दमक/ शैक्षिक क्षेत्रमा इलाम जिल्लामै उत्कृष्ट र नमुना अभ्यासहरु अघि बढाइरहेको चुलाचुली गाउँपालिकाले कक्षा १ देखि ३ सम्म पठनपाठन गराइने स्थानीय पाठ्यक्रम हाम्रो चुलाचुली निर्माण गरेको छ ।
पाठ्यक्रमको बुधबार गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले लोकार्पण गर्नु भयो । गाउँपालिकाको सभाकक्षमा आयोजित कार्यक्रमकाबीच सो पाठ्यक्रम लोकार्पण गरिनुका साथै विभिन्न व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको जनाइएको छ ।
सो अवसरमा पाठ्यक्रम निर्माणमा योगदान गर्नुहुने शिक्षकहरु कमल प्रसद अधिकारी (किराँतेश्वर मावि) सरस्वती शिवा (जनता मावि बाह्रगोठे) दिलकुमार आङ्देम्बे (जनता मावि कमल) र छवि खनाल (सनफ्ल्वावर एकेडेमी)लाई सम्मान गरिएको थियो ।
सो अवसरमा अध्यक्ष केरुङले अब छिट्टै कक्षा ४ देखि ८ सम्म पढाई हुने पाठ्यक्रमको समेत तयारी गरिने जानकारी दिनु भयो । चुलाचुली गाउँपालिका भित्रका रैथाने मातृभाषा श्रीजङा लिपि, कुलुङ भाषा, र राई बान्तवा भाषा समेत यही शैक्षिक सत्रबाट पढाई सञ्चालन गरिने अध्यक्ष केरुङले उल्लेख गर्नु भयो ।
गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख समेत रहनु भएका निमित्त प्रमुख प्रशासकीय अधिकृत राम मिश्रको अध्यक्षता र गाउँपालिका अध्यक्ष केरुङको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा गाउँपालिका उपाध्यक्ष दिलकुमारी लिम्बुको विशेष आतिथ्य रहेको थियो । कार्यक्रममा जनप्रतिनिधिहरु, शिक्षक , कर्मचारी एवं सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।
