युवा संघले गर्यो “समृद्ध नेपाल, सुखी नेपाली” शीर्षकमा वक्तृत्वकला, पूर्व अध्यक्षहरुलाई सम्मान

दमक/ नेकपा एमाले सम्बद्ध राष्ट्रिय युवा संघ नेपाल दमक नगर कमिटीको आयोजनामा दमकमा माध्यमिक बिद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता बिहिबार सम्पन्न भएको छ ।

कस्मिक पाटी प्यालेसमा भएको प्रतियोगिताको औपचारिक उदघाटन नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।

समृद्ध नेपाल सुखी नेपाली शीर्षकमा भएको वक्तृत्वकला प्रतियोगितामा दमक नगरका १७ बिद्यालयका प्रतिस्पर्धीलाई उछिन्दै झापा मोडल अंग्रेजी माविमा कक्षा ९ मा अध्ययनरत प्रतिक खनाल प्रथम भएका छन ।
त्यसैगरी ग्लोबल एजुकेशन एकाडेमीका प्रज्वल सिटौला दोश्रो र हिमालय माविका सुलभ न्यौपाने तेस्रो भएका छन ।

त्यसैगरी प्रजिता एकाडेमीका आयुषा खडका र एकता एकाडेमीका बिपासा लिम्बु सान्तवना घोषित भएका आयोजक राष्ट्रिय युवा संघ नेपाल दमक नगर इञ्चार्ज राम पौडेलले जानकारी दिए ।

प्रतियोगितामा सहभागी अधिकांश प्रतियोगी वक्ताहरुले पछिल्लो पुस्ताको विदेश आकर्षण, राजनीतिक अस्थिरता र राष्ट्र, राष्ट्रियताका बिषयमा केन्द्रित हुँदै समृद्ध नेपाल सुखी नेपालीको नारालाई साकार पार्नुपर्नेमा जोड दिएका थिए ।

प्रतियोगितामा अध्यक्ष ओली र आयोजक कमिटीका नगर अध्यक्ष विवेकशर्मा भट्टराईले प्रथम हुनेलाई नगद १५ हजार, द्धितीय हुनेलाई नगद ११ हजार, तृतीय हुनेलाई ७ हजार ५ सय र सान्तवना हुनेलाई ५÷५ हजार रुपैयाँका दरले नगद राशीको पुरस्कारसहित प्रमाण पत्र र ट्रफी हस्तान्तरण गरेका थिए ।

सो अवसरमा संघले शारिरीक सुगठन अभ्यास सम्बन्धिको एशियाली प्रतियोगितामा हालै नेपाललाई स्वर्ण पदक दिलाउने दमकका विशाल क्षेत्री पौडेल, युवा संघ दमक नगर कमिटीका पूर्व अध्यक्षहरु जिवन धिमाल, शंकर दाहाल, राजकुमार श्रेष्ठ, इन्द्र गुरुङ, नविन बराल, राम पौडेल र डेन्जोङ लामालाई सम्मान गरिएको थियो ।

गिरीले सम्हाले दमक बहुमुखी क्याम्पसको जिम्मेवारी

दमक /दमक बहुमुखी क्याम्पसका नवनियुक्त क्याम्पस प्रमुख यज्ञराज गिरीले (राम ) सोमबारदेखि आफनो कार्यभार सम्हालेका छन् ।

क्याम्पस सञ्चालक समितिको गत २३ साउनमा बसेको बैठकले उनलाई क्याम्पसको विधान अनुसार आगामी ४ बर्षका लागि क्याम्पस प्रमुखमा नियुक्त गरेको थियो ।

हालका क्याम्पस प्रमुख डा.नेत्रबहादुर बुढाथोकीको चार वर्षे पदावधि सकिएपछि गिरीले आजदेखि औपचारिक रुपमा क्याम्पस प्रमुखको जिम्मेवारी सम्हालेको सञ्चालक समितिका अध्यक्ष ढुण्डिराज भण्डारीले बताए । उनलाई सोमबार सञ्चालक समितिले एक कार्यक्रमका बीच पदीय जिम्मेवारी प्रदान गर्नुका साथै बधाई तथा शुभकामना प्रदान गरेको थियो ।

नवनियुक्त क्याम्पस प्रमुख गिरीले पदीय जिम्मेवारी सम्हाल्दै यस क्याम्पसको शैक्षिक उन्नयनमा सधै इमान्दार,कर्तव्यनिष्ट भएर अत्यन्त जिम्मेवारीपूर्वक काम गर्ने प्रतिवद्धता जनाए ।

२०५५ सालदेखि प्राध्यापन गरिआएका गिरीले यसअघि सहायक क्याम्पस प्रमुख, विभागीय प्रमुखको कुसलतापूर्वक जिम्मेवारी सम्हालिसकेका छन् । प्राध्यापन संगै उनले क्याम्पसको शैक्षिक सुधारका लागि सञ्चालित सेप तथा हर्व परियोजनामा बसेर विभिन्न अनुभव सम्हालिसकेका छन् । उनले पाँचवर्षदेखि दमक बहुमुखी क्याम्पस प्राध्यापक संघका सभापतिको जिम्मेवारी समेत सम्हालिआएका छन् ।

२०३८ सालमा स्थापित यस क्याम्पसको पहिलो क्याम्पस प्रमुख अग्नीप्रसाद रिजाल हुन् भने भर्खरै नियुक्त भएका गिरी नवौ क्याम्पस प्रमुख भएको बुझिएको छ ।

सगुन युवा क्लवद्धारा तीज कार्यक्रम

कमल/ कमल ५ मंगलवारेस्थित सगुन युवा क्वले पनि सोमबार तिज विशेष कार्यक्रम गरेको छ । स्थानीय दुर्गा मन्दिरको प्राङगणमा विशेष कार्यक्रम गरि तिजमूलक सांस्कृतिक नृत्य कार्यक्रम गरिएको क्लवका अध्यक्ष देवी आङदेम्बेले बताएका छन् ।

तिज विशेष कार्यक्रममा स्थानीय किर्तन मण्डली तथा सर्वसाधारणहरुले तिज नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा मन्दिरका अध्यक्ष समेत रहेका समाजसेवी ललितकुमार वान्तवाले सर्वसाधारणका लागि दही, स्याउ लगायतका फलफूल सौजन्य गरि सहयोग पुरयाँएका थिए ।

क्लवले सांस्कृतिमूलक चाडपर्वको जगेर्ना गर्ने उद्देश्यले तिजसहित दशैमा दुर्गा पूजा भव्य रुपले मनाउदैआएको सचिव रोशन दाहालले बताए । यसवाहेक क्लवले युवा लक्षित खेलकुद तथा सामाजिक रुपान्तरण लगायतका कार्यक्रमहरु समेत सञ्चालन गरिआएको छ ।

विश्वकर्मा पूजा र यसको महत्त्व

विश्वकर्मा बाबा देवताहरुकालागि शिल्प विशेषज्ञ र हरेक देवताका भवनहरुको निर्माता, हतियार शिल्पकार र यानहरुका रचयिता तथा निर्माता हुन । शास्त्रहरुका अनुसार विश्वकर्मा ब्रह्माका पुत्र हुन, यिनका ५ छोराहरु र एकमात्र छोरी थिइन् । उनको एकमात्र छोरी सन्ध्याको विवाह वैश्विक उर्जा तथा तापका प्राकृतिक श्रोतका मालिक भगवान सूर्यसंग भएको थियो ।

विश्वकर्मा बाबा हस्तकला, शिल्पकार, हतियारविज्ञका रुपमा कला अनि हजारौं वस्तुगत रचनाका प्रेरणा हुन । आजको आधूनिक यूगमा पनि उनले वैदिक कालमा गरेको प्रविधि तथा अनेक निर्माणका अभ्यासहरूको सम्मान स्वरूप नेपालका अधिकांश ग्यारेज, कारखाना, उत्पादन प्रविधि स्थल अनि धातूका विविध कार्यहरूमा सक्रिय विविध कार्यस्थलहरु एकदमै सजिसजाउ अनि झकिझकाउ हुने गर्छदछन ।

विश्वकर्मा बाबाको पूजामा विश्वकर्मा बाबाको मुर्ती स्थापित गरि उक्त दिन पुजा गर्ने र भोलिपल्ट रितिपूर्वक नदी, ताल, तलैयामा मुर्ती सेलाउने चलन छ । आजको दिन यातायातका साधनहरुको विशेष पुजा गरिन्छ तसर्थ आजको दिन सार्वजनिक यातायातका साधनहरु सहज उपलब्ध नहुन सक्दछन ।

असोज महिनाको १ गते अर्थात कन्या संक्रान्तिलाई निर्माण तथा प्रविधि उत्पादन तथा अध्ययनका विद्वान श्री विश्वकर्मा बाबाको पूजाका रुपमा पनि मनाउने गरिन्छ । आजको दिन वैदिक सनातन हिन्दू धर्मावलम्विहरू यिनै विश्वकर्मा बाबाको सम्मानमा पूजाआजा गर्ने गर्दछन् ।

मानव जीवनका हरेक यन्त्र तथा यान्त्रीक उपलब्धि हामीलाई सधैं फापोस अनि दूर्घटनाबाट सुरक्षा मिलोस । भर्खरै गरिएका सोह्र श्राद्धका पितृकर्मले पितृहरुले मोक्ष पाउन , अनि शान्ति छावोस, आजको दिनको सबैलाई शुभकामना ।

हरितालिका तीजको नामांकन एक प्रसङ्ग, किन मनाइन्छ तीज

तीजको नाम कसरी रहन गयो त ?

‘तीज’ शब्द नामकरण कसरी भयो भन्ने कुरामा हामीले थोरै अध्ययन गर्‍यौँ । जसमा प्राप्त जानकारीलाई यहाँहरूमाझ राख्दै छौँ । तीज वर्षा याममा निस्कने एक प्रकारको किरा भएको र वर्षा यामको उत्तरार्द्धमा भएको यो चाडको नामकरणको कथा यसै वर्षे किरासँग सम्बन्धित भएको पनि पायौँ । अर्कोतर्फ तिहार, त्यो हार भन्नाले उत्कर्षको चाडका रूपमा जनाउ दिने शब्द मानिने र तीज पनि त्यो हारबाट तीजको स्वरूपमा आएको कुराहरू पनि पायौँ ।

वास्तवमा हरितालिका तीजले माता पार्वतीले भगवान् शिव पाउँ भनी गरेको १०८ वर्षको तपस्याको याद दिलाउने गर्छ । आधुनिक कालमा बर बधूले त्यस्तो तपस्या गर्नुपर्ने अवस्था त छैन, तथापि सामाजिक बन्धन, आर्थिक असमानता र भौतिकवादी सोचले धेरै नै प्रेमकथाहरू तुहिएर जाने हामी सबैलाई थाहा छ । माता पार्वतीको असीम कृपाले प्रेम अनि प्रेमीहरूको भावनाले यस धर्तीमा सदैव न्याय पाओस् ।

तीजको साँझ १०८ सुते बत्ती दियो प्रज्वलन गरिन्छ । ती दीपशिखाहरू रातभरि नै बल्नुपर्ने धारणा छ र साँझमा चन्द्र भगवानको अर्चना गर्नुपर्छ । पति–पत्नी, भावी पति, पत्नी अनि सम्पूर्ण परिवार बिचको माया सद्भाव बढाउन तीज सफल होस् । सबैलाई शुभकामना, यो तीजले महिलाहरूको नेतृत्व शक्ति, परिवार, समाज र राज्यमा महिलाको समान पहुँचलाई झनै शक्तिका साथ अघि बढाउन सकोस् ।

हरितालिका तीज व्रत

भाद्र शुक्ल तृतीयाको दिन हिन्दु महिलाहरूले भगवान् शिवको पूजा आराधना गरी व्रत बस्नुका साथै नाचगान गरेर धूमधामसँग तीज मनाउँछन् । गणेश चतुर्थी र ऋषि पञ्चमी पनि तीजकै अङ्गको रूपमा लिइन्छ । पति अनि परिवारको रक्षार्थ आज व्रत बसेका नारीहरूको अटल सौभाग्य र सदासर्वदा भरिभराऊ, कोखका लागि भगवान् स्वयं धर्तीमा झर्छन् जस्तो भान हुन्छ । हिजोको दरको भरमा आज आस्था र परम्पराको एउटा सहृदय अर्चना गरिन्छ । आजको दिन निराहार र निर्जला व्रत बस्ने चलन छ । पार्वतीले शिवजी वरका रूपमा प्राप्त गरौँ भनी मनोकामना राखी तीजको व्रत बसेपछि तीजको चलन चलेको जनविश्वास रहिआएको छ । आजको दिनमा शिव मन्दिर र शिवालयहरूमा दर्शनार्थीको विशेष भीड हुन्छ । लगभग आजको दिन पशुपतिनाथ मन्दिर परिसर रातो रंगमा सजिएका हर्षित, उत्साहित विवाहित, अविवाहित महिलाहरूको बाक्लै उपस्थिति हुने गर्छ ।

हरितालिका तीजको पौराणिक सम्बन्ध

हरितालिका पनि शिव पुराणको हिमालय पुत्री पार्वतीको प्रसङ्गसँग जोडिन्छ । परापूर्व कालमा हिमालयकी पुत्री पार्वतीले भगवान् शिवलाई पतिदेवको रूपमा प्राप्त गर्न सकूँ भनी घोर तपस्या गरिन यद्यपि तपको विधि र तालिका नमिलेर उनको तपस्या सफल हुन सकेन । जगत्का पालनकर्ता भगवान् विष्णुलाई पक्कै पनि आफ्नो तपस्या कसरी सफल हुन्छ भन्ने कुरा थाहा छ भनी पार्वतीले पहिले भगवान् विष्णुको प्रार्थना गरेको र विष्णुले भगवान् शिवलाई प्राप्त गर्न व्रत, उपासना तथा पूजा विधिका सम्बन्धमा बेलिबिस्तार लगाएको पौराणिक कथन छ । हरिले दिएको जानकारीअनुसार पार्वतीले कठोर व्रत बसेपछि भगवान् शिव खुसी भई प्रकट भए र चिताएको कुरा पुगोस् भनी वर दिएको बताइन्छ । हरि र तालिका अर्थात् यही दिन पार्वतीले हरिको सल्लाहअनुसार पूजा आराधना गरी शिवलाई प्राप्त गर्न सफल भएकाले यस दिन हरि तालिका रहन गएको हो ।

विवाहित र अविवाहित महिलाहरूको वरदान

अविवाहित नारीहरूले शिवजी जस्तै योग्य वर प्राप्त गर्न सकूँ भन्दै भगवान् शिवको व्रत–आराधना गर्छन् भने विवाहित महिलाहरूले पारिवारिक सुखशान्ति तथा दाम्पत्य जीवनको सफलताका लागि व्रत–आराधना गर्छन् ।
तीजको अर्थपूर्ण शुभकामना ।

-हाम्रोपात्रो बाट 

साहित्य कला सङ्गम द्वारा बाल निबन्ध सङ्ग्रहकाे लाेकार्पण

 दमक/ साहित्य कला सङ्गम दमकले बाल निबन्ध सङ्ग्रहकाे लाेकार्पण गरेकाे छ । साहित्य कला सङ्गम दमक काे आयाेजनामा भएकाे लाेकार्पण कार्यक्रममा प्रमुख अतिथि बाल साहित्यकार अन्बेषा चापागाई लगायत अन्य अतिथिले सयुक्त रुपमा लाेकार्पण गरेका थिए ।

साहित्यकार धनन्जय बास्काेटा ले निबन्ध सङ्ग्रह माथि समिक्षात्मक टिप्पणी गरेका थिए , साहित्यकारहरु हेम अधिकारी, खेमलाल पाेख्रेल,भुमी प्रसाद दहाल,धनकुटे कान्छा र मंगलमय मा. बि.का प्र अ. माेहन कुमार बगाले ले शुभकामना दिएका थिए। कार्यक्रममा साहित्यकारहरु बिबस बलिभद्र काेईराला,पुष्प आर्जे, रुद्र प्रभात,टंक पाठक,शिशिर भट्टराई,कृष्ण उदासी ,दिनेश मण्डु लगायतले रचना वाचन गरेका थिए ।साथै कार्यक्रममा साहितयकारहरु नरपति पाण्डे, ओमप्रसाद खनाल ,विरेन्द्र खडका,ओमप्रकाश गाैतम, कमल भट्टराई, रधुनाथ भण्डारी,लता मिश्र,अम्बिका सापकाेटा,पुस्ता राई लगायतकाे उपस्थिति रहेकाे थियाे । प्रकाशित निबन्धहरुलाई उत्कृष्टताकाे आधारमा पुरस्कृत गरिएकाे थियाे ।

पुरस्कार पाउनेहरुमा प्रथम पेक्षा दुलाल,द्वितीय अनिश न्याैपाने,तृतिय लुना न्याैपाने र सान्तवना आशुताेष कडेल,,सचिना पाेखरेल र सुनिल राया रहेका छन ।बिजेताहरुलाई प्रमाण पत्र, मायाकाे चिनाे सहित प्रथम, द्वितीय, तृतिय र सान्तवना हुने लाई क्रमश रु तीन हजार,दुई हजार ,एक हजार र पाँच सयका दरले पुरस्कृत गरिएकाे थियाे ।साहित्यकला सङ्गमका उपाध्यक्ष बिन्दु दहाल मुकदर्शक ले स्वागत गरेकाे उक्त कार्यक्रम सङ्गमका अध्यक्ष विष्णु न्याैपानेकाे अध्यक्षतामा भएकाे थियाे भने सञ्चालन सङ्गमका महासचिव दीपक सुवेदी ले गरेका थिए ।

केपी ओली असोज ४ गते दमक आउदैं

दमक/ नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली यही असोज ४ गते दमक आउने भएका छन । पार्टी सम्बद्ध राष्टिय युवा संघ नेपालको दमक नगर कमिटीले दमकमा आयोजना गरेको समृद्ध नेपाल सुखी नेपाली बिषयको वक्तृत्वकला तथा साक्षात्कार कार्यक्रममा ओली दमक आउने भएका हुन् । युवा संघको नगर कमिटीले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा सो कार्यक्रमबारे जानकारी गराइएको हो । संघका दमक नगर कमिटी अध्यक्ष विवेक शर्मा भटटराईले पार्टी अध्यक्ष ओली प्रधानमन्त्री भएको समयमा सरकारले ल्याएको समृद्ध नेपाल सुखी नेपालीको नाराका बिषयमा बिद्यार्थी तथा नयाँ पुस्तालाई सुसचित गराउन सो बिषयमा वक्तृत्वकला आयोजना गरिएको बताए ।

दमक नगरमा रहेका माध्यमिक तहका बिद्यालयहरुबाट वक्तृत्वकलामा सहभागी हुने बिद्यार्थीहरु मध्ये उत्कृष्ट पाँच जना बिद्यार्थीहरुलाई नगद राशीको पुरस्कार , टफी र प्रमाण पत्र प्रदान गरिने अध्यक्ष भटटराईले जानकारी दिए । प्रतियोगितामा प्रथम हुनेले नगद १५ हजार, द्धितीय हुनेले नगद ११ हजार, तृतीय हुनेले नगद ७,५०० र सान्तवना स्वरुप दुई जनालाई जनही ५ हजारका दरले पुरस्कार प्रदान गरिने जनाइएको छ ।

पार्टीका प्रदेश सभा क्षेत्र (ख) का क्षेत्रीय अध्यक्ष अम्बिका खनालको प्रमुख उपस्थितिमा भएको पत्रकार सम्मेलनमा युवा संघका केन्द्रीय सदस्य निशा लिम्बू , पार्टीका जिल्ला सदस्यहरु लिला दाहाल, गणेश बस्नेत, नगर कमिटी अध्यक्ष गेहनाथ पोखरेल, बोधप्रसाद घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

आज कुशे औँसी, बुबाको मुख हेर्ने दिन

काठमाण्डाै/ हरेक वर्ष भदौ कृष्णपक्षको औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाइँदै छ ।

कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसैदिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईले जानकारी दिनुभयो ।

सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् ।

यस्तै, पितालाई सम्मान–भक्ति प्रकट गर्दै आज बुबाको मुख हेर्ने दिन मनाइँदै छ । बुबा हुनेले मिठामिठा परिकार बनाएर खुवाउने तथा लुगाफाटो तथा विविध उपहार दिने चलन छ । बाबु नहुनेले विभिन्न तीर्थस्थलमा गइ तर्पण तथा श्राद्ध गर्ने परम्परा छ ।

आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाण्डाैको उत्तरपूर्वी क्षेत्रमा रहेको गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ । यसैले आजको औँसीलाई गोकर्णे औँसीकाे नामले पनि चिनिन्छ ।

यस अवसरमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बुबाको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेको भिड लाग्ने गर्छ । यसैगरी रसुवा र नुवाकोट सङ्गमस्थल बेत्रावतीमा पनि मेला लाग्छ ।

-उज्यालो अनलाइनबाट

स्वणर्लक्ष्मी सहकारीको १४ औं साधारण सभा, सहकारीहरुले सदस्यको विश्वास जित्नुपर्नेमा जोड

दमक/ दमक ६ मा मुख्य कार्यालय रहेको स्वणर्लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले १४ औं बार्षिक साधारण सभा इकाइगत रुपमा सम्पन्न गरेको छ ।

मंगलबार आयोजित साधारण सभाको प्रमाणिकरण समारोह राष्ट्रिय सहकारी महासंघका अध्यक्ष रमेश पोखरेलको प्रमुख आतिथ्यमा आयोजित समापन कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको संस्थाका कार्यकारी प्रमुख कमलकुमार घिमिरेले जानकारी दिए ।

सो अवसरमा प्रमुख अतिथी पोखरेलले सहकारीहरुले आफना शेयर सदस्यहरुको विश्वास जिनेर आकर्षित गर्न नसक्दा अप्ठयारोमा परिरहेको उल्लेख गरे । पोखरेलले सहकारी अभियानका बिषयमा सदस्यहरुलाई बुझाउनु अभियान्ताहरुकै दायित्व भएको पनि बताए ।

अहिलेको परिस्थितमा सहकारीमा देखिएका समस्यासँग जुध्न सहकारी संस्थाहरु र अभियान्ताहरुबीच हातेमालोको आवश्यकता औल्याएका पोखरेलले सहकारी क्षेत्रले मुलुकको आर्थिक क्षेत्रमा १८ प्रतिशत योगदान दिएको चर्चा गरे । कार्यक्रममा दमक ६ का वडाध्यक्ष टेकबहादुर थापाले शुभकामना दिदैं सहकारी सञ्चालकहरुलाई संस्थाका सदस्यहरुले समयमानै निगरानी गरेर नियम संवत सञ्चालन गर्न खबरदारी गर्नुपर्ने औंल्याए ।

कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ झापाका अध्यक्ष अध्यक्ष तुलाराम न्यौपाने, राष्ट्रिय सहकारी बैक दमक शाखा प्रमुख मुना के.सी. सहकारी अभियान्ता तथा मेची बहुउद्धेश्यीय सहकारी संस्थाका कार्यकारी अधिकृत खोम वगाले , पूर्व नेपाल बहुउद्धेश्यीय सहकारी संस्था कमलका अध्यक्ष प्रेम सापकोटा लगायतले पनि शुभकामना मन्तव्य राखेका थिए ।

सो अवसरमा संस्थामा कार्यरत उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरिएको थियो । हिरो अफ दि स्वणर्लक्ष्मी पुरस्कारवाट संस्थाको दमक शाखाका कर्मचारी सुशील गड्तौला,उत्कृष्ट कर्मचारीहरु कृतिका दाहाल र गणेश भटराई, कमल गड्तौला ,सानी भटराई र झलक गौतमलाई पुरस्कृत गरेको हो । त्यस्तै सो सहकारीले पत्रकारहरुलाई बर्षेनी प्रदान गर्दै आएको पत्रकारिता पुरस्कार यस बर्ष मनकुमार गदाललाई प्रदान गरेको छ ।

संस्थाका अध्यक्ष बुद्धिसागर वराल (बिमल) को अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष बरालले सञ्चालक समितिको र लेखा सुपरिवेक्षण समितिका संयोजक गायत्रीप्रसाद पराजुलीले लेखा प्रतिवेदन पेश गरेका थिए ।

संस्थाले यसअघि झापा र मोरङका विभिन्न स्थानमा रहेका सेवा केन्द्रहरुमा इकाइगत साधारण सभा गरी सोको प्रमाणिकरण गरिएको संस्थाले जनाएको छ ।

दमकमा प्याव्सनको अतिरिक्त क्रियाकलाप प्रतियोगिता

दमक/  निजी तथा आवासीय बिद्यालयहरुको संगठन ( प्याव्सन)को दमक नगर समितिले आयोजना गरेको नगरस्तरीय अन्तर बिद्यालय अतिरिक्त क्रियाकलाप सम्बन्धि प्रतियोगिता शनिबार सम्पन्न भएको छ ।
बिद्यार्थीहरुमा किताबी ज्ञानका अतिरिक्त अन्य बिषयहरुमा समेत प्रतिभा बिकास गराउने उद्धेश्यले हरेक बर्ष आयोजना गरिँदै आएको सो कार्यक्रम यस बर्ष दमक ४ स्थित एकता एकाडेमीमा सम्पन्न भएको हो ।
बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुबीच श्रुती लेखन, निवन्ध लेखन, कविता लेखन तथा वाचन, आकस्मिक वक्तृत्वकला, चित्रकला, हाजिरीजवाफ लगायतका विधामा गरिएको प्रतियोगिताका उत्कृष्ट विद्यार्थीहरुलाई दमक नगर उपप्रमुख रेगिना भट्टराई (प्रसाइँं)को प्रमुख आतिथ्य र दमक नगर शिक्षा संयोजक तथा दमक ९ का वडाध्यक्ष कुबेर भट्टराईको विशेष आतिथ्यमा पुरस्कार तथा प्रमाण पत्र वितरण गरिएको आयोजकले जनाएको छ ।
प्याव्सन दमक नगर अध्यक्ष जनार्दन मैनालीको अध्यक्षतामा भएको सो प्रतियोगितामा ४५ बिद्यालयको सहभागिता रहेको जनाइएको छ । प्याव्सनका अतिरिक्त क्रियाकलाप संयोजक मित्र खत्री रहेका थिए ।
गाउँ नगरस्तरमा सञ्चालित विभिन्न बिधाका प्रतियोगितामा प्रथम हुनेहरुलाई बाल दिवसको अवसर पारेर यही २९ भाद्रमा जिल्लास्तरमा हुने प्रतियोगितामा सहभागी गराइने जनाइएको छ ।