दमक ५ मा महिलालाई नौमती बाजा तालिम

दमक/ झापाको दमक नगरपालिकाले नौमती बाजाको संरक्षण र प्रवद्र्धनका लागि महिलालाई नौमती बाजा बजाउने तालिम दिएको छ । नयाँ पुस्तामा नौमती बाजाप्रतिको घट्दो आकर्षण र ती बाजा बजाउने मानिसहरूको समेत अभाव भइरहेका बेला दमक नगर उपप्रमुख कोषबाट नौमती बाजाको संरक्षण र प्रवर्धनका लागि स्थानीय महिलालाई नौमती बाजा प्रशिक्षणको तालिम सञ्चालन गरिएको हो । दमक वडा नम्बर ५ का ९ जना महिलालाई स्वाबलम्बि बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो ।

गत चैत १५ गते देखी सञ्चालीत तालिमको आज समापन गर्दै दमक नगर उपप्रमुख भट्टराईले आधुनिक बाजाको प्रभावले नेपाल र नेपालीको मौलिकता ओझेलमा परिरहेका बेला सांस्कृतिक जगेर्ना गर्न र महिलाहरुलाई आय आर्जनमा जोड्न तालिम सञ्चालन गरिएको बताउनु भयो ।

पछिल्लो समय नौमती बाजा कुनै एउटा समुदायले मात्र बजा

ने प्रचलन हट्दै सबै समुदायले यसको संरक्षण र प्रयोग गर्न थालेकाले यसको व्यावसायिकतासँगै नौमती बाजाको संरक्षण हुनेमा आफु विश्वस्त रहेको उपप्रमुख भट्टराईले बताउनु भयो ।

नगर उप प्रमुख कोषको रकमबाट महिला लक्षित कार्यक्रम अन्तर्गत नौमती बाजा बजाउने तालिम महिलाहरुलाई प्रदान गरिएको दमक नगरपालिकाको समाजिक बिकास शाखा प्रमुख केशब प्रसाईंले बताउनु भयो ।

सो तालिममा मातृका प्रसाद संग्रौला र कल्पना अधिकारीले प्रशिक्षकको भूमिका निर्वाह गर्नु भएको थियो । तालिम दमक ५ स्थित जेष्ठ नागरिक सम्मान प्रतिष्ठानको सभाहलमा सम्पन्न भएको थियो ।

हावाहुरीले घर भत्काउँदा ज्यानै गयो

झापा/  गएरातीको हावाहुरीले झापामा एक जनाको ज्यान लिएको छ । हल्दीबारी ५ क त्रिवेणी चोकका ६५ वर्षीय मान बहादुर मगरको मृत्यू भएको हो ।
राती करिब १२ बजे आएको हावाहुरीका कारण टिन र काठले बनेको घरको बिमले थिचेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
घर भत्किएको देखेपछि त्यहाँ पुगेर छरछिमेकीले हेर्दा उनको मृत्यु भईसकेको अवस्थामा फेला पारेका हुन् ।

कमल २ का बिद्यालयमा बिद्यार्थीको स्वास्थ्य जाँच, जनप्रतिनिधिहरुको सक्रिय भुमिका

दमक/ झापाको कमल गाउँपालिका वडा नम्बर २ मा सञ्चालित बिद्यालयमा बैशाख महिनाको बिद्यार्थी स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न भएको छ ।  २०७९ को स्थानीय निर्वाचनपछि निर्वाचित जनप्रतिनिधि टोलीले वडा अध्यक्ष अशोक सुब्बाको नेतृत्वमा शुरु गरेको विद्यालयमै पुगेर मासिक रुपमा बिद्यार्थीहरुको स्वास्थ्य परिक्षण गर्ने कार्यक्रम अन्तर्गत बैशाख महिनामा वडाका तीन सामुदायिक र तीन निजी बिद्यालयहरुमा सम्पन्न भएको हो ।
कमल–२ स्थित महेन्द्र रत्न मावि (समयगढ), कमला मदन आश्रित स्मृति मावि (क्याम्पा), श्री ज्योति मावि (भुत्लुङ), नवोदय विद्यामान्दिर, इन्द्र लोहनी बोर्डिङ स्कुल र श्री पाथीभरा इङ्लिस बोर्डिङ स्कुल गरी छ वटा विद्यालयमा नियमित मासिक स्वास्थ्य शिविर सञ्चालन गर्ने गरिएको छ ।


सो अन्तर्गत बैशाख महिनामा १५ गते ज्योति मावि, श्री इन्द्र लोहनी बोर्डिङ स्कुल बैशाख २८ गते महेन्द्र रत्न मावि, कमला मदन आश्रित मावि र बैशाख ३० गते नवोदय विद्यामान्दिर र पाथीभरा बोर्डिङ स्कुलमा शिविर सञ्चालन गरिएको वडा कार्यालयले जनाएको छ ।
कमल नगर अस्पतालका जनस्वास्थ्य निरीक्षक दिपक प्रसाद दहाल, सि.अ.न.मि. निरीक्षक इमानसरी राई, र अ.न.मि. अन्जना सापकोटा लगायतको टोलीले विद्यालयमै पुगेर विद्यार्थीहरूको स्वास्थ्य परीक्षणसँगै स्वास्थ्य परामर्श प्रदान गरेको जनाइएको छ । स्वास्थ्य परिक्षणका सिलसिलामा बालबालिकाहरूमा रुघाखोकी, टाउको दुखाइ, पेट दुख्ने, आँखा, दाँत र कानका समस्या, ज्वरो, पोषण सम्बन्धी समस्याहरु देखिएका छन् ।


बिद्यालयहरुमा सञ्चालित यस किसिमका स्वास्थ्य परिक्षण शिविरले वडाबासी बालबालिकाहरुको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण भुमिका खेल्ने विश्वास लिइएको वडाध्यक्ष अशोक सुब्बाको भनाई छ । वडाध्यक्ष सुब्बासँगै वडा सदस्यहरु महेन्द्र खत्री, कल्पना राई, सम्झना रणपहेली लगायत बिद्यार्थी स्वास्थ्य परिक्षणमा सक्रियता पूर्वक लाग्नाले यो कार्यक्रमको कार्यान्वयन प्रभावकारी बनेको हो ।
शिविरमा उपस्थित हुँदै विद्यार्थीहरू, शिक्षकहरू र अभिभावकहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै स्वास्थ्य सचेतनालाई गाउँमै स्थापित गर्ने प्रयास गरेका छौं– वडा सदस्य खत्रीले भने ।


अध्यक्ष राईले गरे प्रशंसा
कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राई गाउँपालिकाले नागरिकहरुको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको अवस्थामा वडा नं. २ मा सञ्चालन भइरहेको विद्यालय स्वास्थ्य शिविरले महत्वपूर्ण भुमिका खेलिरहेको भन्दै खुलेर प्रशंसा गरेका छन् । विद्यालयमै पुगेर स्वास्थ्य सेवासँगै स्वास्थ्य सम्बन्धि जनचेतनाको पनि बिकास हुन्छ – अध्यक्ष राईले भने यो कार्यक्रम उदाहरणीय छ । सोही प्रकृतिको कार्यक्रम वडा नम्बर १ मा पनि भइरहेको अध्यक्ष राईले बताए । यस्तो कार्यक्रमलाई पालिकाका सबै वडा र गाउँ टोलसम्म पुरयाउने स्थानीय सरकारको नीति रहेको अध्यक्ष राईले बताए ।
कमल नगर अस्पतालका प्रमुख, स्वास्थ्यकर्मी टोली, तथा समन्वयकर्ता सबैले यो कार्यक्रमलाई जनस्वास्थ्यको स्थायी अभ्यासको रूपमा अघि बढाउन भुमिका निर्वाह गर्दै आएका छन् । अस्पतालको नियमित सहभागिता, जनप्रतिनिधिहरूको साथ र विद्यालयको सहयोगले कमल–२ मा विद्यालयमै स्वास्थ्य सेवा अभियान सफल अभ्यासको रूपमा स्थापित भएको छ ।

भुपेन्द्र राईसहित तीन जना लागुऔषध कारोबारी पक्राउ

दमक/ झापाको दमक ५ का सञ्जय राई भनिने भुपेन्द्र राईसहित तीन जना लागुऔषध कारोबारमा संलग्न रहेको आरोपम पक्राउ परेका छन् । बुधबार साँझ साढे पाँच बजे उनीसहित लागुऔषध लिएर आउने धन्दामा संलग्न दुईजना भारतीय नागरिकलाई इलाका प्रहरी कार्यालय गौरीगञ्जको टोलीले गौरीगञ्ज ३ बाट पक्राउ गरेको हो ।
महेन्द्र चौकबाट गौरीगञ्जतर्फ आउँदै गरेको बीआर ३७ एजे ९९५२ नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट प्रहरी निरीक्षक भुवनबाबु खड्काको कमाण्डमा खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक भारत किसनगंज जिल्ला खनियाबाद ७ फुलबरियाका १९ वर्षीय मोनाजिर आलमको साथबाट बरामद भएको मोबाइलमा भारतीय नम्वर ं९१९०३१७३३५९६ को ह्वाट्सएपबाट संजय नाम सेभ गरेको ९८००८१०३०० ह्वाट्सएप नम्बरमा लागूऔषध ब्राउनसुगर जस्तो देखिने भिडियो पठाएको भेटिएको थियो ।
भिडियोमा देखिएको लागूऔषध खनियावाद ५ फत्तेपुरका ५८ बर्षिय भोला ठाकुरसँग रहेको खुलेपछि ठाकुरलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाउने क्रममा ठाकुरको कम्मरमुनि अगाडि जाङमा कालो र सेतो प्लाष्टिकमा पोको बनाएर लुकाइराखेको अवस्थामा प्लाष्टिकसहित १०२.८१० ग्राम ब्राउनसुगर , नाइट्राजेपाम १०० वटा ट्याव्लेट र कोडिन फोस्फेट एण्ड ट्रिप्रोलिडाइन हाइड्रोक्लोराइड सिरप २ बोतल बरामद भएको थियो ।
खोजतलास गर्ने क्रममा साँझ ६ः१५ बजे दमकका राईलाई गौरीगञ्ज –३ तेलगानीमा ना १ च ९१६२ नम्बरको कार रोकेर कारभित्र बसेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ४१ बर्षिय राईको साथबाट कार खानतालासी गर्ने क्रममा नगद २ लाख ४३ हजार ५०० नेपाली रुपैयाँ , आईफोन मोवाइल २ थान, र लागुऔषध नापतौल गर्ने डिजिटल तराजु फेला परेको थियो ।
बरामद सामानसहित तीनैजनाई इलाका प्रहरी कार्यालय गौरीगञ्जमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

 

दमकमा प्रोष्टेड क्यान्सर लक्षित शिविर, १६ जनामा देखियो लक्षण

दमक नगपालिकाको स्वास्थ शाखाले आज नगरपालिका परिसरमा सर्वसाधारणका लागि प्रोष्टेडको निशुल्क परीक्षण शिविर सम्पन्न गरेको छ । शिविरमा ९५ जनाले प्रत्यक्ष लाभ लिएका छन्।
शिविरमा आएका ९५ मध्ये १६ जनामा कडा खालको क्यान्सरको लक्षण र १४ जनामा कडा खालको प्रोष्टेड बढेको पाइएको छ । नगरपालिकाका स्वास्थ शाखा प्रमुख ब्रजेश मेहताले पछिल्लो समयमा उमेर बढे सगै पुरूषहरुमा प्रोस्टेड को समस्या बढ्दै गएको र यसले पुरुषहरुमा क्यान्सरको जोखिम बढाएको जानकारी दिए । उनले शिविरमा आएका थप उपचार आवश्यक देखिएका बिरामीलाई उपचारका लागि माथिल्लो निकायका अस्पतालमा सिफारिस गरिने बताए । यस अघि दमक ३ र ५ मा यस किसिमको शिविर सञ्चालन गरिएको थियो ।

नेपालको रेल सेवा विकास र विस्तारमा दक्षिण कोरीया ईच्छुक

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नेपालको रेल सेवाको विकास र विस्तारमा ढुक्क भएर लगानी गर्न दक्षिण कोरीयालाई आग्रह गर्नु भएको छ । मंगलबार मन्त्री दाहालसँग भेट गर्न आएको दक्षिण कोरीयाली रेल कम्पनी कोरेलका प्रतिनिधीहरुसँगको भेटमा उहाँले रेल सेवाको विकाश र विस्तार नेपाल सरकारको समेत प्राथमिकताको विषय भएकाले लगानीका लागि आग्रह गर्नु भएको हो ।

नेपाल धार्मीक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिकोणले सम्पन्न राष्ट्र भएकाले त्यस्ता गन्तव्यहरुलाई लक्षित गरि रेल सेवाको विस्तारमा अध्ययन, अनुसन्धानका लागि समेत मन्त्री दाहालले आग्रह गर्नु भयो । लामो तथा छोटो दुरीको रेल सेवा विस्तारका लागि नेपालले लगानीको वातावरण बनाई रहेको उल्लेख गर्दै उहाँले लगानीका विभिन्न ‘मोडल’ बारे पनि छलफल गर्न सकिने उल्लेख गर्नु भयो ।

छलफलका क्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले नेपालमा जलविद्युत उत्पादनको प्रचुर सम्भावना रहेकाले विद्युतीय रेल मार्ग विस्तार उपयोगी हुने बताउनुभयो ।

विज्ञ सम्मिलन कार्यदल गठन हुने

लगानी वोर्डका कार्यकारी अधिकृत सुशिल ज्ञवालीले नेपालमा रेल मार्गको विकास र विस्तारका लागि दुवै देशका विज्ञहरुले विभिन्न मोडलमा अध्ययन गर्ने जनाउनु भयो । केहि दिन भित्रमानै दुवै देशका विज्ञ सम्मिलित कार्यदल गठन गरिने उहाँले जनाउनु भएको छ ।

छफलमा रेल विभागका महानिर्देशक अजय मूलले नेपालमा रेल मार्ग विकासका लागि विभिन्न साझेदारहरुसँग छलफल भई रहेको बताउनु भएको छ ।

कोरीयाली प्रतिनिधी मण्डलको नेतृत्व गर्नु भएको कोरेलका प्रमुख कार्यकारी हान मुन हीले १ सय २६ वर्ष पुरानो कम्पनीले विश्वका विभिन्न देशमा रेल मार्गको विकास र विस्तारका लागि कार्य गर्दै आएको बताउनुभयो । नेपालमा अध्ययन तथा लगानीका लागि नेपालको लगानी वोर्ड, रेल विभाग तथा कोरेल विच दर्विलो विश्वासको वातावरण बनाई थप कार्य अघि बढाउन सकिने उहाँको भनाई थियो ।

पत्रकार झापालीको ‘हिजाब’ सार्वजनिक

काठमाडौ/  पत्रकार गोपाल झापालीको कथा संग्रह ‘हिजाब’ सार्वजनिक भएको छ । भुँडीपुराण प्रकाशनले प्रकाशन गरेको ‘हिजाब’ कथा संग्रह शुक्रबार देखि बजारमा आएको हो । लामा तथा छोटा गरि २१ ओटा कथा संग्रहीत सो पुस्तकको भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल तथा मन्त्रालयका सचिव केशवकुमार शर्माले सार्वजनिक गरेका हुन् ।

२४२ पृष्ठ लामो सो कथा संग्रहमा अधिकांश कथाहरु यथार्थपरक र नेपाली समाज भित्रै भएका र हुने गरेका विषयहरु छन् । केहि कथा भने स्वैरकल्पनाका आधारमा पनि लेखिएको कथाकार झापालीले जनाएका छन् । अढाई दशक अघिदेखि पत्रकारितामा क्रियाशील पत्रकार गोपाल गुरागाइँ (झापाली)ले विभिन्न कालखण्डमा लेखिएका कथा तथा लघुकथाहरु समेटेर पहिलो कृतिका रुपमा सो संग्रह ल्याएका हुन् ।


झण्डै अढाई दशक देखि विभिन्न छापा तथा विद्युतीय माध्यममा रहेर खोज तथा अनुसन्धानमुलक फिचर, समाचार लेखनमा अलग किसिमको पहिचान बनाएका पत्रकार झापाली झापाको कमल ६ का स्थायीबासी हुन् । झापालीका कथा, निवन्ध तथा अन्य रचनाहरु फुटकर रुपमा प्रकाशन हुँदै आएका छन् ।

मेची सेकेण्ड्रीमा बाल क्लबले मनायो बालमैत्री दिवस

दमक/ झापाको दमक नगरपालिका वडा नम्बर ५ लाई स्थानीय बाल मैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको एक बर्ष पुरा भएको छ । अघिल्लो बर्ष बैशाख २६ गते महत्वपूर्ण कार्यक्रमहरुसहित दमक नगरपालिकाले सो वडालाई बालमैत्री घोषणा गरिएको थियो ।
बालबालिकाहरुको अधिकारका क्षेत्रमा यस कदमलाई निक्कै महत्वसाथ हेरिन्छ । बालमैत्री वडा घोषणासँगै स्थानीय सरकारले यो वडामा बालमैत्री वातावरणको सुनिश्चीत गरिएको जनाएको छ । बालमैत्री घोषणाको एक बर्ष पुरा भएको उपलक्ष्यमा दमकको ५ नम्बर वडामा रहेका दुई बिद्यालयमा रहेका बाल क्लबहरुले शुभकामना आदनप्रदान तथा बालबालिकासँग सम्बन्धित रचनात्मक कार्यक्रमहरु गरेका छन् ।


यसै क्रममा दमक ५ स्थित मेची सेकेण्ड्री बोर्डिङ स्कूलमा रहेको मेची बाल क्लबले बिद्यालयमा हाजिरीवाफ , चित्रकला र कविता वाचन प्रतियोगिता सञ्चालन गरेको क्लबले जनाएको छ । सो अन्तर्गतको हाजिरीजवाफ प्रतियोगिता (कक्षा ८ , ९ र १० ) , चित्रकला प्रतियोगिता (कक्षा १ र २ ) तथा (कक्षा ३ र ४ ) , कविता प्रतियोगता (कक्षा ५, ६ र ७ ) , चित्रकला प्रतियोगिता (कक्षा ५, ६ र ७ ) सञ्चालन गरिएको थियो ।

कक्षा १ देखि ४ सम्मका बिद्यार्थीहरुले कक्षागत रुपमा मनोरञ्जनात्मक कार्यक्रम स्वरुप गायन र नृत्य प्रस्तुत गर्दै बालमैत्री दिवसका रुपमा मनाएका छन् । बिद्यालयका प्रिन्सिपल श्रवणकुमार पोखरेलले बिद्यार्थीहरुले बालमैत्री दिवसका रुपमा यस दिनलाई महत्वसाथ लिएका र रचनात्मक कार्यक्रमहरु गरेर उदाहरण प्रस्तुत गरेकोमा खुशी व्यक्त गर्दै बिद्यार्थीहरुलाई प्रोत्साहन गरिने बताएका छन् ।

 

हात्ती मानव सहअस्तित्वमा सामुहिक जोड

दमक/ पछिल्लो समय बढ्दो जंगली हात्तीको समस्या समाधानमा हात्ती–मानव सहअस्तित्वमा जोड दिइएको छ ।  दमकको सबै भन्दा धेरै हात्ती प्रभावित क्षेत्र दमक वडा नम्बर ३ मा स्थानिय स्वावलम्बी समाजको अयोजनामा हिँजोबाट सुरु भएको दुई दिवसीय कार्यक्रमका सहभागीहरुले मानव हात्ती द्वन्द न्युनिकरणका लागि हात्तीको समेत अस्तित्व मानवले स्विकार गर्नु पर्ने बताएका हुन ।
दमक वडा नम्बर ३ स्थित साधुस्तान मन्दिरमा आयोजित “समुदायमा आधारित मानव–हात्ती सहअस्तित्वको प्रयास“ नामक सो कार्यक्रममा दमक नगरपालिकाका प्रमुख राम थापाले दमक क्षेत्रमा पटक पटक जंगली हात्तिका कारण क्षति हुने गरेको समस्यालाई समाधानका लागि स्थानीय सरकार माथिल्लो निकायहरुसँग समन्वय र परामर्श गरेर अघि बढिरहेको उल्लेख गरे । मानव हात्ती द्वन्दका कारण मान्छेको पनि र हात्तीको पनि ज्यान जाने गरेकोले हात्तीको अस्तित्व स्विकार गर्दै अघि बढ्नु पर्ने देखिएको बताए । हात्तीलाई धपाउने, खेदाउने गर्दा समस्या समाधान नहुने रहेछ भन्ने देखिएकाले अब उसको अस्तित्वलाई स्विकार गरि हात्तीका लागि जंगलमा फलफुलका बिरुवाहरु लगाउने लगायतका काम गर्नु पर्ने बताए ।
सो अवसरमा दमक नगर उपप्रमुख रेगिना भट्टराईले हात्ती समेत मानव अस्तित्वका लागि आवश्यक जिव भएको भन्दै उसलाई आहाराको व्यवस्था वन जंगलमै गर्न सके हात्ती गाउँ पस्ने समस्याको समाधान हुन सक्ने सुझाइन् । उनले यस्ता कार्यक्रमले समुदायमा चेतना अभिवृद्धी गर्नुका साथै दीर्घकालीन समाधानको बाटो खोल्ने विश्वास लिएको बताइन् ।
दमक नगरपालिकाको सहयोगमा सञ्चालित सो कार्यक्रम दमक वडा नम्बर ३ का वडाध्यक्ष नविन बरालको अध्यक्षतामा भएको थियो । सो अवसरमा नगरपालिकाका पुर्वाधार शाखा प्रमुख अनन्त सेनेहाङले विपद ब्यवस्थानका बिषयमा सहजिकरण गरेका थिए ।
आयोजक संस्था स्वावलम्बि समाजका अध्यक्ष सुर्य गौतमले कार्यक्रमको औचित्यबारे प्रस्ट पार्दै दमकको जंगल आसपासका क्षेत्रमा बसोबास गर्नेहरु जति खेर पनि हात्तीको त्रासमा बस्नु पर्ने अवस्था रहेको बताए । उनले अब दिर्घकालीन योजना बनाएर कार्य नगरे मानव हात्ती द्वन्दका कारण ठुलै क्षति हुन सक्ने तर्फ सबैलाई सचेत बनाउन पनि कार्यक्रम आयोजना गरिएको बताए ।

 

दमकका आदिवासीहरुबीच एकतामा जोड दिँदै महोत्सवको आय व्यय सार्वजनिक

दमक/ झापाको दमक नगरमा बसोबास गर्ने विभिन्न जातजाती र भाषाभाषीहरुलाई राजनीतिक आग्रह पूर्वाग्रह नराखी एकताबद्ध भएर जातीय पहिचान, भाषा लिपी र संस्कार , संस्कृति संरक्षणमा जुट्नुपर्ने सरोकारवालाहरुले जोड दिएका छन् ।
आज नेपाल आदिवासी जनजाती महासंघ दमक नगर समितिले हालै सञ्चालन गरेको साँस्कृतिक महोत्सवको प्रगति प्रतिवेदन तथा आय व्यय सार्वजनिक सार्वजनिक गर्न आयोजित कार्यक्रममा दमक ७ का वडाध्यक्ष भिमप्रसाद पौडेलले यहाँका आदिवासी जनजातीहरुले साझा रुपमा एकताबद्ध भएर उचित मागहरु अघि सारेको अवस्थामा स्थानीय सरकार सम्बोधन गर्न तयार रहेको उल्लेख गरे ।
वडाध्यक्ष पौडेलले साँस्कृतिक महोत्सवका विबिध पक्षहरुलाई सकारात्मक रुपमा सुधार गर्दे आगामी दिनमा अझ परिणाममुखी बनाएर सञ्चालन गर्न खोजिए त्यसमा आफ्नो सहयोग रहने प्रतिबद्धता जनाए ।
उनले दमक नगरपालिकाबाट यसअघि धिमाल भाषा र लिम्बु भाषाको पठनपाठनको अभ्यास शुरु गरिसकेको जनाउँदै बर्षेनी एक/एक जातीको भाषा विशेष कक्षा सञ्चालन गर्न सकिने धारणा राखे । उनले वडा नम्बर ७ ले लिम्बु भाषाको कक्षा सञ्चालन गरिरहेको बताउँदै सबै भाषा, संस्कृतिको संरक्षणमा आफ्नो सक्रिय भुमिका रहने उल्लेख गरे ।


महोत्सवको बारेमा आदिवासी जनजाती महासंघ दमक नगरका पूर्व अध्यक्ष मोहन धिमालले विशेष प्रतिवेदन प्रस्तुत गर्दै धिमालले दमक ८ मा रहेको आदिवासी जनजातीहरुको संग्राहालय निर्माणको मुल उद्धेश्य राखेर १५ दिन सम्म सञ्चालन गरिएको महोत्सव आदिवासी जनजातीहरुको पहिचान झल्काउने र स्थानीय पर्यटन प्रवद्र्धन तथा कला संस्कृति संरक्षणमा महत्वपूर्ण अवसर बनेको उल्लेख गरे । उनले महोत्सवबाट ३ लाख रुपैयाँ खुद आम्दानी गर्न सफल भएको फेहरिस्त सार्वजनिक गरे । महोत्सवमा महासंघमा आवद्ध विभिन्न विभिन्न १२ वटा जातीय संस्थाहरुको सहभागिता रहेको उल्लेख गरिएको छ ।
महासंघका नगर अध्यक्ष अमरबहादुर कुमालको अध्यक्षतामा सञ्चालन भएको सो कार्यक्रममा महोत्सव सञ्चालनका क्रममा संकलित रकमबाट स्थानीय बराह टोल, सयपत्री टोल र राधा माधव टोल बिकास संस्थालाई १०÷१० थानका दरले कूल ३० थान प्लाष्टिकका कुर्सी हस्तान्तरण गरिएको थियो । सोही अवसरमा महोत्सवमा सहभागी जातीय संस्थाहरु मध्ये उत्कृष्ट सजावट गर्ने तथा मौलिकता झल्काउने राजवंशी सेवा समाज , माझी उत्थान संघ , कुमाल सेवा समाज र नेवा देय दबुलाई नगद क्रमश १०, ८, ६ र ४ हजारका दरले नगद प्रोत्साहन पुरस्कार समेत प्रदान गरिएको थियो ।