पराल पोको पारेर पुलमा राखेपछि फैलियो आतंक

शिवसताक्षी / झापाको शिवसताक्षी नगरपालिका–१० माइधारस्थित कन्काई पुलमा आज बिहान फेला परेको शंकास्पद वस्तु होक्स भएको पुष्टि भएको छ। नेपाली सेनाको बम डिस्पोजल टोलीले घटनास्थलमा पुगेर प्रारम्भिक जाँच तथा डिस्पोज गर्ने तयारीका क्रममा उक्त वस्तु विस्फोटक नभई परालको डल्लो रहेको पुष्टि गरेको हो। पराललाई डल्लो बनाएर तारले बेरेको र बाहिरी भागमा “नेपाल बन्द होशियार” लेखिएको कागज राखी ढुङ्गाले थिचेर पुलको बीच भागमा राखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
उक्त वस्तु बम भएको आशङ्कामा सुरक्षाका दृष्टिले बिहानैदेखि पूर्व–पश्चिम राजमार्गको सो खण्डमा सवारी आवागमन रोकिएको थियो। घटनापछि नेपाली सेना र प्रहरीको संयुक्त टोलीले शंकास्पद वस्तु हटाएपछि राजमार्गमा यातायात सेवा पुनः सञ्चालनमा आएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक बसुन्धरा खड्काले कसैले सर्वसाधारणमा त्रास सिर्जना गर्ने उद्देश्यले उक्त कार्य गरेको हुन सक्ने बताएकी छिन् । घटनामा संलग्न व्यक्तिको पहिचान तथा खोजी कार्य भइरहेको उनको भनाइ छ।
शंकास्पद वस्तुका कारण केही समय राजमार्गमा यातायात प्रभावित बनेको थियो भने सुरक्षा निकायले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

कमलमा नसर्ने रोगको परीक्षण

दमक/ बढ्दो जीवनशैलीसम्बन्धी रोगहरूको जोखिम न्यूनीकरण गर्दै नागरिकलाई समयमै उपचारको पहुँचमा ल्याउने उद्देश्यसहित कमल गाउँपालिका–७ मा नसर्ने रोगसम्बन्धी स्वास्थ्य परीक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।
विशेषगरी ३० वर्षभन्दा माथिका नागरिकहरूलाई लक्षित गर्दै सञ्चालन गरिएको उक्त कार्यक्रम समुदायमै पुगेर स्वास्थ्य सेवा प्रवाह गर्ने स्थानीय सरकारको प्राथमिकताको प्रतिफलका रूपमा लिइएको छ।
कमल गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा सञ्चालन गरिएको कार्यक्रममा सहभागी नागरिकहरूको मधुमेह (सुगर) परीक्षण, रक्तचाप मापन, मृगौला सम्बन्धी रोगको प्रारम्भिक जाँच साथै उचाइ र तौलका आधारमा मापन गरिएको थियो ।
परीक्षणका क्रममा जोखिममा देखिएका नागरिकहरूलाई थप परीक्षण तथा उपचारका लागि स्वास्थ्य संस्थामा सम्पर्क गर्न सुझावसमेत दिइएको थियो।
कार्यक्रममा खटिएका स्वास्थ्यकर्मीहरू ड्म्बर कुमारी शर्मा, प्रतीक्षा शाह, श्रद्धा भट्टराई ले नसर्ने रोगहरू कसरी विस्तार हुँदै गइरहेका छन्, किन यस्ता रोगहरू मौन रूपमा शरीरमा बढ्छन् र समयमै पहिचान नगरेमा कस्ता जटिलता देखिन सक्छन् भन्ने विषयमा सहभागीहरूलाई सचेत गराएका थिए ।

साथै स्वस्थ जीवनशैली, नियमित व्यायाम, सन्तुलित आहार, धूम्रपान तथा मदिरा सेवन नियन्त्रण र नियमित स्वास्थ्य परीक्षण नै नसर्ने रोग नियन्त्रणका मुख्य उपाय भएकोमा जोड दिइएको थियो।कमल–७ का वडा अध्यक्ष पृथ्विपति राईले समुदायमा पछिल्लो समय उच्च रक्तचाप, मधुमेह र मृगौला सम्बन्धी रोगहरूको संख्या बढ्दै गएको उल्लेख गर्दै भने,
“यी रोगहरू सुरुमा देखिँदैनन्, तर ढिला हुँदा जटिल बन्छन्। त्यसैले रोग लागेपछि होइन, रोग लाग्न नदिन र प्रारम्भिक अवस्थामै पत्ता लगाउन यस्ता कार्यक्रम आवश्यक छन्।”
स्थानीय बासिन्दाहरूले आफ्नै टोल–समुदायमै निःशुल्क रूपमा स्वास्थ्य परीक्षण सेवा पाउन पाउँदा खुशी व्यक्त गरेका छन्। धेरै नागरिकले पहिलो पटक आफ्नो रक्तचाप, सुगर र  BMI को अवस्था थाहा पाएको भन्दै यस्ता कार्यक्रमले स्वास्थ्यप्रति सचेत हुन ठूलो सहयोग पुगेको प्रतिक्रिया दिएका छन्।कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले आगामी दिनहरूमा पनि पालिकाका सबै वडाहरूमा नसर्ने रोगसम्बन्धी स्वास्थ्य परीक्षण तथा जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइने स्पष्ट पारेका छन् । उनका अनुसार, “स्वस्थ नागरिक बिना समृद्ध स्थानीय तहको कल्पना गर्न सकिँदैन। त्यसैले पालिकाले उपचारभन्दा पनि रोकथाम र सचेतनालाई प्राथमिकतामा राखेर कार्यक्रमहरू अघि बढाइरहेको छ ।” यस्ता समुदायस्तरीय कार्यक्रमहरूले नागरिकमा स्वास्थ्यप्रति चेतना अभिवृद्धि हुनुका साथै नसर्ने रोगको जोखिम न्यूनीकरण गर्दै समग्र समुदायको स्वास्थ्य अवस्थामा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

 

राजनीतिमा शिक्षित र प्रविधिमा दक्ष जनशक्तिको आवश्यकता

झापा/  नेपाली कांग्रेसका नेताहरुले वी.पी. कोइरालाले युवाहरुलाई राजनीतिमा अत्यन्तै महत्व दिएको उल्लेख गर्दै अवको राजनीतिमा शिक्षित एवं प्रविधिमा दक्ष युवाहरुको आवश्यकता औंल्याएका छन् ।
नेपाली कांग्रेस झापा क्षेत्र नं–२ निर्वाचन परिचालन समितिको आयोजनामा विर्तामोडमा सम्पन्न नेविसंघ, तरुणदल एवं युवाहरुको भेलालाई सम्बोधन गर्दै यस्तो आवश्यकता औंल्याएका हुन् ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुधिरकुमार शिवाकोटीले पार्टीमा नेतृत्व परिवर्तन गर्नुपर्ने युवाहरुको मागलाई नेपाली कांग्रेसले सम्बोधन गरेको बताउँदै अब युवाहरुलाई देशको नेतृत्वमा पुर्याउने काममा प्रभावकारी भूमिका खेल्न आग्रह गर्नुभयो ।
‘अव शिक्षित, पढेलेखेका र आइटीमा दक्ष युवा जनशक्ति राजनीतिमा आउनुपर्छ’–नेता शिवाकोटीले भन्नुभयो–‘हिजो हामीले जानी नजानी राजनीति ग¥यौं, आन्दोलनको  जगमा टेकेर नेतृत्व ग¥यौं । अब हाम्रो पालो सकियो । जे जति दियौं, अब तपाईहरुको पालो हो । राम्रो शिक्षा ग्रहण गर्नुस्, दक्ष भएर आउनुस् । भोली देश तपाईहरुले चलाउनुपर्छ ।’
कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य उमा शिवाकोटीले अहिले फिजिकल भन्दा डिजिटल प्रचार–प्रसार बढी प्रभावकारी देखिन थालेको बताउँदै रुख चिन्हबाहक उम्मेद्वारले चुनाव जित्नेगरी डिजिटल प्रचार–प्रसार गर्न युवाहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा कोशी प्रदेशका सभापति उद्वव थापाले ब्यक्ति होइन विचार बलवान हुन्छ भन्ने सी.के. प्रसाईको मान्यता र वी.पी.को विचार कांग्रेसको राजनीतिक आधार भएको बताउँदै बद्लिएको कांग्रेसलाई देशको नेतृत्वमा पु¥याउने कार्यमा भूमिका खेल्न युवाहरुलाई आग्रह गर्नुभयो । स्वतन्त्र तरिकाले आफ्नो मत प्रयोग  गर्न पाउने जनअधिकारको रक्षा गर्न पनि उहाँको आग्रह थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका तर्फबाट झापा क्षेत्र नं–२ का उम्मेद्वार सरिता प्रसाईले नेविसंघ, तरुण दल र युवाहरु पार्टीको मेरुदण्ड भएको चर्चा गर्दै आफू नेविसंघ, तरुण दलमा संगठित हुँदै पार्टी राजनीतिमा पुगेको बताउनुभयो । जेनजी पुस्ता सबै राजनीतिक दलभित्र रहेको चर्चा गर्दै उहाँले नेपाली कांग्रेसको पक्षमा डिजिटल प्रचार–प्रसार तीव्र पार्न युवाहरुलाई आग्रह गर्नुभयो ।
नेपाली कांग्रेस झापा क्षेत्र नं–२ का सभापति एवं निर्वाचन परिचालन समितिका संयोजक खगेन्द्र मैनालीले भेलाको औचित्यमाथि प्रकाश पार्दै संयमित र अनुशासित  बन्दै शान्तिपूर्ण रुपमा पार्टीका उम्मेद्वार र पार्टीको पक्षमा प्रचार–प्रसार तीब्र पार्न  युवाहरुलाई आग्रह गर्नुभयो ।
नेपाली कांग्रेस कोशी प्रदेश सदस्य रञ्जिता कार्की, मिरा खड्का, महासमिति सदस्य सिता पौडेल, नेपाली कांग्रेस झापा सचिव कृष्ण हुमागाईं, नेपाल प्रेस युनियन केन्द्रिय सचिव रेजिना गौतम, नेपाली कांग्रेस २ ख का सभापति किरण श्रेष्ठ, अर्जुनधारा नगर सभापति हेमराज खरेल, भोजराज सिटौला लगायत नेविसंघ र तरुण दलका युवाहरुको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा सहजीकरण २ नम्बर क्षेत्रीय सचिव चन्द्र चुडालले गर्नुभएको थियो ।

गौरादहमा स्मार्ट एजुकेशन, बारिस्ता एण्ड कम्प्युटर तालिमको अवसर

गौरादह/ स्थानीयस्तरमै सीप सिकेर युवा पुस्तालाई स्वरोजगार बनाउने उद्देश्यले झापाको गौरादह मा स्मार्ट एजुकेशन ( बारिस्ता एण्ड कम्युटर तालिम) सेन्टर सञ्चालमा आएको छ । गौरादह १ डि पुमा सोही ठाउँका तीन जना उद्यमी व्यवसायीहरुको संयुक्त लगानीमा सो संस्था सञ्चालनमा आएको हो । आईतबार संविधान सभा सदस्य समेत रहेका सामाजिक ठाराजनीतिक व्यक्तित्व दीपक कार्कीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रम बीच सो संस्थाको औपचारिक उदघाटन गरिएको छ । सो अवसरमा कार्कीले स्थानीयस्तरमा खुलेका यस किसिमका व्यवसायिक सीप सिकाउने संस्थाहरुले नयाँ पुस्तालाई सकारात्मक बाटोमा अघि बढाउन विशेष योगदान दिने विश्वास व्यक्त गरे । उदघाटन कार्यक्रममा गौरादह नगरपालिका प्रमुख छत्रपति सुवेदीले स्थानीय सरकारले गर्नुपर्ने काममा स्मार्ट एजुकेशनका माध्यमबाट थप सहयोग पुगेको महसुस आफूले गर्न पाएको बताए । उनले भने – युवाहरुलाई आत्मनिर्भर बनाउन व्यवसायिक सीप र समयानुकूल प्रविधिमा जोडन बारीस्ता र कम्प्युटर सम्बन्धीको तालिमले योगदान दिनेछ । कार्यक्रममा गौरादह बहुमुखी क्याम्पसका पूर्व प्रमुख तथा शैक्षिक व्यक्तित्व भोजराज दाहालले युवाहरुलाई व्यवसायिक तथा स्वरोजगारको बाटोमा अघि बढाउन स्मार्ट एजुकेशनले सहयोग पुर्याउने उल्लेख गरे । सो संस्थाका सञ्चालक मध्येका फणीन्द्र दाहालले गौरादह, कोहोबरा, बैगुन्धुरा, गौरीगन्ज लगायतका क्षेत्रबाट दैनिक यस खाले सीप सिक्न दमक बिर्तामोड सम्म धाउनु पर्ने बाध्यताका कारण आफूहरुले गौरादहमा नै यस किसिमको अवसर ल्याएको बताए। उनका अनुसार स्मार्ट एजुकेशन मा एकैपटक १५ जनाले बारिस्ता विभिन्न स्वादका कफी बनाउने र १५ जनाले कम्प्युटर सम्बन्धी कोर्षहरुको नियमित अध्ययन गर्न सक्नेछन् । शैक्षिक क्षेत्रका लगानीकर्ताहरु फणीन्द्र दाहाल, पेशल बराल र तीर्थ खतिवडाले संयुक्त लगानीमा सो संस्था स्थापना गरेका हुन् ।

शिवालय मन्दिरहरुमा दर्शनार्थीहरुको भिड

दमक/ महाशिवरात्रि पर्वको दिन आज बिहानैदेखि देशैभरका शिवालय मन्दिरहरुमा दर्शनार्थीहरुको भिड लागेको छ । देशभर श्रद्धा, भक्ति र उल्लासका साथ हिन्दु तथा किराँत धर्मावलम्बीहरुले समेत यो पर्व मनाइरहेका छन् । विशेष गरी शिवालय मन्दिरहरुमा जल चढाउने महिलाहरुको भिडभाड देखिन्छ ।
फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई भगवान् भगवान् शिव को अत्यन्त प्रिय दिनका रूपमा लिने गरिन्छ । पुराण अनुसार शिवजी प्रकट भएको रातको स्मरणमा मनाइने यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि गरी चार प्रमुख रात्रिमध्ये एक पवित्र रात्रिका रूपमा वर्णन गरिएको छ ।
यस दिनलाई विशेष गरी दुःखी, कष्टपूर्ण जीवन बिताइरहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने दिन मानिन्छ आज महाशिवरात्रि पशुपतिनाथ दर्शन गर्न साधुसन्तहरूको चहलपहल बढेको छ । मन्दिर परिसरमा साधु बाबाहरूले धुनी बालेर बसेका छन् ।

 

पार्टीको सम्पूर्ण शक्ति चुनाव जित्नेमा केन्द्रित गरौं – केन्द्रीय सदस्य भण्डारी

दमक/ नेकपा एमालेका केन्द्रीय सदस्य इन्द्र भण्डारीले चुनावको संघारमा पार्टीका आन्तरिक विवादलाई थाती राखेर एकजुट हुनुपर्ने बताएका छन् ।
दमक नगरपालिका वडा नं ६ को विस्तारित बैठकलाई शनिबार सम्बोधन गर्दै भण्डारीले यस्तो बताएका हुन् । फागुन २१ गते हुने निर्वाचनमा पार्टीको सम्पूर्ण शक्ति खर्चिनु पर्ने बताउदै भण्डारीले देश जलाउनेका विरुद्ध देश बनाउनेको प्रतिष्पर्धा एमालेले जित्नुपर्ने बताए । उनले झापा ५ ले यस अघिका निर्वाचनमा रचेको इतिहासलाई यस पटक पनि निरन्तरता दिनुपर्ने बताए । भदौ २३,२४को विध्वंसपछि देश रहने कि नरहने भन्ने अन्यौल सृजना भएकोले त्यसका लागि एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भारी मत दिएर जिताउन सम्पूर्ण कार्यकर्ता परिचालन हुनुपर्ने उनको भनाइ छ ।
बैठकले आगामी ११ गते दमकमा हुने नेसनल भोलेन्टियर्स फोर्सको प्रदेश स्तरीय कार्यक्रममा कम्तीमा १ हजार जना सहभागी गराउने निर्णय गरेको निर्वाचन परिचालन कमिटीका संयोजक डा.बुद्धिशेखर भट्टराईले जानकारी दिए ।
बैठकले निर्वाचनका दिन विभिन्न बुथ स्तरीय जिम्मेवारी विभिन्न नेताहरुलाई दिने निर्णय समेत गरेको छ ।

 

झापा गोल्डकप- मछिन्द्र फाइनल प्रवेश

बिर्तामोड/  विदेशी खेलाडी चम्किँदा मछिन्द्र फुटबल क्लबले चारपटकको झापा गोल्डकप विजेता त्रिभुवन आर्मी फुटबल क्लबलाई ४–० ले पराजित गर्दै फाइनल प्रवेश गरेको छ । मछिन्द्रका स्ट्राइकरसमेत रहेका विदेशी खेलाडी जोनाथन जोरिल्लाको ह्याट्रिक मद्दतमा मछिन्द्र फाइनल प्रवेश गरेको छ । मछिन्द्रले उपाधिका लागि सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
मछिन्द्रले खेलको चौथो मिनेटमै अग्रता लियो । मछिन्द्रका लागि जोनाथन जोरिल्लाले गोल गरे । अयोला हमजातको क्रस पासमा डिबक्समा अनमार्क रहेका जोरिल्लाले वान टचमा गोल गरेका थिए ।
खेलको २४ औँ मिनेटमा मछिन्द्रले पेनाल्टी पायो । जोरिल्लाको फ्रिकिक प्रहारमा आर्मीका खेलाडीको डिबक्समा ह्यान्डबल भएपछि मछिन्द्रले पेनाल्टी पाएको थियो । उनै जोरिल्लाले पेनाल्टीलाई सदुपयोग गर्दै अग्रता दोब्बर बनाए ।
पहिलो हाफ २–० को बराबरी भएपछि दोस्रो हाफमा आर्मी दबाबमा परेको थियो । मछिन्द्रले खेलको ५२ मिनेटमा अर्काे गोल थपेर खेलमा जित सुनिश्चित गरेको थियो । आर्मीका डिफेन्डरले क्लियर गर्न नसकेको बललाई प्रदिप बुढाथोकीले डिबक्समा पास मिलाइदिएका थिए । सो बललाई जोरिल्लाले पोष्टको दिशा दिएका थिए ।
खेलको अतिरिक्त समयमा मछिन्द्रका सब्सिच्युट खेलाडी रेजिन सुब्बाले एक गोल थपे । मैदानको मध्यभागमा पाएको बललाई आर्मीका दुई डिफेन्डरलाई बिट गरेर एकल प्रयासमा उनले गोल गरेका थिए ।
खेलको १७ औँ मिनेटमा सौरभ लिम्बु र अतिरिक्त समयममा अभिषेक स्याङतानले सदुपयोग गर्न नसक्दा गोल अन्तर बढाउने मौका गुमाएको थियो ।
मछिन्द्रसामु आर्मीको प्रदर्शन फितलो रह्यो । खेलको नवौँ मिनेटमा डिबक्समा रहेका आर्मीका नविन लामाको फ्रिहेडर बारमाथिबाट बाहिरियो । ७० औँ मिनेटमा दिनेश हेन्जनले बक्सभित्र पाएको बल सदुपयोग गर्न सकेनन् ।
खेलको प्लेयर अफ द म्याच विजेता टिम मछिन्द्रका जोनाथन जोरिल्ला घोषित भए । उनले नगद २५ हजार रुपैयाँ पुरस्कार पाए । प्रतियोगिताभरि प्लेयर अफ द म्याचको पुरस्कार अमेरिका निवासी रोशनलाल श्रेष्ठ तथा उनका साथीहरुले प्रदान गर्दै आएका छन् ।
यसैबीच, प्रतियोगितामा बिर्तामोडको महेन्द्ररत्न स्टोर्सले प्रत्येक दिन टिकट लिएर खेल हेर्ने दर्शकमध्ये एकजनालाई एकथान टेलिभिजन उपलब्ध गराउँदै आएको छ ।
त्यस्तै, पहिलो दिनदेखि फाइनल खेलसम्म टिकट लिएर एकजना दर्शकलाई यामाहाको स्कुटर प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले यामाहा कम्पनीको एउटा मोटरसाइकल प्राप्त गर्ने आयोजकले जनाएको छ ।
विधागततर्फ उत्कृष्ट कोच, हाई स्कोरर र उत्कृष्ट गोलकिपरले जनही ३५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिताको फाइनल खेल फागुन ४ गते हुनेछ ।

एमालेले जारी गर्यो अध्यक्ष ओलीलाई मत दिनै पर्ने ३० कारण

झापा/  नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई मत हाल्नै पर्ने ३० वटा कारण अघि सारेको छ । पार्टीको झापा नं- ५ क्षेत्रीय कमिटीले प्रकाशन गरेको अपिलमा राष्ट्रिय स्वाधिनताको रक्षा देखि शिक्षक दरवन्दी मिलानसम्मका विषयहरु समेटिएको छ ।

केपी शर्मा ओलीलाई नै भोट किन भन्ने शिर्षकको अपिलमा खस्किएको मनोबल उठाउनका लागि ओलीलाई जिताउनु पर्ने उल्लेख गरिएको छ । ‘देशमा छाएको त्रासको वातावरण अन्त्य गरी सबै नेपालीलाई शान्ती सुरक्षाको ग्यारेन्टी गर्नका लागि ओलीलाई मत दिनुपर्दछ’ अपिलमा भनिएको छ ‘झापा ५ मा सुरु गरिएका विकासका अधुरा योजनाहरुलाई सम्पन्न गर्नका लागि केपी ओलीलाई मत दिन अपिल गरिन्छ । ’

एमालेको अपिलमा नवयुवालाई प्राविधिक शिक्षा उपलब्ध गराइ युवामा सीपमुलक विकास गर्दै स्वरोजगारको अभिवृद्धीका लागि ओलीलाई मतदान गर्न आह्वन गरिएको छ । ओलीलाई जिताएर सुस्ताएको अर्थतन्त्र चलायमान बनाउन र कृषिक्षेत्रको विकास गरी खाद्यान्नमा आत्मनिर्भर बनाउन पनि केपी ओलीको आवश्यकता रहेकोले ओलीलाई मतदान गर्न अनुरोध गरिएको छ । निर्माणाधिन एशियन हाइ वे,मध्यपहाडी राजमार्ग,मदन भण्डारी राजमार्ग र हुलाकी सडकका अधुरो निर्माण सम्पन्न गर्नका लागि पनि ओलीलाई मतदान गर्न आहवान गरिएको छ ।

यसैगरी दमकको मुख्य आर्थिक र मानवीय स्रोतको रुपमा रहेको दमक –रवि सडक–चिसापानी सडक निर्माण सम्पन्न गरी जनताको जीवनस्तर उकास्नका लागि पनि अध्यक्ष ओलीलाई निर्वाचित गर्न माग गर्दै एमालेले अपिल जारी गरेको छ ।

‘नेपाल चीन मैत्री औद्योगिक पार्क निर्माण कार्य सम्पन्न गर्न ओलीलाई यस क्षेत्रबाट निर्वाचित गर्नुपर्दछ’ अपिलमा भनिएको छ ‘दमक,गौरादह र गौरीगञ्ज बजारलाई आधुनिकिकरण गर्दै स्मार्ट सिटीको रुपमा विकास गर्नका लागि ओललाई मतदान गर्नुपर्दछ ।’ एमालेले भूमिहिन,दलित,सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका समस्या समाधान गर्न पनि एमालेले ओलीलाई मतदान गर्नका लागि अनुरोध गरेको छ । एमालेका केन्द्रीय सदस्य दिपक कार्कीका अनुसार रतुवा,मावा,कमल लगायतका खोलाको तटबन्धन कार्य पुरा गर्नका लागि पनि ओलीलाई जिताउन आम मतदातासँग आह्वान गरिएको हो । यसैगरी दमक,गौरादह र गौरीगञ्जका सबै स्थानीय तहका अस्पतालमा सहज सेवा विस्तारका लागि पनि ओलीलाई मत दिन आहवन गरिएको कार्कीले  बताए ।

केपी ओली र झापा ५ एकअर्काका परिपुरक हुन् ’ कार्कीले  भने ‘उहाँले गरेका विकास निर्माणका काम,उहाँले प्रत्यक्ष रुपमा चिनेका मतदाता,भूमिगतकालमा बसेका सेल्टरदाताहरुसँगको सामिप्यताले उहाँले चुनाव सहजै जित्नुहुन्छ । ’ कार्कीका अनुसार पार्टीले मतदातालाई अध्यक्ष ओलीलाई स्मरण गराउनका लागि अपिल जारी गरिएको हो । ‘अपिलमा मुख्य मुख्य विषयहरु समेटिएकोले घरदैलोमा गएका पार्टीका कार्यकर्तालाई पनि मतदातालाई कुरा बुझाउन सजिलो सामग्रीको रुपमा पनि प्रयोग भएको छ ’ कार्कीले भने  ‘यस्तो अपिल परिवार संख्याका आधारमा एउटा वडामा कम्तीमा १५ सय वटा बाडिन्छन् ।’

राप्रपाको चुनावी घोषणा पत्र सार्वजनिक

काठमाडौं/ प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शनिबार चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । राप्रपाको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले ‘संकल्प पत्र’ पढेर सार्वजनिक गरेका हुन् ।
जसमा राप्रपाले सबल, समृद्ध, र समुन्नत नेपाल आफ्नो दीर्घकालीन सोच रहेको उल्लेख गर्दै दीर्घकालीन राष्ट्रिय लक्ष्यमा पुँजी निर्माण, दिगो विकास, शिक्षा–स्वास्थ्यमा निःशुल्क पहुँच, सामाजिक सुरक्षा, सामाजिक न्याय, समतामूलक समृद्धि, युवाकेन्द्रित उत्पादनमुखी र व्यापक रोजगारी भनेको छ ।
यस्तै दीर्घकालिन मार्गचित्र २०८७ सम्ममा मध्यम आयस्तर भएको मुलुक बनाउने रहेको उल्लेख गर्दै राप्रपाले दीर्घकालीन राष्ट्रिय रणनीतिमा दिगो आर्थिक वृद्धि, गुणस्तरीय स्वास्थ्य र शिक्षा, गरीबी न्यूनीकरण, प्रविधिको विकास र विस्तार, रणनीतिक दिगो पूर्वाधार, दिगो सहर तथा बस्ती विकास, रोजगारमूलक उत्पादन र उत्पादकत्व अभिवृद्धि, प्रभावकारी सार्वजनिक सेवा प्रवाह, प्राकृतिक स्रोतको उच्चतम सदुपयोग तथा संरक्षण र दिगो सामाजिक सुरक्षा सुनिश्चित गर्ने दीर्घकालीन राष्ट्रिय रणनीति अवलम्बन गर्ने बताएको छ ।
यसैगरी राप्रपाले राष्ट्रिय स्वतन्त्रता, अखण्डता, एकता, सार्वभौमिकता, प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाहरुको संरक्षण र संवर्धनको निमित्त राष्ट्रिय सुरक्षा मूलनीति बनाइनेछ संकल्प गरेको छ । वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र स्थापना गर्ने लक्ष्य राखेको राप्रपाले सबै धर्मबिच समानता र सबै धर्मलाई बराबरीको स्वतन्त्रता प्रदान गरिने उल्लेख गरेको छ । साथै जातीय भेदभाव र छुवाछुतलगायत धर्मको आधारमा कुनै पनि प्रकारको भेदभावलाई दण्डनीय बनाइने प्रतिबद्धता उसले जनाएको छ ।
सबै धर्मका बिचमा समानता र सबै धर्मलाई बराबरीको स्वतन्त्रता प्रदान गर्दै नेपालमा प्रचलित सम्पूर्ण धर्म सम्प्रदायको सम्मान संरक्षण र सम्बर्धन गर्ने दृष्टिकोण रहेको छ । राप्रपाले आफ्नो चुनावी घोषणापत्रमा भनेको छ, धर्मको आधारमा कुनै पनि प्रकारको भेदभावलाई दण्डनीय बनाइनेछ। आआफ्नो धर्म, संस्कृति, परम्परा र रीतिरिवाज बमोजिम पूजा आराधना र उपासना गर्न पाउने नागरिक अधिकारको सुनिश्चितता र संरक्षण गरिनेछ ।

राप्रपाले शासकीय स्वरूपका विषयमा निम्न बुँदा उल्लेख गरेको छ ।
–अभिभावकीय संस्थाको रुपमा राजसंस्था
–वर्तमान खर्चिलो र अस्थिर निर्वाचन प्रणालीमा व्यापक परिवर्तन र सुधार
–प्रदेशको खारेजी, केन्द्र र बलियो स्थानीय तह भएको दुई तहको शासकीय संरचना
–सर्वधर्म समभाव पूर्ण धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र
–गैरदलीय स्थानीय तह

झापा मोडलमा दोश्रो संस्करणको नमुना राष्ट्र संघ अभ्यास

दमक/ दमकस्थित झापा मोडल अंग्रेजी माविले दोस्रो संस्करणको संयुक्त राष्ट्र संघको नमुना अभ्यास सञ्चालन गरेको छ ।
दमक नगरपालिका सँगको सहकार्यमा बिद्यालयले फागुन १ देखि ३ गतेसम्म आयोजना गरेको सो कार्यक्रममा पूर्व क्षेत्रका ७ वटा विभिन्न विद्यालयबाट ११५ जना विद्यार्थी प्रतिनिधिहरू सहभागी छन् ।
त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक प्रमुख प्राध्यापक डा. गोविन्द गुरागाइँको प्रमुख आतिथ्यमा भएको उदघाटन कार्यक्रममा वर्तमान विश्व परिवेशमा युवाहरूको सक्रिय सहभागिता अपरिहार्य रहेको बताए । उनले Model United Nation जस्ता कार्यक्रमले विद्यार्थीहरूमा अनुसन्धान क्षमता, तर्कशक्ति, कूटनीतिक संवादकला तथा समस्या समाधान गर्ने दक्षता अभिवृद्धि गर्ने धारणा व्यक्त गरे ।
विद्यालयका संस्थापक अध्यक्ष जयबहादुर श्रेष्ठले कार्यक्रमको अध्यक्षता ग्रहण गर्दै युवापुस्तामा विश्वस्तरको सोच, विश्लेषण क्षमता तथा नेतृत्व कौशल विकास गर्न यस्ता कार्यक्रम अत्यन्त आवश्यक रहेको उल्लेख गरे ।
उनले विद्यार्थीहरूलाई आत्मविश्वासका साथ आफ्ना विचार प्रस्तुत गर्न र सकारात्मक परिवर्तनका वाहक बन्न प्रेरित गर्ने बताए ।
विद्यालयका प्रिन्सिपल सागर श्रेष्ठले सहभागी सम्पूर्ण विद्यालय, प्रतिनिधि विद्यार्थी तथा अतिथिहरूलाई स्वागत गर्दै Model United Nation ले पूर्वाञ्चल क्षेत्रमा शैक्षिक उत्कृष्टताको नयाँ मापदण्ड स्थापना गर्ने विश्वास व्यक्त गरे । भविष्यमा यस कार्यक्रमलाई अझ व्यापक र प्रभावकारी बनाउने उनले प्रतिबद्धता जनाए ।
दमक नगरपालिका शिक्षा समिति संयोजक एवं वडा नम्बर ९ का वडाध्यक्ष कुवेर भट्टराईको विशेष अतिथि रूपमा सहभागी भएर विद्यार्थीहरूलाई सक्रिय रूपमा भाग लिन र बहस तथा वार्ता मार्फत आत्मविश्वास विकास गर्न आग्रह गरे ।
कार्यक्रम अन्तर्गत विद्यार्थीहरूले कूटनीतिज्ञको भूमिका निर्वाह गर्दै विभिन्न देशको प्रतिनिधित्व गर्ने र वास्तविक विश्वका चुनौतीहरूमा छलफल गर्ने अवसर पाउने आयोजकको विश्वास छ । यसले सार्वजनिक बोल्ने क्षमता, अनुसन्धान, टोली कार्य र समस्या समाधान जस्ता सीप विकास गर्न मद्दत गर्दछ ।

कार्यक्रम अन्तर्गत विभिन्न अन्तर्राष्ट्रिय समिति गठन गरी विश्व शान्ति, जलवायु परिवर्तन, मानव अधिकार, विश्व अर्थतन्त्र लगायतका समसामयिक विषयहरूमा गहन छलफल गरिरहेका छन् । प्रतिनिधिहरूले विभिन्न देशको प्रतिनिधित्व गर्दै औपचारिक बहस, प्रस्ताव प्रस्तुति तथा कूटनीतिक वार्तामार्फत समाधान खोज्ने अभ्यास गरिरहेका छन्।् ।
तीन दिने यस शैक्षिक सम्मेलनले विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय कूटनीति, नेतृत्व विकास तथा समसामयिक विश्व मुद्दाहरूमा गहन छलफल गर्ने सशक्त अवसर प्रदान गर्ने विश्वास लिइएको छ । कार्यक्रमले सहभागीहरूलाई विश्व राजनीतिका जटिल विषयहरू बुझ्ने, तर्कसंगत ढंगले प्रस्तुत गर्ने तथा सहकार्यमार्फत समाधान खोज्ने अभ्यासमा अघि बढाउने जनाइएको छ । यसबाट विद्यार्थीहरूले वास्तविक संयुक्त राष्ट्र समितिहरूको सिमुलेशन अनुभव गरी सहकार्यमा निर्णय लिन सिक्ने आयोजकहरूको विश्वास छ । त्यस्तै यस किसिमका कार्यक्रमहरूले युवा विद्यार्थीहरूमा नेतृत्व, कूटनीति, र आलोचनात्मक सोच विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने छन् ।