दमक/ जंगली हात्तीको आक्रमणबाट झापाको दमकमा आज एकै परिवारका दुई दिदीबहिनी घाईते भएका छन् ।
बिहान करिब सवा ४ बजे दमक १ रिङरोड एरियामा बरगाछी नजिकै उत्तर तर्फबाट आएको जंगली हात्तीले आक्रमण गर्दा मर्निङ वाकमा रहेका अन्दाजी ४३/४४ बर्षका सुनिता राई र कविता राई घाईते भएका वडाध्यक्ष हरिप्रसाद न्यौपानेले जानकारी दिनु भयो । उनीहरु दमक १ का मोवाइल व्यवसायी परिवार भएको बताइएको छ ।
घाईते सुनिताको अवस्था गम्भिर छ । दुवै जनाको दमक अस्पताल दमकमा प्रारम्भिक स्वास्थ्य उपचारपछि थप उपचारका लागि विराटनगर तर्फ पठाइएको छ । हात्तीले आक्रमण गरेर जंगल तर्फ भागेको बताइएको छ । दमकको उत्तरी क्षेत्र जंगली हात्तीबाट प्रभावित क्षेत्र हो । दमकको वडा नं १, २ र ३ मा चुरे जंगलबाट हात्ती निस्किएर समय समयमा धनजनको क्षति गर्ने गरेको छ ।