झापा गाउँपालिकामा अस्पताल , जग्गादाता तिवारीको शालिक अनावरण

दमक/ झापाको झापा गाउँपालिकामा आधारभूत अस्पताल उदघाटन गरिएको छ ।
सो पालिकाको वडा नं ३ टाघनडुब्बामा दाता परिवारले उपलब्ध गराएको एक बिगाहा बढी क्षेत्रफल भित्र निर्मित अस्पतालको बुधबार उदघाटन गरिएको हो ।
अस्पताल उदघाटनका अवसरमा अस्पताल निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउने दाता परिवारलाई सम्मान गरिनुका साथै जग्गादाताको अर्धकदको शालिक समेत अनावरण गरिएको छ ।
गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाले अस्पतालको उदघाटन गरेकी हुन् । १० वेड क्षमताको सो आधारभूत अस्पताल बनाउन झापा गाउँपालिका वडा नं ३ फुलगाँछीका समाजसेवी स्व। तारानिधि तिवारी र उनकी धर्मपत्नी विशेश्वरी तिवारीले करोडौ रुपैयाँ पर्ने १ विगाह १ कठ्टा १५ धुर जग्गा निःशुल्क रुपमा दान दिएका थिए ।
जग्गादाता परिवारलाई झापा गाउँपालिकाले दोसल्ला ओढाएर सम्मान–पत्रसहित सम्मान गरेको छ ।
त्यस्तै आधारभूत अस्पताल बनाउनको लागि जग्गा व्यवस्थापन गर्ने समितिका पदाधिकारीहरुलाई पनि सम्मान गरिएको थियो । जग्गादाता स्व। तारानिधि तिवारीको अर्धकदको शालिक अस्पतालको परिसरमा स्थापना गरिएको छ ।
अस्पताल निर्माण गर्न संघीय सरकारको सहयोग ४ करोड ८९ लाख तथा झापा गाउँपालिकाको २ करोड ४४ लाख ६२ हजार ७ सय ७७ रुपैयाँ गरी कुल ७ करोड ३३ लाख ६२ हजार ७ सय ७७ रुपैयाँ खर्च भएको प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौलाले बताए ।

उदघाटन कार्यक्रममा कार्यवाहक अध्यक्ष थपलियाले अब सामान्य उपचारका लागि यस क्षेत्रका नागरिकहरुले टाढा जानुपर्ने बाध्यता हट्ने विश्वास व्यक्त गरिन् । अस्पतालबाट स्थानीयले सहज , सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउने र आगामी दिनमा थप विशेषज्ञ सेवा उपलब्ध गराउने समेत प्रतिबद्धता जनाइन् ।
हाल अस्पतालबाट सेवाग्राहीहरुले एमवीवीएस डाक्टरवाट ओपीडी सेवा , ल्याव सेवा , एक्सरे , गर्भवती महिलाको लागि भिडियो एक्सरे , औषधी वितरण , प्रसूति सेवा र २४ घण्टा वर्थिङ्ग सेवा उपलव्ध हुने जनाइएको छ ।
वडा नंं ३ का अध्यक्ष सुभाषलाल गणेशको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा कार्यवाहक अध्यक्ष थपलिया, वडा नं १ का अध्यक्ष राजकुमार यादव , वडा नं ७ का सखिचन्द्र ठाकुर , पूर्ववडाध्यक्ष ३ का मोतीलाल गणेश , दाता परिवारका तर्फबाट बसुदा कँडरिया, जेष्ठ नागरिक संघका सचिव लक्ष्मी उप्रेती , जयनारायण शाह , शिक्षक महासंघ झापा गाउँपालिका अध्यक्ष जगन्नाथ राजवंशी , नेकपा एमाले झापा गाउँ कमिटी अध्यक्ष मोहन घिमिरे , टंक विश्वकर्मा र लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

धरमपुर साकोसको अर्धबार्षिक समीक्षा तथा सदस्य शिक्षा कार्यक्रम

दमक/ शिवसताक्षीको धरमपुरमा कार्यालय स्थापना गरी आफ्ना सदस्यहरुसँग वित्तीय कारोबार गर्दै आएको धरमपुर बचत तथा ऋण सहकारी संस्थाको चालू आर्थिक बर्ष २०८२÷०८३ को अर्धबार्षिक समीक्षा तथा सदस्य शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
बुधबार धरमपुर चोकमा आयोजना गरिएको सो कार्यक्रममा संस्थाको बित्तीय बिबरण, सामज प्रतिको उत्तरदायित्व अन्तर्गत सम्पन्न गरिएका कृयाकलापहरु, बिपन्न बिद्यार्थीहरुलाइ बितरण गरिएको न्यानो कपडा, प्रहरी बिट पुनर्निर्माण र आगामी कार्यक्रम अध्ययन अवलोकन भ्रमण, स्थापना दिवसको अवसरमा बैशाख २२ गते हुने रक्तदान कार्यक्रम लगायतका बिषयहरुमा सञ्चालक समिति र संस्थाका शेयर सदस्यहरुबीच छलफल भएको थियो ।
संस्थाका अध्यक्ष कुमार संकरको अध्यक्षतामा कार्यक्रमको सहजीकरण जिल्ला बचत तथा ऋण सहकारी संघ झापाका सचिब बिनोद ढकालले गरेका थिए । कार्यक्रमको संचालन संस्थाका सचिब नारदमणी रिमालले र स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष चन्द्र कुमार खड्काले गरेका थिए ।
संस्थामा हाल ९१ लख शेयर पुँजी, ७ करोड ऋण लगानी, ६ करोड रुपैयाँ बचत रहेको र अर्धबार्षिक वासलात झण्डै ८ करोड रहेको वित्तीय विवरण कार्यक्रममा सार्वजनिक गरिएको थियो ।

सुरक्षा अंगका उच्च अधिकारीहरुलाई कारवाही गर्न आयोगको सिफारिस

दमक/ भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ । गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनमा चार सैनिक अधिकारीलाई पनि कारबाही गर्नुपर्ने उल्लेख छ ।
राजनीतिक र उच्च नेतृत्वलाई फौजदारी कसुरमा कारबाही गर्न सिफारिस गरेको आयोगले नेपाल प्रहरी एआईजी सिद्धिविक्रम शाह, डीआईजी ओमबहादुर राना, काठमाडौंका तत्कालीन प्रहरी प्रमुख विश्व अधिकारी (हाल डीआईजी), उपत्यका प्रहरीका तत्कालीन एसएसपी दिपशमशेर जबरा र प्रहरी उपरीक्षक (एसपी) ऋषिराम कँडेललाई कारबाही सिफारिस गरेको छ ।
सशस्त्र प्रहरीतर्फ एआईजी नारायणदत्त पौडेल, डीआईजी सुरेशकुमार श्रेष्ठ र एसपी जीवन केसीलाई पनि कारबाही सिफारिस गरिएको छ ।
पौडेल तत्कालीन अपरेशन कमाण्डर थिए भने श्रेष्ठ सशस्त्र प्रहरीको काठमाडौं बाहिनीपति थिए । केसीचाहिँ विपद् उद्दार सिनामंगलमा कार्यरत थिए ।
तत्कालीन प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल र तत्कालीन राअवि प्रमुख हुतराज थापालाई चाहिँ फौजदारी कसुरमा छुट्टै कारबाही सिफारिस गरिएको छ ।
राअवितर्फ कारबाही सिफारिस हुनेमा उपत्यका अभियान महाशाखा सहनिर्देशक कृष्णप्रसाद खनाल र सहअनुसन्धान निर्देशक एवं काठमाडौं जिल्ला प्रमुख रिबेनकुमार गच्छदार छन् ।

दमकमा ‘सेकेन्ड नेशनल कुलिनरी च्यालेन्ज २०२६’ हुने

झापा/  नेपाल सेफ सोसाइटी तथा अन्तर्राष्ट्रिय नेपाली शेफ सोसाइटीको संयुक्त आयोजनामा ‘सेकेन्ड नेशनल कुलिनरी च्यालेन्ज कम्पिटिसन २०२६’ दमकमा आयोजना हुने भएको छ।

आयोजकका अनुसार, प्रतियोगिता कोशी प्रदेशको दमकस्थित पाथिभरा कुलिनरी आर्ट कलेजमा आगामी मे १५ र १६ (जेठ १–२) गते दुई दिनसम्म सञ्चालन हुनेछ।

कार्यक्रमअन्तर्गत खुला कुलिनरी प्रतिस्पर्धा, विभिन्न फुड कम्पिटिसन तथा फुड फेस्टिभल आयोजना गरिनेछ। प्रतियोगिताको मुख्य उद्देश्य देशभरका रैथाने तथा लोपोन्मुख नेपाली परिकारहरूको संरक्षण तथा प्रवर्द्धन गर्नुका साथै नेपाली कला, संस्कृति र ग्यास्ट्रोनोमीको जगेर्ना गर्नु रहेको आयोजकले जनाएको छ।

प्रतियोगितामा देश तथा विदेशमा कार्यरत नेपाली शेफ, पाककला विद्यार्थी, होटल तथा रेस्टुरेन्ट व्यवसायी तथा पाककलामा रुचि राख्ने व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ। अन्तर्राष्ट्रिय नेपाली शेफ सोसाइटीमार्फत करिब ४५ देशबाट शेफहरूको सहभागिता रहने जनाइएको छ।

कार्यक्रमस्थलमा ५० भन्दा बढी फुड स्टलहरू रहनेछन्, जहाँ विभिन्न रैथाने तथा परम्परागत नेपाली परिकारहरू प्रदर्शन गरिनेछ।

प्रतियोगितालाई थप आकर्षक बनाउन आयोजकले नगद पुरस्कारको व्यवस्था गरेको छ। जसअनुसार प्रथम स्थान हासिल गर्ने प्रतियोगीले रु. १,००,०००, द्वितीयले रु. ७५,००० तथा तृतीयले रु. ५०,००० पुरस्कार प्राप्त गर्नेछन्।

यसका साथै, प्रतियोगितामा सहभागी इच्छुक प्रतिभाहरूका लागि जॉब प्लेसमेन्ट (रोजगार अवसर) को अवधारणा समेत ल्याइएको आयोजकले जनाएको छ, जसले प्रतिभाशाली शेफहरूलाई भविष्यमा रोजगारीका अवसरसँग जोड्ने लक्ष्य राखेको छ।

आयोजकका अनुसार, यस कार्यक्रमले नेपाली खानाको अन्तर्राष्ट्रिय प्रवर्द्धन, पाककला पर्यटनको विकास तथा नेपाली ग्यास्ट्रोनोमीलाई विश्वमञ्चमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

नेपाल सेफ सोसाइटीका महासचिव दीपक कार्कीले देशभर तथा विदेशमा रहेका इच्छुक सहभागीहरूलाई प्रतियोगितामा सहभागी भई आफ्नो प्रतिभा प्रदर्शन गर्न आह्वान गरेका छन्।

कमलमा सरसफाई र स्वच्छताबारे प्रशिक्षक प्रशिक्षण

कमल / समुदायस्तरमा पूर्ण सरसफाइ तथा स्वच्छता व्यवहारलाई दीगो र प्रभावकारी रूपमा प्रवद्र्धन गर्ने उद्देश्यले कमल गाउँपालिकामा  प्रशिक्षकहरूको लागि प्रशिक्षण तालिम सञ्चालन गरिएको छ ।
सरसफाइसम्बन्धी व्यवहार परिवर्तनलाई स्थानीय तहसम्म संस्थागत गर्दै लैजाने लक्ष्यसहित सञ्चालन गरिएको यो तालिमले स्वास्थ्य तथा स्वच्छता क्षेत्रमा महत्वपूर्ण योगदान दिने अपेक्षा आयोजकले गरेको छ ।

सोमबारदेखि शुरु भएको तालिम उदघाटन कार्यक्रममा सरोकारवाला निकायका प्रतिनिधिहरू, स्वास्थ्यकर्मी, विभिन्न शाखाका कर्मचारी तथा सहभागीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
तालिममा सरसफाइ तथा स्वास्थ्य प्रवद्र्धनसँग सम्बन्धित विषयहरूमा सहभागीहरूलाई सैद्धान्तिक ज्ञानका साथै व्यवहारिक अभ्यासमार्फत दक्ष बनाइने प्रशिक्षक गजेन्द्र राईले जानकारी दिए । उनका अनुसार, तालिमले सहभागीहरूलाई प्रशिक्षकका रूपमा विकास गरी उनीहरूमार्फत समुदायमा व्यवहार परिवर्तनको सन्देश प्रभावकारी रूपमा पुर्‍याउने लक्ष्य राखिएको छ ।

यस तालिममा विशेषगरी पूर्ण सरसफाइ, सुरक्षित खानेपानी, व्यक्तिगत तथा वातावरणीय स्वच्छता, स्वास्थ्य व्यवहार परिवर्तन, समुदाय परिचालन लगायतका विषयहरू समेटिनेछन्। सहभागीहरूले सिकेका ज्ञान तथा सीपलाई आ–आफ्नो कार्यक्षेत्रमा प्रयोग गर्दै समुदायमा सरसफाइसम्बन्धी सचेतना अभिवृद्धि गर्ने विश्वास गरिएको छ ।

कार्यक्रममा विभिन्न अन्तर्राष्ट्रिय तथा विकास साझेदार संस्थाहरूको सहकार्य रहेको छ ।  WaterAid, SNV, IRC, University of Leeds तथा UK International Development जस्ता संस्थाहरूले प्राविधिक तथा सहयोगात्मक भूमिका निर्वाह गरिरहेका छन्।
कार्यक्रममा योजना शाखा प्रमुख हिमाल मिश्रले तालिमले आफ्नो क्षमता अभिवृद्धि गर्नुका साथै समुदायमा स्वास्थ्य तथा सरसफाइसम्बन्धी व्यवहार परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले सिकाइलाई व्यवहारमा रूपान्तरण गर्दै समुदायस्तरमा सकारात्मक परिवर्तन ल्याउनुपर्नेमा जोड दिए ।

त्यसैगरी, स्वास्थ्य शाखा प्रमुख दिपक प्रसाद दहालले तालिममा स्वास्थ्य शाखा, शिक्षा शाखा, पूर्वाधार (खानेपानी) शाखा तथा कमल गाउँपालिकाअन्तर्गतका सबै स्वास्थ्य संस्थाहरूबाट दुईरदुई जना सहभागी रहेको जानकारी दिए । उनका अनुसार, बहु–क्षेत्रीय सहभागिताले तालिमको प्रभावकारिता अझ वृद्धि गर्नेछ ।

चैत १३ गतेसम्म सञ्चालन हुने तालिम अवधिभर सहभागीहरूलाई व्यवहार परिवर्तनसम्बन्धी व्यावहारिक सीपमा निपुण बनाउँदै समुदायमा दीगो सरसफाइ प्रवद्र्धनका लागि सक्षम जनशक्ति तयार पार्ने लक्ष्य राखिएको छ । यस प्रकारका तालिमहरूले स्थानीय तहमा स्वास्थ्य तथा सरसफाइसम्बन्धी कार्यक्रमहरूको गुणस्तर अभिवृद्धि गर्नुका साथै समुदायमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

दमकको कुखुरा फार्ममा आगलागी, दुई हजार कुखुरा मरे

दमक/ झापाको दमक ८  बालुवाटार स्थित एक कुखुरा फार्ममा बिद्युत सट् भएर आगलागी भएको छ । स्थानीय खगेन्द्र निरौलाले सञ्चालन गर्दै आएको कुखुरा फार्ममा आगलागी भएको इलाका प्रहरी कार्यालय दमकका डिएसपी किशोर लम्सालले जानकारी दिए ।
मंगलबार साँझ अचानक भएको आगलागीका कारण भएको क्षतिको विस्तृृत विवरण आउन बाँकी रहेको वडाध्यक्ष धर्मप्रसाद दाहालले जानकारी दिए ।
उनका अनुसार फार्ममा रहेका ६ हजार मध्ये २ हजार कुखुरा आगोले जलेर मरेका छन् ।

चैत १६ देखि शिवसताक्षीमा मेयर कप खेलकुद, पाँच बिधामा खेलाडीहरुले प्रतिस्पर्धा गर्ने

दमक/ झापाको शिवसताक्षीमा बर्षेनी सञ्चालन हुँदै आएको मेयर कप खेलकुद प्रतियोगितालाई यस बर्ष पनि निरन्तरता दिइएको छ ।
खेलकुदका माध्यमबाट नगरबासी खेलाडीहरुलाई आपसमा जोड्दै भाइचाराको सम्बन्ध बिकास गराउने र स्थानीयस्तरका खेल प्रतिभाहरुको उजागर गर्ने उद्धेश्यले सञ्चालन हुँदै आएको मेयर कप प्रतियोगितालाई यस बर्ष पनि निरन्तरता दिइएको शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ ।
यही चैत १६ गतेदेखि शुरु हुने प्रतियोगिताकाबारेमा मंगलबार शिवसताक्षी नगर खेलकुद बिकास समितिले पत्रकार सम्मेलन मार्फत विस्तृत सार्वजनिक गरेको छ ।
सो अवसरमा शिवसताक्षी नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत सुनिता सम्बाहाम्फे, आर्थिक प्रशासन शाखा प्रमुख प्रकाश योङहाङ, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख छवि ढकाल लगायतको विशेष उपस्थिती रहेको थियो । समितिका संयोजक सुरज राईको अध्यक्षतामा सञ्चालित सो पत्रकार सम्मेलनमा जनाइए अनुसार दुधे रंगशालामा (खेल मैदान) मा आगामी चैत्र १६ गतेदेखि २२ गतेसम्म सो प्रतियोगिता सञ्चालन हुनेछ ।
प्रतियोगितामा फुटबल, भलिबल, क्रिकेट, व्याडमिन्ट र कराँते खेल सञ्चालन हुने छन् । प्रतियोगिताको फुटबल तर्फ प्रथमले ७५ हजार, द्वितीयले ४५ हजार सहित ट्रफी मेडल र प्रमाण प्राप्त गर्ने छन । त्यस्तै भलिबल र तर्फ प्रथमले ४० हजार र, द्वितीयले २५ हजार , क्रिकेट खेल तर्फ प्रथमले ५० हजार र, द्वितीयले ३१ हजार र भलिबल खेल तर्फ विजेताले ४० हजार उपविजेताले २५ हजार सहित ट्रफी मेडल, प्रमाण पत्र प्राप्त गर्ने आयोजक शिवसताक्षी खेलकुद विकास समितिका संयोजक राईले जानकारी दिए ।
मेयर कपमा व्याडमिन्ट सिंगल र डबल, कराँते विधाका समेत खेलहरु समावेश हुनेछ । आयोजकले सबै विधाका खेलमा विधागत उत्कृष्ट हुने खेलाडीहरुलाई समेत पुरस्कृत गरिने जनाएको छ ।

प्रतियोगिताका सबै खेलहरुमा नगरका ११ वटै वडाका टिमले सहभागिता जनाउने शिवसताक्षी नगरपालिकाले जनाएको छ ।
क्रिकेट खेल शिवसताक्षी ६ स्थित जन आदर्श माविको खेल मैदानमा सञ्चालन हुनेछ । कराँते प्रतियोगिता भने झिलझिलेमा सञ्चालन हुने आयोजकले जनाएको छ । सबै प्रतियोगिताहरु सञ्चालनका लागि सम्बन्धित विधाका खेलका अनुभवी र विज्ञहरुको टिमलाई जिम्मेवारी दिइएको पनि पत्रकार सम्मेलनमा जनाइयो । सोही अवसरमा खेलमा सहभागिताका बिषय केन्द्रित प्रोटेस्ट र नियमहरुका बिषयमा पनि जानकारी गराइएको थियो । सबै खेलका सबै खेलाडीहरु शिवसताक्षी नगरका स्थायीबासिन्दा हुन अनिवार्य गरिएको र कुनै पनि टिमले नगर बाहिरका खेलाडी सहभागी गराउन नपाउने व्यवस्था कडाइँका साथ लागू गरिने आयोजकले जनाएको छ ।

दमक सहकारी समन्वय समितिको भेला, संयोजकमा पुनः सापकोटा

दमक/ झापा जिल्ला सहकारी संघ अन्तर्गत सहकारी समन्वय समिति दमकको पुनःगठन भएको छ ।
संघका जिल्ला सञ्चालक समिति सदस्य तथा दमक नगर इञ्चार्ज पदम लिङदेन (संकल्प)को अध्यक्षतामा भएको दमक नगरपालिका सहकारी समन्वय समितिको भेलाले टिकाराज सापकोटा (सूर्यदर्शन साकोस)को संयोजकत्वमा समिति गठन गरेको हो ।
दमक नगरपालिकाका नगर प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यतामा भएको भेलाले सापकोटाको संयोजकत्वमा, सह–संयोजक अनिता खत्री (नयाँ बाटो बहुद्देश्य सहकारी संस्था ), सचिव श्री प्रेमलाल भण्डारी ( हिमचुली बचत तथा ऋण सहकारी संस्था) रहेको समिति गठन गरेको हो ।
सदस्यहरुमा ओममाया आङदाम्बे ( सूर्य किरण बचत तथा ऋण सहकारी संस्था ) भरत चम्लागाईं ( कञ्चनजङ्गा बहुउद्देश्य सहकारी संस्था) दीपा अधिकारी (उद्यम विकास बचत तथा ऋण सहकारी संस्था) नेत्रप्रसाद अधिकारी (कावेली साना किसान कृषि सहकारी संस्था) , पुरुषोत्तम खनाल (डाँफे सामुदायिक बचत तथा ऋण सहकारी संस्था ) हरि प्रसाद दाहाल ( विश्वासिलो बचत तथा ऋण सहकारी संस्था ) रहेका छन् ।
सो भेलामा दमक सहकारी बिभाग प्रमुख इच्चाराम चौलागाईं, जिल्ला सहकारी संघका अध्यक्ष प्रेमकुमार कोइराला, लेखा सुपरिवेक्षण समिति संयोजक चुडामणि ओझा, उपाध्यक्ष नारायण प्रसाद भट्टराई, सचिव भवानीप्रसाद दंगाल,कोषाध्यक्ष केशव बस्नेत, सञ्चालक सदस्य नारायण प्रसाद गौतम, पुष्पा अधिकारी, संगीता गजुरेल, युवराज गौतम, लेखा सुपरिवेक्षण समिति सदस्य मिलन आचार्य, व्यवस्थापक सन्जु देवान लगायत नगरपालिका भित्रका सहकारी संस्थाका ७१ भन्दा बढी सहकारी सस्थाका प्रतिनिधिहरु सहभागी थिए ।
कार्यक्रम सञ्चालन संघका सचिव भवानीप्रसाद दंगालले गरेका थिए ।

 

सरकार गठनको तयारीमा रास्वपा

झापा/  फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएसँगै मुलुकमा नयाँ सरकार गठनको प्रक्रिया तीव्र बनेको छ ।
भाद्र २३ को जेनजी आन्दोलन र त्यसपछि उत्पन्न परिस्थितीका कारण बिघटन भएको केपी ओली नेतृत्वको सरकारपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले निर्वाचन सम्पन्न गराउँदै ताजा जनादेशको भावना अनुसार अब नयाँ सरकार बनाउने जिम्मेवारी राष्ट्रिय स्वतन्त्र पार्टीको काँधमा आएको छ ।
यसपटकको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उल्लेखनीय सफलता हासिल गर्दै झण्डै दुई तिहाइ नजिकको सिट जितेको छ ।
रास्वपाले प्रत्यक्ष तर्फ करिब १२५ सिट जित्दै संसदमा स्पष्ट रूपमा सबैभन्दा ठूलो शक्तिका रूपमा उदाएको छ । उसले समानुपातिक तर्फको ११० सिट मध्ये पनि ५७ सिट हासिल गरेको छ । यससँगै रास्वपा अब १८२ सिट प्राप्त दल बनेको छ ।
निर्वाचनअघि नै रास्वपाले काठमाडौं महानगरपालिकाका तत्कालिन प्रमुख बालेन्द्र साह (बालेन) लाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेर चुनावी अभियान चलाएको थियो । साह झापा ५ बाट लोकप्रिय मतसहित निर्वाचित भए ।
भ्रष्टाचार नियन्त्रण, सुशासन, सेवा प्रवाहमा सुधार, युवा सहभागिता वृद्धि र राज्य संरचनामा व्यापक सुधार जस्ता एजेण्डा बोकेर चुनावमा गएको रास्वपाले मतदाताबाट व्यापक समर्थन पाएको देखिएको छ ।
सरकार गठन प्रक्रिया र समयसीमा
संवैधानिक व्यवस्था अनुसार अब राष्ट्रपतिले प्रतिनिधि सभामा बहुमत प्राप्त दललाई सरकार गठनका लागि आह्वान गर्नेछन्। ।
स्पष्ट बहुमत नजिक रहेको रास्वपाले एकल रूपमा सरकार गठन गर्नेछ । राष्ट्रपतिबाट आह्वान भएपछि सामान्यतः ७ दिनभित्र बहुमतको दाबी पेश गर्नुपर्ने हुन्छ ।
रास्वपाले एकल रूपमा बहुमत सुनिश्चित गरेकाले बालेन्द्र साहलाई प्रधानमन्त्री नियुक्त गर्ने प्रक्रिया अघि बढ्नेछ । उनले आगामी चैत्र १३ गते प्रधानमन्त्रीको सपथ लिने तयारी छ । त्यसपछि ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेको छ ।
दलभित्रको संसदीय दलको बैठक, प्रधानमन्त्री चयन, मन्त्रिपरिषद् गठन र मन्त्रालय बाँडफाँडका कार्यहरू पनि सोही अवधिमा टुंग्याउने तयारी भइरहेको स्रोतले जनाएको छ ।
जनताको अपेक्षा र दबाब
यसपटकको जनमतले परम्परागत दलहरूप्रति असन्तुष्टि र नयाँ राजनीतिक शक्तिप्रति आशा दुवैलाई स्पष्ट रूपमा देखाएको छ । विशेषगरी युवापुस्ताले सुशासन, पारदर्शिता र दण्डहीनताको अन्त्यको माग गर्दै रास्वपालाई समर्थन गरेका छन्। । सरकारी सेवा सहज बनाउने, रोजगारी सिर्जना गर्ने, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने अपेक्षा उच्च रहेको छ ।
मुख्य चुनौतीहरू
ठूलो जनसमर्थनसँगै रास्वपा भित्र चुनौतीहरू पनि कम छैनन् ।
प्रशासनिक अनुभवको अभाव, पुरानो शक्ति संरचनासँगको टकराव, आर्थिक संकट व्यवस्थापन, तथा संघीय प्रणाली कार्यान्वयन जस्ता विषयहरू नयाँ सरकारका लागि चुनौतीपूर्ण रहने विश्लेषकहरू बताउँछन्।् ।
साथै, जनअपेक्षा धेरै हुँदा छोटो समयमा पूरा गर्न नसक्दा जनअसन्तुष्टि बढ्ने जोखिम पनि उत्तिकै रहेको छ ।
रास्वपाले ‘नयाँ शैलीको शासन’ को प्रतिबद्धता जनाउँदै आएको सन्दर्भमा अबको साता सरकार गठन, विश्वासको मत र प्रारम्भिक नीति कार्यान्वयनका हिसाबले निर्णायक हुने देखिएको छ ।

झापामा वामपन्थी शक्ति पुनःगठन अभियान, १० नेताले जारी गरे संयुक्त अपिल

झापा/ झापामा विभिन्न कम्युनिष्ट पार्टीमा आबद्ध नेताहरूले वामपन्थी शक्तिहरूको पुनर्गठन अभियान सुरु गरेका छन्।

नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा), नेकपा (संयुक्त), नेकपा (माओवादी) तथा प्रगतिशील लोकतान्त्रिक पार्टीसँग सम्बद्ध नेताहरूले संयुक्त अपिल जारी गर्दै वामपन्थी शक्तिहरूलाई पुनर्गठित गर्ने अभियान अघि बढाएका हुन्।

बिर्तामोडमा आयोजित समीक्षा बैठकपछि जारी गरिएको अपिलमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणलाई अबको प्रमुख एजेन्डा बनाउनुपर्नेमा विशेष जोड दिइएको छ।

निर्वाचन परिणामले वामपन्थी शक्तिप्रति जनताको भरोसा कमजोर बन्दै गएको निष्कर्ष निकाल्दै नेताहरूले विचारभन्दा व्यक्तिवाद हाबी हुनु र आन्तरिक लोकतन्त्र कमजोर हुनु हारका मुख्य कारण भएको बताएका छन्।

अपिलमा भनिएको छ, ‘लामो समय सत्ता र संगठनमा रहे पनि जनताका आधारभूत मुद्दा सम्बोधन गर्न नसक्नु, पार्टीभित्र गुटबन्दी र अवसरवाद बढ्नुले समग्र आन्दोलनको विश्वसनीयतामा गम्भीर असर पारेको छ।’ साथै, पुरानो कार्यशैली त्याग्दै नयाँ पुस्तालाई नेतृत्वमा ल्याउनुपर्ने आवश्यकता औँल्याइएको छ।

संयुक्त अपिलमा हस्ताक्षर गर्ने नेताहरूले वामपन्थी दलहरूलाई जनमुखी र उत्तरदायी बनाउन नेतृत्व तहमा आमूल परिवर्तन आवश्यक रहेको बताएका छन्।

छरिएर रहेका वामपन्थी शक्तिबीच एकता अपरिहार्य रहेको निष्कर्ष निकाल्दै साझा विचार र कार्यक्रमका आधारमा सुदृढीकरण अभियान सञ्चालन गरिने उल्लेख गरिएको छ।

राष्ट्रिय हित, लोकतन्त्र र समाजवादको लक्ष्य हासिल गर्न विगतका कमजोरीबाट पाठ सिक्दै नयाँ ढङ्गले अघि बढ्न सबै वामपन्थी शक्तिहरूलाई एकताबद्ध हुन आह्वान गरिएको छ।

बिर्तामोड बैठकपछि जारी संयुक्त अपिलमा १० जना नेताहरूले हस्ताक्षर गरेका छन्।

हस्ताक्षर गर्नेमा स्वतन्त्र वामपन्थी नेता नरेश, नेकपा (एमाले) का रबिन कोइराला र गणेश  पोखरेल, नेकपाका झलकसिंह दर्लामी, रञ्जित तामाङ, ज्योतिसिंह दर्लामी र पुष्प पोखरेल, प्रगतिशील लोकतान्त्रिक पार्टीकी लक्ष्मीदेवी न्यौपाने, नेकपा (संयुक्त) का नीलमणि तथा नेकपा (माओवादी) का अर्जुन पाण्डे छन्।