सडक दुर्घटना न्यूनिकरणबारे अन्तरक्रिया

दमक/ जीवन चक्र समाज नेपालले नयाँ बर्ष २०८३ को सन्मुख पारेर सडक दुर्घटना न्यूनिकरण सम्बन्धि अन्तरक्रियात्मक छलफल कार्यक्रम सम्पन्न गरेको छ ।
गणेश गौतमको नेतृत्वमा रहेको यो संस्थाले संस्थाका शिक्षा तथा स्वास्थ्य समिति संयोजक डा. लेखनाथ न्यौपानेको संयोजकत्वमा भएको छलफलमा दमकमा पछिल्लो समय सिटी सफारीको संख्या बढेसँगे यातायात व्यवस्थापनमा भइरहेको असहजताका बिषयमा गहन अन्तरक्रिया गरिएको थियो ।
इलाका प्रहरी कार्यालय दमकका प्रमुख (डिएसपी किशोर लम्साल , दमक ट्राफिक प्रमुख मनोज कुमार खड्का ,सामाजिक व्यक्तित्वहरु मदन बोहोरा, केदार चापागाइँ शैक्षिक व्यक्तित्व टिकाराम अधिकारी, पत्रकार बिमल लामिछाने ,साहित्यकार बिन्दु दहाल मूकदर्शक दमक जेसीजका निवर्तमान अध्यक्ष राजेन्द्र बिमली लगायतले आआफ्नो धारणा राखेका थिए ।
सहभागीहरुले दमक भित्र संचालनमा रहेका सिटी सफारीबाट हुने दुर्घटनाबाट बच्न सकिने उपायहरूका बारेमा आआफ्नो धारणा राखेका थिए । सिटी सफारीका सञ्चालकलाई परेको अप्ठ्यारोका बारेमा सुर्य ओेडारीले जानकारी गराउँदै सहजताका लागि आग्रह गरे ।

होटल व्यवसायी महासंघमा दमकका न्यौपानेसहित कोशीका ८ जना

दमक/ होटल ब्यबसायी महासंघ नेपालको पोखरामा सम्पन्न १३ औं बार्षिक साधरणसभा तथा पाचौं महाधिबेशनले नयाँ नेतृत्व चयन गरेको छ । महासंघको अध्यक्षमा टिआर भण्डारी चयन भएका छन् ।
त्यस्तै महासंघमा कोशी प्रदेशले एक उपाध्यक्ष, एक सचिब र ६ जना कार्यसमिति सदस्य पाएको छ ।
कोशीबाट सर्वसम्मत चयन हुनेहरुमा महासंघको उपाध्यक्षमा खिल कुमार सुबेदी, सचिबमा दमकका भिबिन्द्र प्रसाद न्यौपाने ( भुपेन्द्र), केन्द्रिय सदस्यहरुमा डम्बर कुमारी श्रेष्ठ, इन्दिरा श्रेष्ठ, दिपक पोख्रेल, हेमराज भट्टराई , जयप्रसाद उपाध्याय र रुबिना सुब्बा रहेका छन् ।

झोले व्यापारबाट डिपार्टमेन्टका मालिक बनेका सिग्देलको व्यवसायीक यात्रा

दमक/ २०४८ सालमा एसएलसी (प्रवेशिका) परीक्षा लेखेपछि लोकनाथ सिग्देललाई ब्यापार गर्ने इच्छा जगायो । हुन त त्यो बेला न यो बेला एसएलसी (एसइइ) परीक्षा दिने उमेरसँगै जो कोहीमा पनि नयाँ योजना, नयाँ सोच हुनु स्वभाविक हो । साविकको तोपगाछी सिग्देलको पुरानो ठेगाना हो ।

त्यो बेला दमक प्रवेश गर्दा दमक बजारको अहिलेको स्वरुप उनको कल्पनामा पनि थिएन । घरहरू थोरै थिए । मानिसको चहलपहल पनि पातलो थियो ।

व्यापार व्यवसायमा यहाँ हात हाले पनि निरन्तरता दिन निक्कै सकस थियो । तर परिवारको साथ र सहयोगबाट नै सिग्देलले आफू व्यवसायी बन्ने साहस गरे ।

साइकलमा एउटा प्लाष्टिकको झोला र झोला भित्र खैनी, बिस्कुट र गुट्खाका पोका साइकलमा बोकेर दमकबाट २२ किलोमिटर दक्षिण गौरीगञ्जसम्म ग्राभेल र धुलौटे बाटो छिचोल्नु उनका लागि दैनिकी जस्तै थियो । व्यापारको भरपर्दो एक मात्र निर्विकल्प साधन साइकल ।

साइकलका पाइडल कति खुस्कीए, चेन कति फेरिए, ब्रेक कति भाँचिए तर उनको एउटा सफल व्यवसायी बन्ने दृढता र अठोटमा कत्ति पनि ठेस लागेन ।

परिश्रम र मेहनतका पर्याय बनेर उनी अनवरत आफ्‌नो व्यापारलाई निरन्तरता दिँदै गाउँगाउँ र देहातका बजारसम्म पुगिनै रहे । व्यापारमा एक /एक मात्र होइन, आधा , पावा र ग्रामको पनि हिसाब हुन्छ । उनले त्यो बेला साइकलमा गरेको घुम्ती व्यापार (पोके) गर्दा मुस्किलले दैनिक पाँच सय रुपैयाँ सम्मको कारोबार हुन्थ्यो । साइकलमा सामान बोकेर हिंडने गरेका सिग्देलले बिस्तारै परिवार र ग्राहक तथा शुभचिन्तकहरुको साथबाट सिग्देल किराना पसल खोले । ’मेहनत गर्दै जाँदा मात्र सफलता मिल्दै गयो ।’ उनले आफ्‌नो बिगत स्मरण गरे ।

विगत सम्झदै उनले भने, ’त्यही मेहनतकै प्रतिफल हो, साइकलको झोले व्यापारलेनै मलाई डिपार्टमेन्ट स्टोर्ससम्म ल्याएको छ । ’ सिग्देल भन्छन्, ’म साइकलमा खैनीका पोका बोकेर गौरादह, गौरीगन्ज, केरखा, पथरी, बिर्तामोडसम्म पनि पुग्थें। ती दिन सम्झिदा निकै दुःखपूर्ण थिए ।’

निरन्तरको मेहनतले व्यापारमा मिलेको सफलताको श्रेय भने उनी आफ्‌नी जिवनसंगिनी सोनी र परिवारका सदस्यहरु , ग्राहक तथा उपभोक्तालाई नै दिन्छन् । पाँच सय रुपैयाँको पुँजीबाट सुरु गरेको व्यापार करोडमा पुगेको छ ।

उ बेला तोपगाछीका सिग्देल अहिले दमकका सिग्देल भएका मात्रै छैनन् धेरैले गाह्रो, अप्ठ्यारोमा सम्झिने नाम भएको छ ।

उनले पछिल्लो समय प्रविधिको उच्चतम सदुपयोग गर्दै उपलब्ध अधिकांश सामग्रीहरुको प्रवद्र्धनात्मक (विज्ञापनिक) सामग्री आफैं बनाएर देश विदेश सम्म फैलाएका छन् ।

सामाजिक सञ्जाल मार्फत दिनहुँ उपभोक्ताहरुमाझ नयाँ नयाँ सामान , ति सामानहरुमा डिापर्टमेन्टले ल्याएको स्कीम वा अफरहरु, कम्पनीले दिएका छुटहरुका बारेमा जानकारी पुरयाउने गरेका छन् । उपभोक्ताको मागलाई ध्यानमा राखेर घरायसी प्रयोजनका सबै सामान एकै ठाउँमा खरिद गर्न सकियोस् भनेर लगभग १२ बर्ष अघि उनले सिग्देल डिपार्टमेन्ट शुरु गरेका हुन् ।

उनी भन्छन्, ’मैले उपभोक्ता र ग्राहकबाट पाएको मायाहौसलाले नै नयाँ ढंगले व्यापार सुरु गर्न सकेको हूँ।’

सिग्देल अहिले दमकका नाम चलेका र सफल व्यवसायीहरुको सूचीमा पर्छन् । धेरै उदियमान र स्थापित व्यवसायीहरुका लागि प्रेरणाका स्रोत पनि बनेका छन् । उनलाई दमकका उद्योगी व्यवसायीहरुको साझा संस्था दमक उद्योग वाणिज्य संघले उत्कृष्ट र सफल व्यवसायीका रुपमा सम्मान समेत गरिसकेको छ ।

आफूले कमाएको सम्पत्तीको दशांस ( दशमा एक भाग) सामाजिक सेवा परोपकारका क्षेत्रमा खर्चिनु पर्छ भन्ने धार्मिक मान्यता राख्ने सिग्देलले मठ मन्दिर, आश्रमहरु, संघ संस्थाहरुमा बेला बेला प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पनि गर्दै आएका छन् । कमाएर मात्रै हुँदैन सेवामा पनि खर्चिनु पर्छ भन्ने उनको सोचलेनै उनलाई एकपछि अर्को सफलताको सिँढीमा हिंडाइरहेको छ ।

सरकारी विज्ञापन रोक्ने निर्णयप्रति सञ्चारक्षेत्रको आपत्ति

दमक/ नेपाल प्रेस युनियन झापाले सरकारले निजी सञ्चार माध्यममा सरकारी बिज्ञापन प्रकाशन र प्रसारण गर्न नदिन गरेको निर्णय बिरुद्ध दमकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
सरकारी बिज्ञापन रोक्दा निजी मिडियामा पर्ने असर र यसबाट उत्पन्न हुन सक्ने खतराका बारेमा शनिबार मिडिया सञ्चालक तथा सरोकारवालहरुबीच अन्तरक्रिया गरिएको हो ।
युनियन झापा अध्यक्ष गिरिराज भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा वक्ताहरुले सरकारले नागरिक अवाज रोक्नका लागि निजी सञ्चार माध्यममा सरकारी बिज्ञापन रोक्ने प्रयास गरेको आरोप लगाएका छन् । वक्ताहरुले उक्त आपत्तिजनक परिपत्र तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन ।
प्रधानमन्त्री कार्यालयले जारी गरेको परिपत्रमा सबै सरकारी सूचना र विज्ञापन केवल सरकारी सञ्चारमाध्यमहरू, गोरखापत्र, रेडियो नेपाल र नेपाल टेलिभिजनमा मात्रै प्रकाशन तथा प्रसारण गर्न निर्देशन दिइएको छ ।
कार्यक्रममा झापाका अग्रज पत्रकार तथा गञ्जबहादुर दाहालले यो विषय केवल विज्ञापन वितरणको मात्र नभई प्रेस स्वतन्त्रता, संविधानको मर्म र नागरिकको सूचना पाउने अधिकारसँग प्रत्यक्ष जोडिएको गम्भीर बिषय भएको बताए ।
सचिवस्तरीय निर्णय भन्दै प्रधानमन्त्री कार्यालयबाट जारी गरिएको यो परिपत्र सार्वजनिक खरिद ऐन को बर्खिलाप हुनुका साथै संविधानमा रहेको सञ्चारको हकसम्बन्धी व्यवस्थालाई पनि अनदेखा गरेको कार्यक्रमका सहभागीहरुको निष्कर्ष थियो ।
प्रेस चौतारीका केन्द्रिय सदस्य तथा प्रभावकारी मिडियाका सञ्चालक बिष्णु पोखरेलले सरकारको यो निर्णयले विधिको शासनभन्दा पनि निर्देशमुखी शासनको संकेत गरेको बताए ।
सप्तरङ्गी एफ.एम. दमकका सञ्चालक राजकुमार भट्टराईले सरकारको निर्णय कार्यान्वयन भए मुलुकका ९० प्रतिशत सञ्चार माध्यम बन्द हुने भन्दै यसले नागरिक आवाज बन्द हुने बताए ।
कार्यक्रममा प्रेस सेन्टरका पुर्व केन्द्रिय सचिव बिमल लामिछाने, पत्रकार महासंघ झापाका पुर्व सचिव तथा सारा सन्देशका सञ्चालक डिकेश लामा, पत्रकार महासंघ झापाका कार्य समिति सदस्य सुदिप अधिकारी, भुमिराज पराजुली लगायतले बोल्दै सरकारको यो अब्यबहारिक निर्णयले ठुलो समस्या निम्त्याउने उल्लेख गरे ।
कार्यक्रममा प्रेस युनियन झापाका जिल्ला सदस्य बिष्णु पौडेलले स्वागतसहित कार्यक्रमको औचित्यबारे प्रष्ट्याएका थिए भने सञ्चालन जिल्ला सचिव अर्जुन राजवंशीले गरेका थिए ।

 

साहित्यकार ओम खनालको “मनको फित्कौली ” मुक्तक सङ्ग्रह लोकार्पण

दमक/ साहित्य कला सङ्गम दमकको आयोजनामा कवि , साहित्यकार तथा मुक्तककार ओमप्रसाद खनालको मुक्तक सङग्रह “मनको फित्कौली” एक समारोहका बिच लोकार्पण भएको छ ।दमक प्रज्ञा प्रतिष्ठानका अध्यक्ष समेत रहेका बरिष्ट साहित्यकार डा.गोपाल प्रसाद भण्डारीको प्रमुख अथितिथ्यतामा भएको उक्त कार्यक्रममा,साहित्य कला सङ्गमका पुर्व अध्यक्ष नरपति पाण्डे , पुर्व महासचिव दिपक सुवेदी, मिक्लाजुङ साहित्य समाजका मोरङ्गका अध्यक्ष ईन्द्र प्रसाद धिमीरे , कृतिकार ओमप्रसाद खनाल,भारत आसामका सहित्यकारहरु रामप्रसाद दहाल र अनुप शर्मा ,शैक्षिक व्यक्तित्वहरु लिलानाथ खनाल र शेषकुमार निरौला , कृतिकारकी जीवन सङ्गिनी तुलसा खनाल लगायतले संयुक्त रुपमा लोकार्पण गरेका थिए ।

लोकार्पण भएको उक्त मुक्तक सङग्रहलाई साहित्यकार शिशिर भट्टराईले समिक्षात्मक टिप्पणी गरेका थिए ।

कार्यक्रममा कृतिकार खनालले मुक्तक सङ्ग्रह प्रकाशन गर्दाका अनुभवहरु प्रकाश पारेका थिए ।

कार्यक्रममा साहित्यकारहरु बिबेक दुलाल क्षेत्री,रामप्रसाद उपाध्याय, रिता पोख्रेल,मेधनाथ बन्धु,ओमप्रकाश गौतम,दिपक सुवेदी,चन्द्र सम्वाहाम्फे,भगवती दवाडी, गणेश गौतम,लगायतले रचना वाचन गरेका थिए ।कार्यक्रममा साहित्यकारहरु पुस्ता राई,अनुप बैरागी,किशोर खनाल,प्रेम बहादुर बस्नेत,नेत्रप्रसाद दहाल,गोपाल दहाल,खड्ग बहादुर खड्का,पदमप्रसाद ओली लगायतको उपस्थिति रहेको थियो ।

दिपिनी आधारभुत बिद्यालयको सभाहलमा भएको उक्त कार्यक्रममा नव वर्ष २०८३ को शुभकामना आदानप्रदान समेत गरिएको छ । साहित्य कला सङ्गमका उपाध्यक्ष यादवप्रसाद अधिकारीले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रम साहित्य कला सङ्गम दमक झापाका अध्यक्ष बिन्दु दहाल मुकदर्शकको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सञ्चालन सङ्गमका सचिव बिरेन्द्र खड्काले गरेका थिए ।

फाल्गुनन्द साकोसको बाल उत्प्रेरणा कार्यक्रम

दमक/  फाल्गुनन्द बचत तथा ऋण सहकारी सस्था दमक झापाले दमकमा एकदिवसीय बाल उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार आयोजित ७ औ बाल उत्प्रेरणा कार्यक्रममा बिर्तामोड सेवाकेन्द्र, शिबसताक्षि झिलझिले, उर्लाबारी मोरङ र मुख्य कार्यालय दमकका १६ बर्षसम्मका बालबालिकाले बेलुन फुटाउने सामुहिक खेलमा १०३ जना, तातो आलु सामुहिक खेलमा ९८ जना, बक्तृत्व कलामा १३ जना र एकल नृत्यमा १७ जनाले सामुहिक तथा एकल कार्यक्रमा भाग लिएका थिए ।

संस्थाकी उपाध्यक्ष फुलकिमारी नेम्बाङ आङ्देम्बेले स्वागत मन्तव्य राखेको कार्यक्रममा संयोजक बिरबहादुर लावति सदस्य एरिका डान्स सेन्टरमा प्रोपाइटर एरिका अग्रवाल रहेको निर्णायक समिती रहेको थियो । कार्यक्रम संचालन तथा प्रस्तोता व्यवस्थापक कुबेर प्रसाद तुम्बापो र मन्जिला ढुंगाना रहेका थिए । सबै खेलमा प्रथम, दितीय र तृतीयलाइ ट्र्फि प्रदान गरिएको थियो । सो अवसरमा उत्कृष्ट बाल बचत सदस्यलाइ चादिको सिक्का र सबै बालबचत सदस्यलाइ मायाको चिनो करुवा प्रदान गरियो । कार्यक्रम सस्थाका अध्यक्ष संकल्प लिङ्देन (पदम)को अध्यक्षतामा सम्पन्न भएको थियो ।

‘बले’ हाजिरी जमानीमा रिहा

काठमाडौँ/ कलाकार सागर लम्साल ‘बले’ हाजिरी जमानीमा रिहा भएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एक प्रहरी अधिकारीका अनुसार उनी आज हाजिरी जमानीमा रिहा भएका हुन् ।

गत चैत २१ गते शनिवार प्रहरीले अभद्र व्यवहारसम्बन्धी कसुरमा लम्साललाई बुढानीलकण्ठबाट पक्राउ गरेको थियो ।

उनीमाथि अमेरिकामा रहँदै आएकी एक युवतीले बलात्कार आरोप लगाएकी थिइन् ।

प्रिन्सीपल फागोले जब बिद्यार्थीको आँखामा आँसु देखे……………

दमक/ झापाको कमल ३  केरखामा सञ्चालित लालिमा अंग्रेजी माविमा अध्ययन पूरा गरेर माथिल्लो तहको पढाईका लागि जाने बिद्यार्थीहरुको शुभकामना आदनप्रदान तथा बिदाई कार्यक्रमपछि बिद्यार्थीहरुसँग बिछोडको क्षण स्मरण गर्दै बिद्यालयका संस्थापक प्रिन्सिपल गौरीमान फागो भावुक बनेका छन् । उनले आफ्नो फेसबुक वालमा बिद्यार्थीहरुसँगको आत्मियता र अनुभवहरुको स्मरणसहित आशिर्वाद दिँदै कविता मार्फत  भावनामा यसरी पोखिएका छन्– लिएर आँसु आंखामा…………

लिएर आँसु आंखामा
तिमी प्रवेश गरेथ्यौ
आफ्नो बाबा वा आमाको साथ
यो विद्यालयको प्रांगणमा
लगभग खाली कागज जस्तै
वा एउटा खाली क्यानभास जस्तै
अबोध वालक वा वालिका
आमा बाबाको काख छोडेर
एउटा सानो परीवारको
परीवेशबाट तिमी
विविधतायुक्त अलिक ठूलो
परीवारमा बसाई सरेथ्यौ
लगभग वार्ह तेर्ह वर्ष अघि
तिमिले सहअस्तित्व सिक्यौ
सहभागिता सिक्यौ
प्रतिस्पर्धा सिक्यौ
कहिले हार सिक्यौ
कहिले जित सिक्यौ
म दावी गर्दिन
तिमिले सबै थोक सिक्यौ
किनभने सिकाइ
जीवन रहिन्जेल
निरन्तर चल्ने प्रक्रिया हो
विधिवत रुपमा
आज तिमी यो सानो
तर विविधतायुक्त विद्यालय
छोडेर संधै संधैको लागि जांदेछौ
तिमिलाइ संधैभरी बोर लाग्ने
तिम्रो युनिफर्ममा
मैले देखें
तिम्रा साथीहरुले अटोग्राफ दिंदैछ्न
अब यो युनिफर्म
तिम्रो लागि बोझ हुने छैन
तिमी सम्पूर्ण रुपमा मुक्त छौ
तर फेरि एउटा प्रश्न
तिम्रो आंखामा फेरि किन आँसु छ?
धेरै धेरै मायां
तथा आशीर्वाद ।

 

कमलमा बर्ड फ्लू पुष्टि, एक हजार कुखुरा नष्ट

दमक/ कमल गाउँपालिकामा पनि बर्ड फ्लू (एच ५ एन १) पुष्टि भएको छ। कमल–६ का किसान उज्वल भण्डारीको लेयर्स कुखुरा फार्ममा संक्रमण देखिएपछि करिब १ हजार कुखुरा नष्ट गरिएको छ।
काठमाडौंस्थित प्रयोगशालाबाट २४ गते आएको रिपोर्ट पोजिटिभ देखिएसँगै प्राविधिक टोलीले संक्रमित कुखुरा नष्ट गरी खाल्डोमा पुरिएको गाउँपालिका पशु सेवा शाखाले जनाएको छ।
संक्रमित क्षेत्रमा निसंक्रमण र निगरानी बढाइएको छ। यसअघि दमक–१० का दुई ठूला फार्ममा पनि बर्ड फ्लू पुष्टि भइसकेको थियो, जहाँ ४५ दिनसम्म आवतजावतमा रोक लगाइएको छ।
अहिलेसम्म झापामा करिब ५० हजार कुखुरा नष्ट भइसकेका छन् भने करोडौँको क्षति भएको अनुमान छ। एच ९ भाइरसका कारण पनि अन्य फार्ममा कुखुरा मरेका छन्।
पीडित किसानहरूले सरकारले तत्काल क्षतिपूर्ति दिन माग गरेका छन्। एच ५ एन १ बाट प्रभावितलाई ‘बर्डफ्लू नियन्त्रण नियमावली २०७८’ अनुसार राहत दिने व्यवस्था भए पनि बीमा नगरेका किसान थप मारमा परेका छन्।

देशभर मौसम बदली, ठाउँ ठाउँमा भारी बर्षा

हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ ।

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, कोशी प्रदेशका पहाडी भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भागमा साधारणतया बदली रहने तथा बाँकी भागमा आंशिक बदली रहने जनाइएको छ । कोशी प्रदेशसहित देशका पहाडी तथा हिमाली भागका केही स्थानका साथै मधेश प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ ।

त्यसैगरी, आज राति कोशी प्रदेशलगायत देशका हिमाली भागमा साधारणतया बदली रहने, बाँकी पहाडी भागमा आंशिक बदली रहने तथा तराई भेगमा मुख्यतया मौसम सफा रहने छ ।

कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागका केही स्थान तथा अन्य हिमाली भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ । वर्षा तथा हिमपातको सम्भावना रहेका स्थानका सर्वसाधारण तथा ती भेगमा यातायातका साधन सञ्चालनकर्तालगायत सम्बद्ध सबैलाई सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।