कमल गाउँपालिकाका बिद्यालयभित्र राजनीतिक कार्यक्रम गर्न नपाइने

कमल/ झापाको कमल गाउँपालिकाले पालिका भित्रका विद्यालयमा राजनीतिक दलसंग सम्बन्धित कार्यक्रमहरु गर्न रोक लगाएको छ ।

पालिकाको शिक्षा समितिको आज सम्पन्न बैठकले विद्यालय हाता भित्र राजनीतिक दलका गतिविधिमा निषेध लगायत विभिन्न शैक्षिक विषयमा छ बुँदे निर्णय गरिएको शिक्षा समितिका संयोजक समेत रहेका गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले बताए ।

बैठकको निर्णय अनुसार भौतिक पूर्वाधार निर्माण तथा मर्मततर्फ सिसी क्यामेरा जडान,सबै बिद्यालयमा एकैखालको रङरोगन,शौचालय निर्माण तथा मर्मत,छानो मर्मत तथा कक्षा कोठा मर्मत लगायतको लागि बिनियोजन भएको बजेट प्राथमिकरण गरि प्राबिधिक लागत अनुमान प्रतिवेदन पेश गर्ने , बिद्यालयको बिद्युत तथा खानेपानीको सामान्य मर्मत गर्न लाग्ने खर्चलाई मितव्यायी बनाउन बिद्यालय कर्मचारीहरुलाइ आधारभुत तालिम दिने उल्लेख छ ।

यसैगरि, आधारभुत तह र माध्यमिक तहका लागि दुईजना घुम्ती नृत्य प्रशिक्षकको छनौट गर्ने, मदन आश्रित क्याम्पसका लागि शिक्षक व्यवस्थापन अनुदान निरन्तरता दिन कार्यपालिकालाई अनुरोध गर्ने र नीजि बिद्यालयहरुमा अध्यापन गर्ने शिक्षकहरुलाई पाठ्यक्रम प्रबोधिकरण कार्यक्रम गर्ने लगायतका निर्णय गरिएको उल्लेख छ । यसअघि गत बैशाखमा काठमाडौं महानगरले महानगर भित्रका बिद्यालयमा राजनीतिक कार्यक्रमहरुमाथी प्रतिबन्ध लगाउँदै सो निर्देशन पालना नगर्ने नगराउनेमाथी कारवाहीको निर्देशन समेत दिएको थियो ।

कांग्रेसको महासमिति चुनाव, आकांक्षीहरु धेरै भएपछि मतदानमा जाँदै

दमक/ झापा ५ मा नेपाली कांग्रेसको महासमिति सदस्य चुन्ने प्रकृया अन्तर्गतको चुनावी कार्यक्रम भोली २२ कार्तिकमा शुरु हुँदैछ । पार्टीको १४ औं महाधिवेशन अन्तर्गत भएको क्षेत्रीय अधिवेशनबाट निर्वाचित महाधिवेशन प्रतिनिधिहरु मध्ये खुल्ला तर्फका पाँचसहित विभिन्न क्लष्टरबाट समेत गरी कूल ११ जना महासमिति सदस्य चुन्नका लागि भोली बुधबारदेखि दमकस्थित सरस्वती मावि परिसरमा निर्वाचन कार्यक्रम हुँदैछ ।

निर्वाचन अन्तर्गत मतदाता नामावली प्रकाशन, मनोनयन दर्तादेखि दाबी बिरोध पेश गर्ने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन सम्म बुधबारनै सकिने र बिहिबार बिहान मतदानको कार्यक्रम रहनेछ । निर्वाचन सम्पन्न गर्न बब्रुवन दाहालको संयोजकत्वमा निर्वाचन समितिले जिम्मेवारी पाएर कार्य शुरु गरिसकेको छ ।

यसअघि महासमिति सदस्य चुन्नका लागि गरिएका प्रयत्नहरु सफल हुन नसकेपछि नेताहरु चुनावी प्रतिस्पर्धामा उत्रिने भएकाले मतदानको तयारी थालिएको हो ।

आइतबार दमकस्थित पार्टी कार्यालयमा उम्मेदवारी घोषणा गरेका उम्मेदवारहरुबीच सहमतिका लागि पार्टीको क्षेत्रीय नेतृत्वको पहलमा पालिकास्तरका सभापतिहरुको सक्रियतामा उम्मेदवारका आकांक्षीहरुबीच सामुहिक र अलग अलग भएका छलफलमा अधिकतम उम्मेदवारहरुबीच समझदारी नहुँदा चुनावी प्रतिस्पर्धा हुने देखिएको हो ।

खुल्ला तर्फ पाँच जना महासमिति सदस्य चुन्नका लागि हुने निर्वाचनको मैदानमा १४ जना आकांक्षीहरु देखिएका छन ।

आवश्यक संख्या भन्दा झण्डै तेब्बर बढी उम्मेदवारको संख्या भएकाले यसमा मतदान हुने सम्भावना बढेको हो । यद्यपी उम्मेदवारहरुले आफनो मनोनयन दर्ता सम्म पनि सहमतिका लागि प्रयासहरु जारी रहने उल्लेख गरेका छन ।

त्यस्तै खुल्ला महिला तर्फ दुई जना चुनिनुपर्नेमा अहिले सम्म तीन जना आकांक्षीहरु देखिएका छन । त्यस्तै आदिवासी जनजाती कोटा ( पुरुष तर्फ) एकका लागि दुई जना, आदिवासी जनजाती महिला कोटामा एकका लागि दुई जना, खसआर्यमा एकका लागि दुई जना र खसआर्य महिला एकका लागि दुई जना उम्मेदवार देखिएका छन ।

कांग्रेस झापा ५ का सभापति ढुण्डीराज भण्डारीले सहमतीमा महासमिति सदस्य चयनका लागि अधिकतम प्रयास भएपनि लगभग सहमतीको सम्भावना क्षीण बन्दै गएको उल्लेख गरे । भण्डारीले आफू समेत महासमितिको चुनावमा जान चाहेपनि क्षेत्रमा सर्वसम्मत रुपमा महासमिति सदस्य चुन्ने प्रयासमा सघाउँदै आफनो उम्मेदवारीबाट ब्याक भएको बताए ।

यसपटकको महासमिति सदस्यको निर्वाचनमा केही विशेषताहरु पनि देखिएका छन । कसैले यो निर्वाचनलाई कार्यकर्ताहरुमाझ आफनो वेट (क्षमता) देखाउने अवसरका रुपमा लिँदैछन । कांग्रेस राजनीतिमा यसैपटक (१४ औं अधिवेशन) बाट देखिएकाहरु पनि महासमितिको चुनावी प्रतिस्पर्धामा छन ।

जनताको मत पार्टीमा अनुमोदन गर्ने प्रयास

महासमिति सदस्यको यसपटकको निर्वाचन मैदानमा यसपटक केही जननिर्वाचित जनप्रतिनिधिहरु पनि देखिएका छन ।

एमालेको लालकिल्ला मानिने झापाको क्षेत्र नं ५ को भुगोलमा २०७४ र २०७९ मा एमालेको किल्ला तोडने कांग्रेसको लक्ष्य पूरा गरेका पाँच जना उम्मेदवारहरु यो महासमिति निर्वाचनमा चुनावी मैदानमा उत्रिँदैछन । यसलाई जनताको मत पार्टीमा अनुमोदन गर्नुपर्ने दबाबका रुपमा पनि लिइएको छ ।

गौरादह नगरपालिकाका निवर्तमान नगर प्रमुख रोहितकुमार साह, कमल गाउँपालिकाका वर्तमान अध्यक्ष हुकुमसिंह राई, दमक नगरपालिकाकी वर्तमान उपप्रमुख रेगिना भट्टराई , गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फुलवती राजवंशी र गौरादह २ का निर्वतमान वडाध्यक्ष हेमन्त कार्कीको दाबेदारीलाई पनि विशेष महत्वसाथ हेरिएको छ ।

उनीहरु मध्ये नेता साह, राई र कार्कीले खुल्ला तर्फबाट चुनिने पाँच जना भित्र आफनो दाबी पेश गरेका हुन भने नेतृ भट्टराईले खुल्ला महिला सदस्य र नेतृ राजवंशीले आदिवासी जनजाती महिला कोटाबाट उम्मेदवारीको दाबी गर्दै आएका छन ।

यो निर्वाचन जनताबाट निर्वाचित जनप्रतिनिधिहरुले पाएको मतलाई पार्टीभित्र अनुमोदन गर्ने क्षण भएकाले पनि उनीहरुको दाबेदारीलाई विशेष चासो र महत्वसाथ हेरिएको छ ।

केन्द्रीय निर्वाचनको सामना गरेका चार नेता

पार्टीको १४ औं महाधिवेशनमा यो क्षेत्रबाट महाधिवेशन प्रतिनिधिहरु दुई दर्जनले भाग लिएका थिए । ति मध्ये चार जनाले केन्द्रीय निर्वाचनको सामना गरे ।

केन्द्रिय निर्वाचन लडेका नेताहरु सुरेश सुब्बा, सत्यनाराण चौधरी, मेदनी सिटौला र अनिलकृष्ण प्रसाइँ केन्द्रिय समिति सदस्यमा चुनिन भने सकेनन । हाल महासमिति सदस्यको प्रतिस्पर्धामा रहेका उनीहरु केन्द्रिय निर्वाचनको सामना गरेका नेता भएका कारण विशेष चर्चामा छन ।

दुई मध्ये एक रोज्नुपर्ने अवस्था

खुल्ला तर्फ १४ मध्ये पाँच जना रोज्नुपर्ने सहज अवस्था रहेको महासमिति सदस्यको निर्वाचनमा यो क्षेत्रमा अन्य आरक्षित कोटाहरुमा भने त्यो सहजता छैन ।

पार्टी विधान अनुसार तोकिएका आदिवासी जनजाती पुरुष र महिला एक/एक कोटामा दुई/दुई जना उम्मेदवार बन्दैछन । आदिवासी जनजाती कोटा ( पुरुष तर्फ) अइन्द्र केरुङ र भुमी राईको दाबी छ भने आदिवासी जनजाती महिला कोटामा फुलवती राजवंशी र रमा लिम्बुले आआफनो दाबी अघि सारेर चुनावी मैदानमा छन । खसआर्य पुरुष तर्फ डा. नेत्रबहादुर बुढाथोकी र बिक्रम अधिकारीले इच्छा देखाइरहेका छन भने खसआर्य महिला तर्फ मन्दरा चिमरिया पौडेल र तुलसा पन्तले दाबी पेश गरिरहेका छन ।

महिलामा दुईका लागि तीन प्रतिस्पर्धी

आधिकारिक रुपमा मनोनयन दर्ताको समय भई नसकेपनि पूर्व तयारीलाई हेर्दा महिला खुल्ला तर्फ दुई जनाका लागि तीन जनाको उम्मेदवारी पर्ने सम्भावना देखिएको छ ।

अहिले सम्म महिला खुल्ला तर्फ दाबी पेश गरेका नेतृहरुमा रेगिना भट्टराई प्रसाइँ, लक्ष्मी बारकोटी र चन्द्रा खडका भट्टराई रहेका छन । उनीहरु मध्ये दुई जनालाई रोज्न पाउने सुविधा प्रतिनिधि (मतदाता)लाई हुनेछ ।

एमाले कोशी प्रदेशको अध्यक्षमा ढकाल र खतिवडाको उम्मेदवारी

दमक/ नेकपा एमाले कोशी प्रदेश कमिटीको अध्यक्षका लागि मोरङका दुई जना नेताबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ ।

प्रदेश राजधानी विराटनगरमा शुक्रबारदेखि शुरु भएको पहिलो अधिवेशनमा प्रदेश कमिटी अध्यक्षका लागि विनोद ढकाल र घनश्याम खतिवडाले उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिएका हुन ।

सहमतिमा नेतृत्व चयनका लागि गरिएका प्रयास असफल भएपछि नेताद्धयबीच चुनावी प्रतिस्पर्धा हुने पक्का भएको हो ।

यस्तै उपाध्यक्षमा टिकाराम चेम्जोङको एकल उम्मेदवारी परेको छ । उनी अहिलेका पनि उपाध्यक्ष हुन् ।

सचिवमा उदयपुरका शैलेस लामा र पाँचथरका राजकुमार भण्डारीको उम्मेदवारी परेको छ ।

दुई उपसचिवका लागि अहिलेसम्म चार जनाले मनोनयन दर्ता गरेका छन् । संखुवासभाका भविश्वर गुरुङ, खोटाङका देवान राई, झापाकी जलबर्षा राजवंशी र मोरङका खेम नेपालीले उपसचिवमा उम्मेद्वारी दर्ता गरेका जनाइएको छ । त्यसैगरी प्रदेश कमिटी सदस्यका लागि दमकका युवा व्यवसायी नेता तथा पार्टी सम्बद्ध नेपाल खेलकुद महासंघका प्रदेश कमिटी अध्यक्ष राजकुमार थापाले पनि उम्मेदवारी दिएका छन । त्यसैगरी दमककै अर्का व्यवसायी तथा उत्पीडित जातीय मुक्ति समाजका प्रदेश कमिटी कोषाध्यक्ष काशी खातीले पनि पार्टीको प्रदेश कमिटी सदस्यमा उम्मेदवारी दिएका छन ।

अधिवेशनले २१५ सदस्यीय प्रदेश कमिटीमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहितको पदाधिकारी र सदस्यहरू निर्वाचित गर्नेछ ।

मुख्यमन्त्रीबाट ट्राफिक सप्ताह उद्घाटन

विराटनगर/ कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बढ्दो सवारी दुर्घटा न्युनीकरण गर्न जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनु भएको छ । मङ्लबार देखि कोशी प्रदेशमा सुरु भएको ट्राफिक सप्ताह २०८० को समुद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले सो कुरा बताउनु भएको हो ।

उहाँले वर्षेनी हुने सडक दुर्घटनाका कारण मुलुकले ठूलो मानवीय र भौतिक क्षति व्यहोर्नु परेको दृष्टान्त प्रस्तुत गर्नुभयो ।

यातायाता व्यवसायि, सवारी चालक,ट्राफिक प्रहरी,नेपाल प्रहरी लगायतका सरोकारवाला क्षेत्रहरु बीच आपसी सहकार्य गरी काम गर्न सकेमा दुर्घटना कारण वर्षेनी हुने मानवीय र भौतिक क्षति रोक्न सकिने उहाँको भनाइ छ ।

उहाँले सडक दुर्घटना न्यूनीकरण गर्न आवश्यक पर्ने सबै खालको व्यवस्थापकीय कार्यका लागि सहकार्य गर्न प्रदेश सरकार तयार रहेको पनि प्रस्ट पार्नुभयो ।

सङ्घीय कानूनको अभावमा प्रदेश सरकार आफैले गर्नुपर्ने कतिपय कार्यहरु पनि गर्न नसकेको जानकारी गराउँदै तर त्यस्ता कार्यहरु सहकार्य मार्फत हुँदै आएको बताउनुभयो ।

उहाँले अघिल्लो वर्षहरुको तुलनामा चालू वर्षमा कोशी प्रदेशमा सडक दुर्घटनाको सख्यामा कमी आएको दृष्टान्त प्रस्तुत गर्दै आगमी वर्षहरुमा थप सुधार हुने गरी काम गरेर सुन्यमा झार्नुपर्ने बताउनुभयो ।

मुख्यमन्त्री कार्की मङ्गलबार नै आर आर एन नामक एक गैर सरकारी सस्थाबाट सञ्चालित जलबायुजन्य विपद् जोखिमहरु प्रति समुदायको उत्थानसिल सुदृढीकरण परियोजनाको उद्घाटन गर्दै कोशी प्रदेशमा ३८ भन्दा बढी किसिमका प्रकोपहरुको जोखिम रहेको अवगत गराउनुभयो ।

जलबायुजन्य विपद् अन्तर्ग बाढी र पहिरोको जोखिम बढी रहेको बताउँदै पछिल्लो अवस्थामा जङ्गली जनवारहरुको आक्रमणको जोखिम पनि बढ्दो क्रममा रहेको स्पस्ससट पानुभयो । विपद् जोखिम न्यूनीकरणका लागि सरोकारवाला निकायहरुले पूर्व तयारीमा बढी जोड दिनुपर्ने सुझाव दिँदै तर त्यस्ता निकायहरुको ध्यान राहत र उद्दारमा मात्र हँुदै आएको उहाँको भनाइ छ ।