झापामा एमाले अध्यक्ष ओली र उपाध्यक्ष पौडेल सँगसँगै, चङगा उडाउँदै भने “हेप्पी दशैं”

दमक/ बिधिवत रुपमा यस बर्षको दशैं शुरु भएको सातौं दिन बितिसकेको छ । आज महाष्टमी । चौतर्फी रुपमा दशैंलाई स्वागत गर्ने र दशैं मनाउने तयारीमा सर्वसाधारण जुटिसकेका छन ।

झापामा दशैंँसँगै नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पार्टी नेता, कार्यकर्ता र सर्वसाधारणसँग दशैं लक्षित शुभकामना आदनप्रदान, व्यक्तिगत भेटघाट र कुराकानीमा व्यस्त छन ।

दशैंमा सधैंका बर्षहरु जस्तै अध्यक्ष ओलीले यस बर्षपनि एमाले कार्यकर्ताहरुसँगै अन्य राजनीतिक दलका नेता, कार्यकर्ताहरुलाई पनि विर्तामोडमा औपचारिक कार्यक्रम गरि शुभकामना दिए ।

नवरात्रको छैठौं दिन षष्ठीमा आयोजना गरिएको शुभकामना आदान–प्रदान तथा चियापानमा सहभागी हुन अध्यक्ष ओलीसँगै पार्टी उपाध्यक्ष बिष्णु पौडेल पनि आएका छन ।

शुभकामना आदनप्रदानको मेसो मिलाएर अध्यक्ष ओली र उपाध्यक्ष पौडेलको झापामा सक्रिय उपस्थितीलाई एमाले राजनीतिमा महत्व र चासोसाथ हेरिएको स्वयं एमाले नेता, कार्यकर्ताहरुले बताउने गरेका छन ।

एमाले झापाका एक जना सक्रिय कार्यकर्ताले भनेका छन– “अध्यक्ष ओली त आफनो घर परिवार झापामै भएकाले र आफनै निर्वाचन क्षेत्र पनि झापामै पर्ने भएकाले यहाँ आउनु जानु र समय बिताउनुलाई स्वभाविक मान्न सकिन्छ तर दशैंको बेला बुटबल घर भएका बिष्णु पौडेल ओली सँगसँगै झापाका गाउँ –गाउँ सम्म भेटघाट र औपचारिक कार्यक्रममा निरन्तर सक्रिय हुनुले खास अर्थ र महत्व पक्कै राखेको छ ।” अध्यक्ष ओली र पौडेल जिल्लाका विभिन्न देहाती क्षेत्रमा पनि सँगै पुगेका छन ।

आइतबार पार्टीले गौरादह ५ मा आयोजना गरेको शुभकामना आदनप्रदान कार्यक्रममा सहभागी भएका ओली र पौडेलसँगै नेता अग्नी खरेल, कोशी प्रदेशका पूर्व मुख्यमन्त्री एवं नेता हिक्मत कार्की लगायतका नेताहरु पनि सँगै थिए । ओली नेतृत्वको सो टोलीले गौरादह २ मा रहेको लाहा फैक्ट्री , गौरादह ७ को आदिवासी संग्राहालय निर्माणस्थल, गौरादह ८ को ड्रायगन फ्रुट र बयर खेती र गौरादह ९ बैगुन्धुरामा रहेको लाहाको खेती अवलोकन गरेका छन । त्यस्तै अध्यक्ष ओलीले हुलाकी राजमार्ग अन्तर्गत गौरीगञ्ज १ चौरीमा पर्ने कन्काई पूलको निर्माणाधिन अवस्था र दमकस्थित ग्रीन नेपाल नामक एक घरेलु उद्योगको पनि अवलोकन गरेका छन । एमाले झापा क्षेत्र नं ५ का संयोजक तुलसी कार्कीका अनुसार अध्यक्ष ओलीले आफनो निर्वाचन क्षेत्र विशेष अनुगमन तथा अवलोकन भ्रमण गरेका हुन ।

झापा बसाईका क्रममा अध्यक्ष ओलीको स्वागत सत्कारको रौनक र चर्चा सर्वसाधारण र कार्यकर्ताहरुमाझ यसपटक अघिल्ला पटकहरुमा भन्दा कम भएको देखिन्छ । यद्यपी अध्यक्ष ओलीले यसपटकको दशैंमा झापा आएर बालबालिकासँग दशैं स्मरण गर्दै रमाएका दृश्य र चङगा उडाएको दृश्य कैद भएको फोटो, भिडियो र ओलीसँग महिला बालबालिकाहरुले लिएको सेल्फीको चर्चा भने निक्कै छ । ओलीले बालबालिकासँग चङगा उडाउँदै हेप्पी दशैं भनेका छन ।

केपी ओली असोज ४ गते दमक आउदैं

दमक/ नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली यही असोज ४ गते दमक आउने भएका छन । पार्टी सम्बद्ध राष्टिय युवा संघ नेपालको दमक नगर कमिटीले दमकमा आयोजना गरेको समृद्ध नेपाल सुखी नेपाली बिषयको वक्तृत्वकला तथा साक्षात्कार कार्यक्रममा ओली दमक आउने भएका हुन् । युवा संघको नगर कमिटीले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा सो कार्यक्रमबारे जानकारी गराइएको हो । संघका दमक नगर कमिटी अध्यक्ष विवेक शर्मा भटटराईले पार्टी अध्यक्ष ओली प्रधानमन्त्री भएको समयमा सरकारले ल्याएको समृद्ध नेपाल सुखी नेपालीको नाराका बिषयमा बिद्यार्थी तथा नयाँ पुस्तालाई सुसचित गराउन सो बिषयमा वक्तृत्वकला आयोजना गरिएको बताए ।

दमक नगरमा रहेका माध्यमिक तहका बिद्यालयहरुबाट वक्तृत्वकलामा सहभागी हुने बिद्यार्थीहरु मध्ये उत्कृष्ट पाँच जना बिद्यार्थीहरुलाई नगद राशीको पुरस्कार , टफी र प्रमाण पत्र प्रदान गरिने अध्यक्ष भटटराईले जानकारी दिए । प्रतियोगितामा प्रथम हुनेले नगद १५ हजार, द्धितीय हुनेले नगद ११ हजार, तृतीय हुनेले नगद ७,५०० र सान्तवना स्वरुप दुई जनालाई जनही ५ हजारका दरले पुरस्कार प्रदान गरिने जनाइएको छ ।

पार्टीका प्रदेश सभा क्षेत्र (ख) का क्षेत्रीय अध्यक्ष अम्बिका खनालको प्रमुख उपस्थितिमा भएको पत्रकार सम्मेलनमा युवा संघका केन्द्रीय सदस्य निशा लिम्बू , पार्टीका जिल्ला सदस्यहरु लिला दाहाल, गणेश बस्नेत, नगर कमिटी अध्यक्ष गेहनाथ पोखरेल, बोधप्रसाद घिमिरे लगायतको उपस्थिति रहेको थियो ।