गाडी कुदाउँदा कुदाउँदै अस्ताए चालक धिमाल

कमल / गुडिरहेको स्कारपियोका चालकले अकस्मात विस्तारै गाडी सडकको किनारमा बिसाउँछन । अलि अप्ठ्यारो भएको संकेत गर्दै बेहोस हुन्छन । हत्तपत्त उनलाई अस्पताल लगिन्छ तर चिकित्सकहरुले तत्कालै मृत घोषणा गर्छन । पढ्दा वा सुन्दा कुनै फिल्मको कहानी जस्तो लाग्ने यो घट्ना हिजो बिहिबार साँझ साढे ६ बजेको हो ।
झापाको कमल गाउँपालिका–५ सितापुरीचोकस्थित पूर्व–पश्चिम राजमार्गमा बिहीबार साँझ करिब ६ः३० बजे बिर्तामोडबाट मोरङको पथरीतर्फ जाँदै गरेको प्रदेश नं. १–०४–००१ च ००८० नम्बरको स्कारपियोका चालक पथरी नगरपालिका–९ का ४५ वर्षीय योगेश धिमाल गाडी चलाउँदै गर्दा अचानक असहज महसुस गर्दै बेहोस भएका थिए ।
अवस्था बिग्रँदै गएपछि उनले सजगतापूर्वक गाडी सडक किनारामा रोकेका थिए ।गाडीमा सवार यात्रुहरुले पटक–पटक उनलाई बोलाए तर उनी बोलेनन् । तत्कालै स्थानीयको सहयोगमा उनलाई तत्काल दमकस्थित निम्स अस्पताल लगियो ।
एकै छिनमा चिकित्सकहरुले उनलाई मृत घोषणा गरेका इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । मृतकको शव पोस्टमार्टमका लागि मोरङको उर्लाबारीस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर पठाइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रदेश खबरबाट

हावाहुरीको खतरा औंल्याउँदै मौसम प्राधिकरणले गरायो सजग

झापा/  पूर्वी नेपालमा हावाहुरी चल्ने  जल तथा मौसम विज्ञान विभागकाे सूचनापछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सतर्कता अपनाउन आग्रह गरेकाे छ । बिहीबार प्राधिकरणले सूचना जारी गर्दै प्रि मनसुनको अवधि पनि रहेकोले सतर्कता अपनाउन आग्रह गरेकाे हाे ।

प्राधिकरणका अनुसार आगामी तीन दिनको मौसम पूर्वानुमानअनुसार चैत्र ६ गते शुक्रबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली क्षेत्रका एक/दुई स्थानमा भारी वर्षा एवं हिमपातको सम्भावना छ। साथै, शुक्रबारबाटै दाङ र नेपालगञ्जसहित लुम्बिनी प्रदेशका तराई क्षेत्रका आसपासका जिल्लामा तथा पर्सि शनिबार पूर्वी क्षेत्रका विराटनगर, धनकुटा र धरान आसपासका जिल्लामा तीव्र हावाहुरी (झण्डै ११९ किलोमिटर प्रतिघण्टा) चल्ने सम्भावना रहेको छ ।

उल्लिखित स्थानमा बसोबास तथा यात्रा गर्ने नागरिकले विशेष सतर्कता अपनाउनु हुन, विशेष काम नपरी यात्रामा ननिस्कनु हुन, हावाहुरी चलेका बेला घरको झ्यालढोका राम्रोसँग बन्द गर्नु हुन, आगोका स्रोतहरु बन्द गर्न, सवारी साधन चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्न, भिडभाडमा भए नआत्तिन, भागदौड नगरी विस्तारै सुरक्षित स्थानमा जान प्राधिकरण सबैमा हार्दिक अनुरोध गरेकाे हाे ।

प्रि मनसुनको अवधि पनि रहेकोले तीव्र हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना र छाना उड्ने, विद्युत तथा सञ्चार सेवा प्रभावित हुने लगायतका जोखिम रहने उपसचिव रामबहादुर केसीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।

हावाहुरी चलेका बेला कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुनि नबस्नु हुन, बिजुलीको तार लत्रिएको छ भने नछुनु हुन, सो समयमा विद्युतीय उपकरण नचलाउनु हुन एवं जोखिमयुक्त स्थानमा नबस्न पनि चेतावनी दिएकाे छ ।
जल तथा मौसम विज्ञान विभागबाट जारी हुने मौसम सम्बन्धी पूर्वानुमान र प्राधिकरणबाट जारी हुने सूचना नियमित रुपमा जानकारीमा राखी आवश्यक सतर्कता अपनाउन समेत अनुरोध गरिएकाे छ।

झोलुङ्गे पूलले जोड्दैछ चन्द्रडाँगी–लालपानी

शिवसताक्षी/ शिवसताक्षी नगरपालिका वडा नं. ६ स्थित चन्द्रडाँगी बजार हुँदै कनकाई नदीपूर्वमा रहेको वडा नं. १० र वडा नं. ७ को केही भू–भाग जोड्न कनकाई नदीमाथि झोलुङ्गे पूलको निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ ।
संघीय सरकारको झोलुङ्गे पूल महाशाखा, कुपन्डोलबाट विनियोजित ७ करोड ४१ लाख रुपैयाँको लागतमा निर्माण सुरु गरिएको झोलुङ्गे पूलको लम्बाइ ६४० मिटर रहेको छ ।
शिवसताक्षी नगरपालिकाको भौगोलिक अवस्थिति अनुसार कनकाई नदीपूर्व पनि केही वडाहरु रहेका छन् ।

कनकाई नदीपूर्व पनि वडा नं. १० र वडा नं. ७ को केही भू–भाग छ । हालसम्म ती वडाका बासिन्दाले आफ्नै वडाभित्र आवतजावत गर्नसमेत पूर्व–पश्चिम राजमार्गमा रहेको कनकाई पूलको प्रयोग गर्नुपर्ने बाध्यता छ । स्थानीयका अनुसार वडा नं. ७ का बासिन्दाले आफ्नो वडाको अर्काे भाग पुग्न करिब सात किलोमिटर उत्तरतर्फ यात्रा गरेर कनकाई पूल पार गरी जानुपर्ने अवस्था छ । तर अब झोलुङ्गे पूल निर्माण सम्पन्न भएपछि यो बाध्यात्मक परिस्थिति अन्त्य हुने विश्वास लिइएको उनको भनाई छ ।

निर्माण सम्पन्न हुन लागेसँगै स्थानीय बासिन्दाको वर्षाैंदेखिको आवतजावत समस्या समाधान हुने अपेक्षा गरिएको छ । पूल निर्माण सम्पन्न भएपछि चन्द्रडाँगी क्षेत्रबाट सिधै लालपानी जोडिनेछ ।
पूल निर्माणसँगै लालपानी, ट्याक्रा लगायत माईपूर्वका बासिन्दालाई नगरपालिका कार्यालय तथा बजार क्षेत्रसम्म आउन–जान सहज हुने नगरपालिकाका प्रमुख मेगाहाङ थोप्रा (रोशन)ले जानकारी दिए ।
स्थानीयस्तरमा सामाजिक, आर्थिक तथा प्रशासनिक गतिविधि सञ्चालन गर्न पनि पूल महत्वपूर्ण पूर्वाधारका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ ।

नगरप्रमुख थोप्राले नगर क्षेत्र हेर्दा सहज देखिए पनि भौगोलिक अवस्था र बीचमा बग्ने ठूलो नदीका कारण विकास तथा आवतजावतमा चुनौती रहेको बताए । उनका अनुसार ठूलो नदीमाथि पूल निर्माण गर्ने काम नगरपालिकाको बजेटबाट सम्भव नभएकाले संघीय सरकारको सहयोगमा यो योजना कार्यान्वयनमा आएको हो । नगरप्रमुख थोप्राले पूलको निर्माण कार्य गुणस्तरीय ढंगले सम्पन्न होस् भन्ने उद्देश्यले नगरपालिकाले पटक–पटक स्थलगत अनुगमन गर्दै आएको पनि बताए ।
पूल निर्माण सम्पन्न भएपछि शिवसताक्षी नगरपालिकाका सबै वडाहरू नगर केन्द्रसँग अझै प्रभावकारी रूपमा जोडिने विश्वास गरिएको छ । यसले स्थानीयको दैनिक जीवन सहज बनाउनुका साथै आर्थिक गतिविधि, शिक्षा, स्वास्थ्य सेवा र प्रशासनिक पहुँचलाई समेत थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

दमक क्याम्पसमा पुँजी बजारबारे सचेतना

दमक/ झापाको दमकस्थित दमक बहुमुखी क्याम्पसमा नेपाल स्टक एक्सचेन्ज (नेप्से)को आयोजनामा पुँजी बजार सम्बन्धिको एक दिने सचेता कार्यक्रम सम्पन्न भएको छ ।
दमक बहुमुखी क्याम्पसको सहआयोजनामा ग्लोबल मनि वीक् २०२६ को अवसरमा आयोजित सो सचेतना कार्यक्रममा क्याम्पसका बिद्यार्थी, प्राध्यापक, कर्मचारीहरु समेत उल्लेखीय संख्यामा सहभागी भएका सहायक क्याम्पस प्रमुख पारसमणी आचार्यले जानकारी दिए ।
सो अवसरमा जे.एफ सेक्युरिटीज प्रालि र सेक्युर्टड सेक्युरिटीज प्रालिले समेत सहआयोजकको भुमिका निर्वाह गरेका थिए । कार्यक्रममा पुँजी बजार सम्बन्धिका विज्ञहरुले सहजीकरण गरेका थिए ।
क्याम्पस प्रमुख यज्ञराज गिरीले पछिल्लो पुस्ताको आकर्षण रहेको पुँजी बजारका क्षेत्रमा आवश्यक ज्ञान दिएर बिद्यार्थीहरुमा सकारात्मक उर्जा प्रदान गरेकोमा नेप्सेप्रति धन्यवाद व्यक्त गरे ।

 

कानुन व्यवसायी महिलाहरुको राष्ट्रिय सम्मेलन हुँदै

भक्तपुर /  नेपाल बार एशोसिएशनको आयोजनामा कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा आयोजना हुने भएको छ। “महिलाको समानुपातिक समावेशिता : परिवर्तित र न्यायपूर्ण समाजको सुनिश्चितता” भन्ने मूल नारासहित सञ्चालन हुने सम्मेलन चैत ६ र ७ गते स‌ंचालन हुने आयोजकले जनाएको छ।
भक्तपुर जिल्ला अदालत बारको आतिथ्ययतामा हुने उक्त सम्मेलनमा देशभरका कानुन व्यवसायी महिलाहरूको व्यापक सहभागिता रहने अपेक्षा गरिएको छ।
भक्तपुरमा आयोजना हुने उक्त सम्मेलनमा देश भरका महिला कानुन व्यवसायीहरूको सहभागिता हुने नेपाल बार एशोसिएशन भक्तपुरका अध्यक्ष राम सुन्दर खाइतुले जानकारी दिनुभयो । उहाँका अनुसार सम्मेलनमा  बारमा आबद्ध सम्पूर्ण कानुन व्यवसायीहरू—वरिष्ठ अधिवक्ता, अधिवक्ता, अभिवक्ता, साथै नेपाल बार एशोसिएशनका पूर्व पदाधिकारी तथा सदस्यहरूलाई सक्रिय सहभागिताका लागि उहाँले आग्रह गर्नुभएको छ ।
भक्तपुरमा हुने उक्त सम्मेलनले नेपालमा महिला अधिकार तथा “महिलाको समानुपातिक समावेशिता : परिवर्तित र न्यायपूर्ण समाजको सुनिश्चितता” सम्बन्धमा घोषणापत्र पनि जारी हुने अपेक्षा लिइएको उहाँले जानकारी दिनुभयो ।  यस्तै कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको बारका सचिव अनीश सुवालले जानकारी दिनुभयो । उहाँका अनुसार आगामी चैत ६ र ७ गते हुने उक्त कार्यक्रमको तयारी पुरा भएको छ ।
६ गते बिहान भक्तपुरको दत्तात्रय मन्दिरबाट प्रभात फेरी निकालेर कार्यक्रमको सुरु गरिने समेत उहाँले जानकारी दिनुभयो । प्रभात फेरी दत्तात्रय हुँदै ख्वप बैंक्वैट नगरकोट रोडमा पुगेर उद्घाटन हुने र दोस्रो दिन भक्तपुर जिल्ला अदालतको सभा कक्षमा विभिन्न विषयहरूमा विषय विज्ञका साथमा छलफल हुने उहाँले जानकारी दिनुभयो ।
आयोजकले सम्मेलनमा सहभागी हुने सबैलाई अनिवार्य रूपमा कालो कोटसहित मर्यादित पहिरनमा उपस्थित हुन आग्रह गरेको छ। सम्मेलनले महिला कानुन व्यवसायीहरूको भूमिका, समानुपातिक समावेशिता तथा न्यायपूर्ण समाज निर्माणमा उनीहरूको योगदानबारे महत्त्वपूर्ण छलफल गर्ने विश्वास लिइएको छ।

दमक २ का दुई बालिका एकसाथ वेपत्ता, खोजीका लागि अपिल

दमक/ झापाको दमक २ गजकाली टोलका दुई जना बालिका आज (सोमबार)देखि एकसाथ सम्पर्कबिहिन भएका छन् । उनीहरु बिहान ९ देखि ९.ं३० बजेको समयमा बिद्यालय जान भनि घरबाट निस्किएका थिए ।
हिमालय माविमा कक्षा ४ र ६ मा अध्ययनरत उपासना राई र विनिता खड्का एकसाथ बेपत्ता भएका हुन् ।
उनीहरु बिद्यालय जान भनि हिंडेकोमा बिद्यालयमा समेत नपुगी वेपत्ता भएका विनिताका नातेदार दाजु दिनेश खड्काले जानकारी दिए ।
आज बेलुकी बिद्यालय छुट्टी हुँदा पनि उनीहरु घर नआएपछि बिद्यालयमा सम्पर्क गर्दा बिद्यालयमानै नपुगेको खुल्न आएको स्थानीय उद्धव दाहालले बताए ।
उनीहरु वेपत्ता भएको बिषयमा इलाका प्रहरी कार्यालय दमकमा आज परिवारको तर्फबाट लिखित जानकारी गराइएको खड्काले बताए । परिवारले उनीहरुको खोजीका लागि सहयोग गरिदिन सार्वजनिक अपिल गरेका छन् ।

बालमैत्री वडा घोषणा गर्ने तयारीमा दमक ८

दमक/ झापाको दमक ८ लाई बालमैत्री वडा घोषणा गर्ने तयारी गरिएको छ । बाल मैत्री उन्मुख वडाको सूचक प्राप्तीको अनुगमन गरेको छ ।
जिल्ला स्तरीय अनुगमन समितिका संयोजक समेत रहेका जिल्ला समन्वय समिति झापाका प्रमुख विश्व बरालको नेतृत्वमा अनुगमन टोलीले दमक ८ को जनता माध्यमिक विद्यालय र आधारभूत स्वास्थ्य केन्द्रको अनुगमन गरेको हो ।
बरालको नेतृत्वमा जिल्ला समन्वय समितिको उपप्रमुख शान्ता रोक्का, जिल्ला समन्वय अधिकारी अधिकृत अमृत राई,जिल्ला प्रहरी कार्यालय झापाका प्रतिनिधि प्रहरी निरिक्षक विपन विश्वकर्मा, दमक नगर वाल सञ्जाल अध्यक्ष दिवस वाग्ले र वडा वाल सञ्जाल दमक ८अध्यक्ष दिलासा संग्रौला लगायतको अनुगमन टोलीले जनता विद्यालय र आधारभूत स्वास्थ्य केन्द्र दमक ८को अनुगमन गरेको दमक ८ वडा कार्यालयका सचिव सन्दिप सुवेदीले जानकारी दिए ।
अनुगमन टोलीले जनता विद्यालयको बाल कक्षाको अवस्था,खानेपानीको धारा,बाल कक्षाका विद्यार्थीलाई खुबाउने दिवा खाजाको वितरणका बारेमा जानकारी दिएको थियो ।
विद्यालयको शौचालयमा सरसफाईको अभाव रहेको र दुर्गन्ध फैलिएको अभिभावकहरुले समेत गुनासो गरेका थिए । विद्यालयमा रहेका एक कुचीकार (कर्मचारी) सरकारले कर्मचारी कटौती गरेपछि शौचालयको सरसफाईमा समस्या आएको विद्यालयका प्रशासनले जनाएको छ ।
सोही अनुगमन टोलीले दमक८कै आधारभूत स्वास्थ्य केन्द्रको पनि अनुगमन गरेको दमक ८ का वडा सदस्य तथा फोकल पर्सन हरिमाया चुँडालले बताइन् ।
आधारभूत स्वास्थ्य केन्द्रको अनुगमन गर्दा अपाङमैत्री भवन,खानेपानी धारा,बच्चालाई विश्राम गराउने कोक्रो आदि संरचना रहेको दमक ८ का वडा अध्यक्ष धर्म प्रसाद दाहाल(दिपेश)ले बताए । वालबालिकालाई दिने खोप,अन्य सेवा सबै दिने गरिएको वडाध्यक्ष दाहालले बताए ।
बाल मैत्री वडाको अनुगमन गर्नु अघि दमक ८ कै वडा कार्यालयमा भएको बालमैत्री उन्मुख वडाको सूचक प्राप्तीको लागि अभिमुखीकरण कार्यक्रममा जिल्ला समन्वय समिति झापा समक्ष ९२ दशमलव २ प्रतिशत सूचक पुरा गरेको अभिलेख प्रस्तुत गरिएको बाल मैत्री अभियन्ता शेष कुमार निरौलाले सार्वजानिक गरे ।
नगरपालिकाका प्रमुख राम थापाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिको उपप्रमुख रोक्का, दमक ८को मनकामना टोल विकास संस्थाका अध्यक्ष हरि न्यौपाने, जनता मावि विद्यालय ब्यवस्थापन समिति अध्यक्ष प्रेम भण्डारी, बन्धु विकास टोलका अध्यक्ष ओम खनाल लगायतले राखेको प्रश्नको दमक ८ का वडा अध्यक्ष दाहालले जवाफ दिएका थिए ।
बजेट निर्माण लगायतका वाल मैत्री सहभागिता सम्वन्धिको सकारात्मक अनुभव दमक नगर वाल सञ्जाल अध्यक्ष दिवस वाग्ले र वडा बाल सञ्जाल दमक ८ की अध्यक्ष दिलासा संग्रौलाले राखेकी थिइन् । नगर पालिकाको महिला वालवालिका शाखा प्रमुख सरिता भण्डारीेले सो अनुगमन टोलीको अनुगमन प्रतिवेदनलाई अध्ययन गरेर एक साता पछि दमक ८ को वडालाई बालमैत्री घोषणाको अन्तिम निधो लिइने जानकारी दिइन् ।

इनिशा हत्याको विरोधमा दमकमा बिद्यार्थीहरुले प्रदर्शन गर्दै

दमक/ सुर्खेतमा इनिशा बिकको बलात्कारपछि हत्या भएको विरोधमा आज झापाको दमकमा बिद्यार्थीहरुले बिरोध प्रदर्शन गर्दैछन् ।
दमक बहुमुखी क्याम्पसका बिद्यार्थीहरुले मध्यान्ह १२ बजे दमक क्याम्पसबाट निकाल्ने विरोध र्याली तथा खबरदारी कार्यक्रम मुख्य भागहरुको परिक्रमा गर्दै गणतन्त्र चोक (आकाशे पूल) नजिकै खबरदारी सभामा परिणत हुनेछ । बिद्यार्थीहरुसँगै आम न्याय पक्षधर, सचेत नागरिकहरुलाई प्रदर्शनमा सहभागिताका लागि आव्हान गरिएको दमक बहुमुखी क्याम्पसका स्ववियु सचिव राकेश खड्काले जानकारी दिए ।

 

डिजेल र पेट्रोलमा अचाक्ली मूल्य बढ्यो

काठमाडौं/ डिजेल र पेट्रोलको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यअनुसार नेपालमा पनि आयल निगमले मूल्य समायोजन गरेको हो । निगमका अनुसार पेट्रोल प्रतिलिटर १५, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढेको छ ।

वृद्धि भएको मूल्य आजै राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ ।

इष्टर्न स्टारका बिद्यार्थीहरु स्काउटका माध्यमबाट जागरुक

दमक/  पढाइसँगै बिद्यार्थीहरुलाई समुदायको सेवा र एकताको अभ्यासमा जोड दिँदै आएको दमक ७ स्थित इष्टर्न स्टार बोर्डिङ स्कूलले स्काउट ट्रुपको दिक्षान्त समारोह सम्पन्न गरेको छ ।
शनिबार दमक नगर स्काउट शैक्षिक पद्वित आयुक्त तथा स्काउटर प्रदिप खड्काको संयोजकत्वमा इष्टर्न स्टार स्काउट ट्रुपको दिक्षान्त समारोह सम्पन्न भएको हो ।
सो दिक्षान्तमा छात्रा तर्फ स्काउट लिडर डेलिना लोहार तथा छात्र तर्फ स्काउट लिडर बिपल लोहारले दिक्षान्त दिएका थिए ।
सो कार्यक्रमलाई सफल बनाउनका निम्ति सो विधालयका प्रिन्सिपल एवम् इकाई अध्यक्ष लच्छुदास सोताङ राइको उपस्थितिमा भएको कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए । प्रिन्सीपल राईले स्काउट विद्यार्थीहरूलाई स्काउटको मूल्य मान्यता र सिद्धान्त अनुसार आफ्नो जिम्मेवारी पुरा गर्दै समाजमा योगदान दिन हौसला प्रदान गरे ।
बिद्यार्थीहरुमा पढाईसँगै सामाजिक सेवा र एकताको भावना बिकास गराउने अभ्यासमा जोड दिँदै आएको सो बिद्यालयमा डेलिना लोहारद्वारा एक प्रेरणादायी STEM चेन्जमेकर्स कार्यक्रम समेत सफलतापूर्वक सञ्चालन गरिएको छ । जसले विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणितको रोमाञ्चक संसार अन्वेषण गर्न सबै स्काउटहरूलाई एकीकृत गर्दै आकर्षक छलफल र ह्यान्ड्स अन गतिविधिहरू सञ्चालन गरेका थिए । सो कार्यक्रमले किशोरावस्थाका बिद्यार्थीहरुलाई रचनात्मक र सकारात्मक सोच्न, जिज्ञासु बनाउन र समस्या समाधान गर्ने सीपहरू विकास गर्न प्रोत्साहित गरेको छ ।