कमलमा कुष्ठरोग अभिमुखिकरण तथा वार्षिक समीक्षा

दमक/ झापाको कमल गाउँपालिकामा स्वास्थ्य शाखा, कमल गाउँपालिकाको आयोजना तथा नेपाल कुष्ठरोग संगती (नेपाल लेप्रोसी फेडेरेसन) को सहकार्यमा कुष्ठरोग अभिमुखिकरण तथा वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा आर्थिक वर्ष २०८१÷०८२ मा सञ्चालन भएका प्रमुख गतिविधिहरूको समीक्षा गर्दै, बालबालिकामा कुष्ठरोग संक्रमण रोकथाम, समुदायमा जनचेतना अभिवृद्धि, सक्रिय बिरामी खोजी, पूर्ण उपचार व्यवस्थापन तथा कुष्ठरोग सम्बन्धी विभेद न्यूनीकरणका विषयमा विस्तृत छलफल भएको थियो । स्वास्थ्य शाखा प्रमुख, जनस्वास्थ्य निरीक्षक श्री दिपक प्रसाद दाहालले प्रस्तुत गरिएको प्रतिवेदन अनुसार गत वर्ष २१ वटा सामुदायिक विद्यालयमा अभिमुखिकरण तथा स्वैच्छिक परीक्षण कार्यक्रम सञ्चालन गरिएको थियो ।
जसबाट ६,०३२ जना विद्यार्थी (छात्र २,६५७ र छात्रा ३,३७५) लाभान्वित भएका छन्। । साथै, ३२ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको थियो । समुदाय तथा सरोकारवालालाई लक्षित गरी १६ स्थानमा अभिमुखिकरण कार्यक्रम, १५ क्लष्टरमा सक्रिय बिरामी खोजी कार्यक्रम सञ्चालन गरिएको जानकारी दिइयो ।
स्वास्थ्य शिक्षा सामग्री प्रचारप्रसार, होर्डिङ बोर्ड स्थापना, पर्चा वितरण, स्वास्थ्यकर्मी क्षमता अभिवृद्धि तालिम, जटिल बिरामीहरूको प्रेषण सेवा निशुल्क , जुत्ता वितरण, स्वयं हेरचाह तालिम तथा नियमित फलोअप भ्रमण जस्ता कार्यक्रमहरू पनि सञ्चालन भएका छन्। । कमल गाउँपालिका र स्थानीय सरकारको सहकार्यमा पुनस्र्थापना कार्यक्रम अन्तर्गत घर निर्माण र मर्मत, बाख्रा तथा सुँगुर पालन र आयआर्जन सहयोगका कार्यहरू समेत सम्पन्न भएका प्रतिवेदनमा जनाइएको छ ।


कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत केशव कुमार ढकाल, महिला बालबालिका शाखा प्रमुख रिता कार्की, कमल नगर अस्पताल मेसु डा. फुलकचन्द्र लावती अन्य कर्मचारी, अपाङ्गता समिति कमल गाउँपालिका, नेपाल लेप्रोसि फेडेरेसनका अधिकृत डिवि गुरुङ्ग तथा अन्य सरोकारवालाहरूको उपस्थितिमा कार्यक्रम सञ्चालन भएको थियो ।
अध्यक्ष राईले समीक्षा कार्यक्रममा भएका गतिविधिको प्रशंसा गर्दै, आगामी दिनमा नेपाल लेप्रोसि फेडेरेसन, कमल गाउँपालिका अपाङ्गता समिति र स्वास्थ्यकर्मीहरू मिलेर कुष्ठरोग नियन्त्रणमा अझ परिणाममुखी तथा संयमित काम गर्नुपर्नेमा जोड दिएका छन् । उनले कमल गाउँपालिकामा कुष्ठरोगलाई शून्यमा झार्ने लक्ष्य प्राप्त गर्न सबै सरोकारवालाहरूको एकजुट प्रयास आवश्यक रहेको उल्लेख गरे ।
आर्थिक वर्ष २०८२÷०८३ मा बाँकी रहेका विद्यालयहरूमा कार्यक्रम विस्तार गर्ने प्रतिबद्धता आएको स्वास्थ्य शाखा प्रमुख दाहालले जानकारी दिए ।

मोटरसाइकलबाट खसेका चौधरीलाई ट्रकले किच्दा ज्यान गयो

दमक/ इलामको सुर्याेदय नगरपालिका वडा नं ७ पाल्टाङगस्थित मेचीराजमार्गमा बिर्तामोड बाट इलाम तर्फ आउदै गरेको मोटरसाइकलमा सवार एक जनालाई ट्रकले किच्दा घटनास्थलमै मृत्यु भएको छ ।
सोमबार करिब साढे ११ बजे प्र१–०१–०१८ प १५२० नम्बरको मोटरसाइकलको पछाडी सवार विर्तामोड ५ का ५० बर्षिय मनोज चौधरीको मृत्यु भएको हो ।
मोटरसाइकलका चालक बिर्तामोड ५ बस्ने तिङ्कु साहुले ब्रेक लगाउने क्रममा लडेका चौधरीको विपरित दिशाबाट आइरहेको ट्रकले किच्दा घट्नास्थलमा मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । ट्रक चालक पाँचथर हिलिहाङ गा.पा. ७ का ३० बर्षिय हरी नारायण सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

फागुन २१ मै चुनाव हुन्छ, द्धिविधामा नपरौंः विश्वप्रकाश

झापा/ निर्वाचनको वातावरण बन्दै गएकाले दुविधामा नपर्न नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आग्रह गरेका छन्।

शर्माले भने , “निर्वाचन हुनका लागि वातावरण चाहिन्छ । अहिले वातावरण बनेको छ । निर्वाचनको विपक्षमा कोही दल थिए भने पनि अहिले उहाँहरू निर्वाचनमा सहभागी हुनुहुन्छ ।” निर्वाचन हुनका लागि अहिले बनेको अनुकूल वातावरणलाई थप अनुकूलतातर्फ लैजाने कर्तव्य राज्यको भएको उल्लेख गर्दै शर्माले निर्वाचनको वातावरणमा असर पु¥याउने आचारसंहिता विपरीतका कुनै गतिविधि नगर्न राजनीतिक दललाई आग्रह गरे ।

उपसभापति शर्माले भने, “विचार र व्यक्तित्वको प्रतिस्पर्धाको महायज्ञ हो । तसर्थ फागुन २१ कै मितिमा निर्वाचन सम्पन्न गराउन जरुरी छ ।” पत्रकारले राखेका विभिन्न जिज्ञासाको उत्तर दिने क्रममा शर्माले अहिलेको चुनावमा कुन दलले जित्ने र कुनले हार्ने भन्ने भन्दा जेनजी पुस्ताको विद्रोहपछिको विषम परिस्थितिलाई कसले देशलाई सम्हाल्ने भन्ने सवाल महत्वपूर्ण भएको बताए।

नेशनल लाइफको बार्षिकोत्सवमा सेवामुखी कार्यक्रम

दमक/ नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज आफ्नो ३९औं वार्षिकोत्सवमा सेवामुखी कार्यक्रमहरु आयोजना गरेर मनाएको छ । यसैवीच, नेशनल लाईफ इन्स्योरेन्स कम्पनी दमक शाखा कार्यालयले दमकमा आइतबार  छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेर ३९औं वार्षिकोत्सव मनाएको हो ।

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी दमक शाखाले दमक–९ अमर चोक नजिकै रहेको अनाथ बाल आश्रमका बालबालिकासंग बार्षिकोत्सव मनाएको हो । त्यहाँ, विहानी समयको भोजन राराउनुका साथै आर्थिक सहयोग समेत प्रदान गरिएको छ ।

आश्रममा संक्षिप्त कार्यक्रमको आयोजना गरेर नेशनल लाइफ इन्स्योरेन्सले सामाजिक अत्तरदायित्व वहन गर्न दमक शाखा कार्यालयसहित देशभरका शाखा कार्यालयहरुले सेवामुखि काम गरिआएको शाखा प्रमुख सुमन राईले  जानकारी दिए ।  शाखा प्रमुख राईका अनुसार अनाथ बाल आश्रममा ३० जना बालबालिकाहरु आश्रित छन् । गत वर्ष, नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले दमक–२ खरखरेमा अवस्थित मानव सेवा आश्रममा ३८औं वार्षिकोत्सव मनाइएको थियो ।

त्यस्तैं, आजै दमक शाखा कार्यालयमा जन्मोत्सवको केक काटुनुका साथै शुभकामना आदानप्रदान गरिएको थियो । सो अवसरमा विमा क्षेत्रमा लामो समयदेखि अभिकर्ताहरु र कर्मचारीहरुको सहभागिता थियो ।

बालेन्द्रले चुनावी वाचा पत्र सार्वजनिक गरे

झापा/  झापा-५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले सोमबार चुनावी घोषणापत्र (वाचापत्र) सार्वजनिक गरेका छन् ।

वाचापत्रमा उनले मुख्य ९ वटा प्रतिबद्धता जनाएका छन् । ‘थिति बसाल्ने संकल्प’ कार्यान्वयनको नेतृत्व लिने उनको दाबी छ । त्यस्तै, नेपालको संविधानले सुनिश्चित गरेका गाँस, आवास, स्वास्थ्य, शिक्षा, खानेपानी, रोजगारी, सामाजिक सुरक्षा र स्वच्छ वातावरणजस्ता आधारभूत आवश्यकता सबै नागरिकसम्म व्यावहारिक रूपमा पुर्‍याउन आवश्यक कानुन, बजेट र प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने भनेका छन् ।

राष्ट्रहितविपरीत कुनै पनि सम्झौता नगर्ने, सार्वजनिक सेवालाई चुस्तदुरुस्त बनाउन प्रभावकारी भूमिका निर्वाह गर्ने भनिएको छ । विकाससँगै प्रकृति संरक्षणमा विशेष ध्यान दिने, झापा क्षेत्र नं. ५ मा व्यवस्थित संसद् सचिवालय स्थापना गरी स्थानीय सरोकारलाई सम्बोधन गर्ने,राजनीतिलाई पेसा होइन, सेवा बनाउने उल्लेख छ ।

मतमा अभिव्यक्त नागरिकको विश्वासलाई काममा रूपान्तरण गर्ने र  राजनीति सेवा, इमानदारिता र परिणाममा आधारित हुने उनको वाचापत्रमा दाबी गरिएको छ ।

उनले निर्वाचन क्षेत्रकेन्द्रित शिक्षा, पूर्वाधार, कृषि तथा रोजगारी, महिला तथा बालबालिका, पर्यटन तथा उद्योग, खेलकुद, स्वास्थ्य, भूमि व्यवस्थापन, वातावरण, सुशासन र कला एवं संस्कृति क्षेत्रमा विभिन्न योजना सार्वजनिक गरेका छन् ।

पूर्वाञ्चल मन्टेश्वरीको बार्षिकोत्सवमा रचनात्मक कार्यक्रम

दमक/ दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी बोर्डिङ स्कुलले आफनो १४औ बार्षिकोत्सव विबिध मनोरञ्जनात्मक र सम्मान कार्यक्रमहरु गर्दै मनाएको छ । बिद्यालयले शुक्रबार आयोजित कार्यक्रममा बार्षिक परिक्षामा उत्कृष्ट बिद्यार्थीहरुलाई पुरस्कार ,शिक्षक, अभिभावकहरुलाइ सम्मान ,साँस्कृतिक तथा साङ्गितिक कार्यक्रम गरेको थियो ।
दमक नगरपालिका वडा नं ८ का वडाध्यक्ष धर्मप्रसाद दाहाल (दिपेश )को प्रमुख आतिथ्यता तथा दमक नगरपालिका शिक्षा शाखा प्रमुख प्रविण खड्काको विशेष आतिथ्यमा भएको कार्यक्रममा गत शैक्षिक सत्रमा उत्तीर्ण भएका प्ले ग्रुप देखि ७ कक्षा सम्म उत्कृष्ट नतिजा हासिल गर्ने तथा स्कुल प्रथम गर्ने बिद्यार्थीहरुलाई पुरस्कार बितरण गरिनुको साथै उत्कृष्ट अभिभावक , शिक्षक,शिक्षिका लगायतलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा बिद्यार्थीहरुले नृत्य ,नाटक ,गजल ,ंकबिता शंख फुक्ने ,ंस्वस्तिबाचन ,मादल बजाउने ,शास्त्रीय संगीत लगायतका कला प्रस्तुत गरेका थिए ।
बिद्यालयकी प्रिन्सीपल सबिता भट्टराइको अध्यक्षतामा भएको कार्यक्रममा बिद्यालयका निर्देशक माधब भटराइले कार्यक्रम संचालन गरेका थिए ।
स्कुलले बिद्यार्थीहरुको प्रतिभाहरुलाई उजागर गर्ने उद्धेश्यले यस किसिमका कार्यक्रमहरु हरेक बर्ष सञ्चालन गर्दै आएको छ ।
फराकिलो खेलमैदान आफ्नै भबन ,विभिन्न बिधिहरु मार्फत सिकाइ प्रक्रिया ं,साँस्कृतिक,शैक्षिक अवलोकन ,यातायातको सुबिधा ,डे– होस्टेलको सुबिधा, बिद्यार्थीहरुलाइ पठन ,लेखन र साँस्कृतिक कार्यक्रममा जोड दिँदै आएको छ ।

 

चुनाव सार्नुपर्ने राप्रपा अध्यक्ष लिङदेनको माग

रुपन्देही/  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको चुनावले कुनै निकास नदिने भन्दै केही समय निर्वाचन सार्नुपर्ने बताएका छन् ।

आज रुपन्देही-१ स्थित देवदहमा आयोजित चुनावी सभामा उनले राप्रपा चुनावबाट नभाग्ने तर यो निर्वाचनले कुनै निकास नदिने दावी गरे ।

चुनावअघि नै राजा, राजनीतिक दल र नवयुवासँग समझदारी गरेर निर्वाचन सार्नु पर्नेमा उनकाे जोड छ ।

‘हामीले हिजो पनि भनेका हौँ, आजपनि यो भनिरहेका छौँ, ०८४ को चुनाव ०८२ मा सारेर समाधान हुँदैन, चुनावअघि राजा, राजनीतिक दल र नवयुवासँग समझदारी गरौँ नमिलेका विषय मिलाऔँ, निषेधको राजनीति लामो समय गर्‍यौ’ उनले भने–‘अब कसैले कसैलाई निषेध गर्ने र कसैले हार्ने गरी होइन, सबैले जित्ने र देशले पनि जित्नेगरी चुनावमा जाऔँ,यसपछि भविष्यमा कसैले विद्रोह गर्नु पर्दैन भनेका छौँ । तर जबरजस्त देश चुनावमा गएको छ, प्रजातान्त्रिक पार्टी भएकाले चुनावमा गएका छौँ ।’

उनले अहिले पनि राष्ट्रिय सहमतिमा सबै दललाई आउन आग्रह गरेको बताउँदै भने-‘चुनाव केही महिनापछि सार्नका लागि प्रस्ताव गरेका छौँ ।’

उनले अहिले मतदाताले विवेक प्रयोग गरेर देश बनाउने र बचाउने व्यक्तिलाई मतदान गर्न आग्रह गरे । उनले नयाँ शक्तिका रूपमा चर्चामा आएका शक्तिले देशलाई निकास नदिने ठाेकुवा गरे ।

उनले भने-‘देश अहिले संकटमा छ, देश रहन्छ कि रहँदैन । देश बचाउने हो भने सामाजिक सञ्जालबाट प्रभावित भएर भोट दिने होइन विवेक प्रयोग गरेर देश बनाउनेलाई दिनुहोस् ।`

यो पटक पुल र बाटो बनाउने चुनाव नभएको उनले स्पष्ट पारेको थिए । मुलुक गम्भीर संकटमा रहेको भन्दै उनले देश बनाउन राप्रपालाई मत दिन अपिल गरे ।

उनले भने-‘भ्रष्टाचाररहित देश बनाउन सके बाहिर रहेका धेरै युवालाई ल्याउन सकिन्छ, वर्षौँदेखि दलहरूले भोट बैंक बनाएको सुकुम्वासी समस्या समाधान गर्न सकिन्छ, कुनै विदेशी शक्तिको सहयोग लिनु पर्दैन ।’

केही दिनअघि पूर्व राजा ज्ञानेन्द्र शाहले देशकाे मुख्य समस्या समाधान नगरी चुनावमा जान नहुने तर्क पेश गरेका थिए ।

दमकबाट भागेका एक जना थुनुवा पक्राउ

दमक/ जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकको हिरासतबाट भागेका लागूऔषध मुद्धाका एक थुनुवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक– ७ बस्ने बर्ष २४ का पुष्कर मगर रहेका छन् । इलाका प्रहरी कार्यालय दमकबाट गएको टोलीले खोजतलास गर्ने क्रममा हिजो दिउँसो १ बजे मगरलाई उनकै घरबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धानको लागि इप्रका दमकमा ल्याइएको छ ।लागूऔषध कसुर मुद्धाका आरोपी मगर भदौ २४ गते हिरासतबाट भागेका थिए ।

मेची बोर्डिङ स्कूलको ३७ औं बार्षिक कार्यक्रम

दमक/ दमक ५ स्थित मेची सेकेण्ड्री बोर्डिङ स्कूलले ३७ औं बार्षिक कार्यक्रम अन्तर्गत साँस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण गरेको छ ।

बिद्यालयले अभिभावकहरुको उल्लेखीय उपस्थितीमा शुक्रबार सो कार्यक्रम सम्पन्न गरेको हो । बिद्यालयका संस्थापक एवं व्यवस्थापज समिति अध्यक्ष शेरबहादुर भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बिद्यालयको आन्तरिक अतिरिक्त क्रियाकलापमा यो बर्ष उत्कृष्टता हासिल गर्ने दुई सय बिद्यार्थीहरुलाई पुरस्कार तथा मेडल प्रदान गरिएको छ ।


बिद्यालयका प्रिन्सीपल श्रवणकुमार पोखरेलको सभापतित्वमा सञ्चालन भएको कार्यक्रममा महिला शिक्षकहरु, बिद्यार्थीहरु र अभिभावकहरुले विभिन्न गीतमा आकर्षक नृत्य, गायन आदि कला प्रस्तुत गरेका थिए ।
बालबालिकाहरुको प्रतिभा उजागर गर्दै अतिरिक्त प्रतिभा बिकासमा योगदान दिने उद्धेश्यले बर्षेनी सञ्चालन गरिँदै आएको यस किसिमका कार्यक्रमलाई यो बर्ष पनि निरन्तरता दिइएको हो ।
सो अवसरमा बालबालिकाको शैक्षिक बिकासमा योगदान दिने गौरादह १ स्थित हेप्पी फाउण्डेशनका तिलक बिकसहित सो संस्थाकी संस्थापक जर्मनी नागरिकसहित विभिन्न व्यक्तित्वहरुलाई विशेष सम्मानसहित उपहार प्रदान गरिएको थियो । सो अवसरमा प्रमुख अतिथी भट्टराई र प्रिन्सीपल पोखरेलले उनीहरुलाई सम्मान गरे ।


सोही अवसरमा बिद्यार्थीहरुलाई बिद्यालयका सञ्चालक समिति, अभिभावक संघ लगायतका प्रतिनिधिहरु सुमित्रा प्रसाइँ, सरस्वता बराल, सुमित्रा भण्डारी दंगाल लगायतले पनि बिद्यार्थीहरुलाई मेडल हस्तान्तरण गरेका थिए । बिद्यालयका प्रिन्सीपल पोखरेलले सबैको सामुहिक प्रयासबाट मेची बोर्डिङ स्कूलले आफ्नो गौरवमय इतिहासलाई कायम राख्न सफल भएको बताउँदै आगामी दिनमा पनि निरन्तर सहयोग र सहकार्यको अपेक्षा राखिएको बताए । कार्यक्रममा अभिभावकहरुको तर्फबाट लोकनाथ सिग्देलले शुभकामना मन्तव्य राखेका थिए ।
बिद्यालयका शिक्षक होमराज खतिवडाले स्वागत मन्तव्य राखेको सो कार्यक्रम शिक्षकहरु निस्मा श्रेष्ठ, किनारा तिम्सिना र हरिभक्त सुवेदीले कार्यक्रम आलोपालो सञ्चालन गरेका थिए ।

दमकको एडभान्स हस्पिटलमा न्यूरो सेवा शुरु

दमक/  दमकमा यसअघि सामान्य सेवा दिँदै आएको एडभान्स मल्टिस्पेशालिटी हस्पिटलले नयाँ व्यवस्थापनसहित विशेषज्ञ सेवा शुरु गरेको छ ।
विर्तासिटी अस्पताल विर्तामोडले दमकमा सञ्चालनमा ल्याएको एड्भान्स मल्टिस्पेशालिटी अस्पालले न्यूरो समस्याको उपचार सम्बन्धी विशेषज्ञ सेवा विस्तार गरेको हो ।

दमक आसपासका विरामीलाई लक्षित गरेर अस्पतालले २४ सै घण्टा न्युरो सम्बन्धि विशेष स्वास्थ्य सेवा सञ्चालनमा ल्याईएको अस्पतालका सञ्चालक तथा मेडिकल डाईरेक्टर डाक्टर अनिल बस्नेतले बताए ।
अस्पतालका सञ्चालकहरुले दमक क्षेत्रमा देखिएको स्वास्थ्य समस्यालाई हल गर्न पहिलोपटक यस किसिमको विशेषज्ञ सेवा विस्तार गरिएको जनाएका छन् । अस्पतालले आफ्नो सेवाबारे सर्वसाधारणलाई जानकारी गराउने उद्धेश्यले गत बुधबार एक दिन निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर समेत सञ्चालन गरेको छ । शिविरमा हाडर्जाेनी, नशा, फिजिसियन, बाल रोग सम्बन्धी जाँच सेवा निशुल्क दिइएको थियो भने सिटी स्क्यान सेवामा २० प्रतिशत र ल्याब सेवामा ३० प्रतिशत छुट सुविधा दिइएको थियो ।

अस्पतालका मेडिकल डाइरेक्टर डा. बस्नेतका अनुसार न्यूरो सम्बन्धी समस्या भएका दमक र यस आसपासका क्षेत्रका नागरिकको सेवालाई मध्यनजर गर्दै दमकमा पहिलो पटक यस किसिमको शल्यक्रियासहितको सेवा दिन थालिएको हो ।
अब यो क्षेत्रबाट न्यूरो सेवाका लागि बाहिर जानु पर्देन हामीले एडभान्स अस्पतालमा नै यो सेवा सुचारु गरेका हौं– डा. बस्नेतले भने ।
दमकमा सरकारी , सामुदायिक र निजी अस्पतालहरुको संख्या धेरे भए पनि न्यूरो सम्बन्धिको समस्यामा बिर्तामोड, विराटनगर, सिलिगुढी लगायतका ठाउँमा रेफर गर्नुपर्ने बाध्यता थियो ।
उनले विशेषज्ञ सहित सुबिधायुक्त प्रविधिको प्रयोगबाट न्यूरो शल्यक्रिया समेत शुरु गरिएको र हाल सम्म तीन जनाले न्युरो उपचार सेवा पाइसकेका जानकारी दिए ।
बिर्तासिटी अस्पतालले करिब एक बर्ष भित्रै दमकमा आफ्नो अस्पताल पनि सञ्चालनमा ल्याउन लागेको छ । दमक ५ स्थित पाथीभरा चलचित्र भवन नजिकै सो अस्पतालका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणाधिन अवस्थामा छ ।
सो अस्पताल सञ्चालनमा आएपछि यहाँ एमआरआइ सेवासहित गुणस्तरिय सेवा दिने लक्ष्य लिइएको अस्पतालले जनाएको छ । विर्तामोडस्थित विर्तासिटी २०७० सालदेखि सञ्चालनमा छ ।