महिलाको बीभत्स हत्या

काठमाडौँ/ बुधवार साँझ करिब ७ बजे पोखरामा एक महिलाको बीच सडकमा बीभत्स हत्या भएको छ ।

सिर्जना पौडेल केसी नाम गरेकी ती महिलालाई अज्ञात व्यक्तिले टाउकोमा घातक प्रहार गरी फरार भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

घटना साँझ ७ः०८ बजेको समयमा भएको हो । प्रत्यक्षदर्शीका अनुसार, आक्रमणपछि सिर्जना सडकको बीचमा घोप्टो परेको अवस्थामा भेटिएकी थिइन् । घटनास्थलमा पुगेका एक स्थानीयले बताएअनुसार उनको टाउकोमा गहिरो चोट लागेको थियो र रगतसँगै गिदी समेत बाहिर निस्किएको अवस्था थियो ।

एक प्रत्यक्षदर्शी स्थानीय भन्छन् ‘म जाँदा उनी घोप्टो परेकी थिइन्, अनुहार देख्न सकिएन। टाउकोबाट रगत बगिरहेको थियो र गिदीका टुक्राहरू बाहिर उचिटिएका थिए। मैले हेर्दा उनको धड्कन अलिअलि चलिरहेको थियो, तर बोल्न सक्ने स्थितिमा थिइनन् ।’

घटना लगत्तै स्थानीय र एक मासु पसलका सञ्चालक मिलेर प्रहरीलाई खबर गरेका थिए । प्रत्यक्षदर्शीकाअनुसार प्रहरी घटनास्थलमा पुग्दासम्म उनको मृत्यु भइसकेको आङ्कलन गरिएको थियो । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ र फरार अभियुक्तको खोजी कार्य तीव्र पारिएको जनाएको छ ।

मापसे र लापसे परीक्षण गर्ने उपकरण प्रहरीलाई हस्तान्तरण

दमक/ सडक दुर्घटना न्यूनीकरणमा सघाउँदै दमक नगरपालिकाले इलाका प्रहरी कार्यालय दमकलाई करिब ५ लाख रुपैयाँ बराबरका मापसे तथा लागूऔषध सेवन पहिचान गर्ने उपकरण (वे्रथलाइजर मेसिन) सामग्री प्रदान गरेको छ ।
नगरपालिका कार्यालय परिसरमा बुधबार आयोजित संक्षिप्त कार्यक्रममा ३ थान ब्रेथलाइजर मेसिन र लागूऔषध परीक्षणका लागि १०० थान किट उपलब्ध गराइएको नगरपालिकाका समाज कल्याण शाखाका अधिकृत केशव प्रसाईले जानकारी दिए ।
ति सामग्रीहरू नगर प्रमुख रामकुमार थापा , उपप्रमुख रेगिना भट्टराई (प्रसाइँ) र प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले इलाका प्रहरी कार्यालय दमकका प्रमुख तथा प्रहरी नायव उपरीक्षक किशोर लम्साललाई संयुक्त रूपमा हस्तान्तरण गरेका हुन्। ।
सामग्री हस्तान्तरण गर्दै नगर प्रमुख थापाले चालकहरूले मादक पदार्थ तथा लागूऔषध सेवन गरेर सवारी चलाउने प्रवृत्ति बढ्दै गएको र यसको यकिनका लागि जाँच गर्ने उपकरणका माध्यमबाट सहयोग पुग्ने विश्वास व्यक्त गरे । उपप्रमुख भट्टराईले पनि ब्रेथलाइजर लगायतका सामग्रीले मापासे तथा लागूऔषध परीक्षणलाई थप सहज बनाउने र प्रहरी अनुसन्धानमा यसले सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको बताइन् ।
कार्यक्रममा प्रहरी नायव उपरीक्षक लम्सालले आवश्यक उपकरण अभावका कारण चेकजाँच कार्यमा समस्या हुँदै आएको उल्लेख गर्दै अब भने कार्यसम्पादनमा सहयोग पुग्ने उल्लेख गरे । यसअघि गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा दमकस्थित प्रहरी तथा ट्राफिक कार्यालयमा आगजनी र लुटपाट हुँदा आधा दर्जनभन्दा बढी ब्रेथलाइजर मेसिन हराएका थिए त्यसयता एउटा मात्र उपकरणको सहायताले मापसे जाँच सञ्चालन हुँदै आएको थियो ।

रमाइलो बजारको नरमाइलो घटना– सुनचाँदी पसलबाट ठगिए सर्वसाधारण, न्यायका लागि भौतारिँदै

विराटनगर/ मोरङको कानेपोखरी–६, रमाइलो बजारमा रहेको शुभलक्ष्मी अधिकारी सुनचाँदी पसल बाट ठगिएका २५० भन्दा बढी सर्वसाधारणको हातमा अहिले एउटा महत्वपूर्ण दस्तावेज छ— परिवारको नाममा रहेको ९ कित्ता जग्गाको पूर्ण विवरण । तर, सम्पत्तिको स्रोत र विवरण फेला पर्दा पनि आफ्नो रगत–पसिनाको कमाइ कसरी फिर्ता लिने भन्नेमा पीडितहरू अझै अन्यौलमा छन् ।
पीडितहरूसँग कानेपोखरी–६ का वडाध्यक्ष खड्गबहादुर बस्नेतको रोहबरमा बाटुलादेवी अधिकारीले गरिदिएको लिखित कागज पनि छ, जसमा आफ्नो नामको सम्पत्तिबाट ऋण तिर्ने प्रतिबद्धता जनाइएको छ । तर, न त जग्गा बिक्री गरेर पैसा फिर्ता गर्ने प्रक्रिया अघि बढेको छ, न त राज्यका निकायले नै उनीहरूलाई ठोस सहयोग गरेका छन् ।
आफ्नो लाखौं रुपैयाँ डुबेपछि न्यायका लागि भौतारिएका पीडितहरू मंगलबार इलाका प्रहरी कार्यालय पथरी पुगेका थिए । तर, प्रहरीले ‘पर्याप्त प्रमाण नपुग्ने’ भन्दै ठगीको उजुरी दर्ता गर्न अस्वीकार गरिदियो । पीडित विष्णु गिरीका अनुसार प्रहरीले उजुरी लिन नमानेपछि उनीहरू थप निराश बनेका छन् । यता, इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएसपी तुलसीराम अर्याल भने कानुनी प्रमाणको अभाव देखाउँदै पन्छिरहेका छन् ।
प्रहरीले मात्र होइन कानेपोखरी गाउँपालिकाको न्यायिक समितिले पनि यस विषयमा कुनै स्पष्ट जवाफ दिन सकेको छैन । महिनौँ अघि निवेदन दिए पनि न्यायिक समितिले न त समाधानको बाटो देखाएको छ, न त क्षेत्राधिकारको विषयमा पीडितलाई स्पष्ट नै पारेको छ । न्यायिक समितिका संयोजक समेत रहेका पालिकाका उपाध्यक्ष भोला अधिकारीले आफूहरुले छलफल गरेपनि समाधान दिन नसकेको बताए ।
पीडितहरूले फेला पारेको विवरण अनुसार बाटुलादेवी अधिकारीको नाममा बयरवन र इटहरी लगायतका ठाउँमा ९ वटा कित्तामा जग्गा छ । वडा कार्यालयको रोहबरमा भएको सहमति अनुसार ती जग्गाबाट बचत फिर्ता हुनुपर्ने हो । तर, पीडितहरूबीच नै कसरी र कसले यो प्रक्रियाको नेतृत्व गर्ने भन्नेमा एकमत हुन सकेको छैन । यही विवाद र कानुनी अन्यौलको फाइदा उठाउँदै फरार सञ्चालक मनोज अधिकारी र उनको परिवार पन्छिने कोसिस गरिरहेका छन् ।
यो ठगीको श्रृङ्खला करिब २० वर्ष अगाडिदेखि सुरु भएको थियो । अधिकारी परिवारले सुन पसलको आवरणमा अवैध रुपमा सर्वसाधारणबाट बचत संकलन गर्दै आएका थिए । बैंकभन्दा बढी ब्याज दिने प्रलोभनमा परेर मजदुर, वृद्धवृद्धा र वैदेशिक रोजगारीमा रहेका परिवारले आफ्नो जीवनभरको कमाइ त्यहाँ बुझाएका थिए ।
यो ठगी प्रकरण कति सम्म दर्दनाक छ भन्ने उदाहरण ८३ वर्षीय चक्रबहादुर गुरुङ हुन् । आफ्नो ९ लाख रुपैयाँ फिर्ता पाउने आशमा दिनहुँ बन्द सटर कुरेर बस्ने गुरुङले अन्ततः न्याय नपाई प्राण त्यागे । उनीजस्ता धेरै पीडितहरू अहिले डिप्रेशन र आर्थिक अभावको चपेटामा छन् ।
सञ्चालक मनोज अधिकारी आक्कल झुक्कल देखिन्छन् तर, समाधान दिँदैनन् । उनका बुबा होमनाथ अधिकारी अमेरिकामा छन् । पीडितहरूको दाबी छ कि उनीहरूले सर्वसाधारणको करोडौँ रकम अमेरिका पुर्याएका छन् । हाल घरमा रहेकी बाटुलादेवी र बुहारी स्मिता अधिकारीले आलटाल गरिरहेका छन् । राज्यका निकायहरू—प्रहरी, अदालत र पालिका—एकअर्कालाई देखाएर पन्छिँदा रमाइलो बजारका सयौँ परिवारको बिचल्ली भएको छ ।

 

 

बैशाख १ गते कमल मिनी म्याराथन

कमल/ झापाको कमल गाउँपालिकामा नयाँ वर्ष २०८३ को अवसर पारेर “हामी युवाको प्रतिबद्धता, लागू औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने मूल नारासहित कमल मिनी म्याराथन आयोजना गरिने भएको छ ।
प्रतियोगिताबारे जानकारी दिन बुधबार कमल गाउँपालिका–केर्खास्थित पत्रकार सम्मेलन गरिएको छ ।

आयोजक कमल युथ फाउन्डेशनका अनुसार बैशाख १ गते १२ किलोमिटर दूरीको ओपन मिनी म्याराथन प्रतियोगिता सञ्चालन गरिनेछ।
प्रतियोगितामा करिब ३ हजार खेलाडीको सहभागिता रहने अपेक्षा गरिएको अध्यक्ष जितेन साम्पाङले जनाए ।
युवाहरूलाई लागूऔषध दुव्र्यसनबाट टाढा राख्ने, कमल गाउँपालिकाको पहिचान प्रवद्र्धन गर्ने, खेलकुदमार्फत युवाहरूबीच एकता अभिवृद्धि गर्ने तथा राष्ट्रियता र भाईचारा कायम गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जनाइएको छ।
कार्यक्रमका संयोजक आशिष लेछार्बाे रहेका छन् ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ । साथै, पहिलो १० जना विजेतालाई मेडल र सबै सहभागीलाई प्रमाणपत्र प्रदान गरिनेछ ।
म्याराथन कमल–४ स्थित रिजाल पेट्रोल पम्पबाट सुरु भई समायगढ, क्याम्पा बजार हुँदै केर्खामा पुगेर समापन हुनेछ।
प्रतियोगितामा सहभागिता जनाउन इच्छुक खेलाडीहरूले कमल युथ फाउन्डेशनको फेसबुक पेजमार्फत अनलाइन फारम भर्न सक्नेछन्।
प्रवेश शुल्क १०० रुपैयाँ तोकिएको छ भने परिचय खुल्ने कुनै पनि कागजातका आधारमा दर्ता गर्न सकिनेछ । विभिन्न पालिकाका खेलाडीहरूलाई पनि सहभागिताका लागि खुला गरिएको आयोजकले जनाएको छ ।

उद्योग वाणिज्य महासंघ कोशीको नेतृत्व चुनिँदै

झापा/ नेपाल उद्योग वाणिज्य महासङ्घ, कोशी प्रदेश समितिको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ ।
महासंघको जारी ८औँ प्रदेशसभाले आगामी तीन वर्षे कार्यकालका लागि १४ सदस्यीय नयाँ प्रदेश कार्यसमिति चयन गर्ने छ । निर्वाचन अन्तर्गत आज (आइतबार) राती मतदान शुरु भएको छ ।
यसपटकको निर्वाचनमा वर्तमान अध्यक्ष राजेन्द्र राउत र मोरङ व्यापार सङ्घका अध्यक्ष नवीन रिजाल प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् ।
दुवै पक्षले आ–आफ्नो समूहलाई बलियो दाबी गर्दै व्यावसायिक हकहितका एजेन्डा अघि सारेका छन्। । सहमतिको अन्तिम प्रयास असफल भएपछि नयाँ अध्यक्ष चयनका लागि मतदान हुने निश्चित बनेको छ ।
निर्वाचन समितिले मतदान सकिएलगत्तै मतगणना सुरु गरी नयाँ नेतृत्व घोषणा गर्ने जनाएको छ । उद्योगी–व्यवसायीहरू सकेसम्म सर्वसम्मत नेतृत्व चयन होस् भन्ने पक्षमा रहे पनि दुवै पक्ष नेतृत्वको दाबीबाट पछि नहटेपछि मतदान मार्फत प्रतिस्पर्धा हुने अवस्था आएको हो ।

 

असहाय मानव सेवा समाजको नयाँ नेतृत्व चयन

दमक/ सामाजिक सेवामा क्रियाशील संस्था असहाय मानव सेवा समाज दमकको छैटौँ साधारण सभा तथा तेस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ ।
दमक ८ मा सम्पन्न सो अधिवेशनले पुनम रिजाल (प्रेमकुमारी)को अध्यक्षतामा आगामी तीन बर्षे कार्यकालका लागि संस्थाको नयाँ कार्यसमितिको नेतृत्व चयन गरेको छ ।
उपाध्यक्षमा निर्मला थापा, सचिवमा कृष्ण भट्टराई, सह सचिवमा अमृत बिष्ट र कोषाध्यक्षमा भुमी निरौला निर्विरोध चयन भएका छन् । त्यस्तै कार्यसमिति सदस्यहरुमा देवराज दंगाल र श्याम तिम्सिना चयन भएका छन् ।

सो निर्वाचन प्रकृया पुरा गर्न प्राध्यापक रत्न थापाको संयोजकत्वमा शैक्षिक व्यक्तित्वद्धय दुर्गा काफ्ले र ओम खनाल सदस्य रहेको निर्वाचन समितिलाई जिम्मेवारी प्रदान गरिएको थियो ।
दमक ८ का वडाध्यक्ष धर्मप्रसाद दाहाल (दिपेश)को प्रमुख आतिथ्यमा भएको अधिवेशन तथा साधारण सभाको उदघाटन कार्यक्रममा संस्थाकी अध्यक्ष सजु (लोकमाया)बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष चेतना निरौलाको पनि विशेष आतिथ्य रहेको थियो ।

नेपाल रेडक्रस सोसाइटी दमक तदर्थ समिति संयोजक गोमा बुढाथोकी, शैक्षिक तथा सामाजिक व्यक्तित्व दुर्गा खनाल काफ्ले, दमक बाल आश्रमकी मेनुका बुढाथोकी, योगदान राष्ट्रको लागि नामक संस्थाका दमक नगर सचिव गोबिन्दराज कट्टेल, आम्दा स्वास्थ्य बिज्ञान प्रतिष्ठानका शिक्षक लता खनाल लगायतको आतिथ्य रहेको थियो ।

सो अवसरमा ९२ बर्षिया ज्येष्ठ नागरिक गोमादेवी गौतमसहित विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

शिवसताक्षीको मेयर कप खेलकुद समापन हुँदै, कराँतेमा वडा नं ८ पहिलो

 दमक/  शिवसताक्षी नगरपालिकामा सञ्चालित मेयर कप खेलकुद प्रतियोगिता अन्तर्गत कराँते , भलिबल र ब्याडमिन्टन प्रतियोगिता अन्तर्गतको फाइनल खेल सम्पन्न भएका छन् । कराँते विधामा वडा नं ८ पहिलो बनेको छ ।
प्रतियोगितामा सहभागी अन्य वडाहरुलाई पछि पार्दै वडा नं ८ ले पाँच स्वर्ण, पाँच रजत र दुई काँस्य पदक जितेर पहिलो स्थान ओगटन सफल भएको हो ।
शनिबार सम्पन्न कराँते तर्फको सो प्रतियोगितामा पाँच स्वर्ण, चार रजत र ६ काँस्यसहित वडा नं. १० दोश्रो बनेको छ भने एक स्वर्ण, दुई रजत र ११ काँस्यसहित वडा नं. ११ तृतीय स्थान हासिल गर्न सफल भएको नगर खेलकुद बिकास समितिका संयोजक सुरज रिङगालुङ राईले जानकारी दिए ।
प्रतियोगिताका उत्कृष्ट ‘राइजिङ प्लेयर’ पुरुषतर्फ वडा नं. १ का दीप लिम्बू र महिलातर्फ वडा नं. १० की समीक्षा लिम्बू घोषित भए । साथै ‘बेस्ट फाइटर’ महिलातर्फ वडा नं. ८ की सृजना तामाङ र पुरुषतर्फ वडा नं. ८ का राकेश मल्लिक बनेका छन् ।


मेयर कप २०८२ अन्तर्गत भलिबलमा वडा नं ७ पहिलो बनेको छ भने उपविजेता वडा नं ८ बनेको छ । त्यस्तै ब्याडमिन्टन डबल तर्फ वडा नं ९ विजेता बनेको छ भने सिंगल तर्फ वडा नं ११ विजेता बनेको छ । क्रिकेट र फुटबल प्रतियोगिताको फाइनल खेल सोमबार हुनेछ । क्रिकेट खेलको फाइनल शिवगञ्जस्थित जनआदर्श माविको मैदानमा हुनेछ भने फुटबल तर्फको फाइनल र पुरस्कार, मेडल , प्रमाण पत्र वितरणसहित मेयरकपको समापन दुधे रंगशालामा दिउँसो २ बजेदेखि हुने आयोजक शिवसताक्षी नगर खेलकुद बिकास संयोजक सुरज राईले जानकारी दिए ।

 

खेलकुदसँगै साँस्कृतिक संरक्षणमा दमक बहुमुखी क्याम्पस

दमक/ दमक बहुमुखी क्याम्पसले बिद्यार्थीहरुको खेलकुद बिकासका लागि आयोजना गरेको सप्ताहव्यापी खेलकुद कार्यक्रमको समापनमा विभिन्न जातजातीका साँस्कृतिक भेषभुषा र बाजागाजाहरुसहित कला संरक्षणको प्रयास गरेको छ ।
क्याम्पसको सहयोगमा स्वतन्त्र बिद्यार्थी युनियनले आयोजना गएको चैत्र १६ देखि सञ्चालन गरेको सप्ताहव्यापी खेलकुद कार्यक्रमका विजेता खेलाडीहरुलाई ट्रफी, मेडल र प्रमाणपत्र हस्तान्तरण गर्न आयोजित कार्यक्रममा दमकमा बसोबास गर्ने विभिन्न १२ जातजाती मध्ये ८ जातीले आआफ्नो परम्परागत साँस्कृतिक पहिचान झल्काउँदै नृत्य, गान आदि प्रस्तुत गरेका हुन् ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष ढुण्डीराज भण्डारीले सबै जातजाती र भाषाभाषीहरुको पहिचान , संरक्षण र प्रवद्र्धनका लागि खेलकुद समापनको अवसर पारेर साँस्कृतिक कार्यक्रम समेत सञ्चालन गरिएको बताए ।


सो अवसरमा राजवंशी, धिमाल, नेवारी, तामाङ, राई लगायतका विभिन्न जातजातीका साँस्कृतिक नृत्य टोलीहरुले आआफ्नो पहिचान झल्किने साँस्कृतिक पोशाक र बाजागाजासहित आकर्षक नृत्यहरु र गायन कला प्रस्तुत गरेर मनोरञ्जन दिलाएका थिए । नेपाल तामाङ घेदुङ संघका प्रतिमान तामाङले यस किसिमका साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गर्ने अवसर पाउँदा खुशी लागेको प्रतिक्रिया दिए ।


स्वतन्त्र बिद्यार्थी युनियन दमक बहुमुखी क्याम्पसका सभापति भुपेन्द्र बस्नेत (भुवन)ले खेलकुद सप्ताह अन्तर्गत सञ्चालित विबिध सात बिधाका उत्कृष्ट खेलाडीहरुलाई विभिन्न शीर्षकमा ट्रफी मेडल र प्रमाण पत्र प्रदान गरिएको बताए । उनले खेलकुदको समापनसँगै आयोजना गरिएको साँस्कृतिक कार्यक्रमका माध्यमबाट साँस्कृतिक पक्षहरु, परम्परागत भेषभुषा र बाजागाजाहरुको संरक्षणमा नयाँ पुस्ताको ध्यान खिच्न र यसको पुस्ताहस्न्तारणमा समेत योगदान पुग्ने विश्वास लिइएको बताए ।
सहायक क्याम्पस प्रमुख पारसमणी आचार्यले खेलकुदका माध्यमबाट बिद्यार्थीहरुमा स्वास्थ्य चेतना र अनुशासनको बिकास समेत हुने भएकाले बर्षेनी यस किसिमको खेलकुद कार्यक्रमलाई सप्ताहव्यापी रुपमा मनाउने गरिएको उल्लेख गरे ।
क्याम्पस सञ्चालक समिति अन्तर्गतको खेलकुद तथा अतिरिक्त क्रियाकलाप संयोजक मोहन धिमालले बिद्यार्थीहरुमा मानिसको दैनिक जिवन र स्वास्थ्यका दृष्टिकोणबाट खेलकुद महत्वपूर्ण भएको उल्लेख गरे । उनले सबै जातजाती र भाषाभाषीहरुको कला संस्कृति संरक्षण बिना समाजको बिकास असम्भव हुने भएकाले नयाँ पुस्ताहरुमा यसबारे सचेतना जगाउन यो कार्यक्रमले महत्वपूर्ण सन्देश दिने बताए ।
कार्यक्रममा क्याम्पस सञ्चालक समितिका सदस्यहरु धिरेन लाओती, विभिन्न जातजातीका जातीय संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, पूर्व क्याम्पस प्रमुख डा. नेत्र बहादुर बुढाथोकी, प्राध्यापकहरु राधिका ओझा, क्याम्पसका प्रशासकीय अधिकृत पदम घिमिरेसहित शैक्षिक तथा प्राज्ञिक व्यक्तित्वहरुको विशेष उपस्थिती रहेको थियो । कार्यक्रममा स्ववियु सदस्य तथा खेलकुद सप्ताह कार्यक्रमका संयोजक सञ्जय राईले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन स्ववियु कोषाध्यक्ष प्रिती रानामगरले गरेकी थिइन् ।

दमककी बालिकाको तीन तलाबाट लडेर मृत्यु

दमक/ झापाको दमक ४ की पाँच बर्षकी एक बालिकाको बिर्तामोडमा एक घरको तीन तलाबाट खसेर ज्यान गएको छ । दमक ४ का मनोज आचार्यकी छोरी मानस्वी आचार्य आज बिहान करीब साढे ८ बजे बिर्तामोड ५ स्थित आफन्तको घरमा पाहुना आएकी थिइन । स्थानीय मन्जु उप्रेतीको घरमा बस्ने आफन्त हेमसगर भट्टराइको घरमा पाहुना आएकी उनी खेल्ने क्रममा घरको तीन तला माथिको झ्याल बाट भुइमा खसेकी थिइन । उनको बिर्तामोडको बिएन्सी अस्पतालमा उपचारका क्रममा बिहान १०.३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनएको छ ।

भद्रपुरमा घरको छतबाट खसेर मजदुरको मृत्यु

भद्रपुर/ झापा भद्रपुर नगरपालिका वडा नं ६ संगम चोकमा राधा कार्कीको दुई तले पक्की घर भत्काउने क्रममा छतबाट लडेर एक जना मजदुरको ज्यान गएको छ ।  भद्रपुर ५ राजन चोक का ३४ बर्षिय ओपेन राजबंशीको शुक्रबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । लडेर गम्भिर घाईते भएका राजवंशीको ओमसाईमा पाथीभरा अस्पतालमा उपचारको लागि पुर्याउनासाथ करिब साढे ६ बजे चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।
सोही घट्नाका अर्का घाइते भद्रपुर ५ पोखरीटोलका ३५ बर्षिय धर्मेन्द्र यादवको प्रादेशीक मेची अस्पताल भद्रपुरमा उपचार भईरहेकोमा ओमसाइ पाथीभरा अस्पताल रेफर गरिएको जनाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।