दमक/ झापाको दमकमा सामाजिक गतिबिधिमा क्रियाशील अन्तराष्ट्रिय सञ्जाल भएको सामाजिक संस्था रोटरी क्लब अफ दमकको १४ औं पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।
रोटा बर्ष २०२५/०२६ का लागि क्लबकोे नेतृत्व लिएका दमकका युवा व्यवसायी केशवकुमार अग्रवालले सोमबार साँझ दमकमा आयोजित पदस्थापन समारोहका बीच सपथ लिँदै क्लबको नेतृत्व लिनु भएको छ ।
क्लबका अध्यक्ष अग्रवालले सपथपछि रोटरीको मुल्य मान्यता भित्र रहेर यसको साखलाई उचो बनाउने प्रतिबद्धता जनाउनु भयो । उहाँलाई रोटरी क्लबका डिजी ( डिस्ट्रीक गभर्नर) विनोद कोइरालाले पद तथा गोपनियताको सपथ गराउनु भयो । उहाँले आफ्नो कार्यकालदेखिनै बर्षेनी रोटरी क्लब मार्फत आफ्ना हजुरबुबाको स्मृतिमा सामाजिक कामका लागि २५ हजार रुपैयाँका दरले योगदान दिने बताउनु भयो ।
स्थानीय सरकारका रुपमा रहेको दमक नगरपालिकाका प्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भट्टराईसहित विभिन्न वडाका वडाध्यक्षहरु, रोटरी क्लबका डिस्ट्रिक गभर्नर विनोद कोइरालासहित विभिन्न रोटरी क्लबका विशिष्ट व्यक्तित्वहरुको विशेष उपस्थितीका बीच नवनियुक्त अध्यक्ष अग्रवालले रोटरी क्लब अफ दमकको बोर्डको टिमलाई सपथ ग्रहण गराउनु भयो ।

सो अवसरमा रोटरी क्लब अफ दमकले बर्षेनी प्रदान गर्दै आएको रोटरी पत्रकारिता पुरस्कार पत्रकार अनिलदेव राईलाई प्रदान गरियो । दुई दशक अघिदेखि पत्रकारितामा क्रियाशील पत्रकार राईलाई पत्रकारिता मार्फत रोटरी क्लब र सिंगो समाजलाई दिएको योगदानको मुल्याङकन गर्दै पुरस्कार एवं सम्मान प्रदान गरिएको क्लबले जनाएको छ ।

सो कार्यक्रममा रोटरी क्लब अफ दमकका निवर्तमान अध्यक्ष विक्रमकुमार साहले आफ्नो कार्यकालमा रोटरी क्लब मार्फत समाजमा गरिएका कामहरुको फेहरिस्त प्रस्तुत गर्दै आफूलाई सहयोग पुरयाउने व्यक्तित्वहरुलाई धन्यवादसहित मायाको चिनो प्रदान गर्नु भयो । क्लबका नोमिनेट प्रेसिडेन्ट सागर श्रेष्ठले सहभागीहरुलाई स्वागत मन्तव्य राख्नु भएको थियो भने क्लबका पूर्व अध्यक्षहरु नविन श्रेष्ठ, भरत चम्लागाइँ, गंगाप्रसाद काफ्ले, पदमराज बराल लगायतको विशेष भुमिका रहेको थियो । पूर्व क्षेत्रका विभिन्न शहरबाट आएका रोटरी क्लबका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।