मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत

काठमाण्डाै/ कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाउनुभएको छ । ९३ सदस्यीय प्रदेशसभाबाट कार्कीको पक्षमा ८६ जना प्रदेशसभा सदस्यले मदतान गरेका छन् । विपक्षमा राप्रपाका ५ जनाले मत दिएका छन् ।

कार्कीलाई नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले मत दिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले भने विपक्षमा मत दिएको छ ।

गएको शनिवार प्रदेश सरकार गठनको अन्तिम विकल्प संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीले तत्काल विश्वासको मत लिनुभएको हो । यस पटक पनि कोशीमा सरकार बन्न नसकेको भएमा प्रदेशसभा नै विघटन हुने थियो ।

नेपाली कांग्रेसले माओवादीका इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरे पनि कांग्रेसकै शेखर कोइराला पक्षका केदार कार्कीले ९ जना सांसदसहित विद्रोह गरेर एमालेको समेत समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको थियो । एमाले र शेखर कोइराला पक्षका सांसदको बहुमत पुग्ने भएपछि सत्ता गठबन्धनमा रहेका दलले पनि कार्कीलाई नै मत दिने निर्णय गरेका थिए । कार्कीले एमालेका एक जना र कांग्रेसका एक जनालाई मन्त्री नियुक्त गरिसक्नुभएको छ ।

लाओसलाई हराउँदै नेपाल विश्वकप छनाेटकाे दाेस्राे चरणमा

काठमाण्डाै/ लाओसलाई हराउँदै नेपाल फिफा विश्वकप छनाेटकाे दाेस्राे चरणमा पुगेकाे छ ।  आज मङ्गलवार न्यु लाओस नेशनल स्टेडियममा भएकाे विश्वकप छनोट प्रारम्भिक चरणको दोस्रो लेगमा घरेलु टाेलीलाई १–० ले हराउँदै समग्रमा २–१ काे जित निकालेर नेपाल दाेस्राे चरणमा पुगेकाे हाे । नेपालकाे जितमा मनिष डाँगीले गाेल गरे । मनिषले खेलकाे ५२ औँ मिनेटमा अञ्जन विष्टकाे पासमा गाेल गरे । खेलकाे इन्ज्युरी समयमा नेपालका कप्तान किरण चेम्जाेङले उत्कृष्ट बचाउ गर्दै टाेलीकाे अग्रता कायम राखे ।  गएकाे बिहीवार घरेलु मैदान दशरथ रङ्गशालामा भएकाे खेलमा नेपाल लाओससँग १–१ गाेलकाे बराबरीमा राेकिएकाे थियाे ।  अब नेपालले समूह ‘एच’ मा रहेका बहराइन र यूएई तथा यमन र श्रीलङ्काबीचको विजेतासँग दोस्रो चरणको छनोट ‘होम एन्ड अवे’ का आधारमा खेल्नेछ ।

सहकारीका सञ्चालक तथा कर्मचारीलाई क्षमता अभिबृद्धि तालिम

दमक/ दमक ८ स्थित राष्ट्रिय बहुमुखी सहकारी संस्थाले आफना सञ्चालक समिति तथा कर्मचारीका लागि आइतवार एक दिने सहकारी सम्बन्धी क्षमता अभिबृद्धि तालिम सञ्चालन गरेको छ ।

स्थानीय केविआर होटलमा आयोजित तालिममा संस्थाका सञ्चालक समिति,लेखा समिति, विभिन्न उपसमितिका पदाधिकारी तथा सदस्यहरु,कर्मचारीहरु लगायतको सहभागिता रहेको थियो ।

संस्थाको शिक्षा तथा तालिम उपसमितिका संयोजक दिपेन बाला राईको अध्यक्षता तथा संस्थाका अध्यक्ष एलडी राईको प्रमुख आतिथ्यतामा भएको तालिममा प्रदेश सहकारी निमित्त रजिष्ट्रार हरीबहादुर खत्री ,अधिकृतद्धय मनोज कार्की र अधिकृत मनोज भट्टराईले सहकारी, सहकारीका ऐन,कानुनका विषयमा सहजीकरण गरेका थिए । तालिममा सहभागिहरुलाई संस्थाका अध्यक्ष राईसहित प्रशिक्षकहरुले प्रमाणपत्र प्रदान गरेका व्यवस्थापक लिलाराज तुम्बापोले बताएका छन् ।

लागुऔषध सहित ५ जना पक्राउ

मोरङ/ झापा र सुनसरीका तिन छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ५ जनालाइ प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धुलाबारी र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-१० खयरडागीबाट झापाको मेचीनगर नगरपालिका-१५ का २६ बर्षीय कैलाश थेबेलाई १ ग्राम ५ सय मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित शुक्रबार साँझ पक्राउ गरेको हो । यसैगरी प्रहरी चौकी बाघखोरबाट खटिएको प्रहरी टोलीले झापाको दमक नगरपालिका-३ का २० बर्षीय उमेश गुप्तालाई ८ सय मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको थियो । यसका साथै ईलाका प्रहरी कार्यालय महेन्द्रनगर चकरघट्टीबाट खटिएको प्रहरी टोलीले सुनसरीको बराहक्षेत्र नगरपालिका-९ सयपत्री चौक स्थित भित्री सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ आँउदै गरेको प्र१ ०२ ००२ ह ९३८७ नम्बरको अटो रोकेर चेकजाँच गर्ने क्रममा अटोको पछाडी सिट मुनि लुकाएर ल्याउदै गरेको प्रतिबन्धित औषधी स्पास्मो प्रोक्जिभन १८० पिस, नाईट्रोजन पेन १०० पिस, नाईट्रो भ्याट ३० पिस सहित अटो चालक बराहक्षेत्र नगरपालिका-७ का ५२ बर्षीय केशब श्रेष्ठ, ३५ बर्षीय प्रशान्त श्रेष्ठ र २३ बर्षीय निमेश भट्टराईलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

दमक नगरद्वारा ज्येष्ठ नागरिक दिवसमा सामुहिक सम्मान

 दमक/ अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर दमकमा आइतवार ज्येष्ठ नागरिकहरुको उचित स्याहार संरक्षण गर्ने छोराबुहारी र छोरी ज्वाइँहरुलाई सामूहिक सम्मान गरिएको छ ।

दमक नगरपालिकाको ज्येष्ठ नागरिक तथा महिला बालबालिका शाखाले नगरका १० वटै वडाबाट सिफारिस भई आएका ति व्यक्तिहरुलाई सम्मान गरेको हो । ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपालको अधिवेशन उदघाटन कार्यक्रमकी प्रमुख अतिथि नगरपालिकाकी कार्यबहाक प्रमुख रेगिना भटटराई प्रसाइँ र प्रतिष्ठानका अध्यक्ष सिताराम खतिवडा लगायतले दोसल्ला र सम्मान पत्रबाट उनीहरुलाई सम्मान गरेका हुन् ।

सम्मानित हुनेहरुमा दमक १ का खगेन्द्र काफ्ले र सावित्रा काफले, दमक २ का इन्दिरा दाहाल र लक्ष्मी दाहाल , वडा नं ३ की अम्बिका गौतम , वडा नं ४ की गौरीकुमारी भेटवाल, वडा नं ५ की गीता अधिकारी, ६ की रुक्मणी पोखरेल, ७ की पदमा कार्की सिंह, ८ कन सूर्यप्रसाद दाहाल, ९ का रुपादेवी भगत र वडा नं १० की सुमित्रा भण्डारी रहेका छन् । सो अवसरमा प्रतिष्ठानको २० औं बार्षिक साधारण सभाको उदघाटन गर्दै कार्यबहाक नगर प्रमुख रेगिना भटटराई प्रसाइँले ज्येष्ठ नागरिकहरु समाजका सम्पत्ती भएको भन्दै समाजले उचित सम्मान गर्नुपर्ने बताइन् । उनले ज्येष्ठहरुको सेवा सुविधालाई मध्यनजर गर्दै स्थानीय सरकारले उनीहरुको स्वास्थ्योपचार र अन्य सेवा सुबिधाका कार्यक्रमहरु ल्याएको उल्लेख गरिन् ।

कार्यक्रममा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाइँ, दमक ६ का वडाध्यक्ष टेकबहादुर थापा, वडा नं २ की वडा सदस्य चन्द्रकला विश्वकर्मा, वडा नं ५ का वडा सदस्यहरु गोपाल संग्रौला, शोभा बेलबाँसे लगायत ज्येष्ठ नागरिक तथा सामाजिक अगुवाहरुको विशेष उपस्थिति रहेको थियो । सो अवसरमा प्रतिष्ठानका अध्यक्ष खतिवडा र लेखा सुपरिवेक्षण समिति संयोजक शिवप्रसाद काफ्लेले अलग अलग प्रतिवेदन प्रस्तुत गरेका थिए ।

एमाले कोशी प्रदेशको अध्यक्षमा ढकाल र खतिवडाको उम्मेदवारी

दमक/ नेकपा एमाले कोशी प्रदेश कमिटीको अध्यक्षका लागि मोरङका दुई जना नेताबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ ।

प्रदेश राजधानी विराटनगरमा शुक्रबारदेखि शुरु भएको पहिलो अधिवेशनमा प्रदेश कमिटी अध्यक्षका लागि विनोद ढकाल र घनश्याम खतिवडाले उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिएका हुन ।

सहमतिमा नेतृत्व चयनका लागि गरिएका प्रयास असफल भएपछि नेताद्धयबीच चुनावी प्रतिस्पर्धा हुने पक्का भएको हो ।

यस्तै उपाध्यक्षमा टिकाराम चेम्जोङको एकल उम्मेदवारी परेको छ । उनी अहिलेका पनि उपाध्यक्ष हुन् ।

सचिवमा उदयपुरका शैलेस लामा र पाँचथरका राजकुमार भण्डारीको उम्मेदवारी परेको छ ।

दुई उपसचिवका लागि अहिलेसम्म चार जनाले मनोनयन दर्ता गरेका छन् । संखुवासभाका भविश्वर गुरुङ, खोटाङका देवान राई, झापाकी जलबर्षा राजवंशी र मोरङका खेम नेपालीले उपसचिवमा उम्मेद्वारी दर्ता गरेका जनाइएको छ । त्यसैगरी प्रदेश कमिटी सदस्यका लागि दमकका युवा व्यवसायी नेता तथा पार्टी सम्बद्ध नेपाल खेलकुद महासंघका प्रदेश कमिटी अध्यक्ष राजकुमार थापाले पनि उम्मेदवारी दिएका छन । त्यसैगरी दमककै अर्का व्यवसायी तथा उत्पीडित जातीय मुक्ति समाजका प्रदेश कमिटी कोषाध्यक्ष काशी खातीले पनि पार्टीको प्रदेश कमिटी सदस्यमा उम्मेदवारी दिएका छन ।

अधिवेशनले २१५ सदस्यीय प्रदेश कमिटीमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहितको पदाधिकारी र सदस्यहरू निर्वाचित गर्नेछ ।

मोडल सहकारीको १२ औं साधारण सभामा सम्मान र पुरस्कार

दमक/ दमक ६ स्थित मोडल बचत तथा ऋण सहकारी संस्थाको १२ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

शुक्रबार दमक उद्योग वाणिज्य संघको सभाकक्षमा आयोजित साधारण सभाको अवसर पारेर संस्थाका ज्येष्ठ सदस्यहरुलाई र उत्कृष्ट कारोबारी सदस्यहरुलाई सम्मान गरिएको हो ।

संस्थाले उत्कृष्ट कारोबार गर्ने १५ जना र १९ जना ज्येष्ठ सदस्यहरुलाई सम्मान गरेको हो । उनीहरुलाई कार्यक्रमकी प्रमुख अतिथि दमक नगरपालिकाकी कार्यवहाक नगर प्रमुख रेगिना भटटराई प्रसाइँ र संस्थाका अध्यक्ष भोला बरालले सम्मान गरेका हुन् ।

सो अवसरमा प्रमुख अतिथि भटटराईले सहकारी संस्थामा बसेर सहकारी नियम कानुन नमान्ने छुट कसैलाई नभएको बताइन् । उनले सहकारीहरुले मापदण्ड भित्र रहेर आफना गतिबिधिहरु सञ्चालन गर्नुपर्नेमा जोड दिइन् । सहकारी संस्थाका सदस्यहरुनै संस्थाका मालिक भएको बताउँदै उनले हरेक सहकारीका सदस्यहरुले सञ्चालकमाथि समयमा नै निगरानी राखेर सजग गराउनु पर्ने दायित्व हुने उल्लेख गरिन् ।

सो अवसरमा जिल्ला सहकारी संघका उपाध्यक्ष प्रेम प्रसाद कोइराला, प्रदेश सहकारी संघ लेखा संयोजक खोम बगाले , चन्द्रा खड्का भटटराई लगायतले एकाध सहकारीहरुमा रहेको समस्याका कारण धेरै सहकारीहरुले समस्या ब्यहोर्नुपर्ने अवस्था आउनु दुखद भएको उल्लेख गरे ।

कार्यक्रममा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाइँले सहकारीका माध्यमबाट व्यवसायीहरुको व्यवसायलाई निरन्तरता दिन सहयोग पुगिरहेको भन्दै हरेक संस्था नियम संवत सञ्चालन हुनुपर्नेमा जोड दिए ।

सो अवसरमा संस्थाका सल्लाहकार संयोजक समेत रहेका नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य गोकुल श्रेष्ठसहित सहकारी र व्यवसायीक क्षेत्रका व्यक्तित्वहरुको आतिथ्य रहेको थियो ।

सभामा संस्थाका अध्यक्ष बरालले सञ्चालक समितिका तर्फबाट बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका सदस्यहरुलाई आफनो सम्पूूर्ण कारोबार सहकारीमा केन्द्रित भएर गर्न आग्रह गरे । उनले संस्थाले बचतकर्ताहरुकै रकम बजारमा ऋणका रुपमा लगानी भएका कारण कसैले पनि कर्जा लिएर तिर्नु पर्दैन भन्ने भ्रम नपाल्न आग्रह गरे । सो संस्थाले चालू आर्थिक बर्षमा शेयर पुँजी ३ करोड रुपैयाँ पुरयाउने लक्ष्य राखेको प्रतिवेदनमा उल्लेख छ । सभाको संचालन संस्थाका सचिव दिपक बरालले गरेका थिए ।

साहित्य कला सङ्गमकाे स्रष्टा भेटघाट

दमक/ साहित्य कला सङ्गम दमकले स्रष्टा भेटघाट कार्यक्रम सम्पन्न गरेकाे छ । साहित्य कला सङ्गमकाे आयाेजनामा भएकाे उक्त कार्यक्रममा साहित्यकार तथा पाठ्यक्रमबिद डा.गणेश भट्टराई ,लेखक तथा प्रकाशक रामदेव पाण्डे, दमक प्रज्ञा परिषदका पुर्व अध्यक्ष हेमनाथ अधिकारी, साहित्य कला सङ्गमका पुर्व अध्यक्ष नरपति पाण्डे ले साहित्यिक चर्चा गरेका थिए ।
नेपाल प्रज्ञा प्रतिष्ठानका का पुर्व प्राज्ञ सदस्य कवि तथा साहित्यकार प्रा.डा. देवी नेपाल काे प्रमुख आतिथ्यमा भएकाे उक्त कार्यक्रममा साहित्यकार हरु यादव प्रसाद अधिकारी,दुर्गा काफ्ले ,बिन्दु दहाल मुकदर्शक,ओमप्रसाद खनाल,डा. लेखनाथ न्याैपाने,कमल प्रसाद भट्टराई,बिरेन्द्र खडका, मेघनाथ बन्धु, छविराम न्याैपाने,अम्विका प्रसाद सापकाेटा ,डिल्लीराम निराैला,छविराम न्याैपाने,पुस्ता राई,ज्ञाननाथ निराैला लगायतका सष्टाहरुलेआफ्ना साहित्यिक रचनाहरु प्रस्तुत गरेका थिए ।
साहित्य कला सङ्गमका काेषाध्यक्ष ओम प्रसाद खनालले सञ्चालन गरेकाे उक्त रचना वाचन कार्यक्रमकाे अध्यक्षता साहित्य कला सङ्गमका उपाध्यक्ष यादव प्रसाद अधिकारी “झाक्रिखाेले” गरेका थिए भने स्वागत मन्तव्य अर्का उपाध्यक्ष बिन्दु दहाल मुकदर्शकले राखेका थिए।

हस्पिटलको आवरणमा रकम असुल्ने धन्दा, प्रशासनमा पर्यो सामुहिक उजुरी

दमक/ आन्तरिक समस्या झेल्दै आएको दमक ८ स्थित दमक हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि भित्र आर्थिक अनियमितताको बिषय सतहमा आएको छ ।

प्रतिष्ठित चिकित्सकहरुसहितको टिमको लगानी रहेको सो प्रालिमा २०७६ सालदेखि लगानीकर्ता तथा शेयर सदस्यहरुबीच अस्पताल सञ्चालनमा पारदर्शीताको अभाव देखाउँदै भित्र भित्रै विवाद रहेको थियो ।

पछिल्लो समय ठुला लगानीकर्ता मानिएका प्रालिका अध्यक्ष डा. निराजन भुसाल र अर्का शेयर होल्डर डा. चन्द्रप्रकाश गैरेले अन्य लगानीकर्ताहरुलाई भित्र भित्रै पाखा लगाएर आफूहरुको नाममा मात्रै शेयर कायम गरेको तथ्य समेत खुलेको छ ।

लगानीकर्ताहरुसँग गैरेले शेयर वापत रकम हाल्न लगाएपनि उनीहरुको शेयर कायम समेत नगरेको र हस्पिटलमा असम्बन्धित व्यक्तीहरुका नाममा कम्पनी ऐन नियम र बैंकिङ नियम समेत मिचेर ठुलो रकम कम्पनीको बैंक खाताबाट झिकेर अपचलन गरिरहेको आरोप लागेको छ ।

मोति बराल, नारायण श्रेष्ठ, सुजन खरेलसहित ९ जना लगानीकर्ताहरुले विशेष गरी गैरेले त्यस्तो धन्दा चलाएको प्रमाण समेत सार्वजनिक गर्दै बिहिबार दमकमा पत्रकार सम्मेलन गरेका छन । मंगलबार जिल्ला प्रशासन कार्यालय झापामा डा. भुषाल र गैरे विरुद्ध सामुहिक उजुरी गरेका उनीहरुले दोषीमाथी कारवाही र पीडितहरुमाथी न्यायका लागि सार्वजनिक अपिल गर्दै पत्रकार सम्मेलन गरेका हुन ।

उनीहरुले डा. भुसाल र गैरेले कार्यकारी निर्देशक तेजराज घिमिरे समेतलाई दबाबमा राखेर ३ करोड ४१ लख रुपैयाँ रकम अपचलन गरेको दाबी गरेका हुन ।

अर्घाखाँची स्थायी ठेगाना भएका प्रालिका अध्यक्ष डा. निराजन भुसाल र सञ्चालक डा.चन्द्रप्रकाश गैरेले कम्पनीको बैंक खातामा रहेको रकम अनियमित तवरले विभिन्न असम्बन्धित व्यक्तिहरुका नाममा समेत झिकेर अपचलन गरेको उनीहरुको जिकिर छ ।

दमक ८ नम्बर वडा कार्यालयले वडा सदस्य ख्याम श्रेष्ठको संयोजकत्जमा बनाएको हस्पिटल विवाद समाधान समितिले तयार पारेको प्रतिवेदन वडा कार्यालयमा बुझाइसकेको बताइएको छ ।

कम्पनी नियम विपरित निजहरुले अन्य सञ्चालक तथा शेयर सदस्यहरुको उपस्थिती र बैठक बिनानै एक्लौटी रुपमा गएको भाद्र ६ गते आफना नाममा मात्रै शेयर कायम गरेको देखिएकाले किर्ते तथा जालसाँजी समेत गरेको आरोपितहरुको ठहर छ ।

गैरे दमकमानै ऊँ शान्ति डेन्टल सञ्चालन गर्दै आएका छन् भने भुसाल अन्यत्रै बस्ने गरेका छन् ।

गैरेले स्वास्थ्य निकायको उपल्लो तह सम्म आफनो पहुँच रहेको बताउँदै स्वास्थ्य क्षेत्रका चिकित्सक तथा अन्य स्वास्थ्यकर्मी र कतिपय राजनीतिक , सामाजिक अगुवाहरुलाई समेत स्वास्थ्य क्षेत्रमा लगानी गर्न भन्ने गरेको र लगानी गरिएको पैसा अपचलन गर्ने गरेको बताइएको छ ।

स्वास्थ्य बीमा कार्यक्रम समेत सञ्चालनमा रहेको सो हस्पिटलमा लगानीकर्ता चिकित्सकहरुले आफूले लगानीको हर हिसाब मागेर पारदर्शी कारोबार गर्न माग गर्दा उल्टै धम्क्याउने गरेको पीडितहरुको भनाई छ ।

उजुरी गर्नेहरुमा बराल, सञ्चालक सदस्य नारायण श्रेष्ठ र हेमराज पोखरेल हुन भने डा. सञ्जय रिमाल, डा. प्रकाश शर्मा, डा. दिव्या तुलाचन, डा. नविन ढकाल र सुजन खरेल सो हस्पिटलका लगानीकर्ता हुन् । लगानीकर्ताहरुको सो समूहलाई गैरेले हस्पिटलमा लगानी गर्न आग्रह गर्दै पटक पटक झण्डै डेढ करोड रुपैयाँ लिएर शेयर कायम नगरी ठगी गरेको जिल्ला प्रशासन कार्यालय झापामा दर्ता भएको उजुरीमा जनाइएको छ ।

कूल ७५ लाख लगानी रहेको सो अस्पतालमा गैरे २०७६ सालमा थप ७५ लाख रुपैयाँ लगानी गरेर आउन तयार भएपछि तत्कालिन शेयर होल्डरहरुले उनलाई स्वीकारेका थिए । सोही समयमा शेयर नामसारी भएपछि हस्पिटलमा गैरेले एक्लौटी गर्ने गरेको अन्य लगानीकर्ता तथा सञ्चालकहरुको दाबी छ ।

गैरेले दमकमा निर्णायक रिफरेन्स ल्याब प्रालिमा समेत डाक्टरहरुको समुहलाई कम्पनीको शेयर बनाएर मोटो रकम असुल गरेका र दमक हस्पिटललाई नोक्सानीमा लगेर एक्लौटी स्वामित्वमा रहेको ऊँ शान्ती डेन्टल मार्फत कमाउ धन्दा चलाइरहेका प्राप्त समाचार स्रोतहरुको दाबी छ ।

दमकमा जर्मनी प्रविधिका फर्निचरको शोरुम

दमक/ झापाको दमक ५ स्थित बेलडाँगी रोडमा मेची फर्निचर उद्योगको सोरुम सञ्चालनमा आएको छ ।

दमक १ का पुजन शिवाकोटीले जर्मनी प्रविधिबाट बनेका फर्निचर सामग्रीहरुको किनबेचका लागि उक्त सो रुम सञ्चालनमा ल्याएका हुन् ।

विगत १५ बर्षदेखि फर्निचर सम्बन्धिको काममा क्रियाशील शिवाकोटीले सो सोरुम उद्घाटनका अवसर पारेर नजिकिएको दशैतिहार,छैठ जस्ता चाडपर्व भरि हरेक समान खरिदमा आर्कषक छुटसहित भाग्यसाली उपहार कार्यक्रम समेत राखिएको जानकारी दिए । शोरुममा रु १५ हजार माथिको आर्कषक संगै टिकाउयुक्त हुने पलङ्ग,दराज लगायतका घरायसी समानहरु छन् ।

व्यवसायिक फर्मको दमक नगरपालिकाकी कार्यवहाक नगर प्रमुख रेगिना भटट्राई प्रसाइँ र दमक उद्योग वाणिज्य संघले संयुक्त रुपमा उदघाटन गरेका छन् । उनले सो अवसरमा शुभकामना मन्तव्य राख्दै सरल मूल्यमा गुणस्तरीय र नयाँ प्रविधियुक्त सामग्रीहरुको सहज उपलब्धता आजको आवश्यकता भएको उल्लेख गरिन । उनले सरकारले तोकेका मापदण्डहरुको पालना गरेर मर्यादित व्यवसाय सञ्चालन गर्नुपर्ने बताउँदै युवाहरु स्वदेशमै स्वरोजगारको बाटोमा लाग्नु सुखद भएको उल्लेख गरिन् ।

सो अवसरमा दमक उद्योग वाणिज्य संघका तृतीय उपाध्यक्ष रुवल अधिकारी, कार्यसमिति सदस्यहरु हेमसिंह अधिकारी, होटल व्यवसायी संघका माइपश्चिम क्षेत्रीय समिति अध्यक्ष योगराज दंगाल, दमक जेसीजका पूर्व अध्यक्ष कमल कटुवाल लगायतका उद्योगी,व्यवसायीहरुको उपस्थिति रहेको थियो ।