राप्रपा झापाको अधिवेशनबाट अध्यक्षमा पुनः ओझा

दमक/ राष्ट्रिय प्रजातन्त्र पार्टी झापाको ११ औं जिल्ला अधिवेशनले पुनः केशवप्रसाद ओझाको अध्यक्षतामा जिल्ला समिति सर्वसम्मत चयन गरेको छ । शनिबार विर्तामोडमा सम्पन्न अधिवेशनले ओझाको नेतृत्वमा जिल्ला समिति चयन गरेको हो ।
जिल्ला समितिको सदस्यहरुमा दमकबाट राजकुमार योङया र प्रकाश बस्नेत चुनिनु भएको छ । त्यस्तै अन्य सदस्यहरुमा शंकरप्रसाद रिजाल, राजकुमार लिङखिम, कूलबहादुर थापा, प्रविण रिमाल, संगीता रौनियार, पशुपति पोखरेल, ख्याम कार्की, सत्यानारायण यादव, शारदा बुढाथोकी, हर्क तामाङ, प्रेम फुयाँल, गंगादेवी दुलाल, चित्रा श्रेष्ठ, देवीबहादुर थापा, भिमबहादुर बस्नेत, खगेन्द्र पाण्डे, बालिका रायमाझी, कृष्णमाया थापा, राम न्यौपाने, निमसरी राजवंशी, विष्णु गिरी, दिपेश राई, टिकाराम फुयाँल, लक्ष्मीदेवी मैनाली, अस्मिता खरेल लगायत सर्वसम्मत चयन हुनुभएको राप्रपा झापाले जनाएको छ । अधिवेशनको राप्रपाका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङदेनले उदघाटन गर्नुभएको थियो ।

दोमुखा धार्मिक पर्यटन बिकास संस्थामा अध्यक्षसहित लोकतान्त्रिक प्यानलका उम्मेदवार विजयी

झापा/  झापाको दोमुखा धार्मिक तथा पर्यटन विकास व्यवस्थापन संंस्थाको १५औं वार्षिक साधारण सभा तथा सातौं महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा अध्यक्ष पदमा लोकतान्त्रिक प्यानलका मोहन बहादुर कार्कीसहित अधिकांश पदाधिकारी विजयी हुनु भएको छ ।
संसदीय चुनावको झल्को दिने गरि शनिबार सम्पन्न भएको सो निर्वाचनको पदाधिकारी तर्फको मतगणना सकिएको जनाइएको छ ।
कार्की नेतृत्वको प्यानलबाट उम्मेदवार बनेका सचिव बाहेक सबै पदाधिकारी विजयी भएका छन् । सदस्यहरु तर्फको मतगणना भने सकिएको छैन । कूल १ हजार ९३ मत खसेको सो निर्वाचनमा अध्यक्ष पदमा मोहन बहादुर कार्की ४ सय ८७ मत ल्याएर विजयी हुँदा उहाँको निकटतम प्रतिद्धन्दी मानबहादुर मगरले ४ सय २६ मत ल्याउनु भयो । अध्यक्षका अर्का प्रत्यासी किरण ओलीले १ सय ४६ पाउनु भएको छ । प्रथम उपाध्यक्षमा प्रेम जबेगु ६ सय ६८ मत ल्याएर विजयी हुँदा ठाकुर ढकालले ३ सय ५९ मत मात्र पाउनु भएको छ भने उपाध्यक्षमा इन्द्र न्यौपाने ५ सय २१ मत सहित विजयी हुनुभएको छ । न्यौपानेका प्रतिस्पर्धी कृष्ण बस्नेतले ४ सय ६२ मत ल्याउनु भयो ।
सचिव पदमा तेजप्रसाद भट्टराई ५सय १९ मतसहित विजयी हुनुभयो भने उहाँका प्रतिस्पर्धी धन कुमार ढकाल ५०३ मतमा सिमित हुनु परेको छ । सह–सचिवमा अग्नी राई ५ सय ७२ मत ल्याएर विजयी हुनुभयो भने देवेन्द्र चेम्जुङले ४ सय २८ मत ल्याउनु भयो । कोषाध्यक्षमा चुनमाया दाहाल ५ सय ३२ मत ल्याएर विजयी हुनुभयो भने रेनुका फुयाँलले ४ सय ८१ मत पाउनु भयो ।

 

चुलाचुली अध्यक्ष केरुङको योजना – सहिद स्मृति पार्क र परिवारका लागि सुविधा

चुलाचुली/ इलामको चुलाचुली गाउँपालिकाले सशस्त्र युद्धमा मारिएका सहिदहरुको सम्मानमा सहिद स्मृति पार्क निर्माण गर्ने भएको छ । पार्क भित्र सहिदहरुका अर्धकदका शालिक निर्माण गरिनेछ ।

गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले दश बर्षे सशस्त्र युद्ध र सो पछिको समेत अधिकार प्राप्तीको आन्दोलनमा मारिएका सहिदहरुको सम्मानका लागि सहिद स्मृति पार्क निर्माणसहित सहिद तथा वेपत्ता परिवार लक्षित बजेटसहितका कार्यक्रमहरु अघि सार्नु भएको हो ।

अध्यक्ष केरुङले चालू आर्थिक बर्ष २०८२/०८३ को बार्षिक नीति कार्यक्रममानै समावेश गरि अघि सारिएको सो कार्य अघि बढाउन कार्यपालिका सदस्य नरेन्द्रकुमार वान्तवाको संयोजकत्वमा गंगा सुवेदी, पदमा कुरुङवाङ र बिसु कुलुङ सदस्य रहेको समितिलाई जिम्मेवारी दिइएको बताउनु भयो । सो सम्बन्धमा कार्यपालिका बैठकले आवश्यक निर्णय गरेको जनाउँदै अध्यक्ष केरुङले भन्नु भयो– राज्यले घोषणा गरेका सहिदहरु साझा हुन् हामीले सहिदलाई सदास्मरण गर्नेछौं ।

उहाँका अनुसार चुलाचुली गाउँपालिका भित्र राज्यबाट घोषणा गरिएको सहिदहरुको संख्या १३ जना रहेको प्रारम्भिक जानकारी आएको छ ।
यो तथ्याङकमा कोही पनि नछुटुन भन्ने उद्धेश्यले वान्तवाको संयोजकत्वमा रहेको समितिले तथ्याङक यकिन गर्ने र उनीहरुको अवस्थाका बारेमा पनि अधययन गरि स्थानीय सरकारबाट सहिद तथा वेपत्ता परिवारका लागि गर्नुपर्ने कामबारे पनि सुझाव दिनेछ ।

शालिक बनाएर मात्रै सहिद प्रति सम्मान नहुने आफ्नो निष्कर्ष सुनाउँदै अध्यक्ष केरुङले सहिद तथा वेपत्ता प्रत्येक परिवारको निशुल्क स्वास्थ्य बीमा गाउँपालिकालेनै गरिदिने , पालिका भित्रका स्वास्थ्य संस्था, अस्पताल, क्लिनिकहरुमा र एम्बुलेन्स सेवा समेत निशुल्क गरिदिने बताउनु भयो । स्वास्थ्यसँगै शिक्षा र व्यवसायका क्षेत्रमा पनि सहिद तथा वेपत्ता परिवारलाई राहत तथा सहयोगका कार्यक्रमहरु ल्याइएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष केरुङका अनुसार सहिद परिवारका बालबालिकालाई कक्षा ११/ १२ सम्म निशुल्क पढाइदिने र सो भन्दा माथि समेत चाहेको बिषयमा अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था गरिदिने, सहिद परिवारले आवश्यक ठानेमा तत्काल कम्तीमा एक जनालाई रोजगारको व्यवस्था मिलाइने र उद्यम , व्यवसाय सञ्चालन गर्न चाहने सहिद परिवारलाई आर्थिक क्षेत्रमा समेत प्रोत्साहन गरिने गाउँपालिकाको योजना रहेको अध्यक्ष केरुङले बताउनु भयो ।

देशभरमै एक मात्रै त्यस किसिमको सशस्त्र द्धन्द्धका सहिदको स्मृति पार्क बनाउने र एकमुष्ट सम्बोधन हुने किसिमको सहयोग तथा राहतका कार्यक्रमहरु ल्याउने चुलाचुली गाउँपालिकानै पहिलो भएको अध्यक्ष केरुङको दाबी छ । उहाँले आगामी बैशाख सम्ममा सो स्मृति पार्कको उदघाटन तथा सहिद परिवारको सामुहिक सम्मानको कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख उपस्थितीमा गर्ने घोषणा पनि गर्नुभएको छ ।

सरसफाईमा खोपिडाँडा टोलबासीहरुको सक्रियता

उर्लाबारी/ मोरङको उर्लाबारी–९, खोपिडाडा टोल विकास संस्थाले गाउँलाई सफा र आकर्षक बनाउन अभियान सुरु गरेको छ। संस्थाले सामूहिक पहलमार्फत बाटो सरसफाइ, फोहोर व्यवस्थापन र सडकछेउमा फूल रोप्ने योजना अघि बढाएको हो।
संस्थाको अध्यक्ष प्रकाश प्याकुरेल, सचिव बासु अधिकारी र वरिष्ठ सल्लाहकार सुरेन्द्र शेर्मा हुनुहुन्छ।
अध्यक्ष प्रकाश प्याकुरेलले भन्नुभयो– “आफ्नो गाउँलाई सफा र हरियाली बनाउनु हाम्रो साझा जिम्मेवारी हो। सामूहिक सहभागितामार्फत मात्र यस अभियानलाई सफल बनाउन सकिन्छ।”
सचिव बासु अधिकारीले जानकारी दिनुभयो– “बाटो सरसफाइसँगै सडक किनारमा फूल रोप्ने हाम्रो योजना छ। यसले गाउँलाई सुन्दर बनाउने मात्र होइन, यहाँका बासिन्दामा सकारात्मक सोच पनि जगाउनेछ।”
वरिष्ठ सल्लाहकार सुरेन्द्र शेर्माले भन्नुभयो– “गाउँ विकासका यस्ता अभियानहरू पीढीगत सम्पत्ति हुन्। आज सुरु गरिएको अभियानले भविष्यका पुस्तालाई प्रेरणा दिनेछ।”
पत्रकार तेजन खड्काले अभियानको प्रशंसा गर्दै भन्नुभयो–“खोपिडाडा टोल विकास संस्थाले थालेको अभियान अरू वडाका लागि पनि प्रेरणादायी बन्नेछ। स्थानीय स्तरमै सुरु भएका साना–साना प्रयासहरूले नै ठूला परिवर्तन ल्याउने आधार तयार गर्छन्।”
खोपिडाडा टोल विकास संस्थाका अनुसार, सामूहिक श्रमदानमार्फत अभियानलाई निरन्तरता दिइनेछ। संस्थाको लक्ष्य सफा, हरियाली र व्यवस्थित गाउँ निर्माण गर्नु रहेको छ।
सस्थाका पुर्ब अध्यक्ष भुपेन शेर्मा हुनुहुन्छ ।

साहित्य कला सङ्गमको नयाँ नेतृत्व चयन, विन्दु दाहालको अध्यक्षतामा समिति

दमक/ साहित्य कला सङ्गम दमकले २०ओै साधारण सभाले विन्दु दाहाल (मुकदर्शक)को अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।
साहित्यकार प्राध्यापक डा. कमलप्रसाद वस्तीको प्रमुख आतिथ्यतामा भएको साधारण सभाले उपाध्यक्षहरु यादवप्रसाद अधिकारी झाक्रिखोले,दुर्गा काफ्ले र चन्द्रा गडतौलालाई चुनेको छ भने महासचिवमा ओमप्रसाद खनाल, सचिवमा बीरेन्द्र खडका, सहसचिवमा मेघनाथ बन्धु, कोषाध्यक्षमा नेत्रप्रसाद अधिकारी,सदस्यहरुमा डा.लेखनाथ न्यौपाने,बिवेक दुलाल क्षेत्री,रामकुमार उपाध्याय, ज्ञाननाथ निरौला र लीलाप्रसाद अधिकारी चुनिनु भएको छ ।
लेखा समिति संयोजकमा गीता कुँवर, सदस्यहरुमा मच्छिन्द्र याख्खा र कमला धिमिरे चुनिनु भएको जनाइएको छ । शुक्रबार सङ्गमका अध्यक्ष बिष्णुप्रसाद न्यौपानेको अध्यक्षतामा सञ्चालन भएको साधारण सभाले अध्यक्ष न्यौपानेको वार्षिक प्रतिवेदन र लेखा समिति संयोजक पुष्ता राईले प्रस्तुत गर्नु भएको लेखा प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको थियो ।
सम्पन्न साधारण सभामा कार्य समिति गठनको लागि निर्वाचन समिति गठन गरिएको थियो । समितिमा साहित्यकार हेमनाथ अधिकारीको संयोजक रहने गरि डा.कमल प्रसाद वस्ती र शिव काफ्ले रहनु भएको थियो ।
यसरी नै समिति गठनका लागि डा. उत्तमप्रसाद भट्टराई, नरपति पाण्डे र राजेन्द्र प्रसाद दाहालले सहजीकरण गर्नु भएको थियो ।
दमक –५ स्थित दिपिनी आधारभुत बिद्यालयको सभाहलमा भएको कार्यक्रमको सञ्चालन साहित्य कला सङ्गमका कोषाध्यक्ष ओमप्रसाद खनालले गर्नु भएको थियो ।

 

दमक ७ का उत्कृष्ट तीन वटा टोल र करदाताहरु सम्मानित

दमक/ झापाको दमक नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयले आज एकैसाथ दुई महत्वपूर्ण कार्यक्रम सम्पन्न गरेको छ ।
वडा कार्यालयको सभा कक्षमा एक कार्यक्रम मार्फत वडा भित्र संचालित उत्कृष्ट टोल विकास संस्थाहरु र वडालाई कर बुझाउने विभिन्न समुहमा वर्गीकरण गरी साना ठुला दुवै खाले कर दाताहरुलाई सम्मान गरेको हो ।
वडाबाट सम्पादन भएका योजना तथा कार्यक्रमहरु उत्कृष्ट सहकार्य र समन्वय गर्ने लक्ष्मी टोल विकास पहिलो , बराह टोल विकास दोस्रो र संरक्षण टोल विकास तेस्रो हुँदै सम्मानित भएका छन् । उत्कृष्ट टोल विकासका अध्यक्ष तथा प्रतिनिधिहरुलाई वडाध्यक्ष भिम प्रसाद पौडेल, वडा सदस्यहरु अतीत बान्तवा राई र तारादेवी रणपहेंलीले सम्मान गर्नु भयो ।


त्यस्तै उत्कृष्ट करदाताका रुपमा संस्थागत तर्फ सिद्धार्थ बोर्डिङ स्कुललाई र व्यक्तिगत साना तर्फ गौमाया कटुवाल, व्यक्तिगत उच्च करदाताको रुपमा बलराम पराजुली र पहिलो उच्च राजश्व बुझाउने गणेश श्रेष्ठ तथा महिला व्यवसायी तर्फ शारदा श्रेष्ठलाई सम्मान गरिएको हो ।
त्यस्तै सरकारी सटर (व्यवसायिक पसल कवल) सञ्चालन गर्ने मध्ये नियमित रुपमा समयमा कर बुझाउने महेश विश्वकर्मालाई सम्मान गरिएको वडा सचिव योगेश भट्टराईले जानकारी दिनु भयो ।
त्यस्तै उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीका रुपमा जीवन कोइरालालाई सम्मान गरियो । सोही अवसरमा बाल मैत्री वडा घोषणाका लागि आवश्यक सूचकहरुको अवस्थाबारे जानकारी गराउँदै नगरपालिकाकी महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख सरिता भण्डारीले सूचकहरुको प्रमाणीकरण गरिएको जानकारी गराउनु भयो ।
उहाँले २०८३ भित्रमा सिङ्गै दमक नगर बालमैत्री स्थानीय शासन युक्त नगर घोषणामा यसले महत्व राख्ने बताउनु भयो ।
कार्यक्रममा राजनीतिक दलहरुको तर्फबाट नेकपा एमालेका वडा कमिटी अध्यक्ष राधाकृष्ण आचार्य, टोल विकास संस्थाहरुका तर्फबाट केदारनाथ घिमिरे र महेश पोखरेल साथै रेडक्रस दमक उपशाखा सचिव घनश्याम कोइराला, विद्यालयहरुका तर्फबाट विष्णु राई र तेजकुमार श्रेष्ठ र वडा बाल सञ्जाल अध्यक्ष शुभेच्छा बिमलीले वडाले थालनी गरेको सो कार्यक्रमको प्रशंसा गर्दै शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा वडा सदस्य अतीत बान्तवाले स्वागत मन्तब्य राख्नु भएको थियो भने सञ्चालन वडा सचिव भट्टराईले गर्नु भएको थियो ।

सुन अहिले सम्मकै महंगो, आजको भाउ २ लाख ६ सय

काठमाडौं/   नेपाली बजारमा सुनको मूल्यले आज नयाँ इतिहास रचेको छ । तीन साताअघि कायम भएको सर्वाधिक उच्च मूल्यको कीर्तिमान तोड्दै सुनको भाउ प्रतितोला २ लाख ६ सय रुपैयाँ पुगेको हो ।   सुनचाँदी व्यवसायी महासंघका अनुसार, बिहीबारको तुलनामा आज सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले महँगिएको छ । यसअघि साउन २३ गते सुनको भाउ १ लाख ९९ हजार ४ सय रुपैयाँमा पुगेर कीर्तिमान कायम गरेको थियो ।

सुनको मूल्य निरन्तर उकालो लाग्नुमा विश्वव्यापी आर्थिक अनिश्चितता, भूराजनीतिक तनाव र अमेरिकी डलरको उतारचढाव मुख्य कारकका रूपमा हेरिएको छ । लगानीकर्ताहरू सुरक्षित लगानीका लागि सुनतर्फ आकर्षित हुँदा यसको माग बढेको व्यवसायीहरू बताउँछन् ।

यता, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । बिहीबार प्रतितोला २ हजार ३ सय ५५ रुपैयाँ रहेको चाँदी आज ५ रुपैयाँले बढेर २ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको यो मूल्य पनि हालसम्मकै उच्चतम हो ।

सुन र चाँदीको मूल्यमा आएको यो उछालले उपभोक्ताहरूमा मिश्रित प्रतिक्रिया देखिएको छ । एकातिर गहना खरिद गर्ने योजनामा रहेकाहरू निराश बनेका छन् भने अर्कोतिर सुनलाई लगानीको सुरक्षित माध्यम मान्नेहरूका लागि यो सकारात्मक खबर बनेको छ । 

मेची बहुउद्देश्यीयद्वारा अभियन्ता र पत्रकार सम्मानित

दमक / मेची बहुउद्धेश्यीय सहकारी संस्थाको २९ औं वार्षिकाेत्सव तथा ३१ औं साधारणसभाकाे माइन्युट प्रमाणिकरण सभाकाे अवसरमा  सहकारी अभियान्ता र पत्रकारहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ ।
  स्व.गणेशप्रसाद बस्नेत स्मृति सहकारी अभियन्ता पुरस्कार राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष डिबि बस्नेतलाई, स्व. गणेशप्रसाद बस्नेत पत्रकारिता पुरस्कार स्वादिन सम्वाद साप्ताहिकका सम्पादक माधव बिद्राेही र मेची पत्रकारिता पुरस्का पूर्वज्याेति साप्ताहिक उर्लाबारीका सम्पादक प्रकाशक जगन्नाथ भट्टराई र मेची सहकारी सञ्चार गृह पुरस्कार बिर्तामाेडस्थित रेडियाे भिजनलाई प्रदान गरिएकाे छ । संस्थाले उत्कृष्ट कार्य सम्पादन गर्ने सेवा केन्द्रका रुपमा बेलबारी सेवा केन्द्रका प्रमुख रमेश क्षेत्रीलाई पुरस्कृत गरेको छ ।
साथै संस्थाले गत चैत्रमा आयाेजना गरेकाे अन्तर सेवा कार्यालयस्तरीय फुटसल प्रतियाेगिताकाे पुरस्कार समेत बितरण गरेकाे छ । प्रतियाेगितामा कनकाइ र शिवसताक्षी सेवा कनर्यालयका संयुक्त टिम प्रथम भएकाले रु १००००, मिक्लाजुङ सेवा कार्यालय द्वितीय भएकाले रु ५०००, धेरै गाेल गर्ने कनकाइ सेवा कार्यालयका कर्मचारी विशाल टुडु र उत्कृष्ट मिडफिल्डर अादित्य थापालाई १०००/१००० प्रदान गरिएकाे थियाे ।
भौतिक पुर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दहालको प्रमुख आतिथ्यमा भएको  बार्षिकोत्सव समापनका अवसरमा बोल्दै मन्त्री दाहालले नेपालको अर्थतन्त्र बलियो पार्न सहकारीता क्षेत्रलाई बलियो बनाउन जरुरी रहेको बताउनु भयो ।
उहाँले केही ब्यक्तिको गलत कार्यको दोष सिङ्गो सहकारी क्षेत्रलाई गलतरुपमा ब्याख्या गर्न नहुने बताउनु भयो । राज्यले तीन खम्बे आर्थिक नीति अबलम्बन गरेको अवस्थामा सहकारी एक महत्वपूर्ण खम्बा रहेको स्मरण गराउनु भयो ।
अर्थतन्त्रको एक महत्वपूर्ण खम्बालाई कमजोर रुपमा छोडेर सबल अर्थतन्त्र निर्माण गर्न नसकिने मन्त्री दहालले बताउनु भयो ।
पछिल्लो समय विभिन्न सहकारी सस्था मार्फत ठगिएकाहरुलाई उचित न्याय दिलाउनु र सहकारी क्षेत्रलाई बलियो नियमन र प्रोत्साहन पनि जरुरी रहेको उहाँको भनाइ थियो ।
१७ ह्जार भन्दा बढी सदस्य रहेको सो सहकारीले गत आर्थिक वर्ष २ करोड ७४ लाख रुपैयाँ राज्यलाई कर मात्र तिरेको संस्थाका प्रमुख कार्यकारी खोमप्रसाद बगालेले बताउनु भयो । ३ जिल्ला कार्य क्षेत्र रहेको सस्थाको ४ अर्ब ५३ करोडको वासलात रहेको छ ।

चुलाचुलीले बनायो स्थानीय पाठ्यक्रम “हाम्रो चुलाचुली”

दमक/ शैक्षिक क्षेत्रमा इलाम जिल्लामै उत्कृष्ट र नमुना अभ्यासहरु अघि बढाइरहेको चुलाचुली गाउँपालिकाले कक्षा १ देखि ३ सम्म पठनपाठन गराइने स्थानीय पाठ्यक्रम हाम्रो चुलाचुली निर्माण गरेको छ ।
पाठ्यक्रमको बुधबार गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले लोकार्पण गर्नु भयो । गाउँपालिकाको सभाकक्षमा आयोजित कार्यक्रमकाबीच सो पाठ्यक्रम लोकार्पण गरिनुका साथै विभिन्न व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको जनाइएको छ ।
सो अवसरमा पाठ्यक्रम निर्माणमा योगदान गर्नुहुने शिक्षकहरु कमल प्रसद अधिकारी (किराँतेश्वर मावि) सरस्वती शिवा (जनता मावि बाह्रगोठे) दिलकुमार आङ्देम्बे (जनता मावि कमल) र छवि खनाल (सनफ्ल्वावर एकेडेमी)लाई सम्मान गरिएको थियो ।
सो अवसरमा अध्यक्ष केरुङले अब छिट्टै कक्षा ४ देखि ८ सम्म पढाई हुने पाठ्यक्रमको समेत तयारी गरिने जानकारी दिनु भयो । चुलाचुली गाउँपालिका भित्रका रैथाने मातृभाषा श्रीजङा लिपि, कुलुङ भाषा, र राई बान्तवा भाषा समेत यही शैक्षिक सत्रबाट पढाई सञ्चालन गरिने अध्यक्ष केरुङले उल्लेख गर्नु भयो ।
गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख समेत रहनु भएका निमित्त प्रमुख प्रशासकीय अधिकृत राम मिश्रको अध्यक्षता र गाउँपालिका अध्यक्ष केरुङको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा गाउँपालिका उपाध्यक्ष दिलकुमारी लिम्बुको विशेष आतिथ्य रहेको थियो ।  कार्यक्रममा जनप्रतिनिधिहरु, शिक्षक , कर्मचारी एवं सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

 

कमलमा भित्रियो थप स्वास्थ्य उपकरण, अस्पतालको पूर्वाधारमा मन्त्रीको प्रतिबद्धता

दमक/  झापाको कमल गाउँपालिका वडा नं २ मा सञ्चालित कमल नगर अस्पतालमा आवश्यक थप स्वास्थ्य उपकरणहरुको व्यवस्थापन भएको छ ।

अस्पताल व्यवस्थापन समिति अध्यक्षको समेत जिम्मेवारी सम्हालिरहनु भएका गाउँपालिका अध्यक्ष हुकुमसिंह राईको सक्रियतामा विशेष गरी अस्पतालमा डेन्टल सेवा तथा विभिन्न वडामा आवश्यक अक्सिजन सिलिण्डर लगायतका महत्वपूर्ण सामग्री सरकारले उपलब्ध गराएको हो ।

संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलसँग गाउँपालिका अध्यक्ष राईले भेटघाट गरी अस्पतालको व्यवस्थापनमा तत्काल आवश्यक स्वास्थ्य उपकरणको व्यवस्थापनसँगै अस्पतालको पूर्वाधार निर्माणमा बजेट उपलब्ध गराउन अनुरोध गर्नुभएको थियो । अस्पतालबारे मन्त्री पौडेलसँग भएको कुराकानीबारे प्रष्ट्याउँदै अध्यक्ष राईले भन्नु भयो– स्वास्थ्य क्षेत्रमा हाम्रो पालिकामा भइरहेको कामबारे मन्त्री ज्यूले प्रशंसा पनि गर्नु भयो र अस्पताललाई पूर्वाधारयुक्त र प्रविधिसँग जोडेर अघि बढाउने योजनामा सकारात्मक हौसला मिलेको छ ।

गाउँपालिका अध्यक्षमा निर्वाचित हुँदै गर्दा अध्यक्ष राईले लिनु भएका महत्वपूर्ण निर्णयहरु मध्ये तत्कालिन तोपगाछी स्वास्थ्य चौकीलाई स्तरोन्नती गर्दै स्वास्थ्य बीमा सेवासहितको अस्पताल सञ्चालन गर्ने रहेको थियो । उहाँले निर्वाचित भएको ९ महिना भित्रैमा सो निर्णय अनुसार कमलको स्वास्थ्य सेवामा महत्वपूर्ण काम हुँदै आएको छ ।

पछिल्लो समय प्राप्त स्वास्थ्य उपकरणले कमल गाउँपालिकामा स्वास्थ्य सेवाको दायरा थप विस्तार हुने र कमलबासीका साथै आसपास क्षेत्रका बासिन्दाले गाउँमै विशेषज्ञ डाक्टरहरुसहितको गुणस्तरीय उपचार सेवा पाउने वातावरण बनेको अस्पताल व्यवस्थापन समिति सदस्यको समेत जिम्मेवारी सम्हालिरहनु भएका कमल– २ वडा अध्यक्ष अशोक सुब्बाले बताउनु भयो ।

कमल नगर अस्पताल प्रमुख दिपक प्रसाद दाहालका अनुसार अब डेन्टल चेयर सञ्चालनमा आएपछि दन्त उपचार सहज र प्रभावकारी हुनेछ । यसअघि दन्त सेवाका लागि स्थानीयले टाढा–टाढासम्म धाउनुपर्ने बाध्यता थियो भने अब गाउँमै आधुनिक उपकरण प्रयोग गरी आरामदायी उपचार पाउने उहाँले बताउनु भयो । यस्तै अक्सिजन सिलिन्डर र सक्सन मेसिन जस्ता उपकरणले आपतकालीन उपचार सेवामा थप सहयोग पुरयाउने जनाइएको छ ।

यि हुन् अस्पतालमा पछिल्लो पटक प्राप्त सामग्रीहरु 

#) डेण्टल चियर मुल्य रु:- ६,७६,८७०/-
#) डेण्टल कम्प्रेसर मुल्य रु:-७८,९८७/-
#) अक्सिजन सिलिण्डर मुल्य रुः-५६,७४४/-
#) डेन्टल ईन्सटुर्न्समेन्ट सेट मुल्य:-१,०१,५८७/-
#) मेडिकेशन स्टेन मुल्य रु:-३०,५१०
#) ए.आर.ई. साउण्ड टाईमर मुल्य रु:- १०,५०९/-
#) सेन्ट्रिफ्यू मेसिन मुल्य रु:- ९३,१५१/-
#) पाईपपेट स्टेन
#) पल्स अक्सिमिटर हेन्ड हेल्ड
#) फुट अप्रेटेट् सक्सन मेसिन।