जेन–जी आन्दोलन र राजनीतिक मोड

जेन–जी आन्दोलन र त्यसपछि विकसित राजनीतिक घटनाक्रमले नेपालको लोकतान्त्रिक यात्रामा नयाँ मोड सिर्जना गरेको छ । प्रतिनिधिसभाको विघटन, संक्रमणकालीन सरकार, निर्वाचनको तयारी, राजनीतिक दलहरूको जिम्मेवारी र जनआकांक्षाबीचको द्वन्द्व अहिलेको यथार्थ बनेको छ । आन्दोलनको मर्म र यसको राजनीतिक निहितार्थ बुझ्न नसके लोकतान्त्रिक प्रणाली फेरि एक पटक अन्योलको दलदलमा फस्न सक्छ । त्यसैले अहिलेको परिस्थितिको मूल्याङ्कन केवल भावनामा होइन, तथ्य, इतिहास र सन्दर्भका आधारमा गर्न आवश्यक छ ।
जेन–जी आन्दोलन कुनै आकस्मिक आक्रोश थिएन । यो लामो समयदेखि बढ्दै आएको भ्रष्टाचार, अनियमितता, राजनीतिक अस्थिरता र जिम्मेवारीविहीन नेतृत्वविरुद्धको जनसंगठित असन्तोष थियो । जब सत्तामा रहेका दलहरू जनताको माग र आकांक्षाबाट क्रमशः टाढिँदै गए, जब राज्य संयन्त्र जनसेवाबाट विचलित भएर स्वार्थ र सत्ताको बन्दी बन्यो तब नयाँ पुस्ताले सडकमा आवाज उठाउन बाध्य भयो । यस आन्दोलनले जनताले फेरि एक पटक लोकतन्त्रको वास्तविक अर्थ स्मरण गरायो जनताको शासन, जनताको आवाज र जनताको उत्तरदायित्व ।
यद्यपि आन्दोलनका क्रममा भएको हिंसा, तोडफोड र दमनले त्यसको औचित्य र मर्यादामा प्रश्न पनि उठायो । २३ भदौमा भएको प्रदर्शनमाथिको दमन र २४ भदौमा भएको लुटपाट, आगजनी र तोडफोड दुवै लोकतान्त्रिक समाजका दृष्टिले अस्वीकार्य छन् । विधिको शासन भनेको न त सत्ताको मनपरी हो न त जनताको अराजकता त्यसैले यस्ता घटनाको निष्पक्ष छानबिन र जवाफदेहीता अब टार्न नसकिने राष्ट्रिय आवश्यकता बनेको छ ।
राजनीतिक संक्रमणका यस्ता संवेदनशील क्षणमा सरकारले अध्यादेशमार्फत मतदाता नामावली दर्ताको कानुनी ढोका खुला गरेर जनसहभागिता सुनिश्चित गर्न खोजेको छ । निर्वाचन आयोगले समेत आफ्नो कार्यतालिका तय गरेर चुनावको मिति घोषणा गरेको छ । यी दुवै संस्थाका कदम सकारात्मक सन्देश हुन् । तर निर्वाचनको सफलता केवल कानुनी र प्राविधिक तयारीमा होइन राजनीतिक वातावरण र विश्वासमा निर्भर हुन्छ । यदि देशमा भय, अविश्वास र असुरक्षा छ भने कुनै पनि चुनाव लोकतान्त्रिक उत्सव होइन केवल औपचारिक अभ्यास मात्र हुन्छ ।
लोकतन्त्रमा निर्वाचनका मुख्य पात्र राजनीतिक दल र उम्मेदवार नै हुन् । दलहरूको क्रियाशीलताबाट मतदातामा चेतना जाग्छ सहभागिताको भावना बढ्छ र लोकतान्त्रिक प्रतिस्पर्धा सशक्त बन्छ । तर अहिलेका पुराना दलहरू अलमलमा छन् । उनीहरू आन्दोलनपछिका मनोवैज्ञानिक र राजनीतिक आघातबाट अझै निको भएका छैनन् । जसरी उनीहरूको नेतृत्व भ्रष्टाचार, सत्ताको दुरुपयोग र नीति नैतिकताको पतनमा फसेको थियो त्यसले जनविश्वासका जरालाई हल्लाइदियो ।
नयाँ दलहरू दर्ता र सक्रियतामा लागेका छन् तर ती पनि जनविश्वास जित्ने अवस्थामा पुगेका छैनन् । यस्तो अवस्थामा आवश्यक कुरा प्रतिस्पर्धा होइन विश्वास निर्माण हो । लोकतान्त्रिक प्रणालीका लागि सबै दल (नयाँ वा पुराना) जनतासँगको सम्बन्ध पुनःस्थापित गर्न तयार हुनुपर्छ । त्यसका लागि निर्वाचनलाई अवसरका रूपमा लिन सकिन्छ ।
अहिले विघटित प्रतिनिधिसभाको कथा कुनै सामान्य घटना होइन । यो संसद् जनताले निर्वाचित गरेको थियो तर विघटनको निर्णय राजनीतिक असफलता र नीतिगत भ्रमको परिणाम बन्यो । जनप्रतिनिधिमूलक संस्था विघटन हुनु लोकतन्त्रको दुर्भाग्य हो । तर कहिलेकाहीँ यस्तो कदम पनि आवश्यक हुन्छ जब जनताको म्यान्डेट अपवित्र गरिन्छ । यही सन्दर्भमा अहिलेको संसद् विघटनलाई हेर्न सकिन्छ । यो दलभित्रका विवाद वा सत्तासंघर्षका कारण होइन, जनआन्दोलनको दबाब र सुधारको आवश्यकताबाट उत्पन्न परिस्थिति हो ।
नेपालको इतिहासमा संसद् विघटन र पुनःस्थापनाका धेरै अध्याय छन् । २०५१ सालमा सत्तारूढ दलभित्रको विवादले मध्यावधि चुनाव भएको थियो । २०५६ मा शीघ्र निर्वाचन भयो । २०५९ मा विघटित संसद् जनआन्दोलनबाट फर्कियो । २०७७ र २०७८ मा सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरेर संवैधानिक मर्यादाको रक्षा गर्‍यो । यी सबै घटनाले एउटा कुरा स्पष्ट गर्छन् नेपालमा संसद् विघटनको कुनै स्थायी मापदण्ड छैन । यो हरेक पटक राजनीतिक परिस्थितिले नै निर्धारण गर्छ । अहिले पनि त्यही इतिहास दोहोरिएको छ ।
जेन–जी आन्दोलनपछिको राजनीतिक परिदृश्यमा सत्तामा रहेका पात्रहरू रक्षात्मक बनेका छन् । उनीहरू जनअसन्तोषका निशानामा छन् । उनीहरूको विगतका निर्णय र कार्यशैलीमाथि प्रश्न उठेका छन् । यो अवस्थाले मुलुकलाई राजनीतिक रिक्ततामा धकेल्न सक्थ्यो । त्यसैले अस्थायी समाधानका रूपमा गैर राजनीतिक संयोजनको सरकारले नेतृत्व लिएको हो । पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा बनेको सरकार संवैधानिक अभ्यासको दृष्टिले असामान्य भए पनि आवश्यक संक्रमणकालीन उपाय थियो ।
तर यस्तो सरकार दीर्घकालीन समाधान होइन । लोकतन्त्रको स्थायित्व निर्वाचित जनप्रतिनिधिबाट मात्रै सुनिश्चित हुन्छ । संविधानले जननिर्वाचित संस्थालाई शासनको केन्द्र बनाएको छ । त्यसैले अहिलेको सरकारले देशलाई चुनावमा लैजान र नयाँ जनादेश प्राप्त गर्न तयारी गर्नु आवश्यक छ । दीर्घकालसम्म अनिर्वाचित सरकार रहनु भनेको लोकतान्त्रिक मूल्यविपरीतको अभ्यास हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले यो संकटको निकास संवैधानिक बाटोबाट खोज्ने प्रयास गरेका छन् । नेपालको संघीय लोकतान्त्रिक गणतन्त्र अहिले पुनः मूल्याङ्कनको घडीमा छ । दशकौंदेखि राज्य सञ्चालनमा देखिएको नीति गत अस्थिरता, शासकीय अक्षमता र आर्थिक जटिलताले जनताको विश्वास हल्लाएको छ । जेन–जी आन्दोलनले त्यो अविश्वासलाई स्वर दिएको हो । जनताको भावनालाई अब कानुनी र संस्थागत निकासतर्फ लैजानु राजनीतिक दलहरूको नैतिक कर्तव्य हो । चुनाव त्यो अवसर हो जहाँ जनताले आफ्नो मतमार्फत फेरि शासनको दिशानिर्देशन गर्न सक्छन् ।
चुनाव केवल सत्ता हस्तान्तरणको औपचारिकता होइन, यो उत्तरदायित्वको पुनःप्राप्ति हो । मतदाता केवल मत हाल्ने व्यक्ति होइनन् उनीहरू राज्यका मालिक हुन् । जेन–जी आन्दोलनले यही सन्देश दिएको छ । जनता केवल दर्शक होइन, निर्णायक शक्ति हुन् । त्यसैले निर्वाचनमा जनसहभागिता बढाउन, विश्वास पुनःस्थापित गर्न र भयमुक्त वातावरण सृजना गर्न सरकार, निर्वाचन आयोग र राजनीतिक दल सबैको सामूहिक उत्तरदायित्व हो ।
अहिले निर्वाचन आयोगले ३० असोजमा राजनीतिक दलहरूलाई छलफलका लागि बोलाएको छ । यसले निर्वाचनको प्राविधिक तयारी, मतदाता शिक्षा र व्यवस्थापनको जानकारी दिनेछ । तर वास्तविक चुनौती राजनीतिक वातावरणको हो । शान्ति–सुरक्षा सुनिश्चित नगरी, निष्पक्ष प्रशासनिक संयन्त्र तयार नगरी, स्वतन्त्र प्रचार प्रसारको स्वतन्त्रता ग्यारेन्टी नगरी कुनै पनि निर्वाचन निष्पक्ष हुन सक्दैन । त्यसका लागि सरकार अग्रसर हुनुपर्छ ।
नेपालको निर्वाचन प्रणालीले गत दुई दशकमा उल्लेखनीय सुधार पाएको छ । मतदाता नामावली, डिजिटल प्रणाली, समानुपातिक प्रतिनिधित्व र मतपत्र व्यवस्थामा सुधार भएका छन् । तर यस्ता प्राविधिक पक्षले मात्रै लोकतन्त्र सुदृढ हुँदैन । जब जनतामा अविश्वास, उम्मेदवारमा असन्तोष र प्रक्रियामा पक्षपातको आशंका हुन्छ तब चुनावको नैतिक शक्ति कमजोर हुन्छ । त्यसैले अहिलेको पहिलो सर्त हो विश्वासको पुनर्निर्माण ।
जनविश्वास निर्माणको पहिलो कदम हो पारदर्शिता । दलहरूले आफ्नो आन्तरिक वित्तीय अवस्था, उम्मेदवार छनोटका मापदण्ड र घोषणापत्रका प्राथमिकता सार्वजनिक गर्नुपर्छ । नागरिकले देख्न पाउनुपर्छ कि राजनीति अब केवल सत्ताको खेल होइन, सेवा र उत्तरदायित्वको संस्था हो । यो सोच पुनःस्थापित गर्न नसकिए जनआन्दोलनले ल्याएको परिवर्तन पनि क्षणिक हुनेछ ।
जेन–जी आन्दोलनले एक पुस्ताको आत्मसम्मान पुनःजागृत गरेको छ । तर यो आन्दोलनले राजनीतिक नेतृत्वलाई पनि चुनौती दिएको छ । अबको नेतृत्व केवल उमेर वा अनुभवले होइन दृष्टि र उत्तरदायित्वले नापिनेछ । पुराना दलहरूले यो सन्देश बुझ्न सके भने उनीहरूलाई जनताको क्षमादृष्टि मिल्न सक्छ । नबुझे भने नयाँ शक्तिहरू उदाउनेछन् ।
नेपालको लोकतन्त्र अझै निर्माणाधीन अवस्थामा छ । संविधानको मर्मले शक्ति सन्तुलन, सहकार्य र जवाफदेहीता सुनिश्चित गर्न खोजेको छ । तर व्यवहारमा राजनीतिक अस्थिरताले यी मूल्यहरू कमजोर बनाइरहेको छ । यस्तो अवस्थामा जनताको आन्दोलन र चुनाव दुवै प्रणालीलाई परीक्षण गर्ने अवसर हुन् । यदि दलहरूले जिम्मेवारीपूर्वक अघि बढे भने यो अवसर पुनर्जागरण बन्न सक्छ ।
तर यदि दलहरूले पुनः सत्ताको खेलमा रमाउन थाले भने, जनताको धैर्य फेरि नटिक्नेछ । जेन–जी आन्दोलन केवल प्रारम्भ हो यसको अन्त्य लोकतान्त्रिक उत्तरदायित्वले नै लेख्नेछ । जनताले अब केवल नारा होइन परिणाम खोजिरहेका छन् ।
नेपालको संविधानले जनताको सार्वभौम अधिकारलाई सर्वोच्च स्थान दिएको छ । तर अधिकारलाई जीवन्त राख्ने माध्यम भनेको निर्वाचन हो । चुनावको माध्यमबाट मात्रै लोकतन्त्रले नवीकरण पाउँछ । जब जनताले आफ्नो प्रतिनिधि रोज्ने अवसर पाउँछन् तब मात्र शासनप्रणालीप्रति विश्वास बढ्छ । त्यसैले यो निर्वाचन केवल सत्ता फेर्ने अभ्यास होइन, लोकतन्त्र पुनःस्थापना गर्ने अवसर हो ।
राजनीतिक दलहरूले अब आफ्नो प्राथमिकता स्पष्ट गर्नुपर्छ । जनजीवनमा के सुधार ल्याउने, भ्रष्टाचार नियन्त्रणका लागि के नीतिगत सुधार गर्ने आर्थिक पुनरुत्थानका लागि के रणनीति लिने यी प्रश्नका उत्तर बिना चुनावको अर्थ रहँदैन । मतदाता अब केवल अनुहार होइन, नीति खोजिरहेका छन् ।
देश अहिले संवैधानिक र राजनीतिक दुवै मोडमा उभिएको छ । एकातिर संक्रमणकालीन सरकार छ, जसको म्यान्डेट सीमित छ । अर्कातिर जनआन्दोलनको माग छ, जसले पुरानो संरचनालाई चुनौती दिएको छ । यी दुईबीच सन्तुलन मिलाउन राजनीतिक परिपक्वता अपरिहार्य छ । यदि राजनीतिक स्वार्थ र सत्तालोलुपता हाबी भयो भने, इतिहासले फेरि कठोर निर्णय लिनेछ ।
नेपालले विगत सात दशकमा धेरै आन्दोलन, परिवर्तन र संविधान देखिसकेको छ । तर स्थायित्व र सुशासन अझै अधुरो छ । यसको कारण केवल प्रणाली होइन, संस्कार हो । सत्ता हातमा पुगेपछि जिम्मेवारी बिर्सने परम्परा, आलोचनालाई शत्रु ठान्ने संस्कार, र अवसरलाई स्वार्थमा बदल्ने सोच यी नै हाम्रो राजनीतिक कमजोर पक्ष हुन् । जेन–जी आन्दोलनले यही कमजोरीलाई प्रहार गरेको हो ।
अहिले देशले नयाँ सुरुवात खोजिरहेको छ । यसका लागि केवल राजनीतिक समझदारी होइन, नीतिगत रूपान्तरण आवश्यक छ । शासनको मूल्य जनसेवा, पारदर्शिता र जवाफदेहीतामा आधारित हुनुपर्छ । यसका लागि कानुनी संरचना मात्र पर्याप्त छैन । नैतिक चरित्र, राजनीतिक शिक्षा र सामाजिक उत्तरदायित्वको संयोजन चाहिन्छ ।
सरकार, निर्वाचन आयोग र दलहरू ती तीन स्तम्भ हुन् जसले आगामी निर्वाचनको दिशानिर्देशन गर्नेछन् । सरकारले शान्ति–सुरक्षा सुनिश्चित गर्नुपर्छ आयोगले पारदर्शी प्रक्रिया सञ्चालन गर्नुपर्छ र दलहरूले जिम्मेवार सहभागिता जनाउनुपर्छ । यी तीनवटाको समन्वयमा मात्र लोकतन्त्रको पुनर्जीवन सम्भव हुन्छ ।
यदि देशले निष्पक्ष र विश्वासिलो निर्वाचन सम्पन्न गर्न सफल भयो भने, नेपालको लोकतन्त्र पुनःजीवित हुनेछ । जनताको आस्था फर्कनेछ राजनीतिक दलहरूको भूमिकामा सुधार हुनेछ र संविधानको आत्मा पुनःप्राणवान बन्नेछ । तर यदि चुनाव पुनः विवाद र हिंसाको अखाडा बन्यो भने यसले जनताको निराशा झन् गहिरो बनाउनेछ । त्यसको मूल्य फेरि आन्दोलन र अस्थिरताले तिर्नु पर्नेछ ।
त्यसैले अहिलेको आवश्यकता स्पष्ट छ । देशलाई राजनीतिक जटिलताबाट निकास दिन सर्वपक्षीय सहकार्य र पारदर्शी निर्वाचन अपरिहार्य छ । सरकारले अग्रसरता देखाउनुपर्छ, दलहरूले नीतिगत प्रतिबद्धता जनाउनुपर्छ, र नागरिक समाजले निगरानी भूमिका निभाउनुपर्छ । लोकतन्त्रको पुनर्निर्माणमा सबैको हात बराबर हुनुपर्छ ।
नेपाल फेरि एक पटक इतिहासको मोडमा उभिएको छ । विगतका गल्तीबाट सिकेर भविष्य निर्माण गर्ने वा पुनः त्यही गल्ती दोहोर्याउने यो निर्णय अब राजनीतिक दलहरू र जनताका काँधमा छ । जेन–जी आन्दोलनले प्रश्न उठाइसकेको छ अब उत्तर दिनु दलहरूको पालो हो ।
(लेखक :- बोहोरा अर्थ सवाल साप्ताहिकका सम्पादक तथा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सचिव हुनुहुन्छ)

प्रहरी महानिरीक्षक खापुङ दमकमा

दमक/ नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुबेर खापुङले झापाको दमकस्थित इलाका प्रहरी कार्यालय दमकको क्षतिग्रस्त संरचनाहरुको स्थलगत निरिक्षण गर्नुभएको छ ।
खापुङले जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनी भई क्षतिग्रस्त संरचनाको पुननिर्माणको अवस्थाबारे जानकारी लिँदै नागरिकस्तरबाट भइरहेको पुननिर्माणको कामको प्रशंसा गर्नुभयो ।
त्यस्तै महानिरीक्षक खापुङले मातहतका सुरक्षा इकाइका प्रमुख तथा प्रतिनिधिहरुलाई आवश्यक निर्देशन समेत दिँदै नागरिकको सेवामा तल्लीन हुन आग्रह गर्नुभयो । महानिरीक्षक खापुङसँगै कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख डिआइजी इश्वर कार्की समेत सहभागीह हुनुहुन्छ ।
प्रहरीका उच्च अधिकारीहरुले त्यहाँ जनप्रतिनिधि तथा सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुसँग पनि शान्ती सुरक्षाको अवस्था र नागरिक –प्रहरी सहकार्यका बिषयमा संवाद समेत गर्नुभएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

 

नवदुर्गा बहुउद्धेश्यीय सहकारीको २६ औं साधारण सभा

दमक/ झापाको दमक ६ मा मुख्य कार्यालय स्थापना गरी इलामको चुलाचुली सेवा केन्द्र मार्फत समेत कारोबार गर्दै आएको नवदुर्गा बहुउद्धेश्यीय सहकारी संस्थाको २६ औं बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष प्रेमकुमार कोइरालाको अध्यक्षता र दमक नगर उपप्रमुख रेगिना भट्टराई प्रसाइँको प्रमुख आतिथ्यमा दमक १ स्थित दुर्गा मन्दिरको सभाकक्षमा सम्पन्न साधारण सभाको अवसरमा संस्थाका सदस्यहरु मध्ये ज्येष्ठ शेयर सदस्यहरु १२ जनालाई सम्मान गरिएको छ । संस्थाले उत्कृष्ट कर्मचारीको रुपमा चुलाचुली सेवा केन्द्र प्रमुखलाई सम्मान गरेको छ ।
त्यस्तै संस्थाले कक्षा १२ को परीक्षामा उत्कृष्ट जीपिए हासिल गर्ने सामुदायिक र संस्थागत बिद्यालयका छात्रछात्रा दुवैलाई नगद पुरस्कारसहित प्रशंसा पत्रद्धारा सम्मान गरेको छ । संस्थाको साधारण सभामा सञ्चालक समितिका तर्फबाट संस्थाका अध्यक्ष कोइरालाले बार्षिक प्रतिवेदन पेश गर्दै संस्था स्थापनाको इतिहास र वर्तमान अवस्थासहित आगामी कार्ययोजनासहित नीति, कार्यक्रमहरु समेत प्रस्तुत गर्नुभयो । उहाँले पछिल्लो समय संस्थाले अनिकालमा बिउ जोगाउनु, हुलमुलमा जिउ जोगाउनु भन्ने नेपाली उखानलाई चरितार्थ गर्दै सामान्य मध्यम अवस्थामा रहेको उल्लेख गर्नुभयो । करिब १ हजार ३ सय १७ जना शेयर सदस्य रहेको सो संस्थाका नाममा हाल कुनै किसिमको बाह्य ऋण नरहेको पनि प्रतिवेदनमा उल्लेख छ ।
झापाको दमकसहित कमल, गौरादह, मोरङको उर्लाबारी, मिक्लाजुङ र इलामको चुलाचुलीलाई कार्यक्षेत्र बनाएको छ । संस्थाले दमककै सूर्यमुखी बचत तथा ऋण सहकारी संस्थासहित सबै संस्थाहरुसँग एकीकरणका लागि प्रस्ताव समेत गरेको छ । संस्थाले गरेको सो प्रस्ताव सहभागी सदस्यहरुले पारित गरेका जनाइएको छ । यससँगै सो संस्था र सूर्यमुखी सहकारीबीच आगामी दिनमा एकीकरणको लागि बैधानिक बाटो खुलेको छ ।
साधारण सभाको उदघाटन कार्यक्रममा दमक १ का वडाध्यक्ष हरिप्रसाद न्यौपाने, जिल्ला सहकारी संघका लेखा सुपरीवेक्षण समिति संयोजक चुडामणी ओझा, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाइँ, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष तुलाराम न्यौपाने , मेनेजर्स क्लब झापाका अध्यक्ष खोमप्रसाद बगाले लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । सो अवसरमा संस्थाकी व्यवस्थापक धनकुमारी पौडेलले स्वागत मन्तव्य राख्नु भएको थियो भने संस्थाका सचिव रत्न धिमालले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो । सो संस्थामा हाल २ करोड ८ लाख रुपैयाँ शेयर पुँजी रहनुका साथै संस्थाका ऋणीहरुको संख्या कूल २ सय १७ जना रहेको पनि प्रतिवेदनमा उल्लेख छ ।

दमकबाट प्रहरीको हतियार हतियार लुटेर भागेका लिम्बुसहित आठ जना पक्राउ

दमक/ प्रहरीले झापामा प्रहरीको हतियार लुटेर भागेका एकजनासहित आठ जनालाई लागूऔषधसहित पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय दमकको टोलीले दमक ३ स्थित भुटानी शरणार्थी शिविर बेलडाँगी सेक्टर ए थ्री हट नम्बर ३५३ का साजन थापाको छाप्रोबाट थापासहित ईलाम चुलाचुली गाउँपालिका वडा नं ३ का तिलक बहादुर तामाङको छोरा बर्ष ३२ को दिपेश तामाङ, चुलाचुली ३ का प्रेम बहादुर राईको छोरा बर्ष ३२ को सनम राई, दमक ३ का रवि कुमार आङ्देम्बेको छोरा बर्ष १८ को आदित्य लिम्बु, दमक ३ का हरीभक्त विश्वकर्माको छोरा बर्ष १९ को पविन विश्वकर्मा, दमक ३ का कृष्ण बहादुर दर्जीको छोरा बर्ष २५ को सुचन दर्जी वेलडाँगी भुटानी शरणार्थी शिविरका बिर्ख बहादुर माझीको छोरा बर्ष २५ को बिजय माझी र मोरङ मिक्लाजुङ गा.पा.वडा नं. ८ का दिल बहादुर पोर्तेलको छोरा बर्ष २० को निश्चल पोर्तेललाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पक्राउ परेका पोर्तेल इलाका प्रहरी कार्यालय उर्लावारी मोरङमा लागु औषध मुद्धामा अनुसन्धानको क्रममा रहेकोमा जेनजी आन्दोलनको क्रममा हिरासतबाट फरार भएका हुन् भने आदित्य लिम्बु इलाका प्रहरी कार्यालय दमकबाट प्रहरीको हतियार लुटपाटमा संलग्न व्यक्ति समेत भएको प्रहरीको भनाई छ ।

प्रहरीले हतियार लुटेर भागेका लिम्बुले हतियार प्रदर्शन गरेको फोटोसहित सार्वजनिक गरेको छ ।

 

 

सुदर्शन सहकारीले दमकबाट थाल्यो इकाइगत साधारण सभा, उर्लाबारीमा ११ गते समापन

दमक/ उर्लाबारीमा मुख्य कार्यालयसहित झापा मोरङका चार स्थानमा सेवा केन्द्र स्थापना गरी १५ बर्ष अघिदेखि वित्तीय कारोबार गर्दै आएको सुदर्शन बचत तथा ऋण सहकारी संस्थाको १५ औं बार्षिक साधारण सभा दमकबाट शुरु भएको छ ।
संस्थाले बिहीबारदेखि पछिल्लो समय नियामक निकायबाट भाद्र १७ मा जारी भएको निर्देशन अनुसार संस्थाको बार्षिक साधारण सभा शुरु गरेको हो ।
दमक सेवा केन्द्रबाट साधारणसभाका कार्यक्रमहरु सुरु गरिएको सहकारीका प्रमुख कार्यकारी अधिक्रित थरेन्द्रराज पौडेलले जानकारी दिनुभयो ।
सस्थाका सञ्चालक समिति अध्यक्ष गोपाल प्रसाद भट्टराईको अध्यक्षतामा भएको साधारणसभाको उद्घाटन कार्यक्रममा उत्कृष्ट शेयर सदस्य सम्मान, उत्कृष्ट बालबालिका, र सुदर्शन छात्रवृत्ति वितरण समेत गरिएको छ ।
साधारण सभामा वितरित संस्थाको बार्षिक प्रतिवेदन अनुसार झापाको दमक सहित मोरङको उर्लाबारी, मिक्लाजुङ र पथरीमा सेवा केन्द्र रहेको सो संस्थामा ७ हजार भन्दा धेरै शेयर सदस्यहरु आबद्ध छन । उर्लावारी– ५ मा प्रमुख कार्यालय रहेको संस्थाले गत असार मसान्त सम्म ७३ करोड ७३ लाख ४४ हजार ५७ रुपैयाँ कूल कारोबार गरेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनमा संस्थाले प्राकृतिक प्रकोप राहत योजना, शल्यक्रिया, अंगभग राहत, अशक्त, स्वास्थ्य सुधार, छात्रवृत्ति, मृतक राहत लगायतका शेयर सदस्यहरुको सेवा लक्षित सुदर्शन शेयर सदस्य कल्याणकारी योजना सञ्चालन गर्दै आएको पनि उल्लेख छ ।
मोबाइल वैकिङ, विद्युत, खानेपानी, फोन पे, राजश्व भुक्तानी, हवाइटिकट, बीमा भुक्तानी, क्यू आर स्क्यान लगायतको प्रविधि मैत्री सेवा सुदर्शन सहकारीले प्रदान गर्दै आएको छ ।
संस्थाले सानो भन्दा सानो निक्षेप स्वीकार्ने र कर्जा प्रवाहमा समेत साना तथा मध्यम किसिमका कर्जाहरु सदस्यलाई प्रदान गर्दै आएको छ । दैनिक, आवधिक, बाल शैक्षिक लगायतका बचत योजना ल्याएर सुदर्शनले शेयर सदस्यहरूलाई आकर्षित गर्दै आएको छ ।
सेयर सदस्य कल्याणकारी योजना अन्तर्गत गत आर्थिक बर्षमा मात्रै ६९ जनालाई ४ लाख ७४ हजार ७ सय ५० रुपैयाँ विभिन्न प्रकारका राहत तथा सहयोग वापत सदस्यहरुलाई प्रदान गरिएको प्रमुख कर्याकारी अधिकृत पौडेलले जानकारी दिनुभयो । आजबाट शुरु भएको साधारणसभा मिक्लाजुङ, पथरी सेवा केन्द्र हुँदै उर्लाबारीस्थित मुख्य कार्यालयबाट सञ्चालन गरि असोज ११ गते इकाइगत साधारण सभाका निर्णयहरुको एकीकृत गरि माइन्यूट प्रमाणीकरण , आगामी चार बर्षे कार्यकालका लागि निर्वाचित सञ्चालक समिति र लेखा समितिको सपथग्रहणसँगै औपचारिक समापन गरिने संस्थाले जनाएको छ ।

 

प्रहरी कार्यालय पुननिर्माणमा दमकबासीबाट धमाधम सहयोग जुट्दै

दमक/  जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त इलाका प्रहरी कार्यालय दमकको भौतिक पूर्वाधार तथा सेवा सञ्चालनमा सहयोग जुटाउने उद्धेश्यले नागरिकस्तरमा बनाइएको इलाका प्रहरी कार्यालय दमकको पुननिर्माण समितिमा दमकबासीहरुले धमाधम सहयोग गर्न थालेका छन् ।

शान्ती, सुरक्षा, सुव्यवस्था कायम गर्न सुरक्षा निकायको महत्वपूर्ण अंग नेपाल प्रहरीको सेवा आवश्यकता महसुस गर्दै यहाँका नागरिकहरुले नगद तथा जिन्सी सहयोग गरिरहेका हुन् ।
सो कामको नेतृत्वकर्ता मध्ये पुननिर्माण समितिमा कोषाध्यक्षको जिम्मेवारी दमक उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहनु भएका सामाजिक तथा व्यवसायी व्यक्तित्व देवीप्रसाद गुरागाइँ (गोपाल)ले लिनु भएको छ ।
नगर प्रमुख रामकुमार थापाको संयोजकत्वमा, उपप्रमुख रेगिना भट्टराई प्रसाइँ, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य गोकूल श्रेष्ठ, संघका अध्यक्ष देवीप्रसाद गुरागाइँ, प्रकाश बुढाथोकी सहितको समितिको सक्रियताका कारण छोटो समयमा नै प्रहरी सेवा पुनःसञ्चालनका लागि उल्लेखीय सहयोग जुटेको हो ।  गुरागाइँका अनुसार आज दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले एक थान चार पाङग्रे गाडी समेत उपलब्ध गराएको छ ।
संस्थाका अध्यक्ष रवि न्यौपानेले तत्कालिन अवस्थामा सार्वजनिक तथा व्यक्तिगत नागरिक सुरक्षाका लागि खटिने प्रहरीको कार्यसम्पादन प्रभावकारी रुपमा अघि बढाउन सहयोग पुगोस् भन्ने हेतुले दमक नगरपालिका र पुननिर्माण समिति मार्फत इलाका प्रहरी कार्यालय दमकलाई तत्कालका लागि सो चारपाङग्रे गाडी उपलब्ध गराएको बताउनु भयो ।

उहाँका अनुसार भाँडावर्तन व्यवसायी संघले ६५ हजार रुपैयाँ बराबरको भाँडा वर्तन, होलसेल व्यवसायी संघमा आवद्ध व्यवसायीहरुले ४५ हजार रुपैयाँ बराबरको फ्रीज, थान कपडा व्यवसायी संघले १ लाख १० हजार बराबरको कम्बल कपडा लगायतका सामान उपलब्ध गराएका छन् । त्यस्तै सुनचाँदी व्यवसायी संघले एक थान कम्प्युटर र प्रिन्टर, नुतन सेलर मिलले ४ बोरा चामल, भगवान बस्नेतले एक ट्रयाक्टर इँटा लगायतका सामान पनि सहयोग स्वरुप उपलब्ध गराउनु भएको छ ।

हाल सम्म प्राप्त सबै जिन्सी सहयोगको विवरण सार्वजनिक गर्दै समितिका कोषाध्यक्ष तथा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गुरागाइँले सहयोगी सबैप्रति धन्यवाद व्यक्त गर्नुभएको छ । उहाँले नगद सहयोगको लागि पनि भोलीदेखि बैंक खाता नम्बर तथा क्यूआर कोड लगायतको व्यवस्था मिलाइने पनि उल्लेख गर्नु भयो ।
उहाँका अनुसार दमक नगरपालिकाबाट गठन भएको पुननिर्माण समितिले इलाका प्रहरी कार्यालय दमक र इलाका ट्राफिक प्रहरी कार्यालय दमकलाई समेत आवश्यक सहयोग जुटाउने तय भएको भए पनि ट्राफिक प्रहरी कार्यालयका लागि प्राप्त सहयोगको तथ्याङक विवरण समेत एकीकृत गर्दै एकद्धार प्रणालीबाटनै ट्राफिक प्रहरीको सेवा सञ्चालनमा सहयोग गरिनेछ ।

 

कांग्रेस नयाँ ढंगले रुपान्तरण हुन्छ– महामन्त्री शर्मा

धुलाबारी/  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ‘जेनजी’ को भावना र आन्दोलनको सन्देशलाई आत्मसात गर्दै कांग्रेस नयाँ ढङ्गले रूपान्तरण हुने बताएका छन् ।

पार्टीको झापा निर्वाचन क्षेत्र नं १, क्षेत्रीय समितिले आज गृहनगर धुलाबारीमा आयोजना गरेको ‘अबको राजनीति र अबको नेपाल’ विषयक अन्तरक्रियामा उनले पार्टीमा रूपान्तरणको विकल्प नरहेको धारणा राखे ।

महामन्त्री शर्माले भने ‘समय बदलिएको छ, सबै बदलिनुपर्छ । नेता, कर्मचारी संयन्त्र सबै बदलिनुपर्छ । सिंहदरबार मात्र होइन, गाउँगाउँका हरेक तह बदलिनुपर्छ, चिया पसल गर्नेहरू पनि बदलिनुपर्छ । पार्टीको कुरा गर्दा अब जो बदलिन्छन्, तिनले नेतृत्व लिन्छन्, जो बदलिदैनन् तिनले बिदा लिन्छन् ।’

‘जेनजी’ प्रदर्शनले सबैको आँखा खोलिदिएको धारणा व्यक्त गर्दै उनले लोकतान्त्रिक पद्धतिप्रतिको उच्च चेत, भ्रष्टाचार नियन्त्रणका लागि कठोर कदमको आवश्यकता र नेतृत्व परिवर्तन यो आन्दोलनको सन्देश रहेको बताए ।

आन्दोलनको पहिलो दिन प्रदर्शनकारीमाथि गोली हान्न आदेश दिने र दोस्रो दिन आगजनी एवम् तोडफोड गर्नेहरूका विषयमा गहन छानबिन हुनुपर्ने बताउँदै महामन्त्री शर्माले दोषी जो छन्, उनीहरूप्रति कुनै मोलाहिजा नराखी कडा कानुनी कारबाही हुनुपर्नेमा जोड दिए ।

उनले आजै मेचीनगर–१० स्थित पार्टीको क्षेत्रीय कार्यालय, मेचीनगर नगरपालिकासहित भदौ २४ गते आगजनी तथा तोडफोडबाट ध्वस्त भएको आफ्नो निजी निवासको अवलोकन गरे ।

अधिक तरलता–७० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक

अधिक तरलता कायमै रहेपछि नेपाल राष्ट्र बैंकले आइतबार (असोज ५) ७० अर्ब रुपैयाँ निक्षेप खिच्दै छ । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले निक्षेप खिच्न लागेको हो ।
हाल कुल निक्षेप ७२ खर्बभन्दा बढी पुगेको छ । केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका निम्ति निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ । 
बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् । दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउन्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ ।

निक्षेप चुलिँदा आज अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको छ । ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण गरिनेछ । बोल गर्न सकिने रकम न्यूनतम १० करोड र अधिकतम पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ ।
न्युज एजेन्सी नेपाल

संविधान संशोधनको बहस र नेतृत्वको परीक्षा

  नेपालको राजनीतिक अस्थिरता झण्डै दुई दशकदेखि निरन्तर चलिरहेको छ । २०७२ सालमा संविधान जारी भए पनि त्यसको कार्यान्वयनका क्रममा उठेका विवाद, राजनीतिक अस्थिरता र जनस्तरमा देखिएको असन्तुष्टि अहिले फेरि तीव्र बनेको छ ।
संविधानले प्रदान गरेको अधिकार, संरचना र मूल्यका विषयमा राजनीतिक दलको असहमति र नेतृत्वको अस्थिरताले जनतामा गहिरो निराशा थपेको छ । भदौ २३ र २४ गते देशभरि उर्लिएको जेन–जी आन्दोलन त्यसको प्रत्यक्ष संकेत हो । युवापुस्ताको आक्रोश र असन्तोषले देशलाई गम्भीर राजनीतिक भुमरीमा ल्याएको छ । आन्दोलनको प्रारम्भिक माग भ्रष्टाचार नियन्त्रण, सरकारी कार्यशैलीमा पारदर्शिता र प्रशासनिक सरलीकरण थियो । तर आन्दोलन विस्तारै संवैधानिक संरचना र राजनीतिक संस्कारमै प्रहार गर्ने दिशामा उन्मुख भयो ।
सार्वजनिक सम्पत्तिमा आक्रमण, आगजनी र तोडफोडले अर्थतन्त्रलाई ठूलो धक्का पुगे पनि नागरिक समाज र विश्लेषकहरूले यसलाई केवल आक्रोशको विस्फोट होइन संवैधानिक विमर्शको संकेतको रूपमा लिएका छन् ।
नेपालको संविधान लोकतान्त्रिक मूल्यमा आधारित रहे पनि यसको कार्यान्वयनले बारम्बार प्रश्न खडा गरेको छ । संसद, कार्यपालिका, संघीय संरचना, संवैधानिक निकाय र न्यायपालिकाको भूमिकाप्रति जनतामा विश्वासको कमी देखिनु यसको प्रमुख उदाहरण हो । राजनीतिक दलहरूले संवैधानिक प्रावधानलाई आफूअनुकूल प्रयोग गरेको, शक्ति सन्तुलनभन्दा पद र भागबन्डामा ध्यान केन्द्रित गरेको आरोप बलियो छ । यही कारण अहिले संविधान संशोधनको बहस पुनः चर्किएको छ । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको माग, गैरसांसद मन्त्रीको सम्भावना, प्रदेश सरकारको आवश्यकता, संवैधानिक नियुक्तिमा पारदर्शिता र न्यायपालिकाको स्वतन्त्रता यी पाँच मुद्दा अहिलेको राजनीतिक बहसको केन्द्रमा छन् । तर समाधानको बाटो संविधानका शब्दमा मात्रै सीमित छैनल। राजनीतिक संस्कारमा सुधार र नेतृत्वको इमानदारिता नै मूल प्रश्न हो ।
हालको संसदीय प्रणालीले प्रधानमन्त्रीलाई संसदको बहुमतमा आधारित बनाउँछ । दलको संसदीय दलको नेता वा बहुमत जुटाउन सक्षम सांसद प्रधानमन्त्री हुन्छन् । यो व्यवस्था जनप्रतिनिधित्वको आधारमा बनेको भए पनि राजनीतिक अस्थिरताले जनतामा निराशा छाएको छ । २०७२ सालदेखि आजसम्म सरकारले बारम्बार परिवर्तन भोगेको तथ्य यसलाई पुष्टि गर्छ । सुशील कोइरालादेखि केपी शर्मा ओलीसम्म र त्यसपछि आएका सरकारसम्म प्रधानमन्त्रीको सिट निरन्तर बदलिँदै गयो ।
मन्त्रिपरिषद् फेरबदलको संख्या अझै बढी रह्यो जसले नीति, नियम र सेवा वितरणमा निरन्तरता देखाएन जनताले राजनीतिक स्थिरताको अभाव मात्र होइन, नीतिगत अस्थिरता पनि भोगिरहेका छन् । योजनाहरू अधूरा छन् प्राथमिकताहरू बदलिँदै जान्छन् र नागरिकमा विश्वासको संकट गहिरिँदै गएका छन् । यही कारण प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको माग उठ्दै आएको हो । नागरिकलाई ठोस निर्णय लिने र नीति निरन्तरता दिने शक्तिशाली कार्यकारीको आवश्यकता महसुस भइरहेको छ ।
तर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री कुनै रामबाण हो भन्ने ग्यारेन्टी छैन । स्थानीय तहमा प्रमुख वा अध्यक्ष प्रत्यक्ष निर्वाचित हुने व्यवस्था छ ।  तर धेरै स्थानमा लोकप्रियतावादको आडमा व्यक्तिगत प्रभुत्व जमाउने प्रवृत्ति देखिएको छ । विश्वका उदाहरणले पनि प्रत्यक्ष निर्वाचित कार्यकारी एकपटक सत्तामा पुगेपछि उसलाई हटाउन कठिन हुने देखाउँछन् ।
नेपालजस्तो भू–राजनीतिक रूपमा संवेदनशील देशमा कुनै कार्यकारीले विदेशी शक्तिको पक्षपोषण गरेमा त्यसलाई नियन्त्रण गर्न संसदसँग सीमित औजार मात्र रहनेछ । यो जोखिमलाई नजरअन्दाज गर्न सकिँदैन समस्या प्रणालीमा मात्र होइन नेतृत्वको सोच, सक्षमता र नैतिकतामा पनि छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी प्रत्यक्ष निर्वाचित नभए पनि स्थिर सरकार सञ्चालन गरिरहेका छन् । यसैले प्रत्यक्ष निर्वाचित प्रणाली ल्याउने कि नल्याउने भन्दा पनि जनप्रतिनिधिको जवाफदेहिता, इमानदारिता र राजनीतिक प्रतिबद्धता सुनिश्चित गर्नु नै प्राथमिकताको विषय हो ।
अर्को बहस गैरसांसदलाई मन्त्री बनाउने हो कि होइन भन्नेमा केन्द्रित छ । हालको प्रावधानअनुसार मन्त्री बन्न संसदको सदस्य हुनु आवश्यक छ । यसले कार्यपालिका र व्यवस्थापिकाबीच घनिष्ठ सम्बन्ध कायम राख्छ तर यो घनिष्ठता कहिलेकाहीं अस्वस्थ प्रतिस्पर्धामा बदलिन्छ । सांसदहरू मन्त्री बन्ने आकांक्षामा केन्द्रित हुन्छन् जसले नीति निर्माणभन्दा पनि सत्ता समीकरणलाई प्राथमिकता दिन्छ । प्रधानमन्त्रीले पनि पद सुरक्षित राख्न मन्त्रालय वितरणको खेल खेल्छन् । यसले पेशागत दक्षताभन्दा पनि राजनीतिक समीकरणलाई बढावा दिएको छ । यदि गैरसांसदलाई मन्त्री बनाउन सकिने व्यवस्था भए प्रधानमन्त्रीले पार्टीभित्रको दबाबभन्दा बाहिर गएर विषयविज्ञ र इमानदार व्यक्तिलाई मन्त्री बनाउन सक्थे । यसले नीति कार्यान्वयनमा पेशागत दक्षता ल्याउन सक्थ्यो । संसदले सरकारको निगरानी गर्ने अधिकार भने यथावत रहने थियो । तर संसदसँग प्रत्यक्ष सम्पर्क नभएका मन्त्रीहरूले नीतिगत कार्यान्वयनमा कठिनाइ भोग्न सक्ने जोखिम पनि छ । राजनीतिक वैधतामा प्रश्न उठ्न सक्ने भएकाले यस्तो प्रणालीलाई पाइलट प्रोजेक्टको रूपमा परीक्षण गरेर मात्र अगाडि बढाउनु उपयुक्त देखिन्छ ।
अर्को बहस प्रदेश सरकारको खारेजी वा सुधारमा छ । २०७२ सालको संविधानले संघ, प्रदेश र स्थानीय तहमा सरकार गठनको व्यवस्था गर्दै शक्ति विकेन्द्रीकरणको बाटो समातेको हो । तर पछिल्ला वर्षहरूमा प्रदेश सरकारलाई अनावश्यक खर्चिलो संरचनाको रूपमा चित्रण गर्ने प्रवृत्ति बढेको छ । सरकार बनाउने र गिराउने खेल, मन्त्री बन्ने होड, मन्त्रालयको अस्वाभाविक विस्तार र स्रोतको दुरुपयोगले जनस्तरमा असन्तोष बढेको छ ।
कतिपयले प्रदेश सरकारलाई केन्द्रको नक्कल मात्र देख्छन् । प्रदेश खारेज गर्नु औंलामा घाउ लाग्दा हात काट्ने जस्तै हो । संघीयता ल्याउनुको मुख्य उद्देश्य सिंहदरबार केन्द्रित शासनको अन्त्य र जनतालाई नजिकबाट सेवा पुर्‍याउनु हो । कर्णाली वा सुदूरपश्चिमका जनप्रतिनिधिले बजेट माग गर्न काठमाडौं धाउनुपर्ने अवस्था संघीयता आएपछि कम भएको छ । संघीयता खारेज गर्नु भन्दा सुधार गर्नु आवश्यक छ । प्रदेश मन्त्रिपरिषद्को आकार सीमित गर्ने, मन्त्रालयलाई प्रदेशको विशेषता अनुसार मात्र राख्ने, खर्च नियन्त्रण गर्ने जस्ता संवैधानिक सुधार जरुरी छन् । समस्या संघीयताको अवधारणामा होइन, त्यसको कार्यान्वयनमा देखिएको कमजोरीमा छ ।
अर्को मुद्दा संवैधानिक नियुक्तिमा पारदर्शिता हो । निर्वाचन आयोगदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्मका निकाय लोकतान्त्रिक शासनका मेरुदण्ड हुन् । तर नियुक्ति प्रक्रियामा दलगत भागबन्डा, शक्ति सन्तुलन र राजनीतिक निकटतालाई आधार मानेर नियुक्ति हुने आरोप बलियो छ । तत्कालीन ओली सरकारले अध्यादेशमार्फत ५२ जना संवैधानिक पदाधिकारी नियुक्त गर्दा उठेको विवाद यसको उदाहरण हो । योग्य व्यक्तिलाई पाखा लगाएर दल नजिकका अनुहारलाई प्राथमिकता दिइएको धारणा छ । यस्ता विवादले संस्थाको विश्वसनीयता मात्र होइन लोकतान्त्रिक शासनको मेरुदण्ड कमजोर पार्छ । त्यसैले नियुक्ति प्रक्रियामा स्पष्ट मापदण्ड, सार्वजनिक सुनुवाइ र योग्यताको प्रमाणित आधारलाई प्राथमिकता दिनुपर्ने आवश्यकता छ । योग्य व्यक्तिलाई नेतृत्वमा ल्याउने र नागरिकको विश्वास पुनःस्थापित गर्ने यही बाटो हो ।
अर्को बहस न्यायपालिकाको स्वतन्त्रतासँग सम्बन्धित छ । संविधानले न्यायपालिकालाई लोकतान्त्रिक शासनको मेरुदण्डका रूपमा मान्यता दिएको भए पनि पछिल्ला वर्षहरूमा न्यायपालिका नै सर्वाधिक आलोचनाको केन्द्र बनेको छ । विवादास्पद फैसला, ढिलो न्याय र राजनीतिक प्रभावमा नियुक्त भएका न्यायाधीशहरूको कार्यशैलीले न्यायपालिकाको विश्वसनीयता कमजोर बनाएको छ । न्यायाधीश नियुक्तिमा दलगत सन्तुलन र व्यक्तिगत निकटतालाई प्राथमिकता दिइनु न्यायको गुणस्तरमा प्रत्यक्ष असर पार्छ । यसलाई रोक्न न्याय परिषद्को संरचना र कार्यशैलीमा सुधार अनिवार्य छ । भारतको कलेजियम प्रणाली जस्ता तुलनात्मक अभ्यासबाट सिकेर राजनीतिक हस्तक्षेप हटाउने व्यवस्था आवश्यक देखिन्छल। न्यायिक निर्णयमा समयबद्धता र गुणस्तर सुनिश्चित नगरेसम्म नागरिकले अन्य राज्य अंगमा भरोसा राख्न सक्दैनन् ।
जेन–जी आन्दोलनले देखाएको असन्तोष केवल तत्कालीन घटनामा सीमित छैन । यो नेपालको संवैधानिक अभ्यास र राजनीतिक संस्कृतिको गहिरो समस्या हो । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको बहस होस् वा गैरसांसद मन्त्रीको सम्भावना, प्रदेश सरकारको सुधार होस् वा संवैधानिक नियुक्ति र न्यायपालिकाको स्वतन्त्रता यी सबैको समाधान केवल संविधान संशोधनले मात्र सम्भव हुँदैन  । मूल समस्या राजनीतिक नेतृत्वको निष्ठा, इमानदारिता र जवाफदेहितामा छ । अस्थिरता, पदलोलुपता र भागबन्डाको संस्कृतिले कुनै पनि संरचना कमजोर पार्छ । त्यसैले संवैधानिक सुधारसँगै राजनीतिक संस्कारको सुधार अपरिहार्य छ ।
नेपाल जस्तो बहु–विविधतायुक्त देशमा स्थायित्व ल्याउने उपाय संरचना खारेज वा प्रतिस्थापन मात्र होइन, संस्थागत अभ्यासलाई सुदृढ बनाउनु हो । संसद, कार्यपालिका, संघीय संरचना, संवैधानिक निकाय र न्यायपालिका सबैले आफ्नो अधिकार र दायित्व इमानदारीपूर्वक निर्वाह गरे मात्र लोकतन्त्र बलियो हुन्छ । आजको मूल प्रश्न संविधानको प्रावधान होइन, संविधानप्रति राजनीतिक नेतृत्वको निष्ठा हो । आगामी यात्रामा नेपालको लोकतान्त्रिक स्थायित्व र राजनीतिक संस्कार दुवैमा सुधार गर्ने साहसिक निर्णय लिनु अपरिहार्य छ । नागरिकको आक्रोशले चेतावनी दिइसकेको छ संविधानको अक्षरलाई मात्र होइन यसको आत्मालाई सम्मान नगरेसम्म स्थिरता र समृद्धिको सपना अधुरै रहन्छ ।
नेपालको संविधान संशोधनको बहसले सतहमा उठाएका विषयहरू गहिरो छन् । प्रत्यक्ष निर्वाचित कार्यकारीको सम्भावना, गैरसांसद मन्त्रीको सवाल, प्रदेश सरकारको भविष्य, संवैधानिक निकायको नियुक्ति प्रक्रिया र न्यायपालिकाको स्वतन्त्रता यी सबैको जड राजनीतिक चरित्रमै छ । संविधानको आत्मा केवल कागजी प्रावधान होइन कार्यान्वयनको इमानदार अभ्यास हो । नेतृत्वले जनतालाई जवाफदेही र नीतिगत स्थिरता दिन सक्ने हो भने संविधानको संरचना आफैं बलियो बन्न सक्छ । नभए फेरि जुनसुकै संशोधन पनि असफल हुनेछ । जेन–जी आन्दोलनले दिएको चेतावनी यही हो सत्ता खेलभन्दा माथि उठेर देशको भविष्यका लागि इमानदार निर्णय लिनु नेतृत्वको पहिलो कर्तव्य हो । (लेखक :- बोहोरा अर्थ सवाल साप्ताहिकका सम्पादक तथा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सचिव हुनुहुन्छ)

आज संविधान दिवस मनाइँदै

संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष पनि राष्ट्रिय उत्साहका साथ मनाइँदैछ । नेपाली जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त भएको नेपालको संविधान २०७२ को घोषणा भएको यस ऐतिहासिक दिनलाई विविध कार्यक्रमका साथ स्मरण गरिँदैछ ।

यस वर्षको मूल समारोह राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान ८:३० बजे सैनिक मञ्च, टुँडिखेलमा भव्यताका साथ आयोजना हुनेछ । समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । हालको विशेष राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै यस वर्ष झाँकी प्रदर्शनलगायतका केही कार्यक्रमहरू भने स्थगन गरिएका छन् ।

नेपाली जनताको दशकौं लामो संघर्ष, त्याग र बलिदानको प्रतिफलस्वरूप संविधानसभाबाट २०७२ असोज ३ गते नेपालको संविधान घोषणा भएको थियो । मुलुकमा भएको दोस्रो संविधानसभा निर्वाचनपश्चात् गठित संविधानसभाले अथक मेहनत र गहन छलफलपछि ‘नेपालको संविधान, २०७२’ जारी गरेको थियो । यस संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै सामाजिक न्याय, समावेशिता र समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता गरेको छ । 

२०७२ असोज ३ गते राति नयाँ बानेश्वरस्थित तत्कालीन संविधानसभा बैठकस्थल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले यस संविधानलाई जारी भएको ऐतिहासिक घोषणा गरेका थिए । यो घोषणासँगै नेपाली जनताले आफ्नो संविधान आफैंले लेख्ने ७० वर्षभन्दा लामो सपना साकार भएको थियो ।

संविधान दिवस केवल एक सरकारी बिदा मात्र नभई नेपाली जनताको सार्वभौमसत्ता, लोकतन्त्र र विधिको शासनप्रतिको अटुट निष्ठाको प्रतीक हो। यस दिनले हामीलाई संविधान निर्माणमा भएका अथक प्रयासहरू, सहमति र समझदारीका क्षणहरू, र राष्ट्र निर्माणको साझा लक्ष्यलाई स्मरण गराउँछ । यो दिवसले हामीलाई संविधानको भावना अनुरूप राष्ट्रिय एकता, सामाजिक सद्भाव र समृद्ध नेपाल निर्माणको लागि निरन्तर प्रयत्नशील रहन प्रेरित गर्दछ ।