साढे ६ किलोमिटर सडक कालोपत्रे, रंगेलीका बासिन्दा खुशी

दमक/ मोरङको रंगेली नगरपालिकामा पर्ने दर्बेसा–धनपाल्थान–गडीघट्टा–बबियाविर्ता–फुटानी चौंक सडकको कालोपत्रे योजना तिब्र गतिमा अघि बढेको छ ।

सो सडक कालोपत्रे योजना आर्थिक बर्ष २०७५÷०७६ मा संघीय सरकारले बहुबर्षे योजनामा समावेश गरेको थियो ।  लामो समयदेखि अघि बढन नसकेको सो सडकको पछिल्लो तीन महिनामा भने ६ किलोमिटर खण्ड कालोपत्रे भएको हो । गएको असार सम्म ३ कि मि र श्रवण यता थप ३ कि मि कालोपत्रे भएको हो ।

भौतिक पुर्वाधार विकास कार्यालय, मोरङ र रायमाझी – भिमेस्वर जे भीविच भएको सम्झौता अनुसार सो सडकको कूल साढे १४ किलोमिटर खण्ड कालोपत्रे हुनेछ । सो मध्ये गत बैशाखदेखि शुरु भएको कालोपत्रे तीन महिना बित्दा ६ किलोमिटर भन्दा धेरै भइसकेको भन्दै स्थानीयहरुले खुशी व्यक्त गरेका छन ।

लामो समयदेखि अलपत्र परेको यो सडकको काम अहिले तिब्ररुपमा अघि बढेपछि स्थानीयहरुमा उत्साह बढेको छ । सो सडक कालोपत्रे योजना पूरा गर्न ४१ करोड भन्दा बढी लागत लाग्ने अनुमान छ ।

छुट्टाछुट्टै घटनामा परि तीन जनाको मृत्यु

दमक/ विभिन्न घटनामा परेर तीन जनाको मृत्युभएको छ । झापा, इलाम र सुनसरीमा भएका तीन अलग अलग घटनामा परेर दुई महिलानसहित तीन जनाको मृत्युभएको हो ।

माई खोलामा डुबेर युवतीको मृत्यु

झापाको शिवसताक्षी नगरपालिका– १० टेक्रास्थित माई खोलामा एक युवतीको शव फेला परेको छ ।बुधबार विहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । माई खोलामा दाउरा झिक्न गएका स्थानीयले दाउरा सम्झेर युवतीको शव समाएका थिए ।

 शव इलाम माई नगरपालिका ८ इलाम घर भएकी १६ बर्षिया रमिला शेर्पाको भएको खुल्न आएको छ । इलाम माई नगरपालिका ८ बाट मंगलवार विहानबाट ती युवती हराएकी थिइन् । खेलाडीकै जर्सीमा रहेकी युवतीको शव हराएको स्थानबाट झण्डै १५ किलोमिटर दक्षिण फेला परेको हो । मृतकको शवलाई पोस्टमार्टमपछि परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

पोखरीमा डुबेर एकजनाको मृत्यु

हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेमा पोखरीमा डुबेर एकजनाको मृत्यु भएको छ ।स्थानीय पञ्चकाली पशुपालन समूहले बनाएको सिंचाइ पोखरीमा डुबेर ६२ वर्षीय केशरमान राईको मृत्यु भएको बुधबार प्रहरीले जनाएको छ । मंगलबार दिउँसो एक बजेतिर पौडी खेल्ने क्रममा स्थानीय १६ वर्षीय निशान राईले केशरमानलाई पोखरीमा डुबिरहेको अवस्थामा फेला पारेको डीएसपी मन्जिल मुकारुङले बताए । राईको शवको पोस्टमार्टम जिल्ला अस्पतालमा भइरहेको डीएसपी मुकारुङले बताए।

सफारीसँग स्कुटर ठोक्किँदा एक युवतीको मृत्यु

इटहरीमा सिटी सफारीसँग ठोक्किँदा स्कुटरमा सवार एक युवतीको मृत्यु भएको छ ।मृत्यु हुनेमा स्कुटर पछाडि सवार इनरुवा नगरपालिका ७ की अन्दाजी २४ वर्षीया सञ्जु चौधरीको मृत्यु भएको कोसी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । कार्यालयका अनुसार मङ्गलवार दिउँसो इटहरी– ९ स्थित साथी पेट्रोल पम्प अगाडि खनारबाट इटहरीतर्फ आउँदै गरेको प्रदेश नम्बर १–०२–००३ ह ५५७७ (हाल इटहरी उपमनपा १ ह १२५) सिटी सफारीले बाटो क्रस गर्दै गरेको प्रदेश नम्बर १–०२–०४२ प २८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको थियो । दुर्घटनामा उनको घटनास्थलमा नै मृत्यु भएको थियो ।

१० जना प्रहरीकाे ‘विशेष बढुवा’

काठमाण्डाै / नेपाल प्रहरीले १० जना प्रहरी कर्मचारीलाई ‘विशेष बढुवा’ गर्ने भएकाे छ ।

प्रहरी महानिरीक्षकले आर्थिक वर्षभरि विशेष तथा उत्कृष्ट काम गर्ने प्रहरीलाई बढुवा गर्न पाउने अधिकार प्रयोग गरी ‘विशेष बढुवा’ गर्नुभएको नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिनुभयो ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत प्रहरी नायब निरीक्षक तिलराम बोहरा सार्की वरिष्ठ नायब निरीक्षक हुनुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय दरबन्दी भएका प्रहरी सहायक निरीक्षक अर्जुन सेठ्ठी र अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका वामदेव घिमिरेलाई प्रहरी नायब निरीक्षकमा बढुवा गरिएको छ ।

यसैगरी प्रहरी सहायक हवलदारबाट हवलदार पदमा बढुवा हुनेहरूमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु दरबन्दी भएका सुवास नेपाली, केन्द्रीय अनुसन्धान ब्युरोका लक्ष्मण सापकोटा, लागुऔषध नियन्त्रण ब्युरोका भुदरमणि जोशी, वडा प्रहरी कार्यालय विर्ता पर्साका गनकुमार खण्डमुल, प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन महाशाखा अङ्गरक्षक गणका उपेन्द्र चौधरी रहेका छन् ।

त्यस्तै, विशेष ब्युरोमा कार्यरत प्रहरी हवलदार सविर अलि अन्सारी वरिष्ठ प्रहरी हवलदारमा र प्रहरी प्रधान कार्यालय कार्य विभाग मर्यादा पालक एकाइ नक्सालका प्रहरी जवान लोचन अधिकारी प्रहरी सहायक हवलदारमा बढुवा भएका छन् ।

सप्तकोशी किनारमा युवतीहरुबिच हानाहान

सुनसरीको सप्तकोशीको किनारमा तीन जना युवतीमाथि निर्घात कुटपिट भएको छ । जिल्लाको बराहक्षेत्र नगरपालिका–९ स्थित ५ जना युवती मिलेर ३ जना युवतीलाई निर्घात कुटपिट गरेको भिडीयो अहिले सामाजिक संजालमा भाइरल भएपछि प्रहरीले आरोपीतलाई पक्राउ गरेको छ ।

कुटपिट घटनामा संलग्न १९ वर्षीया प्रिति लिम्बुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।  असार २९ मा मादक पदार्थ सेवन गरेपछि दुई समूहको बिचमा भनाभन हुँदा झगडा भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।  पीडित पक्षका युवतीहरुले आइतबार जिल्ला प्रहरी कार्यालयमा घटनाबारे उजुरी दिएका छन् । किशोरीहरु बिच सामान्य विवाद हुँदा एउटा पक्षले अर्को पक्षलाई ‘बेइज्जत’ गरेको आरोपमा आक्रमण गरेका थिए ।

हेवा खोलामा दुर्घटना हुँदा एकजनाको मृत्यु

झापा/ फिदिमबाट ताप्लेजुङ जाँदै गरेको ट्रक मेची राजमार्गस्थित हेवा खोलामा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । ट्रकमा सवार दुईजना गम्भीर घाईते भएका छन् ।ना २ ख ९२१५ नम्बरको ट्रक दुर्घटना हुँदा हिलिहाङ गाउँपालिका -७ का ३८ बर्षीय लक्ष्मी तामाङको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाईते भएका तामाङको पाँचथर अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो । हिलिहाङ -७ का ट्रक चालक ४५ बर्षीय ज्ञानु थापा भनिने पारसमणी थापा र ३१ बर्षीय जीवन गदाईली दुर्घटनामा परी घाईते छन् । उनीहरुको पाँचथर अस्पतालमा उपचार भईरहेको छ ।

दमकमा २१० औँ भानु जयन्ती

दमक/  साहित्य कला सङ्गम दमक सहित तीन वटा संस्थाले संयुक्त रुपमा २१०औँ भानु जयन्ति मनाएका छन् । ज्येष्ठनागरिक सम्मान प्रतिष्ठान नेपाल तथा भट्टराई कुल बंश प्रतिष्ठान छाेरी बुहारी सञ्जाल दमक-५ले भानु जयन्ति बिशेष कार्यक्रम गरेका हुन्।

ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपालकाे सभाहलमा सम्पन्न उक्त कार्यक्रममा प्रतियाेगीतात्मक रामायण वाचन र प्रतियोगितात्मक कविता वाचन कार्यक्रम भएको थियो । प्रा.डा. गाेपाल भण्डारीकाे प्रमुख आतिथ्यमा भएकाे  कार्यक्रममा दमक नगरपालिकाका पूर्व नगर प्रमुख राेमनाथ ओली, प्रलेस काेसी प्रदेशका सचिव राजेन्द्र सर्वहारा, भट्टराई कुल वंश प्रतिष्ठानका अध्यक्ष शेर बहादुर भट्टराई , दमक प्रज्ञा प्रतिष्ठानका पूर्वअध्यक्ष हेमनाथ अधिकारी, साहित्यकला सङ्गम दमकका अध्यक्ष विष्णुप्रसाद न्याैपाने, ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपालका उपाध्यक्ष डाेयना दाहाल लगायकाे आतिथ्यता रहेकाे थियाे ।

कार्यक्रममा रामायण वाचन तर्फ पूर्णमाया बस्नेत प्रथम, गाेबिन्द न्याैपाने द्वितीय , राधिका देवी अधिकारी तृतीय र सन्ध्या भट्टराई सान्त्वना भएका थिए । यसैगरी कविता वाचन तर्फ गरिमा न्याैपाने प्रथम, कमला धिमीरे द्वितीय र ईशान केरुङ तृतीय भएका थिए।

कार्यक्रममा साहित्यकार बाला भट्टराईद्वारा निर्देशित घाँसी भानुभक्त सम्वाद नामक नाटक समेत प्रस्तुत गरिएकाे थियाे । कार्यक्रममा साहित्यकारहरु बिन्दु दहाल मुकदर्शक, हरि पराजुली, गाेपाल दहाल, अम्विकाप्रसाद सापकाेटा, डिल्ली निराैला, मेघनाथ बन्धु, कमल भट्टराई, रघुनाथ भण्डारी लगायत २५ भन्दा बढीले कविता वाचन गर्नुभएको थियो भने २३ भन्दा बढीले रामायण वाचन गरेका थिए ।

पूर्व शिक्षक तथा समाजसेवी कमल प्रसाद दाहालकाे परिवारले स्थापना गरेको भानुभक्तको शालिक परिसरमा वर्षेनी हुने कार्यक्रममा हुने सबैखाले प्रतियोगिताहरुमा लाग्ने पुरस्कारको व्यवस्थापन उहाँकै परिवारले गर्नेहुँदा यसपटकको पुरस्कार पनि दाहाल परिवारले नै गरेको थियो । ज्येष्ठ नागरिक प्रतिष्ठानले अध्यक्षता गर्ने र साहित्यकला सङ्गमले सञ्चालन गर्ने सम्झौता भए अनुसार सङ्गमका काेषाध्यक्ष ओमप्रसाद खनाल र सचिव विवश बलिभद्र काेइरालाले सयुक्त रुपमा सञ्चालन गरेका थिए ।

कार्यक्रममा भएका प्रतियाेगीताहरूकाे मुल्याङ्न सङ्गमका उपाध्यक्ष साहित्यकार यादवप्रसाद अधिकारी झाँक्रीखोलेको संयोजकत्वमा पदम प्रसाद रेग्मी र ज्याेति भट्टराईले गरेका थिए । कार्यक्रममा साहित्यकारका अतिरिक्त ज्येष्ठ बुबाआमाहरुकाे उल्लेख्य उपस्थिति रहेकाे थियाे ।

दमकमा साउन ७ देखि प्रदेशस्तरीय अन्तर क्याम्पस फुटसल प्रतियोगिता

 दमक/ झापाको दमकस्थित स्वतन्त्र बिद्यार्थी युनियन दमक बहुमुखी क्याम्पसले पहिलो पटक कोशी प्रदेशस्तरीय अन्तर क्याम्पस फुटसल प्रतियोगिता गर्ने भएको छ । स्ववियुले शुक्रबार कार्यालयमा पत्रकार सम्मेलन गरी प्रतियोगिताका बिषयमा विस्तृत जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा स्ववियु सभापति सोविम न्यौपानेले साउन ७ देखि १० गते सम्म सञ्चालन गरिने फुटसल प्रतियोगितामा प्रदेशभरका कूल २१ वटा क्याम्पसहरुबाट सहभागिता रहने जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न सचिव दिपक लिम्बूको संयोजकत्वमा प्रतियोगिता मूल समिति गठन गरिएको र विभिन्न ६ वटा उपसमितिहरुले आवश्यक तयारीहरु गरिरहेको सभापति न्यौपानेले बताए ।

प्रतियोगितामा सहभागी हुन आउने टाढाका फुटसल टिमहरुलाई आवासीय व्यवस्थापन समेत आयोजकले गर्ने गरि तयारी गरिरहेको मूल संयोजक लिम्बुले बताए । उनका अनुसार यो प्रतियोगिता ऐतिहासिक महत्व राख्ने किसिमको भएकाले यसलाई दमककै शान र प्रतिष्ठाका रुपमा लिन दमकबासीहरुलाई आग्रह गरिएको छ ।

प्रतियोगिताको विजेता टिमले नगद एक लाख राशीको पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले नगद ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने स्ववियु दमक बहुमुखी क्याम्पसकी कोषाध्यक्ष उमा राईले जानकारी दिइन । उनले प्रतियोगिता सञ्चालनमा कूल १२ लाख रुपैयाँ विविध शिर्षकमा खर्च हुने भएकाले दमक बहुमुखी क्याम्पस, दमक नगरपालिकासहित विभिन्न यहाँका शैक्षिक तथा खेलकुदप्रेमी सरोकारवालाहरुबाट सहयोगको अपेक्षा राखिएको बताइन ।

प्रतियोगितामा सहभागी टिमहरुको बीच उपाधिका लागि प्रतिस्पर्धा हुने र दमक बहुमुखी क्याम्पसका प्राध्यापक, कर्मचारी तथा स्थानीय सञ्चारकर्मीहरुका बीचमा मैत्रीपूर्ण फुटसल पनि सञ्चालन हुने आयोजकले जनाएको छ ।

करेन्ट लागेर मृत्यु

उदयपुर/ उदयपुरको त्रियुगा नगरपालिका-४ स्थितमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । हिजो दिउँसो त्रियुगा नगरपालिकाको सडक लाईन बत्तीमा कार्यरत ४० बर्षीय युबराज राई बिजुलीको पोलमा चढी काम गर्ने क्रममा अचानक करेन्ट लागि घाईते भएकोमा तत्काल उपचारको लागि जिल्ला अस्पताल उदयपुर लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सामाजिक सञ्जालमार्फत् ठगी गर्ने सात जना पक्राउ

झापा/ सामाजिक सञ्जालमार्फत् ७० हजार अमेरिकी डलर पठाएको छु भन्दै ठगी गर्ने सात जना पक्राउ परेका छन्। तीमध्ये तीन जना इन्जिनियर र एक जना भारतीय नागरिक रहेको प्रहरीले जानकारी दिएको छ।

गुडनेस इशराल नामको फेसबुक आइडीबाट उदयपुरको कटारी नगरपालिका–४ की ३६ वर्षीया सरिता तामाङलाई साथी बनाइ एक लाख तीस हजार ६२७ रुपैयाँ ठगी गरेको आरोपमा उनीहरूलाई इलाका प्रहरी कार्यालय कटारीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भारतको उत्तराखण्ड राज्य, जिल्ला पौडीगढवाल व्लक एमकेश्वर, पोष्ट अफिस भृगुखालका ३६ वर्षीय प्रविण भट्ट रहेको जिल्ला प्रहरी कार्यालयका एसपी ज्ञानेन्द्रप्रसाद फुयाँलले बताए। आइटी इन्जिनियर रहेका भट्ट पछिल्लो समय ठगी गर्ने उद्देश्यले झापाको विर्तामोड नगरपालिका–५ इन्द्रटोल बस्दै आएको अनुसन्धानबाट खुलेको छ।
त्यसैगरी सप्तरीको राजविराज नगरपालिका–१ डुम्रिका २५ वर्षीय डम्बर साह, बिष्णुपुर गाउँपालिका–२ सिम्रहा सप्तरीका २० वर्षीय निरजकुमार साह रहेका छन्। उनीहरू दुबै जना आइटी इन्जिनियर हुन्। प्रविण जेठ ८ गते, डम्बर असार १० र निरज जेठ २१ गते पक्राउ परेका हुन्।
त्यस्तै गुल्मीको इस्मा गाउँपालिका–५ का ३२ वर्षीय ध्रुव थापा, मोरङको विराटनगर महनगरपालिका–२० का ३७ वर्षीय हेमराज साह, झापाको झापा गाउँपालिका–१ बेलैतिवारीका ३१ वर्षीय वरजहान श्रेष्ठ र बाराको कलैया उपमहानगरपालिका–२० बसन्तपुरका २३ वर्षिय रुस्तम मन्सुरी रहेको एसपी फुयाँलले बताए। ध्रुव असार ४, हेमराज, वरजहान र रुस्तम तीनै जना असार १३ गते पक्राउ परेका हुन्।

पक्राउ परेका सातै जनालाई जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी फुयाँलले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी सार्वजानिक गरेका हुन्। एसपी फुयाँलले पक्राउ परेका व्यक्तिहरू विज्ञसहितको संगठित अपराधमा संलग्न रहेको बताए। आरोपितहरूसँगको बयानलाई उद्धृत गर्दै उनले भने, ‘नेपालको राजश्व ठगीमा यस्ता अपराधीहरू धेरै छन्। विदेशबाट आउने रेमिट्यान्स कम गर्ने र आफूहरूमार्फत् नै हुण्डीको कारोबार गरी संगठितरूपमै मुलुकको राजश्व छली गर्ने गरेको पाइयो।’

एसपी फुयाँलले थपे, ‘रगत नदेखिने र घाउचोट नलाग्नेगरी अपराधको स्वरुप परिवर्तन भएको र त्यसमा पनि सबैभन्दा बढी आर्थिक अपराध रहेको छ। पार्सल आयो, उपहार चिठ्ठा प¥यो भन्दै फोन, मेसेज, फेसबुक, वाट्सएपजस्ता सामग्री प्रयोग गरी ठगीका स्वरुपहरू परिवर्तन हुँदै गएको छ।’
आरोपितहरूले ‘फेसबुकबाट लगेजलगायत अमेरिकी डलर ७० हजार पठाइदिएको छु, एयरपोर्टमा उक्त सामान रोकिएकाले जतिसक्दो चाडो एक लाख तीस हजार ६२७ रुपैयाँ पठाउनुस् अनि तपाईँको सामान पाउनु हुन्छ’ भन्दै प्रलोभनमा पारेका डीएसपी कार्कीले बताए। उक्त रकम अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा कर वापतको रकम रहेको बताउने गरेको अनुसन्धानबाट खुलेको छ।

डीएसपी कार्कीका अनुसार पक्राउ परेका व्यक्तिहरूको खातामा अवैध रकम जम्मा हुने र आफूले पाउने प्रतिशत राखी पुनः अर्को खातामा पठाउने गरेको तथ्य खुलेको छ। यसरी विभिन्न व्यक्ति तथा निजहरूले खोलेको संस्थाको खातामा एक वर्षमा एक अर्ब नौ करोड एक लाख ४२ हजार ३९३ रुपैयाँ ट्रान्जेक्सन देखिएको उनले बताए।

-टाइम्स अफ प्रदेशबाट साभार

दमक १०: विकास र समृद्धिको वर्ष | निष्कर्ष मिडिया प्रा. लि. |

भिडिओ हेर्न तलको रातो अक्षरमा थिच्नुहोस 👇

दमक १०: विकास र समृद्धिको वर्ष|Damak 10: Year of Development and Prosperity| Damak | Nishkarsha News