दमक/ नेकपा एमाले कोशी प्रदेश कमिटीको अध्यक्षका लागि मोरङका दुई जना नेताबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ ।

प्रदेश राजधानी विराटनगरमा शुक्रबारदेखि शुरु भएको पहिलो अधिवेशनमा प्रदेश कमिटी अध्यक्षका लागि विनोद ढकाल र घनश्याम खतिवडाले उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिएका हुन ।

सहमतिमा नेतृत्व चयनका लागि गरिएका प्रयास असफल भएपछि नेताद्धयबीच चुनावी प्रतिस्पर्धा हुने पक्का भएको हो ।

यस्तै उपाध्यक्षमा टिकाराम चेम्जोङको एकल उम्मेदवारी परेको छ । उनी अहिलेका पनि उपाध्यक्ष हुन् ।

सचिवमा उदयपुरका शैलेस लामा र पाँचथरका राजकुमार भण्डारीको उम्मेदवारी परेको छ ।

दुई उपसचिवका लागि अहिलेसम्म चार जनाले मनोनयन दर्ता गरेका छन् । संखुवासभाका भविश्वर गुरुङ, खोटाङका देवान राई, झापाकी जलबर्षा राजवंशी र मोरङका खेम नेपालीले उपसचिवमा उम्मेद्वारी दर्ता गरेका जनाइएको छ । त्यसैगरी प्रदेश कमिटी सदस्यका लागि दमकका युवा व्यवसायी नेता तथा पार्टी सम्बद्ध नेपाल खेलकुद महासंघका प्रदेश कमिटी अध्यक्ष राजकुमार थापाले पनि उम्मेदवारी दिएका छन । त्यसैगरी दमककै अर्का व्यवसायी तथा उत्पीडित जातीय मुक्ति समाजका प्रदेश कमिटी कोषाध्यक्ष काशी खातीले पनि पार्टीको प्रदेश कमिटी सदस्यमा उम्मेदवारी दिएका छन ।

अधिवेशनले २१५ सदस्यीय प्रदेश कमिटीमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहितको पदाधिकारी र सदस्यहरू निर्वाचित गर्नेछ ।

Facebook Comments Box