दमकमा पूर्वाधार बिकासका योजना कुन वडामा कति प्रगति ?

दमक/ दमक नगरपालिकाको १६ औं नगर सभा बैठक आइतबार बसेको छ ।

नगर प्रमुख रामकुमार थापाको सभाध्यक्षतामा बसेको नगर सभा बैठकमा आर्थिक ऐन २०८१ लाई संशोधन गर्न बनेको विधेयक २०८१, विनियोजन ऐन २०८१ लाई संशोधन गर्न बनेको विधेयक, फोहोर व्यवस्थापन तथा प्लाष्टिकजन्य बस्तुको प्रतिबन्ध गर्न बनेको ऐन लगायत प्रस्तुत भएका छन् ।

आजको बैठकमा नगरपालिकाको बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक समेत रहेकी उपप्रमुख रेगिना भट्टराई (प्रसाइँ)ले आर्थिक ऐन २०८१ लाई संशोधन गर्न बनेको बिधेयक प्रस्तुत गरिन् ।
नगर सभामा विभिन्न बिषयगत समितिका संयोजकहरुले चालू आर्थिक बर्ष २०८१/ ०८२ को माघ मसान्त सम्मको प्रगति प्रतिवेदन प्रस्तुत गरे ।
त्यस्तै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले केही विशेष प्रस्तावहरु समेत प्रस्तुत गरेका छन् ।

नगर सभामा पूर्वाधार बिकास समिति संयोजक भिमप्रसाद पौडेलले समितिको प्रतिवेदन पेश गर्दै पाँच लाख रुपैयाँ भन्दा कम लागतका पूर्वाधार बिकासका योजनाहरु अघि सारिनु नहुने सुझाव राखे । संयोजक पौडेलद्धारा प्रस्तुत पूर्वाधार बिकासका योजनाहरुको प्रगति विवरण अनुसार अझै १ सय ७९ योजनाहरुको सम्झौता हुन सकेको छैन ।
चालू आर्थिक बर्षमा २० वटा योजना प्रकृयामा रहेका ९० वटा सञ्चालनमा रहेका र ६२ वटा योजना सम्पन्न भएका उल्लेख गरिएको छ । उपभोक्ता समिति मार्फत ८८ वटा योजना कार्यान्वयनमा रहेका छन भने ठेक्का प्रकृयाबाट ८४ योजना कार्यान्वयनमा रहेका छन् ।


वडागत रुपमा दमक नगरका १० वटै वडा मध्ये सबैभन्दा धेरै ७० प्रतिशत पूर्वाधार योजना कार्यान्वयन गर्नेमा दमकको ७ नम्बर वडा रहेको छ भने वडा नम्बर ७ पछि ५१ प्रतिशत योजना कार्यान्वयन गर्ने वडाका रुपमा दमकको ३ नम्बर रहेको छ । ३ नम्बर वडाको ५१ प्रतिशत प्रगति भएको प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।
सबैभन्दा कम प्रगति हुनेमा वडा नम्बर १ रहेको छ । सो वडामा पूर्वाधार तर्फको ७ प्रतिशत मात्रै योजना कार्यान्वयन भएका छन् । २ मा २१ प्रतिशत, ४ मा ४२ प्रतिशत, ५ मा २२ प्रतिशत, ६ मा ३६ प्रतिशत , ८ मा ३० प्रतिशत, ९ मा ३५ प्रतिशत र १० मा २३ प्रतिशत पूर्वाधार बिकासका योजना कार्यान्वयन भएको तथ्याङक प्रस्तुत गरिएको छ ।
नगर तर्फ ५९ प्रतिशत , संघीय सरकार अन्तर्गतका ३७ र प्रदेश सरकार अन्तर्गतका योजनाको प्रगति ७० प्रतिशत रहेको समितिका संयोजक पौडेलद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।

सभामा संयोजक पौडेलले दमक नगर पूर्वाधार बिकास ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रस्तुत गरेका छन भने शिक्षा समिति संयोजक कुबेर भट्टराईले दमक नगर आधारभूत तथा माध्यमिक शिक्षा ऐन २०७६ संशोधन गर्न बनेको विधेयक, सहकारी बिकास बोर्डका संयोजक पुण्यप्रसाद दाहालले सहकारी ऐन २०७५ संशोधन गर्न बनेको विधेयक , सुशासन समिति संयोजक नविन बरालले दमक नगर प्रहरी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक लगायत प्रस्तुत गरे । त्यस्तै सामाजिक बिकास समितिका तर्फबाट संयोजक शारदा भट्टराई, विधायन समिति संयोजक लोकबहादुर धिमाल लगायतले पनि आआफ्ना बिषयगत प्रतिवेदनहरु पेश गरेका छन् ।
सबै प्रतिवेदन तथा विधेयकहरुमाथि राय सुझावहरु १९ फागुन सम्ममा नगर प्रमुख समक्ष दर्ता गर्न समय तोकिएको छ भने २० फागुनमा नगरको सभाको अर्को बैठक बोलाइएको छ ।

दमक १०: विकास र समृद्धिको वर्ष | निष्कर्ष मिडिया प्रा. लि. |

भिडिओ हेर्न तलको रातो अक्षरमा थिच्नुहोस 👇

दमक १०: विकास र समृद्धिको वर्ष|Damak 10: Year of Development and Prosperity| Damak | Nishkarsha News

 

दमकको १३ औं नगरसभा -वजेटसहित नीति तथा कार्यक्रम पारित

 दमक / दमक नगरपालिकाको १३ औं नगर सभामा प्रस्ताव गरिएको नीति कार्यक्रम तथा बजेट संशोधनसहित पारित भएको छ ।
नगर सभाको आज बसेको दोश्रो बैठकमा उपप्रमुख रेगिना भट्टराईले १० असारमा प्रस्तुत गरेको नीति कार्यक्रम स्वीकृतार्थ पेश गरेकी थिइन । सो कार्यक्रम पारित गरियोस भनि बैठकमा राखेको प्रस्ताव नगर सभा अध्यक्ष तथा नगर प्रमुख रामकुमार थापाले निर्णयार्थ प्रस्तुत गरेका थिए ।
त्यसैगरी उपप्रमुख भट्टराईले पेश गरेको दमक नगरपालिकाको विनियोजन विधेयक २०८०, राजश्व संकलन तथा परिचालन गर्न बनेको विधेयक २०८० र दमक नगरपालिकाको आर्थिक विधेयक २०८० स्वीकृतार्थ पेश गरेकी थिइन । पेश गरिएका सबै विधेयक नगर सभामा नगर प्रमुख थापाले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मत पारित भएको घोषणा गरिएको थियो ।
सो सभाको बैठकमा न्यायिक समिति संयोजक उपप्रमुख भट्टराईले न्यायिक समितिको प्रतिवेदन पेश गर्दै चालू आर्थिक बर्षको शुरुदेखि अहिले सम्म २४४ वटा विभिन्न किसिमका विवाद सम्बन्धि निवेदन दर्ता भएका उल्लेख गरेकी छन् । उनले अधिकांश मुद्धाहरु लेनदेन, अंशवण्डा, झैझगडा सम्बन्धिका भएको र ४० वटा विवादित बिषयहरुको स्थलगत रुपमै पुगेर विवाद निरुपण गरिएको पनि जनाइन् । न्यायिक समितिको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन दमकका १० वटै वडामा १३६ जना मेलमिलापकर्ताहरु परिचालित रहेका छन् ।
सभामा पूर्वाधार बिकास समितिका संयोजक भिमप्रसाद पौडेल, सामाजिक विकास समितिका तर्फबाट सदस्य कुबेर भट्टराई, सुशासन तथा स्थानीय सेवा समितिका संयोजक नविन बराल ,विद्यायन समितिका संयोजक राजेन्द्र भण्डारी र वातावरण समितिका संयोजक टेकबहादुर थापाले शाखागत प्रतिवेदनहरु पेश गरेका थिए । सभाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि प्रस्तुत रु १ अर्ब ८४ करोड १२ लाख ३९ हजार रुपैयाको वजेटसहित विषयगत सबै प्रतिवेदनहरु समेत पारित भएका छन् ।