अमेरिकी सेनाका डेपुटी कमाण्डर भोवेल नेपाल आउँदै

काठमाडौं/ अमेरिकी सेनाका डेपुटी कमाण्डिङ जनरल जोयल भोवेल आज काठमाडौं आउँदैछन् ।
युएस आर्मी प्यासिफिकका भोवेल आज भुटान हुँदै नेपाल आउन लागेको नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले जानकारी दिए । उनी नेपालमा तीन दिन बस्ने प्रवक्ता बस्नेतको भनाइ छ ।
यसअघि फागुन १ गते युएस इण्डो प्यासिफिक कमाण्डका जनरल सामुयल जे पापारो आएका थिए ।

उनले त्यसबेला परराष्ट्रमन्त्री बालानन्द शर्मा र प्रधान सेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गरेर पाँचखालस्थित तालिम केन्द्रको अवलोकन गरेका थिए । भोवेलले पाँचखालस्थित शान्ति निर्देशनालयको पनि भ्रमण गर्ने कार्यक्रम छ ।
भ्रमणका क्रममा भोवेलले प्रधानसेनापति सिग्देललगायत उच्च अधिकारीहरुसँग भेट गर्ने छन्। उनले यसअघि नयाँ दिल्लीमा भारतीय सेना प्रमुखसँग भेटवार्ता गरिसकेका छन् ।
भदौ २३ गतेको जेन जी प्रदर्शन, भोलिपल्टको विध्वंशपछि गठित सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारसँगै हालैको निर्वाचनपछि गठन हुन लागेको रास्वपा नेतृत्वको नयाँ सरकारअघि हुन लागेको अमेरिकी जर्नेलको भ्रमणलाई राजनीतिक र कूटनीतिक वृत्तमा अर्थपूर्ण रुपमा हेरिएको छ ।

छुरा प्रहारको घटनामा दुई जना पक्राउ

बिर्तामोड/ झापाको बिर्तामोडमा एक होटल कामदारमाथि छुरा प्रहार भएको छ। बिर्तामोड नगरपालिका वडा नं. १ स्थित बिर्तासिटी अस्पताल नजिकै सञ्चालित ‘सस्तो होटल’ मा कार्यरत १८ वर्षीय अभिषेक लिम्बूमाथि हिजो साँझ ६ बजे छुरा प्रहार भएको हो। दमक–७ स्थायी ठेगाना भएका लिम्बू सोही होटलमा काम गर्दै आएका थिए।

घटनाको विवरण अनुसार, ‘मेरो दिदीसँग किन बोलिस्?’ भन्दै विवाद गरी उनीमाथि तरकारी काट्ने छुरा प्रहार गरिएको थियो।

छुरा प्रहारबाट लिम्बूको बायाँ खुट्टाको तिघ्राको पछिल्लो भागमा चोट लागेको छ। घाइते लिम्बूको हाल बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

छुरा प्रहार गरी फरार भएका दुई जनालाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा मेचीनगर–१० बस्ने ३१ वर्षीय धिरज गुरुङ र १७ वर्षीय विशाल चौधरी रहेका छन्। उनीहरूलाई बिर्तामोड–१ स्थित बाल्मीकि स्कुल नजिकै लुकिछिपी बसिरहेको अवस्थामा फेला पारिएको हो। पक्राउ परेका दुवैमाथि थप अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाइएको छ।

दमकमा बिद्यालयस्तरीय कविता प्रतियोगिता

दमक/ झापाको दमकमा विद्यालय स्तरीय कविता प्रतियोगिता गरिएको छ । शनिबार दमक प्रज्ञा प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा मावि र आधारभूत स्तरीय प्रतियोगिता भएको हो ।
प्रतियोगितामा मावि तर्फ कक्षा ११ का अभिमन्यु चापागाँई प्रथम, सुम्निमा राई द्वितीय, प्रिपेश श्रेष्ठ तृतीय भएका छन् ।
यस्तै बसन्त शिशिर र इशान केरुङ सान्तवनाबाट पुरस्कृत भएका छन् । यस्तै आधारभूत तह तर्फ चर्चित नेपाल प्रथम, तृष्णा नेपाल द्वितीय र कृपा कार्की तृतीय भएका छन् ।
आधारभूत तर्फ सान्तवनामा हाङमा लिम्बु र चन्द्रकला शंकर छनौट भएका छन् ।
नगरका विभिन्न विधालबाट सहभागी ३२ जना विद्यार्थीहरु मध्ये विजेतालाई नगद र ट्रफीबाट दमक नगरपालिकाका कार्यबाहक नगर प्रमुख भिम पौडेलले पुरस्कार प्रदान गरेका छन् ।
दमक प्रज्ञा प्रतिष्ठानका अध्यक्ष मोहन भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानकी सदस्य सुमित्रा वाङदेल चेलीले यस्ता कार्यक्रमले भावी दिनमा सभ्य समाज निर्माणमा टेवा पुग्ने बताइन् । कार्यक्रम धनकुटे कान्छाले सञ्चालन गरेका थिए ।

 

खगेन्द्र पदमा रत्न छात्रवृत्ति कोषबाट १८ बिद्यार्थी पुरस्कृत

दमक/ दमक– १० मा रहेको सिंहदेवी माध्यमिक बिद्यालयका १८ जना बिद्यार्थी लाई स्वर्गीय खगेन्द्र प्रसाद पदमा रत्न छात्रवृत्ति कोषबाट पुरस्कृत गरिएको छ ।
कोषका दाता स्वर्गीय खगेन्द्र प्रसाद न्यौपानेको जन्मदिनको अवसर पारेर बिद्यालयमा आयोजित एक कार्यक्रमबीच सो पुरस्कार बितरण गरिएको हो ।
आर्थिक अभावले अध्ययनबाट कुनै पनि बालबालिक बञ्चित हुनुनपरोस भन्ने आफ्नो बुबाको ईच्छा अनुरुप बिगत केही बर्षयताबाट पुरस्कार बितरण गरिदै आएको दाता परिवारका सदस्य तथा सोही बिद्यालयका पूर्व शिक्षक समेत रहेका डम्बरुबल्लभ न्यौपानेले जनाएका छन् ।
धेरै दाताहरुले स्थापना गरेको आर्थिक कोषले बिद्यालयको शैक्षिक गुणस्तर सुधार सहयोग पुगेको प्रधानाध्यापक सोमनाथ बरालले बताए ।
गत बर्षको एसइइ परिक्षामा उत्कृष्ट अन्क ल्याउने एक जना समेत गरि कक्षा ११ र १२ मा अध्यायनरत १८ जना बिद्यार्थी सो कोषबाट पुरस्कृत भएका हुन् ।
प्राज्ञ बेद बिज्ञान अध्यायन अनुसन्धान केन्द्र दमकका संचालक प्राध्यापक मोहन प्रसाद भण्डारीको प्रमुख उपस्थितीमा भएको पुरस्कार बितरण कार्यक्रममा दमक वडा नम्बर १० का वडा अध्यक्ष राजेन्द्र प्रसाद भण्डारी, दमक नगरपलिका शिक्षा शाखा प्रमुख प्रवीण खडकाको समेत विशेष उपस्थिति रहेको थियो ।
बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष डिल्लीप्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा ब्यबस्थापन समितिका पुर्वाअध्यक्षहरु देबीप्रसाद दाहाल, बोधराज न्यौपाने, उमानाथ न्यौपाने शिक्षक अभिभावक संघका अध्यक्ष नगेन्द्रमणी न्यौपाने लगायतको उपस्थिती रहेको थियो ।
२०६७ सालमा स्थापना भएको स्वर्गीय खगेन्द्र प्रसाद पदमा रत्न छात्रबृती कोषले हरेक बर्षको फागुन २८ गते शिक्षा प्रेमी सामाजिक ब्याक्तित्व स्वर्गीय खगेन्द्र प्रासाद न्यौपानेको जन्मदिन पारेर सिंहदेवी माबिका बिद्यार्थीहरुलाई पुरस्कार बितरण गर्दै आएको छ ।
२०२५ सालमा स्थापना भएको यस बिद्यालयमा हाल ५ सयको हाराहारीमा बिद्यार्थीहरु अध्ययरत रहेका बिद्यालय प्रशासनले जनाएको छ ।

उद्योग वाणिज्य महासंघको चुनावी दौडाहमा गोकूल श्रेष्ठ

दमक/झापा दमकका उद्योगी व्यवसायी नेता गोकूल श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघको यही चैतको अन्तिम साता हुने निर्वाचनमा केन्द्रिय कार्यकारिणी सदस्य पदका लागि चुनावी दौडाहामा व्यस्त छन् ।

महासंघको वर्तमान केन्द्रिय कार्यकारिणी सदस्यमा समेत लोकप्रिय मतसहित निर्वाचित रहेर सफल नेतृत्व गरेका श्रेष्ठ अञ्जन श्रेष्ठ नेतृत्वको प्यानलबाट यसपटक पनि उम्मेदवारका रुपमा चुनावी मैदानमा उत्रिएका हुन् ।
श्रेष्ठलाई दमक उद्योग वाणिज्य संघले केन्द्रिय सदस्यको उम्मेदवारका रुपमा प्रस्तुत गरेर देशव्यापी चुनावी दौडाहामा निस्किएको संघका अध्यक्ष गोपाल गुरागाइँले जानकारी दिए ।


उम्मेदवारका रुपमा रहेका श्रेष्ठ आफ्नो टिमसहित यतिबेला पश्चीम नेपालका विभिन्न जिल्लामा रहेका वाणिज्य संघका नेतृत्व पक्तिंहरुसँग भेटघाट र अन्तरक्रियामा रहेका छन् ।  सो क्रममा सुर्खेत, दोलखा, तनहुँ, काँस्की, चितवन लगायत विभिन्न जिल्लामा उद्योग वाणिज्य संघका नेतृत्वकर्ता उद्योगी व्यवसायीहरुसँग साक्षात्कार गर्दै अनुभवन आदनप्रदानसहित निजी क्षेत्रका बिषयमा अन्तरसंवाद गरिएको अध्यक्ष गुरागाइँले जानकारी दिए ।
श्रेष्ठ यस अघि दमक उद्योग वाणिज्य संघको अध्यक्षका रुपमा समेत रहेर जिम्मेवारी निर्वाह गरेका व्यक्तित्व हुन् । व्यवसायीहरुमाझ देशैभर लोकप्रियता हासिल गरेर कुशल नेतृत्व दिएका श्रेष्ठको उम्मेदवारीलाई वाणिज्य संघका नेतृत्व पक्तिंले उत्साहपूर्ण समर्थन र ऐक्यबद्धता जनाइरहेका छन् ।

विश्वको सैन्य द्धन्द्ध , हजारौं नेपाली असुरक्षित, अर्थतन्त्र प्रभावित

विश्वका विभिन्न क्षेत्रमा पछिल्लो समय सैन्य द्वन्द्व, आतंकवादी आक्रमण र राजनीतिक अस्थिरता बढ्दै गएको देखिन्छ ।
विशेषगरी मध्यपूर्व, दक्षिण एशिया र अफ्रिकामा भएका हालसालैका घटनाले अन्तर्राष्ट्रिय सुरक्षा अवस्थालाई थप जटिल बनाएको छ । यी घटनाहरूले विदेशमा काम तथा अध्ययन गरिरहेका लाखौँ नेपाली नागरिकको सुरक्षाबारे पनि चिन्ता बढाएको छ ।

सबैभन्दा ठूलो चिन्ता मध्यपूर्व क्षेत्रमा देखिएको तनाव हो । हाल अमेरिका–इजरायल र इरानबीच बढेको सैन्य द्वन्द्वका कारण खाडी क्षेत्रका धेरै देशहरू प्रभावित भएका छन्। इरानले प्रतिआक्रमणस्वरूप कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स, बहराइन र इराकका केही स्थानमा ड्रोन तथा मिसाइल आक्रमण गरेको बताइएको छ। यसले तेल प्रशोधन केन्द्र, विमानस्थल तथा आवासीय क्षेत्रमा समेत प्रभाव पारेको छ। यस क्षेत्र नेपाली श्रमिकहरूको प्रमुख गन्तव्य भएकाले यसको प्रत्यक्ष प्रभाव नेपाली समुदायमा परेको छ ।
सरकारी तथ्याङ्क अनुसार संयुक्त अरब इमिरेट्समा करिब ७ लाख, साउदी अरबमा ३८४ हजार, कतारमा ३६० हजार, कुवेतमा १ लाख ७५ हजार, बहराइनमा ३० हजार र ओमानमा २५ हजार नेपाली कामदार कार्यरत छन्।
यी देशहरूमा गरी करिब १७ लाखभन्दा बढी नेपाली बसोबास गरिरहेका छन् र हालको युद्धको सम्भावित असरका कारण उनीहरूमा त्रासको वातावरण रहेको बताइएको छ ।
हालै भएको द्वन्द्वकै क्रममा अबुधाबी अन्तर्राष्ट्रिय विमानस्थल नजिकको सुरक्षा कारबाहीमा एक नेपाली युवकको मृत्यु भएको पुष्टि पनि भएको छ ।
यसैबीच नेपाल सरकारले जोखिम क्षेत्रमा रहेका नेपालीहरूको विवरण सङ्कलन गर्न ‘रेस्क्यु ट्र्याकिङ सिस्टम’ सुरु गरेको छ जसमा बुधबार (२७ फागुन ) सम्ममा पाँच हजार नेपालीले आफ्नो जानकारी अद्यावधिक गरेका परराष्ट्र मन्त्रालयले जनाएको छ ।

दक्षिण एशियामा पनि सुरक्षा चुनौती कम छैन । पाकिस्तानको इस्लामाबादमा फेब्रुअरी २०२६ मा भएको आत्मघाती बम आक्रमणमा ३० भन्दा बढी मानिसको मृत्यु भएको थियो भने सयौँ घाइते भएका थिए ।
यसअघि पाकिस्तानको बाजौर क्षेत्रमा भएको आत्मघाती कार बम विस्फोट तथा सशस्त्र आक्रमणमा पनि सुरक्षाकर्मी र सर्वसाधारण मारिएका थिए । यस्ता घटनाले दक्षिण एशियामा आतंकवादी गतिविधि अझै सक्रिय रहेको संकेत गर्छ ।
त्यसैगरी अफ्रिकाको नाइजेरियामा इस्लामिक स्टेटसँग सम्बन्धित विद्रोही समूहले हालैका दिनमा गरेको आक्रमणमा दर्जनौँ सैनिक मारिएका छन् र सयौँ सर्वसाधारण अपहरणमा परेका छन् । यसले विश्वका विभिन्न क्षेत्रमा आतंकवादी हिंसा अझै गम्भीर चुनौतीका रूपमा रहेको देखाउँछ ।

विश्लेषकहरूका अनुसार विश्वव्यापी द्वन्द्व र आक्रमणका घटनाले नेपालजस्तो श्रम आप्रवासनमा निर्भर देशलाई प्रत्यक्ष र अप्रत्यक्ष असर पार्छ । खाडी क्षेत्रमा सुरक्षा जोखिम बढ्दा नेपाली श्रमिकहरूको रोजगारी, आय र सुरक्षित बसोबासमा समस्या आउन सक्छ ।
साथै युद्धका कारण तेलको मूल्य, अन्तर्राष्ट्रिय व्यापार तथा आपूर्ति शृंखलामा आउने अवरोधले नेपालको अर्थतन्त्रमा समेत प्रभाव पार्ने सम्भावना रहेको छ ।
यस सन्दर्भमा नेपाल सरकारले जोखिमयुक्त क्षेत्रका नेपालीहरूको सुरक्षालाई प्राथमिकता दिँदै दूतावासमार्फत नियमित सूचना प्रवाह, उद्धार योजना तथा कूटनीतिक पहललाई सक्रिय बनाउनु आवश्यक देखिन्छ ।
साथै वैदेशिक रोजगारीको विविधीकरण र सुरक्षित श्रम गन्तव्यको खोजी पनि दीर्घकालीन समाधानका रूपमा महत्वपूर्ण मानिन्छ ।

 

पाँच हजार नेपाली असुरक्षित – परराष्ट्र

काठमाडौं/ मध्यपूर्वमा बढ्दो तनावकाबीच ५ हजार नेपाली नागरिकले आफू असुरक्षित रहेको जानकारी सरकारी संयन्त्रमा टिपाएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बुधवार मन्त्रालयले प्रेस ब्रिफिङको आयोजना गर्दै सो जानकारी गराएको हो ।  ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले पश्चिम एशियामा नेपाली नागरिकहरूको अवस्था अद्यावधिक विवरण संकलनका लागि कन्सुलर सेवा विभागले सञ्चालनमा ल्याएको अनलाइन दर्ता प्रणालीमा ५ हजार बढी नागरिकले आफ्नो अवस्था असुरक्षित रहेको जानकारी गराएको उल्लेख गरे ।

यद्यपि पछिल्लो समयमा विवरण अद्यावधिक गर्दै केहीले आफू सुरक्षित रहेको जानकारी समेत गराइसकेको उनको भनाइ छ । असुरक्षित रहेका नागरिकहरूको सुरक्षाका लागि विदेशस्थित नियोगहरूसँग आवश्यक समन्वय भइरहेको समेत क्षेत्रीको भनाइ छ । बढ्दो तनावका कारण समस्यामा परेका नागरिकको सुरक्षाका लागि सरकारले गम्भीरतापूर्वक काम गरिरहेको उनको भनाइ छ ।

उनले भने ‘५ हजार जनाले आफू असुरक्षित रहेको जानकारी गराउनुभएको छ । पछिल्लो समयमा भने असुरक्षित रहनेको संख्या कम हुँदै गएको छ । अहिले उहाँहरूले नै अपडेट गरेर सुरक्षित रहेको बताउनुभएको छ । ट्रान्जिटमा रहेका नेपाली नागरिकहरूले अझ बढी असुरक्षित रहेको जानकारी गराउनुभएको हो । उहाँहरूको सुरक्षा तथा उद्धारका लागि सरकार लागि परेको छ ।’

उनले मध्यपूर्वमा बढ्दो तनावको विषयमा अध्ययन गरी सरकारलाई सिफारिस गर्न गठित इमरजेन्सी रिस्पोन्स टिमले कार्यसम्पादन जारी राखेको जानकारी समेत गराए ।

समानुपातिक तर्फको गणना सकियो, सिट बाँडफाँड यस्तो हुनेछ

काठमाडौं/ प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फको मतगणना सकिएको छ । यस अनुसार १ करोड ७ लाख ३९ हजार ११५ मत सदर भएको देखिएको छ । यो मतका आधारमा ११० समानुपातिक सिटको बाँडफाँट हुनेछ ।
समानुपातिक निर्वाचन प्रणाली अनुसार सिट बाँडफाँट गर्न प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनमा विधि निर्धारण गरिएको छ ।
यस अनुसार सुरुमा सबै दलले प्राप्त गरेको मतलाई जोडेर कुल सदर मत निकालिन्छ । त्यसपछि प्रत्येक दलले प्राप्त गरेको मत कुल सदर मतको कति प्रतिशत छ भनेर गणना गरिन्छ । यसपटक समानुपातिकतर्फको अन्तिम मतगणना १ करोड ७ लाख ३९ हजार ११५ रहेको मध्ये विभिन्न दलले निम्नानुसार मत प्राप्त गरेका छन् ।
रास्वपा – ५१३९२३५ (४७.८६ प्रतिशत)
कांग्रेस- १७४९५८३ (१६.२९ प्रतिशत)
एमाले-१४४८८५४ (१३.४९ प्रतिशत)
नेकपा- ८०५७७३ (७.५० प्रतिशत)
श्रम संस्कृति- ३७८६४९ (३.५३ प्रतिशत)
राप्रपा- ३२९४७२ (३.०७ प्रतिशत)
थ्रेसहोल्ड भन्दा कम
जसपा- १७४३१७ (१.६२ प्रतिशत)
जनमत-७८९७३ (०.७३ प्रतिशत)
अरु दलहरूको पनि योभन्दा कम मत प्राप्त भएको छ । जुन यहाँ उल्लेख गरिएको छैन ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐनले कुल सदर मतको ३ प्रतिशतभन्दा कम मत ल्याउनेलाई समानुपातिक सिट बाँडफाँट नगर्ने गरी थ्रेसहोल्ड निर्धारण गरेको छ । यस अनुसार ती दललाई प्राप्त सदर मत सिट बाँडफाँट प्रक्रियामा समावेश हुँदैन । समानुपातिकतर्फको अन्तिम मत परिणामका आधारमा ६ वटा दलले ३ प्रतिशत वा त्योभन्दा धेरै मत प्राप्त गरेको देखिन्छ ।
सातौँ नम्बरमा रहेको जसपा र त्यसभन्दा थोरै मत प्राप्त गर्ने दलको त्योभन्दा कम प्रतिशत हुन आउँछ । त्यसैले ६ वटा दलले प्राप्त मतलाई मात्रै यो बाँडफाँटका लागि गणना गरिन्छ ।
अब तीन प्रतिशत मत कटाउने ६ दलले पाएको कुल मत जोडौँ । यो ९८ लाख ५१ हजार ५६६ हुन आउँछ । यो मतलाई कुल समानुपातिक निर्वाचनको कुल सिट संख्या ११० ले भाग गर्दा ८९ हजार ५६० मत हुन आउँछ । यसरी आउने अंकलाई ‘भाजक’ भनिन्छ ।
अब प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनले व्यवस्था गरे अनुसार ‘परिणाम विभाजक सूत्र’ प्रयोग गरेर प्रत्येक दलले प्राप्त गरेको सिट बाँडफाँट गरिन्छ । पहिलो चरणमा सम्बन्धित दलले पाएको मतलाई भाजकले भाग गरेर पहिलो चरणको सिट संख्या निर्धारण गरिन्छ ।
यहाँ रास्वपाले पाएको ५१,३९,२३५ मतलाई भाजक (८९५६०) ले भाग गर्दा ५७.३६ आउँछ । यस अनुसार पहिलो चरणमा रास्वपाले ५७ सिट प्राप्त गर्छ भने ३४,३१५ मत बाँकी रहन्छ । त्यसैगरी, कांग्रेसले पाएको १७,४९,५८३ मतले उल्लेखित भाजक अनुसार १९ सिट प्राप्त गरी ४७,९४३ मत बाँकी रहन्छ ।
एमालेले पाएको १४,४८,८५४ मतले सोही भाजक अनुसार १६ सिट प्राप्त गरी १५,८९४ मत बाँकी रहन्छ ।

नेकपाले पाएको ८,०५,७७३ मतले भाजकले भाग गरेर हेर्दा ८ सिट प्राप्त गरी ८९,२९३ मत बाँकी हुन्छ ।
श्रम संस्कृति पार्टीको ३,७८,६४९ मतलाई भाजकले भाग गरेर हेर्दा ४ सिट प्राप्त गरी २०,४०९ मत बाँकी हुन्छ । राप्रपाको ३,२९,४७२ मतलाई भाजकले भाग गरेर हेर्दा ३ सिट प्राप्त गरी ६०,७९२ मत बाँकी हुन्छ ।
अब दलहरूले पहिलो चरणमा प्राप्त गरेको सिट जोडौँ ।
यसो गर्दा १०७ सिट हुन आउँछ । ११० मध्ये बाँकी ३ सिटलाई जुन दलको धेरै मत बाँकी रहेको छ त्यसमा मध्ये पहिलो क्रमबाट एकरएक सिट बाँडफाँट गर्दै जाने व्यवस्था छ ।
यहाँ बाँकी ३ सिटमध्ये नेकपा, राप्रपा र कांग्रेसलाई १÷१ सिट थपिने देखिन्छ । यस अनुसार समानुपातिकतर्फ रास्वपाले ५७ सिट, कांग्रेसले २० सिट, एमालेको १६ सिट, नेकपाको ९ सिट तथा श्रम संस्कृति र राप्रपाको ४÷४ सिट प्राप्त गर्ने देखिन्छ ।
यो परिणाम प्राप्त मतको आधारमा हो । अन्तिमसम्मको मतगणनाले यसमा केही फरक पार्नसक्ने सम्भावना कायम भए पनि प्राप्त मतको प्रवृत्ति हेर्दा यही सिट संख्या कायम हुने सम्भावना बढी छ ।
अनुसार आगामी संसदमा, रास्वपाको १२५ं५७.१८२ सिट, कांग्रेसको १८ं२०.३८ सिट, एमालेको ९ं१६.२५ सिट, नेकपाको ८ं९.१७ सिट, श्रम संस्कृतिको ३ं४.७ सिट र राप्रपाको १ं४.५ सिट आउने देखिन्छ ।
प्रतिनिधिसभामा रहेको २७५ सदस्यमध्ये दुई तिहाइ पुग्न १८४ सिट चाहिन्छ । अहिले १८२ सिट पाएको रास्वपालाई दुई तिहाइ पुग्न २ सिट अपुग हुने देखिन्छ । source – ratopati

 

लामिछानेको मुद्धामा सुनुवाइँ हुँदै

काठमाडौं/ रास्वपा सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिने सम्बन्धमा महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिटमाथि आज (बुधबार) सर्वोच्च अदालतमा सुनुवाई भइरहेको छ ।

महान्यायाधिवक्ता कार्यालय, नेपाल सरकार र लामिछानेविरुद्ध परेका विभिन्न तीनवटा रिटमाथिको सुनुवाई बरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको बेञ्चमा परेको छ ।

महान्यायाधिवक्ता कार्यालयले रवि लामिछानेविरुद्ध विभिन्न अदालतमा परेका संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाहरुको अभियोजन संशोधन गर्ने निर्णय गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको हो ।

महान्यायाधिवक्ता कार्यालयले रवि लामिछानेपछि हाल फरार अवस्थामा रहेका जीवी राईको अभियोजनसमेत फिर्ता लिने निर्णय गरिसकेको छ ।

अदालतले रिटलाई प्राथमिकतामा राखेर पेशीको पहिलो सूचीमा राखेको छ ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता नभएर रवि लामिछानेले सांसदको सपथ खान नपाउने चर्चा चलिरहेका बेला सर्वोच्च अदालतले बुधबार यो रिट पेशीमा चढाएको हो । source- jusnepal

लायन्स क्लबले गर्यो १११ जना महिलालाई सम्मान

काठमाडौं/ अन्तर्राष्ट्रिय नारी दिवस – २०२६’ को अवसरमा मार्च ८ मा पाटन संग्रहालयमा लायन्स क्लब अफ काठमाडौं ब्लडहुडको आयोजनामा ११ जना महिलाहरुलाई बिशेष सम्मान गरिएको छ। साथै लायन्स अन्तर्राष्ट्रिय सँग सहकार्य गरि सामाजिक कार्य गर्नु हुने  १०० जना स्वयंसेवक महिलाहरु तथा महिला निर्वाचन प्रहरी र नेपाल प्रहरीलाई पनि सम्मान गरिएको छ। संस्थापक अध्यक्ष लायन् राजिब श्रेष्ठको सभापतित्वमा बिशेष १११ जना महिलाहरुलाई सम्मान गरिएको हो ।

११६ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर भवानी राणाको प्रमुख आतिथ्यमा सो कार्यक्रम आयोजना गरिएको हो भने बिगत बर्षमा महिला बाइक र्याली आयोजना गर्दै आएको थियो। हालको बर्ष प्रतिनिधि सभा चुनाब र सुरक्षा ढृष्टिकोणले  महिला बाइक र्याली गर्न नसकिएको संस्थाको संस्थापक अध्यक्ष लायन् राजिब श्रेष्ठले जानकारी गराए।

संस्थाको ब्रान्ड एम्बेशडर लायन् युवा मगरले मिस लायन् पेजेन्ट आउँदो अगष्ट महिनामा आयोजना गरिने र सोको समुद्घाटन र सहभागिताको लागि दरखास्त खुलेको अन्तराष्ट्रिय नारी दिवसको अवसरमा जानकारी गराइएका छन्।
साथै पुर्ब कुमारी चनिरा बज्राचार्यको बिशेष आतिथ्यमा आयोजित सो कार्यक्रममा कुमारीको आशनमा बसिराख्दा र हाल साधारण जीवन यापन गरिराख्दाको आफनो अनुभव उपस्थित सम्पूर्ण सहभागीहरु बीच सुनाउनु भएको थियो। साथै सञ्चारकर्मी माल्भिका सुब्बाको पनि बिशेष आतिथ्यमा सम्पन्न सो कार्यक्रममा आफ्नो संघर्षको कथा सुनाउँदै उपस्थित महिलाहरु माँझ अन्तर्राष्ट्रिय नारी दिवशको शुभकामना ब्यक्त गरेका छन् ।

संस्थाका सल्लाहकार र भुतपुर्ब डिस्ट्रिक गर्भनर लायन् निरा बज्राचार्यले बिशेष पिनले लायन् युषा मगर, लायन् अम्रिता लामा, संस्थाको पहिलो महिला लायन् सुशिला श्रेष्ठलाई बिशेष सम्मान गर्दै संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना दिएका छन ।

लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ के नेपालका क्याबिनेट सेक्रेटरी लायन् त्रिजा ढकालले डिस्ट्रिकको प्रतिनिधित्व गर्दै कबिता मार्फत आफ्नो शुभकामना मन्तव्य दिएका थिए। साथै संस्थाको आगामी दिनको कार्य योजनालाई शुभकामना दिंदै Miss Lions International Pageant  को लागि डिस्ट्रिकको सधै साथ र ब्लडहुडको हरेक कार्यक्रममा सत् प्रतिशत साथ रहने जानकारी गराएका थिए।

लियो अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ के नेपालका डिस्ट्रिक प्रेसिडेन्ट लियो प्रतिभा श्रेष्ठले आफ्नो शुभकामना मन्तव्यमा सम्पूर्ण महिला माझ महिला दिवसको महत्व बारे केहि अनुभव साटेका थिए।

कार्यक्रममा बिशेष सांगीतिक प्रस्तुती नेपाल आइडल गङ्गा सोनामको रहेको थियो। “सर्वनाम” नाटक घरको बिशेष नाटक प्रदर्शन गरिएको थियो। साथै अन्तर्राष्ट्रिय कराँते खेलाडी बबिता कार्कि र पुजा खड्कालाई नगद पुरस्कार सहित संस्थाको संस्थापक अध्यक्ष राजिब श्रेष्ठ ले सम्मान गरेका थिए।

लायन्स क्लब अफ काठमाडौँ ब्लडहुडका उपाध्यक्ष लायन् अम्रिता लामाले लायन्स क्लब अफ काठमाडौँ ब्लडहुडले बिगतको दिनमा रक्तदान कार्यक्रममा जोड दिइएको थियो र हाल आएर रक्तदाता उत्प्रेरणा हुने कार्यक्रमहरु गर्दै आएको जानकारी गराउनु भयो। ब्लड डोर्नस सोसाइटी नेपाल काठमाडौं जिल्लाको उपाध्यक्ष समेत रहनु भएको लामा बिगतको दिनमा झै आगामी दिनमा समेत रक्तदान क्षेत्रमा यो संस्थाले सहकार्य गरी अघि बढ्ने कुरा सभामा जानकारी गराए ।

सो कार्यक्रममा लायन्स का अग्रज त्रिजा ढकाल,सुधा थापा, सैलेन्द्र दाहाल, लक्ष्मी थापा,  लायन्स क्लब अफ काठमाडौं ग्रिन टाउनका धुर्ब प्रसाद घिमिरे, जे.बी अधिकारी, लायन्स क्लब अफ काठमाडौं सेक्रेड भ्यालीका संस्थापक अध्यक्ष लायन् मचाकाजी महर्जन, लियो क्लब अफ काठमाडौं ब्लडहुडका संस्थापक अध्यक्ष हिना सिंह को पनि उपस्थिती रहेको थियो।

सो सम्मान कार्यक्रम सँगै रक्तदान कार्यक्रम र आँखा जाँच शिविर पनि लायन्स क्लब अफ काठमाण्डू ब्लड हुड र ग्रिनटाउनको सहकार्यमा पाटनको मंगलबजारमा रक्तदान कार्यक्रम ’  सम्पन्न भएको छ । उक्त कार्यक्रममा १ जना महिला रक्तदाता तथा ६ जना पुरुष रक्तदाताले रक्तदान गरेका छन् । जम्मा ७ जनाले रक्तदान गरेको सो कार्यक्रममा बिभिन्न संघ संस्थाबाट प्रतिनिधि तथा स्थानियहरुको  उल्लेखनीय सहभागिता रहेको थियो।