नगरपालिकाको प्रशासनिक भवनमा तालाबन्दी

  दमक/ झापाको दमक– ९ मा रहेको सामुदायिक विद्यालय सरस्वती माध्यमिक विद्यालयले दमक नगरपालिकाको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेको छ ।
सरस्वती माविको नाममा दमक– ८ मा रहेको जग्गामा निजी विद्यालय सञ्चालन हुँदा पनि दमक नगरपालिकाले नहटाएको भन्दै सरस्वती माविले मंगलबार तालाबन्दी गरेको हो विद्यालयको नाममा रहेकाे जग्गामा गडमदर एकेडेमी एन्ड टेक्नोलोजी नामक निजी विद्यालय सञ्चालन भइरहेको छ ।
उक्त विद्यालयलाई नयाँ शैक्षिक सत्रदेखि हटाउने गरी गत भदौमा दमक नगरपालिकाले निर्णय गरेको थियो । नयाँ शैक्षिक सत्रको वैशाख अन्तिम भइसक्दासमेत नहटाएको भन्दै नगरपालिका कार्यालयको मुख्य प्रशासनिक भवनमा अनिश्चितकालीन तालाबन्दी गरिएको सरस्वती मावि व्यवस्थापन समिति अध्यक्ष रेवतराज पुरीले जानकारी दिए । ‘हामीले ३ वैशाखमा एक हप्ताभित्र हटाउन भनेर ज्ञापनपत्र दिएका थियौँ । नगरपालिकाले प्रतिबद्धता पूरा नगरेपछि अनिश्चितकालीन तालाबन्दी गर्नुपरेको हो,’ उनले भने, ‘नगरपालिकालाई पटक–पटक लिखित र मौखिक अनुरोध गर्दा पनि विद्यालयको जग्गाबाट निजी विद्यालय नहटाएपछि हामी बाध्य भएर अनिश्चितकालीन तालाबन्दी गर्न पुग्यौँ ।’
गडमदर नामक निजी विद्यालयले सुरुवातमा सरस्वती माविसँग सम्झौता गरेर विद्यालय सञ्चालन गरिरहेको थियो । तर, ०७३ मा पाँचवर्षे सम्झौता सकिएपछि सरस्वती माविले सम्झौता गरेको छैन । उसले ०७३ सालदेखि नै अनधिकृत रूपमा सामुदायिक विद्यालयको जग्गामा निजी विद्यालय सञ्चालन गरिरहेको सरस्वती माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुरीले जानकारी दिए । तालाबन्दीपछि दमक नगरपालिकाको दैनिक कामकाज अवरुद्ध भएको छ । कार्यालयमा तालाबन्दी भएपछि कर्मचारीहरू नगरपालिकपरिसरमै बसेका छन् । श्रोत -नयाँ पत्रिका

करेन्ट र चट्याङले दुई जनाको ज्यान लियो

दमक/ करेन्ट र चटयाङले कोशी प्रदेशमा दुई जनाको ज्यान लिएको छ । सोमबार ओखलढुंगाको खिजिदेम्वामा करेन्ट लागेर एक जना र तेह्रथुमको आठराईमा चट्याङले लागेर अर्का एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ओखलढुंगाको खिजिदेम्वा–८ स्थतिमा बिद्युत लाईन विस्तारको क्रममा ट्रान्सफर्मरमा चार्ज गर्ने क्रममा सिग्माकोण प्रा.लि. काठमाण्डौका कर्मचारी कैलालीका ३० बर्षीय बिन्दु चौधरीलाई करेन्ट लाग्दा उनको घटना स्थलमा नै मृत्यु भएको थियो ।

सोही दिन अपरान्ह तेह्रथुमको आठराई गाउँपालिका–३ स्थितमा लिम्बु जातिको साँस्कृतिक मन्दिर बनाउने क्रममा हावाहुरी र पानीसंगै परेको चट्याङले लागेर घाईते भएका स्थानीय ४५ बर्षीय सागर थिङ्लापुको उपचारको क्रममा जिल्ला अस्पाताल पाँचथरमा मृत्यु भएको हो ।

 

धरमपुर साकोसको स्थापना दिवसमा ५६ पिन्ट रगत संकलन

दमक/ झापाको शिवसताक्षी १ धरमपुरस्थित धरमपुर बचत तथा ऋण सहकारी संस्थाले १६ औं स्थापना दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रम गरेको छ ।
संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत समुदायमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने क्रममा गर्दै आएको रक्तदान कार्यक्रमलाई यस बर्ष पनि निरन्तरता दिएको हो । संस्थाका व्यवस्थापक विनोद ढकालका अनुसार धरमपुर चोकमा आयोजना गरिएको खुल्ला रक्तदानमा संस्थाका सञ्चालक समिति, कर्मचारी , शेयर सदस्य तथा इच्छुक रक्तदाताहरु समेत १५ महिलासहित कूल ५६ जनाले रक्तदान गरेका छन् ।
नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाको प्राबिधिक सहयोगमा सञ्चालित रक्तदानमा संस्थाका अध्यक्ष कुमार शंकर र व्यवस्थापक ढकालले सहभागी रक्तदाता तथा सहयोगी संस्थाहरुलाई धन्यवाद व्यक्त गरे ।


धरमपुर चोकमा मुख्य कार्यलय स्थापना गरी शिवसताक्षी नगर भित्र सदस्यहरु माझ वित्तीय कारोबार गर्दै आएको धरमपुर बचत तथा ऋण सहकारी संस्थाको बार्षिक वासलात करिब ८ करोडको रहेको छ । संस्थाले ऋण लगानी ७ करोड हाराहारीमा गरेको छ भने बचत ५ करोड रुपैया रहेको र सेयर सदस्य ४ सय ४५ जना रहेका संस्थाका व्यवस्थापक ढकालले जानकारी दिए । सो संस्थाले स्थापना कालदेखिनै यसअघि कोरोना माहामारी, भुकम्प, बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपमा परेकाहरुलाई राहत सहयोग प्रदान गरेको थियो भने नगर भित्रका सामुदायिक बिद्यालयका बिद्यार्थीहरुलाई न्यानो कपडा, बिद्यालय पोशाक, ब्याग तथा शैक्षिक सामग्रीहरु समेत सहयोग गर्दै आएको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत त्यस किसिमका सहयोग तथा राहतका कार्यक्रमहरु सञ्चालन गरिआएको व्यवस्थापक ढकालले बताए । यसैबीच स्थापना दिवसको अवसरमा संस्थाका तर्फबाट शुभकामना सन्देश जारी गरिएको छ । संस्थाले जारी गरेको सन्देशमा संस्थालाई यस अवस्थामा ल्याई पुरयाउन योगदान गर्ने सम्पूर्ण सदस्यहरु, कर्मचारी , नियमनकारी निकाय, सरोकारवालाहरु सबैप्रति धन्यवाद तथा आभार प्रकट गरिएको छ ।

झापामा दुई राउण्ड हवाई फायर, लागूऔषध ओसारपसारमा संलग्न फरार

दमक/ झापामा लागूऔषध कारोबारीलाई समात्न प्रहरीले हवाई फायर गरेको छ ।
आज बिहान झण्डै पौने ९ बजे कनकाई नगरपालिका वडा नम्बर ५ तल्लो चाप्रामारी स्थित सुरुङगा–झापा सडक खण्डमा प्रहरीले भारतीय लागूऔषध कारोबारीलाई समात्न ३०३ राइफलबाट दुई राउण्ड हवाई फायर गरेपनि ति भारतीय नागरिक फरार भएका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
शरणामतीबाट सुरुङगा तर्फ आउदै गरेको BR 37T 9198  नम्बरको मोटरसाईकलमा सवार व्यक्तिलाइ रोकेर चेकजाँच गर्न खोज्दा मोटरसाइकल र ब्याग घट्नास्थलमा छोडर सो धन्दामा संलग्न व्यक्ति फरार भएका हुन् । प्रहरीले अभियुक्त चढेको मोटरसाईकल, सामान बोकेको झोला बरामद गरेको छ । झोला भित्र ब्राउन सुगर जस्तो देखिने २ पोका बस्तु फेला परेको छ । प्रहरीले फरार अभियुक्तको खोजी भइरहेको जनाएको छ ।

कांग्रेस दमकको बैठक – वडास्तरीय अभिमुखिकरणदेखि शोक प्रस्तावबारे निर्णय

दमक/  नेपाली कांग्रेस दमक नगर समितिको पूर्ण बैठकले अन्तरक्रियात्मक अभिमुखिकरण कार्यक्रम सञ्चालनसहित विभिन्न निर्णयहरु गरेको छ ।
बैठकले २२ वैशाखदेखि २६ बैशाख सम्म वडास्तरमा सञ्चालन गर्ने अभिमुखिकरण कार्यक्रमको तालिका समेत पारित गरेको छ । पार्टी नगर सचिव दिपेश दाहालका अनुसार नगर सभापति प्रकाश प्रसाइँको अध्यक्षतामा बसेको बैठकले २२ बैशाखमा वडा नम्बर ९ देखि यो कार्यक्रम शुरु गर्ने तालिका बनाएको छ ।
त्यसैगरी बैठकले नेपाली कांग्रेसका क्रियाशील सदस्य समेत रहेका दमक ३ निवासी माधव बस्नेतको दुर्घटनामा परी भएको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ भने सो दुर्घटनाका घाईतेहरु दमक १० का वडाध्यक्ष समेत रहेका कांग्रेस नेता राजेन्द्र भण्डारी, दमक नगरपालिकाका न्यायिक समिति सदस्य कमल श्रेष्ठ सहित जनप्रतिनिधिहरु र कर्मचारीहरु ज्ञानेन्द्र गौतम, नविन खतिवडा, भुवन दाहालको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
त्यसैगरी कांग्रेसले हाल भईरहेको पार्टी क्रियाशील सदस्यता नविकरण आगामी बैशाख मसान्त भित्र अनिवार्य रुपमा गरिसक्न मातहतका सबै वडा समितिहरुलाई निर्देशन दिने पनि निर्णय गरेको छ । त्यस्तै दमक उद्योग वाणिज्य संघको आसन्न निर्वाचनलाई मध्यनजर गर्दै नविकरणका लागि थपिएको म्याद असार मसान्त भित्र पार्टी सम्बद्ध सम्पुर्ण ब्यवसायी तथा शुभचिन्तकहरुलाई आआफ्नो व्यवसायिक फर्मको सदस्यता नविकरण गर्न अनुरोध गर्ने पनि निर्णय गरेको छ ।

शिक्षा समितिको बैठक बस्दै , शिक्षा विधेयकबारे छलफल हुने

प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्ने भएको छ। बैठक दिउँसो ३ः३० बजेका लागि बोलाइएको छ ।

बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० सम्बन्धमा गठित उपसमितिको कार्य प्रगति प्रस्तावमाथि छलफल हुनेछ । उपसमितिले विधेयकमाथिको दफावार छलफल सकाएको छ।

दफावार छलफल सकेपछि समिति सचिवालयले प्रतिवेदन लेखनको कार्य अघि बढाएको छ। प्रतिवेदन लेखनका लागि केही दिन समय लाग्ने भएकाले आजको बैठकमा समय थप माग गर्ने भएको छ।

शिक्षा समिति सचिव दशरथ धमलाले दफावार छलफल सकिएको र प्रतिवेदन लेखनका लागि समय माग गर्ने निर्णय भएको बताए । प्रतिवेदन लेखन सकेपछि उपसमितिमा प्रतिवेदनमाथि छलफल हुनेछ । त्यसपछि उपसमिति पारित गरेपछि शिक्षा समितिमा पेस गरिने सचिव धमलाले बताए । त्यसका लागि करिब १० दिनको समय माग गरिने उनको भनाइ छ।

दुर्घटनामा युवकको ज्यान गयो

दमक/ झापाको भद्रपुर ४ स्थित झापा चोकमा स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा स्कूटरको पछाडी सवार एक जनाको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आइतबार राती साढे ९ बजे चन्द्रगढीबाट बनियानी तर्फ जादै गरेको प्र१–०१–०१२ प ९९३७ नम्बरको स्कुटर आफैं अनियन्त्रित भएर दुर्घटना हुँदा भद्रपुर २ का ३५ बर्षिय अनिल लिम्बुको ज्यान गएको हो ।
दुर्घटनामा घाईते भएका लिम्बुको उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएकोमा तत्कालै चिकित्सकहरुले मृत घोषणा गरेका जनाइएको छ । स्कुटर चालक दमक नगरपालिका वडा न. २ का २९ बर्षिय रबिन फुँयाल सकुशल छन् । स्कुटर र चालकलाई जिल्ला प्रहरी कार्यालय झापाको नियन्त्रणमा राखिएको छ ।

२८ बर्ष पुरानो साइकलमा ८१ बर्षका पूर्व सांसद याङया

ऐश आराम , सेवा सुविधा र मोज मस्तीको चाहना नेपाली राजनीतिका पात्रहरुका लागि स्वभाविक जस्तै बनेको छ । जिवनको उत्तरार्धमा पनि साइकलका पाइडल घुमाउन अभ्यस्त त्यो पनि पूर्व सांसद ।

उमेरले चार कोरी १ बर्ष (८१ बर्ष) हानिसकेका झापा क्षेत्र नं ४ अन्तर्गको शिवसताक्षीको दुधे बजार नजिकैको भुगोलमा दिनभर जसो साइकल चढेरै हिंडडुल गरिरहन्छन पूर्व सांसद तारासम याङया ।

आफ्नो पूर्ण जिवन कम्युनिष्ट विचार र आदर्शमा बिताउने संकल्प गरेका याङया बैशाखको चर्को घाममा दुधे बजार नजिकै एशियन हाइवेको दक्षिण तर्फ २८ बर्ष पुरानो उही पाइडल साइकलमा भेटिए ।

साइकलका ट्युब पम्चर भएको रहेछ । साइकलको आफ्नो सम्बन्धका बिषयमा याङयाले भने– सधैं यसले मलाई बोक्थ्यो आज अलि धोका दियो मैंले यसलाई ठेल्नु पर्ने भो ।

एकैछिन भलाकुसारी गर्ने हाम्रो चाहनालाई नेता याङयाले इन्कार गर्न सकेनन् र भने –पहिली म साइकल बनाउने ठाउँमा पुग्छु ।

साइकल मर्मत गर्ने पसलमा पुगेर उनले हामीसँग भलाकुसारीको समय निकालेर हाम्रो जिज्ञासा अनुसार आफ्नो वर्तमानको दैनिकी र विगतको राजनीतिक सामाजिक जिवनबारे खुलेर सुनाए ।

विसं २००१ सालमा पाँचथरको ओयाममा जन्मिएका पूर्व सांसद याङयाको बाल्याकालदेखिनै कम्युनिष्ट राजनीतिमा मोह जागेको रहेछ ।

राजनीतिका सहयोद्धाहरु मुलुकको सर्वोच्च कार्यकारी पदका रुपमा रहेको प्रधानमन्त्री सम्म बनिसकेका छन् ।

त्यो पनि एकपटक होइन पटक पटक । तारासम पहाडबाट मधेस झरेपछिको आफ्नो कर्मथलो तत्कालिन सतासी गाविसमा बहुदलीय व्यवस्था प्राप्ती पछिका दुई चुनावमा गाविस अध्यक्ष बने ।

२०४९ र २०५४ सालमा भएका दुवै स्थानीय निकायका निर्वाचनमा नेकपा एमालेबाट अध्यक्षको उम्मेदवार भएर सानदार जित निकालेका उनी तत्कालिन विद्रोही नेकपा माओवादीको आन्दोलनका बेला ठाउँ छोडेर ठुला शहर बजार र सुरक्षित स्थान खोज्दै कतै भौतारिनु परेन । माओवादीको सशस्त्र विद्रोह २०५२ देखि ०६२ सम्ममा धेरै जनप्रतिनिधि (गाविस अध्यक्ष)हरु माओवादीको निशानामा परे ।

जलथल गाविसका तत्कालिन अध्यक्ष केशवकुमार कन्दङवा, खजुरगाछी गाविसका तत्कालिन अध्यक्ष श्यामसुन्दर यादवहरुले माओवादी युद्धको निशानामा परेर ज्यानै गुमाउनु पर्यो । तर सतासी गाविसका तत्कालिन अध्यक्ष याङया त्यस किसिमको निशानाबाट बचेनन् मात्रै संसदीय निर्वाचनमा जनताबाट निर्वाचित नै भएको इतिहास छ ।
आफूलाई निरन्तर जनसेवाका काममा व्यस्त राखे । उनी २०५६ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा झापाको तत्कालिन निर्वाचन क्षेत्र नम्बर ५ मा एमालेका तर्फबाट सांसदको उम्मेदवार बनेर चुनावी मैदानमा होमिए ।

त्यसबेला कांग्रेस एमालेको राजनीतिमा सांसदको टिकट पाउन रस्साकस्सी चल्थ्यो । त्यही बेला मुख्य प्रतिस्पर्धी दल नेपाली कांग्रेसले झिलझिलेका सन्तोषकुमार मेन्याङबोलाई सो क्षेत्रबाट सांसदको उम्मेदवार बनायो । याङयालाई एमालेले ।

गाविस अध्यक्षमा दुई पटक निर्वाचित भइसकेका याङयाको क्रेज राम्रो थियो । सरल र सादा जिवनको पर्याय जस्तै थियो तारासमको राजनीतिक जिवन । मतदाता अर्थात जनताले उनको त्यो सरलता, कामप्रति इमान्दारिता र असल गुणलाई आफ्नो मत मार्फत सम्मान जनाए । परिणाम स्वरुप याङया प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए ।
तर ५ बर्षे कार्यकाल नपुग्दै २०५९ मानै तत्कालिन राजा ज्ञानेन्द्रको सक्रियताले संसद विघटन हुन पुग्यो । राजनीतिक भाषामा यसलाई प्रतिगमन भनियो । २०६१ माघ १९ मा सम्पूर्ण शासन सत्ता तत्कालिन राजा ज्ञानेन्द्रको कब्जामा गयो ।

राजनीतिले कोल्टो फेर्यो तत्कालिन विद्रोही माओवादी समेतको साथ समर्थनमा तत्कालिन कांग्रेस–एमालेसहितको संयुक्त जनआन्दोलन २०६२÷०६३ भयो । कांग्रेस सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा माओवादीलाई शान्ति प्रकृयामा निरन्तर हिंडाउन र राजा ज्ञानेन्द्रको कदम सच्याउन संयुक्त जनआन्दोलन भयो ।

२०५९ मा तत्कालिन राजा ज्ञानेन्द्रले विघटन गरेको संसद जनआन्दोलनको बलबाटनै २०६३ मा पुनस्र्थापना भयो ।

पुनस्थापित संसदमा पनि प्रतिनिधित्व गरे तत्कालिन सांसद याङयाले ।

०५४ सालमा दोस्रोपटक गाविस अध्यक्ष हुँदा किनेको उनको साइकलको भरमा चुनाव जित्न सक्ने अवस्था थिएन । २०५४ मा गाविस अध्यक्ष हुँदा किनेको साइकल अहिले पनि उनको हिंडडुलको एकमात्र भरपर्दो साधनका रुपमा छ ।

उनी भन्छन्, ‘त्यसवेला जनप्रतिनिधि गाडी चढ्दैनथे, मोटरसाइकल एकाध जनप्रतिनिधिले चढ्थे । मचाहिँ साइकलमै थिएँ र साइकलमै छु ।

तारासम पार्टीको इलाका, क्षेत्र, जिल्ला कमिटी हुँदै मेची अञ्चल कमिटी र राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य सम्मका जिम्मेवारीमा पुगे ।

एमाले अध्यक्ष केपी ओली निकटका पात्र मानिए पनि अहिले ओलीका आसपासमा घुम्ने नेता, कार्यकर्ताहरु जस्तो सत्ता र शक्तिको मोह याङयाले कहिल्यै राखेनन् ।

लोभलालच र सुविधाभोगीको दुनियाँबाट टाढा बसेका उनलाई कम्युनिष्टहरुले मात्रै होइन पञ्चायती शासक हुन वा तत्कालिन विद्रोही गणतन्त्रवादी माओवादीका नेता, कार्यकर्ताहरु पनि ‘असली कम्युनिष्ट’ नेताको रुपमा स्वीकार्छन ।

हुन पनि उनी ८१ बर्षको यो उमेरमा अझै आफ्नो खेतीपातीको , गाइगोठको काममा लागिरहेकै छन् । खेतबारीमै पसिना बगाएर आफ्नो घर परिवारका लागि अन्नबाली उत्पादन गर्छन । ‘आफूलाई चाहिने धान, मकै आफैँ फलाउँछु,’ उनी भन्छन्, ‘मन स्थिर राख्न ध्यान गर्छु, शरीरलाई तन्दुरुस्त राख्न व्यायाम गर्छु । साइकल चलाउनु पनि व्यायाम नै हो, त्यसैले म अझै पनि साइकलमै हिँड्डुल गर्छु ।’ पूर्व सांसद तारासमको जीवनशैली नै उनी स्वस्थ्य रहनुको मुख्य कारण भएको बुझ्न गाह्रो छैन ।

कृषि क्षेत्रको जटिलता र उपेक्षा देख्दा उनी चिन्तित छन । ‘कृषिलाई विशेष प्राथमिकता दिनुपर्ने हो,’ उनी भन्छन्, ‘तर, कृषि क्षेत्र झन् पछि परेको छ ।’

उनी सम्झन्छन्, ‘पहिले तोरी र धान बेचिन्थ्यो, आजभोली त किन्नुपर्ने अवस्था आएको छ । खेतबारी खाली छन्, मान्छेले गाईवस्तु पाल्न छाडे, मल उत्पादन हुँदैन । संसदमा यस्ता विषय उठाइनु पर्ने अहिलेका सांसदहरुलाई उनको सुझाव छ ।

०६३ सालमा अन्तरिम व्यवस्थापिकाका सदस्य बनेका तारासमले ०५६ सालको संसदीय चुनावमा जम्मा दुई हजार रुपैयाँ खर्च गरेर चुनाव जितेका थिए । सादगी जीवनका प्रतिमूर्ति तारासमले चुनाव खर्चको अभावमानै पार्टीले दिएको टिकट त्यागेका थिए ।

०५६ मा दुई हजार रुपैयाँमा चुनाव जितेको, ०७० आउँदा त एक करोडले पनि नपुग्ने देखेर उनले चुनावमा पार्टीले दिएको टिकट पनि त्यागेका हुन् ।

उनले खर्च पनि गर्न सक्ने , खट्न पनि सक्ने जनताको सेवामा लाग्न सक्ने मान्छे ठानेर झापाको नयाँ निर्धारित क्षेत्र नं ४ मा पार्टीका तर्फबाट एलपी साँवालाई उम्मेदवार बनाउन पार्टीलाई सुझाए । साँवाले कांग्रेसका प्रभावशाली मानिएका नेता स्वर्गीय केशवकुमार बुढाथोकीसँग टक्कर गरे ।

अर्को पटकको चुनावमा याङयाले भने जस्तै एमालेका साँवाले चुनाव भ्याए । सो क्षेत्रमा पार्टीको बिरासत फर्काए । उनको स्मृतिमा पार्टीको पुरानो अनुशासन अझै ताजा छ । ‘पहिले प्रचारमा पार्टी संगठनले नै खर्च व्यहोथ्र्याे,’ उनी भन्छन्, ‘अहिले त कार्यकर्तामा पनि लोभ पलाउन थालेको छ ।’

हत्या अभियोगमा फसाइएको त्यो क्षण

०३७ सालमा तारासम योङ्या, सताक्षी प्राथमिक विद्यालयका शिक्षक, विद्यालयको आयस्रोतका लागि माघे संक्रान्ति मेला आयोजना गर्न जिम्मेवारीमा थिए । मेला आयोजना गर्ने सचिवको रूपमा उनले आयोजकको जिम्मेवारी निभाउँदै थिए । त्यो मेलामा तासजुवाबाहेक अन्य खेलकुद र मनोरञ्जनका कार्यक्रम राख्न अनुमति थियो । तर, मेलामा जुवा खेल्ने प्रचलनको विरोध गर्दै तारासम र केही अन्य व्यक्ति त्यसविरुद्ध उभिए । त्यसवेलाको झापाको राजनीतिक र सामाजिक परिप्रेक्ष्यमा मेलामा जुवा खेल्न लागेका

दारासिंह, प्रधानपञ्च जंगबहादुर अधिकारी र वडाध्यक्ष शिवकुमार योङ्याबिच विवाद उत्पन्न भयो । त्यही विवादबिच दारासिंह मारिए । त्यसको दोष तारासमको काँधमा आइलाग्यो । तारासमले भने, ‘अनाहकमा मलाई सात वर्ष जेलमा हाले पछि सर्वोच्चले मलाई न्याय दियो ।

दमकको ढावा होटलमा महिला मृत फेला

दमक/ झापाको दमक ६ स्थित ढावा होटल एण्ड लजमा आज एक महिला मृत फेला परेकी छन् ।

इलाका प्रहरी कार्यालय दमकका अनुसार झापा,शिवसताक्षी नगरपालिका वडा न. ११ ब्याङडाडा घर भएकी अन्दाजी २७ वर्षीया करिश्मा निरौला मृत भेटिएकी हुन् । होटलको कोठामा उनी झुण्डिएको अवस्थामा मृत फेला परेकी प्रहरीले जनाएको छ ।

ती महिला शनिवार दिउसो करिब १ बजेतिर होटलको कोठा लिएर बसेकी थिइन । आइतबार दिउँसो सम्म सो कोठाको ढोका नखुलेपछि प्रहरी बोलाएर ढोका खोल्दा उनी गलामा पासो लगाएर पंखामा झुण्डिएको अवस्थामा भेटिएकी हुन् । उनको शव पोष्टमार्टमका लागि परिवारसँग समन्वय गरेको छ ति महिला विवाहित भए पनि यसअघिनै सम्बन्ध विच्छेद गरिसकेकी बताइएको छ । उनी हालसालै बैदेशिक रोजगारबाट घर फर्किएकी थिइन् । होटल व्यवसायी संघका प्रदेश अध्यक्ष राजन दंगालका अनुसार ति महिला कोठामा बस्नका लागि एक्लै आएकी थिइन् । उनको मृत्यु सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धानसहि कानूनी प्रकृया अघि बढाएको जनाइएको छ ।

दमकमा अष्टचिरञ्जीविको पहिलो मन्दिर उदघाटन

दमक/ झापाको दमकमा अष्टचिरञ्जीविको पहिलो मन्दिर सञ्चालनमा आएको छ । दमक ७ बराह टोलस्थित लेखनाथ मार्गमा रहेको पौडेल वंशोद्धारा केन्द्रिय समिति भवन परिसरमा दाताहरुले १० लाख रुपैयाँ भन्दा बढीको लागतमा मन्दिर निर्माण गरी समितिलाई हस्तान्तरण गरेका हुन् ।

केही बर्ष अघि हडकगंमा भएको अग्नी काण्डमा परेर मृत्यु वरण गरेकी आयुषा निरौलाको स्मृतिमा त्यहाँ उनकी आमा शान्तादिदीले सो मन्दिर निर्माण गरिदिएकी हुन् ।

मन्दिर भित्र गणेशको मूर्ति दमक ७ का स्वर्गीय रिवाज पौडेलको स्मृतिमा उनकी हजुरआमा शान्ता पौडेलले प्रदान गरेकी हुन् । सो मन्दिरको पौड्याल वंशोद्धार केन्द्रिय समिति र दमक नगर समितिको संयुक्त आयोजनामा आयोजित कार्यक्रमबीच उदघाटन गरिएको छ ।

बैशाख १५ देखि १७ गते सम्म बिधिपूर्वक सो मन्दिरको प्राण प्रतिष्ठा गरी उदघाटन गरिएको वंशोद्धार समिति दमकका सचिव हरिप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार कोशी प्रदेशमै यो अष्टचिरञ्जीविको मन्दिर दोश्रो हो । कोशीमा यस किसिमको अष्टचिरञ्जीवि देवताको मन्दिर विराटनगरमा मात्रै छ । सार्वजनिक रुपमा सबैका लागि सधैं खुल्ला राख्ने गरि निर्माण गरिएको यो मन्दिरको उदघाटन पौडेल वंश महासंघका संस्थापक अध्यक्ष लोकनाथ पौडेलको प्रमुख आतिथ्य र दमक ७ का वडाध्यक्ष भिम पौडेलको विशेष आतिथ्यमा गरिएको छ । समितिको जिम्मामा आएको सो मन्दिरको व्यवस्थापन तथा रेखदेख अब पौड्याल वंशोद्धार नगर समितिलेनै गर्नेछ । हिन्दु संस्कार अनुसार हरेक मानिसले आफ्‌नो जन्मोत्सवमा अष्टचिरञ्जीवि देवताको पूजा आजा गर्ने गर्छन । अष्टचिरञ्जीवि देवताको पूजा गर्नाले दिर्घायु रहने धार्मिक विश्वास छ । यस किसिमको धार्मिक सम्पदा दमकमा रहनु सिंगो दमक नगरका लागि गर्वको बिषय भएको वडाध्यक्ष भिम पौडेल बताउँछन् । पौड्याल वंशोद्धार समितिले यस क्षेत्रका हिन्दु धर्मावलम्बीहरुलाई हरेक जन्मोत्सवमा निसंकोच सो मन्दिरमा आएर पूजाआजा गर्न पाउने गरी खुल्ला राखेको छ । यो मन्दिरमा कसैमाथि पनि जाती, धार्मिक, लिगंका आधारमा विभेद हँदैन । सबैले सधैं यहाँ आएर आफ्‌नो इच्छा अनुसार पूजाआजा गर्न, मन्दिर दर्शन गर्न सक्ने वंशोद्धार नगर समिति अध्यक्ष झप्टबहादुर पौडेलले बताए ।