साहित्यकार खगिन्द्रा खुसीलाई ‘रूपान्तरण राष्ट्रिय आख्यान पुरस्कार’

काठमाडौं‍/ तेस्रो आँखा साहित्यिक समूहको आयोजनामा काठमाडौँको मध्य बानेश्वरमा एक समारोहका बीच ‘रूपान्तरण राष्ट्रिय आख्यान पुरस्कार’ अर्पण तथा साहित्यिक विमर्श कार्यक्रम सम्पन्न भएको छ । नेपाली साहित्यका विभिन्न आयामबारे विमर्श सहित सम्पन्न उक्त कार्यक्रममा विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाली आख्यान क्षेत्रमा उल्लेख्य योगदान पुर्याएबापत साहित्यकार खागिन्द्रा खुसीलाई ‘रूपान्तरण राष्ट्रिय आख्यान पुरस्कार’बाट सम्मानित तथा पुरस्कृत गरिएको छ। वरिष्ठ साहित्यकार एवं कार्यक्रमका प्रमुख अतिथि शैलेन्द्र साकारले खुसीलाई पुरस्कार हस्तान्तरण गर्दै उनको लेखनले नेपाली समाजको यथार्थलाई जीवन्त रूपमा चित्रण गरेको बताए । २०८२ वैशाख १३ गते आयोजना गरिएको कार्यक्रममा ‘खुसीको गाउँ’ उपन्यासमाथिको समीक्षात्मक टिप्पणी गरिएको थियो ।

उक्त कृतिमाथि समीक्षा गर्दै डा. कमल राज शर्माले उपन्यासको शिल्प र सामाजिक चेतनामाथि प्रकाश पारे भने लेखक राजेश विद्रोहीले उपन्यासले बोकेको दार्शनिक र वर्गीय मुद्दाहरूको चर्चा गरेका थिए । साहित्यिक विमर्शका अर्का वक्ता पूर्व राजदूत डा. निर्मल विश्वकर्माले ‘गैरआवासीय नेपाली संघ र नेपाली साहित्य’ विषयमा आफ्नो गहन धारणा राख्दै प्रवासमा नेपाली भाषा र साहित्यको संरक्षणमा भइरहेका प्रयासबारे चर्चा गरेका थिए ।

प्रसिद्ध लेखक तथा अनुवादक युयूत्सु आरडी शर्माले ‘विश्वमा नेपाली साहित्यको वर्तमान स्थिति’ विषयमा विमर्श प्रस्तुत गर्दै नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा लैजान अनुवादको भूमिका अपरिहार्य रहेको औँल्याए । कार्यक्रममा साहित्यकार अन्चु सुवेदी, कवि विष्णु भट्टराई, कवि रामेश्वर राउत ‘मातृ दास’, कवि दिन दया रिजाल लगायतका स्रष्टाहरूले आ-आफ्ना रचनाहरू प्रस्तुत गरेका थिए । सो अवसरमा विभिन्न साहित्यकारहरू र बौद्धिक व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो ।

भुमि समस्या समाधानमा पालिकाहरु सक्रिय बनाइनु पर्छ – मदन अधिकारी , अध्यक्ष भुमि समस्या समाधान आयोग झापा

मुलुकमा भुमि समस्या समाधानका लागि सरकारले बनाएको आयोग क्रियाशील छ । संघीय सरकार भने अव्यवस्थित बसोबासी तथा भुमिहिनहरुले बस्दै आएको जग्गा खाली गराउन प्रहरी परिचालन गरिरहेको छ । झापा जिल्लामा मात्रै आयोगको कार्यालयमा भुमि सम्बन्धिका फरक फरक समस्या समाधानका लागि ५० हजार ७ सय आवेदन परेका छन् । 

कतिपय पालिकाहरुमा आशिंक समस्याको समाधान भएको र कतिपय समाधानको प्रक्रियामा छन् । यसै सन्दर्भमा भुमि समस्या समाधान आयोग जिल्ला समिति झापाका अध्यक्ष मदन अधिकारीसँग गरिएको कुराकानीको  सम्पादित अंश –

आयोगले कसरी कार्यसम्पादन गरिरहेको छ ?
सबैलाई थाह छ भुमि समस्या समाधान आयोग राजनीतिक नियुक्ती हुने ठाउँ हो । तथापी यो संबैधानिक आयोग हो । मलाई तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०८१ पुषतिर आयोगको झापा जिल्ला अध्यक्षका रुपमा नियुक्त गरेको हो । आयोगका चार जना सदस्यहरुको राजनीतिक नियुक्ती छ ।
आयोगको सदस्य सचिवका रुपमा जिल्लास्थित नापी कार्यालय प्रमुख रहने व्यवस्था छ भने पदेन सदस्यका रुपमा जिल्लास्थित मालपोत कार्यालय, वन कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समितिको कार्यालयका अधिकृतज्यूहरु पनि रहनु हुने व्यवस्था छ ।
आयोगको काम कारवाहीसँग सम्बन्धित एउटा कार्यविधि (टिओआर) र मापदण्ड पनि जारी भएको छ । त्यसैका आधारमा हामीले कार्यसम्पादन गरिरहेका छौं ।

आयोगले झापामा के कति काम गर्यो ? कति जनाले जग्गाको धनीपूर्जा पाउनु भयो त ?

हामीले आयोगमा आएर जिम्मेवारी सम्हालेको एक बर्ष बितेको छ । यस बीचमा सबैलाई थाह छ मुलुकमा भाद्र २३/२४ को घटना भयो ।
यसपछि मुलुकमा राजनीतिक परिवर्तन आयो । तत्कालिन सरकार विघटन भएर नयाँ सरकार बन्यो ।
तत्कालिन प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले आयोग खारेज गर्ने निर्णय गरेता पनि यो एउटा संबैधानिक आयोग भएकाले सम्मानित सर्वोच्च अदालतले सरकारको निर्णय उल्टाएर आयोग पुनस्थापित भयो ।
तर तत्कालै निर्वाचन आचारसहिंताका कारण हाम्रो काम कारवाही पनि स्वभाविक रुपमा प्रभावित बन्न पुग्यो ।
तथापी निर्वाचन आचारसहिंताले रोकेको अवधि सकिए लगत्तै आयोगले आफ्नो अधिकार क्षेत्रभित्र रहेर तोकिएको मापदण्ड र कार्यविधि अनुसार कार्यसम्पादन निरन्तर गरिरहेकै छ ।
यस अवधिमा आयोगले जिल्लास्थित अधिकांश पालिकाहरुमा यसको टिओआर र धनीपूर्जा वितरण सम्बन्धिको मापदण्ड , यसको अधिकार क्षेत्र भित्र रहेर कसरी अधिकतम भुमी समस्या समाधान गर्ने र धनीपूर्जा दिलाउने भन्ने बिषमा छलफल गरि वडा तह सम्म सहजीकरण समिति गठन गरियो ।
वडा तहमा सम्बन्धित वडाध्यक्षको अध्यक्षतामा र पालिकास्तरमा सम्बन्धित पालिका प्रमुखको अध्यक्षतामा भुमि समस्या समाधान सहजीकरण समिति गठन गरि भुमि समस्या सम्बन्धिका समस्याबाट पीडितहरुको सम्बन्धित वडा तहमानै निवेदन लिने र त्यसलाई वडाको सिफारिसमा पालिकास्तरमा पठाउने र पालिकास्तरको कार्यपालिका बैठकबाट निर्णय लिई जग्गाधनी पूर्जाको निस्साका लागि विवरण प्रविष्ट गर्ने कार्य गरियो ।
तत्काल धनीपूर्जा वितरण गर्ने लक्ष्य राखिएका भुमीहिन, भुमीहिन दलित र अव्यवस्थित बसोबासीहरुलाई धनीपूर्जा वितरणका लागि आवश्यक प्रक्रिया अघि बढाइयो ।

 तपाइँले भने जस्तो के कति संख्यामा कुन कुन पालिकामा यो काम भएको छ ?

झापा जिल्लामा सबैभन्दा धेरै भुमि समस्या भएको पनि र समाधान (आयोग र पालिकाबाट प्रगति) भएको पनि पालिका कन्काई नगरपालिका हो ।
कन्काई, अर्जुनधारा, गौरीगञ्ज र बुद्धशान्ति गाउँपालिकामा अहिले सम्म आयोगले काम गरिरहेको छ । ति सबै पालिकाहरुमा अहिले सम्म ९ सय देखि एक हजारको हाराहारीमा जग्गा धनीपूर्जा वितरण गरिसकिएको छ ।
आयोगको पूर्जा पाउनका लागि योग्य ठहरिएका कार्यविधिले तोके अनुसार श्रीमान श्रीमती दुवैको फोटो र हस्ताक्षर नहुँदा करिब ५०÷६० वटा जति धनीपूर्जा तयार भएर पनि उपलब्ध गराउन सकिएको छैन ।
भुमी समस्याको समाधानका लागि सम्बन्धित वडामार्फत आयोगमा परेका निवेदनको संख्या ५० हजार ७ सय छ ।
ति निवेदनहरु वडा मार्फत पालिकाहरुमा प्रविष्ट गरिसकिएका छन् । सबैभन्दा ठुलो उपलब्धी भनेको अब ति आवेदकहरुले आफ्नो भुमी समस्याका लागि अर्कोपटक कुनै आयोगमा नयाँ निवेदन दिनु पर्नेछैन । अहिले दिइएका निवेदनहरुकै आधारमा अब जुनसुकै आयोगले पनि काममा निरन्तरता दिने व्यवस्था उल्लेख छ ।
आयोगले झापा जिल्लामा यो एक बर्षभित्र झण्डै २० हजार र तीन बर्षको अवधिमा सबै पूर्जा वितरण गरिसक्ने पूर्व कार्ययोजना थियो ।
तर बीचमा भएको राजनीतिक परिवर्तन र निर्वाचनका कारण लक्ष्य अनुसार कार्यप्रगति नभएको भए पनि पछिल्लो समय कामको गति तीब्र छ ।

आयोगले गर्ने भनिएको अधुरो अपुरो काम कस्तो हो ? बुझाइदिनु होस् न ।

अधुरो अपुरो भन्नाले कुनै पनि जग्गाको जग्गाधनीलाई विगतमा बनेका आयोगहरुले पूर्जा दिएर पनि कार्यान्वयनमा आउन नसकेका प्रकृतिका हुन् । त्यस्तो खालको समस्या झण्डै ८ हजार जनाको छ ।
पूर्जा दिइएको तर फिल्डबुक नभएका । फिल्डबुक एउटाको नाममा धनीपूर्जा अर्कैको नाममा भएका । मालपोतमा श्रेस्ता नदेखिएका अथवा मोठ नभएका लगायत अन्य समस्याहरु भएकाहरु हुन् ।
जुन जग्गा बाबुबाजेको पालादेखिनै भोग्दै आएका, अन्यत्र कहिंकतै पुस्तौदेखि जग्गा जमिन नभएका , नदी उकास जमिन भोग गरिरहेका जस्ता यसमा पर्छन । जसका लागि निश्चीत क्षेत्रफलको सीमा पनि तोकिएको छ । यस खाले समस्या भएकालाई अव्यवस्थित बसोबासीको सूचीमा राखेर समाधानको प्रकृया अघि बढाइन्छ ।

झापामा भुमी समस्या लामो समयदेखि हल हुन सकेको छैन । यसको जड कारण चाहिं के रहेछ ? के अब सबैले धनीपूर्जा पाउने वातावरण बन्ला त ?

हो हामी सानो केटाकेटी छँदादेखि जग्गा सम्बन्धिका समस्याहरु सुनिरहेका छौं । भुमि सम्बन्धिका समस्याका प्रकृतिहरु फरक फरक खाले छन् । झट्टै सबै समाधान गरिहाल्न सकिने खालका पनि छैनन ।
त्यो किन त भन्दा यहाँ कानुनी जटिलताहरु छन् । भुमी समस्याको दिर्घकालिन समाधानका लागि बाधक भनेको वन ऐन हो । भुमी ऐनले , हाम्रो आयोगको कार्यविधिलाई मात्रै हेर्ने र त्यसमा टेकेर मात्रै निर्णय लिने हो भने यो समस्याको समाधान टाढा छैन तर वन ऐनमा गएर समस्या गाँठो पर्ने गरेको छ ।
त्यो भनेको कानुनी जटिलता हो ।

अब यहाँँको समस्या शतप्रतिशत समाधान गर्ने हो भने वन ऐन र हाम्रो भुमि समस्या समाधान सम्बन्धिका ऐन कानुनहरु नबाझिने गरि संशोधन गरिनु आवश्यक छ ।
अर्को कुरा अहिले धेरै जग्गाधनीहरु १० बर्षे धनीपूर्जाको कार्यान्वयनमा पनि जटिलता भोग्नु परिरहेको अवस्थामा हुनुहुन्छ । उहाँहरुलाई विगतका आयोगहरुले बर्षौ अघि धनीपूर्जा दिए पनि त्यसको राजश्व तिरेको कुनै प्रमाण राख्नु भएन । उहाँँहरुसँग छैन ।  त्यस्ता जग्गाको धनीपूर्जाको राजश्व तिरेर पनि अहिले उहाँहरुले त्यो बेचविखन गर्ने वा कारोबार गर्न पाउनु हुन्न । यो ठुलो संख्यामा छ । यो निक्कै समस्याको बिषय हो । त्यसबारेमा पनि सरकारले न्यायोचित निर्णय लिनुपर्ने अवस्था छ ।
अर्को महत्वपूर्ण कुरा भुमि समस्याको दीर्घकालिन समाधान खोज्न अब स्थानीय तह (पालिकाहरु)लाईनै शक्तिशाली र अधिकार सम्पन्न बनाइनु पर्छ ।
पालिकाहरु ज्ति सक्रिय भएर अघि बढ्न खोजे त्यति छिटो आयोगको लक्ष्य अनुसार कार्यसम्पादन हुन्छ र समस्याको समाधान निस्कन्छ । त्यसैले भुमि समस्याको ठोस समाधानका लागि पालिकाहरुनै सक्रिय हुनुपर्छ र आयोगले त्यस्ता काममा आवश्यक सहयोग र सहजिकरण गर्छ ।

अनलाईन जुवा खेल्ने खेलाउने १० जना पक्राउ

इटहरी/ धरान उप–महानगरपालिका–१३ बाट अनलाईन जुवा खेल्ने र खेलाउने कार्यमा सलग्न १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
वैशाख १४ गते राती बिशेष सुचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको टोलीले वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान–१३ स्थित रहेको क्याफेमा अनलाईन जुवा खेल्ने र खेलाउने धन्दामा संलग्नहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा धरान– १३ का ४६ बर्षीय हेमन राई, २७ बर्षीय योगेश लिम्बु, २९ बर्षीय मिलन लिम्बु, ३१ बर्षीय शुसान्त घिमिरे, ४२ बर्षीय कुमार तामाङ, ४० बर्षीय विवेक थापा, धरान– १ का ३३ बर्षीय सुजित साह धरान–१६ का ४१ बर्षीय अशोक लिम्बु, धरान– १५ का ३५ बर्षीय भवानी दाहाल र धरान– १७ का ३१ बर्षीय प्रज्वल राई रहेका छन् ।
पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले विभिन्न कम्पनीको १५ थान मोवाईल बरामद गरेको छ । पक्राउ परेका उनीहरुको सट्टेवाजी गर्न नहुने कसुरमा आवश्यक कानूनी कारवाही तथा थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

दमकमा करेन्ट लागेर महिलाको मृत्यु

दमक / दमक ९ अडियामलमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । आज बिहान ९.४५ बजे आफ्नै घरमा नुहाउनका लागि विद्युतीय मोटर अन गर्ने क्रममा करेन्ट लागेर स्थानीय ३८ बर्षकि लीलामाया धिमालको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनलाई करेन्ट लागे लगत्तै निम्स नेशनल हस्पिटल दमकमा उपचारका लागि ल्याइएकोमा उपचारका क्रममा ११.३० बजे चिकित्सकहरुले मृत घोषणा गरेका हुन ।

विद्यालय तहमा नयाँ शैक्षिकसत्र सुरु

काठमाडौँ/ सरकारको निर्णय अनुसार आजदेखि नयाँ शैक्षिकसत्र सुरु भएको छ । सरकारको वैशाख १५ गतेदेखि विद्यालय तहको शैक्षिकसत्र सुरु गर्ने निर्णय गरेको थियो ।

विगतमा वैशाख २ गतेदेखि शैक्षिकसत्र सुरु हुँदै आएकोमा वार्षिक परीक्षा नसकिँदै निजी विद्यालयले भर्ना लिने क्रम रोक्न र इन्धनको असहज आपूर्ति हुने स्थितिमा वैशाख १५ गतेदेखि विद्यालयमा भर्ना सुरु गर्ने निर्णय गरेको थियो । तर कतिपय स्थानीय तहको सहजीकरणमा वैशाख १५ गतेअगावै विद्यार्थी भर्ना भइसकेका छन् ।

सरकारले निजी (संस्थागत) विद्यालयहरुमा लिइँदै आएको कानुनविपरीत भर्ना र अन्य शुल्क फिर्ता गराउन गत चैत २२ गते निर्देशन दिएको थियो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कानुनविपरीत लिइएको भर्ना शुल्क र संस्थागत विद्यालय शुल्क निर्धारण माापदण्ड निर्देशिका, २०७२ द्वारा निर्धारितबाहेक अन्य शुल्कलाई फिर्ता गराउन कानुनी प्रक्रिया अघि बढाउन सम्बन्धित सबै स्थानीय तहहरुलाई अनुरोध गरेको थियो ।

विद्यार्थीको वार्षिक परीक्षाको परीक्षाफल प्रकाशित नभएको र शैक्षिक सत्र सुरु नभएको तथा शिक्षा नियमावली, २०५९ को नियम ७८ (१) (ग) बमोजिम लब्धाङ्कपत्रलगायत आवश्यक सक्कल प्रमाणपत्रसमेत प्राप्त नभएको अवस्थामा विद्यालयहरूले भर्नाको सूचना प्रकाशन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिइएको थियो ।

१९० बर्ष पुरानो ऐतिहासिक सडकमा अध्यक्ष केरुङको सक्रियता, एक अर्ब १० करोड लागतको डीपीआर

चुलाचुली/ इलामको चुलाचुली गाउँपालिकाले बहुप्रतीक्षित मधुमल्ला–साकफारा–चुली सडक निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी बजेट सुनिश्चित गर्न औपचारिक पहल थालेको छ ।
इलामको साकफारा–दारेगौंडा–फुङनाम–चुली हुँदै मोरङको मधुमल्ला, उर्लाबारी र दमकसम्म जोड्ने महत्वपूर्ण सडक योजनालाई संघीय सरकारको उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गर्नुपर्ने भन्दै ध्यानाकर्षण गराइएको छ ।
चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले पालिकाको तर्फबाट करिब १ अर्ब १० करोड रुपैयाँ लागत अनुमानसहितको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) सहितको माग पत्र प्रतिनिधिसभा सदस्य यज्ञमणी न्यौपानेलाई बुझाएका हुन् ।
सरकारको बहुवर्षीय परियोजनामा उक्त परियोजनालाई समेटनु पर्ने ति क्षेत्रका नागरिकहरुको माग रहेको अध्यक्ष केरुङले उल्लेख गरेका छन् ।
न्यौपाने मोरङको निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट निर्वाचित सांसद हुन् । सो सडकले छुने मधुमल्ला– उर्लाबारी क्षेत्र मोरङ १ मा पर्छ । सो सडकले पाँचथरको रवि सम्म जोड्नेछ ।
अध्यक्ष केरुङका अनुसार करिब १९० वर्षदेखि प्रयोगमा रहेको ऐतिहासिक सो मार्गलाई आधुनिक सडकमा स्तरोन्नोति गर्न सके पहाड–तराई आवागमन सहज हुनुका साथै दैनिक जनजीवन र व्यापारिक गतिविधिमा ठूलो सहजता आउनेछ ।
डीपीआर हस्तान्तरणमा अध्यक्ष केरुङसँगै सो सडक उपभोक्ता समितिका अध्यक्ष दीपक श्रेष्ठ लगायत अन्य पदाधिकारीहरु समेतको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य न्यौपानेले सो परियोजनालाई बहुवर्षीय योजनामा समेटेर बजेट सुनिश्चित गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन् । यसैगरी कोशी प्रदेश सभा सदस्य रञ्जना श्रेष्ठलाई समेत सो क्षेत्रका विभिन्न समेटिएको छुट्टै योजना फाइल बुझाइएको अध्यक्ष केरुङले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष केरुङले विगतमा प्रस्तुत गरिएका अधिकांश योजनामा बजेट सुनिश्चित गर्न सफल भएको दाबी गर्दै यसपटक पनि सोही ढंगले काम अघि बढ्ने विश्वास व्यक्त गरे । ‘यो सडक केवल पूर्वाधार होइन, पहाड र तराई जोड्ने जीवनरेखा हो । बहुवर्षीय बजेटमार्फत यसलाई कार्यान्वयनमा ल्याउनेमा हामी विश्वस्त छौँ,’ उनले भने ।

गत वर्षको बजेट विनियोजनमा इलाम क्षेत्र नं. २ का संघीय सांसद सुहाङ नेम्बाङ तथा कोशी प्रदेशका अर्थमन्त्री रामबहादुर मगर रानासँगको सहकार्यमा चुलाचुलीका विभिन्न साना–ठूला योजनामा बजेट पार्न सफल भएको उदाहरण दिँदै अध्यक्ष केरुङले विकासका कामलाई निरन्तरता दिँदै नागरिकको सेवानै आफ्नो मुख्य लक्ष्य भएको बताएका छन् ।
स्थानीय युवाहरूले समेत उक्त पहलप्रति सकारात्मक प्रतिक्रिया दिएका छन् । स्थानीय युवा मिलन राईले भने, ‘अध्यक्ष केरुङले अघि सारेको योजना हाम्रो लागि निकै महत्वपूर्ण छ, हामी उहाँको कामप्रति धन्यवाद व्यक्त गर्छाैँ ।’
स्थानीयवासीहरूका अनुसार सडक निर्माण सम्पन्न भएमा क्षेत्रीय आर्थिक गतिविधि, कृषि उत्पादनको बजार पहुँच, तथा स्वास्थ्य–शिक्षा सेवामा पहुँच उल्लेख्य रूपमा सुधार हुने अपेक्षा गरिएको छ ।
अब संघीय र प्रदेश सरकारबाट बजेट विनियोजन भएपछि परियोजना कार्यान्वयनतर्फ अघि बढिने केरुङको भनाई छ ।

अक्सफोर्ड र लावण्य इन्टरनेशनलबीच शैक्षिक सहकार्य

दमक/  झापाको दमक ३ ढुकुरपानीमा सञ्चालित अक्सफोर्ड इङ्लिस स्कुल र लावण्य इन्टरनेशनलबीच शैक्षिक गुणस्तर बिकासका लागि महत्वपूर्ण साझेदारी पत्रमा हस्ताक्षर भएको छ ।

शैक्षिक क्षेत्रमा गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यका साथ अक्सफोर्ड इङ्लिस स्कुल र लावण्य इन्टरनेशनलबीच एक महत्वपूर्ण सहकार्यको औपचारिक सुरुवात भएको छ ।
गत वैशाख १० गतेदेखि लागू हुने गरी दुई संस्थाबीच औपचारिक सम्झौता भएको अक्सफोर्ड इङलिस् स्कूलका प्रिन्सीपल गंगादेव चौधरीले जानकारी दिए ।

यस किसिमको साझेदारीले विशेष गरी शिक्षकहरूको क्षमता विकास र विद्यार्थीहरूको सिकाइ अनुभवलाई आधुनिक बनाउन योगदान दिने अक्सफोर्डले जनाएको छ ।
सम्झौता अनुसार शिक्षकहरूलाई आधुनिक शिक्षण विधि र प्रविधिसँग परिचित गराउन नियमित तालिम तथा कार्यशालाहरू सञ्चालन गरिने, शैक्षिक परामर्श सेवामार्फत विद्यालयको समग्र व्यवस्थापकीय र प्राज्ञिक पक्षलाई थप सुदृढ बनाइने, प्रारम्भिक बाल शिक्षामा बालबालिकाको जग बलियो बनाउन विशेष बाल–मैत्री सहयोग कार्यक्रमहरू सञ्चालन गरिनेछ ।

त्यस्तै अभिभावक सचेतना कार्यक्रममार्फत विद्यार्थीहरूको चौतर्फी विकासका लागि त्रिपक्षीय (शिक्षक–विद्यार्थी–अभिभावक) सम्बन्धलाई बलियो बनाइनेछ ।
घोषणा कार्यक्रममा बोल्दै दुवै संस्थाका प्रतिनिधिहरूले यस्तो सहकार्यले शिक्षा क्षेत्रमा नयाँ उर्जा थप्ने विश्वास व्यक्त गरेका छन् । हामीसँगै मिलेर शिक्षकहरूलाई सशक्त बनाउने, सिकाइ अनुभवलाई समृद्ध बनाउने र उज्ज्वल भविष्यका लागि सक्षम पुस्ता तयार गर्ने लक्ष्य राख्दछौं– सम्झौतापछि ति संस्थाहरुले संयुक्त विज्ञप्तिमार्फत भनेका छन् । यो सहकार्यले आगामी दिनमा विद्यालयको शैक्षिक गुणस्तरलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन र विद्यार्थीहरूलाई व्यवहारिक शिक्षा प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको अक्सफोर्डका प्रिन्सीपल चौधरीको भनाई छ ।

 

 

एपिएफ चन्द्रगढी महिला गोल्डकपको विजेता

भद्रपुर/ झापाको भद्रपुरमा आयोजित ओम साई पथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकपको उपाधि सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबले हात पारेको छ । अर्काे विभागीय क्लब त्रिभुवन आर्मी फुटबल क्लबलाई १–० गोल अन्तरले हराउँदै सशस्त्रले उपाधि हात पारेको हो ।
उपाधिसँगै एपिएफले नगद ११ लाख, मेडल, ट्रफी तथा प्रमाणपत्र पाएको छ । आर्मीले ५ लाख रुपैयाँमा चित्त बुझाएको छ । सशस्त्रलाई उपाधि दिलाउन एक मात्र गोल रश्मिकुमारी घिसिङले गरिन् । खेलको ७२ औँ मिनेटमा कप्तान अनिता बस्नेतले डिबक्समा मिलाइदिएको पासलाई अनमार्क रहेकी घिसिङले हेडमार्फत सुन्दर गोल गरिन् ।
खेलको अधिकांश समय बल पोजिसन राखेको एपिएफले निर्धारित ९० मिनेटमा गोल गर्ने थुप्रै अवसर बनाए पनि थप स्कोर भने निकाल्न सकेन । एपिएफका डिफेन्ससामु आर्मीका स्ट्राइकर चल्न नसक्दा उपविजेतामा सीमित रहेको छ ।
खेलको प्लेयर अफ द म्याच विजेता टिम एपिएफकी सरु लिम्बु भइन् । उनले नगद ११ हजार रुपैयाँ पुरस्कार पाइन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी विजेता टिम एपिएफकी रेनुका नगरकोटी भइन् । उनले नगद एक लाख एक हजार रुपैयाँ पुरस्कार पाइन् । उत्कृष्ट गोलकिपर एपिएफकी अञ्जना राना मगर, डिफेन्डर गीता राना एपिएफ, मिडफिल्डर दिपा शाही आर्मी, उच्च गोलकर्ता रश्मिकुमारी घिसिङ एपिएफ, राइजिङ प्लेयर सबनम राई आयोजक चन्द्रगढी युथ क्लब भए । उनीहरुले जनही नगद २५ हजार रुपैयाँ पुरस्कार पाए ।
बैशाख ५ गतेदेखि सुरु भएको प्रतियोगितामा त्रिभुवन आर्मी फुबटल क्लब, आरएस पोखरा फुटबल क्लब, भुटानको थिम्पु सिटी क्लब, चर्च ब्वाइज युनाइटेड, नेपाल पुलिस फुटबल क्लब, आयोजक चन्द्रगढी युवा क्लब, भारतको रानी लक्ष्मीबाई स्पोर्टस एकेडेमी, सशस्त्र प्रहरीको एपिएफ क्लब, संकटा फुटबल क्लब र ओखलढुंगाको पदमा स्पोर्टस् क्लबको सहभागिता रहेको थियो ।
विजेता तथा उपविजेतालाई प्रमुख अतिथि मुख्य प्रायोजक ओम साई पाथिभरा हस्पिटलका अध्यक्ष दिपककुमार पोखरेल, भद्रपुर नगरप्रमुख गणेश पोखरेल, अर्जुनधारा नगरप्रमुख बलदेव गोम्देन, भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाल, आयोजक चन्द्रगढी युथ क्लबका अध्यक्ष रोहित सुब्बालगायतले पुरस्कार वितरण गरेका थिए ।

बालेन सरकारको बिकास मोडल : पहिला बिसंगतीमाथी ‘डोजर’

पहिला भत्काउने अर्थात डोजर लगाउने अनि बनाउने बालेन्द्र शाहको विकास मोडल झै देखिन्छ । जव उनी राजनीतिमा पर्दापण गर्दैगर्दा स्वतन्त्र रुपमा काठमाण्डौ महानगरपाललिकाको मेयरमा निर्वाचित भए, शपथ खाएकै दिनदेखि उनले हडपिएका सार्वजनिक जग्गा फिर्ता ल्याउन डोजर लिएर आफै मैदानमा निस्किए । सडक, चौक तथा विभिन्न क्षेत्रमा हडपिएका कयौं सार्वजनिक जग्गामा बनाइएका संरचनाहरुमा उनले मेयर हुँदा डोजर चलाएर भत्काए । र, ती ठाउँहरुमा सार्वजनिक चौतारा वा विसौनी, पार्क वा सडक खुल्ला बनाउने काम गरे । वास्तम्बमा त्यहि भत्काएर बनाउने बालेन मोडल मान्छेले रुचाएपछि उनी जनविश्वासका साथ अहिले प्रधानमन्त्रीसम्म बनेका छन् ।

तिनै बालेन्द्र शाह प्रधानमन्त्री भएको एक महिना पुग्दै गर्दा फेरी डोजर लिएर सार्वजनिक जग्गा सकारको महाताहामा ल्याउन कस्किएका छन । मेयर हुँदा अधुरा रहेका राजधानीका विभिन्न ३ ठाउँका घना सुकुम्बासी बस्तीमा शनिवार उनले डोजर चलाइ छाडे । यसपटक उनलाई सुकुम्बासीले नै साथ दिएपछि कयौं सरकारहरुले चाहेर वा नचाहेर गर्न नसकेको काम फत्ते गरे । पुर्ब सुचना दिइकन उनले सुकुम्बासी बस्तीमा डोजर चलाए । त्यहाँ रहेका परिवारहरुलाई खानेबस्ने ब्यवस्था सहित वास्तविक सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने प्रतिबद्धता समेत दोहा्रर्याएका छन् । वास्तम्बमा सुकुम्बासीका नाममा हुकुमबासी खेद्ने र वास्तविक सुकुम्बासीको लगत संकलन गरेर उनीहरुलाई ब्यवस्थीत घरजमका लागि सघाउने सरकारको कदम सहि छ ।

सुकुम्बासी एरियामा मात्र होइन बालेन सरकार बनेयता विकृति र विसंगतीका धेरै ठाउँहरुमा डोजर चलाइएको छ । स्वतन्त्र वुद्धिजिवीहरुले सरकारले एकैचोटी विकृतिका धेरै अण्डाहरुमा प्रहार गर्यो । एकैचोटी भन्दा पनि क्रमश गर्नुपर्थ्यो भन्ने भना्‌इहरु छन् । तर सरकारले विसंगतीहरुमाथी चलाएको डोजर पुराना दलहरुको छातिमै बम प्रहार गरे बराबर भएकोे छ । उनीहरुले खुलेर विरोध गर्न सकेका छैनन् । सर्पोट त गर्ने कुरा नै भएन । जस्तो कि सरकारले सार्वजनिक रुपमा प्रश्नहरु उठेपछि र बाहिर आएका तथ्यहरुले आशंका उब्जिएपछि आफनै दुईमन्त्री माथी डोजर चलायो । त्यो पनि एउटा उदाहरणीय काम हो । विगतका सरकारहरु हत्तपत्त त्यसनिम्ती तयार हुन्थेनन् ।

तथ्य सहित प्रश्नहरु उठेपछि पदमा बसिरहनु हुदैन र बसिराख्न पनि हुदैन । त्यहाँ सत्यतथ्यको जाँच आवश्यक हुन्छ । फलत उद्योग मन्त्री दिपक शाह र गृहमन्त्री सुधन गुरुङ्गलाई सरकारले राजनीनामा गरायो ।

सबैभन्दा महत्वपुर्ण त सरकारले यसबीच ०६३ यताका उच्चपदस्थहरुको सम्पति छानबीन गर्न छुट्टै आयोग बनाएको छ । यो आयोगले कति काम गर्न सक्ला वा नसक्ला त्यो बेग्लै कुरा भयो । तर आयोग आफनो उदेश्यमा सफल भएमा देश र जनताको पसिनाको कर माथी भष्ट्राचारको आतंक मच्चाउनेहरुको मुटुमा डोजर लाग्नेछ । र, राज्यको घुमाइफिराँइ लुटिएका धन सरकार माताहात आउने वातावरण वन्नेछ ।

ऋर्को सरकारले नापी, मालपोत तथा सवारी लाइसेन्स वितरण कार्यालयहरुमा रहेका विचौलिया तथा कमिशनखोरहरुमाथी डोजर चलायो । स–साना कामहरुमा पनि घुश र कमिशन मागेर सेवाग्राही हैरान बनाउने अड्डाका कयौं त्यस्ता मानिसहरुलाई सरकारले गिरफतार समेत गर्यो । यसबीच भ्रष्टहरुका ठुला फाइलहरु पनि खोल्न थालिएका छन् । जस्तो कि दिपक भटट, सुलभ अग्रवाल लगायतका विचौलियाहरुको साम्राज्यमाथी यसबीच सरकारले डोजर चलाइएको छ । ति विचौलियाहरुसँग मिलेर वित्तिय क्षेत्रमा कयौं अपराध गर्ने व्यापारिहरु समेत समातिएका छन् । त्यो बडो राम्रो कदम हो ।

एकाथरी मानिसहरु रातदिन पसिना बगाएर दुई छाक टार्न सकेका छैनन् । अर्काथरीहरुको पैसाको थुप्रोमाथी थप थुप्रो लगाउन खुल्लमखुल्ला निमुखा जनतामाथी अपराध गरिरहेका छन् । ति जतिसुकै ठुला ब्यापारी हुन् । तीनिहरु कार्वाहीमा आउनै पर्छ । कानुन भनेको सानो वा ठुलो सबैलाई लाग्नु पर्छ । फेरि वित्तिय क्षेत्रका अपराधमाथी डोजर नचलाउने हो भने सम्पति शुद्धिकरणमा ग्रे लिष्टमा परेको हाम्रो देश कालोसुचीमा पर्न बेर छैन । यदी कालोधनको अपराधलाई सफा गरेर त्यसलाई करको दायरामा ल्याइएन भने हामी निश्चित रुपमा अपराधबाट आर्जित सम्पत्ति व्यवस्थापन (सम्पत्ति शुद्धीकरण)वारे विश्व्यापी अनुगमन गर्ने फाइनान्सियल एक्सन टास्क फोर्सको कालोसुचीमा पर्ने छौ । त्यसरी कालोसुचीमा परियो भने नेपालीले विदेश जान भिषा सकेत नपाउन सक्छन् । नेपालमा विदेशी लगानीहरु आउँदैनन् । नेपालमाथी आर्थिक नाकाबन्दी नै लाग्न सक्छ । नेपाली मुद्राको कुनै भ्यालु नहुन सक्छ । त्यसकारण बालेन सरकारले थालेको शुद्धिकरण अभियान बहुत सही छ । तर त्यसलाई निष्कर्षमा पुर्याउनु पर्छ । त्यसक्रममा कुनैपनि निर्दोश मानिसहरुमाथी भने अन्याय हुनुहुदैन । राज्यले पहिले धरपकड गर्ने, उसको मान प्रतिष्ठा मिट्टीमा मिलाउने अनि प्रमाण नपुगेर छोड्ने अवस्था आउनु हुदैन । अर्थात राज्यले दोषि उपर कार्वाही गर्नु भन्दा पनि निर्दोषहरुमाथी हुने धरपक्कट घनघोर अन्याय हुन जान्छ ।

जस्तो ६३ लाख भन्दा बढी मानिस आबद्ध शेयर बजारमा दर्जन बढी विचौलियाहरुको साम्राज्य चलिरहेको रहेछ । त्यहाँ बालेन सरकारले डोजर चलाएर ठीक गरेको हो । किनकी सेयर बजारमा धेरै त्यस्ता मानिसहरु छन् जसले खाइनखाइ गरेर कमाएको पैसा थोपा थोपा गरी लगानी गरेका छन् । ति सोझा सिधा लगानीकर्ताहरुमाथी अन्याय गर्ने विचौलियाहरुमाथी कार्वाही जरुरी थियो । फलस्वप विभिन्न कम्पनीहरु मार्फत विभिन्न तिकडम अपनाएर शेयर बजारका सोझा सिधा लगानीकर्ताहरुलाई लुट्न पल्केकाहरु माथी सरकारले डोजर चलाएको छ । तिनीहरु माथी सघन अनुसन्धान गरेर सत्यतथ्य पत्ता लगाइ ठगीएका लगानीकर्ताहरु लाभग्राही हुने स्थीति बन्नुपर्छ । त्यसकारण शेयर बजारका विचौलियाहरु माथी बालेन सरकारले डोजर चलाउँदा आम लगानीकर्ताहरु आत्तिन पर्दैन । किनकी देशमा सबै मानिसहरु चोरैचोर, फटाहा नै फटाहा मात्र छैनन् । शेयर बजारमा यस्ता फटाहाहरु धेरै पनि नहोलान् । त्यसकारण बालेन सरकारको सफाई र शुद्धिकरण अभियानले बजारको आत्मबल बढ्नु पर्छ । किनकी बजारको शुद्धिकरण उज्वल भविष्यको संकेत हो । किनकी रवी बार फेरी पनि आउँछ । अहिले थोरै घज्चामच्चा भएपनि सुकिलो भएर सगरमाथाको उचाइ भर्ने शेयर बजारको दिन पक्कैै आउँछ । चाँडै नै आउँछ ।

त्यसैगरी सरकारले ठुलठुला ठेक्का विभिन्न अनधिकृत काइदा अपनाएर हत्याउने अनि कामै नगर्ने ठेकेदारहरुमाथी पनि डोजर चलाउन थालेको छ । शुक्रबार ठुला ठेकेदार तथा राप्रपाका नेता बन्दी पाण्डेलाई यस्तै आरोपमा पक्राउ गरेको छ । त्यसक्षेत्रमा पनि डोजर चलाएर सरकारले शुद्धिकरण थालेको छ । सरकारले नीजि स्कुल तथा कलेजहरुको हकमा पनि विभिन्न नयाँ नियम लगाएको छ । गरिव जनताको ढाड सेक्ने हिसावले फि लिने, घुमाएर फिराएर लिनेहरुमाथी पनि डोजर लगाउन आवश्यक छ ।

अहिलेसम्मको काम कार्वाही हेर्दा सरकार ठीक दिशामा छ । केही अपवाद जस्तो विधार्थी संगठन खारेज गर्ने, सरकारी विज्ञापन नीजि क्षेत्रलाई नदिने जस्ता सरकारी निर्णय अलोकतान्त्रिक छ । जुन राज्यले ०४८ सालदेखि अबलम्बन गर्दै आएको खुल्ला बजार अर्थतन्त्रको विरुद्धमा छ । र, रास्वपाको आफनै वाचापत्रको खिलापमा पनि छ । किनकी लोकतान्त्रिक परिपाटी र संविधान भएको देशमा निषेध गर्न खोजिनु गलत कदम हो । सायद सरकारले त्यसमा सही कदम लिन्छ होला । विज्ञापन क्षेत्रको भष्ट्राचार र अनियमितता नियमन गर्नेगरी बन्देजकोे आफनो निर्णय फिर्ता गर्नुपर्छ । संविधान प्रदत्त लोकतान्त्रिक अधिकारलाई कुन्ठीत गर्ने अधिकार सरकारलाई पनि छैन । किनकी अहिलेको लोकतन्त्र वा गणतन्त्र ल्याउन धेरैले रगत, पसिना बगाएका छन् । त्यसकारण विधार्थी संगठनहरुका विसंगतीहरुमाथी, विज्ञापन क्षेत्रको विचौलियाहरुमाथी डोजर चलाइयोस् तर त्यसक्षेत्रलाई बन्देज होइन् नियमन सहित खुल्ला गरियोस् । अरु त बालेन सरकारको विसंगती माथीको डोजर अभियान शुद्धिकरणको एउटा सार्थक पहलकदमी नै हो ।

आयोजकले जित्यो बुट्टाबारी गोल्ड कपको उपाधि

 बिर्तामोड /  एनी चौथो बुट्टाबारी गोल्ड कप नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक बुट्टाबारी युनाइटेडले जितेको छ।

शनिबार भएको फाइनल खेलमा धरानको फेयर फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै बुट्टाबारी युनाइटेडले उपाधिमाथि कब्जा जमाउँदै ट्रफी आफ्नै घरमा राख्न सफल भएको हो।

बिर्तामोड–६ स्थित हरियाली खेल मैदानमा सम्पन्न उपाधि भिडन्त निकै प्रतिस्पर्धात्मक बनेको थियो। खेलको पहिलो हाफमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए। दुवै पक्षले केही राम्रा अवसर सिर्जना गरे पनि त्यसलाई गोलमा परिणत गर्न सकेनन्।

दोस्रो हाफमा भने बुट्टाबारीका प्रताप राई नायक बने। उनले खेलको ७६औँ र ८६औँ मिनेटमा लगातार दुई गोल गर्दै टोलीलाई मजबुत अग्रता दिलाए। निर्णायक क्षणमा उत्कृष्ट प्रदर्शन गर्दै उनले बुट्टाबारीलाई उपाधिसम्म पुर्‍याए।

दुई गोलले पछि परेको धरानको फेयर एफसीले खेलमा फर्कने प्रयास गरेको थियो। अतिरिक्त समयमा कृष्ण राईले एक गोल फर्काउँदै गोलअन्तर घटाए पनि जितका लागि आवश्यक थप गोल गर्न नसक्दा फेयर एफसी उपविजेतामै सीमित बन्यो।

विजेता बनेसँगै बुट्टाबारी युनाइटेडले नगद २ लाख २२ हजार २ सय २२ रुपैयाँसहित आकर्षक ट्रफी हात पार्यो। उपविजेता बनेको फेयर फुटबल क्लबले १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी प्राप्त गर्‍यो।

फाइनल खेलको प्लेयर अफ द म्याच बुट्टाबारीका अमित वन घोषित भए। उनले नगद ३ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे। बुट्टाबारीकै सुमित मैनाली उत्कृष्ट गोलकिपर बने। उनले नगद १० हजार रुपैयाँ र ट्रफी हात पारे।

त्यस्तै, बुट्टाबारीका संजय नेपाल राइजिङ प्लेयर घोषित भए। उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे। प्रतियोगिताभर ४ गोल गरेका फेयर एफसीका शुक्रराज तुम्रोकले हाइस्कोरर बन्दै नगद १० हजार रुपैयाँसहित ट्रफि पुरस्कार पाए।

बुट्टाबारी युनाइटेडका रोहित आचार्य प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए। उनले नगद १५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे।

विजेता, उपविजेता तथा विभिन्न विधागत पुरस्कार प्राप्त गर्ने खेलाडीलाई आयोजक समितिका अध्यक्ष प्रविन राई, फाइनल खेलका प्रमुख अतिथि बिर्तामोड–६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वा, टाइटल स्पोन्सर एनीका सञ्चालक सन्तोष थोप्रा, हरियाली सामुदायिक वनका अध्यक्ष जगतकुमार राईलगायतले पुरस्कार वितरण गरेका थिए।