धनकुटा/ नेपाल कम्युनिस्ट पार्टी (एमाले) कोशी प्रदेश समितिको बैठक केही विवाद र भनाभनका बिच सम्पन्न भएको छ । बैठक सहभागी कतिपयले पार्टीको केन्द्रीय समिति बैठकले पठाएको अन्तरपार्टी निर्देशन को ६ नम्बर बुँदा सच्याउनु पर्ने माग गरेका थिए ।
बैठकमा प्रदेश सदस्य रोशन बस्नेत, डीबी कार्की, अञ्जु पाण्डे र भोजपुरका एमाले अध्यक्ष मकर खड्कालगायतले अपानिको ६ नम्बर बुँदा सच्याउन माग गरेका थिए । अपानिको ६ नम्बर बुँदामा विद्या भण्डारीको सदस्यता नवीकरण नगर्ने भन्ने विषय उल्लेख छ ।
यस्तै बैठकमा आफ्ना कुरा राख्दै भोजपुरका एमाले अध्यक्ष खड्काले पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण नगर्ने विषयले भूगोलमा समस्या हुने स्थिति रहेको बताएका थिए । ‘नेताहरूले यो विषयको हल गर्नु पर्यो,’ खड्काले भने ।
यस्तै एमाले प्रदेश सदस्य अञ्जु पाण्डेले पार्टी नेतृत्वले विद्या भण्डारीको राजनीतिक पुनरागमनको अध्याय समाप्त भएको भनेर बैठकमा निर्देशन गरेको बताइन् । ‘नेताहरूका अनुसार अब विद्या भण्डारीको सक्रिय राजनीतिक पुनरागमन हुनेछैन भन्ने थियो,’ पाण्डेले भनिन्, ‘त्यसपछि हामीले बैठकमा पार्टीको निर्णय प्रक्रिया र समयमाथि प्रश्न उठायौँ । यदि पुनरागमन रोक्नु नै थियो भने पहिले पार्टी सदस्यता किन नवीकरण गरियो र लेबी किन लिइयो ?’
उनले यस कदमलाई पार्टी निर्माण गर्ने नेतामाथिको अपमान भन्दै वर्तमान नेतृत्वले आफ्नो पद संकटमा पर्ने देखेर मात्र यस्तो निर्णय लिएको आरोप लगाइन् । उनले मदन भण्डारीको सेतो हात्ती पाल्न सकिँदैन भन्ने विचारलाई उद्धृत गर्दै विद्या भण्डारीले राज्य सुविधा त्यागेर राजनीतिमा आउन खोज्दा रोक लगाउनु अन्यायपूर्ण भएको बताएकी थिइन् । एक पछि अर्को गरी भण्डारीको पक्षमा नेताहरु बोल्न थालेपछि प्रतिवाद सुरु भएको थियो । यसरी प्रतिवाद गर्नेहरूमा झापाका होम थापा, निर्मला सिवाकोटी, मातृका भट्टराई र सङ्खुवासभाका खड्ग राई रहेका थिए ।
एमालेका प्रदेश अध्यक्ष घनश्याम खतिवडाले पनि पूर्वराष्ट्रपतिको विषय बैठकमा उठेको बताए । ‘बैठकमा केही सदस्यहरूले अपानि–१२ को बुँदा नम्बर ६ सच्याउनुपर्ने विषय उठाएका हुन् । तर, अन्तरपार्टी निर्देशन छलफलका लागि नभई कार्यान्वयनका लागि हो । यो त्यति महत्वको भएन,’ खतिवडाले भने, ‘एक जना साथीले अलिकति विचार गर्न सकिने भए पार्टीमा के भो र काम गर्छु भन्नेलाई भनेर भन्नुहुन्थ्यो । अरू साथीहरूले खण्डन–मण्डन त्यसमा.. तमासै भइगो फेरि । अनि त्यो पनि ओझेलै पर्यो ।’
उता एमाले खोटाङका अध्यक्ष देवविक्रम चाम्लिङले भने सोलुखुम्बु, ओखलढुंगा, खोटाङ र भोजपुरलाई छुट्टै प्रदेश बनाउन माग गरेका थिए । ‘खोटाङमा विकास बजेट केही नआएको र झापामा मात्रै गएकोले सोलु, ओखलढुङ्गा, खोटाङ र भोजपुरलाई छुट्टै प्रदेश बनाउन माग गर्दछु ।’
उनले खोटाङ विकासमा पछि परेको र राज्यबाट हेपिएको भन्दै त्यसको क्षतिपूर्ति दिनुपर्ने माग राखेका थिए । उनले तथ्याङ्क प्रस्तुत गर्दै खोटाङमा मुख्य राजमार्गबाहेक जम्मा १२.७ किलोमिटर मात्रै पक्की सडक रहेको र त्यसमध्ये पनि करिब १०.९ किलोमिटर भूकम्पपछिको पुनर्निर्माण प्राधिकरणले बनाएको बताए । राज्यको लगानी नगण्य भएको उनको तर्क थियो । कि त समानुपातिक विकासको हिस्सा दिनुपर्यो, नत्र छुट्टै गरी खान देऊ (छुट्टै प्रदेश बनाऊँ) भन्ने आशयको माग राखेको उनले पनि स्पष्ट पारे । यो माग खोटाङ, सोलुखुम्बु, भोजपुर र ओखलढुङ्गालाई मिलाएर बनाउनुपर्ने भन्ने थियो ।
बैठकमा खोटाङ, भोजपुर, ओखलढुंगा जस्ता पहाडी जिल्लाका एमाले सांसदहरूले भने काम देखाउने बेलामा बजेट नदिएको भन्दै तीव्र असन्तुष्टि व्यक्त गरेका थिए । ‘प्रदेश सरकारले बजेट नपठाएको र काम गर्न गाह्रो भएको गुनासो पर्याप्त आयो,’ बैठकमा सहभागी अर्का नेताले भने, ‘मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भने प्रदेशको बजेट घटेर आएको र नपुग बजेट केन्द्रबाट ल्याउने प्रयास गर्ने जवाफ दिनुभयो ।’
एमाले बैठकले १४ बुँदे कार्ययोजना पारित गरेको छ । यस्तै भदौ २० देखि २२ गतेसम्म हुने विधान महाधिवेशनका लागि सुझाव संकलन गर्न प्रदेश संगठन विभाग प्रमुख राजकुमार भण्डारीको संयोजकत्वमा कार्यदल गठन गरेको अध्यक्ष खतिवडाले जानकारी दिए । जिल्लाहरूले भदौ १० गतेभित्र सुझाव पठाइसक्नुपर्ने उनले बताए । बैठकमा ४२ जना सदस्यले धारणा राखेका थिए । जसमा विधान, प्रदेश कमिटीको कार्यप्रणाली, कोशी प्रदेश सरकारको प्रभावकारिता र बजेट नपरेको जस्ता विषयमा छलफल भएको खतिवडाको भनाइ छ । रातोपाटीबाट