दमक/ कमल गाउँपालिकामा पनि बर्ड फ्लू (एच ५ एन १) पुष्टि भएको छ। कमल–६ का किसान उज्वल भण्डारीको लेयर्स कुखुरा फार्ममा संक्रमण देखिएपछि करिब १ हजार कुखुरा नष्ट गरिएको छ।
काठमाडौंस्थित प्रयोगशालाबाट २४ गते आएको रिपोर्ट पोजिटिभ देखिएसँगै प्राविधिक टोलीले संक्रमित कुखुरा नष्ट गरी खाल्डोमा पुरिएको गाउँपालिका पशु सेवा शाखाले जनाएको छ।
संक्रमित क्षेत्रमा निसंक्रमण र निगरानी बढाइएको छ। यसअघि दमक–१० का दुई ठूला फार्ममा पनि बर्ड फ्लू पुष्टि भइसकेको थियो, जहाँ ४५ दिनसम्म आवतजावतमा रोक लगाइएको छ।
अहिलेसम्म झापामा करिब ५० हजार कुखुरा नष्ट भइसकेका छन् भने करोडौँको क्षति भएको अनुमान छ। एच ९ भाइरसका कारण पनि अन्य फार्ममा कुखुरा मरेका छन्।
पीडित किसानहरूले सरकारले तत्काल क्षतिपूर्ति दिन माग गरेका छन्। एच ५ एन १ बाट प्रभावितलाई ‘बर्डफ्लू नियन्त्रण नियमावली २०७८’ अनुसार राहत दिने व्यवस्था भए पनि बीमा नगरेका किसान थप मारमा परेका छन्।