आदिवासी रंगशालामा मनाइयो बृहत विश्व आदिवासी दिवस

दमक/ २९ औं विश्व आदिवासी दिवस झापाको कमल ५ स्थित आदिवासी रंगशालामा बृहत कार्यक्रम गरी मनाइएको छ ।

दिवसको सन्दर्भ पारेर आदिवासी जनजातीहरुले आफना अधिकारहरुको व्यवहारिक रुपमै उपयोग गर्न पाउनु पनि र अन्तराष्ट्रिय नियमानुसार जल, जमिन र जंगलमा आदिवासीहरुले आत्मनिर्णयको अधिकार उपयोग गर्न पाउनुपर्ने आवाज बुलन्द गरेका छन ।

सो आदिवासी दिवस विशेष समारोहलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्री सुदन किराँतीले नेपाली समाजलाई चाहिने रैथाने विश्वविद्यालय स्थापना गर्नु आवश्यक भएको औल्याए ।

उनले सरकारले रैथाने विश्वविद्यालय स्थापनाका लागि संभाव्यता अध्ययन शुरु गरिसकेको बताए । सरकारले यसका लागि वजेटको व्यवस्था गरि काम थालिसकेको उनको भनाई थियो ।

विकासको नाममा इतिहास र संस्कृति नामेट गर्नु भन्दा त्यस्ता प्राचिन र संस्कृतिमूलक सम्पदा र संस्कृतिको खोजी गरि त्यसैबाट नयाँ नेपाल सम्भव हुने मन्त्री किराँतीले तर्क गरे ।

पूरानो गाउँको खोजी गरिएको बताउदै उनले अव त्यस्ता रैथाने सांस्कृतिक गाउँ र सम्पदालाई संरक्षण र सम्बद्र्धन गरि त्यसैबाट सारा विश्वका पर्यटकलाई भित्रयाँउन सकिने प्रचुर संभावना भएको जोड दिने उल्लेख गरे ।

उनले भने , –‘हाम्रो विकास, राजनीति विदेशीको नक्कल होइन आफनै मोडालिटी,नेपाली पन भए मात्र देशमा समृद्धि संभव हुने छ ,यसमा यो सरकार प्रतिवद्ध छ । ’देशमा राजनीतिक परिवर्तन भएपनि विकासको परिवर्तन खासै हुन नसकेकोमा चिन्ता व्यक्त गदै उनले अव बिकाससंगै भ्रष्टचार ,घुसखोरी समाप्त गर्न सरकार प्रतिवद्ध भएको स्पष्ट पारे ।

राणा, पञ्चायतदेखि लोकतान्त्रिक राज्य व्यवस्था परिवर्तनका लागि देशका आदिवासी जनजातिहरुको उल्लेखीय योगदान पुरयाँएको चर्चा गदैं उनले तर ती जातिहरुलाई राज्यको मूल प्रवाहमा अझै समेट्न अझै नसकिएको बताए । व्यवस्था परिवर्तन भए तर यहाँका आदिवासी जनजातिहरुको अवस्था पूरानै अवस्थामा रहन पुगेको उनको भनाई थियो ।

सोहि अवसरमा मन्त्री किरातीले जनजाति महासंघ झापाका पूर्व अध्यक्षहरु पारषमणि राई, भरतकुमार श्रेष्ठलाई सम्मान गरे । महासंघमा महत्वपूर्ण योगदान पुरयाँएवापत पूर्व अध्यक्षद्धयलाई सम्मान गरिएको हो ।

सोहि अवसरमा आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानले जग्गाको भोगाधिकारसहित रंगशाला निर्माणमा वजेटको व्यवस्था गरिदिन माग गर्दै मन्त्री किराँतीसमक्ष प्रतिष्ठानका कार्यवहाक अध्यक्ष दिपेनवाला राईले ज्ञापनपत्र बुझाएका थिए ।

झापा जिल्लाभित्रका १५ वटै पालिकाका सम्पूर्ण जातिय संस्थाहरुको बृहत सहभागितामा सो कार्यक्रम गरिएको हो । महासंघ झापाका जिल्ला समन्वय परिषद अध्यक्ष पाण्डवलाल चौधरीको सभापतित्वमा भएको कार्यक्रममा मन्त्री किराँतीसँगै समाजशास्त्री डा.कृष्णबहादुर भट्टचन, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य रञ्जित तामाङ, लिम्बुवान नेता सञ्जुहाङ पालुङवा, अधिबक्ता शंकर लिम्बू, डकेन्द्रसिंह थेगिम, दिपेनवाला राई लगायतले सम्बोधन गरेका थिए ।

त्यहाँ विभिन्न जातिय संस्थाहरुले आफनो सांस्कृतिक झाँकी समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा विभिन्न पालिकाका जनप्रतिनिधिहरुसहित विभिन्न जातीय संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको आतिथ्य रहेको थियो ।

‘इन्डिजिनियस युथ एस अगेन्सट् अफ चेन्ज फर सेल्फ डिटरमिनेसन’ नाराका साथ यस वर्ष देशभरि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइएको हो ।

नाराको अर्थ आफूले निर्धारण गरेअनुरुपको परिवर्तनको संवाहक आदिवासी युवाहरू भन्ने हुन्छ । आदिवासी युवाको सक्रियता र सशक्तीकरणमा यस वर्ष विशेष जोड दिइएको नेपाल आदिवासी जनजाति महासङ्घले जनाएको छ ।

सन् १९९४ डिसेम्बर २३ को संयुक्त राष्ट्रसङ्घको साधारणसभाले अगस्त ९ तारिखलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसका रूपमा मनाउने अवधारणा अगाडि बढाएको हो । संयुक्त राष्ट्रसङ्घले यसअघि नै सन् १९९४ देखि सन् २००४ सम्म आदिवासी दशकका रुपमा ‘कर्म र मर्यादाका लागि दशक’ नाराका साथ आह्वान गरेको थियो ।

 

गौरादहमा महिला संघको स्थापना दिवस

गौरादह/ झापाको गौरादहमा नेपाल महिला संघको स्थापना दिवसका अवसरमा अन्तरक्रिया तथा सम्मान कार्यक्रमको आयोजना गरिएको छ । नेपाल महिला संघ गौरादह वडा न ४ र ५ को संयुक्त आयोजनामा अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो । स्थापना दिवसका अवसरमा गौरादह – ५ मा अवस्थित स्कुलचौंन सामुदायिक भवनमा आयोजित कार्यक्रममा नेपाल महिला संघकी केन्द्रिय सदस्य लक्ष्मी बार्हकोटी प्रसाईंको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बार्हकोटी प्रसाईंले आन्दोलनमा महिलाले निर्वाह गरेको भूमिकालाई बिर्सन नसकिने बताइन । उनले महिला कमजोर नरहेको भन्दै हिम्मतका साथ अघि बढ्न आग्रह गरिन् । उनले नेपाल महिला संघले महिला सशक्तीकरणका लागि महत्वपूर्ण भूमिका खेल्दै आएको प्रष्ट पारिन् । कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि अनिलकृष्ण प्रसाई, नेपाली कांग्रेस झापा क्षेत्र न ५ का सभापति ढुन्डीराज भण्डारी, नेपाल महिला संघ क्षेत्रीय सभापति भीमा उप्रेती, जिल्ला सदस्य इन्दिरा पोखरेल, गौरादह नगर सभापति गोपाल कोइराला, गौरादह ५ का वडा सभापति ताराकुमार श्रेष्ठ लगायतले आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा महिला संघमा योगदान गर्ने १०४ वर्षीय मनमाया ढकाल सहित अन्य तीनजनालाई सम्मान गरिएको थियो । कार्यक्रममा महिला संघकी गौरादह नगर अध्यक्ष उर्मिला कार्कीको सभापतित्वमा रहेको थियो । भने संघकी गौरादह वडा न ४ सभापति गोमा घिमिरेले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन झापा जिल्ला सदस्य नमिता पामुले गरेकी थिईन ।

डेरी ल्याब्रोटरी टेक्निसियन तालिम सम्पन्न

पथरी/ मोरङ्गको पथरी शनिश्चरेमा डेरी ल्याब्रोटरी टेक्निसियन सम्बन्धी पाँच दिने तालिम सम्पन्न भएको छ । नेपाल डेरी एसोसिएसन र सहज परियोजनाको सहकार्यमा सञ्चालित ५ दिने तालिममा १३ जना डेरी व्यवसायीहरुको सहभागिता रहेको थियो ।

यसै कार्यक्रम दमकमा गत साउन ६ देखि १० गते, फिक्कलमा साउन ११ देखि १५ गतेसम्म र आज भने पथरीमा तालिम प्रदान गरिएको नेपाल डेरी एसोसिएसनका कोशी प्रदेश अध्यक्ष गंगा बहादुर खड्काले बताए ।

राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा.राजेन्द्र प्रसाद यादवको प्रमुख आतिथ्यतामा सम्पन्न समापन कार्यक्रममा नेपाल डेरी एसोसिएसनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहाल, महासचिव हेमचन्द्र खनाल, सदस्य सुमन चिमरिया, अशेष कुमार बुढाथोकी लगायतको उपस्थिति रहेको थियो । तालिममा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका दिनेश सुवेदी, सहज परियोजनाका प्रविन श्रेष्ठ, मुख्य प्रशिक्षक सिवाराम सिंह, सहायक प्रशिक्षक नगिना गौतमले सहजीकरण गरेका थिए ।

डेरी एशोसिएसन कोशी प्रदेशका उपाध्यक्ष गुरु प्रसाद दाहालले स्वागत मन्तव्य तालिम कार्यक्रमका मूख्य प्रशिक्षक सिवाराम सिंह, डेरी एसोसिएसनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहाल तथा राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. यादवले तालिमले गुणस्तरमा सुधार आउने विश्वास व्यक्त गरे ।

तालिममा सहभागिको तर्फबाट पदम दाहालले आफ्नो अनुभव साटासाट गर्ने क्रममा यो तालिमबाट आफूले धेरै कुरा सिक्न पाएको कुरा बताए । सोहि अवसरमा तालिममा सहभागिलाई प्रमाण पत्र समेत वितरण गरिएको डेरी एशोसिएसन कोशी प्रदेशका सचिव अशेष कुमार बुढाथोकीले जानकारी दिए ।

मोटरसाईकल दुर्घटनाबाट १ को मृत्यु २ घाईते

उदयपुर/ उदयपुरको त्रियुगा नगरपालिका-१० स्थितमा मोटरसाईकल दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । हिजो बेलुका साढे ९ बजे प्रदेश १-०२-०४४ प ८८९३ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घट्ना हुदा घाईते भएका मोटरसाईकल पछाडि सवार त्रियुगा- ६ जलजले का २५ बर्षीय सुदिप चौधरीको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको हो भने घाईते भएका चालक त्रियुगा- ६ का २२ बर्षीय पंकज चौधरी र २७ बर्षीय मुकेश चौधरीलाई थप उपचारको लागि बिराटनगर लगिएको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट  थप अनुसन्धान भईरहेको छ ।

भारतमा कार दुर्घटना हुँदा ६ नेपालीको मृत्यु

दमक/ भारतको उत्तर प्रदेशमा शनिबार भएको कार दुर्घटनामा ६ जना नेपालीको मृत्यु भएको छ ।

उत्तर प्रदेशको श्रावस्ती जिल्लामा भएको कार दुर्घटनामा नेपालगञ्जको त्रिभुवन चोकका ६ जना नेपालीको मृत्यु भएको बाँके प्रहरीले जनाएको छ । मृतक ६ जना दुई परिवारका रहेको जनाइएको छ ।

नेपालगञ्जको त्रिभुवन चोकका व्यावसायी सन्तोष कुमार गुप्ता, उनका दुई छोरा र एक छोरी र गुप्ताकै नातेदार हरि ओम मेडिकलका सञ्चालकका छोरा र छोरीको दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कारका चालक गम्भीर घाइते भएका छन् । उत्तर प्रदेशबाट नेपालगञ्ज फर्किदै गर्दा सडक छेउको रुखमा ठोक्किएर दुर्घटना भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

फुट्सलको उपाधि धरान इसाई समाज लाइ

दमक/ दमकमा आयोजित प्रथम दमक नगर इसाई समाज प्रदेश स्तरिय फुटसल प्रतियोगिताको उपाधि धरानले जितेको छ ।  दमक-५ गोर्खाली टोलस्थित बेस्ट फूटसल खेल मैदानमा  शुक्रवार भएको फाइनल खेलमा मोरङको मिक्लाजुङ (मधुमल्ला) इसाई समाजलाई ४ का विरुद्ध ९ गोल अन्तरले पराजित गर्दै धरान ख्रीष्टियन समाजले फुटसल प्रतियोगिताको उपाधि कब्जा गरेको हो ।

उपाधिसहित धरान ख्रीष्टियन समाजले नगद २० हजार, मेडल, ट्रफि र प्रमाणपत्र हात पारेको छ भने उपबिजेता मोरङ मिक्लाजुङ (मधुमल्ला) इसाई समाजले नगद १५ हजार, मेडल, ट्रफि र प्रमाणपत्रमा चित्त बुझायो ।

त्यस्तैं, तेस्रो स्थान भने आयोजक दमक नगर इसाई समाज (बी) ले प्राप्त गर्न सफल भएको थियो । तेस्रो स्थान प्राप्त गर्ने दमक नगर इसाई समाजले नगद पुरुस्कार वापत नगद ८ हजारसहित मेडल, प्रमाणपत्र, शिल्ड प्राप्त गरेका थिए ।
फाइनल खेल सुरु हुनु अघि ४० वर्ष नाघेका भेट्रान खेलाडीहरुबीच मैत्रीपूर्ण खेल सम्पन्न भएको थियो । सो क्रममा धरान इसाई समाजले दमक नगर इसाई समाजलाई हराएको थियो ।

त्यस्तैं, सेमिफाइनल खेलतर्फ मेन अफ द म्याच दोस्रो धरान ख्रीष्टियन समाजका सुमन राई हात पारेका छन् । सेमिफाइनतर्फ मेन अफ द म्याच पाउने खेलाडीम दमक नगर इसाई समाजका सुरज लिम्बू घोषित भए ।

बेष्ट गोल किपरमा चुलाचुली इसाई समाजका सुमन राई, हाइस्कोरतर्फ धरान ख्रीष्टियन समाजका सञ्जय राई पुरस्कृत हुदाँ अनुशासित खेलाडीमा मिक्लाजुङ इसाई समाजका इसाक लिम्बू र वेष्ट मेनेजर अफ टुनामेन्टका धरान ख्रीष्टियनका संजय राई पुरस्कृत भए ।

दुई दिवसीय फूटसल प्रतियोगिताका विजेता,उपविजेता खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का पूर्व सदस्य सचिव तथा नेपाल खेलकुद महासंघका अध्यक्ष केशव विष्टले शिल्ड, मेडल, प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका राखेपका पूर्व सदस्य सचिव विष्टले बढ्दो सहरीकरणसंगै स्वास्थ्य जीवन यापनका लागि फुटसल खेल खेल्न पहिलो रोजाईमा पर्ने बताए ।

दमक नगर इसाई समाजले आफ्नो २८औं स्थापना दिवसका अवसर पारेर पहिलोपटक प्रदेशस्तरिय फूटसल प्रतियोगिताको आयोजना गरेको अध्यक्ष पाष्टर आकाश थुलुङ राईले बताए ।

समापन समारोहमा दमक–५ का वडा अध्यक्ष इन्द्रवहादुर गुरुङ, विभिन्न क्षेत्रका ख्रीष्टियनका अगुवाहरु लगायतको उपस्थिति रहेको थियो । प्रतियोगितामा कोशी प्रदेशका एक दर्जन टिमले सहभागिता जनाएको थियो ।

हत्यामा संग्लग्न २ जना पक्राउ

सुनसरी/ सुनसरीको ईटहरी नगरपालिका-२० सेउती पुलमा श्रावण ५ गते बिराटनगरका रोहित चौधरीलाई गोली प्रहार गरी फरार रहेका २ जनालाई पक्राउ गरी कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरमा पत्रकार सम्मेलन गरी सार्वजानिक गरिएको छ । पक्राउ पर्नेहरुमा लेटाङ नगरपालिका-१ का ३५ बर्षीय दिपक तिमिल्सिना र धरान-१० का  ३४ बर्षीय अनसन राई रहेका छन् ।

पक्राउ परेका उनीहरुले श्रावण ५ गते साँझ धरानबाट ईटहरी जाँदै गरेको को. ३२ प १७९६ नम्बरको मोटरसाईकल रोकेर मोटरसाईकलमा सवार रहेका चालक बिराटनगर-५ कोचाखालका २८ बर्षीय रोहित चौधरी र बिराटनगर-३ की सुमना खत्रीलाई पेस्तोल तथा खुकुरी देखाई जबरजस्ती लुटपाट गर्ने क्रममा प्रतिकार गर्दा चौधरीलाई गोली प्रहार गरी फरार भएका थिए ।

कोखामा गोली लागेर गम्भिर घाईते भएका चौधरीको सोही दिन उपचारको क्रममा बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो ।

घटनाबारे जानकारी पाए लगत्तै फरार ब्यक्तिहरुको खोजतलासमा खटिएको प्रहरी टोलीले सुक्ष्म अनुसन्धान गर्ने क्रममा घटनामा संग्लग्न २ जनालाई श्रावण १६ गते धरानकै पुतली लाईनबाट पक्राउ गरी श्रावण १७ गते पत्रकार सम्मेल मार्फत सार्वजानिक गरेको हो । उक्त घटना अनुसन्धानको लागी कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी बरिष्ठ उपरीक्षक जयराज सापकोटाको संयोजकत्वमा नेपाल प्रहरी प्रदेश कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय सुनसरी र ईलाका प्रहरी कार्यालय ईटहरी र कोशी प्रदेश प्रहरी कार्यालयको अनुसन्धान समूह (PIT) सहितको संयुक्त अनुसन्धान टोली परिचालन भएको थियो ।

अनुसन्धान गर्ने क्रममा उक्त घटना बाहेक असार ८ गते धरान-१७ को खैरेनी जंगलमा १ जना महिला माथी भएको लुटपाट, असार २३ गते धरानबाट मोटरसाईकलमा प्रकाशपुर गईरहेका श्रीमान श्रीमती माथी सोही स्थानमा भएको लुटपाट र असार ३१ गते धरानबाट कालाबन्जार जाँदै गरेका अर्का एक ब्यक्तिलाई समेत श्रृखंला बद्ध रुपमा भएको लुटपाटमा यिनै ब्यक्तिहरुको संग्लग्नता रहेको पाईएको छ ।

पक्राउ परेका मध्ये तिमिल्सिना जवरजस्ति करणी मुद्धामा १० बर्ष कैद भुक्तान गरि २ महिना अगाडि छुटेको र तामाङ लागु-औषध मुद्धामा ६ महिना कैद भुक्तान गरि २ बर्ष अगाडि छुटेको तथा दुबै जना लागु-औषध दुर्व्यवसनी रहेको अनुसन्धानको क्रममा खुल्न आएको छ । पक्राउ परेका उनीहरुको साथबाट अटोमेटिक चाईनिज पेस्तोल १ थान, गोली ९ राउण्ड, म्यागजिन २ थान, कालो झोला ५ थान, लेडिज ब्याग ४ थान,  खुकुरी २ थान, मोवायल ५ थान, औठी १ थान र फायर भएको गोलीको खोका १ थान बरामद भएको छ । घटनामा संग्लग्न अन्य ब्यक्तिको खोजतलास भईरहेको र पक्राउ ब्यक्तिहरुको १० दिनको म्याद थप गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

बस्नेत दिइन दमकको आश्रमलाई सहयोग

दमक/ झापा,कमल गाउँपालिका ५ मंगलवारे घर भई हाल रोजगारीका क्रममा दुवईमा बस्दैआएकी सामाजिक अगुवा कोपिला बस्नेतले दमकको रत्न ज्येष्ठ नागरिक वृद्धाश्रमलाई सहयोग उपलव्ध गराएकी छन् ।

दुई दिन घर आएकी अवसर पारेर उनले बुधबार दमक ४ स्थित आश्रममै पुगेर सहयोगी सामाग्रीहरु प्रदान गरेकी हुन् । ती सामाग्रीहरु उनीसहित उनका पिता नारायणदत्त र आमा देवीमाया बस्नेतले हस्तान्तरण गरेका थिए ।

दाता बस्नेतका अनुसार आश्रममा आश्रित ज्येष्ठ आमाबुबाका लागि ९ थान बेड तन्ना, सिरानी, एक थान सिलिङ्गफेन ,दुई कार्टुन चाउचाउ, फिनेलसहित नगद रु ३ हजार उपलव्ध गराईएको हो ।

आश्रममा हाल ९ जना सहाराविहीन आमाबुबाहरु आश्रित छन् ।

संक्षिप्त सहयोग हस्तान्तरण कार्यक्रममा दाता बस्नेतले विदेशमा आर्जन गरेको कमाई बचत गरि बर्सेनी आफना गाउँघरका गरिव,दिनदुखीलाई थोरैभएपनि सहयोग पुरयाँउदैआएको बताईन् ।

उनले यसअघि समेत विभिन्न सामाजिक कार्यमा स्वेच्छिक सहयोग पुरयाँउदैआएकी छन् ।

पुष्पलाल स्मृति दिवस मनाइँदै

काठमाण्डौ/ नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५औँ स्मृति दिवस आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

विभिन्न कम्युनिस्ट पार्टी र उनीहरूको भातृ सङ्गठनले स्मृति दिवस मनाउँदैछन् ।

सत्तारुढ नेकपा (माओवादी केन्द्र) र प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले संस्थापक महासचिवको योगदानको विभिन्न कार्यक्रमका साथ स्मरण गर्ने तयारी गरेका छन् ।

नेकपा (एकीकृत समाजवादी)ले पुष्पलाल स्मृति उद्यानमा एक कार्यक्रमको आयोजना गर्ने जनाएको छ ।

२००६ सालमा भारतको कोलकतामा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गर्दा पुष्पलालले सम्मुन्नत राष्ट्र निर्माण गर्ने र नेपाली जनताको वास्तविक मुक्तिको कार्यभार पूरा गर्ने लक्ष्य राख्नुभएको थियो ।

१९८१ साल असारमा रामेछापको भङ्गेरीमा जन्मनुभएका पुष्पलाल वैचारिकरूपले सशक्त र आम नेपालीका लागि एक प्रेरणादायी नेताका रूपमा परिचित हुनुहुन्छ ।

साढे ६ किलोमिटर सडक कालोपत्रे, रंगेलीका बासिन्दा खुशी

दमक/ मोरङको रंगेली नगरपालिकामा पर्ने दर्बेसा–धनपाल्थान–गडीघट्टा–बबियाविर्ता–फुटानी चौंक सडकको कालोपत्रे योजना तिब्र गतिमा अघि बढेको छ ।

सो सडक कालोपत्रे योजना आर्थिक बर्ष २०७५÷०७६ मा संघीय सरकारले बहुबर्षे योजनामा समावेश गरेको थियो ।  लामो समयदेखि अघि बढन नसकेको सो सडकको पछिल्लो तीन महिनामा भने ६ किलोमिटर खण्ड कालोपत्रे भएको हो । गएको असार सम्म ३ कि मि र श्रवण यता थप ३ कि मि कालोपत्रे भएको हो ।

भौतिक पुर्वाधार विकास कार्यालय, मोरङ र रायमाझी – भिमेस्वर जे भीविच भएको सम्झौता अनुसार सो सडकको कूल साढे १४ किलोमिटर खण्ड कालोपत्रे हुनेछ । सो मध्ये गत बैशाखदेखि शुरु भएको कालोपत्रे तीन महिना बित्दा ६ किलोमिटर भन्दा धेरै भइसकेको भन्दै स्थानीयहरुले खुशी व्यक्त गरेका छन ।

लामो समयदेखि अलपत्र परेको यो सडकको काम अहिले तिब्ररुपमा अघि बढेपछि स्थानीयहरुमा उत्साह बढेको छ । सो सडक कालोपत्रे योजना पूरा गर्न ४१ करोड भन्दा बढी लागत लाग्ने अनुमान छ ।