दमक बहुमुखी क्याम्पस कर्मचारी संघको अध्यक्षमा कुँवर

दमक/ झापाको दमकस्थित दमक बहुमुखी क्याम्पसमा कार्यरत कर्मचारीहरुको संघ दमक बहुमुखी क्याम्पस कर्मचारी संघको ९ औं साधारण सभाबाट प्रेमबहादुर कुँवरको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ ।
संघको शुक्रबार सम्पन्न साधारण सभाले कुँवरको अध्यक्षतामा उपाध्यक्ष नविन ढुंगाना,  सचिव टोमनाथ दाहाल, सहसचिव सुयोग भट्टराई र कोषाध्यक्ष पार्वता तामाङ रहेको कार्यसमिति सर्वसम्मत चयन गरेको जनाइएको छ ।

कार्यसमितिका सदस्यहरुमा लक्ष्मी बुढाथोकी ( बोहरा ), मबिन्द्र धिमाल, बुद्ध तामाङ र कमला वाल्मीकि निर्विरोध निर्वाचित भएका निर्वाचन समिति संयोजक पदमप्रसाद घिमिरेले जानकारी दिनु भयो । सो साधारण सभा अन्तर्गतको निर्वाचन कार्यक्रम सम्पन्न गर्न क्याम्पसका प्रमुख प्रशासकीय अधिकृत समेत रहेका घिमिरेको संयोजकत्वमा तुलसी विक्रम बस्नेत र सूर्य सिगु सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो ।


दमक बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख यज्ञराज गिरीको प्रमुख आतिथ्य र कर्मचारी संघका निवर्तमान अध्यक्ष हरी प्रसाद ढकालको अध्यक्षतामा भएको साधारण सभामा पूर्व क्याम्पस प्रमुख डा. नेत्र बहादुर बुढाथोकीको विशिष्ट आतिथ्य रहेको थियो भने सहायक क्याम्पस प्रमुख राम प्रसाद भण्डारी र नवीन बस्नेतले पनि शुभकामना मन्तव्य राख्नु भएको थियो । क्याम्पसमा कार्यरत कर्मचारीहरुको हक अधिकार र विभिन्न समस्याहरुको समाधानमा आपसी समन्वयमा सहजताका लागि क्याम्पसमा कार्यरत कर्मचारीहरुको छाता संस्थाका रुपमा कर्मचारी संघ क्रियाशील रहेको छ ।

नवनिर्वाचित अध्यक्ष कुँवरले कर्मचारीहरुबीच आपसी एकतासँगै समुदाय र राज्यको समेत लगानी रहेको सो क्याम्पसको शैक्षिक उन्नयनमा संघले सकारात्मक भुमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

द एभरेष्ट सहकारीको १४ औं साधारण सभा समापन

दमक/ दमक ५ मा मुख्य कार्यालय स्थापना गरी झापा र मोरङका विभिन्न ठाउँमा सेवा केन्द्र मार्फत वित्तीय कारोबार गर्दै आएको द एभरेस्ट बचत तथा ऋण सहकारी संस्थाले १४औ वार्षिक साधारण सभा विशेष समारोहबीच समापन गरेको छ ।
यसैसाता बुद्धशान्तीस्थित बुधबारे सेवा केन्द्रबाट सेवा केन्द्रस्तरमा साधारण सभा शुरु गरेको सो संस्थाले विर्तामोड , सुरुङगा र उर्लाबारी सेवा केन्द्र हुँदै आज दमक क्षेत्रका सदस्यहरुको सहभागितामा माइन्यूट प्रमाणीकरण तथा निर्णय एकीकृत गर्दै सो सभा सम्पन्न गरेको हो ।


दमक उद्योग वाणिज्य संघको सभाकक्षमा जिल्ला सहकारी संघ झापाका अध्यक्ष प्रेमकुमार कोइरालाको प्रमुख आतिथ्य र संस्थाका अध्यक्ष दिपक खरेलको सभापतित्वमा सञ्चालन भएको सभा समापन कार्यक्रममा संस्थाका उत्कृष्ट कारोबारी शेयर सदस्य र उत्कृष्ट बाल बचतकर्ताहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको संस्थाका सहव्यवस्थापक धर्मानन्द भट्टराईले जानकारी दिनु भयो ।
कार्यक्रममा मेनेजर्स क्लब अफ दमकका अध्यक्ष खोमप्रसाद बगाले, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईं लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।


संस्थाको ४ करोड ५५ लाख २३०० सेयर पुँजी रहेको , २८ करोड २३ लाख ७५ हजार बचत , ३२ करोड ६६ लाख ऋण लगानी रहेको संस्थाको बार्षिक प्रतिवेदनमा उल्लेख छ । सो संस्थाले स्थापनाकालमा बार्षिकोत्सवको अवसर पारेर दमकको थाना रोडमा (सडक किनार)मा वृक्षारोपण गरेको थियो । संस्थाले रोपेका बिरुवाले अहिले दमकको मुख्य बजार क्षेत्र प्रवेशद्धारनै हरियाली र आकर्षक बनाएको छ । संस्थाले यसका अतिरिक्त उत्कृष्ट सहकारी पत्रकारिता पुरस्कार, बार्षिकोत्सवमा रक्तदान, फलफूल वितरण, अपाङगता भएकाहरुलाई ह्वीलचेयर प्रदान गर्ने जस्ता सामाजिक उत्तरदायित्वको क्षेत्रमा समेत काम गर्दै आएको थियो । विशेष परिस्थितीका कारण पछिल्लो समय त्यस किसिमका कार्यक्रमहरु नगरेको सो संस्थाले आगामी बर्षदेखि त्यस किसिमका सामाजिक क्षेत्रमा समेत आफ्ना कार्यक्रमहरुलाई अघि बढाउने लक्ष्य राखेको संस्थाका सचिव ज्ञाननाथ पौडेलले बताउनु भयो ।

 

तीन नाबालिकाको डुबेर मृत्यु हुँदा सिंगो गाउँ शोकमा

दमक/ झापाको गौरादह नगरपालिका वडा नं ९ खजुरबारीकी अन्जु मगरका दुई छोरीसहित तीन जना नाबालिकाको आज दिउँसो खोलामा डुबेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार अञ्जुका छोरीहरू ९ बर्षिया स्विकृती मगर र ७ बर्षिया सुस्मा मगर र सोही ठाउँका रोमन (मोते)परियारकी ११ बर्षिया छोरी रोश्नी परियारको दिउँसो करिब साढे १ बजे स्थानीय किस्ने खोलामा डुबेर मृत्यु भएको हो ।
उनीहरु तीन जनासँगै सोही ठाउँका राजकुमार राईकी १० बर्षिया युनिसा राई समेत खोलामा माछा मार्न गएका थिए । उनीहरु तीन जना पानीमा डुबेको देख्न साथ सँगै गएकी युनिसाले तत्काल अभिभावकलाई जानकारी गराएकी थिइन् । स्थानीयहरुले तीनै जनालाई पानी बाहिर निकाल्दा उनीहरुको मृत्यु भइसकेको पाइएको अस्थाई प्रहरी चौकी बैगुनधुरालाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सो सम्बन्धमा प्रहरीले आवश्यक कानुनी प्रकृया पुरा गरी थप अनुसन्धान अघि बढाएको जनाइएको छ । एकै गाउँका तीन जना बालिकाको डुबेर मृत्यु भएपछि सिंगो गाउँ शोकमा डुबेको छ ।

दमकमा झापामै पहिलो पटक बिद्यार्थी लक्षित विज्ञान उत्सव आयोजना हुँदै

दमक/ झापाको दमकमा यही असोज ३१ गते झापा जिल्लामै पहिलो पटक नेपाल विज्ञान उत्सव २०२५ आयोजना गरिने भएको छ ।
इन्गेज नेपाल वीथ साइन्सले रिसर्च इन्स्टीच्यूट फर बायो साइन्स एण्ड बायो टेक्नोलोजी र झापा मोडल अंग्रेजी मावि दमकसँगको सहकार्यमा हुने सो विज्ञान उत्सवमा विज्ञान सम्बन्धिका जानकारीमूलक ३० वटा स्टल रहने छन् ।
सो बारे जानकारी दिन आयोजक र सहकार्य गरिएका संस्थाहरुले बुधबार बिहान झापा मोडल अंग्रेजी माविमा संयुक्त पत्रकार सम्मेलन गरेका छन् ।
पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार त्यस किसिमको नमुना कार्यक्रम झापा जिल्लामै पहिलो पटक यहाँ हुन लागेको हो ।
जहाँ विज्ञान सम्बन्धिको खोज अनुसन्धानमा सक्रिय तीन जना पाहुनाहरु पनि सहभागी हुनुहुनेछ । सो उत्सव मार्फत झापा मोडलसहित झापाका पाँच बिद्यालयका ५६० जना बिद्यार्थीहरुलाई अन्तरक्रियात्मक र सहज रुपमा विज्ञान प्रविधि, इञ्जनियरिङ, गणित सम्बन्धि कार्यशालाहरु मार्फत प्रयोगात्मक विधिबाट ज्ञान प्रदान गरिने झापा मोडल अंग्रेजी माविका संस्थापक निर्देशक जयबहादुर श्रेष्ठले जानकारी दिनु भयो ।
सो कार्यशालाले बिद्यार्थीहरुमा विज्ञान सम्बन्धिका जिज्ञासा, वैज्ञानिक सोच र व्यवहारिक सिकाईलाई प्रोत्सहित गर्ने विश्वास लिइएको आयोजक इन्गेज नेपाल वीथ साइन्सका प्रतिनिधि डा. अल्बा अवादले बताउनु भयो ।
नेपालमा यस किसिमका कार्यक्रमहरुको आवश्यकता र औचित्यबारे बढी भन्दा बढी जानकारी गराउनु र कुनै पनि बैज्ञानिक खोज अनुसन्धानलाई प्राथमिकता दिनु संस्थाको लक्ष्य रहेको रिबका प्रतिनिधि प्रज्वल भण्डारीले जानकारी दिनु भयो ।
सो क्रममा बिद्यार्थीहरुले रिसर्च इन्स्टीच्यूट फर बायो साइन्स एण्ड बायो टेक्नोलोजीकी प्रिन्सीपल डा. सुनिता घिमिरे गौतम, इन्गेज नेपाल वीथ साइन्सकी को–फाउण्डर अल्बा अवाद, फुटुङ रिसर्च इन्स्टीच्यूटकी रिसर्च असिस्टेन्ट रोश्नी तामाङ र फिकस बायोटेक प्रालिका मेनेजिङ डाइरेक्टर दुर्लभ कार्कीसँग पनि सम्बन्धित बिषयहरुमा संवाद र अन्तरक्रिया गर्न पाउने कार्यक्रम आयोजनाका लागि सहकार्य गरेको झापा मोडल अंग्रेजी मावि (जेम्स)का प्रिन्सीपल सागर श्रेष्ठले जानकारी दिनु भयो ।
सो विज्ञान उत्सवको बिद्यालयका बिद्यार्थीहरु बाहेक झापाका सबै सामुदायिक तथा संस्थागत बिद्यालयका शिक्षक, प्रतिनिधि, क्याम्पसका प्रमुख तथा विज्ञान बिषयका प्राध्यापकहरु, समुदायका अन्य इच्छुक सरोकारवालाहरुले पनि अवलोकन गर्न पाउनेछन् । सो विज्ञान उत्सव आयोजना गर्न दमक नगरपालिका कार्यालय, वडा नं ७, ८ र ९ का साथै रोटरी क्लब अफ दमक, युरोफिन्स फाउण्डेशन, सुरज शिक्षा प्रतिष्ठान, मारवाडी सेवा समिति दमक लगायतको पनि सहयोग र समर्थन रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । बिद्यालयकी शिक्षा संयोजक जस्मिन श्रेष्ठको अध्यक्षतामा सो पत्रकार सम्मेलन सम्पन्न भएको थियो ।

 

दमकको पाथीभरा गेष्ट हाउसमा महिला मृत

दमक/ दमकको पाथीभरा गेष्ट हाउसमा कार्यरत एक महिला मृत फेला परेकी छन् ।
मंगलबार दिउँसो १२ः३० बजे दमक वडा न.६ बस्ने रुपादेबी कडरियाले सञ्चालन गर्दै आएको गेष्ट हाउसमा काम गर्दै आएकी धनकुटा पाख्रीवास स्थायी घर भएकी अन्दाजी ३६ बर्षकी सम्झना परियार मृत फेला परेकी हुन् ।
उनी अघिल्लो दिन सोमबार राति खाना खाई तीन तले होटलको दोस्रो तलाको कोठामा सुतेकी थिइन् । मंगलबार दिउँसोसम्म नउठेपछि सोही गेष्ट हाउसमा बसेकी दुर्गा बर्देवाले बोलाउन जाँदा नबोलेको र हेर्दा घोप्टो परी सुतिरहेको अबस्थामा फेला परेकी थिइन् ।
इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगेर आवश्यक कानुनी प्रकृया पूरा गरी शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय दमकका डिएसपी रामप्रसाद तिमल्सीनाले जानकारी दिनु भयो । घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको पनि उहाँले बताउनु भयो । त्यसैगरी केही दिन अघि दमक ७ स्थित पशुहाट परिसरमा मृत भेटिएका एक पुरुषका बिषयमा पनि प्रहरीले सुक्ष्म अनुसन्धान जारी रहेको जनाएको छ । अनुसन्धानमा आवश्यक मानिसहरुसँग सोधपुछ र विभिन्न कोणबाट अनुसन्धान गर्ने काम भइरहेको छ, – डीएसपी तिमल्सीनाले निष्कर्ष न्यूजसँगको कुराकानीमा भन्नु भयो ।

 

स्वर्णलक्ष्मी साकोसको १६ औं साधारण सभा, सहकारी अभियान जोगाउने चुनौती बढ्दै गएको निष्कर्ष

दमक/  दमक ६ मा मुख्य कार्यालय स्थापना गरी झापा मोरङका विभिन्न ठाउँमा सेवा केन्द्र मार्फत वित्तीय कारोबार गर्दै आएको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको १६ औ वार्षिक साधारणसभाका निर्णयहरु एकीकृत तथा प्रमाणीकरण सभा सम्पन्न भएको छ ।

मंगलवार भएको औपचारिक कार्यक्रमबीच साधारण सभा समापन गरिएको हो । सभाका वक्ताहरुले सहकारी अभियान बिनाको समाज कल्पना गर्न नसकिने भन्दै नेपालमा सहकारी अभियानलाई जोगाउने चुनौती भने बढ्दै गएको उल्लेख गरे । राजनीतिक अस्थिरता र पछिल्लो समय उत्पन्न असहज परिस्थितीका कारण सुरक्षा चुनौती थपिँदा सहकारी अभियानमा पनि चुनौतीहरु बढने उनीहरुको भनाई थियो ।

कार्यक्रममा नेफ्स्कुनका महासचिव घनश्याम अधिकारीले सहकारीविनाको समाज परिकल्पना गर्न नसकिने बताउनु भयो । वहाँले देशभर फैलाईएको सहकारीहरुको नकारात्मक प्रचार र संक्रमणकालिन अवस्थालाई चिर्नुपर्ने चुनौती रहेको बताउनु भयो ।
दमक नगर उपप्रमुख रेगिना भट्टराई प्रसार्र्इँले देशमा एकपछि अर्काे संकट आइरहेकाले सबै ब्यवसायहरु धरासायी बन्दै गएको परिप्रेक्ष्यमा सहकारी अभियान पनि यसबाट टाढा हुन नसक्ने तर्फ सजग हुनुपर्ने औंल्याउनु भयो ।

सहकारीका ब्यवस्थापकहरुको साझा क्लब मेनेजर्स क्लब झापाका अध्यक्ष खोमप्रसाद बगालेले सहकारी संरक्षणको दायित्व सरकारको पनि भएको उल्लेख गर्नुभयो । उहाँँले अहिलेको सरकार गलत बाटोबाट आएको कारण पनि सहकारी क्षेत्रमाथी जोखिम बढेको कारण संस्थाका सदस्यहरु सजग भएर गलत तत्वहरुका विरुद्ध प्रतिकारमा उत्रिनु पर्ने बताउनु भयो ।
कार्यक्रमा दमक उद्योग बाणिज्य संघका अध्यक्ष देवीप्रसाद गुरागाईँले वित्तीय क्षेत्रमा स्वर्णलक्ष्मी साकोसले बनाएको पहिचानको प्रशंसा गर्नुभयो । सामाजिक क्षेत्रमा सहकारी अभियानलेनै उल्लेखीय योगदान दिँदै आएको अध्यक्ष गुरागाइँले बताउनु भयो ।

सो अवसरमा जिल्ला सहकारी संघ झापाका अध्यक्ष प्रेमकुमार कोइराला, लेखा सुपरिवेक्षण समिति संयोजक चुडामणी ओझा, स्वर्णलक्ष्मी साकोसका संस्थापक अध्यक्ष बासु काफ्ले, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष तुलाराम न्यौपाने, लगायतले साधारण सभा सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियो ।
सो अवसरमा संस्थाले बर्षेनी प्रदान गर्दै आएको स्वर्णलक्ष्मी साकोस पत्रकारिता पुरस्कारबाट पत्रकार बिमल लामिछानेलाई सम्मान गरेको छ । नगद १० हजार रुपैयाँ राशीको पुरस्कार, सम्मान पत्र र दोेसल्ला ओढाएर उहाँलाई सम्मान गरिएको हो ।


यस्तै संस्थाले अग्रज व्यक्तित्व तुलसीराम प्रसाईं, कर्मचारीहरु कमल गड्तौला (फिल्ड उत्कृष्ट), बसन्त भट्टराई (हिरो अफ द स्वर्णलक्ष्मी), निर्मल धिमाल , झलक गौतम, रमेश वोहोरा, आशिष कार्की लगायतलाई पनि सम्मान गरेको छ ।
शिक्षा क्षेत्रमा उत्कृष्ट हुने शेयर सदस्यका छोराछोरीमध्येबाट छात्रा अनुदिता कोइराला र छात्र तर्फ सौरव सहनी नगद राशी सहित सम्मानित भएका छन् ।
वार्षिक चुनावी साधारणसभाले पुनः बुद्धिसागर बरालको अध्यक्षतामा आगामी चार वर्षको निम्ति ९ सदस्य सञ्चालक समितिको चयन गरेको संस्थाका प्रमुख व्यवस्थापक कमलकुमार घिमिरेले जानकारी दिनु भयो ।

सञ्चालक समितिको उपाध्यक्षमा सञ्जिब रिमाल, सचिबमा चन्द्रमाया निरौला, अधिकारी (जमुना) र कोषाध्यक्षमा प्रेमकुमारी रिजाल (पुनम) निर्वाचित हुनुभएको छ । त्यस्तै सदस्यहरुमा गंगा पौडेल, दिनेशकुमार अधिकारी, राजेन्द्र श्रेष्ठ, भिमबहादुर रायमाझी र भरतकुमार ढकाल चयन हुनुभएको छ भने लेखा सुपरिबेक्षण समितितर्फ संयोजक गायत्रीप्रसाद पराजुली, सदस्यहरु, अभिचन्द्र प्रसाईं र शुशिला काफ्ले चुनिएका छन् ।

दमकमा उपप्रमुख भट्टराईको अगुवाईमा सर्वपक्षीय छलफल

दमक/ राजनीतिक नेतृत्वको अदुरदर्शीताका कारण नागरिकमा फैलिएको असन्तुष्टिका कारण नेपालमा शान्ति नचाहने तत्वहरुले चलखेल गर्दै जेनजी आन्दोलनका नाममा सार्वजनिक सम्पत्तीमा क्षती पुरयाएको दमकमा आयोजित सर्वपक्षीय छलफलका सहभागीहरुले निष्कर्ष निकालेका छन् ।
दमक नगर उपप्रमुख रेगिना भट्टराईको अगुवाईमा आयोजित छलफलका सहभागीहरुले भौतिक बिकास भए पनि सार्वजनिक सेवा प्रवाह गर्ने राज्यका निकायहरुमा सुशासन नहुँदा नागरिकमा पैmलिएको आक्रोशमा बिदेशी शक्तिले खेल्ने मौका पाएको उनीहरुको भनाई छ । आम नेपाली नागरिकहरुबीच बृहत एकता नभए देशमा अझ ठुलो संकट आउने सक्ने जोखिम पनि उनीहरुले औंल्याएका छन् ।
मुलुकलाई निकास दिने राजनीतिक दलहरुलेनै हो भन्दै नागरिक समाजका अगुवाहरुले अहिलेको बिषम परिस्थितिमा एक अर्कालाई दोष देखाएर भन्दा पनि संबाद र सहकार्यको माध्यमबाट अघि बढनुपर्ने उनीहरुको भनाई छ ।
छलफलको अगुवाई गर्नुभएकी उपप्रमुख भट्टराईले आन्दोलनका आडमा ठुलो बिध्वंसमा परेर दमकमा अकल्पनीय क्षति भएको उल्लेख गर्नुभयो । उहाँले आगामी दिनमा यसको पुननिर्माणमा जुट्नु आवश्यकता भएको बताउनु भयो ।
छलफलमा नेपाली कांग्रेस कोशी प्रदेश समिति सदस्य चन्द्र खड्का भट्टराईले दलहरुले मुलुकको बिकास गरे पनि नागरिकले सुशासनको अनुभुती नगरेका कारण भदौ २३ गते आन्दोलन भएको बताउनु भयो ।
तर आन्दोलमा निर्दोष बालबालिकाको दुरुपयोग र सरकार पक्षबाट संयमताको कमी हुँदा मानवीय क्षती बढेको बताउनु भयो ।
कार्यक्रममा नेकपा एमाले कोशी कमिटी सदस्य अम्बिका खनालले लामो समयदेखि नेपालनै ध्वस्त बनाउने गरि बनाईएको योजना नागरिकको असन्तुष्टिमा घुसपैठ गराईएको बताउनु भयो ।
बिगतमा दलहरुलाई भोट दिने नागरिक समेत अहिले दलहरुको पक्षमा नरहेको भन्दै उहाँले राजनीतिक दलहरुमा समेत सुधारको आवश्यकता रहेको बताउनु भयो ।
नेकपा माओवादी केन्द्रका नेता गगन पुरीले भदौ २३ र २४ दुवै दिनका घटनालाई सुक्ष्मरुपमा केलाउनु आवश्यक रहेको बताउनु भयो ।
२३ गते निर्दोष बालबालिकामाथि गोली हानेर बर्बर हत्या भएकोले त्यसको निष्पक्ष छानबिन हुनै पर्ने भन्दै उहाँले २४ गते निजी र सरकारी सम्पत्ति ध्वस्त पार्नेहरुलाई समेत कानुनको दायरामा ल्याउनै पर्ने पुरीले बताउनु भयो ।
त्यसैगरी नेपाल रेडक्रस सोसाईटी दमक उपशाखाका सभापति प्रकाश बुढाथोकी, दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईं, नेपाली कांग्रेस नगर सभापति प्रकाश प्रसाईं, अखिल नेपाल महिला संघ झापा जिल्ला अध्यक्ष लीला ढुंगेल दाहाल, ईलाका प्रशासन कार्यालय दमकका प्रमुख, आन्तरिक राजश्व कार्यालय दमकका प्रमुख, ईलाका प्रहरी कार्यालय दमकका प्रतिनिधि लगायतले त्यस किसिमको सर्वपक्षीय छलफलले सकारात्मक सन्देश दिने बताए ।

 

समता कृषि सहकारीको १४ औं साधारण सभा

दमक/ दमक ९ मा सञ्चालित समता कृषि सहकारी संस्थाले १४औं बार्षिक साधारणसभा सोमबार सम्पन्न गरेको छ ।
सहकारीका अध्यक्ष पर्शुराम रिजालको अध्यक्षतामा सम्पन्न साधारणसभामा बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै रिजालले वचत तथा कर्जाको कारोबारसंगै समता सहकारीले कृषि सहकारी भएको कारण कृषि सम्बन्धि कामहरु समेत गर्दै आएको जानकारी दिनुभयो ।
उहाँले सहकारीले दमक ९ मै एक बिगाहा जमिनमा बेसार खेती र धान खेती गरिरहेको साथै ५ कट्ठा जमिनमा नगदे बालीको रुपमा साग सब्जी, भिण्डी लगायत तरकारी बालीको खेती गरिरहेको जानकारी दिनुभयो ।
त्यसैगरी संस्थाले संस्थाबाट कर्जा लिने सदस्यको कर्जा बीमा समेत गरिदिँदै आएको र सदस्यका हितका लागि अन्य कार्यक्रम समेत सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।
त्यसैगरी संस्थाका लेखा सुपरिवेक्षण समिति संयोजक लक्ष्मी नेपालले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्दै यस्तो बिषम परिस्थितिमा समेत समता कृषि सहकारीले कर्जा जोखिम कोषमा रकम जम्मा गरेर पनि सदस्यहरुलाई थोरै भए पनि लाभांश वितरण गर्न सकेको जानकारी दिनुभयो ।
दमक ९ का वडाध्यक्ष कुबेर भट्टराईको प्रमुख आतिथ्यमा भएको साधारण सभाको उदघाटन कार्यक्रममा संस्थाकी उपाध्यक्ष शर्मिला भुर्तेलले स्वागत गर्नु भएको थियो । ब्यवस्थापक शान्तिराम भट्टराईले सञ्चालन गर्नु भएको कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष कुवेर प्रसाद भट्टराई सहित शुभमंगल सहकारी संस्थाका अध्यक्ष तथा निम्स नेशनल अस्पतालका अध्यक्ष उमाकान्त आचार्यले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

३१ करोड बजेट पारित गर्दै दमक बहुमुखी क्याम्पसको क्याम्पस सभा सम्पन्न

दमक/ उच्च शिक्षाका लागि सामुदायिकस्तरबाट स्थापना गरिएको दमक बहुमुखी क्याम्पस दमकको १४ औं क्याम्पस सभा सोमबार सम्पन्न भएको छ ।
सभाले क्याम्पसमा सञ्चालन हुने महत्वपूर्ण योजनाहरुसहितको प्रस्ताव पारित गरेको छ । झण्डै ३१ करोड रुपैयाँ बराबरको बार्षिक बजेट कार्यक्रम पनि सभाले पारित गरेको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष ढुण्डीराज भण्डारीले क्याम्पसको स्थापना इतिहासदेखि वर्तमान सम्मको अवस्था र भावी योजनाहरु सभामा प्रस्तुत गर्नु भयो ।
गुणस्तर प्रमाणीकरण (क्यूएए) हासिल गरेको सो क्याम्पस हाल करिब ५ हजार हाराहारीमा बिद्यार्थीहरु अध्यययनरत रहेका र ६८ जना प्राध्यापक र २५ जना कर्मचारी कार्यरत रहेका जनाइएको छ ।
शैक्षिक बिकासमा आफूलाई उत्कृष्ट गन्तव्यको रुपमा बिकास गर्दै लगेको यो क्याम्पसका ३ जना प्राध्यापकहरुले बिद्यावारिधी हासिल गरेका तीन जनाले एम्फील उपाधि प्राप्त गरेका छन भने १० जना पिएचडी अध्ययनरत र ३ एम्फील अध्ययनरत रहेका क्याम्पस सभामा अध्यक्ष भण्डारीले जानकारी गराउनु भयो । विश्व बिद्यालय अनुदान आयोगको छनोटमा परेका देशभरका ७ वटा क्याम्पस मध्ये लिड क्याम्पसका रुपमा दमक बहुमुखी क्याम्पस चयन भई गत असारमा कोशी प्रदेशका ३० जना प्राध्यापकहरुको व्यवसायिक बिकास कार्यक्रम सम्पन्न गरिएको सभामा जानकारी गराइयो । सो क्याम्पसमा यसै बर्ष महिला छात्रावास र यातायात सञ्चालनमा ल्याइने र सोका लागि आवश्यक पूर्वाधार निर्माणको काम भइरहेको पनि सभामा अध्यक्ष भण्डारीले जानकारी दिनु भयो ।


संघीय सरकारको ३ करोड रुपैयाँको अनुदानमा सुविधा सम्पन्न प्रशासनिक तथा छात्रावास भवन निर्माण कार्य शुरु गरिएको , बीबीए भवनमाथि विश्व बिद्यालय अनुदान आयोगको १ करोड अनुदानमा संरचना निर्माण भइरहेको र हाल सम्म सो योजनाका लागि ५७ लाख रुपैयाँ प्राप्त भइसकेको, प्रदेश सरकारको ३ करोड अनुदानमा सुविधा सम्पन्न पुस्तकालय निर्माणका लागि सम्झौता भइ डीपिआर निर्माणको प्रकृया अघि बढेको , आइसिटी सिस्टम, नेटवर्क र डिजिटल व्यवस्थापन, आधुनिक प्रयोगशाला सामग्रीको व्यवस्थापन लगायतका कामहरु २०८२ चैतदेखि २०८३ बैशाख मसान्त सम्ममा सम्पन्न गर्ने गरी सम्झौता भइसकेको क्याम्पस प्रमुख यज्ञराज गिरीले जानकारी दिनु भयो ।


क्याम्पस सभाको उदघाटन सोही क्याम्पसका पूर्व क्याम्पस प्रमुख तथा शैक्षिक व्यक्तित्व मोहन भण्डारीले गर्नु भएको थियो । उदघाटन कार्यक्रममा कोशी प्रदेश सभा सदस्य नम्बरलाल धिमाल, दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाइँ, दमक ७ का वडाध्यक्ष भिमप्रसाद पौडेल, क्याम्पसका पूर्व अध्यक्ष देवीप्रसाद दाहाल, दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष रवि केसी , पूर्व क्याम्पस प्रमुख उत्तम प्रसाद भट्टराई लगायतले शुभकामना मन्तव्य राख्दै समुदायको सक्रियतामा सञ्चालित यो क्याम्पस यस क्षेत्रका लागि गौरवको बिषय भएको चर्चा गर्नु भयो ।

सभामा क्याम्पस प्रमुख गिरीले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै क्याम्पसका लक्ष्य र चुनौतीहरुका बिषयमा अवगत गराउनु भयो । उहाँले प्रतिवेदन मार्फत क्याम्पसको आम्दानी खर्चको विवरण समेत सार्वजनिक गर्नु भयो । सभामा क्याम्पसका लेखा समिति संयोजक कूलबहादुर बस्नेतले क्याम्पसमा आर्थिक पारदर्शीताका लागि लेखा प्रणालीलाई प्रविधिको उच्च सदुपयोग गर्दै व्यवस्थित गर्ने क्रममा अघि बढिएको जानकारी गराउनु भयो । उहाँले लेखा प्रणालीका बिषयमा समितिका तर्फबाट क्याम्पस सञ्चालक समिति र प्रशासनलाई आवश्यक राय सुझाव समेत प्रस्तुत गर्नु भयो ।

द एभरेष्ट साकोसले गर्यो बुधबारे इकाईको साधारण सभा

दमक/ मर्यादित सहकारी समुन्नत समाज भन्ने नारासहित दमकमा मुख्य कार्यालय रहेको द एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाले सेवा केन्द्रस्तरमा १४ औं बार्षिक साधारण सभा शुरु गरेको छ ।
आइतबार बुधबारे सेवा केन्द्र इकाईको साधारणसभा सम्पन्न भएको संस्थाले जनाएको छ । संस्थाका अध्यक्ष दिपक खरेलको अध्यक्षतामा सञ्चालन भएको बुधबारे इकाईको साधारण सभामा उत्कृष्ट कारोबार गर्ने शेयर सदस्यहरु कृष्णलाल साह, सविता श्रेष्ठ, लोकबहादुर श्रेष्ठ र शान्ता राई तथा उत्कृष्ट बाल शैक्षिक बचतकर्ता समिक्षा राजवंशीलाई संस्थाका अध्यक्ष खरेल र सेवा केन्द्र संयोजक यामनाथ बिमलीले पुरस्कार तथा सम्मान प्रदान गर्नु भयो ।
कार्यक्रममा बुद्धशान्ती गाउँपालिका वडा नं १ का वडाध्यक्ष अनिल वाग्ले, उद्योग वाणिज्य संघका अध्यक्ष दिपक सापकोटा, वडा सदस्य लक्ष्मीप्रसाद कँडेल र शेयर सदस्यहरुको तर्फबाट सेवा केन्द्र संयोजक यामनाथ बिमलीले शुभकामना मन्तव्य राख्नु भएको थियो । साधारण सभामा संस्थाका अध्यक्ष खरेलले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने लेखा सुपरिवेक्षण समिति संयोजक ताराप्रसाद अधिकारीको तर्फबाट संस्थाका सहव्यवस्थापक धर्मानन्द भट्टराईले पेश गर्नु भएको थियो । संस्थाले आज सुरुङा सेवा केन्द्रमा साधारण सभा सञ्चालन गर्ने जनाइएको छ ।