दुर्घटनाका मृतक, ६ जनाको परिचय खुल्यो

काठमाण्डाै/ काठमाण्डौबाट म्याग्दीको बेनीका लागि छुटेको बस धादिङको गजुरी नजिकै त्रिशूली नदीमा खस्दा ज्यान गुमाएका आठमध्ये छ जनाको परिचय खुलेको छ ।

दुर्घटनामा पर्वतको जलजला गाउँपालिका–६ की राधिका सापकोटा र मोदी गाउँपालिका–५ का झ्यापटबहादुर क्षेत्रीको ज्यान गएको छ । यस्तै म्याग्दीकाे रघुगङ्गा–३ का ५० वर्षीय थानबहादुर भण्डारी, पर्वतको मोदी–१ की १५ वर्षीय कृतिका शर्मा पौडेल, धादिङकाे गजुरी–८ का २० वर्षीय सुशील रम्तेल र कास्कीको फुलबारी–११ का २४ वर्षीय सुमन थापाको पनि ज्यान गएको छ ।

दुई जना महिलासहित छ जना पुरुषको दुर्घटनास्थलमै ज्यान गएको थियो । अब मृतक दुई जना पुरुषको परिचय खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवालले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा १६ जना घाइते भएकामा १३ जनाको काठमाण्डौमा उपचार भइरहेको छ ।

आज बुधवार काठमाण्डौबाट छुट्दा बसमा २३ जना रहेको विवरण भए पनि दुर्घटना हुँदा कति जना थिए भन्ने अझै खुलेको छैन ।

करेन्ट लागेर मृत्यु

उदयपुर/ उदयपुरको त्रियुगा नगरपालिका-४ स्थितमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । हिजो दिउँसो त्रियुगा नगरपालिकाको सडक लाईन बत्तीमा कार्यरत ४० बर्षीय युबराज राई बिजुलीको पोलमा चढी काम गर्ने क्रममा अचानक करेन्ट लागि घाईते भएकोमा तत्काल उपचारको लागि जिल्ला अस्पताल उदयपुर लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।