लामाको नेतृत्वमा ‘प्रेस क्लव दमक’ गठन, पेशागत हितमा क्रियाशील हुने

दमक/ झापाको माइपश्चीम भुगोल र आसपास क्षेत्रमा क्रियाशील पत्रकारहरुको पेशागत संस्थाको रुपमा ‘प्रेस क्लव दमक’ गठन भएको छ । क्रियाशील पत्रकारहरुको भेलाले तत्काल ९ सदस्यीय कार्यसमिति चयन गरेको छ । ‘प्रेस क्लव दमक’ नाम दिइएको सो संस्थाको नेतृत्व नेपाल टेलिभिजनमा कार्यरत पत्रकार डिकेश लामाले लिएका छन् ।
उपाध्यक्षमा विष्णुप्रसाद पौडेल (निष्कर्ष न्यूज) सचिव मिलन आचार्य (झापा पोष्ट दैनिक) कोषाध्यक्ष रीना बुढाथोकी ( झापा पोष्ट अनलाइन) र सहसचिवमा सुजन गौतम (मल्टी मिडिया डटकम) रहेका छन् ।
कार्यसमिति सदस्यहरुमा ह्यारी राजवंशी(ब्लाष्ट न्यूज डटकम) कृतिका कट्टेल ( युक्ती टाइम्स) मनिश बराल (दमक बन्द) र रोजिना भण्डारी (युक्ती टाइम्स) रहेका छन् ।
नवगठित संस्थाले छिट्टै संस्थाको तत्कालिन र दीर्घकालिन कार्यसूची बनाएर गतिविधि बढाउने जनाइएको छ ।
कार्यसमितिको तत्कालिन कार्यक्रममा संस्था दर्ता, विधान निर्माण, संस्थाको गतिविधि र नवपुस्ताका पत्रकारहरुलाई तालिम गराउने जस्ता कार्य सम्पादन गर्ने निर्णय गरेको अध्यक्ष डिकेश लामाले जानकारी दिए ।
नव गठित क्लवमा झापाको माईपश्चिम र इलामको दक्षिणी क्षेत्रका सञ्चारकर्मीहरु समेटिने छन् । संस्थाको कार्यसमिति बैठकले ‘प्रेस क्लव दमक’को पाँच सदस्यीय सल्लाहकार समिति समेत गर्नेछ । पत्रकारहरुबीचको पेशागत हकहित र व्यवसायिकताको बिकासको लागि समेत संस्थाले आवश्यक समन्वय र सहकार्यको नीति लिइएको छ । यो क्लब स्थापनासँगै दमकमा दुई बर्ष अघि गिरिराज भट्टराईको अध्यक्षतामा गठन भएको सक्रिय पत्रकार सञ्जाल पनि समाहित भएको छ ।

 

रवि र बालेनसँग मोदीको फोन संवाद

काठमाडौं/  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसँग टेलिफोन सम्वाद गरेका छन् । २१ फागुनमा भएको प्रतिनिधिसभाको निर्वाचनमा पाएको सफलतालाई लिएर मोदीले दुवै नेतालाई बधाई दिएको उल्लेख गरेका छन् ।

रास्वपाले आफ्नो नेतृत्वमा लागेको नयाँ सरकार बनाउन लागेकोमा पनि मोदीले शुभकामना दिएको बताएका छन् । मोदीले फेशबुकमार्फत लामिछाने र शाहसँग फोन सम्वाद गरेको जानकारी दिएका हुन् ।

सर्लाहीमा कांग्रेस नेतामाथि आक्रमण

सर्लाही/ सर्लाही जिल्लाको बलरा नगरपालिका–४ मा नेपाली कांग्रेसका नेता डा.कमलेश्वर सिन्हामाथि आक्रमण भएको छ।

आइतबार दिउँसो करिब १२ः १० बजे बलरा–४ स्थित राजेश सिंहको घरको पूर्व तथा सुनिल सिंहको घरको उत्तरतर्फ रहेको बाटोमा आक्रमण भएको कांग्रेसका स्थानीय नेता नवीन कुशहवाले जानकारी दिए ।

डा.सिन्हा आफ्ना छोरा र नातिसँगै स्कार्पियो गाडीमा बसेको अवस्थामा अज्ञात समूहले गाडीमाथि आक्रमण गरेको हो । कांग्रेसले सर्लाही–४ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सांसद अमरेशकुमार सिंहका समर्थकले आक्रमण गरेको जनाएको छ ।

आक्रमणबाट घाइते भएका डा.कमलेश्वर सिन्हालाई उपचारका लागि अस्पताल भर्ना गरिएको कांग्रेसले जनाएको छ। घटनाप्रति कांग्रेस सर्लाही–४ ले आपत्ति जनाएको छ । प्रहरीले भने यो विषय सञ्चारमाध्यममा आए पनि औपचारिक रूपमा जानकारीमा नआएको बताएको छ ।

बालेन शाहको उदय र नेपालको भविष्य

नेपालको राजनीतिक इतिहासमा समय–समयमा जनताले परिवर्तनको खोजी गरेका छन्। लामो समयदेखि परम्परागत दल, पुराना अनुहार र अस्थिरताले चिनिएको नेपाली राजनीतिमा नयाँ सोच र नयाँ नेतृत्वको आवश्यकता महसुस हुँदै आएको छ। यस्तै पृष्ठभूमिमा वैकल्पिक राजनीतिको प्रतीकका रूपमा उदाएका व्यक्तित्व हुन् बालेन शाह ।
उनको उदय केवल एउटा चुनावी परिणाम मात्र होइन, नेपाली राजनीतिक संस्कृतिमा सम्भावित नयाँ युगको संकेतका रूपमा पनि हेरिएको छ। परम्परागत राजनीतिक नेतृत्वसँग प्रतिस्पर्धा गर्दै उनले स्थापित राजनीतिक शक्तिलाई चुनौती दिएका छन्। यसले जनताको मनोविज्ञानमा आएको परिवर्तनलाई स्पष्ट रूपमा देखाउँछ। जनता अब पुरानो राजनीतिक शैलीबाट थाकिसकेका छन् र परिणाममुखी, इमानदार तथा ऊर्जाशील नेतृत्वको खोजीमा छन्।
बालेन शाहको उदय सामान्य राजनीतिक यात्राको परिणाम होइन। उनी इन्जिनियर, रचनात्मक कलाकार, सामाजिक अभियन्ता तथा पूर्व मेयरका रूपमा परिचित छन्। विशेष गरी काठमाडौ महानगरका मेयरका रूपमा उनले देखाएको कार्यशैलीले उनलाई राष्ट्रिय स्तरमा चर्चित बनाएको हो। प्रशासनिक सुधार, सार्वजनिक स्थान व्यवस्थापन, अवैध संरचनाविरुद्धको अभियान तथा नगर प्रशासनमा अनुशासन कायम गर्ने प्रयासले उनको नेतृत्वलाई फरक पहिचान दिएको छ। कम बोल्ने तर काम गर्ने शैली, निर्णयमा दृढता र नियम कार्यान्वयनमा कडाइ उनका नेतृत्वका प्रमुख विशेषता मानिन्छन्। यही कारणले धेरै युवाहरूले उनलाई वैकल्पिक राजनीतिको आशाको रूपमा हेर्न थालेका छन्।
नेपालको वर्तमान अवस्था हेर्दा देशले एकैचोटि धेरै चुनौतीहरूको सामना गरिरहेको छ। आर्थिक संरचना कमजोर छ, उद्योगधन्दा सीमित छन्, कृषि अझै आधुनिक हुन सकेको छैन र रोजगारीका अवसर अत्यन्त कम छन्। लाखौं नेपाली रोजगारीका लागि विदेश जान बाध्य भएका छन्। गाउँका गाउँ युवाविहीन हुँदै गएका छन्। राज्यको राजस्व संरचना आयातमा निर्भर छ भने उत्पादन न्यून छ, जसले दीर्घकालीन रूपमा अर्थतन्त्रलाई कमजोर बनाइरहेको छ।
बालेन शाहले राष्ट्रिय नेतृत्व सम्हाल्ने अवसर पाउँछन् भने उनको सबैभन्दा ठूलो चुनौती अर्थतन्त्रलाई पुनर्जीवित गर्नु हुनेछ। उत्पादनमुखी अर्थतन्त्र निर्माण, देशभित्र उद्योग स्थापना गर्ने वातावरण तयार गर्नु, लगानीमैत्री नीति ल्याउनु तथा कृषि र प्रविधिलाई जोडेर नयाँ आर्थिक सम्भावनाहरू सिर्जना गर्नु अत्यन्त आवश्यक हुनेछ।
बेरोजगारी नेपालको अर्को गम्भीर समस्या हो। प्रत्येक वर्ष लाखौं युवा श्रम बजारमा प्रवेश गर्छन् तर उनीहरूका लागि पर्याप्त रोजगारी उपलब्ध हुँदैन। परिणामस्वरूप विदेश पलायनको प्रवृत्ति बढेको छ। युवाहरूको यो पलायन देशको भविष्यका लागि चिन्ताजनक विषय हो। नयाँ नेतृत्वप्रति युवाहरूको अपेक्षा यही हो कि देशभित्रै अवसर सिर्जना होस्। स्टार्टअप, सूचना प्रविधि, पर्यटन, कृषि तथा साना उद्योगलाई प्रोत्साहन दिँदै युवालाई स्वदेशमै भविष्य देखाउने वातावरण निर्माण गर्नु आवश्यक छ।
नेपालको अर्को पुरानो समस्या राजनीतिक अस्थिरता हो। सरकारहरू बारम्बार परिवर्तन हुने, गठबन्धन राजनीति हाबी हुने र नीति निरन्तरता कमजोर हुने प्रवृत्तिले विकासमा अवरोध पुर्‍याएको छ। यस्तो अवस्थामा कुनै पनि प्रधानमन्त्रीले स्थिर शासन, स्पष्ट नीति र दीर्घकालीन योजना ल्याउनुपर्ने हुन्छ। स्थिरता बिना विकास सम्भव हुँदैन भन्ने तथ्यलाई ध्यानमा राख्दै राष्ट्रिय सहमति निर्माण गर्नु पनि आवश्यक हुन्छ।
भ्रष्टाचार नेपालको जटिल समस्यामध्ये एक हो। राज्यका विभिन्न निकायमा अनियमितता, ढिलासुस्ती र अपारदर्शिता देखिन्छ। जनताले अझै पनि सरकारी सेवा लिन झन्झट र कठिनाइको सामना गर्नुपर्छ।
नयाँ नेतृत्वप्रति जनताको प्रमुख अपेक्षा भ्रष्टाचार नियन्त्रण नै हो। यदि भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति व्यवहारमा लागू गर्न सकियो भने शासन प्रणालीप्रति जनविश्वास पुनःस्थापित हुन सक्छ।
प्रशासनिक संरचना सुधार पनि अत्यन्त आवश्यक छ। सरकारी सेवा प्रणाली अझै पुरानो शैलीमा सञ्चालन भइरहेको छ।
कागजी प्रक्रिया, ढिलासुस्ती र जटिल प्रशासनिक प्रक्रिया जनताको निराशाको कारण बनेका छन्। आधुनिक शासनका लागि डिजिटल प्रशासन आवश्यक छ। सरकारी सेवाहरूलाई अनलाइन प्रणालीमा ल्याउने, पारदर्शी सूचना प्रणाली विकास गर्ने तथा छिटो र प्रभावकारी सेवा प्रदान गर्ने प्रयासलाई प्राथमिकता दिनुपर्छ।
शिक्षा प्रणालीमा सुधार अर्को महत्वपूर्ण क्षेत्र हो। नेपालको शिक्षा प्रणाली अझै पनि रोजगारमुखी बन्न सकेको छैन। विद्यार्थीहरूले सैद्धान्तिक ज्ञान त पाउँछन् तर व्यावहारिक सीपको अभाव रहन्छ। परिणामस्वरूप धेरै शिक्षित युवाहरू पनि बेरोजगार हुने अवस्था देखिन्छ। प्राविधिक शिक्षा, अनुसन्धान, नवप्रवर्तन र सीप विकासलाई प्राथमिकता दिएर शिक्षा प्रणालीलाई आधुनिक बनाउनु अत्यावश्यक छ।
अन्तर्राष्ट्रिय सम्बन्धको दृष्टिले पनि नेतृत्वको भूमिका महत्वपूर्ण हुन्छ। नेपाल भौगोलिक रूपमा दुई ठूला शक्ति राष्ट्रहरू—भारत र चीनको बीचमा अवस्थित छ। त्यसैले सन्तुलित कूटनीति नेपालको राष्ट्रिय हितका लागि अत्यन्त आवश्यक हुन्छ। छिमेकी राष्ट्रहरूसँग व्यापार, पूर्वाधार विकास र आर्थिक सहकार्य विस्तार गर्दै अन्तर्राष्ट्रिय साझेदारहरूसँग पनि लगानी र प्रविधि आदानप्रदान बढाउनुपर्ने हुन्छ।
नेपालको आर्थिक विकासका लागि जलस्रोत, पर्यटन र कृषि क्षेत्र महत्वपूर्ण आधार हुन सक्छन्। जलविद्युत् उत्पादन, पर्यटन पूर्वाधार विकास तथा कृषि आधुनिकीकरणमार्फत रोजगारी सिर्जना गर्न सकिन्छ। विशेष गरी प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र हिमाली क्षेत्रका कारण नेपालको पर्यटन क्षेत्र अत्यन्त सम्भावनायुक्त छ।
पूर्वाधार विकास पनि दीर्घकालीन प्रगतिको आधार हो। सडक, पुल, ऊर्जा, रेलमार्ग तथा डिजिटल नेटवर्क जस्ता संरचनाले आर्थिक गतिविधि बढाउँछन्। तर नेपालमा धेरै परियोजनाहरू ढिलाइ, लागत वृद्धि र व्यवस्थापन कमजोरीका कारण प्रभावित हुने गरेका छन्। परियोजना व्यवस्थापनमा सुधार ल्याउन सके विकासको गति तीव्र हुन सक्छ।
पर्यावरण संरक्षण पनि आजको युगको महत्वपूर्ण विषय हो। जलवायु परिवर्तनले हिमाली क्षेत्रमा गम्भीर असर पुर्‍याइरहेको छ। हिमनदी पग्लने, बाढी–पहिरो बढ्ने तथा मौसम परिवर्तन हुने समस्या देखिन थालेका छन्। त्यसैले विकास र वातावरण संरक्षणबीच सन्तुलन कायम गर्नु आवश्यक छ।
अन्ततः राष्ट्रको भविष्य केवल एक व्यक्तिमा निर्भर हुँदैन। नेतृत्व महत्वपूर्ण हुन्छ, तर जनताको सक्रिय सहभागिता पनि त्यत्तिकै आवश्यक हुन्छ। नागरिक, निजी क्षेत्र, नागरिक समाज र राज्य सबै मिलेर विकासको यात्रामा अघि बढ्नुपर्छ।
बालेन शाह जस्ता नयाँ पुस्ताका नेताले इमानदार, पारदर्शी र परिणाममुखी नेतृत्व प्रस्तुत गर्न सके भने नेपाली राजनीतिमा नयाँ संस्कृतिको सुरुवात हुन सक्छ। त्यो केवल एक नेताको सफलता मात्र होइन, सम्पूर्ण राष्ट्रका लागि महत्वपूर्ण उपलब्धि हुनेछ।
नेपाल अहिले परिवर्तनको मोडमा उभिएको छ। जनता पुरानो राजनीतिक शैलीबाट थाकिसकेका छन् र नयाँ नेतृत्वबाट ठूलो आशा राखिरहेका छन्। यदि दृढ इच्छाशक्ति, स्पष्ट नीति र प्रभावकारी कार्यान्वयनका साथ नेतृत्व अघि बढ्न सके भने नेपालले सुशासन, विकास र समृद्धिको नयाँ अध्याय सुरु गर्न सक्छ।

कोशीमा निर्वाचन सुरक्षा तयारी पूरा, ४३९ स्थान अति संवेदनशील

झापा/ कोसी प्रदेशमा प्रतिनिधि सभा निर्वाचनका लागि सुरक्षाको सम्पूर्ण तयारी पूरा भएको छ।

प्रदेशका २८ वटा निर्वाचन क्षेत्रमा भयरहित वातावरणमा मतदान सम्पन्न गराउन सुरक्षा निकायले त्रिपक्षीय समन्वयसहितको विशेष सुरक्षा रणनीति कार्यान्वयनमा ल्याएको हो। कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार निर्वाचन सुरक्षाका लागि १२ हजार नेपाल प्रहरी, २३ हजार म्यादी प्रहरी र ८ हजारभन्दा बढी सशस्त्र प्रहरी गरी ३५ हजारभन्दा बढी जनशक्ति प्रत्यक्ष रूपमा परिचालन गरिएको छ।

प्रदेशभर रहेका ४ हजार २७० मतदान केन्द्र र ३५ लाख ७४ हजार २८६ मतदाताको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले एकीकृत योजनाअनुसार काम सुरु गरिसकेका छन्। सुरक्षा समितिको बैठकले प्रदेशका १ हजार ९०७ मतदान स्थलमध्ये ४३९ स्थानलाई अति संवेदनशील सूचीमा राखेर विशेष सुरक्षा प्रबन्ध मिलाएको छ।

कोसी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेका अनुसार, सानातिना घटनालाई पनि गम्भीरतापूर्वक लिएर तत्काल ‘रेस्पोन्स’ गर्ने गरी मोबाइल टोली र रिजर्भ फोर्सलाई तयारी अवस्थामा राखिएको छ। समग्र सुरक्षा अवस्था सन्तोषजनक रहेको र मतदाताले ढुक्क भएर मतदान गर्ने वातावरण सुनिश्चित भएको घिमिरेले बताए।

झापा-५ मा ‘हाई-प्रोफाइल’ सुरक्षा रणनीति 

निर्वाचन सुरक्षा योजनाअन्तर्गत झापा-५ लाई भने विशेष ‘हाई-प्रोफाइल’ संवेदनशीलताको सूचीमा राखिएको छ। पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) उम्मेदवार रहेको यस क्षेत्रमा प्रहरीले विशेष सतर्कता अपनाएको हो।

मनोनयनका क्रममा भएको झडपलाई आधार बनाएर प्रदेश प्रहरीले थप १०० जनाको विशेष टोली र प्रहरी उपरीक्षक (एसपी) को नेतृत्वमा छुट्टै टोली परिचालन गरेको छ। डीआईजी घिमिरेले यस क्षेत्रमा कुनै पनि अप्रिय घटना हुन नदिन विशेष रणनीति तयार गरिएको बताए।

यस पटकको निर्वाचनमा भौतिक मुठभेडभन्दा पनि सामाजिक सञ्जालमार्फत फैलाइने अफवाहलाई प्रहरीले मुख्य चुनौतीको रूपमा लिएको छ। अफवाह र डिजिटल मुठभेड रोक्न प्रदेश र जिल्ला तहसम्मै ‘साइबर डेस्क’ स्थापना गरी सूक्ष्म निगरानी बढाइएको छ।

यस्तै, सङ्खुवासभा, सोलुखुम्बु र ताप्लेजुङ जस्ता हिमाली जिल्लामा हुन सक्ने हिमपात र सञ्चार अवरोधलाई ध्यानमा राख्दै स्याटलाइट फोन र दुर्गम क्षेत्रका लागि हेलिकप्टर समेत तयारी अवस्थामा राखिएको छ। भारतसँगको ४२७ किलोमिटर र चीनसँगको २५८ किलोमिटर सीमा क्षेत्रमा सुरक्षा कडा पार्दै सीमावर्ती जिल्लामा भारतीय सुरक्षा निकायसँगको समन्वयमा संयुक्त गस्ती र निगरानी तीव्र पारिएको प्रहरीले जनाएको छ।

१० जना पक्राउ

झापा-५ अन्तर्गत दमकमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा प्रहरीले १० जना पक्राउ गरेको छ। प्रहरीले सवारीसाधनमा राखिएका झन्डा, स्टिकर तथा चुनाव चिह्न अङ्कित सामग्री हटाइरहेको छ। दमकको मुख्य चोक, बजारलगायत विभिन्न स्थानमा सुरक्षाकर्मीले सवारीसाधनको जाँच कडाइका साथ सञ्चालन गर्दै आचारसंहिता विपरीतका गतिविधि रोक्न थालिएका जनाएको हो।

स्टिकर, झण्डा, पोस्टर तथा पम्प्लेट सवारीसाधनबाट हटाउन लगाइएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी प्रमुख डीएसपी किशोर लम्सालले जानकारी दिए। निर्वाचन आचारसंहिता उल्लंघन गर्ने, मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, शङ्कास्पद रूपमा हिँडडुल गर्ने १० जनालाई पक्राउ गरेर आवश्यक अनुसन्धान गरिरहेको उनले बताए।

अदालत, सिंहदरबार र प्रहरी कार्यालय जलाउने १३ जना विरुद्ध मुद्धा

काठमाडौं/  जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले सर्वाेच्च अदालत, सिंहदरबार र प्रहरी कार्यालय जलाउने कार्यमा संलग्न १३ जना विरुद्ध मंगलबार जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको छ ।
गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनी र विध्वंशमा संलग्नविरुद्ध आपराधिक उपद्रव र डाँका सम्बन्धी कसुरमा मुद्दा दायर भएको काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक अधिकारीले जानकारी दिए ।
सर्वाेच्च अदालत जलाएको अभियोगमा सुनिल श्रेष्ठ, ज्याति थापा, विनोदकुमार थापा मगर, कुमार पराजुली र राजु परियारविरुद्ध मुद्दा दायर भएको छ ।
श्रेष्ठ, थापा, मगर, पराजुलीसहितका प्रतिवादीले सर्वाेच्च अदालतमा आगजनी गरेर एक अर्ब २३ करोड ६२ लाख ३८ हजार रुपैयाँमा बराबरको क्षति र्पुयाएको अभियोग पत्रमा उल्लेख छ ।
त्यस्तै सिंहदरबारमा तोडफोड तथा आगजनीमा संलग्न आशिष गुरुङविरुद्ध आपराधिक उपद्रो र डाँका सम्बन्धी कसुरमा मुद्दा दायर भएको छ ।
त्यस्तै प्रहरी वृत्त बौद्ध जनाएको आरोपमा समीर श्रेष्ठ र सुनिल तामाङविरुद्ध पनि मुद्दा चलाइएको छ । प्रहरी प्रभाग बलम्बु तोडफोड गरेको अभियोगमा निखिल कुसुले, सोहन चौधरी, विवेक रोक्का र छत्रबहादुर विकविरुद्ध पनि मुद्दा चलाइएको छ ।
सर्वाेच्च अदालतले भदौ २४ गतेको घटनामा संलग्नमाथि अनुसन्धान गरी कारबाहीको माग गर्दै काठमाडौँ प्रहरी परिसरमा जाहेरी दिएको थियो । सर्वाेच्च प्रशासनले दिएको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान गरेर उनीहरूविरुद्ध मुद्दा चलाइएको हो ।

सर्वोदयले रचनात्मक क्रियाकलापसहित मनायो बार्षिकोत्सव

दमक/ झापाको दमक ५ स्थित सर्वाेदय अंग्रेजी माध्यमिक विद्यालयले सोमबार बृहत कार्यक्रमसहित बार्षिको १८ औं बार्षिकोत्सव मनाएको छ । विभिन्न रचनात्मक कार्यक्रमहरु गर्दै बिद्यालयले वार्षिकोत्सव मनाएको हो ।
‘सिक्ने स्कुल’ का रुपमा परिचय बनाउँदै शैक्षिक क्रियाकलापहरु अघि बढाइरहेको यो बिद्यालयको बार्षिकोत्सवको अवसरमा बिद्यार्थीहरुले बनाएका विभिन्न मौलिक परिकारका खानेकुरा तथा मौलिक सामग्रीहरु प्रदर्शन गर्नुका साथै बिक्री स्टल समेत राखिएको थियो ।
वार्षिकोत्सवको उदघाटन समारोहमा स्थापनाकालदेखि हालसम्मका संस्थागत गतिविधिहरु , आगामी कार्यक्रम र योजनाका बारेमा प्रिन्सीपल नविन योगीले प्रष्ट पारेका थिए ।
दमकको शैक्षिक विकाससंगै सामाजिक सेवामा समेत यो बिद्यालयले खेलेको भूमिका र उत्तरदायित्वका बारेमा पनि उनले चर्चा गरे ।
प्रिन्सिपल योगीले विद्यालयमा दक्ष शिक्षक शिक्षिका, उत्कृष्ट कक्षा कोठा, स्वच्छ बातबरण, पिउने पानी, शौचालय, पर्याप्त प्रविधिहरुसहित विद्यार्थीलाई विद्यालयमा आर्कषण गर्न निरन्तर प्रयासरत रहेको बताए ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष अनिल सुवेदीको अध्यक्षतामा र दमक नगरपालिकाका प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यतामा सञ्चालन भएको सर्वोदय ट्यालेन्ट अन्तर्गत विभिन्न प्रतियोगिताका उत्कृष्ट बिद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो ।
कार्यक्रममा विद्यार्थीहरुले तयार परिएको विज्ञान प्रर्दशनी, हस्तकलाका सामाग्री, खेलखेलौनाहरुको प्रर्दशन, नाटक मञ्चन, स्काउट प्रदर्शन, विभिन्न जातजातीका मौलिक साँस्कृतिक खानाका परिकारहरु प्रर्दशन गरिएको थियो ।

त्यस्तैं, विद्यालयमा सर्वाेदय गड ट्यालेन्ट अन्तर्गत विद्यार्थीवीच गायन र नृत्यतर्फ प्रतियोगिता सञ्चालन गरिएको थियो । विद्यालयमा कार्यरत दुईजना शिक्षक र शिक्षिकालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
समारोहमा दमक ५ का वडाध्यक्ष इन्द्र गुरुङ, शिक्षा समिति संयोजक तथा वडा नम्बर ९ का अध्यक्ष कुवेर भट्टराई, शिक्षा तथा खेलकुद शाखाका अधिकृत सोम गुरागाई, विद्यालयका पूर्व अध्यक्ष गंगाराम भट्टराई, दमक ५ की वडा सदस्य सरु परियार, निम्स नेशनल अस्पतालका अध्यक्ष उमाकान्त आचार्य, साहित्यकार धनकुटे कान्छा लगायतको आतिथ्य रहेको थियो ।

अज्ञात समुहले जलायो दुई सवारी साधन

काठमाडौं/  राजधानीका दुई छुट्टाछुट्टै स्थानमा मंगलबार बिहान दुईवटा सवारीसाधनमा आगजनी गरिएको छ । काठमाडौंको नैकाप र सुकेधारामा अज्ञात समूहले सवारीसाधन जलाएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार नैकापस्थित पुल नजिकै बा ७ च १४०१ नम्बरको भ्यान र सुकेधारामा बिएए २८३६ नम्बरको कारमा आगो लगाइएको हो ।

घटना मंगलबार बिहान पौने ३ बजे र पौने ४ बजेको आसपासमा भएको प्रहरीको भनाइ छ । आगजनीको सूचना पाएलगत्तै पुगेका दमकलको सहयोगमा आगो निभाइएको एसपी भट्टराईले बताए ।

प्रहरीले घटनास्थलबाट मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग सम्बद्ध पर्चाहरू समेत फेला पारेको छ । सोही आधारमा प्रसाईं निकटका व्यक्तिहरूले नै आगजनी गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । ‘दुवै सवारीका धनी हालसम्म सम्पर्कमा आएका छैनन् । हामी सवारीधनीको खोजी गरिरहेका छौं र घटनास्थलमा फेला परेका पर्चाका आधारमा उनकै समूहमाथि अनुसन्धान अघि बढाएका छौं,’ एसपी भट्टराईले भने ।

आगामी फागुन २१ गते हुने निर्वाचन बिथोल्ने योजना बनाएको आरोपमा दुर्गा प्रसाईं हाल जिल्ला प्रहरी परिसर भक्तपुरको हिरासतमा छन् । उनकै समूहले निर्वाचन लक्षित विरोध प्रदर्शनका क्रममा यस्तो गतिविधि गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ओलीले भावुक हुँदै भने– “मैले राष्ट्रको पक्षमा निर्णय गरेको थिएँ” भन्ने आत्मसन्तुष्टि तपाईंमा रहिरहोस्,

काठमाडौं/ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सम्पूर्ण नेपालीहरूले देश पहिले भन्ने दिन आएको बताएका छन्।

फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनको सन्दर्भमा आइतबार भिडिओ सन्देश जारी गर्दै अध्यक्ष ओलीले आफूले सँधै देश पहिले भन्दै आएकोमा अब सम्पूर्ण नेपालीहरूले देश पहिले भन्ने दिन आएको बताएका हुन्।

उनले आफूप्रति मानिसहरूको प्रश्न र गुनासो रहेको पनि स्वीकार गरे।

‘मप्रति तपाईंका गुनासा होलान्, प्रश्न होलान्, मेरा कमजोरी पनि होलान्। तर तपाईंलाई यो पनि थाहा छ—देशको अखण्डता, स्वाभिमान र राष्ट्रियताको सवालमा मैले कसैसँग कहिल्यै सम्झौता गरेको छैन, र गर्ने छैन,’ उनले भने।

उनले निर्वाचित सरकरालाई अपदस्त गरी संसद विघटन गरिएकोमा पुनः त्यही प्रतिनिधि सभाको निर्वाचन हुन लागेको बताउँदै सबै नागरिकहरूले आफ्नो कित्ता क्लिअर गर्नुपर्ने बेला पनि आएको बताए।

‘आज तपाईंले एउटा बाटो रोज्नुपर्नेछ—बनाउने कि भत्काउने, निर्माणको कि ध्वंसको। मलाई थाहा छ, धेरै भ्रम फैलाइएका छन्। अब स्पष्ट कित्ताकाट गर्ने बेला आएको छ। तपाईं राष्ट्र जोगिनुपर्छ भन्ने पक्षमा हुनुहुन्छ कि राष्ट्रको भविष्य जे भए पनि हुन्छ भन्ने पक्षमा?,’ उनले भने।

देश पहिले भन्नाले संविधान, नियम, भूमि, जनता, सार्वजनिक सम्पत्ति, राष्ट्रिय स्वाधिनता र स्वाभिमान पहिले भन्न खोजिएको पनि उनले बताए।

‘संविधान बचे मात्र तपाईंका अधिकार बच्छन्—बोल्ने अधिकार, बाँच्ने अधिकार, न्याय पाउने अधिकार र आफ्नो मतको अधिकार। हामीलाई संविधान नहल्लिने, नियम नमिचिने र अधिकार नकुल्चिने ग्यारेन्टी चाहिएको छ। त्यस ग्यारेन्टीका लागि “देश पहिले” भन्ने भावना आवश्यक छ,’ उनले भने।

सिंहदरबार, अदालत, संसद, सडक, सरकारी कार्यालय, प्रहरी चौकी, सुरक्षा निकाय—यी सबै तपाईंको कर र भरोसाले बनेको उनले बताए।

‘यी जले भने तपाईंको भरोसा मात्र होइन, तपाईंको सपना पनि जल्छ। अब यी कहिल्यै नजल्ने ग्यारेन्टी चाहिएको छ। त्यसका लागि “देश पहिले” भन्ने प्रतिबद्धता आवश्यक छ,’ उनले भने, ‘आफ्नो माटो, आफ्नो सिमा, आफ्नो पहिचान—यी सबैमा गर्व गर्ने शक्ति नै हाम्रो आत्मबल हो। त्यसैले हामीलाई आफ्नो स्वाभिमान नचुक्ने ग्यारेन्टी चाहिएको छ।’

जीवनको अन्तिम मोडमा पुग्दा आफैलाई प्रश्न गर्दा जबाफ दिने नैतिक साहस बाँकी हुनुपर्ने उनले बताए।

‘जिन्दगीको अन्तिम मोडमा पुग्दा तपाईंले आफैँलाई सोध्नुहुनेछ—त्यतिबेला मैले बोल्नुपर्थ्यो कि पर्दैनथ्यो? आँखा–कान खोल्नुपर्थ्यो कि पर्दैनथ्यो? उठ्नुपर्थ्यो कि पर्दैनथ्यो? त्यस प्रश्नको जवाफ दिने नैतिक साहस तपाईंमा बाँकी रहोस्। “मैले राष्ट्रको पक्षमा निर्णय गरेको थिएँ” भन्ने आत्मसन्तुष्टि तपाईंमा रहिरहोस्,’ उनले भने। उनले आफ्नो बाँच्ने दिन बितिसकेका दिनभन्दा कम रहेको बताउँदै आफू धेरै दिन बाँच्न बाँकी रहेकाहरूका लागि लडिरहेको बताए।

‘त्यसैले मैले सधैँ “देश पहिले” भन्दै आएको छु। अब तपाईंले पनि “देश पहिले” भन्ने दिन आएको छ,’ उनले भने।

यसपालिको चुनाव पार्टी-पार्टीबीचको मात्रै प्रतिस्पर्धा नभई देश जलाउने र बनाउनेबीचको चुनाव रहेको अध्यक्ष ओलीले बताए।  ‘ भोलि कसैले तपाईंलाई कसलाई भोट हाल्नुभयो भनेर सोध्दैन। तपाईंले कुन बाटो रोज्नुभयो—बनाउने कि जलाउने—त्यो सोधिनेछ। मलाई विश्वास छ, तपाईंले बनाउने बाटो रोज्नुहुनेछ,’ उनले भने।

‘झापामा बालेन साहमाथि गोली प्रहार’ लेखेर टिकटकमा भ्रामक सूचना दिने पक्राउ

सामाजिक सञ्जाल टिकटकमा ‘झापामा बालेन साहमाथि गोली प्रहार’ लेखेर पोष्ट गरी भ्रामक सूचना सम्प्रेषण गर्नेलाई प्रहरीले पक्राउ गरेको छ।

समाजमा नकारात्मक तथा गलत सूचना प्रवाह गरी अशान्ति मचाउने उद्देश्यले २३ वर्षीय प्रकाश भट्टले यस्तो सूचना फैलाएका थिए।

उनी शुक्रवार दिउँसो साढे २ बजे पक्राउ गरेको थियो। भ्रामक सूचना सम्प्रेषण गरी शान्तिविरुद्धको कसुर गरेको भन्दै काठमाडौँ महानगरपालिका-५ डबली चोकबाट पक्राउ गरेको थियो।

भट्ट शुक्लाफाँटा नगरपालिका ७‚ कञ्चनपुरका बासिन्दा हुन्। उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट दिन ५ (पाँच) को म्याद थप गरी अनुसन्धान भइरहेको छ।