शिवसताक्षी / निर्माणाधीन एशियन हाइवे तथा पूर्व पश्चीम राजमार्ग अन्तर्गत झापाको बिरिङ पूलमा मंगलबार राती भएको सवारी दुर्घटनाका मृतकको पहिचान खुलेको छ ।
मृत्यु हुनेमा शिवसताक्षी ७ का २९ बर्षिय नवराज बाँस्कोटा रहेका छन् । दुर्घटना लगत्तै बिएण्डसी अस्पताल पुरयाइएका घाईतेहरु मध्ये बाँस्कोटालाई तत्कालै चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।
बाँस्कोटाले चलाएको मे १ च ३४४० मारुती भ्यान र बिर्तामोड तर्फ आउँदै गरेको मे १ च ५४४६ नम्बरको पिकअप मंगलबार राती ८.४० बजे एकापसमा ठोक्किएर भएको दुर्घटनामा बाँस्कोटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
दुर्घटनामा मारुती भ्यानमा सवार शिबसताक्षी ७ को एकै परिवारका चार जना घाईते भएका छन् । घाईते हुनेहरुमा सो वडाका ४० बर्षिय पृथ्बीनाथ साह, उनकी श्रीमती ३७ बर्षिय पुनमदेबी साह, छोरा १४ बर्षिय प्रसन्न साह र छोरी ९ बर्षिया प्रिन्सा साह घाईते भएका छन् ।
दुर्घटनामा संलग्न पिकअप र पिकअप चालक धनकुटा महालक्ष्मी नगरपालिका वडा नं ८ का २४ बर्षिय सुमन पौडेललाई इलाका प्रहरी कार्यालय अनारमनी विर्तामोडले नियन्त्रणमा लिएको छ ।