दमक जेसीजको पदस्थापन, बिमली नेतृत्वको बोर्डले पायो पूर्णता

दमक/ दमक जेसीज बर्ष २०२६ को पदस्थापनसँगै सपथग्रहण कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
युवाहरुको व्यक्तित्व र नेतृत्व बिकासमा सशक्त भुमिका निर्वाह गर्दै आएको दमक जेसीजको बर्ष २०२५ का अध्यक्ष सहदेव भट्टराईले बर्ष २०२६ का नवनिर्वाचित अध्यक्ष राजेन्द्र बिमलीलाई अध्यक्षको पदहस्तान्तरण गरे ।
कोशी प्रदेश सरकारकी भौतिक पूर्वाधार, यातायात तथा निर्माण राज्य मन्त्री शोभा चेम्जोङ पालुङवाको प्रमुख आतिथ्यमा भएको औपचारिक कार्यक्रममा राज्यमन्त्री पालुङवाले जेसीजका माध्यमबाट समाजमा सकारात्मक बिकासको लागि योगदान पुग्ने विश्वाससहित शुभकामना राखेकी थिइन् ।

कार्यक्रममा दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले दमक जेसीजको महत्वपूर्ण योजनाका लागि नगरपालिकाले १० लाख रुपैयाँ बजेट विनियोजन गरेको भन्दै परिस्थिती सहज भएपछि थप सहयोग गर्दै जेसीजको संस्थागत बिकासमा सहयोग गर्ने प्रतिबद्धता जनाए । अर्का वक्ता नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय कार्यकारिणी सदस्य गोकूल श्रेष्ठले समाजलाई नकारात्मकताबाट सकारात्मकताको बाटोमा डोहोरयाउन र विधिको शासन लागू गराउन जेसीजको भुमिका महत्वपूर्ण रहँदै आएको उल्लेख गरे ।


दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाइँले दमक जेसीज र दमक उद्योग वाणिज्य संघ एकापसमा सहकार्य र हातेमालो गर्दै यहाँको आर्थिक र सामाजिक बिकासमा योगदान दिन तयार रहेको बताए । उनले दमक जेसीजलाई विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न दमक उद्योग वाणिज्य संघले आफ्नो सभाहल निशुल्क उपलब्ध गराउने पनि अध्यक्ष गुरागाइँले घोषणा गरे ।
यसअघि गएको पुषमा भएको दमक जेसीजको निर्वाचन प्रकृयाबाट बिमली जेसीज अध्यक्षमा निर्वाचित भएका थिए ।
अध्यक्ष बिमलीले शनिबारनै आफ्नो टिमलाई सशक्त र प्रभावकारी ढंगबाट जेसीज उद्धेश्य र लक्ष्य अनुसार अघि बढाउन विभिन्न पदहरुमा मनोनयन गर्दै बोर्डलाई पूर्णता दिएका छन् । महासचिवमा रुवल अधिकारी, कानुनी सल्लाहकारमा बिशाल अधिकारी, कोषाध्यक्षमा सन्ध्या बराल, प्रकरण निर्देशकमा सुमन कुमाल र सचिवमा धर्म ढुंगानालाई मनोनित गरिएको अध्यक्ष बिमलीले घोषणा गरे । यस अघि पुषमा भएको निर्वाचन प्रकृयाबाट निर्विरोध रुपमा कार्यकारिणी उपाध्यक्षमा साजन श्रेष्ठ र कृष्ण भट्टराई, उपाध्यक्षहरुमा आभुषण भट्टराई, सरिता आचार्य, कुमारबाबु गजुरेल र मनिष श्रेष्ठ निर्वाचित भएका थिए । त्यस्तै जनसम्पर्क अधिकारीमा राहुल साह र तालिम निर्देशकमा पंकज पोखरेल निर्वाचित भएका थिए ।
पदस्थापन कार्यक्रममा कार्यक्रम संयोजक धर्म ढुंगानाले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन नवनियुक्त महासचिव रुवल अधिकारीले गरेका थिए । कार्यक्रममा साजन श्रेष्ठले धन्यवाद मन्तव्य राखेका थिए ।

झापा मोडलका बिद्यार्थी प्रनवले जिते राष्ट्रिय अवार्ड

दमक/  दमक ८ स्थित झापा मोडेल अंग्रेजी स्कूलका कक्षा ८ मा अध्ययनरत बिद्यार्थी प्रनव मण्डलले राष्ट्रिय स्तरको अवार्ड प्राप्त गरेका छन् । शुक्रबार पोखरामा सम्पन्न विद्यार्थी गुणीय चक्र (एसक्यूसी) को उन्नाइसौँ राष्ट्रिय सम्मेलनमा प्रनवले सो अवार्ड जितेका हुन् ।

विद्यार्थी गुणीय चक्रको क्षेत्रमा कार्यरत संस्था क्वेष्ट नेपालको आयोजनामा पोखरास्थित सेन्ट मेरिज स्कुलमा पौष ३० देखि माघ २ गतेसम्म तीन दिन चलेको सम्मेलनमा देशभरका करिब ८५ विद्यालयका झन्डै ६०० जना विद्यार्थी तथा शिक्षक प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
सम्मेलन अन्तर्गत विभिन्न पाँच विद्यालयका पाँच जना विद्यार्थीले मनसा मेमोरियल सम्पूर्ण गुणी व्यक्ति अवार्ड प्राप्त गरेका छन् । ति मध्ये दमकस्थित झापा मोडलका प्रनव पनि रहेका विद्यालयले जनाएको छ ।

देशभरबाट हरेक वर्ष पाँच सहभागीलाई मात्र प्रदान गरिने उक्त अवार्ड प्रा. डा. दिनेश चापागाईंकी छोरी मानसीको स्मृतिमा स्थापना गरिएको हो ।
त्यसैगरी, झापा मोडेल आवद्ध झापा हबलाई उत्कृष्ट हबका रूपमा घोषणा गर्दै सम्मेलनका क्रममा झापा हब क्वालिटी हब अवार्ड २०२६ द्वारा सम्मानित भएको छ ।
विद्यार्थीको नेतृत्व विकास, गुणस्तरीय सिकाइ र सहकार्यमा आधारित गतिविधिहरूमा प्रभावकारी भूमिका निर्वाह गरेबापत उक्त सम्मान प्रदान गरिएको हो ।
सम्मेलनमा नेपालमा विद्यार्थी गुणीय चक्रका सुरुवातकर्ता प्रा. डा. दिनेश चापागाईं, क्वेष्ट नेपालका अध्यक्ष नारद रिजाल, उपाध्यक्ष ब्राइट फ्यूचर माविका अध्यक्ष मोहन कुमार कार्की,झापा मोडलका प्रिन्सिपल सागर श्रेष्ठल गायतको उपस्थिति रहेको थियो ।
जेम्सका कक्षा ६ देखि कक्षा ९ सम्मका ६ बिद्यार्थीहरु टोली नेता संयम श्रेष्ठको नेतृत्वमा सहभागी भएका थिए ।                 

देउवा समुहको बैठक बस्दै, सानेपा नछोड्ने संकेत

  काठमाडौं/ नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । सो पक्षका  कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निर्देशनमा आज बिहान ८ बजे सानेपामा बैठक बोलाइएको छ ।  बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सबै ७ प्रदेश कार्यसमितिका सभापतिहरूको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको  मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिता दिएपछि बस्न लागेको यो बैठकलाई अर्थपूर्ण मानिएको छ । आधिकारिकतासम्बन्धी आयोगको निर्णयलाई देउवा पक्षले अस्वीकार गरेको छ । यसबाट देउवा पक्षीय नेताहरु पार्टी कार्यालय सानेपा नछोडी आफ्ना समर्थित तरुण नेताहरुको अघोषित कब्जामा राख्न खोजेको बुझ्न सकिन्छ ।

पुस २७ देखि ३० सम्म काठमाडौँको भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनबाट थापा सभापति चयन भएका थिए । सभापति चयन भएपछि बिहीबार बसेको केन्द्रीय समिति बैठकको निर्णयसहित थापा पक्षले आधिकारिकताको दाबी गर्दै आयोगमा कागजात बुझाएको थियो ।
देउवा पक्षले पनि आफूहरू नै आधिकारिक भएको जिकिरसहित आयोगमा छुट्टै कागजात पेस गरेको थियो । तर आयोगको निर्णयसँगै नेपाली कांग्रेसको चुनाव चिह्न रुख र चारतारे झण्डा देउवा पक्षबाट गुमेको छ ।

 

कांग्रेस केन्द्रिय कार्यालयमा बढाइयो सुरक्षा

काठमाडौं/ नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, सानेपामा सुरक्षा बढाइएको छ। यसअघि शेरबहादुर देउवा पक्षले तरुण दस्ता खटाएर नियन्त्रणमा राखेको कार्यालयमा अहिले प्रहरी सुरक्षा बढाइएको हो।
शुक्रबार साँझदेखि पार्टी कार्यालयमा कांग्रेस कार्यकर्ता छैनन्। यसअघि गए राति पनि देउवा पक्षका कार्यकर्ता बास बसेका थिए।
तर निर्वाचन आयोगले नेपाली कांग्रेसको आधिकारिकता गगन थापा नेतृत्वको कार्यसमितिलाई दिएपछि प्रहरीले पार्टी कार्यालयमा सुरक्षा बढाउँदै कार्यकर्ता खालि गराएको हो।
‘अब जसले आधिकारिकता पायो, उसैको हुने होला कार्यालय। हामीले त्यही अनुसार सहजीकरण गर्ने हो। सुरक्षाको वातावरण बनाउने हो। अरु राजनीतिक विषयमा हामीलाई मतलब हुने कुरा भएन’, उच्च सुरक्षा स्रोतले भन्यो।
भृकुटीमण्डपमा पुस २७ देखि ३० गतेसम्म चलेको विशेष महाधिवेशनले गगन थापालाई सभापतिमा सर्वसम्मत निर्वाचित गरेको थियो।
उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल निर्वाचित भएका छन्। महामन्त्रीमा प्रदीप पौडेल र गुरु घिमिरे निर्वाचित छन्।
तर यो नयाँ समिति निर्वाचित भए पनि पार्टी कार्यालय जान सकेको थिएन। केन्द्रीय समितिको पहिलो बैठक कुपण्डोलको होटलमा बसेको थियो। तर अब गगन थापा नेतृत्वको टिमलाई पार्टी कार्यालय जान खुला भएको हो।

सितापुरी साकेला थानमा किराँत सम्बद्ध तीन प्रतिमाको अनावरण

दमक/  झापाको कमल गाउँपालिका–५ स्थित सितापुरी उत्तरमा रहेको किराँतहरुको साकेला थानमा प्रतीकात्मक सुप्तुलुङ, माङ्पा सामा र बुम्छुतका छुट्टा छुट्टै प्रतिमा अनावरण गरिएको छ ।
ति प्रतिमाहरुको कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले औपचारिक कार्यक्रमका बीच अनावरण गरेका हुन् । अनारण सँगै ति प्रतिमाहरु किरात राई यायोक्खा झापा जिल्ला समितिलाई हस्तान्तरण समेत गरिएको छ ।
ति प्रतिमाहरु किरात राई यायोक्खा कमल गाउँ समितिले स्वदेश तथा विदेशमा रहेका किरातसम्बद्ध सहयोग दाताहरुको रकमबाट निर्माण गरेको हो ।
कार्यक्रममा ति सम्पदाहरु यायोक्खा कमलको तर्फबाट प्रतिमा निर्माण समितिका संयोजक भिमराज राईले यायोक्खा झापाका अध्यक्ष गणेश राईलाई हस्तान्तरण गरे । बनाएका सम्पदा संरचनाहरुको आवश्यक रेखदेख र सदुपयोग गर्ने राईले प्रतिबद्धता व्यक्त गरे । ति संरचनाहरु ८ लाख ६४ हजार रुपैयाँ बराबरको रकम खर्च गरी निर्माण सम्पन्न भएको यायोक्खा कमल गाउँ समिति सदस्य भिमराज राईले जानकारी गराए ।
प्रमुख अतिथि कमल गाउँपालिका अध्यक्ष राईले साकेला थानको रक्षा र सम्पदा संरक्षणका लागि सबै किरात धर्मावलम्बीहरुले एकजुट भएर लाग्नुपर्ने बताउँदै यस्तो कार्यले नयाँ पुस्तामा सो समुदायको धर्म संस्कृतिका बारेमा अभिप्रेरणा जगाउने बताए ।
प्रथम किरात राजा यलम्बरले शुरु गरेको येले सम्वत ५०८६ नयाँ वर्ष तथा माघे संक्रान्तिको अवसरमा शुभकामना आदान प्रदान सहित गरिएको सो कार्यक्रममा स्थानीय किरात धर्मप्रेमी तथा सामाजिक अगुवाहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा विशिष्ट अतिथिका रुपमा कोशी प्रदेशका पूर्व सांसद अर्जुन राईले पनि शुभकामना मन्तव्य राखेका थिए ।
यायोक्खा कमल गाउँ समिति सदस्य भिमराज राईले प्रतिमा निर्माणका क्रममा भएको आम्दानी र खर्चको विवरण सार्वजनिक गरेका थिए । यायोक्खा कमलका अध्यक्ष हरिचन्द्र राईको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सल्लाहकार संयोजक सन्तोष राई र कार्यक्रम संचालन सदस्य चन्द्रप्रकाश राईले गरेका थिए ।

 

 

विश्वप्रकाश शर्माको गृहनगर धुलाबारीमा दीपप्रज्वलन

झापा / निर्वाचन आयोगले सभापति गगनकुमार थापा नेतृत्वलाई आधिकारिक नेपाली कांग्रेसको मान्यता दिएसँगै पार्टी पंक्तिमा उत्साह छाएको छ ।

पुस अन्तिम साता काठमाडौको भृकुटीमण्डपमा सम्पन्न दोस्रो विशेष महाधिवेशनबाट सभापति निर्वाचित थापा नेतृत्वको कांग्रेसलाई आयोगले आज साँझ आधिकारिकता दिएपछि कांग्रेस नेता, कार्यकर्ताले देशका विभिन्न भागमा दीपप्रज्वलन र शुभकामना आदानप्रदान गरिरहेका छन् ।
यसैक्रममा उपसभापति विश्वप्रकाश शर्माको गृहनगर धुलाबारीमा दीपप्रज्वलन गरिएको छ ।

गगन नेतृत्वको नेपाली कांग्रेस निर्वाचन आयोगमा आधिकारिक

काठमाडौं/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आयोगको शुक्रबार बसेको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो ।

नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट थापा सभापति चयन भएका थिए । सभापति चयन भएसँगै बिहीबार बसेको केन्द्रीय समिति बैठकको निर्णय लगत्तै थापा आधिकारिता दाबी गर्दै आयोग पुगेका थिए । आयोगले सबै डकुमेन्ट अध्ययन  गरेर थापा नेतृत्वको कमिटीलाई आधिकारिकता दिएको हो ।

कांग्रेसको विशेष महाधिवेशन राजधानीको भृकुटीमण्डपमा पुस २७ देखि ३० सम्म भएको थियो । यससँगै नेपाली कांग्रेसको चुनाव चिह्न रुख र चारतारे झण्डा शेरबहादुर देउवाबाट गुमेको छ । देउवा पक्षले पनि आफू नै आधिकारिक भएको जिकिरसहित आयोगमा डकुमेन्ट बुझाएको थियो ।

झापामा निर्वाचन अधिकृतका कार्यालय स्थापना

दमक/ फागुन २१ म हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि झापाका पाँचवटै संघीय निर्वाचन क्षेत्रमा शुक्रबार निर्वाचन अधिकृतका कार्यालयहरू स्थापना गरिएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला समन्वय समिति भद्रपुर (क्षेत्र नं. ३) मा स्थापना गरिएको छ । यस्तै, क्षेत्र नं. १ को मेचीनगर, २ को अर्जुनधारा, ४ को कनकाई र ५ को दमक ८ स्थित अग्र्यानिक कृषि केन्द्रमा निर्वाचन अधिकृतका कार्यालय सञ्चालनमा ल्याइएका हुन् ।
मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश उमेशप्रसाद लुइटेलले भद्रपुरमा स्थापना गरिएको मुख्य कार्यालय उदघाटन गर्दै निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन सबैको सहयोग अपरिहार्य हुने बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले मतदानस्थलको सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै भयरहित वातावरणमा मतदान गर्ने व्यवस्था मिलाइने प्रतिबद्धता जनाए ।
पञ्चायती व्यवस्था विरुद्धको ‘झापा विद्रोह’ देखि देशका चर्चित पात्र तथा शीर्ष नेताहरू पनि यसपटक झापामै चुनाव लड्ने चर्चा रहेकाले यहाँको चुनावी गतिबिधिलाई महत्वसँग हेरिँदैछ ।

उम्मेदवार सिफारिस भएका नेता केरुङले भने– कांग्रेसलाई निको पारेर फर्किनेछौं

झापा/ प्रतिनिधि सभा सदस्यको निर्वाचन मिति नजिकिँदै जाँदा झापा क्षेत्र नं ५ मा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहसँगै नेपाली कांग्रेसका सम्भावित उम्मेदवारहरुका बारेमा चर्चा चलिरहेको छ ।
कांग्रेसको क्षेत्र, जिल्ला हुँदै प्रदेश सम्म यहाँका सम्भावित उम्मेदवारहरुको नाम सिफारिस भइसके पनि उम्मेदवारको अन्तिम टुंगो लागिसकेको छैन । कांग्रेसको विशेष महाधिवेशन जारी रहेकाले क्षेत्र नं ५ मा मात्रै नभएर देशैभर उम्मेदवारको अन्तिम टुंगो लाग्न बाँकी छ । यसबारेमा विशेष महाधिवेशन टुंग्याएर तत्कालै कांग्रेसले निर्णय लिने जनाएको छ ।
उम्मेदवार सिफारिस भएका मध्ये पहिलो नम्बरमा रहेका कांग्रेसका युवा नेता एवं महासमिति सदस्य अइन्द्रविक्रम केरुङसँग निष्कर्ष न्यूजले गरेको कुराकानीका क्रममा केरुङले भने– ओली वा बालेन सबैलाई चुनाव लडने अधिकार छ । नेपालको राजनीतिक इतिहासमा कांग्रेसको आवश्यकता र महत्व जति छ त्यो बराबर अरुको हुन सक्दैन ।
हामी यतिबेला विशेष महाधिवेशनमा छौं, अहिले कांग्रेस बिरामी अवस्थामा छ यसलाई निको पार्ने थलो विशेष महाधिवेशन हो अब कांग्रेस निको हुँदैछ, उठ्दैछ । कांग्रेसलाई निको पार्ने अनि देशलाई नेतृत्व दिने सवल र सक्षम नेतृत्वसहित चुनावी मैदानमा कांग्रेस आउँदैछ । उनले आफ्नो नाम पार्टीले सिफारिस गरेको सन्दर्भलाई पार्टीले दिएको जिम्मेवारी पुरा गर्नु हाम्रो कर्तव्य हुनेछ । उनले आफ्नो उम्मेदवारी सिफारिस व्यक्तिगत नभएकाले यसबारेमा अहिलेनै व्यक्तिगत धारणा राखि हाल्नु उपयुक्त नहुने प्रतिक्रिया दिए ।

 

देउवा निवासमा शीर्ष नेताहरुको छलफल

काठमाडौँ/ काठमाडौँको भृकुटीमण्डपमा नेपाली कांग्रेसको विशेष महाधिवशेनको बन्दसत्र सुरु हुनै लाग्दा सभापति शेरबहादुर देउवाको निवास महरागन्जमा भने उनी पक्षीय शीर्ष नेताहरूको बैठक बसिरहेको छ।

निकट स्रोतले नेपालखबलाई दिएको जानकारीअनुसार पार्टीमा देखापरेको वर्तमान अवस्थाबारे देउवाले आफूपक्षका शीर्ष नेताहरूसँग छलफल गरिरहेका हुन्।

‘अहिले शीर्ष नेताहरू छलफलमा हुनुहुन्छ’, स्रोतले भन्यो।  कांग्रेसको केन्द्रीय कार्यसमितिले आगामी वैशाखमा नियमित महाधिवेशन गर्ने निर्णय गरे पनि त्यसमा फरक मत राखेका महामन्त्रीद्वय थापा र शर्माको नेतृत्वमा काठमाडौँको भृकुटीमण्डपमा आइतबारदेखि विशेष महाधिवेशन जारी छ। जहाँ बहुमत प्रतिनिधि सहभागी छन्।