पाहुनालाई बास दिने संस्कारले होमस्टे व्यवसायी बनेका धनबहादुर आले

लामको सुर्याेदय नगरपालिका–५ (साविकको समाल्बुङ)मा पर्ने अन्तु डाँडा देश विदेशमा चिनाउनै नपर्ने पर्यटकीय गन्तव्य भइसकेको छ ।
यो ठाउँ केवल सूर्याेदयका लागि मात्र प्रसिद्ध छैन, यहाँको सामुदायिक होमस्टे संस्कृतिले पनि नेपाली ग्रामीण पर्यटनको छुट्टै पहिचान बनाएको छ । यस्तो पहिचान बनाउने मध्येका एक पात्र हुन् स्थानीय धनकुमार आले ।

२०५२ सालतिर, करिब ३० वर्षको उमेरमा आलेले अन्तु डाँडामा पेइङ गेस्ट हाउसको शुरुवात गरेका हुन् ।
त्यो समय आज जस्तो सुविधा सम्पन्न थिएन, तर आत्मीयता र संस्कार साँच्चै गजबको थियो । सूर्योदय हेर्न भन्दा पनि उदाउँदो सूर्यको पूजा अर्चना गर्ने चलन थियो उ बेला ।

आलेका अनुसार त्यतिबेला विशेष साधु–सन्तहरू सूर्यको पूजा गर्न तथा भाकल पूरा गर्न अन्तु डाँडा आउने गर्थे । गाउँमा आउने पाहुनाको मुख्य लक्ष्य भनेकै भोलीपल्ट उदाउँदो सूर्यको पूजा गर्नु हुन्थ्यो । त्यसका लागि लामो दुरीको यात्रा उसै पनि कठिन हुन्थ्यो । यातायातका साधन अहिले जस्तो अन्तु सम्म आउनै सक्दैन थिए । फिक्कल र त्यो भन्दा पनि टाढादेखि २० औं किलोमिटर हिंडेर आएका सूर्यका दर्शनार्थी (पाहुना) लाई बास बस्न र उपयुक्त व्यवस्थापन गर्न दिन सक्ने क्षमता प्रायः अन्तुबासीसँग थिएन ।

जहिलेसुकै (सधैंभरी) पाहुना भन्दैमा सित्तैमा निशुल्क गाँस र बासको व्यवस्था मिलाउन सक्ने आर्थिक ल्याकत हुने कुरा पनि भएन । गाउँमा आएका पाहुना धनकुमार आलेकै निवासमै ओत लाग्न आउने अर्को मुख्य कारण धनकुमारका बुबा वडाध्यक्ष हुनुहुन्थ्यो पञ्चायतकालमानै ।

त्यसैले जो सुकैले आलेको निवासमै नयाँ आउने पाहुनालाई पठाइदिन्थे । त्यो चाप आले परिवारलाई दिनदिनै बढ्दै गयो ।
आलेले पुराना दिन सम्झिँदै भने – लागेको खर्च दिन्छौं भन्ने पाहुना पनि आए त्यो बेला आफैलाई अप्ठ्यारो लाग्दा लाग्दै पनि “पेइङ गेस्ट” का रूपमा स्वीकार्न थालियो । विस्तारै यही चलन बस्यो । थाहै नपाइ हाम्रो घर त होमस्टे (घरबास) पो भएछ । यसले आम्दानीको बाटो पनि खोल्यो ।

पाहुनालाई फूलमालाले स्वागत गर्ने, घरमै भएको साधारण कोठामा बसाउने र आफ्नै बारीमा फलाएको तरकारीबाट खाना खुवाउने परम्परा थियो उ बेला ।
होमस्टेमा साँझ परेपछि मादल र हार्माेनियमको धुनमा पाहुना र स्थानीयबीच घुलमिल हुने वातावरण बन्थ्यो, जसले रात बितेको थाहै हुँदैनथ्यो ।

२०५० सालतिर गाउँमा “साना किसान” कार्यक्रम प्रवेश गरेपछि आर्थिक व्यवहारमा परिवर्तन आयो ।

त्यसभन्दा अघि अलैंची खेतीबाट हुने आम्दानी दादनी प्रथामा आधारित थियो, जहाँ अग्रिम पैसा लिएर उत्पादन बेचिन्थ्यो । तर साना किसानले दिएको आर्थिक तालिमपछि गाउँलेहरूले खर्च नियन्त्रण गर्दै बचत गर्ने बानी विकास गरे । यसले होमस्टे व्यवसायलाई पनि दीगो बनाउन मद्दत पुरयायो ।

त्यतिबेला पूर्वाधारका हिसाबले धेरै चुनौती थिए । पाहुनाका लागि घर बाहिर आँगनको पल्लो छेउमा शौचालय बनाइएको थियो । घरभित्र शौचालय बनाउने कुरामा पाकाहरु सहमत नहुँदा अप्ठ्यारो थियो । तर साना किसान कार्यक्रममार्फत निःशुल्क शौचालय निर्माण भएपछि विस्तारै सोचमा परिवर्तन आयो र आधुनिक सुविधा भित्रिन थाले ।

अन्तु डाँडाको होमस्टेमा विदेशी पाहुनासमेत आकर्षित भएका थिए । आलेका अनुसार एकपटक इजरायलका राजदूतसमेत यहाँ आएका थिए । आज समयसँगै होमस्टे व्यवसाय विस्तार त भएको छ, तर पहिलेको जस्तो आत्मीयता र सांस्कृतिक घनत्व घट्दै गएकोमा आलेलाई चिन्ता छ । “पहिले पाहुना परिवारकै सदस्यझैँ हुन्थे, अहिले व्यापार बढी भयो, आत्मियता र भावनात्मक सम्बन्ध कम,” आले भन्छन्।

ग्रामीण पर्यटन, आत्मनिर्भरता र सामुदायिक सहकार्यको प्रेरणादायी उदाहरणका रुपमा रहेका आले परिवारले देखाएको बाटोले अन्तु डाँडाको पर्यटकीय बिकासमा ठुलो योगदान दिएको छ । अहिले अन्तु डाँडा र आसपासमा सूर्योदय हेर्न आउने, यहाँको प्राकृतिक सौन्दर्यता डाँडा काँडा र हरियाली क्षेत्र, रमित लाग्दा फूल हेर्ने र शान्त वातावरण रोज्ने देश विदेशका पाहुना दैनिक झण्डै ३/४ सयको संख्यामा आउने गर्छन । उनीहरुको आवश्यकता र सुविधालाई मध्यनजर गर्दै यहाँ पछिल्लो समय ५० भन्दा बढी होमस्टे (घरबास) चलेका छन् । त्यो भन्दा धेरै झण्डै ८० वटा पर्यटक लक्षित होटल तथा रिसोर्टहरु यहाँ खुलिसकेका छन् ।  आलेको दाबी छ कि –अन्तुडाँडा सामुदायिक होमस्टेनै नेपालको पहिलो आधिकारिक होमस्टे हो ।
होमस्टे बसाईको आनन्द बेग्लै किसिमको हुँदा हुँदै अस्वस्थ प्रतिस्पर्धाले अहिले होमस्टे व्यवसायमा पनि खोटहरु देखिन थालेकोमा भने धनबहादुर भने चिन्तित छन् ।
धनबहादुर भन्छन– होमस्टे भनेका छन् होटल, रिसोर्ट खुलेका छन् । पर्यटकीयस्थलहरुको बिकास र यहाँको प्रवद्र्धनका लागि वास्तविक रुपकै होमस्टे संस्कृतिलाई पुनः ब्यूँताउनुपर्ने अवस्था रहेको होमस्टे व्यवसायीहरुको भनाई छ ।

 

दमक जेसीजद्वारा अनाथ बाल आश्रममा सहयोग

दमक/  दमक जेसीजको आयोजनामा दमक–९ स्थित अनाथ बाल आश्रममा आश्रित बालबालिकालाई ‘खाना खुवाउने तथा शैक्षिक सामग्री वितरण कार्यक्रम’ सम्पन्न भएको छ ।
दमक जेसीज वर्ष २०२६ का अध्यक्ष राजेन्द्र विमलीको अध्यक्षतामा भएको कार्यक्रममा केशव आचार्यको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा आश्रमकी संचालक समितिकी सचिव दुर्गा काफ्ले विशिष्ट अतिथिका रूपमा थिए । कार्यक्रममा दमक जेसीजका पूर्व अध्यक्षद्धय सन्जिब बराल, रामचन्द्र अधिकारी, निवर्तमान अध्यक्ष सहदेब भट्टराई तथा सिनेटर मैना दाहाल लगायतको उपस्थिती रहेको थियो ।
सो अवसरमा आश्रममा रहेका ३० जनाभन्दा बढी बालबालिकालाई रात्री भोजन गराउनुका साथै कापी, पेन्सिल, इरेजर लगायतका शैक्षिक सामग्री वितरण गरिएको थियो ।
दमक जेसीजका उपाध्यक्ष कुमार गजुरेलको संयोजकत्वमा सम्पन्न कार्यक्रममा कानुनी सल्लाहकार बिशाल अधिकारीले जेसीज आस्था वाचन गरेका थिए ।
कार्यक्रमले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै बालबालिकाको शैक्षिक तथा मानवीय सहयोगमा योगदान दिएको आयोजक दमक जेसीज बर्ष २०२६ का महासचिव रुवल अधिकारीले बताए ।

द एभरेष्ट साकोसको १५ औं बार्षिकोत्सवमा रक्तदान र हाजिरीजवाफ (फोटो फिचरसहित)

दमक/ झापाको दमकमा मुख्य कार्यालय स्थापना गरी मोरङ र झापाका विभिन्न सेवा केन्द्रहरुमार्फत आफ्ना सदस्यहरुमाझ वित्तीय कारोबार गर्दै आएको द एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाले १५ औं बार्षिकोत्सव मनाएको छ ।
संस्थाको मुख्य कार्यालय परिसरमा बुधबार रक्तदानसहित रचनात्मक कार्यक्रमहरु गरेर बार्षिकोत्सव मनाएको हो ।


सो अवसरमा संस्थाका सञ्चालक समिति, उपसमिति, कर्मचारी तथा इच्छुक सर्वसाधारणहरु समेत ५१ जनाले रक्तदान गरेका संस्थाका अध्यक्ष प्रशासन प्रमुख धर्मानन्द भट्टराईले जानकारी दिए ।
संस्थाका अध्यक्ष दिपक खरेलको अध्यक्षता र दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाइँको प्रमुख आतिथ्यमा सञ्चालित बार्षिकोत्सव विशेष कार्यक्रम अन्तर्गत रक्तदानसँगै संस्थाका सेवा केन्द्र अन्तर्गतका कर्मचारीहरुबीच अन्तर सेवा केन्द्रस्तरीय हाजिरीजवाफ कार्यक्रम समेत सञ्चालन गरिएको थियो ।


रक्तदाताहरूलाई संस्थाको लोगो अंकित टी–सर्ट तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
अन्तर कर्मचारी हाजिरिजवाफ प्रतियोगितामा दमक मूल कार्यालय र सुरुङ्गा, बुधबारे, बिर्तामोड तथा उर्लाबारी सेवा केन्द्रका कर्मचारीहरूको सहभागिता थियो ।
दमक कार्यालय पहिलो, सुरुङ्गा सेवा केन्द्र दोश्रो र बुधबारे सेवा केन्द्र तेस्रो भएका छन् ।


हाजिरीजवाफमा पहिलो, दोश्रो र तेस्रो हुने कर्मचारी टोलीले क्रमश नगद ५ हजार, ३ हजार र २ हजार रुपैयाँ नगद पुरस्कार र प्रमाण पत्र प्राप्त गरेका छन् । सहकारीमा कार्यरत कर्मचारीहरुलाई बजार तथा सहकारी क्षेत्रको ज्ञान बढाउने उद्धेश्यले सो कार्यक्रम सञ्चालन गरिएको संस्थाले जनाएको छ ।
सो कार्यक्रममा दमकस्थित राष्ट्रिय सहकारी बैंक दमक शाखा प्रमुख अर्जुन कार्की, सञ्चालक समितिका सचिव ज्ञाननाथ पौडेल, सञ्चालक समितिका कोषाध्यक्ष यामजी श्रेष्ठ, सञ्चालक सदस्य सुवासचन्द्र गर्तौला लगायतको उपस्थिती रहेको थियो ।
संस्थाका अध्यक्ष खरेलले वार्षिकोत्सव कार्यक्रमको औपचारिक समापन गर्दै संस्था बिषय परिस्थितीको सामना गर्दै निरन्तर अघि बढेको स्मरण गरे । उनले आगामी दिनमा थप सशक्त भएर सामाजिक उत्तरदायित्व अन्तर्गका कार्यक्रमहरुलाई पनि अघि बढाइने उनको भनाई छ ।
कार्यक्रमको सञ्चालन संस्थाका व्यवस्थापक एवं कार्यालय प्रमुख युवराज सिग्देलले गरेका थिए ।

 

नेपालमा रामराज्य !

१४ वर्षको वनवासपछि जब भगवान श्री राम अयोध्याको सिंहासनमा आसीन हुनुभयो, त्यतिबेला जनतामाझ माता सीता को पवित्रतामाथि प्रश्न उठ्यो। श्रीरामलाई सत्य थाहा हुँदाहुँदै पनि उहाँले जनमतलाई बेवास्ता गर्नुभएन; बरु अग्नि परीक्षा जस्तो कठोर निर्णय लिनुभयो। किनकी मर्यादा पुरुषोत्तम भगवान् श्री रामले त्यो दिव्य लिला मार्फत सत्यलाई सार्वजनिक रूपमा स्थापित गर्नु र शासनप्रति जनविश्वासलाई अडिग राख्नु राजा वा सरकारको नेतृत्वको मुल धर्म हो भन्ने मान्यता स्थापित गराउनु थियो । जनताको प्रश्न कहिलेकाहीँ अपूर्ण वा गलत पनि हुन सक्छ, तर त्यसलाई दबाउनु वा बेवास्ता गर्नु होइन, निष्पक्ष, पारदर्शी र साहसी ढंगले सम्बोधन गर्नु नै नेतृत्वको मुल धर्म हो, रामराज्यले दिएको प्रमुख सन्देश यही नै हो ।

यहि सनातन मान्यतालाई आत्मसात् गर्दै आज नेपाल सरकारका गृहमन्त्री सुदन गुरुङले आफुमाथि चौतर्फी प्रश्न उठेपछि जनआवाजको सम्मान गर्दै राजिनामा दिए । उनी माथि उठेको प्रश्न सहि या गलत ? त्यो छानबीन पनि सावित हुने नै छ ।
यद्दपि, राजिनामा दिँदादिँदै उनले जनतालाई सम्बोधन गर्दै भनेका छन्, “रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ” ।  गृहमन्त्री गुरुङको राजीनामाको यस प्रसङ्गले केवल एक व्यक्तिको राजनीतिक उत्तरदायित्वको चर्चा मात्र जन्माएको छैन; यसले नेपालको समग्र शासन-संरचना, नैतिक धरातल र नेतृत्वको चरित्रबारे गम्भीर बहस सुरु गराएको छ। सँगसँगै नेपालमा पुन:  रामराज्यको अपरिहार्यता सम्बन्धी वहस र परिचर्चा उत्कर्षमा पुराएको छ ।

नेपालमा रामराज्य किन अनिवार्य छ ?

देवभूमि नेपालमा रामराज्य किन अनिवार्य छ भन्ने प्रश्नको उत्तर हाम्रो इतिहास, संस्कृति र वर्तमान अवस्थालाई एकसाथ हेर्दा स्वतः प्रकट हुन्छ। नेपाल केवल एउटा भौगोलिक राष्ट्र मात्र होइन; यो वेद, ऋषि, तप र आध्यात्मिक चेतनाले सिँचित भूमि   हो । एक यस्तो धरोहर, जहाँ धर्मनीति, सदाचार र कर्तव्य जीवनका आधार स्तम्भका रूपमा स्थापित थिए। तर वर्तमान यथार्थतर्फ दृष्टि पुर्‍याउँदा, यही आधार क्रमशः कमजोर हुँदै गएको देखिन्छ।

दशकौँ देखि राजनीतिक तहमा सत्ता केन्द्रित सोच, सिद्धान्तहीन गठबन्धन, पदका लागि मूल्य र आदर्शको त्याग, र जनताभन्दा दलगत स्वार्थलाई प्राथमिकता दिने प्रवृत्तिले नेपाली राजनीति आफ्नो मूल उद्देश्यबाट विचलित भएको छ। प्रशासनिक संरचनामा भ्रष्टाचार र अनियमितता क्रमशः संस्थागत बन्दै गएका छन् । निर्णय प्रक्रियामा पारदर्शिता कमजोर भएको छ, र उत्तरदायित्वबोध घट्दै गएको छ। सामाजिक स्तरमा नैतिक मूल्यहरूको ह्रास, परिवार र समुदायमा अनुशासनको कमी, तथा भौतिकतावादको बढ्दो प्रभावले मानिसलाई आफ्नो आध्यात्मिक आधारबाट टाढा लैजाँदैछ। त्यस्तै, सांस्कृतिक क्षेत्रमा आफ्नै मौलिक परम्परा र पहिचानप्रति उपेक्षा, विदेशी जीवनशैलीको अन्धानुकरण, र संस्कारभन्दा प्रदर्शनमुखी प्रवृत्तिको वर्चस्वले हाम्रो मौलिकता संकटमा परेको छ।

यी सबै समस्याहरूलाई अलग-अलग रूपमा हेर्दा विविध देखिए पनि, गहिराइमा जाँदा तिनको जरो एउटै देखिन्छ । धर्मनीतिको अभाव ! जब शासन, समाज र व्यक्तिको जीवनबाट धर्म अर्थात् कर्तव्य, सत्य र नैतिकता हट्दै जान्छ, तब असन्तुलन, अन्याय र अविश्वास स्वाभाविक रूपमा बढ्न थाल्छ।

यस्तो अवस्थामा समाधान खोज्ने क्रममा विदेशी नीति, विदेशी रणनीति र विदेशी राज्य सञ्चालन प्रणालीतर्फ हेर्ने प्रवृत्ति देखिन्छ । तर गम्भीर प्रश्न उठ्छ, के ती मोडेलहरू नेपालको माटो, संस्कृति, इतिहास र चेतनासँग पूर्ण रूपमा मेल खान्छन्?  विगतमा विभिन्न राजनितिक दलहरुले राष्ट्रको माटो सुहाउँदो निती त्यागेर आयातित सिद्वान्त र वादलाई अवलम्बन गरेकै कारण आज नेपालको अधिकांश क्षेत्रमा अस्वभाविक विचलन आएको हो , जसको परिणाम स्वरुप देखा परेको दुराबस्था जगजायर नै छ ।

कहिलेकाँही बाह्य देशका सकारात्मक प्रणालीहरू, नितिहरु उपयोगी हुन सक्छन्, तर मूल आधार आफ्नै हुनुपर्छ । त्यसैले नेपालको दीर्घकालीन, दिगो र मौलिक समाधान वैदिक सनातन धर्म सापेक्ष “रामराज्य” को अवधारणामा निहित छ।

रामराज्य भन्नाले कुनै संकुचित धार्मिक राज्य होइन; यो धर्मनीतिमा आधारित आदर्श शासन व्यवस्था हो । जहाँ धर्मको अर्थ सम्प्रदाय होइन, कर्तव्य, सत्य र न्याय हो। यस्तो व्यवस्थामा राज्यका प्रत्येक निर्णय नैतिक आधारमा लिइन्छन्। नेतृत्वले शक्ति प्रदर्शन होइन, सेवा भावलाई प्राथमिकता दिन्छ। जनताको प्रश्नलाई दमन गर्ने होइन, सम्मानपूर्वक सुन्ने र निष्पक्ष रूपमा सम्बोधन गर्ने संस्कार विकसित हुन्छ।

रामराज्यमा कानून सबैका लागि समान हुन्छ; कुनै पनि वर्ग, जात वा समुदायप्रति पक्षपात हुँदैन। राज्य सञ्चालन गर्ने व्यक्तिहरूको व्यक्तिगत जीवन नै आदर्श र अनुकरणीय हुन्छ, किनकि चरित्रहीन नेतृत्वबाट सुशासन सम्भव हुँदैन। पारदर्शिता र उत्तरदायित्व यस्तो प्रणालीको अनिवार्य अंग हुन्छ, जहाँ प्रत्येक निर्णय र कार्यप्रति स्पष्ट जवाफदेहिता हुन्छ। साथै, विकासलाई केवल भौतिक पूर्वाधारमा सीमित नगरी मानवीय चेतना, नैतिकता र आध्यात्मिक उन्नतिसँग जोडिन्छ, जसले समग्र सन्तुलित विकास सुनिश्चित गर्छ।

वर्तमान सन्दर्भमा हेर्दा, नेपाल सरकार र सम्पूर्ण नेतृत्व तहले गम्भीर आत्ममूल्यांकन गर्नु अपरिहार्य भइसकेको छ। जनताको विश्वास क्रमशः कमजोर हुँदै जानु, विरोध र असन्तुष्टि बढ्दै जानु यी सबै संकेत हुन् कि शासन प्रणालीमा गहिरो सुधार आवश्यक छ। गृहमन्त्री सुदन गुरुङ को राजीनामाको प्रसङ्गले पनि यही सन्देश दिन्छ कि नैतिक साहस र उत्तरदायित्व बिना नेतृत्व पूर्ण हुँदैन। पदमा बसिरहनु मात्र सफलता होइन; आवश्यक पर्दा सत्य र नैतिकताको पक्षमा उभिनु नै साँचो नेतृत्व हो।

यदि भगवान श्री राम ले जस्तै जनमतलाई सम्मान गर्ने, प्रश्नलाई पारदर्शी रूपमा सम्बोधन गर्ने र जनविश्वासलाई सर्वोपरि राख्ने संस्कार आजको नेतृत्वमा विकास हुन सकेमा, आजका विवादहरू समाधानमा रूपान्तरण हुन सक्छन्, शासनप्रति विश्वास पुनःस्थापित हुन सक्छ, र राष्ट्र सही दिशामा अघि बढ्न सक्छ।

अन्ततः, रामराज्य कुनै काल्पनिक वा केवल आदर्शवादी अवधारणा होइन; यो व्यवहारमा उतार्न सकिने, समयसापेक्ष र अत्यावश्यक शासनदर्शन हो। नेपालजस्तो ऐतिहासिक, आध्यात्मिक र सांस्कृतिक गहिराइ भएको राष्ट्रका लागि यो विकल्प होइन, अनिवार्य मार्ग हो। जबसम्म नेतृत्वमा सत्य र त्यागको भावना विकसित हुँदैन, नीतिमा धर्म र न्याय स्थापित हुँदैन, र समाजमा नैतिकता पुनर्जीवित हुँदैन, तबसम्म समस्याहरूको स्थायी समाधान सम्भव हुँदैन।

तर यदि नेपालले आफ्नै मौलिकता, वैदिक चेतना र धर्मनीतिमा आधारित मार्गलाई आत्मसात् गर्न सक्यो भने, यो केवल राष्ट्रिय पुनर्जागरणको सुरुवात मात्र हुनेछैन; यसले विश्वलाई पनि एक सन्तुलित, नैतिक र मानवकेन्द्रित शासन प्रणालीको मार्गदर्शन दिन सक्छ। र, आदर्श शासन प्रणाली भएको राष्ट्रका हैसियतले नेपाल विश्वकै मार्गनिर्देशन गर्ने देशका रुपमा स्थापित   हुनसक्छ ।

तसर्थ, रामराज्यलाई केवल धार्मिक सिद्धान्त वा रूढिवादी परम्पराको रूपमा सीमित नगरी, आदर्श राज्य सञ्चालनका लागि अनिवार्य मार्गदर्शक सिद्धान्तका रूपमा आत्मसात् गर्नु नै नेपालका लागि दीर्घकालीन रूपमा लाभदायक हुनेछ।
जय नेपाल।

तोडफोडमा संलग्नको पहिचान खुल्दै, दमक चोकमा हातपात गर्ने व्यक्ति मानसिक अस्वस्थ

दमक/  झापाको दमक ३ स्थित वडा कार्यालयमा तोडफोड र आसपास क्षेत्रमा भएको चोरीको घटनामा अनुसन्धान तिब्र बनाएको प्रहरी घटनाका संदिग्धहरुको पहिचान नजिक पुगेको छ ।

घटनास्थल र वरपर भेटिएका केहि प्रमाणहरुका आधारमा प्रहरी सो घटनाको अनुसन्धान नजिक पुगेको इलका प्रहरी कार्यालय दमकका इञ्चार्ज डीएसपी किशोर लम्सालले जानकारी दिए । उनले भने– घटनाको अनुसन्धान भइरहेको छ ।

लम्सालले भने – केही बिषयका प्राविधिक टिमहरुको समेत सहयोग र समन्वयमा संलग्नहरुको पहिचान गर्ने काम हुँदैछ । विस्तृत कुरा छिट्टै बाहिर आउँछ ।

यसैबीच दमक चोकमा आज बुधबार बिहान भएको हातपातको घटनामा संलग्न व्यक्ति मानसिक सन्तुलन ठिक नभएको पाइएको पनि डीएसपी लम्सालले बताए । त्यहाँ एक व्यक्तिमाथि हातपात भएको भन्ने सूचना पाएर पुगेका प्रहरीमाथिनै अन्धाधुन्दा हातपात गर्ने ति व्यक्तिको व्यवहार र शैली हेर्दा मानसिक सन्तुलन ठिक नभएको जस्तो देखिएको लम्सालको भनाई छ ।

शुभमंगल सहकारीको बार्षिकोत्सवमा १७ जना ज्येष्ठहरुलाई सम्मान

दमक/ दमक ९ चियादोकान चोकमा कार्यालय स्थापना गरी सञ्चालन हुँदै आएको शुभमंगल बचत तथा ऋण सहकारी संस्थाले आज बुधबार १७ औं बार्षिकोत्सवको अवसरमा ज्येष्ठहरुलाई सम्मान गरेको छ ।
संस्थाको कार्यालय परिसरमा सामाजिक व्यक्तित्व दमक बहुमुखी क्याम्पस सञ्चालक समितिका पूर्व अध्यक्ष देवीप्रसाद दाहालको प्रमुख आतिथ्य र संस्थाका अध्यक्ष उमाकान्त आचार्यको अध्यक्षतामा औपचारिक कार्यक्रमबीच संस्थापक सदस्य उषा प्रधान हाडा र १७ जना ज्येष्ठ आमाबुबाहरुलाई सम्मान गरिएको संस्थाका व्यवस्थापक दिलीप घिमिरेले जानकारी दिए ।

संस्थाले हकंबहादुर कुँवर, जीवनाथ दाहाल, यामबहादुर अधिकारीसहित ज्येष्ठहरुलाई टेक्ने लौरोसहित खादा ओढाएर सम्मान गरेको हो । केक काटेर संस्थाको बार्षिकोत्सवमा प्रसाद स्वरुप वितरण गरिएको थियो । सो अवसरमा संस्थाका अध्यक्ष आचार्यले हरेक बर्ष संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कामहरुमा सक्रिय सहभागितासहित योगदान गर्दै आएको स्मरण गराए ।
उनले संस्थाले झण्डै ७ करोड बढीको कारोबार गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा अझै धेरै सदस्यहरुको सेवा केन्द्रित कार्यक्रमहरु अघि सार्ने प्रतिबद्धता दोहोरयाए ।

कार्यक्रमका वक्ताहरुले सानो सानो पुँजीलाई एकीकृत गर्दै वित्तीय क्षेत्रमा सदस्यहरुमा पहुँच स्थापित गर्न सहकारीका माध्यमबाट ठुलो सहयोग पुगेको भन्दै बैंकहरुमा भन्दा सहकारीमा कारोबार केन्द्रित गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा दमक ९ का पूर्व वडाध्यक्ष रामबहादुर धिमाल, चेतनशील टोल बिकास संस्थाका अध्यक्ष तिलक डाँगी, सेतुमारी कृषि सहकारी संस्थाका अध्यक्ष सोमराज तामाङ, समता कृषि सहकारी संस्थाका अध्यक्ष पर्शुराम रिजाल लगायतले पनि शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाका उपाध्यक्ष श्याम धिमालले स्वागत मन्तव्य राखेको सो कार्यक्रमको सञ्चालन संस्थाका सचिव इन्द्र श्रेष्ठले गरेका थिए ।

अटो र मोटरसाइकल दुर्घटनामा बृद्धाको मृत्यु, छ जना घाईते

झापा/ झापाको कन्काई नगरपालिका वार्ड नं–३ नयाँबस्ति पुर्व–पश्चिम राजमार्गमा आज भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा छ जना  घाइते भएका छन् । प्रहरीका अनुसार मंगलबार आज ११. ३० बजे प्र १– ०१–००१ ह ८२५२ नम्बरको अटो अनियन्त्रित भएर विपरित दिशाबाट जादै गरेको मे ५ प ६६२० नम्बरको मोटरसाइकलसँग ठोक्किएर भएको दुर्घटनामा अटोमा सवार हल्दीबारी ३ की ६८ बर्षिया मन्जुधरी ढकालको मृत्यु भएको हो ।
टाउकोमा चोट लागेर गम्भिर घाइते भएकी ढकालको बिएण्डसी अस्पताल विर्तामोडमा उपचारका क्रममा करीब साढे ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
अटोमा सवार हल्दीबारी ३ का ५७ बर्षिय जीवन ढकाल बर्ष ५० की हरीमाया ढकाल , बर्ष ३५ की भिमा ढकाल र माधब ढकालको छोरा बर्ष १३ को रोजन ढकाल, हल्दीबारी ५ का विनोद नेपालको छोरा बर्ष १३ को प्रदिप नेपाल र मोटरसाइकल चालक मोरङ मिक्लाजुङ ६ का ३७ बर्षिय चन्द्र बहादुर खत्रीको विर्तामोडमानै उपचार भइरहेको छ । अटो चालक हल्दीबारी ३ का खेमराज गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गुणस्तरीय शिक्षा र आधुनिक प्रविधिको संगम ग्लोबल एजुकेशनल एकेडेमी

दमक/ दमकमा स्थापित ग्लोबल एजुकेशनल एकेडेमीले आफ्नो स्थापनाको झण्डै ३० बर्ष लामो गर्विलो इतिहास बनाएको छ ।

बर्ष बृद्धिसँगै ग्लोबल अब वयस्क भएको छ । एउटा भरपर्दो, विश्वासिलो र योग्य शैक्षिक संस्थाको रुपमा झापा जिल्लामानै परिचित छ ।

गुणस्तरीय शिक्षामा यहाँका अभिभावकहरुमाझ एक विश्वासिलो केन्द्रका रूपमा अघि बढिरहेको दमक–६, देवकोटा चोकमा आफ्नै सुविधासम्पन्न भवनसहितको यो बिद्यालय साना (प्ले ग्रुप)देखि माथिल्लो कक्षा १२ सम्म शैक्षिक मापदण्ड अनुसारको संरचना र प्रविधिसँगै अघि बढिरहेको छ ।

यसले ग्लोबल मन्टेश्वरीमा विशेष सुविधासहित ससाना नानी बाबुहरुको हेरचाहसहित पूर्ण बालमैत्री वातावरणमा खेल्दै सिक्दै गर्ने अभ्यास गरिरहेको छ ।

समय अनुसार शिक्षण प्रणालीलाई प्रविधियुक्त बनाउने (अद्यावधिक) गर्दै आएको यस विद्यालयले पाठ्यक्रममै कम्प्युटर विषय समावेश गरेर अध्यापन गरिआएको छ । ग्लोबलले विद्यार्थीलाई प्रारम्भदेखि नै डिजिटल ज्ञानसँग जोडेको छ ।

विद्यालयका कक्षाहरूमा स्मार्ट टेलिभिजन र स्मार्ट बोर्ड प्रयोगमा ल्याइएका छन्, जसले पढाइलाई अझ सजिलो र रोचक बनाएको छ । अडियो–भिडियो माध्यममार्फत गरिने शिक्षणले विद्यार्थीलाई बुझ्न र सम्झन सहज बनाएको छ ।

अतिरिक्त विषयसँगै आधुनिक सिकाइ

कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, आट्र्स, कानून तथा होटल म्यानेजमेन्ट जस्ता विषयहरू उपलब्ध छन् । साथै, ‘माई सेकेन्ड टिचर’ जस्ता डिजिटल प्लेटफर्मको प्रयोगले कक्षा बाहिर पनि सिकाइलाई निरन्तरता दिइएको छ ।

अंग्रेजी र सीप विकासमा जोड

विद्यालयले अंग्रेजी भाषाको सही उच्चारणमा ध्यान दिँदै विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने प्रयास गरिरहेको छ ।

यसका साथै, कृत्रिम बौद्धिकता, सफ्टवेयर विकास, एथिकल ह्याकिङ जस्ता विषयहरूमा पनि विद्यार्थीलाई प्रारम्भिक चरणको ज्ञान दिने व्यवस्था मिलाइएको बिद्यालयका प्रिन्सीपल गुणराज अधिकारी बताउनु हुन्छ ।

पढाइसँगै व्यक्तित्व विकास

हरेक शुक्रबार ‘ब्याग–फ्रि डे’ सञ्चालन गरेर विद्यालयले विद्यार्थीको समग्र विकासमा जोड दिएको छ ।

यस दिन विद्यार्थीहरूले किताब नल्याई विभिन्न सिर्जनात्मक र मनोरञ्जनात्मक गतिविधिहरूमा भाग लिन्छन । जस्तै गायन, नृत्य, चेस, कराँते, चित्रकला, वक्तृत्वकला र योग–ध्यान मार्फत बिद्यार्थीहरुलाई सिर्जनात्मक र मनोरञ्जनात्मक गतिबिधिहरुसहित अतिरिक्त प्रतिभाहरुको बिकासमा योगदान पुगिरहेको प्रिन्सीपल अधिकारीको भनाई छ ।

उत्प्रेरणा र मानसिक सन्तुलन

डिजिटल दुनियाँमा धेरै समय बिताइरहँदा उनीहरुको मानसिकतामा परेको असरलाई ध्यानमा राख्दै विद्यालयले नियमित रूपमा उत्प्रेरणा कार्यक्रम सञ्चालन गर्दै आएको छ, जसले विद्यार्थीलाई आफ्नो लक्ष्यप्रति सचेत बनाउनुका साथै ध्यान र एकाग्रता बढाउन मद्दत पुगेको छ ।

सम्मान र सामाजिक जिम्मेवारी

ग्लोबल एजुकेशनल एकेडेमीले २०८० सालमा काठमाडौँमा आयोजित कार्यक्रममा सम्मान प्राप्त गरेर आफ्नो गुणस्तर पुष्टि गरिसकेको छ । साथै, ‘ग्लोबल कम्युनिटी आउटरिच’ कार्यक्रममार्फत विद्यालयले सामाजिक सेवामा पनि सक्रिय भूमिका निर्वाह गर्दै आएको छ ।

उपलब्धिमा अघि बढ्दै विद्यार्थी

यहाँ अध्ययनरत विद्यार्थीहरूले खेलकुद, सांस्कृतिक तथा विभिन्न प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । उनीहरूको सफलताले विद्यालयको पहिचानलाई अझ मजबुत बनाएको छ ।
बिद्यार्थीहरुले विभिन्न समयमा पाएको उच्च सफलताले स्वयं बिद्यार्थीहरु र अभिभावकलाई मात्रै नभएर सिंगो बिद्यालय परिवारलाईनै गौरावान्वित महसुस गराएको बिद्यालय व्यवस्थापन समिति अध्यक्ष इन्दिरा बस्नेतको अनुभव छ ।

जिवनोपयोगी सीप र संस्कारसहितको गुणस्तरीय शिक्षामा पूर्वाञ्चल मन्टेश्वरी

दमक/ पूर्व–पश्चिम राजमार्ग (निर्माणाधीन एशियन हाइवे) सँग जोडिएको सेतुमारी रोड हुँदै करिब ४०० मिटर दक्षिणतर्फ पुग्दा गोर्खा वेल्फेयर अफिस देखिन्छ । सोही स्थानबाट पूर्व–दक्षिणतर्फ झण्डै २०० मिटर अघि बढ्दा दमक–८ मा अवस्थित पूर्वाञ्चल मन्टेश्वरी अंग्रेजी स्कूल पुगिन्छ ।
वि.सं. २०६८ सालमा शिक्षाप्रेमी दम्पती माधव भट्टराई र सबिता पोखरेलद्वारा स्थापना गरिएको यस विद्यालयले सुरुवातदेखि नै मन्टेश्वरी शिक्षण पद्धतिलाई अंगाल्दै आएको छ ।
यहाँ साना नानीबाबुहरुलाई पारिवारिक वातावरणमा खेल्दै–रमाउँदै सिकाइने भएकाले सिकाइ प्रक्रिया सहज र प्रभावकारी बन्ने गरेको छ ।
विद्यालयको आकर्षक तथा व्यवस्थित भौतिक पूर्वाधार, आफ्‌नै खेलमैदान र पर्याप्त खेलकुद सामग्रीले विद्यार्थी र अभिभावक दुवैलाई आकर्षित गर्छ ।
यहाँ केवल औपचारिक शिक्षा मात्र नभई संस्कारयुक्त तथा जीवनोपयोगी शिक्षा प्रदान गरिन्छ । मन्टेश्वरी तालिमप्राप्त शिक्षकहरुलाई समयानुकूल पुनः तालिम दिई अद्यावधिक गरिने गरेको छ ।
विशेष रूपमा, यस विद्यालयले पछिल्लो समय अटिजम (बौद्धिक अपाङ्गता) भएका बालबालिकाका लागि छुट्टै कक्षा सञ्चालन गर्दै उनीहरुलाई अन्य विद्यार्थी सरह सक्षम बनाउने अभ्यास गरिरहेको छ ।
विद्यालयकी प्रिन्सिपल सबिता पोखरेलका अनुसार हाल १३ जना यस्ता बालबालिकाहरु नियमित शिक्षण सिकाइमा समाहित छन् ।
विद्यालयका निर्देशक माधव भट्टराई का अनुसार अभिभावकहरुको मागलाई मध्यनजर गर्दै बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्मको दिवाकालीन छात्रावास सेवा सञ्चालनमा ल्याइएको छ, जसमा हाल करिब ६० जना विद्यार्थी आबद्ध छन् ।
हाल कक्षा ८ सम्म अध्ययन अध्यापन हुँदै आएको यस विद्यालयले आगामी शैक्षिक सत्रदेखि कक्षा ९ पनि सञ्चालन गर्ने तयारी गरिरहेको छ ।
साथै, विद्यार्थीहरुको सुरक्षित आवतजावतका लागि आफ्‌नै भरपर्दा सवारी साधनको व्यवस्था गरिएको छ, जसले पूर्ण सुरक्षा र बालमैत्री व्यवहार सुनिश्चित गर्दछ ।
आजको प्रतिस्पर्धात्मक शैक्षिक वातावरणमा झापा जिल्लाका दमक, कमल, गौरादह र शिवसताक्षी क्षेत्रका अभिभावक तथा विद्यार्थीहरुको रोजाइमा पर्न सफल यस विद्यालयप्रति निर्देशक भट्टराई विश्वस्त देखिन्छन् । भट्टराई भन्छन “पूर्वाञ्चल मन्टेश्वरी रोज्ने निर्णयले भविष्यमा पछुतो मान्नु पर्दैन ।” –एडभर्टोरियल

पुलिस क्लब महिला गोल्डकपको क्वार्टरफाइनलमा

भद्रपुर/  उपाधिको दाबेदार मानिएको नेपाल पुलिस फुटबल क्लबले झापाको भद्रपुरमा आयोजित ओम साई पाथिभरा चन्द्रगढी महिला गोल्डकपमा आयोजक चन्द्रगढी युवा क्लबमाथि ६—० को फराकिलो जित निकाल्दै क्वार्टर फाइनमा प्रवेश गरेको छ ।
क्वार्टर फाइनलमा पुलिसले भारतको रानी लक्ष्मीबाई स्पोर्टस एकेडेमीसँग प्रतिस्पर्धा गर्नेछ । पुलिसको जितमा स्ट्राइकर रेखा पौडेलले ह्याट्रिक पूरा गरिन् । दुई गोल मिना देउवा र एक गोल अनुष्का शेर्पाको नाममा रह्यो ।
खेलको पहिलो मिनेटमै रेखा पौडेलले गोल गरिन् । डिबक्समा रहेकी पौडेलले अर्की स्ट्राइकर मिना देउवाको हेडरलाई सदुपयोग गर्दै गोल गर्न सफल भइन् । पुलिसको लागि दोस्रो गोल मिना देउवाको नाममा रह्यो । रेखा पौडेलले गरेको पावरफुल प्रहार चन्द्रगढीकी गोलकिपर सवनम राईले नियन्त्रणमा लिन नसकेपछि देउवाले त्यसलाई सुन्दर गोलमा परिणत गरिन् ।
खेलको २९ औँ मिनेटमा सम्झना लावतीको पासमा मिना देउवाले व्यक्तिगत दोस्रो गोल गर्न सफल भइन् । ३८ औँ मिनेटमा रेखा पौडेलले मैदानको मध्यभागबाट सिंगल खेल्दै गोल गरिन् ।
पहिलो हाफको ४० मिनेट ४–० को स्कोर बनाएको पुलिसले बाँकी २ गोल दोस्रो हाफमा लगाएको थियो । दोस्रो हाफको ७२ औँ मिनेटमा सब्सिच्युट खेलाडी अनुष्का शेर्पाले पुलिसका लागि अर्काे गोल थपिन् ।
रेखाको पासमा अनुष्काले देब्रे बार च्यापेर गरेको प्रहार गोल भएको थियो । खेलको ७७ औँ मिनेटमा रेखाले ह्याट्रिक पूरा गरिन् । मिन देउवाको पासमा हेडमार्फत गोल गर्दै रेखाले जारी प्रतियोगिताको पहिलो ह्याट्रिक गर्ने खेलाडीको सूचीमा नाम दर्ता गराइन् ।
चन्द्रगढीले विपक्षीमाथि फितलो प्रदर्शन गरेको थियो । पहिलो हाफको अतिरिक्त समयमा पुलिसका गोल किपर उषा नाथको हातबाट फुत्किएको बललाई चन्द्रगढीकी खेलाडी रेखा बिष्टले पोष्टको दिशा दिन नसक्दा सान्त्वना गोल गर्ने अवसर खेर गएको थियो ।

खेलको प्लेयर अफ द म्याच विजेता पुलिसकी ह्याट्रिककर्ता रेखा पौडेल भइन् । उनले नगद ११ हजार रुपैयाँ पुरस्कार पाइन् । भोलि मंगलबारको खेल सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब र ओखलढुंगाको पदमा स्पोर्टिङ क्लबबीच हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले नगद ११ लाख रुपैयाँ र ट्रफी पाउनेछ । त्यस्तै, उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछ । यो पुरस्कार राशि महिला फुटबलमा नेपालकै सर्वाधिक हो । प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ११ हजार रुपैयाँ पाउनेछ ।
त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख रुपैयाँ प्रदान गरिनेछ । उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँ पाउनेछन् ।