उर्लाबारी/ मोरङको उर्लाबारी–९, खोपिडाडा टोल विकास संस्थाले गाउँलाई सफा र आकर्षक बनाउन अभियान सुरु गरेको छ। संस्थाले सामूहिक पहलमार्फत बाटो सरसफाइ, फोहोर व्यवस्थापन र सडकछेउमा फूल रोप्ने योजना अघि बढाएको हो।
संस्थाको अध्यक्ष प्रकाश प्याकुरेल, सचिव बासु अधिकारी र वरिष्ठ सल्लाहकार सुरेन्द्र शेर्मा हुनुहुन्छ।
अध्यक्ष प्रकाश प्याकुरेलले भन्नुभयो– “आफ्नो गाउँलाई सफा र हरियाली बनाउनु हाम्रो साझा जिम्मेवारी हो। सामूहिक सहभागितामार्फत मात्र यस अभियानलाई सफल बनाउन सकिन्छ।”
सचिव बासु अधिकारीले जानकारी दिनुभयो– “बाटो सरसफाइसँगै सडक किनारमा फूल रोप्ने हाम्रो योजना छ। यसले गाउँलाई सुन्दर बनाउने मात्र होइन, यहाँका बासिन्दामा सकारात्मक सोच पनि जगाउनेछ।”
वरिष्ठ सल्लाहकार सुरेन्द्र शेर्माले भन्नुभयो– “गाउँ विकासका यस्ता अभियानहरू पीढीगत सम्पत्ति हुन्। आज सुरु गरिएको अभियानले भविष्यका पुस्तालाई प्रेरणा दिनेछ।”
पत्रकार तेजन खड्काले अभियानको प्रशंसा गर्दै भन्नुभयो–“खोपिडाडा टोल विकास संस्थाले थालेको अभियान अरू वडाका लागि पनि प्रेरणादायी बन्नेछ। स्थानीय स्तरमै सुरु भएका साना–साना प्रयासहरूले नै ठूला परिवर्तन ल्याउने आधार तयार गर्छन्।”
खोपिडाडा टोल विकास संस्थाका अनुसार, सामूहिक श्रमदानमार्फत अभियानलाई निरन्तरता दिइनेछ। संस्थाको लक्ष्य सफा, हरियाली र व्यवस्थित गाउँ निर्माण गर्नु रहेको छ।
सस्थाका पुर्ब अध्यक्ष भुपेन शेर्मा हुनुहुन्छ ।