दमक/ नेपाली कांग्रेसका ७ भ्रातृ संघालाई २०८१ को चैत मसान्त भित्र अधिवेशन सम्पन्न गरिसक्न पार्टीले दिएको निर्देशन कार्यान्वयन हुन सकेन । कांग्रेसले चैत मसान्तभित्र महाधिवेशन सम्पन्न गर्न भन्दै १० भ्रातृ संस्थालाई निर्देशन दिएको थियो ।
पार्टीसँग समन्वय गर्न भन्दै पार्टी नेताहरूको नेतृत्वमा महाधिवेशन निर्देशन समितिसमेत बनाएकोमा पार्टीले निर्धारण गरेको समयमा तीन भ्रातृ संस्थाले मात्रै महाधिवेशन सम्पन्न गर्न सकेका हुन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाले १६ असोजमा भ्रातृ संस्थाहरू तरुण दल, महिला संघ र नेपाल विद्यार्थी संघको महाधिवेशन सम्पन्न गर्न पार्टीका तर्फबाट निर्देशन समिति बनाएका थिए ।
२६ मंसिरमा थप ७ महाधिवेशन सम्पन्न गर्न नसकेका भ्रातृ संस्थाहरू नेपाल दलित संघ, नेपाल किसान महासंघ, नेपाल भूतपूर्व सैनिक संघ, नेपाल लोकतान्त्रिक खेलकुद संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, नेपाल थारू संघ र नेपाल प्रजातन्त्र सेनानी संघको महाधिवेशन निर्देशन समिति बनाएका थिए ।
देउवाले २०८१ चैत्र मसान्तसम्ममा अनिवार्य रूपमा महाधिवेशन सम्पन्न गर्न गराउनका लागि विद्यमान तदर्थ समितिलाई समन्वय र सहयोग र्पुयाई आवश्यक निर्देशन समेत गर्नेगरी निर्देशन समिति बनाएको पार्टी केन्द्रीय कार्यालयले विज्ञप्ति जारी गरेर जानकारी गराएको थियो ।
देउवाले तरुण दलको संयोजक सहमहामन्त्री महालक्ष्मी उपाध्याय, नेविसंघको संयोजक सहमहामन्त्री किशोरसिंह राठोर, महिला संघको संयोजक प्रवक्ता डा. प्रकाशशरण महत, नेपाल दलित संघको संयोजक सहमहामन्त्री जीवन परियार, नेपाल किसान महासंघको संयोजक केन्द्रीय सदस्य रमेश रिजाल, नेपाल भूतपूर्व सैनिक संघ संयोजक केन्द्रीय सदस्य एन.पी. साउद, नेपाल लोकतान्त्रिक खेलकुद संघको संयोजक केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको संयोजक केन्द्रीय सदस्य मधु आचार्य, नेपाल थारू संघ संयोजक केन्द्रीय सदस्य उदयशम्शेर राणा र नेपाल प्रजातन्त्र सेनानी संघ महाधिवेशन संयोजक केन्द्रीय सदस्य प्रा.डा. गोविन्दराज पोखरेललाई तोकिएको थियो ।
तर, माघसम्म महाधिवेशन हुने छाँटकाँट नदेखिएपछि फागुन एक गते पदाधिकारी बैठकमा निर्देशन समितिका संयोजक र सदस्यहरूलाई बोलाएर महाधिवेशनका सन्दर्भमा के–के भइरहेको छ भन्ने जानकारी सभापति देउवाले लिएका थिए ।
त्यो समयमा महाधिवेशन गर्ने निर्देशन समितिका संयोजकहरूले पार्टीले दिएको समयमा महाधिवेशन सम्पन्न गर्न गाह्रो रहेकाले केही समय बढाउन आवश्यक रहेको राय राखेका थिए । तर, पटक–पटक म्याद थप्दा पनि महाधिवेशन हुन नसकेको भन्दै चैत मसान्तभित्रै जसरी पनि गर्न निर्देशन दिइएको बैठकपछि पार्टी प्रवक्ता डा. महतले सञ्चारकर्मीहरूलाई जानकारी दिएका थिए ।
पार्टीको निर्देशन बमोजिम नेपाल प्रजातान्त्रिक सेनानी संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ र नेपाल भुतपूर्व सैनिक संघले मात्रै महाधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व चयन गरेका छन् ।
फागुन तेस्रो साता भएको भूतपूर्व सैनिक संघको महाधिवेशनबाट अध्यक्षमा गर्जबहादुर गुरुङ निर्वाचित भएका छन् । त्यस्तै प्रजातन्त्र सेनानी संघको फागुन ७–१० मा भएको दोस्रो महाधिवेशनबाट अध्यक्षमा बालकृष्ण दाहाल निर्वाचित भए । महाधिवेशनले उपाध्यक्षमा ध्रुवबहादुर मल्ल, महामन्त्रीमा तेज प्रसाद सुवेदी तथा ९४ जना केन्द्रीय सदस्य निर्वाचित गर्यो ।
लोकतान्त्रिक अपाङ्ग संघको महाधिवेशनबाट अध्यक्षमा माधव प्रसाद चम्लागाईं निर्वाचित भए । संघको महाधिवेशन भने विवादित भयो । महाधिवेशनमा असन्तुष्टि जनाउँदै विकास थापाको नेतृत्वमा समानान्तर समिति बनेको छ ।
बाँकी ७ भ्रातृ संस्थाले भने अहिलेसम्म महाधिवेशन गर्न लागेको जानकारी केन्द्रीय कार्यालयमा आइनपुगेको कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिए । महाधिवेशन गर्न नसक्ने भ्रातृ संस्थामा तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ, थारु संघ, नेपाल दलित संघ, नेपाल किसान महासंघ र नेपाल लोकतान्त्रिक खेलकूद संघ छन् ।