीगुराँस टोलमा पाँच वर्षीया एक बालिकाले लगाएको सुनको रिङ नेल कटको मद्वतले काटेर चोरी गर्ने समूहका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिहिबार दिउँसो करिब ३ बजे भएको सो घटनामा संलग्नहरुलाई आज पक्राउ गर्न प्रहरी सफल भएको हो ।
प्रहरीका अनुसार सुमन लिम्बुको छोरी बर्ष ५ की प्यारोन लिम्बु आफ्नै घर अगाडी बाटोमा खेल्दै गरेको अवस्थामा सो समुहले प्र.१–०१–००१ ह ८३८५ नंम्बरको सिटी सफारी चढेर आई बालिकाले कानमा लगाएको सुनको रिङ नेलकटले काटेर चोरी गरी फरार भएका थिए ।
पक्राउ पर्नेहरूमा दमक ८ का १८ बर्षीय संजय माझी, दमक ७ का १८ बर्षीय निश्चल विश्वकर्मा, दमक ६ का ३८ बर्षीय मेघराज मेहेत्तर , भारत कलकत्ता घर भई हाल दमक ६ मा बस्ने ५३ बर्षीय रिटन दास रहेका छन् । उनीहरुमाथी चोरी मुद्धामा इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

जाडो छल्न आगोको सहारा

जाडो अधिक बढेपछि झापाको गौरीगञ्ज गाउँपालिका वडा नं १ को महाभारा बजार परिसरमा भेला भएका स्थानीयबासी र प्रहरी बिहिबार बिहान सामुहिक रुपमा आगो ताप्दै ।

साता यता झापामा बढेको चिसोका कारण सर्वसाधारणको जनजिवन कष्टकर बनेको छ । तस्वीर- तिलक प्रसाद राजवंशीको फेसबुकबाट ।

प्याब्सन झापाद्धारा शैक्षिक व्यक्तित्वहरुसँगै पत्रकारहरु सम्मानित

दमक/ निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) झापाले ३५ औँ स्थापना दिवसका अवसरमा शिक्षाक्षेत्रमा योगदान पुर्याएका विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको छ । शिक्षासेवी, दीर्घकालीन रूपमा सेवा गरेका शिक्षक, शैक्षिक उपलब्धि हासिल गरेका विद्यार्थी तथा पत्रकारलाई सम्मान गरिएको हो ।
बिहिबार विर्तामोडमा प्रतिस्पर्धात्मक सांस्कृतिक कार्यक्रम, गायन तथा नृत्य प्रतियोगितासहित सम्मान कार्यक्रम गरिएको हो ।
सो अवसरमा संस्थापक प्रिन्सिपल सम्मानतर्फ योगदान र विशिष्टताको आधारमा विराटज्योति अंग्रेजी माध्यमिक विद्यालय, बिर्तामोडका गणेशप्रसाद ओली, देवकुल अंग्रेजी माध्यमिक विद्यालय, बिर्तामोडका धरणीरस मैनाली र प्रभुकुमार श्रेष्ठ तथा रूपरत्न अंग्रेजी माध्यमिक विद्यालय, अर्जुनधारालाई सम्मान गरिएको छ ।

त्यस्तै, मरणोपरान्त संस्थापक सम्मान अन्तर्गत टावर टेम्पल अंग्रेजी विद्यालय, बिर्तामोडका संस्थापक प्रिन्सिपल स्वर्गीय नरेशमान धिमाललाई सम्मान प्रदान गरिएको थियो ।
अविछिन्न कार्यरत शिक्षक सम्मानतर्फ हरिकुल नमूना माध्यमिक विद्यालय, कनकाईका शिक्षक मुक्ति दाहाल पुरस्कृत भएका छन भने उत्कृष्ट पालिका सम्मान प्याब्सन अर्जुनधारालाई प्रदान गरिएको छ ।
पत्रकारिता क्षेत्रबाट नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष समेत रहेका पत्रकार सुब्रत न्यौपाने र रासस तथा पूर्वाञ्चल दैनिकमा आवद्ध पत्रकार सुरेन्द्र भण्डारी सम्मानित भएका छन् ।
यसैगरी, माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा ४.०० जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई नगदसहित प्रशंसा–पत्र प्रदान गरी सम्मान गरिएको थियो । सम्मानित विद्यार्थीहरूमा प्रज्ञा एकाडेमी, भद्रपुरकी मिनकुमारी दास, नेशनल मेरीगोल्ड स्कूल, भद्रपुरका प्रनिल सत्याल, बाल्मीकि एजुकेशन फाउण्डेशन, बिर्तामोडका हृदयप्रसाद शिवाकोटी र अंकित कटुवाल रहेका छन् ।
त्यस्तै माउन्ट एभरेष्ट विद्यालय, गौरादहका अर्पण रोय र जेनिस कोइराला, इमिनेन्ट कञ्चनजंघा स्कूल, गौरादहका कुशल लिम्बू, हेमन्त राजवंशी र मुना पाण्डे, नमूना अंग्रेजी विद्यालय, गौरादहकी सुमेधा कोइराला र अलिसा सापकोटा सम्मानित भए ।
पारिजात अंग्रेजी माध्यमिक विद्यालयकी नम्सा लिम्बू थलाङ, ज्ञानकुञ्ज एकाडेमीका सागर राउत तथा ज्ञानोदय आवासीय माध्यमिक विद्यालय, गौरीगञ्जकी सलिना कार्कीलाई पनि उत्कृष्ट शैक्षिक उपलब्धिका लागि सम्मान गरिएको थियो ।
कार्यक्रम प्याब्सनका वरिष्ठ सल्लाहकार टिकाराम पुरीको प्रमुख आतिथ्यमा भएको थियो ।
प्याब्सन झापाका सचिव लक्ष्मीप्रसाद उप्रेतीले सञ्चालन गरेको कार्यक्रममा जिल्लास्तरीय सामूहिक सांस्कृतिक नृत्य, एकल शास्त्रीय नृत्य, विभिन्न वर्गका गायन प्रतियोगिता समावेश गरिएको थियो ।

मन्त्री घिसिङले दिए राजीनामा

  काठमाडौं/ ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्रालय सम्हालिरहेका कुलमान घिसिङले सोमबार प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा पेश गरेका छन्।

घिसिङले राजीनामा पेश गरे लगत्तै सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन पनि गरेका छन्।

भदौ ३० गते जेनजी आन्दोलनको प्रभावमा गठन भएको गैरदलीय सरकारमा मन्त्री नियुक्त भएका घिसिङलाई सामाजिक सञ्जाल र जनस्तरमा राजनीतिक गतिविधिसँग संलग्न भएको भन्दै राजीनामा दिन दबाब आएको थियो। प्रधानमन्त्री कार्कीले सोमबारको मन्त्रिपरिषद् बैठकमा घिसिङलाई राजीनामा दिन निर्देशन दिएकी थिइन्।

विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक रहँदै उज्यालो नेपाल पार्टी दर्ता गराएका घिसिङले १४ पुसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग उपसभापतिको सहमति गरी एकता गरेका थिए।

विशेष महाधिवेशनले कांग्रेसमा हलचल, निरन्तर बैठक

काठमाडौं / नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि बस्दैछ।   ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा केन्द्रीय कार्य सम्पादन समितिको बैठकले बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

कांग्रेसको कार्य सम्पादन समितिको बैठक हिजो  पनि बसेको थियो।

बैठकमा पार्टी महाधिवेशन विवादबारे नेताहरूले धारणा राख्ने क्रम जारी छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्वको खेमाले विशेष महाधिवेशनको तयारी अघि बढाएपछि कांग्रेसमा विवाद चुलिएको छ।

महामन्त्रीद्वयको कदमप्रति संस्थापन पक्षले आपत्ति जनाउँदै आएको छ।

मंगलबारको बैठकमा महामन्त्री थापा, सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर र जीवन परियारले आफ्नो धारणा राखेका छन्।

आज पनि बाँकी नेताले आ-आफ्नो धारणा राख्ने कार्यक्रम छ।

थापा र शर्मा पक्षले पुस २७ र २८ गते काठमाडौँमा विशेष महाधिवेशनको तयारी अघि बढाएका छन्। त्यसका लागि उनीहरुले उपसमितिहरू गठन गरेका छन् भने अधिवेशन सञ्चालन गर्न भृकुटीमण्डपको हल पनि बुक भइसकेको छ।

एमालेले टुंगो लगायो राष्ट्रिय सभा उम्मेदवार

काठमाडौं/ नेकपा एमालेले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आफ्ना उम्मेदवारहरूको नाम टुंगो लगाएको छ । निर्वाचन आयोगको कार्यतालिका अनुसार आज (बुधबार) उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यक्रम रहेकै दिन एमालेले ६ वटा प्रदेशका लागि उम्मेदवार चयन गरेको हो । एमालेले टुंग्याएको नामावली अनुसार एकीकृत समाजवादी पार्टी परित्याग गरी एमाले फर्किएकी नेतृ रामकुमारी झाँक्रीले लुम्बिनी प्रदेशबाट टिकट पाएकी छिन् । त्यस्तै, कोशी प्रदेशमा पार्टी अध्यक्ष केपी शर्मा ओलीकी स्वकीय सचिव रोशनी मेचेलाई उम्मेदवार बनाइएको छ ।

कुन प्रदेशमा को उम्मेदवार ?

  • कोशी प्रदेश : रोशनी मेचे

  • बागमती प्रदेश : डा. प्रेमकुमार दङ्गाल

  • गण्डकी प्रदेश : सम्झना देवकोटा

  • लुम्बिनी प्रदेश : रामकुमारी झाँक्री

  • कर्णाली प्रदेश : मीना रखाल

  • सुदूरपश्चिम प्रदेश : लीलाकुमारी भण्डारी

मधेश प्रदेशमा भने एमालेले हालसम्म उम्मेदवारको नाम टुंगो लगाएको छैन ।

दलहरूबीच भागबन्डाको कसरत जारी
कूल १८ रिक्त सिटका लागि हुन लागेको यस निर्वाचनमा प्रमुख राजनीतिक दलहरूबीच गठबन्धन बनाएर जाने तयारी भइरहेको छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच सिट बाँडफाँटमा सहमतिको प्रयास जारी छ ।

दलहरूबीच भएको अनौपचारिक समझदारी अनुसार एमाले र कांग्रेसले ७-७ सिट, नेकपाले ३ सिट तथा जसपा नेपाल र लोसपाले १-१ सिट लिने गरी छलफल अघि बढेको छ । यद्यपि, यो भागबन्डामा पूर्ण सहमति जुटिसकेको छैन । राष्ट्रिय सभामा रिक्त हुने १९ सिटमध्ये १८ सिटका लागि निर्वाचन हुन लागेको हो भने एक सिटमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत गरिनेछ । 

एमालेले प्रदेशमा तोक्यो निर्वाचन समन्वय संयोजक

दमक/ नेकपा (एमाले) को सचिवालय बैठकले निर्वाचनका लागि सबै प्रदेशमा प्रदेश संयोजक तोकेको छ । एमाले उपमहासचिव लेखराज भट्टले मङ्गलबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको जानकारी दिए ।
कोशी प्रदेशमा पार्टी सचिव शेरधन राईले संयोजकको जिम्मेवारी पाएका छन् । मधेश प्रदेशमा लीलानाथ श्रेष्ठ, बागमती प्रदेशमा महेश बस्नेत, राजधानीमा डा. राजन भट्टराई, गण्डकीमा खगराज अधिकारी, लुम्बिनीमा पद्मा अर्याल, कर्णालीमा यामलाल कँडेल र सुदूरपश्चिममा गणेश ठगुन्नालाई प्रदेश संयोकका रुपमा तोकिएको छ ।
उनले सङ्गठन विभागमा भानुभक्त ढकाल, प्रचार विभागमा मिनबहादुर शाही र निर्वाचन विभागमा रमेश बडाललाई जिम्मेवारी दिइएको जानकारी दिए ।
बैठकले निर्वाचनसम्बन्धी काम गर्नका लागि पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई परिचालन गर्ने निर्णय गरेको उनको भनाइ छ ।