झापा गोल्डकप फुटबलको फाइनलमा एपिएफ

बिर्तामोड/    टाइब्रेकरमा भाग्यमानी सावित हुँदै सशस्त्र प्रहरी बलको एपिएफ फुटबल क्लब झापाको डोमालाल राजवंशी रंगशालामा जारी एक्स्ट्रिम सातौँ झापा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
एफिएफले आयोजकको टिम झापा–११ फुटबल क्लबलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । एक गोलले पछि परेको अवस्था उल्टाउँदै एपिएफले कमब्याक जित हासिल गरेको हो । जितसँगै एपिएफले कम्तिमा ७ लाख ५० हजार रुपैयाँ सुरक्षित गरेको छ ।
एपिएफका लागि सुमन श्रेष्ठ, दिपेश धिमाल, सन्तोष खत्री र समिराज थोकरले गोल गरेका थिए भने नविन लामाको प्रहार झापाका गोलकिपर सन्दिप लिम्बुले रोकेका थिए ।
झापाका तर्फबाट भने रोमन भुजेल र रोहन कार्कीले मात्र गोल गरेका थिए । नारायण
क्षेत्री र गौरव धिमालको बल एपिएफका गोलकिपर एञ्जल श्रेष्ठले बचाएका थिए ।
खेलको ६१ औँ मिनेटमा झापाले अग्रता लियो । नारायण क्षेत्रीको कर्नर प्रहारमा झापाका विदेशी खेलाडी रिचार्ड विल्सनले गोल गर्न सफल भए ।
झापाको अग्रता ६ मिनेट पनि टिक्न सकेन । एपिएफका स्ट्राइकर नविन लामाले ६७ औँ मिनेटमा खेललाई बराबरीको अवस्थामा पुर्याए । लामाले डिबक्स बाहिरबाट गरेको प्रहार क्रस बारमा लाग्दै गोलमा परिणत भएको थियो ।
३९ औँ मिनेटमा रोहन कार्कीको प्रहार बारमा लागेर फर्किंदा खेलमा अग्रता लिने अवसरबाट बञ्चित भएको  थियो । खेलको ५७ औँ मिनेटमा झापाका रिचार्ड विल्सनको लङ रेञ्जर सट बारको केही माथिबाट बाहिरिएको थियो ।  एपिएफले ३० औँ मिनेटमा अग्रता लिने अवसर गुमाएको थियो । दिपेश धिमालले पाएको सुन्दर अवसर खेर फालेका थिए ।
खेलको प्लेयर अफ द म्याच विजेता टिम एपिएफका गोलकिपर एञ्जल श्रेष्ठ भए । उनले नगद २५ हजार रुपैयाँ पुरस्कार पाए । भोलि शनिबार अन्तिम सेमिफाइनल खेल त्रिभुवन आर्मी फुटबल क्लब र मछिन्द्र फुबटल क्लबबीच हुनेछ ।
यसैबीच, प्रतियोगितामा बिर्तामोडको महेन्द्ररत्न स्टोर्सले प्रत्येक दिन टिकट लिएर खेल हेर्ने दर्शकमध्ये एकजनालाई एकथान टेलिभिजन उपलब्ध गराउँदै आएको छ ।

त्यस्तै, पहिलो दिनदेखि फाइनल खेलसम्म टिकट लिएर एकजना दर्शकलाई यामाहाको स्कुटर प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले यामाहा कम्पनीको एउटा मोटरसाइकल प्राप्त गर्ने आयोजकले जनाएको छ ।

विधागततर्फ उत्कृष्ट कोच, हाई स्कोरर र उत्कृष्ट गोलकिपरले जनही ३५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिताको फाइनल खेल फागुन ४ गते हुनेछ ।

झापामा लगातार सात दिन बस्दा ८० टोलमा पुगे ओली

झापा/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एकहप्तासम्म झापा ५ मा मतदाता भेटघाट गरेर काठमाडौं फर्किएका छन् ।
फागुन २१ गते हुने निर्वाचनका लागि माघ २३ गते निर्वाचन क्षेत्र झापा ५ आएका अध्यक्ष ओलीले तीनवटा पालिकाका करिब ८० वटा टोलका मतदातासँग साक्षात्कार गरेर बिहिबार काठमाडौं फर्किएका हुन् ।
निर्वाचन परिचालन कमिटीका कमाण्डर देवेन्द्र दाहालका अनुसार अध्यक्ष ओलीले एक साताका बीचमा गौरादह,कमल र गौरीगञ्ज गाउँपालिकाका टोल टोलमा मतदाताका स्याबासी,गुनासा र समस्या सुनेका छन् ।
दमक नगरपालिकाका १० वटै वडाका करिब ४० वटा टोलमा फागुन ४ गते पछि अध्यक्ष ओलीले मतदाता भेट्न जाने कार्यक्रम छ । ‘तीनवटा पालिकाका करिब ८० वटा टोलका मतदातासँग अध्यक्षले प्रत्यक्ष संवाद गर्नुभएको छ । मतदातासँग भेटेपछि उहाँ उत्साहित भएर फर्कनु भएको छ ’ संयोजक दाहालले भने ‘मतदाताले उहाँलाई खुलेर प्रश्न गरेका छन् । गुनासो राखेका छन् । समस्या सुनाएका छन् । र,राष्ट्र र राष्ट्रियताको पक्षमा अडान लिएकोमा धन्यवाद पनि दिएका छन् ।’
एमाले कमल गाउँ कमिटीका अध्यक्ष हरी ढकालका अनुसार कतिपय नेताहरु निर्वाचन जितेपछि भूगोलतिर नफर्किने भनेर आलोचना खेप्छन् । तर ओलीलाई त्यो समस्या छैन । ‘ निर्वाचन परिचालन कमिटीका सचिव नारायण गौतमका अनुसार कमल गाउँपालिकाका ३० वटा टोलमा अध्यक्षले भेटघाट गरेका छन् । भेटघाटमा मतदाताले स्थानीय ठाउँको विकास,रोजगारी,शिक्षा तथा अस्पताल निर्माणका मागहरु राखेका छन् । ‘अधिकांस मतदाताले स्थानीय विषयलाई नै प्रमुख मुद्धा बनाएर अध्यक्षसँग प्रस्तुत गरेका छन’ गौतमले भने ।
पश्चिम दक्षिण झापाको गौरादह ६ का मतदाता जयराम सापकोटाले एमाले अध्यक्ष ओलीसँग रतुवाको कटानमा परेका यस क्षेत्रका मतदाताले रतुवा खोलामा स्थायी तटबन्धन,यही खोलामा पक्की र झोलुंगे पुल र अस्पताल निर्माणको माग गरेका छन् । ‘अध्यक्षज्यूलाई हामीले स्कूलचौन दामुना जाने सडकलाई पिच गर्न,रतुवामा तटबन्धन गरेर बाढी र डुबानबाट बचाउन र यसै क्षेत्रमा सुविधा सम्पन्न अस्पताल स्थापना गरिदिन माग गरेका छौं’ सापकोटाले भने ।
यस्तै दामुना बजारका मतदाताले पार्टीका अन्तरविरोध मिलाइदिन,कार्यकर्तालाई जनतासँग जोडिन र सुशासनलाई व्यबहारमा उतार्न माग गरेका छन् ।
उनीहरुले स्थानीय तहका जनप्रतिनिधि,मुख्यमन्त्री लगायत यस क्षेत्रका जनप्रतिनिधिलाई जनता समस्यामा गम्भिर भइदिन सम्झाइदिन आग्रह गरेका छन् ।
वडा नं ६ कै सिंगीयाडुबाका बासिन्दाले अध्यक्ष ओलीलाई नेपाली कागजमा ६ बुँदे माग लिखित रुपमा नै पेश गरेका छन् । मागपत्र पेश गर्दै एमाले वडा कमिटीका उपाध्यक्ष दुर्गा गनगाईले दामुनाबाट सिंगियाडाँगी हुँदै सिंजुवा जाने बाटो पिच हुनु पर्ने र रतुवा खोलामा पक्की पुल निर्माण गर्न माग गरेका छन् । यसैगरी दामुनाबाट हुलाकी सडक जाने कृषि सडक पनि तत्काल पिच गरेर किसानका उत्पादनलाई भारतीय बजार पुर्याउन सहज बनाइदिनुपर्ने गनगाईंले माग गरे ।
गौरीगञ्ज गाउँपालिकाको सिमावर्ती क्षेत्र देवानगञ्जका मतदाताले मोइवालको टावर राखिदिन माग गरेका छन् । टावर नभएका कारण भारतीय टावरमा निर्भर हुनु परेको गुनासो उनीहरुले चर्काे रुपमा उठाएका छन् । सो क्षेत्रका मतदाताले आफ्नो गाउँ टोलमा फेरी फेरी आइदिन पनि माग गरेका छन् ।
गौरादह चैतुचोककी रमिला राजवंसीले ओलीलाई आफूलाई ठुला ठुला कुरा गर्नुभन्दा रोजगारी गरेर खाने मेलो मिलाइदिन माग गरिन ।
दक्षिण झापाको ग्वालडुब्बा निवासी एमाले प्रदेश कमिटी सदस्य अमर शिवाकोटीका अनुसार एकहप्तामा अध्यक्ष ओलीले हजारौं मतदातालाई भेटेका छन् ।
शिवाकोटी भन्छन ‘आफ्ना प्रतिनिधिलाई प्रश्न सोध्ने अधिकार हरेक मतदातालाई हुन्छ । प्रतिनिधिले मतदातालाई जवाफ दिने दायित्व पनि हुन्छ । अध्यक्षले हरेक प्रश्नको जवाफ दिनुभएको छ । ’

कांग्रेस उम्मेदवार मन्धरा मतदाताहरुसँगको भेटघाटमा सक्रिय

दमक/ झापा ५ मा नेपाली कांग्रेसले वडास्तरमा चुनाव प्रचार प्रसार अन्तर्गत उम्मेदवार र मतदाताहरुबीचको भेटघाटलाई तिब्र बनाएको छ ।
तालिका बनाएर चुनाव प्रचार प्रसारको गतिबिधि अघि बढाइरहेको कांग्रेसले यस क्षेत्रकी उम्मेदवार मन्धरा चिमरिया पौडेललाई वडा तहमा नेता कार्यकर्ताहरु सम्मिलित चुनाव प्रचार प्रसार समिति गठन सकेर मतदाताहरुको घरदैलोमा पुग्ने कार्यक्रमलाई अघि बढाएको हो ।
आज बिहानै देखि उम्मेदवार चिमरियासहित ठुलो संख्यामा नेता, कार्यकर्ताहरु सम्मिलित टोलीले दमकको १० नम्बर वडाका विभिन्न गाउँ टोलमा घरदैलो सञ्चालन गरिरहेको कांग्रेस दमक नगर समितिका कार्यवहाक सभापति प्रेम भट्टराईले जानकारी दिए ।
बिहिबार दमक ५ मा घरदैलो प्रभावकारी रुपमा सञ्चालन भएको वडा सभापति तथा वडास्तरीय चुनाव प्रचार प्रसार समिति संयोजक चैतन्य बरालले जानकारी दिए । नगर सभापति भट्टराईका अनुसार हाल सम्म दमकको वडा नं १ देखि ५ सम्मका वडाहरुमा आंिशक रुपमा घरदैलो मार्फत मतदाताहरुसँगको भेटघाट र अन्तरक्रिया सकिएको छ । अधिकांश मतदाताहरुले यस पटकको चुनावमा निस्कलंकित, विवादरहित उम्मेदवारका रुपमा रहेकी महिला उम्मेदवार मन्धरालाई अघि बढाइएकोमा खुशी व्यक्त गर्दै यस क्षेत्रकी अनुभवी सामाजिक क्षेत्रमा योगदान पुरयाएकी मन्धरा चिमरियालाई संसदमा पठाउने आश्वासन दिइरहेका चुनाव प्रचार प्रसार अन्तर्गतको सूचना समितिका संयोजक पर्शुराम रिजालले बताए ।

विप्लव नेतृत्वको नेकपा (माओवादी)को चुनाव प्रचारप्रसार कार्यालय

दमक/  प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नंम्बर ५ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले चुनाव प्रचारप्रसार सम्पर्क कार्यालय स्थापना गरेको छ ।
बिहिबार, दमकमा एक कार्यक्रमवीच नेकपा (माओवादी) झापाका इन्चार्ज सुमन सिंह सीले कार्यालय उदघाटन गरेका छन् ।
इन्चार्ज सुमन सिंह सीले मुलुकमा बढ्दो भष्ट्रचार, वेथिती र अराजकतालाई सरकारले नियन्त्रण गर्न नसक्दा मुलुकमा जेन–जी बिद्रोह भएको र त्यो विद्रोहका आडमा विदेशी शक्तिहरु सत्ता कब्जामा लागेको आरोप लगाए ।
उनले निर्वाचनपछि मुलुकको समस्याहरु क्रमश हल हुँदै जान्छ भन्ने अवस्था अहिले नदेखिएकोतर्फ मतदाताहरु सचेत हुनुपर्ने औंल्याए ।

पुराना ठूला दलहरु सुध्रिन नसकेको र नयाँ दलहरुले मुलुक निर्माण गर्ने स्पट नीति, कार्यक्रम र योजनाहरु ल्याउन नसकेको उनको भनाई थियो । निर्वाचन नजिकिदैं छ, प्रचारप्रसारको क्रममा ठूला दलहरुले निर्वाचन आचारसंहितालाई उल्लर्घन गर्दा निर्वाचन आयोगले कानूनी दायरामा ल्याउन समेत उनको जोड थियो ।
त्यस्तैं, झापा ५ का उम्मेद्वार पार्टीका नेता सञ्जय सीले मुलुकलाई झनझन द्धन्द्धतर्फ धकेल्न नेपाली राजनीति पार्टी, जसले पटकपटक सत्ताको नेतृत्व गरे तिनै दललाई यसपटकको चुनावमा मतदान गर्न नहुने बताए । उनले लामो समयमा समाजका बेथिती, अन्याय, शोषणविरुद्ध लडिरहेको बताउँदै बदलिएको राजनीति धरातलमा पुरानै सोच र मानसिकता माथि उठेर नेकपा (माओवादी) का उम्मेद्वारलाई मतदान गर्नुपर्ने बताए । नेकपा (माओवादी) पहिलो पटक संसदीय चुनावमा प्रतिस्पर्धाका लागि आएको हो भने सो पार्टीले गुलाफ फूल चुनाव चिन्ह पाएको छ ।
झापा ५ मा नेकपा (माओवादी)ले चुनाव प्रचारप्रसारलाई व्यवस्थित गर्दै पालिकास्तरीय र वडा तहसम्म प्रभावकारी बनाउन सुवास सीको नेतृत्वमा १ सय ५१ जना रहेको चुनाव प्रचारप्रसार समिति गठन गरेको पार्टीले जनाएको छ । चुनाव प्रचारप्रसार तथा सम्पर्क कार्यालयलाई व्यवस्थित र नियमित बनाउँन जनसम्पर्क तथा युवा परिचालन समिति संयोजकमा विज्ञान सी रहेका छन् भने अर्जुन सीको नेतृत्वमा आर्थिक विभाग समिति गठन गरिएको छ ।

नेकपाका उम्मेदवारलाई इसाई धर्मावलम्बीहरुको पाँच बुँदे सुझाव

दमक/ नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट झापाको क्षेत्र नं ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवारसँगको अन्तरक्रियामा दमक नगर इसाई समाजका तर्फबाट पाँच बुँदे सुझाव पेश भएको छ ।
उम्मेदवार रञ्जीत तामाङसहित पार्टी नेताहरुको उपस्थितीमा आज भएको अन्तरक्रियामा दमक नगर इसाई समाजका तर्फबाट विपद व्यवस्थापन समिति संयोजक युवराज गजमेरले धर्म निरपेक्षता कायम राख्नु पर्नेसहितका पाँच बुँदे सुझाव राखेका हुन् ।
गजमेरले धार्मिक क्षेत्रहरुमा राज्यका तर्फबाट गरिने लगानी समान रुपमा गर्ने नीति अवलम्बन गर्ने बिषयमा सुझाव राखे । बिद्युत महसुल अन्य धार्मिक संघ संस्थालाई लिने र चर्चहरुमा लिने दरमा फरक रहेकाले सो समेत समान हुनुपर्ने, ईसाई धर्मावलम्बीहरुको समाधिस्थल ( कपूरस्थान)का लागि जग्गा सुनिश्चित गरिनुपर्ने, राज्यद्वारा अनेपिक्षित धर्मपरिवर्तनको आरोप लगाई दुख दिने काम बंद गरिनुपर्ने र इसाईहरूको महान चाड पर्व हरुमा स्थायी बिदाको सुनिश्चिता गरिनुपर्ने पनि इसाई धर्मावलम्बीहरुको सुझाव छ । गजमेरले भने– ख्रीष्टमसमा यस बर्ष पनि बिदा त दिइयो तर हतारमा मध्यरातमा बिदाको निर्णय भयो । त्यस्तो होईन अब घोषित रुपमा क्यालेण्डरमा उल्लेखित बिदाको सुचीमानै ख्रीष्टमस पर्वलाई राखिनु पर्छ भन्ने हाम्रो मान्यता हो ।

 

आश्वासनमै सिमित छन, झापा ४ मा दुई वडाका यि चुनावी एजेण्डा

दमक/ दक्षिणवर्ती भारतीय सीमासँग जोड्ने झापाको दुधे– शिवगञ्ज – बोलोचोक कुञ्जीबारी – बोर्डर सडक बर्षौदेखि उपेक्षामा पर्दै आएको छ ।
हरेक निर्वाचनहरुमा दलहरु र ति दलका उम्मेदवारहरुको मत माग्ने साझा मुद्धा जस्तै बनेको करीब २५ किलोमिटर यो सडकको आशिंक खण्ड अर्थात जनता चोकदेखि दक्षिण तर्फ भारतसम्मको खण्डका उपभोक्ताहरुलाई मत माग्ने एजेण्डा अर्थात मुद्धाका रुपमा यो समस्या रहँदै आएको हो ।
यसअघि एशियाली बिकास बैंकको सहयोगमा पहिलो पटक करिब डेढ दशक अघि कालोपत्रे भएको सो सडक कालोपत्रे भत्किँदा आवागमननै रोकिने अवस्थामा छ भने सडक आसपासका उपभोक्ताहरुले धुलो, माटोमा दिनरात कटाउनु पर्ने बाध्यता छ । जनताबाट सालमारा सम्मको आशिंक खण्ड पछिल्लो समय कालोपत्रे गरिएको भए पनि त्यस भन्दा दक्षिण तर्फ बोलोचोक– ओडारी चोक– महाभारा कुञ्जीबारी हुँदै भारतीय बोर्डर सम्मको करिब १२ किलोमिटर खण्ड जीर्ण भएको बर्षौ बितेको छ ।
हरेक निर्वाचनमा यस क्षेत्रका नागरिकहरुमाझ यो सडक कालोपत्रे गर्ने योजनाको फेहरिस्त सुनाउने गरेका भए पनि यस क्षेत्रबाट निर्वाचन जितेर गएका तत्कालिन प्रतिनिधि सभा सदस्य एलपी साँवाले सो सडकमा ध्यान नदिएको गुनासो स्थानीयबासीको छ ।
तत्कालिन महाभारा गाविसका उपाध्यक्ष समेत भइसकेका देवेन्द्रनारायण राजवंशी दक्षिण भेगका नागरिकलाई यस क्षेत्रबाट जितेर संसदमा पुग्दै आएका सबैले ढाँट्ने गरेको बताए । यो सडक अन्तर्गत तत्कालिन पाँचगाछी र महाभारा गाविस (हाल शिवसताक्षी ४ र गौरीगञ्ज १ ) पर्छन् ।
यो क्षेत्रमा सताक्षीधाम–झिलझिले– जनता चौरी सडक हालसालै स्तरोन्नती भई कालोपत्रे गरिएको तर दैनिक तीन÷चार वटा यात्रुबहाक बस सञ्चालन हुँदै आएको सडक भने कालोपत्रे नगरिँदा बर्षा याममा यो सडक भएर आवतजावत गर्न सर्वसाधारणले ठुलो कष्ट ब्यहोर्नु परिरहेको छ ।
कुञ्जीबारीबाट भन्सार हुँदै भारतीय गाउँ डाकुपाडासम्म पुग्ने यो सडक फराकिलो बनाउन आसपास क्षेत्रका सर्वसाधारणले भोग्दै आएको जग्गा समेत उपलब्ध गराए पनि सडकको स्तरोन्नतीका लागि सरकारका कुनै पनि निकायले ध्यान दिएका छैनन् । यो खण्डलाई यसअघि केर्खा– क्याम्पा – सरङपाडा–बाह्रविघे हुँदै जोड्ने योजना रातो किताबमा समावेश गरिएको भए पनि बाह्रविघेदेखि दक्षिण तर्फ कुञ्जीबारी– बोर्डर सम्मको करिब ७ किलोमिटर खण्डमा सडक स्तरोन्नतीको काम शुन्य छ । यो योजनाको आंिशक खण्डका लागि छुटिएको बजेट समेत गएको बर्ष कटौती हुँदा कालोपत्रे योजना अघि बढ्न नसकेको हो ।

यो भुगोल अहिले झापाको संघीय निर्वाचन क्षेत्र नं ४ मा पर्छ । यो क्षेत्रबाट २०७४ र २०७९ को दुवै प्रतिनिधि सभा निर्वाचनमा एमालेका एलपी साँवा निर्वाचित भएका थिए । यही फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा समेत साँवा यो क्षेत्रबाट उम्मेदवार बनेका छन् ।
यस क्षेत्रका नागरिकले हरेक बर्ष भोग्दै आएको खोला नदीको कटान र डुबान समस्याबाट मुक्त गराउने स्पष्ट योजना र प्रतिबद्धता कार्यान्वयनको सुनिश्चीतता र हुलाकी मार्ग अन्तर्गत १४ बर्षदेखि निर्माण पुरा हुन नसकेको कन्काई पक्की पूलको योजना, भोग्दै आएको जग्गाको स्वामित्व (धनीपूर्जा ) को समस्या र गुठी समस्यालाई पनि राज्यले कहिल्यै नसुनेको भन्दै आक्रोश पोखिरहेका छन् । उनीहरुले यस क्षेत्रका उल्लेखित समस्याहरुलाई साझा समस्याका रुपमा लिँदै मत माग्न आउने दल र उम्मेदवारहरु ति समस्याहरुबारे खुल्ला बहसका लागि तयार भएर आउन चेतावनी दिएका छन् ।

झापा ५ मा नेकपा उम्मेदवारले पाँच मिसन र सात भिजन पेपर ल्याउने

दमक/ झापा क्षेत्र नं. ५ का लागि नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रन्जित तामाङले ५ मिसन र ७ भिजन सहितको भिजन पेपर जारी गर्ने जनाएका छन् ।
तामाङले आफ्नो चुनावी घोषणापत्रलाई अन्तिम टुंगो गर्न विभिन्न सरोकारवालासंग राय लिएका छन्। तामाङले सवैको राय लिएर साझा भिजन पेपर  जारी गर्ने वताए ।
विहिवार दमकमा सो पार्टीद्धारा आयोजित सुझाव संकलन कार्यक्रममा तामाङले भने – झापा –५ को वहुआयामिक विकास र निकासका लागि ७ मिसन र ३५ भिजन सहितको भिजन पेपर ल्याउने तयारी गरेको छु।
तामाङले सवैको भावना समेटेर हामी साझा भिजन पेपर जारी गर्ने वताए । कार्यक्रममा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईले भाद्र २४ गते घटेको घटनावाट पीडित उद्योगी ब्यवसायीको मनोवल उठाउन विशेष योजना ल्याउनुपर्ने वताए ।
गुरागाईले दमकमा औद्योगिक प्रदर्शनी स्थल निर्माण गर्नुपर्ने सुझाव दिए । नेपाल रेडक्रस सोसाइटी , दमकका अध्यक्ष प्रकाश वुढाथोकीले युवाहरुलाई उद्यमशीलता र रोजगार सृजना गर्ने कार्यक्रम ल्याउनुपर्ने वताए । वुढाथोकीले भने– युवालाई अब माछा हैन , वल्छि दिनुपर्छ ।
दमक जेसीजका निवर्तमान अध्यक्ष सहदेव भट्टराईले युवाका भावना र चाहना समेटेर घोषणापत्र ल्याउन सुझाव दिए । संचारकर्मीका तर्फवाट पत्रकार गोपाल झापालीले जनतालाई सहि सुचना दिने वातवरण वनाउनुपर्ने वताए ।
कार्यक्रममा दमक क्याम्पसका पुर्व सहायक क्याम्पस प्रमुख डिल्ली भट्टराईले विकासको मेरुदण्ड शिक्षा भएकाले शैक्षिक उन्नयनलाई केन्द्रबिन्दुमा राख्न सुझाव दिए ।
किरात याक्थुम् चुम्लुङ दमकका अध्यक्ष देवेन्द्र लिम्वुले आदिवासी जनजाति स्मृति रङ्गशालाको मुद्धालाई प्रमुखताका साथ समेट्न आग्रह गरे ।
कार्यक्रममा दमक प्याब्सनका सचिव लक्ष्मी नेपालले शिक्षा ऐनमा निजी क्षेत्रको योगदानलाई अबमुल्यन नगर्न आग्रह गरे ।
यसैगरी सहिद वेपत्ता परिवारका तर्फवाट सहिद पिता लालसुन्दर राईले भिजन पेपरमा सहिद र वेपत्ता योद्धाका सपना समेटिनुपर्ने वताए । आम्दा नेपालका तर्फबाट सुमन नेपालले स्वास्थ्य क्षेत्रलाई विशेष महत्व दिनुपर्ने वताए । भिजन पेपर तयारी समितिका संयोजक रमेश गुरागाईले प्राप्त सुझावका आधारमा अन्तिम रुप दिने वतए । नेकपाका झापा–५ निर्वाचन परिचालन समितिका संयोजक सुरेन्द्र बस्नेतले शिक्षा, स्वास्थ्य र रोजगारीलाई केन्द्रविन्दुमा राखेर भिजन पेपर जारी गरिने वताए ।

१० जना हाई प्रोफाइललाई सामाजिक सञ्जालमा ज्यान मार्ने धम्की दिएका पाठक पक्राउ

काठमाडौं/ नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणासहित १० जना हाई प्रोफाइललाई धम्की दिने प्रकाश पाठक पक्राउ परेका छन् ।  अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) को सहयोगमा पाठकलाई पक्राउ गरेर नेपाल ल्याइएको हो ।

काभ्रे घर भएका पाठकले अख्तियार प्रमुख प्रेमकुमार राई, लोकमानसिंह कार्की, गोपालबहादुर खड्का, रमेश लेखक, बालकृष्ण खाण, आरजु राणा,ओमविक्रम राणा, हेमबहादुर गुरुङ, रमेशचन्द ठकुरी र दुर्गा प्रसाईंलाई ज्यान मार्ने धम्की दिएका थिए ।  पाठकविरुद्ध इन्टरपोलबाट डिफ्युजन नोटिस जारी गरिएको थियो । सामाजिक सञ्जाल फेसबुकमा भिडियो र अडियो सन्देश पोस्ट गरेर धम्क्याउँदै पाठक भारत, इन्डोनेसिया हुँदै फिलिपिन्स पुगेका थिए । पाठकले आफूलाई उग्रवादी संगठनको अध्यक्ष दाबी गर्दै आएका छन् ।

दमकमा कुलमानले भने– सबैक्षेत्रको लोडसेडिङ अन्त्य गर्न चाहन्छौं

दमक/ उज्यालो नेपाल पार्टीका अध्यक्ष कूलमान घिसिङले आफूहरुले बिद्युतमा लोडसेडिङ अन्त्य गरेर आएको र अब मुलुकका सबै क्षेत्रको लोडसेडिङ अन्त्य गर्न आएको बताएका छन् ।
झापाको दमकमा बुधबार राष्टिय परिवर्तन पार्टी र उज्यालो नेपाल पार्टीका संयुक्त चुनाव प्रचार प्रसार कार्यक्रममा बोल्दै अध्यक्ष घिसिङले त्यस्तो बताएका हुन् । उनले जेनजीहरुको असली पार्टी उज्यालो नेपाल पार्टी र राष्टिय स्वतन्त्र पार्टीनै भएको दाबी गरे । यही पार्टी नयाँ हो , यही पार्टी मुलुकलाई भ्रष्टाचार मुक्त बनाउन अघि बढेको छ ।
चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै भने– तपाइँहरुलाई थाह छ हामीले हिजो बिद्युत लोडसेडिङ अन्त्य गर्र्योै अब यो देशमा धेरै क्षेत्रको लोडसेडिङ अन्त्य गर्नु छ । हामी कुनै भाषण गरेर सोसल मिडियामा लेखेर आएका होइनौं हामी काम गरेर परिणाम लिएर आएका हौं । उनले यही पार्टीनै जेनजी आन्दोलनको स्प्रीटलाई सम्बोधन गर्ने असली पार्टी भएको दाबी पनि गरे । सो अवसरमा राष्ट्रिय परिवर्तन पार्टीका अध्यक्ष राजेश पटेल लगायतले पनि सम्बोधन गरे । उज्यालो नेपाल पार्टी र राष्टिय परिवर्तन पार्टीका तर्फबाट संयुक्त उम्मेदवारका रुपमा झापा ५ मा युवा उम्मेदवार सविन चाम्लिङ राई उम्मेदवार छन् । जेनजी आन्दोलनमा खुट्टा गुमाएका राजेशको नेतृत्वमा खुलेको राष्टिय परिवर्तन पार्टी पहिलो पटक चुनाव चिन्ह बाँसुरी लिएर चुनावी मैदानमा छ भने सो पार्टीलाई झापा ५ मा कूलमान नेतृत्वको उज्यालो नेपाल पार्टीले पनि समर्थन गरेका कारण चाम्लिङलाई सशक्त युवा उम्मेदवारका रुपमा यस क्षेत्रमा हेरिएको छ ।

 

गौरीगञ्जमा लागूऔषधसहित चार जना पक्राउ

गौरीगञ्ज/ झापाको गौरीगञ्ज गाउँपालिका वडा नं २ साविक कोरोबारीको आँपगाछीबाट बाहुन टोल तर्फ आउँदै गरेको अटो टेम्पोमा लुकाएर राखिएको लागूऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बुधबार दिउँसो करिब १.३० बजे मे १ह ५६६७ नम्बरको ओटो (टेम्पो) लाई गोप्य सुचनाको आधारमा इप्रका गौरीगञ्जबाट प्रहरी निरिक्षक भुवन बाबु खड्काको कमाण्डमा खटिएको टोलीले चेकजाँच गर्दा अटोको खुट्ट राख्ने म्याट मुनि लुकाएको अवस्थामा प्लाष्टिकसहित ७ ग्राम ५०० मिलि ग्राम ब्राउन सुगर जस्तो देखिने लिसाइलो पदार्थ बरामद गरेको हो ।
प्रहरीले सोसँगै अटो चालक जिल्ला झापा शिवसताक्षी .२ मनोहरा घर भई हाल दमक ८ का ३४ बर्षिय दिल कुमार विश्वकर्मा, गौरादह ८ भुँडेसिमलका २७ बर्षिय अमन ताजपुरिया, धरान उपमहानगरपालिका १६ घर भई हाल दमक ८ बस्ने १९ बर्षिया दिपा परियार र मोरङ वेलबारी ९ बेलचौरी घर भई हाल दमक ८ बस्ने १९ बर्षिया पार्वती चौधरीलाई पक्राउ गरेको हो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।