दमकमा प्याव्सनको अतिरिक्त क्रियाकलाप प्रतियोगिता

दमक/  निजी तथा आवासीय बिद्यालयहरुको संगठन ( प्याव्सन)को दमक नगर समितिले आयोजना गरेको नगरस्तरीय अन्तर बिद्यालय अतिरिक्त क्रियाकलाप सम्बन्धि प्रतियोगिता शनिबार सम्पन्न भएको छ ।
बिद्यार्थीहरुमा किताबी ज्ञानका अतिरिक्त अन्य बिषयहरुमा समेत प्रतिभा बिकास गराउने उद्धेश्यले हरेक बर्ष आयोजना गरिँदै आएको सो कार्यक्रम यस बर्ष दमक ४ स्थित एकता एकाडेमीमा सम्पन्न भएको हो ।
बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुबीच श्रुती लेखन, निवन्ध लेखन, कविता लेखन तथा वाचन, आकस्मिक वक्तृत्वकला, चित्रकला, हाजिरीजवाफ लगायतका विधामा गरिएको प्रतियोगिताका उत्कृष्ट विद्यार्थीहरुलाई दमक नगर उपप्रमुख रेगिना भट्टराई (प्रसाइँं)को प्रमुख आतिथ्य र दमक नगर शिक्षा संयोजक तथा दमक ९ का वडाध्यक्ष कुबेर भट्टराईको विशेष आतिथ्यमा पुरस्कार तथा प्रमाण पत्र वितरण गरिएको आयोजकले जनाएको छ ।
प्याव्सन दमक नगर अध्यक्ष जनार्दन मैनालीको अध्यक्षतामा भएको सो प्रतियोगितामा ४५ बिद्यालयको सहभागिता रहेको जनाइएको छ । प्याव्सनका अतिरिक्त क्रियाकलाप संयोजक मित्र खत्री रहेका थिए ।
गाउँ नगरस्तरमा सञ्चालित विभिन्न बिधाका प्रतियोगितामा प्रथम हुनेहरुलाई बाल दिवसको अवसर पारेर यही २९ भाद्रमा जिल्लास्तरमा हुने प्रतियोगितामा सहभागी गराइने जनाइएको छ ।

व्यापारी धम्काउने दुई जना पक्राउ

जनकपुर/ अख्तियारको कर्मचारी हौँ भन्दै व्यापारीहरुलाई धम्की दिएको आरोपमा प्रहरीले दुई जनालाई जनकपुरबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका ७ बस्ने हंसपुर नगरपालिका ३ का अनिल सिंह र राहुल सिंह रहेका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी बेदप्रसाद गौतमका अनुसार उनीहरुले ७ वटा पसलमा रकम असुल्न धम्की दिएका थिए।

हामी अख्तियारको कर्मचारी हौं, पसलका कागजातहरू देखाउनुस्, पसलको खानतलासी गर्छौ, तपाईको पसल सिल गर्छौं भन्दै धम्की दिई नगद असुल गर्ने तथा ठगी गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ।

उनीहरुमाथि थप अनुसन्धान गर्न जिल्ला अदलत धनुषाले ५ दिनको म्याद दिएको छ।

कोशी सरकारविरुद्धको मुद्धामा बिहीबार सुनुवाइ

काठमाडौं/ कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पाएको विश्वासको मतमाथि उठेको विवादमाथिको सुनुवाइले बिहीबार पनि निरन्तरता पाउने भएको छ ।

सर्वोच्च अदालतले मंगलबार दिनभर सुनुवाइ गरेपछि मुद्दा हेर्दाहेर्दैमा राख्ने आदेश गरेको हो ।

मंगलबार दिनभर सरकारी वकिल, कोशी प्रदेशको मुख्य न्यायाधीवक्ता कार्यालयका मुख्य न्यायाधीवक्ता लगायतले बहस गरे ।

थापाको पक्षका कानून व्यवसायीहरुको बहस लम्बिएपछि निवेदकका कानून व्यवसायीले जवाफी बहस गर्ने समय पाएनन र मुद्दा बीहीबारका लागि सुनुवाइ हुने भनी आदेश भएको हो ।

सांसद यादव पक्राउ

काठमाडौं । मधेश प्रदेशका स्वतन्त्र सांसद अनिरुद्धसिंह यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

उनलाई माओवादी नेताको हत्या अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

सप्तरीको प्रदेश क्षेत्र नम्बर ४ ‘ख’ बाट निर्वाचित सांसद यादवलाई प्रहरीले राजविराजबाट पक्राउ गरिएको जनाएको छ ।

जिल्ला, उच्च र सर्वोच्च तीनै तहका अदालतले दोषी ठहर गरिसकेका सांसद यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

माओवादी नेता गोबिन्द चौधरीको हत्या गरेको मुद्दामा सांसद यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उनलाई राजविराजस्थित जिल्ला अदालतमा हाजिर गराएको छ ।

अन्तर बस्तुगत संघ फुटसल प्रतियोगितामा ८ टिमबीच प्रतिस्पर्धा, यस्तो छ खेल तालिका

दमक/ दमक उद्योग वाणिज्य संघको ३३ औं बार्षिकोत्सवको अवसर पारेर आयोजना गरिएको प्रथम दमक उद्योग वाणिज्य संघ कप फुटसल प्रतियोगिताको तयारी पूरा भएको छ ।

फुटसल प्रतियोगिता तयारी समितिले संघद्धारा आज (मंगलबार ) आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको तयारीसँगै खेल तालिका सार्वजनिक गरेको हो ।

समितिका संयोजक तुलसीराम तिम्सिनाले भाद्र ६ गते बुधबार दमक ५ स्थित विस्ट फुटसल मैदानमा सञ्चालन हुने सो प्रतियोगितामा संघ अन्तर्गतका ८ वटा बस्तुगत संघका टीमले सहभागिता जनाउने निश्चित भएको जानकारी दिए ।

उनका अनुसार सो अन्तर बस्तुगत संघ फुटसल प्रतियोगितामा ८ वटा बस्तुगत संघ प्रतिनिधि, संघका पदाधिकारी, व्यवसायीहरुको रोहबरमा गोलाप्रथाद्वारा खेल तालिका निर्धारण गरिएको हो ।

व्यवसायीहरुको छाता संगठन दमक उद्योग वाणिज्य संघले बार्षिकोत्सवका अवसरमा रचनात्मक कार्यक्रमहरु गर्ने र संघको बार्षिक साधारण सभा पुष भित्र गर्ने यसअघिको साधारण सभाको म्याण्डेड अनुसार यस पटक फुटसल प्रतियोगिता गर्न लागिएको आयोजक दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाइँले जानकारी दिए ।

फुटसल मैदानमा बिहान ७ बजे संघको बार्षिकोत्सव विशेष कार्यक्रम उदघाटनमा दमक नगर प्रमुख, उपप्रमुखसहित जनप्रतिनिधि एवं व्यवसायीहरु समेतको विशेष उपस्थिती रहनेछ भने अपरान्ह ३ बजेपछि हुने समापन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गोकूल श्रेष्ठको प्रमुख आतिथ्य रहने पत्रकार सम्मेलनमा जनाइयो ।

प्रतियोगिताको विजेता टिमले नगद १५ र उपविजेताले नगद १० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्न सक्ने जनाइएको छ । अन्य थप दुई विधामा समेत खेलाडी पुरस्कृत गरिने जनाइएको छ ।

पत्रकार सम्मेलनमा संघका प्रथम उपाध्यक्ष राजकुमार योङया, द्धितीय उपाध्यक्ष ज्ञाननाथ पौडेल, तृतीय उपाध्यक्ष रुवल अधिकारी, संघका कार्यालय प्रमुख निरज विष्ट लगायतको पनि उपस्थिती रहेको थियो ।

व्यवसायी नेताहरुले खेलकुदका माध्यमबाट व्यवसायीहरुको शारिरीक अभ्यासमा मद्धत पुग्नुका साथै मित्रताको भावना बिकास गराउन मद्धत पुग्ने अपेक्षा गरिएको बताएका छन ।

मुख्यमन्त्री थापालाई विस्वासको मत

काठमाण्डौ/ कोशी प्रदेशका मुख्यमन्त्री उद्धप थापाले विस्वासको मत पाउनुभएको छ ।

सभाका अध्यक्षता गरिरहनुभएका इसराइल मन्सुरीले समेत मत दिएपछि ४७ मत सहित उहाँले विश्वासको मत पाउनुभएको हो ।

विपक्षमा ३० मत प्राप्त भएको छ । ९३ जनाको प्रदेश सभामा आज ७७ जना उपस्थित थिए ।

थापालाई विश्वासको मत पाउनुबाट रोक्न विपक्षी गठबन्धन एमाले र राप्रपाले उपसभामुख सिर्जना दनुवार सहित नौ जना प्रदेश सभा सदस्यलाई अनुपस्थित गराएको थियो ।

एमाले र राप्रपाले उपसभामुख दनुवार अनुपस्थित हुँदा ज्येष्ठताको क्रम अनुसार सभाको अध्यक्षता गर्नुपर्ने आफ्ना आठ जना सांसदहरुलाई अनुपस्थित गराएको हो ।

उनीहरुले हिजै विभिन्न कारण देखाउँदै अनुुपस्थित हुने सूचना प्रदेश सभा सचिवालयलाई गराएका थिए ।

उपसभामुख दनुवार पनि आज बिरामी भएको भन्दै सभा सञ्चालनको जिम्मेवारी मन्सुरीलाई दिएर काठमाण्डौतर्फ लाग्नुभएको हो ।

विपक्षी दलहरुले उपसभामुखसहित ठूलो संख्यामा सांसदहरुलाई अनुपस्थित गराएपछि सत्ता गठबन्धनले सभाको अध्यक्षता गरिरहेका व्यक्तिलाई नै मत दिन लगाएको हो ।

मतदानअघि बैठकमा सत्तापक्षका सांसदहरुले सरकार निर्माणको क्रममा सभाअध्यक्षले मत दिनु संविधान अनुसार नै भएको दाबी गरे ।

विपक्षी दलहरुले भने अध्यक्षता गरेको व्यक्तिले संविधान विपरीत मतदान नगर्न चेतावनी दिएका थिए ।

अध्यक्षता गरिरहनुभएका मन्सुरीले मतदान गर्ने बेलामा पनि विपक्षी दलहरुले विरोध गरेका छन् ।

उनीहरुले संविधान मिच्न पाइँदैन भन्दै नाराबाजीसमेत गरे ।

झापाका तीन ठाउँमा रास्वपाको जनसभा

दमक/  राष्ट्रिय स्वतन्त्र पार्टीले शुक्रबार एकैदिन झापाका ठुला मध्येका तीन शहरमा बृहत जनसहभागितामा सभा सम्पन्न गरेको छ ।

दमक, गौरादह र विर्तामोडमा एकैदिन आयोजना गरेको जनसभालाई पार्टी सभापति रवि लामिछानेसहित महामन्त्री मुकुन्द ढकाल, संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारसहित आधा दर्जन बढी केन्द्रिय नेताहरुले सम्बोधन गरेका छन । दमकमा आयोजित सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले देशलाई यो अवस्थामा ल्याउन एक बर्ष अघि मात्रै स्थापना भएको आफनो पार्टीको कुनै दोष नभएको जिकिर गर्दै लामो समयदेखि राजकाज चलाएका ठुला भनिएका दलहरुको अकर्मण्यता यसको मुख्य कारण भएको तर्क गरे ।

मुलुकमा भइरहेको बिकास र समृद्धिमा अन्य दलहरुको योगदानबारे खासै नबोलेका सभापति लामिछानेले भ्रष्टचार, अनियमितता र देशको गिर्दो आर्थिक अवस्था लगायत सम्पूर्ण जिम्म अन्य ठुला दलहरुले लिनुपर्ने जिकिर गरे ।

दमकमा सभा चलिरहँदा पानी पर्न थालेपछि लामिछानेले आफनो सम्बोधनका क्रममा आँधीहुरी र बर्षाबाट प्रभावित र विचलित नहुने भन्दै सहभागीहरुलाई भने–यहाँ पानी पर्न सक्छ, आँधीहुरी आउन सक्छ रुझ्दै भिज्दै पनि भ्रष्टाचारीहरुलाई लखेटनु परेको छ ।
त्यसैगरी गौरादह बजारमा आयोजना गरेको सभालाई पनि सभापति लामिछाने, महामन्त्री मुकुल ढकाल, प्रमुख सचेतक सन्तोष परियार लगायतले सम्बोधन गरेका थिए । त्यसअघि विर्तामोडमा पनि रास्वपाले व्यापक जनहभागितामा पार्टीको सभा सम्पन्न गरेको थियो ।

दमक चौंकमा बल्दैनन् सडक बत्ति

दमक/ झापाको मुख्य शहरी क्षेत्र मानिने दमक चौंकमा सडकबत्ती नहुदाँ रातीपख अन्धकार हुदै आएको छ । सडकका पूराना वत्ती जीर्ण भएपछि लामोसमयदेखि दमक चौंक क्षेत्र अन्धकार बन्दै आएको हो ।

पूर्वपश्चिम लोकमार्गमा पर्ने दमकको मुख्य चौंक क्षेत्रमा भएका सोलारजडित सडकबत्ती काम नलाग्नेमा पुगेपछि चौंक क्षेत्र अन्धकार वन्न पुगेको स्थानीयले बताएका छन् । सडकबत्ती नहुदाँ चौंकमा रात्रीपख दैनिकजसो झैझगडा, दुर्घटनाको घटना बढ्दै गएको पाईएको छ ।

दमक आकासे पुल संगैको पूराना सृजना होटलका सञ्चालक रमेश मगरले मुख्य दमक चौंक अन्धकार जस्तै भएपनि सम्बन्धित निकाय बेखबर हुनु दुःखद भएको गुनासो सुनाउँछन् । भएका सडकबत्ती मर्मत तथा थप विस्तार गरे चौंकको आर्कषण देखिने उनको भनाई छ ।

दमक चौंक बाहिरका धेरैजसो सडकमा आधुनिक सडकबत्ती जडान गरि झिलीमिली गरिएपनि दमक चौंकमा भने कसैको चासो नपर्नु दुःखद भएको सांस्कृतिक संघ दमकका अध्यक्ष टंक ढकाल बताउँछन् । एम्बुलेन्स समेत चलाउदै आएका उनले दमक चौंक क्षेत्रका बाटोघाटोमा सडकबत्ती नहुदाँ कता कता आफूहरु असुरक्षित महषुष गरेको सुनाउँछन् ।

सडकबत्ती नहुदाँ आकासे पुल आसपास साँझपख लाग्दै आएका फूटपाथका व्यापार प्रभावित भएको उनीहरुको दुखेसो छ । साँझपख ठेलामा खाजाको विभिन्न परिकार बेचेर जिबिकोपार्जन गरिआएकी दमक ८ की तिलल्मा शर्माले बर्षोदेखि सडक किनारका फूटपाथमा परिवारिक गुजाराका लागि ठेलामा खाजा बेच्दैआएपनि अहिले भने लखेटी लखेटी नगर प्रहरीले खेद्दै आएको सुनाउँछिन् । अव्यवस्थितसंगै फूटपाथमा व्यापार गर्न नगरपालिकाले रोक लगाएको छ ।

फूटपाथमा व्यापार गरेर चारजना परिवारको पेट पालिदैआएको उनले सुनाउदै भनिन्, –‘फूटपाथमा गुजारा चलाउन निकै समस्या खेप्नुपरेको छ भने अर्कातिर साँझपख सडकबत्ती नहुदाँ आफूहरुले असुरक्षित महषुष गर्नुपरेको छ ।

मुख्यगरि दमकको प्रवेशद्धार रतुवाको पुलदेखि चियादोकानसम्मका सडकमा सडकवत्ती नबल्दा रात्रीको समय अन्धकारमय वन्दै आएको छ ।

सरकारले खोल्यो जग्गाको कित्ताकाट

काठमाडौँ/ सरकारले लामो समयदेखि रोक लगाएके जग्गाको कित्ताकाट खोलेको छ । भूमि व्यवस्था मन्त्रालयले मंगलबार संशोधित भू उपयोग नियमावली स्वीकृत गरेसँगै जग्गाको कित्ताकाट खुलेको हो ।

अघिल्लो भू उपयोग नीति अनुसार स्थानीय पालिकाले जग्गाको वर्गीकरण गरेपछि मात्रै कित्ता काट्न खोलिने भनिएको थियो । तर, १६० वटा पालिकाले मात्रै जग्गा वर्गीकरण गरेपछि ती पालिकाबाहेक अन्य ठाउँमा कित्ताकाट रोकिएको थियो ।

सरकारले जग्गाको कित्ताकाट नखोल्दा आर्थिक क्षेत्र नै चलायमान हुन नसकेको भन्दै घरजग्गा व्यवसायी तथा निजी क्षेत्रका व्यवसायीहरुले कित्ताकाट खुला गर्न माग गर्दै आएका थिए ।

साधारण सभामा ज्येष्ठहरुलाई  सम्मान

दमक/ साधारण सभामा ज्येष्ठ बुबाहरुलाई  सम्मान ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपाल वडा समिति ,दमक -८ ले छैटाै बार्षिक साधारण सम्पन्न गरेकाे छ । उक्त साधारण सभामा ८० बर्ष भन्दा माथीका ज्येष्ठ बुबाहरुलाई सम्मान समेत गरेकाे छ । वडा नं ८ भित्र रहेका १० जना ज्येष्ठ बुबाहरुलाई सम्मान पत्र प्रदान गर्नुका साथै दाेसल्ला ओडाएर सम्मान गरिएकाे थियाे । उक्त कार्यक्रममा आमा डेन्टल क्लिनिककाे तर्फबाट अर्जुन कुमार श्रेष्ठले फलफुल बितरण गरिएकाे थियाे भने आकर्षक फेन्सी स्टाेरकी सञ्चालक सुनिता ढुङ्गानाले सम्मानित ज्येष्ठ बुबाहरुलाई नगद रु ५००/- का दरले सम्मान गरिएकाे थियाे।

कार्यक्रममा प्रतिष्ठानका केन्दिय अध्यक्ष सिताराम खतिवडा,उपाध्यक्ष डाेयना दहाल,केन्द्रीय सदस्य कमल प्रसाद दहाल,केन्द्रीय सल्लाहाकार देव प्रसाद सुवेदी ,दमक न पा वडा नं ८ का वडाध्यक्ष धर्म प्रसाद दहाल,वडा सदस्यहरु खेम श्रेष्ठ, लगायतले शुभकामना ब्यक्त गरेका थिए। उक्त कार्यक्रममा अध्यक्ष वाट प्रस्तुत गरिएकाे बार्षिक प्रतिवेदन पारित गर्नुका साथै आगामी ५ बर्षकाे लागि ओमप्रसाद खनालकाे अध्यक्षतामा नँया कार्य समिति चयन गरेकाे छ । जसमा उपाध्यक्ष, सचिव ,काेषाध्यक्ष र सदस्यहरुमा क्रमश अर्जुन प्रसाईं,तारानाथ भट्टराई,हरिप्रसाद खतिवडा,जगन्नाथ गाेस्वामी,सावित्रा खडका,लाेकनाथ अधिकारी,कृष्ण मैनाली र दुर्गादेवी ढुङ्गाना रहेका छन ।

दमक नं. पा. वाड न. ८ का वडा अध्यक्ष धर्म प्रसाद दहाल काे प्रमुख आतिथ्यता भएकाे उक्त कार्यक्रमकाे अध्यक्षता प्रतिष्ठानका वडा समिति अध्यक्ष ओम प्रसाद खनालले गरेका थिए । कार्यक्रमकाे सञ्चालन प्रतिष्ठानका सचिव तारानाथ भट्टराईले गरेका थिए । कार्यक्रममा करिब एकसय भन्दा बडी आजिवन सदस्यहरुकाे उपस्थिति रहेकाे थियाे ।