कांग्रेसका विशेष महाधिवेशन पक्षधरको ध्यानाकर्षण

काठमाडौं/ नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरले पार्टी केन्द्रीय कार्यालयमा आज गरिएको प्रदर्शनप्रति ध्यानाकर्षण भएको बताएका छन् ।

कार्यालय परिसरमा पार्टीका नेता विमलेन्द्र निधिलाई लक्षित गरी केही कार्यकर्ताले गरेको होहल्ला र नाराबाजीप्रति ध्यानाकर्षण भएको उनिहरुले बताएका छन् ।

कांग्रेसको विशेष महाधिवेशन पक्षका केही नेताहरुले आज यहाँ पत्रकार सम्मेलन गरी विशेष महाधिवेशनलाई बदनाम गर्ने उद्देश्यले उक्त घटनालाई अतिरञ्जित रूपमा प्रस्तुत गरिएको हुनसक्ने धारणा सार्वजनिक गरेका छन् ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी, महाधिवेशन प्रतिनिधिहरु मनोजमणि आचार्य, सुवास पोखरेल र कुशुमदेवी थापा, लोकतान्त्रिक अपाङ्ग सङ्घका अध्यक्ष माधव चौलागाईलगायतले सो घटनाको सत्य–तथ्य पत्ता लगाउन निष्पक्ष छानबिन गर्नुपर्ने माग गरे ।

साथै उनिहरुले विशेष महाधिवेशनका सन्दर्भमा यसअघि बुझाएका पत्र तथा स्मरणपत्रहरू पुनः स्मरण गराउँदै आजै विशेष महाधिवेशन पक्षधरको उपस्थितिमा सम्पन्न बैठकबाट विभिन्न १८ समिति तथा उपसमिति गठन गरिएको जानकारी गराए ।

उनिहरुले विशेष महाधिवेशनका सन्दर्भमा जिम्मेवार पदमा रहेका केही नेताबाट अतिरञ्जित तथा गैरजिम्मेवार अभिव्यक्ति प्रकट भएको भन्दै आपत्ति जनाए ।

कर्नर स्टोनको उदाहरणीय काम- बालबालिकाहरुलाई न्यानो कपडा वितरण

दमक/ इलाम जिल्लाको माङ्सेबुङ–३, चुबुवा स्थित जनकल्याण प्राविमा बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।  कर्नर स्टोन फाउन्डेशन दमक–झापाको आयोजन तथा प्रायोजनमा
२ वर्षदेखि १३ वर्ष उमेर समूहका जम्मा ८० जना विद्यार्थीहरूलाई जाडो यामका लागि ज्याकेट, स्विटर, ट्राउजर तथा जाडो टोपी वितरण गरिएको विद्यालयका संस्थापक–प्रिन्सिपल युवराज गजमेरले जानकारी दिए । उनले कर्नर स्टोनको तर्फबाट प्रतिनिधित्व गर्दै प्रत्येक वर्ष पूर्वी नेपालका ग्रामीण तथा दुर्गम क्षेत्रका विद्यालयहरूमा यस प्रकारका सामाजिक सेवामूलक कार्यक्रम निरन्तर गर्दै आएको जानकारी दिए। गजमेरले भने
“हामी सबै मिलेर सर–सहयोग, हातेमालो गरे बिकटका नानीहरूले पनि सहज रूपमा पढ्न–लेख्न पाउने छन ।”
कार्यक्रममा सामाजिक व्यक्तित्व पास्टर राजकुमार राई, पास्टर हेमन्त सुब्बा, पास्टर राम राईको उपस्थिती रहेको थियो। साथै स्थानीय विद्यालयको तर्फबाट प्रधानाध्यापक मनकुमार राई तथा शिक्षिका अलिशा राई सहभागी थिए । कार्यक्रमको सभापतित्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम कुमारी लिम्बुले गरेकी थिइन् ।
यस कार्यक्रमले चिसो मौसममा विद्यार्थीहरूको स्वास्थ्य संरक्षणमा सहयोग पुर्याउनुका साथै समुदायप्रति सहकार्य र सेवाको सशक्त सन्देश प्रवाह गरेको स्थानीयहरूले बताएका छन्।

सूर्यमान बाँनिया सेवाबाट अनिवार्य अवकाश

दमक/ इलाका प्रशासन कार्यालय दमकमा कार्यरत अधिकृत सूर्यमान बाँनिया सेवाबाट अनिवार्य अवकाश भएका छन् ।

दमक ५ निवासी बाँनिया ५८ बर्षे उमेर हदका कारण पुष २० देखि सेवाबाट अनिवार्य अवकाश भएका हुन् । शिक्षण पेशाबाट जागिरे जिवन शुरु गरेका बाँनियाले २६ बर्ष ६ महिना निजामती सेवामा आफूलाई समर्पित गरे ।

उनले सेवा क्षेत्रमा रहँदा इलाका प्रशासन कार्यालय गौरीगञ्ज र इलाका प्रशासन कार्यालय उर्लाबारीमा शाखा अधिकृतका रुपमा जिम्मेवारी निर्वाह गरेका थिए । आफू सेवाबाट अनिवार्य अवकाश भएको ब्यहोरा सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्दै बाँनियाले सेवा अवधिमा आफूलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पुरयाउने सबैलाई स्मरण गरेका छन् ।

ताप्लेजुङको मेहेलेमा जन्मिएका बाँनिया झापामा आएर बिद्यालय तहको अध्ययन पुरा गर्दै दमक बहुमुखी क्याम्पसमा उच्च शिक्षा हासिल गरेका व्यक्तित्व हुन् । उनले सेवाक्षेत्रमा रहँदा इलाका प्रशासन कार्यालय दमकको हालको नयाँ प्रशासनिक भवन निर्माणसँगै यस क्षेत्रको बिकासमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सक्रिय योगदान गरेका छन् । सेवाग्राही मैत्री व्यवहार र सहयोगी भावनाका कारण उनले समाजमा सकारात्मक योगदान गरेका छन् ।

दमकमा होटलबाट तीन युवायुवती लागूऔषधसहित पक्राउ

दमक/ दमक ८ स्थित कञ्चनजंघा होटलको कोठा नम्बर ८ बाट प्रहरीले तीन जना युवायुवतीलाई प्रतिबन्धित लागूऔषधसहित पक्राउ गरेको छ । लागूऔषधको कारोबार हुँदै गरेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले त्यहाँँ छापा मारेर नगद ३३ हजार रुपैयाँ समेत तीन जनालाई पक्राउ गरेको हो ।

आइतबार सो होटलमा पुगेर प्रहरीले मोरङको मिक्लाजुङ ३ की १९ बर्षिया मोनिका राई, दमक १ का २६ बर्षीय सुरज कुमाल र दमक १ का ३१ बर्षीय कृष्णबहादुर श्रेष्ठलाई पक्राउ गरेको हो ।
उनीहरु बसेको सो कोठाबाट नगद ३३ हजार र खैरो हेरोइन जस्तो पदार्थ ६ ग्राम ७८० मिलिग्राम बरामद गरी थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनीहरुलाई लागूऔषध सम्बन्धी मुद्धामा  इलाका प्रहरी कार्यालय दमकबाट आवश्यक कारवाहीको प्रकृया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रचण्ड र भारतीय सुरक्षा सल्लाहकार अजित डोभालबीच भेटवार्ता

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभालबीच भेटवार्ता भएको छ।  भारत भ्रमणमा रहेका प्रचण्डले आइतबार नै डोभालसँग भेटेको भारतीय समाचार संस्था ‘न्युज १८’ ले जनाएको छ।

समाचारका अनुसार डोभालले एक होटलमा डिनर मिटिङका लागि प्रचण्डलाई आमन्त्रण गरेका थिए।  उनीहरूबीच जेनजी आन्दोलन, त्यसपछिको राजनीतिक घटनाक्रम र आउँदो फागुन २१ गते हुने निर्वाचन लक्षित कुराकानी भएको थियो।

डोभालले नेपालमा हुन लागेको निर्वाचन राष्ट्रिय स्थिरताका लागि आवश्यक भएको जिकिर प्रचण्डसँग गरेका थिए। उनले निर्वाचनलाई स्वागत गर्दै यसले नै लोकतन्त्रको रक्षा हुने बताएको न्युज १८ ले जनाएको छ।

डोभालले पटक पटक निर्वाचनमा जानु नै उपयुक्त हुने कुरा बताएको समाचारमा उल्लेख छ।

प्रचण्डले पनि नेपालका राजनीतिक दलहरूको मत पनि निर्वाचनमा जानु नै रहेको र यस विपरीत कोही नरहेको पनि बताएका थिए। उक्त भेटमा प्रचण्डकी छोरी गंगा पनि उपस्थित थिइन्। प्रचण्ड भारतको दिल्लीमा हुने नेकपा एकता सन्देश सभा र साक्षात्कार कार्यक्रममा सहभागी हुन आइतबार दिल्ली गएका हुन्।

दमकमा महिला अधिकारका लागि राष्ट्रिय अभियानको कार्यक्रम

दमक/ महिला अधिकारका लागि राष्ट्रिय अभियान झापा जिल्ला समितिले आज दमकमा एक दिने अन्तरकृयात्मक कार्यक्रम सम्पन्न गरेको छ ।
महिला अधिकार र लैङ्गिक हिंसा बिरुद्धमा बिगत लामो समयदेखि बिभिन्न अभियानहरु सञ्चालन गर्दै आएको सो संस्थाले बिपदमा परेका बालबालिकाहरु र बृद्धबृद्धाहरुलाई समेत उद्धार र सहयोग गर्दै आईरहेको छ ।
आईजिएफएफ र टेवाको सहयोगमा महिला अधिकारका लागि राष्ट्रिय अभियानका केन्द्रीय प्रशिक्षकहरुद्धारा सञ्चालन गरिएको सो कार्यक्रमको अध्यक्षता अभियानकी झापा जिल्ला अध्यक्ष पुनम बजगाई संग्रौलाले गरेकी थिइन् ।
दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराईको प्रमुख आतिथ्यमा अभियानकी केन्द्रीय उपाध्यक्ष मन्धरा चिमरिया पौडेल, महिला नेतृ रामकुमारी पौडेल र ईलाका प्रहरी कार्यालय दमकका प्रहरी निरिक्षक विपिन विश्वकर्माको विशिष्ट आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको हो ।
सो कार्यक्रमका बक्ताहरुले अभियानले हालसम्म गरेका सकारात्मक कार्यहरुको प्रशंसा र थप अभियान सञ्चालनका लागि अनुरोध समेत गरेका थिए ।
महिला अधिकारका लागि राष्ट्रिय अभियानकी केन्द्रीय प्रशिक्षक बिन्दा ठटालले अहिले महिला अधिकारका लागि राष्ट्रिय अभियानले देशका ४२ जिल्लामा काम गरिरहेको बताउँदै अभियानको संगठन बिस्तार, अभियानमा संलग्न महिलाहरुको सशक्तिकरण र हस्ताक्षर संकलन गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको उल्लेख गरिन् ।
राष्ट्रिय अभियानकी केन्द्रीय उपाध्यक्ष मन्धरा चिमरिया पौडेलले महिला आन्दोलनको आवश्यकता नै महिला सशक्तिकरणका लागि भएको बताउँदै महिला अधिकारका लागि महिला सशक्तिकरणका कार्यक्रममा जोड दिइन् ।
अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांश महिला सहभागिहरुले महिला हिंसामा परिरहेका ग्रामिण समुदायका महिलाहरुलाई तालिम तथा अन्तरकृया कार्यक्रम मार्फत थप शशक्त बनाउनु पर्ने, निस्कृय पालिकाहरुलाई सकृय बनाउनु पर्ने, राजनीतिक नेतृत्वमा पुग्न पुरुषहरुको गठबन्धनले महिलाहरुलाई सधैं पछाडी पारिरहेको लगायतका बिषयमा महिलाहरु सशक्त रुपमा अगाडि बढनुपर्नेमा जोड दिएका महिला अधिकारका लागि राष्ट्रिय अभियानकी दमक नगर अध्यक्ष रमा लिम्बुले जानकारी दिइन् ।

 

कमल नगर अस्पतालमा प्रदेश सरकारको मोबाइल स्वास्थ्य शिविर चलाइने

कमल/ स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका ग्रामीण तथा अर्ध–शहरी क्षेत्रका सर्वसाधारणलाई लक्षित गर्दै शुरु गरिने कोशी प्रदेश सरकारको महत्वाकाङ्क्षी कार्यक्रम ‘कोशी प्रदेश सरकारको घुम्ती अस्पताल’ झापाको कमलमा उदघाटन गरिने भएको छ ।
प्रदेशकै पहिलो मोबाइल घुम्ती अस्पताल स्वास्थ्य शिविर कमल नगर अस्पतालमा सञ्चालन हुने कमल गाउँपालिकाले जनाएको छ ।
पौष २५ गते शुक्रबार आयोजना हुन लागेको सो शिविरका माध्यमबाट नसर्ने रोगको स्क्रिनिङ, रक्तचाप जाँच, पिसाब परीक्षण,  BMI मापन, मधुमेह (सुगर) जाँच , थाइराइड जाँच, मुटु सम्बन्धी परीक्षण, मुटुको भिडियो एक्स–रे, हड्डी तथा नसा सम्बन्धी रोगको जाँच तथा विशेषज्ञ परामर्श सेवाका साथै चिकित्सकहरुको सिफारिसमा आवश्यकता अनुसार औषधिको निःशुल्क वितरण समेत गरिने जनाइएको छ ।
सो सम्बन्धिको कार्यक्रमको पूर्व तयारी बारे आज कमल गाउँपालिकामा गाउँपालिका अध्यक्ष हुकुमसिंह राईको प्रमुख उपस्थितीमा स्वास्थ्य निकायका उच्च अधिकारीहरु तथा विज्ञहरुसँग छलफल भएको छ ।
छलफलमा कोशी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञान बहादुर बस्तेन, जनस्वास्थ्य प्रशासक (नवौँ) रमेश बराकोटी, अस्पताल नर्सिङ प्रशासक (नवौँ) आस्था थापा, जिल्ला स्वास्थ्य कार्यालय, झापाका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठ, जनस्वास्थ्य अधिकृत अनिल श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत केशव कुमार ढकाल लगायत सहभागी थिए ।
यस कार्यक्रमलाई स्वास्थ्य सेवामा पहुँच विस्तार, प्रारम्भिक रोग पहिचान र जनस्वास्थ्य सुदृढीकरणतर्फको ऐतिहासिक कदमका रूपमा हेरिएको छ । कोशी प्रदेशकै पहिलो कार्यक्रम कमल नगर अस्पतालबाट शुरु हुन लागेकोले कमल गाउँपालिकाका अतिरिक्त आसपास क्षेत्रका अधिकतम नागरिकहरु यसबाट लाभान्वित हुने अपेक्षा गरिएको गाउँपालिका अध्यक्ष राईले बताए । कोशी प्रदेश सरकारको घुम्ती अस्पताल स्वास्थ्य शिविरको उदघाटनमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री एवम् स्वास्थ्य मन्त्री भूपेन्द्र राई लगायतको उपस्थिती रहने जनाइएको छ ।
कोशी प्रदेश सरकारको घुम्ती अस्पताल कार्यक्रम लाई व्यवस्थित, प्रभावकारी र सफल रूपमा सञ्चालन गर्न आज कमल नगर अस्पतालमा योजना तथा समन्वय बैठक सम्पन्न भएको छ । बैठकमा सेवा प्रवाह प्रणाली, जनशक्ति परिचालन, उपकरण व्यवस्थापन तथा सेवाग्राही व्यवस्थापनसम्बन्धी विषयमा विस्तृत छलफल भएको कमल नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. फुलक चन्द्र लावतीले जानकारी दिए ।
सोही दिन कमल नगर अस्पतालमा प्रविधिमा आधारित कृत्रिम बौद्धिकता सेवाको पनि स्वास्थ्य शिविर सञ्चालन हुने कमल–२ का वडा अध्यक्ष अशोक सुब्बाले जानकारी दिए । सेवाबाट क्षयरोग, फोक्सो तथा छातीसम्बन्धी रोगहरूको छिटो, प्रभावकारी र विश्वसनीय पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको अस्पताल प्रमुख दिपक दाहालले जानकारी दिए ।

दमकमा निवृत राष्ट्रसेवक समाजको सम्मान कार्यक्रम

दमक/ निवृत राष्ट्र सेवक समाज नेपाल, दमकले सत्रौ स्थापना दिवसको अवसरमा पाँच जना राष्ट्र सेवकलाई अग्रज सम्मान प्रदान गरेको छ ।
सम्मानित हुने राष्ट्र सेवकहरुमा निजामति तर्फ स्वास्थ्य सेवाका बुद्धिशेखर भट्टराई, बैङ्किङ क्षेत्रका खड्ग बहादुर खड्का, प्रहरी सेवाका रमेश रिजाल र शिक्षा क्षेत्रका पर्शुराम भट्टराई र प्रेम भण्डारी रहेका छन ।
सम्मानित हुनेहरुलाई प्रमुख अतिथि दमक नगरपालिकाका नगर प्रमुख रामकुमार थापा ,निवृत राष्ट्र सेवक समाजका केन्दिय सह अध्यक्ष जयधर्म आचार्य, केन्द्रिय उपाध्यक्ष गोपाल प्रसाद काफ्ले, केन्द्रिय सदस्य मोहन कुमार कार्की ,जिल्ला अध्यक्ष ढाकालाल अधिकारी लगायतले सम्मान पत्र, दोसल्ला,खादा माला लगाएर सम्मान गरेका थिए ।
कार्यक्रममा निवृत राष्ट्रसेवक समाजका आजिवन सदस्यहरुलाई आजिवन सदस्यको प्रमाण पत्र समेत प्रदान गरिएको थियो ।
कार्यक्रममा पूर्व प्रहरी समाज दमकका अध्यक्ष जीवन कुमार श्रेष्ठ, दमक नगरपालिका वडा नं ६ का वडाध्यक्ष टेक बहादुर थापा ,साहित्य कला सङ्गमका अध्यक्ष बिन्दु दहाल मुकदर्शक, ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपालका उपाध्यक्ष शिव प्रसाद काफ्ले लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रम निवृत राष्ट्र सेवक समाज दमकका अध्यक्ष अम्बिका प्रसाद सापकोटाको अध्यक्षतामा भएको थियो ।
कार्यक्रमको सञ्चालन सचिव डम्बरुबल्लव न्यौपाने गरेका निवृत राष्ट्रसेवक समाज दमकका नगरसमिति सदस्य ओमप्रसाद खनालले जानकारी दिए ।

‘म्याक्स बाबु’ले ल्याए ‘लाग्छ सरमै’ गीत

अष्ट्रेलिया/ अष्ट्रेलियाको सिड्नीमा उद्यमी तथा समाजसेवीका रूपमा परिचित महेश प्रसाईं ‘म्याक्स बाबु’ले नयाँ वर्षको अवसरमा नयाँ गीत सार्वजनिक गर्नुभएको छ । उहाँको चर्चित गायिका रचना रिमालसँग स्वर दिएको ‘लाग्छ सरमै’ बोलको गीत दर्शक-श्रोतामाझ आएको हो ।

सिड्नीका नेपाली सांस्कृतिक कार्यक्रमहरूमा निरन्तर प्रस्तुति दिँदै आउनुभएका म्याक्स बाबु कुशल परफर्मरका रूपमा समेत परिचित हुनुहुन्छ । सार्वजतिक गीत ‘लाग्छ सरमै’कै भिडियोमा नायिका गरिमा शर्मासँग उहाँले अभिनय गर्नुभएको छ । कला र सिर्जनशीलतालाई जीवन यात्रासँग जोड्दै आउनुभएका उहाँले यो सांगीतिक प्रस्तुतिले नेपाली गीत-संगीत क्षेत्र र नेपाली समुदायमा विशेषस्थान बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।

युवा अवस्थामा अष्ट्रेलिया पुग्नुभएका म्याक्स बाबुले सिड्नीमा आयोजना भएका सन् १९७४ एडीदेखि हालसम्मका विभिन्न सांगीतिक कार्यक्रममा नेपालका ख्यातिप्राप्त गायक-गायिका तथा कलाकारहरूसँग दर्जनौं पटक मञ्च साझा गरिसक्नुभएको छ । गीत-संगीतसँगै हास्य क्षेत्रमा पनि सक्रिय रहँदै आउनुभएका उहाँले मह जोडीसँग समेत आफ्नो प्रस्तुति दिइसक्नुभएको छ ।

दुई दशकदेखि अष्ट्रेलियामा बसोबास गर्दै आउनुभएका म्याक्स बाबुले सिड्नीको आइकोनिक थिएटर, राउण्ड हाउसजस्ता ठूला इभेन्टहरूमा प्रस्तुति दिनुभएको छ । पछिल्लो समय नेपाली चलचित्र ‘पीआर’ मा समेत उहाँको अभिनय देख्न सकिन्छ । कुन्ती मोक्तान, रामकृष्ण ढकाल, शिव परियार, रचना रिमाल, समीक्षा अधिकारीलगायत चर्चित कलाकारसँग मञ्च साझा गरिसक्नुभएका म्याक्स बाबु आफ्नो नयाँ गीतले युवा पुस्तादेखि वृद्धवृद्धासम्मको मन जित्नेमा आशावादी हुनुहुन्छ ।

पूर्वी नेपालको ताप्लेजुङमा जन्मिनुभएका म्याक्स बाबु सन् २००८ मा विद्यार्थीका रूपमा अष्ट्रेलिया जानुभएको थियो । प्रारम्भिक संघर्षपछि निरन्तर मिहिनेत र आत्मविश्वासका साथ उहाँले सन् २०१५ मा सिड्नीको रकडेलमा ‘एभरेष्ट बुचरी’ स्थापना गर्नुभयो । दशकभन्दा बढी समयदेखि व्यवसाय गर्दै आउनुभएका उहाँले हालै ‘कन्ट्री फ्रेश रकडेल’ सञ्चालनमा ल्याउनुभएको छ, जसको उद्घाटन न्यू साउथ वेल्सका प्रिमियरद्वारा गरिएको थियो ।

न्यू साउथ वेल्स राज्यबाट एकै वर्षमा तीन पुरस्कार प्राप्त गर्ने पहिलो नेपाली मूलका व्यक्ति बन्नुभएका उहाँको काम त्यहाँको राष्ट्रिय मिडिया ‘द लिडर’मा समेत फिचर भएको छ । व्यवसायसँगै सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै आउनुभएका म्याक्स बाबु ‘भिजन फर मोटिभेसन’ नामक गैर-नाफामूलक संस्थाका संस्थापकसमेत हुनुहुन्छ, जसले नेपाली अन्तर्राष्ट्रिय विद्यार्थीहरूको हितमा विविध सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

म्याक्स बाबुको यात्रा संगीत र अभिनयमा मात्र सीमित छैन । उद्यमशीलता र कलाकारितालाई सन्तुलित रूपमा अघि बढाउँदै आउनुभएका उहाँ व्यावसायिक सफलतासँगै सांस्कृतिक पहिचान जोगाउने अभियन्ताका रूपमा पनि चिनिनुहुन्छ । मञ्चमा होस् वा व्यवसायमा, उहाँको प्रस्तुतिमा आत्मविश्वास, मिहिनेत र नेपालीपनको स्पष्ट झल्को देखिन्छ, जसले उहाँलाई उद्यमी-कलाकारको प्रेरणादायी पहिचान दिलाएको छ ।

कमलमा सृजनशील नकआउट महिला फुटबल प्रतियोगिता हुँदै

कमल/ झापाको कमल–७ विष्णुकट्ठास्थित सिंहदेवी आधारभूत विद्यालयको खैल मैदानमा दोस्रो सृजनशील नकआउट महिला फुटबल प्रतियोगिता हुने भएको छ ।

सृजनशील युवा क्लवले आयोजना गर्ने प्रतियोगिताका बारेमा आज (आइतवार) बिहान गेउरिया चोकमा पत्रकार सम्मेलन गरेर खेल तालिका, बजेट र तयारीका बारेमा जानकारी दिएको छ ।

यहि पुस २६ गते शनिबारदेखि माघ ३ गते शनिबारसम्म महिला फुटबल प्रतियोगिता हुने भएको क्लवका अध्यक्ष निसान लामिछाने बताए ।

पत्रकार सम्मेलनमा प्रतियोगिताको तालिका टाइसिट सार्वजनिक गरिएको थियो । सो टाइसिटमा आयोजक संस्था सृजनशील युवा क्लबसहित भारत बाघडुग्राको जेपीएफसी, केचना फूटवल क्लव मोरङ पथरी, भद्रपुर झापा फूटवल क्लव, विराट मेघा स्पोर्टस विराटनगर, टाँडी स्पोर्टिङ क्लव मोरङ, पशुपति स्कूल वोमेन्स फूटवल काकरभिटटा, वेलवारी फूटवल क्लव मोरङ र आयोजकगरि ८ वटा टिमले भाग लिएका छन् ।

प्रतियोगिता अन्तर्गत उद्घाटन आयोजक सृजनशील युवा क्लव र विराट मेघा स्पोर्टस विराटनगरवीच खेल हुने पत्रकार सम्मेलनमा  आयोजकले जनाएको छ ।

प्रतियोगितामा विजेता टिमले रु १ लाख १ हजार १११, उपविजेता टिमले नगद रु ५५ हजार ५५५ सहित मेडल ,ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्ने छन् भने दैनिक खेलमा उत्कृष्ठ हुने एक जना खेलाडप्विधागत पुरस्कारअन्तर्गत उत्कृष्ट खेलाडीहरूलाई नगद रु ५ हजारसहित मेडल तथा ट्रफी र सर्वोत्कृष्ट एक जना खेलाडीलाई नगद रु १० हजारसहित मेडल तथा ट्रफी प्रदान गरिने भएको छ ।

प्रतियोगिता सम्पन्न गर्न करिव १० लाख खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगिता सफल बनाउन स्थानीय परिवर्तन युवा क्लव मुख्य प्रायोजक रहेको छ भने कमल गाउँपालिकाको कार्यालय, देश तथा विदेशमा बसोबास गर्नुहुने खेलप्रेमी तथा विभिन्न संघसंस्थाहरुबाट आर्थिक सहयोगबाट प्रतियोगिता सम्पन्न गरिने भएको हो ।

पत्रकार सम्मेलनमा क्लवका सल्लाहकारहरु रविन गुरुङ, सन्तोष राई, क्लवका सचिव विक्रम निरौलासहित पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको थियो ।