कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र शुरु

काठमाडौं/ नेपाली कांग्रेसको बहुप्रतिक्षित विशेष महाधिवेशनको बन्दसत्र सोमबारबाट राजधानीको भृकुटीमण्डपमा विधिवत् सुरु भएको छ । आइतबार भव्य समारोहका बीच उद्घाटन भएको महाधिवेशनको दोस्रो दिन आज बिहान पौने ११ बजेदेखि बन्दसत्र प्रारम्भ भएको हो ।

पार्टीका ज्येष्ठ सदस्य ओमकारप्रसाद श्रेष्ठको अध्यक्षतामा सुरु भएको बन्दसत्रले नेपाली कांग्रेसको आगामी वैचारिक मार्गचित्र र सांगठनिक संरचना तय गर्नेछ । बन्दसत्रको प्रारम्भमा सत्र सञ्चालनका लागि आवश्यक कार्यविधि निर्माण गरिएको छ भने त्यसलगत्तै मुख्य एजेन्डाहरूमाथि केन्द्रित रहेर छलफल अगाडि बढाइएको छ ।

नौ समूहमा गहन नीति मन्थन
बन्दसत्रलाई व्यवस्थित र परिणाममुखी बनाउन सहभागी प्रतिनिधिहरूलाई नौवटा विभिन्न समूहमा विभाजन गरिएको छ । महाधिवेशन प्रचार प्रसार समितिका संयोजक सुभास पोखरेलका अनुसार यी समूहहरूमा मुख्य गरी चारवटा गम्भीर विषयमा गहन छलफल हुनेछ । जसमा विधान संशोधन, नीति तथा नेतृत्व, शासकीय सुधार र मुलुकको विद्यमान समसामयिक राजनीतिक विषयहरू रहेका छन् ।

विशेष गरी विधान संशोधन र शासकीय सुधारका मुद्दालाई यस महाधिवेशनमा निकै महत्वका साथ हेरिएको छ । समूहगत छलफलबाट प्राप्त हुने सुझाव र निष्कर्षका आधारमा पार्टीले आफ्नो आगामी रणनीति तय गर्ने बताइएको छ ।

बन्दसत्रको अर्को महत्त्वपूर्ण र संवेदनशील पाटो नेतृत्वको प्रश्न रहेको छ । नीतिगत मन्थन सकिएपछि वर्तमान नेतृत्वलाई नै निरन्तरता दिने वा नयाँ नेतृत्व चयन गर्ने भन्ने विषयमा महाधिवेशनले निर्णायक मोड लिने देखिएको छ । प्रचार प्रसार संयोजक पोखरेलले नेतृत्व परिवर्तनको पक्षमा प्रतिनिधिहरूको बहुमत देखिएमा तत्कालै निर्वाचन समिति गठन गरी चुनावी प्रक्रिया अगाडि बढाइने जानकारी दिएका छन् । यद्यपि, पार्टीभित्रको आन्तरिक एकता र शक्ति सन्तुलनलाई ध्यानमा राख्दै नयाँ कार्यसमिति सहमतिमै निर्विरोध चयन गर्ने प्रयास समेत भइरहेको बुझिएको छ ।

यसैबीच, दुर्गम तथा टाढाका जिल्लाहरूबाट प्रतिनिधिहरू आउने क्रम जारी रहेकाले आज बिहान ११ बजेसम्मका लागि दर्ता प्रक्रिया खुला राखिएको थियो । क्षेत्र तथा जिल्ला समन्वय समिति संयोजक युवराज पाण्डेयका अनुसार प्रतिकूल मौसम र भौगोलिक विकटताका कारण कतिपय प्रतिनिधि ढिलो आइपुगेकाले उनीहरूको सहभागिता सुनिश्चित गर्न समय थप गरिएको हो ।

विशेष महाधिवेशनको उदघाटन सत्र विशेष – गगन

दमक/  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन सत्र विशेष रहेको बताएका छन् । आइतबार साँझ फेसबुकमार्फत प्रतिक्रिया दिँदै उनले नेपाली कांग्रेसलाई सही दिशामा उभ्याउने उद्देश्यले आयोजना गरिएको महाधिवेशन सफल भएको उल्लेख गरेका छन् ।

‘नेपाली कांग्रेसलाई सही दिशामा उभ्याउने उद्देश्यले आयोजित यस महाधिवेशनमा सहभागी हुनुहुने तथा योगदान पुर्‍याउनुहुने सबैप्रति हार्दिक आभार,’ थापाले लेखेका छन् ।

नेपाली कांग्रेसले आइतबार काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशनको उद्घाटन सत्र सम्पन्न गरेको छ ।

बालेनले मध्यरातमा गरेको फेसबुक पोष्ट रहस्यमय, के होला यथार्थ ?

काठमाडौँ/  काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आइतबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत एउटा रहस्यमय पोस्ट गरेका छन् । उनले रातो सोफामा सजिएर बसेको तस्बिरसहित दुई लाइनको स्टाटस लेखेका छन्, जसमा भनिएको छ– ‘शुभकामना सबैलाई ! हामी आउँदै छौँ !

मेयर शाहले आफ्नो पोस्टको सन्दर्भ स्पष्ट नपारे पनि यसलाई विभिन्न कोणबाट विश्लेषण गर्न सकिन्छ । हालै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता प्रयाससँग जोडेर यसलाई हेरिएको छ ।  यस्तै, उनको लेखाइको सारअनुसार फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनको तयारीलाई पनि संकेत गरेको बुझ्न सकिन्छ । उनको छोटो तर अर्थपूर्ण स्टाटसले आगामी दिनमा रास्वपा र नेपाली राजनीतिमा केही प्रभाव पार्न सक्ने देखिन्छ ।

आजै नेपाली कांग्रेसले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको विशेष जोडबलमा महाधिवेशन गरेको छ ।  मेयर शाहको यो पोस्ट नेपाली कांग्रेसको उक्त विशेष महाधिवेशनलाई लक्षित हुन सक्ने अनुमान पनि गरिएको छ ।  रास्वपासँग एकता गरेर वरिष्ठ नेताको बरियतामा रहेका भनिएका बालेन स्वयं भने रास्वपाको एकता सन्देश सभामा सहभागी थिएनन् । सो एकता सन्देश सभामा नाम जोडिएका तर एकतामा नगएका कुलमान घिसिङ रास्वपाबाट शनिबार मात्रै अलग भइसकेका छन् ।

त्रिपुरेश्वर शिवालय, सामाजिक सेवा समितिको साधारण सभा

दमक/ झापाको दमक २ स्थित त्रिपुरेश्वर शिवालय मन्दिर , सामाजिक सेवा समितिको पाँचौं बार्षिक साधारण सभा र मन्दिर हस्तान्तरण कार्यक्रम आइतबार सम्पन्न भएको छ ।
मन्दिरमा अवस्थित सेवा समितिको भवनमा आयोजित साधारण सभाकाबीच सो स्थानमा रहेको पुरानो त्रिपुरेश्वर शिवालय मन्दिरको जिर्णोद्धार गरि नयाँ संरचना निर्माण सम्पन्न गर्दै दाता परिवारले संस्थालाई सो मन्दिर हस्तान्तरण समेत गरेका छन् ।
दमक नगरपालिका वडा नं २ का वडाध्यक्ष प्रजापति सापकोटाको प्रमुख आतिथ्य र समाजसेवी तथा दाता बयोबृद्ध भवानी थापाको विशेष आतिथ्यमा आयोजित सो कार्यक्रमका सहभागीहरुलाई लक्षित गर्दै संस्थाको तर्फबाट सामुहिक स्वरमा मौलिक शब्द रचना मार्फत स्वागत गीत प्रस्तुत गरिएको थियो ।
संस्थाका अध्यक्ष भुपेन्द्र थापाको अध्यक्षतमा भएको उदघाटन कार्यक्रममा प्रमुख अतिथी वडाध्यक्ष सापकोटाले वडामा क्रियाशील सामाजिक संघ संस्थाहरु मध्ये त्रिपुरेश्वर उत्कृष्ट र सशक्त भुमिका निर्वाह गर्ने संस्थाको रुपमा रहेको उल्लेख गरे । सो अवसरमा वडा सदस्यद्धय ललित बिक र कृष्णमाया थापा , पूर्व वडाध्यक्ष पूर्णबहादुर विष्ट, टेकनाथ रेग्मी, पण्डीत चेतन आचार्य र दाता परिवारको तर्फबाट गुणराज थापाले पनि शुभकामना मन्तव्य राखेका थिए ।


साधारण सभाले पुन  भुपेन्द्र्र थापाको अध्यक्षतामा आगामी कार्यकालका लागि समितिको नेतृत्व पनि चयन गरेको छ ।
समितिको उपाध्यक्षद्धय खड्गनारायण गुरागाइँ र इन्दिरा रेग्मी, सचिवमा जगतबन्धु दाहाल, सहसचिवमा चेतन रेग्मी र कोषाध्यक्षमा सुकमाया जवेगु चुनिएका छन् । त्यसैगरी कार्यसमिति सदस्यहरुमा रोशनकुमार विष्ट, कृष्णलाल गुरगाइँ, बसन्ता भट्टराई, दिपक रेग्मी, प्रमिला ढुंगाना, पदमप्रसाद सुवेदी र निलम गुरागाइँ सर्वसम्मत चयन भएका छन् । सो कार्यसमितिले दुई जना थप सदस्य मनोनित गर्ने व्यवस्था रहेको जनाइएको छ । कार्यक्रममा स्वागत मन्तव्य इन्दिरा रेग्मीले राखेकी थिइन् ।

२१८५ महाधिवेशन प्रतिनिधिको हस्ताक्षर, नीति र नेतृत्व दुवै बदलिने थापाको घोषणा 

काठमाडौं/ काठमाडौंको भृकुटी मण्डपमा जारी  नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि आइतबार साँझसम्म २ हजार १८५ जनाले नाम दर्ता गराएका छन् ।

विशेष महाधिवेशन सचिवालय सदस्य युवराज पाण्डेले साँझ ६ बजेर ५ मिनेटसम्म २ हजार १८५ जना महाधिवेशनले नाम दर्ता गराएको बताए । नाम दर्ता गराउने क्रम जारी छ ।

नीति र नेतृत्व दुवै बदलिने थापाको घोषणा 

महामन्त्री गगन थापाले पार्टीको नीति र नेतृत्व बदलिने घोषणा गरेका छन् ।

आइतबार भृकुटीमण्डपमा कांग्रेस विशेष महाधिवेशनलाई सम्बोधन गर्दै महाधिवेशन प्रतिनिधिहरुले नै नीति र नेतृत्व बदल्न चाहेको बताए ।

उनले यस्तो अवस्थामा यो विषय कहाँ गएर टुंगिन्छ भन्ने आफूलाई पनि थाहा नभएको भन्दै कांग्रेस पार्टीका नेता कार्यकर्ता कसैको दास नभएको बताए ।

‘प्रतिनिधिहरुले नीति पनि बदल्ने नेता पनि बदल्ने भनेर माग्नु भएको छ । यो कहाँ गएर टुंगिन्छ । मलाई थाहा छैन’, उनले सम्बोधनका क्रममा भने ।

विभाजन होइन देशको नेतृत्व गर्छ – शर्मा

कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीलाई विभाजन नलगी देशको नेतृत्व गर्ने गरी अघि बढ्ने बताएका छन् ।

आइतबार भृकुटीमण्डपमा विशेष महाधिवेशनलाई सम्बोधन गर्दै उनले कांग्रेसलाई टुक्र्याउने प्रयास नभई सिङ्गो पार्टीको नेतृत्व गर्ने उद्देश्यसहित आफूहरू अघि बढिरहेको बताए ।

“हामी सिङ्गो कांग्रेसको नेतृत्व गर्ने गरी अघि बढ्छौँ । सिङ्गो देशलाई नेतृत्व गर्ने दिशामा काम गर्छाैँ,” शर्माले आइतबार विशेष महाधिवेशनलाई सम्बोधन गर्दै भने ।

उनले विशेष महाधिवेशन कुनै भीड प्रदर्शन नभई अनुशासित र जिम्मेवार राजनीतिक जमातको अभिव्यक्ति भएको बताए । बन्दसत्रबाट हुने निर्णयले कांग्रेसको आगामी राजनीतिक दिशा मात्र नभई देशकै भविष्य बदल्ने आधार तय गर्ने उनले बताए ।

पौड्याल वंशोद्धारको अधिवेशनमा सम्मान

पौड्याल वंशोद्धार जिल्ला समिति झापाको चौथो जिल्ला अधिवेशनको उदघाटन कार्यक्रममा शनिबार ज्येष्ठ पिताको सम्मानबाट सम्मानित हुँदै दमक ३ निवासी ९६ बर्षीय हरिनारायण पौडेल ।
विसं १९८६ मा ताप्लेजुङको फुङलिङ २ सिम्लेमा जन्मिएका पौडेल लामो समयदेखि दमकमा स्थायी बसोबास गर्दै आएका छन् । पौड्याल वंशको उत्थान र समाजको हितमा उनको योगदानको कदर गर्दै ज्येष्ठ पिताका रुपमा सम्मान गरिएको हो ।

उहाँसँगै सक्रिय बन्धुहरु तर्फ विर्तामोड ९ निवासी बिष्णुप्रसाद पौड्याल, सञ्चार तर्फ मेची नगर निवासी दिपेन्द्र पौड्याल, ज्येष्ठ आमा तर्फ भद्रपुर ७ निवासी राधा पौड्याललाई पनि सम्मान गरिएको छ । उहाँहरुलाई पौडेल वंश महासंघका संस्थापक अध्यक्ष लोकनाथ पौड्यालको प्रमुख आतिथ्य र वंशोद्धार जिल्ला समितिका अध्यक्ष कमल पौडेलको सभापतित्वमा आयोजित कार्यक्रमबीच सम्मान गरिएको हो ।

चपेटीमा लायन्सकर्मीहरुको सहयोग, लायन्स पार्क बनाइने 

दमक/ इलामको चुलाचुली गाउँपालिकामा रहेको पर्यटकीयस्थल चपेटीमा दमकका लायन्सकर्मीहरुले सहयोग गरेका छन् । पर्यटकीयस्थल चपेटीको प्रवेशद्धार गेट नजिकै पश्चिमतर्फ खुल्ला जमिनमा लायन्स पार्क समेत निर्माण गरिने भएको छ ।

लायन्स क्लब अफ द हेल्पिङ हाट्सको संयोजनमा निर्माण हुने सो लायन्स पार्कलाई आगामी वर्षभित्र व्यवस्थित बनाइने क्लबकी अध्यक्ष संगीता राई तुम्बापोले बताईन् । लायन्स पार्कमा हाल सिमेन्टको पिलरसहित वरीपरी तारबार गरिएको छ ।
शुक्रबार दमकका लायन्सकर्मीहरुले भेटघाट तथा अन्तरक्रियात्मक कार्यक्रम गर्दै त्यहाँँ लायन्स पार्कको घोषणा गरिएको लायन्स क्लब अफ द हेल्पिङ हाट्र्सकी सचिव सम्झाना साँवा लिम्बूले बताईन् ।
लायन्स क्लब अफ द हेल्पिङ हाट्र्सकी अध्यक्ष संगीत राई तुम्बापोको अध्यक्षतामा र लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ सीका क्याविनेट सेक्रेटरी नेत्रप्रसाद चौलागाईको प्रमुख आतिथ्यतामा सो कार्यक्रम गरिएको थियो ।
सो पार्कमा लायन्सकर्मीहरुको व्याक्तिगत प्रयासमा कंक्रीटले बनाइएका ७ थान कुर्सी (बेञ्च), फोहोर संङ्कलनका लागि ४ थान डस्टबिन (सिमेन्टको रिङ) र विभिन्न जातका फलफूलका विरुवाहरु रोपिएको छ ।

हालै, संम्पन्न दमक उद्योग बाणिज्य संघको निर्वाचनबाट महिला उपाध्यक्षमा बिजयी भएकी व्यवसायी तथा लायन्स क्लब अफ द हेल्पिङ हाट्र्सकी अध्यक्ष राईले पर्यटकीयस्थल चपेटीलाई सुविधा सम्पन्न बनभोज र मनोरञ्जनस्थलको रुपमा विकास गर्न दमकका लायन्सकर्मीहरुको प्रयासमा लायन्स पार्क निर्माणकार्य सुरुवात गरिएको बताईन् ।
सो कार्यक्रममा लायन्सकर्मी तथा रिजन चेयरपर्सन युवराज गजमेरले लयान्सकर्मीहरुको एकता, सहकार्य र जिम्मेवारीले समाजमा साना–ठूला कार्यहरु पुरा गर्न सफल भएको बताए ।

फुलबारी सेवा संगमको नयाँ नेतृत्व, अध्यक्षमा प्रेम शेर्मा

धरमपुर/ शिवसताक्षी १ को धरमपुरस्थित फुलबारी सेवा संगम क्लबले नयाँ नेतृत्व चयन गरेको छ । क्लबको अध्यक्षमा प्रेम शेर्मा सर्वसम्मत चयन भएका छन् ।
शिबसताक्षी–१ धरमपुरको फुलबारी चोकमा आज (शनिबार) सम्पन्न ३०औं वार्षिक साधारणसभाले शिक्षा क्षेत्रमा स्थापित शेर्मालाई अध्यक्षमा चयन गरेको हो । क्लबको उपाध्यक्षमा इन्द्रकुमारी पाण्डे, सचिवमा कुमार शंकर, सहसचिवमा मोहन फागो लिम्बू र कोषाध्यक्षमा निर्मला प्याकुरेल चयन भएका छन् । त्यस्तैं, क्लबको सदस्यहरुमा ज्ञानुहाङ शेर्मा लिम्बू, देउकुमारी राई लगायत छन् ।
क्लबका अध्यक्ष दिलबहादुर लिम्बूको अध्यक्षतामा ३०औं वार्षिक साधारणसभा सम्पन्न भएको थियो । सो सभामा क्लबले आर्थिक वर्ष २०८१÷०८२ मा सम्पन्न गरेका सामाजिक सेवामुलक गतिविधिहरु र वित्तिय गतिविधिहरुको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
सोही समारोहमा नवनिर्वाचित अध्यक्ष शेर्माले क्लबलाई आगामी वर्षमा रचनात्मक तथा सृजनात्मक कार्यहरुमा रुपान्तरण गरिने प्रतिवद्धता गरेका थिए । वार्षिक साधारणसभाको उदघाटन शिबसताक्षी नगर उपप्रमुख नरमाया कार्कीले गरेकी थिइन् ।

 

सिंहदेवी माविको ५८ औं बार्षिकोत्सवमा सम्मान र पुरस्कार

दमक/ दमक १० स्थित सिंहदेबी माध्यामिक बिद्यालयले अभिभावक र शिक्षकलाई सम्मानका साथै तीन दर्जनबढी बिद्यार्थीलाई पुरस्कृत गर्दै ५८ औ बार्षिक उत्सव कार्यक्रम सम्पन्न गरेको छ । पौष २२ गते देखि चार दिन सम्म विभिन्न कार्यक्रमहरु गरि पुष २५ गते शनिबार बार्षिक उत्सव सम्पन्न गरेको हो ।
बार्षिक उत्सव समारोहको दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले बिरुवा रोपेर उदघाटन गरेका थिए ।
दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईको विशेष उपस्थिती रहेको सो समारोहका बिच पूर्व वडाध्यक्ष समेत रहेका स्थानीय समाजसेवी डिककुमार राईलाई सम्मानपत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने सोही अवसरमा शिक्षक ध्रुबराज खडकालाई पनि सम्मन गरिएको छ ।
सो अवसरमा आधा दर्जन बढी दाताहरुले स्थापना गरिदिएका नरहरी पवित्रा अक्षयकोष, पुष्पलाल खगमाया अक्षयकोष, खगेन्द्र पौडेल स्मृती अक्षयकोष, जंगबहादुर दुर्गा पवित्रा अक्षयकोष, बालकुमारी पराजुली अक्षयकोष, ईन्दु अम्बिका अक्षयकोषबाट बिद्यालयमा अध्ययनरत तीन दर्जन बढी बिद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।
बिद्यालयले आफ्नो बार्षिक उत्सकै अवसर पारेर पूर्व बिद्यार्थीहरुले स्थापना गरेको अक्षयकोष र बिद्यालयका बिद्यार्थी, शिक्षक तथा कर्मचारीहरुले स्थापना गरेको बिद्यार्थी कल्याणकोषबाट विभिन्न कक्षाका ३२ जना बिद्यार्थीहरुलाई झोला बितरण गरिएको छ ।
कार्यक्रममा दमक १० का वडाध्यक्ष राजेन्द्र प्रसाद भण्डारी पूर्व वडाध्यक्ष बोधराज न्यौपाने, देवीप्रसाद दाहाल, पुर्वप्रधानाध्यापक रुद्रप्रसाद सुबेदी हिमालय माविका प्रधानाध्यापक द्रोण श्रेष्ठ शिक्षक अभिभावक संघका संयोजक नगेन्द्रमणी न्यौपानेले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रममा बिद्यार्थीहरुले आकर्षक नृत्य प्रस्तुत गरेर मनोरञ्जन दिलाएका थिए भने बिज्ञान प्रदर्शनी समेत गरिएको थियो ।
सो कार्यक्रममा दमक ९ निवासी दुर्गा काफलेले एक लाख र स्थानीय अभिभावक हरिप्रसाद खनालले ५० हजार राशीको अक्षयकोषको स्थापना गरिदिने पनि घोषणा गरेका छन् ।
बिद्यालय ब्याबस्थापन समितिका अध्यक्ष डिल्ली प्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक सोम प्रसाद बरालले बिद्यालयको नीति तथा कार्यक्रम सहितको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने शिक्षक राजेन्द्र श्रेष्ठले स्वागत गरेको कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक घनश्याम अधिकारीले गरेका थिए ।

गाउँपालिकाको सराहनीय काम– साक्फाराबासीलाई नियमित एम्बुलेन्स सेवा

चुलाचुली/ बिकट मानिएको इलामको दक्षिणवर्ती चुलाचुली गाउँपालिकाको ६ नम्बर वडा (साविक साक्फारा)बासीलाई लक्षित गर्दै गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ ।
सो क्षेत्रमा पहिलो पटक एम्बुलेन्स सेवा स्थानीय सरकारले आफैं सञ्चालनमा ल्याएको हो । गाउँपालिकाले आन्तरिक स्रोतबाट बजेट व्यवस्थापन गरी खरिद गरेको एम्बुलेन्स शुक्रबार साक्फारामा निशुल्क स्वास्थ्य शिविर समेत आयोजना गर्दै सोही अवसरमा वडा कार्यालयलाई हस्तान्तरण गरिएको छ ।
सो एम्बुलेन्स वडाबासी ज्येष्ठ नागरिक र सुत्केरीका लागि निशुल्क सेवा दिनका लागि भएको र अन्य नागरिकहरुले भने गाउँपालिकाबाट तोकिएको सिमित शुल्क तिरेर उपयोग गर्न सक्ने जनाइएको छ ।
गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङ र उपाध्यक्ष दिलकुमारी लाओतीले संयुक्त रुपमा वडा नं ६ का वडाध्यक्ष दिलकुमार राईसहित वडाका जनप्रतिनिधिहरुलाई एम्बुलेन्सको साँचोसहित एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा अध्यक्ष केरुङले साक्फाराबासीको पुस्तौंदेखिको मानवीय स्वास्थ्यमा अतिआवश्यक सेवाका रुपमा रहेको एम्बुलेन्स सेवा सुचारु गराउन पाउँदा आफैंले फरक अनुभूती गरेको सुनाए ।
उनले चुलाचुली गाउँपालिका सबै भुगोल, क्षेत्र, जातजाती , भाषाभाषी, धर्म, संस्कृतिको बिकासमा सन्तुलित रुपमा अघि बढेको बताउँदै चुलाचुलीबासी कसैले पनि पछुतो मान्नु नपर्ने गरि आफूले न्यायपूर्ण बिकासको नीति अवलम्बन गरेको उल्लेख गरे ।
गाउँपालिका उपाध्यक्ष लाओतीले नागरिकहरुको सबैभन्दा नजिकको सरकारका रुपमा रहेको स्थानीय सरकारले संघ तथा प्रदेश सरकार, यस क्षेत्रका जनप्रतिनिधिहरुसँग समेत समन्वय र सहकार्य गर्दै यहाँको सन्तुलित र समुचित बिकासमा ध्यान दिएको बताइन् ।
वडा नं ६ का वडाध्यक्ष दिलकुमार राईको अध्यक्षतामा सञ्चालन भएको एम्बुलेन्स हस्तान्तरण तथा स्वास्थ्य शिविर कार्यक्रममा नेपाली कांग्रेसका वडा सभापति अदिप राई, नेकपा एमालेका धिरेन राई, नेकपाका गंगा श्रेष्ठ लगायतले साक्फाराबासीका लागि प्राप्त भएको एम्बुलेन्सको सही सदुपयोगमा जोड दिँदै स्थानीय सरकारलाई धन्यवाद व्यक्त गरे । सो कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दुस्यान्त दाहालले स्वागत मन्तव्य राख्दै शाखाले पालिकाबासीको स्वास्थ्य सेवालाई लक्षित गर्दै विभिन्न आकर्षक स्वास्थ्य कार्यक्रमहरु ल्याइरहेको बताए ।
सो अवसरमा सञ्चालित स्वास्थ्य शिविरमा सर्वसाधारणको सुगर, प्रेसर, ज्वरो आदीको जाँच गरि तत्काल रिपोर्ट उपलब्ध गराइएको छ भने ४० बर्ष माथिको उमेर समुहको खकार परिक्षणका लागि नमुना समेत सकंलन गरिएको छ । चुलाचुली गाउँपालिकामा विगतमा ४२ जना क्षयरोगका बिरामी भेटिएका र साक्फाराबासी समेत यसबाट पीडित रहेको पाइएकाले खकारको नमुना संकलन गरि परिक्षणका लागि ल्याबमा पठाइएको स्वास्थ्य शाखा प्रमुख दाहालले बताए । शिविरमा चुलाचुली अस्पतालका डा. पारुहाङ छा नेतृत्वको चिकित्सक तथा स्वास्थ्यकर्मी टोलीले प्राविधिक सहयोग पुरयाएको थियो । शिविरमा ७० जनाले स्वास्थ्य जाँच तथा निशुल्क औषधी सेवा लिएका जनाइएको छ । कार्यक्रमको सञ्चालन वडा सचिव पदम पौडेलले गरेका थिए ।