रतुवा खोला तटबन्धनस्थलमा कमल र दमकका जनप्रतिनिधिको संयुक्त चासो

दमक/ कमल गाउँपालिकाको वडा नं ५ र दमक नगरपालिकाको वडा नं १ बीच भएर बग्ने रतुवा खोलामा दमक तर्फबाट भइरहेको तटबन्धन र कमल तर्फको भुभागमा हुन सक्ने सम्भावित जोखिमका बिषयमा दुवै तर्फका जनप्रतिनिधिहरुले स्थलगत जानकारी लिएका छन ।

निर्माणाधीन तटबन्धको कारण खोलाको धार कमल तर्फ एकोहोरिदा हुन सक्ने जोखिमका बिषयमा कमल गाउँपालिकाका तर्फबाट अध्यक्ष हुकुमसिंह राईको नेतृत्वमा वडाध्यक्ष लालबहादुर विष्टसहित आएको टोली र दमक नगर उपप्रमुख रेगिना भट्टराई, वडाध्यक्ष हरिप्रसाद न्यौपानेसहितको संयुक्त टोली तटबन्धनस्थलमा पुगेर त्यहाँ आवश्यक जानकारी लिएको हो ।

दुवै तर्फका जनप्रतिनिधिहरुबीच प्राकृतिक समस्याका रुपमा रहेको खोलाको कटान र डुबानबाट हुन सक्ने सम्भावित क्षति रोक्नका लागि अपनाउन सकिने उपायहरुका बारेमा विचार विमर्श भएको जनाइएको छ ।

दमकको १३ औं नगरसभा -वजेटसहित नीति तथा कार्यक्रम पारित

 दमक / दमक नगरपालिकाको १३ औं नगर सभामा प्रस्ताव गरिएको नीति कार्यक्रम तथा बजेट संशोधनसहित पारित भएको छ ।
नगर सभाको आज बसेको दोश्रो बैठकमा उपप्रमुख रेगिना भट्टराईले १० असारमा प्रस्तुत गरेको नीति कार्यक्रम स्वीकृतार्थ पेश गरेकी थिइन । सो कार्यक्रम पारित गरियोस भनि बैठकमा राखेको प्रस्ताव नगर सभा अध्यक्ष तथा नगर प्रमुख रामकुमार थापाले निर्णयार्थ प्रस्तुत गरेका थिए ।
त्यसैगरी उपप्रमुख भट्टराईले पेश गरेको दमक नगरपालिकाको विनियोजन विधेयक २०८०, राजश्व संकलन तथा परिचालन गर्न बनेको विधेयक २०८० र दमक नगरपालिकाको आर्थिक विधेयक २०८० स्वीकृतार्थ पेश गरेकी थिइन । पेश गरिएका सबै विधेयक नगर सभामा नगर प्रमुख थापाले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मत पारित भएको घोषणा गरिएको थियो ।
सो सभाको बैठकमा न्यायिक समिति संयोजक उपप्रमुख भट्टराईले न्यायिक समितिको प्रतिवेदन पेश गर्दै चालू आर्थिक बर्षको शुरुदेखि अहिले सम्म २४४ वटा विभिन्न किसिमका विवाद सम्बन्धि निवेदन दर्ता भएका उल्लेख गरेकी छन् । उनले अधिकांश मुद्धाहरु लेनदेन, अंशवण्डा, झैझगडा सम्बन्धिका भएको र ४० वटा विवादित बिषयहरुको स्थलगत रुपमै पुगेर विवाद निरुपण गरिएको पनि जनाइन् । न्यायिक समितिको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन दमकका १० वटै वडामा १३६ जना मेलमिलापकर्ताहरु परिचालित रहेका छन् ।
सभामा पूर्वाधार बिकास समितिका संयोजक भिमप्रसाद पौडेल, सामाजिक विकास समितिका तर्फबाट सदस्य कुबेर भट्टराई, सुशासन तथा स्थानीय सेवा समितिका संयोजक नविन बराल ,विद्यायन समितिका संयोजक राजेन्द्र भण्डारी र वातावरण समितिका संयोजक टेकबहादुर थापाले शाखागत प्रतिवेदनहरु पेश गरेका थिए । सभाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि प्रस्तुत रु १ अर्ब ८४ करोड १२ लाख ३९ हजार रुपैयाको वजेटसहित विषयगत सबै प्रतिवेदनहरु समेत पारित भएका छन् ।

लागुऔषधसहित ६ जना पक्राउ

बिराटनगर/ झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो झापा स्थित प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले कनकाई नगरपालिका-३ का २४ बर्षीय मनिष वाग्लेलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट २ ग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेको हो । यसै गरी  इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले लेटाङ नगरपालिका-८ का २५ बर्षीय सुवास कार्की, २५ बर्षीय लोकेश राई लेटाङ ९ का २० बर्षीय दिबाहाङ राई, २० बर्षीय पवन बाग्दान र २६ बर्षीय अबिषेक दर्जी समेतलाई स्पासपेन २ सय चक्की, ट्रामाडोल ६ सय ४५ चक्की र ५ सय ग्राम गाजा सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईहेको छ ।

मुख्यमन्त्रीबाट ट्राफिक सप्ताह उद्घाटन

विराटनगर/ कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बढ्दो सवारी दुर्घटा न्युनीकरण गर्न जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनु भएको छ । मङ्लबार देखि कोशी प्रदेशमा सुरु भएको ट्राफिक सप्ताह २०८० को समुद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले सो कुरा बताउनु भएको हो ।

उहाँले वर्षेनी हुने सडक दुर्घटनाका कारण मुलुकले ठूलो मानवीय र भौतिक क्षति व्यहोर्नु परेको दृष्टान्त प्रस्तुत गर्नुभयो ।

यातायाता व्यवसायि, सवारी चालक,ट्राफिक प्रहरी,नेपाल प्रहरी लगायतका सरोकारवाला क्षेत्रहरु बीच आपसी सहकार्य गरी काम गर्न सकेमा दुर्घटना कारण वर्षेनी हुने मानवीय र भौतिक क्षति रोक्न सकिने उहाँको भनाइ छ ।

उहाँले सडक दुर्घटना न्यूनीकरण गर्न आवश्यक पर्ने सबै खालको व्यवस्थापकीय कार्यका लागि सहकार्य गर्न प्रदेश सरकार तयार रहेको पनि प्रस्ट पार्नुभयो ।

सङ्घीय कानूनको अभावमा प्रदेश सरकार आफैले गर्नुपर्ने कतिपय कार्यहरु पनि गर्न नसकेको जानकारी गराउँदै तर त्यस्ता कार्यहरु सहकार्य मार्फत हुँदै आएको बताउनुभयो ।

उहाँले अघिल्लो वर्षहरुको तुलनामा चालू वर्षमा कोशी प्रदेशमा सडक दुर्घटनाको सख्यामा कमी आएको दृष्टान्त प्रस्तुत गर्दै आगमी वर्षहरुमा थप सुधार हुने गरी काम गरेर सुन्यमा झार्नुपर्ने बताउनुभयो ।

मुख्यमन्त्री कार्की मङ्गलबार नै आर आर एन नामक एक गैर सरकारी सस्थाबाट सञ्चालित जलबायुजन्य विपद् जोखिमहरु प्रति समुदायको उत्थानसिल सुदृढीकरण परियोजनाको उद्घाटन गर्दै कोशी प्रदेशमा ३८ भन्दा बढी किसिमका प्रकोपहरुको जोखिम रहेको अवगत गराउनुभयो ।

जलबायुजन्य विपद् अन्तर्ग बाढी र पहिरोको जोखिम बढी रहेको बताउँदै पछिल्लो अवस्थामा जङ्गली जनवारहरुको आक्रमणको जोखिम पनि बढ्दो क्रममा रहेको स्पस्ससट पानुभयो । विपद् जोखिम न्यूनीकरणका लागि सरोकारवाला निकायहरुले पूर्व तयारीमा बढी जोड दिनुपर्ने सुझाव दिँदै तर त्यस्ता निकायहरुको ध्यान राहत र उद्दारमा मात्र हँुदै आएको उहाँको भनाइ छ ।

रोटरी क्लब अफ दमकको नेतृत्वमा पदम बराल, बार्षिक कार्य योजना सार्वजनिक

दमक/ सामाजिक कार्यमा सक्रिय रोटरी क्लव अफ दमकको आगामी एक बर्षे कार्यकालको नेतृत्व युवा व्यवसायी पदमराज बरालले सम्हालेका छन ।

बरालको नेतृत्वमा गत जुलाई १ देखि रोटरी दमकको नयाँ कार्यसमिति चयन गरिएको थियो । निर्वाचित समितिको वर्ष २०२३/२४ को निर्वाचित अध्यक्षमा विक्रमकुमार साह, प्रस्तावित अध्यक्षमा केशव अग्रवाल,सचिवमा भेनष श्रेष्ठ, सहसचिवमा अम्बिका न्यौपाने , कोषाध्यक्षमा देवेन्द्र बराल र सह–कोषाध्यक्षमा रमा लिम्बू चुनिएकी छन् ।

यसैगरि,क्लव प्रशासन प्रमुखमा शान्तिराम निरौला, क्लव सदस्य प्रमुखमा गौतम गुप्ता,सेवा आयोजना प्रमुखमा गंगाप्रसाद काफ्ले,सार्वजनिक सम्बन्ध प्रमुखमा भरतकुमार चम्लागाई, द रोटरी फाण्डेशन प्रमुखमा सन्दिप साहेवाला,युवा सेवा प्रमुखमा जस्मिन कारन्जित,सर्जन एण्ड आम्स प्रमुखमा एकता मल्लिक ,प्रशिक्षकमा दिपु चापागाई र डा. लेखनाथ न्यौपानेले सल्लाहकारको जिम्मेवारी पाएका छन् ।
बराल नेतृत्वको सो क्लबले सोमबार पत्रकार सम्मेलन मार्फत आफनो बार्षिक कार्ययोजना सार्वजनिक गरेको छ ।

रोटरी क्लब अफ दमकको वर्ष २०२३ –२०२४ का लागि नवनिर्वाचित समितिले पत्रकार सम्मेलन गरि बार्षिक कार्य योजना सार्वजनिक गरेको हो ।

रोटरीका नवनिर्वाचित अध्यक्ष पदमराज बरालले सामाजिक कार्यसहितका विभिन्न सातवटा योजना अन्तर्गत गरिने कार्यक्रमहरुका बारेमा जानकारी गराएका थिए ।

रोटरी क्लवले मूलत शान्ति स्थापना र द्धन्द्ध व्यवस्थापन,रोगको रोकथाम र उपचार , पानी र सरसफाई, आधारभूत शिक्षा र साक्षरता, आमा र बच्चाको स्वास्थ्य ,आर्थिक विकास र समुदायको विकास र वातावरण सम्बन्धी कार्य गरिने उनले जानकारी दिए ।

सोहि अनुसार रोटरी दमकले स्थानीय स्तरमा विभिन्न गतिविधिमूलक कार्य सञ्चालन गर्ने उनको भनाई छ । अध्यक्ष बरालका अनुसार एक वर्षको ती कार्यक्रम सम्पन्न गर्न रोटरी सदस्यहरुमार्फत आन्तरिक रुपमा १६ लाख ४६ हजार र वाहयमार्फत रु ३० लाखको सहयोग प्राप्त हुने अनुमान गरिएको छ ।

सो अवसरमा रोटरी क्लव अफ दमकका सल्लाहकार सन्दिप चापागाई (दिपु ) ले रोटरीको कार्य क्षेत्रका बारेमा जानकारी गराएका थिए ।