चुलाचुली गाउँपालिकाबासीलाई उपचारमा छुट सम्झौता

दमक/ इलामको चुलाचुली गाउँपालिका र काठमाडौं महानगरपालिका ५ सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज तथा बिराटनगरस्थित नोबेल मेडिकलबीच चुलाचुली गाउँपालिकाबासीको स्वास्थ्य उपचारमा छुट तथा सहुलियतका बिषयमा छुट्टाछुटटै सम्झौता भएको छ ।
चुलाचुली गाउँपालिका, इलाम भित्र बसोबास गर्ने नागरिकहरुलाई काठमाण्डौ मेडिकल कलेजमा उपचार गर्दा लाग्ने शुल्कमा छुट सम्बन्धि सम्झौता भएको गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले जानकारी दिए ।
सम्झौता अनुसार चुलाचुली गाउँपालिकामा बसोबास गर्ने बासिन्दाहरु बिरामी भई पालिकाको सिफारिसमा उपचारका लागि अस्पताल आउँदा नेपाल सरकारद्वारा सञ्चालित स्वास्थ्य उपचार सेवासँग सम्बन्धित सम्पूर्ण सुविधा (स्वास्थ्य बीमा, आमा सुरक्षा, विपन्न नागरिक औषधी उपचार कोष लगायत अन्य सबै) को सम्पूर्ण रुपमा उपभोग गरि सके पछि को अवस्थामा उपचार सुचारु गर्दा अस्पतालमा उपलब्ध सेवाहरुमा अप्रेशन सहित ५०% छुट सुविधा उपलब्ध हुनेछ ।
यो सुविधा स्वास्थ्य बीमामा आवद्ध नभएका वा बीमा गरेता पनि बीमा क्रियासिल हुन भन्दा अगाडिको समयावधीका विरामीहरुलाई पनि उपलब्ध हुनेछ ।
सम्झौतामा उल्लेखित अस्पताल सेवामा सहुलियत प्राप्त गर्नका लागि अस्पताल आउने बिरामीले आफ्नो ठेगाना खुल्ने परिचयपत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपी तथा १६ वर्ष मुनिका बालबालिकाको हकमा जन्मदर्ताको प्रतिलिपी अनिवार्य रुपमा साथ लिई आउनु पर्नेछ ।
यो सुविधा प्रत्यक्ष स्वास्थ्य उपचारसँग सम्बन्धित सेवाहरुमा मात्र लागु हुने जनाइएको छ । IVF, Plastic Surgery, Cosmetic Surgery लगायतका सेवाहरु, Cabin मा बसेर उपचार गर्दा साथै औषधी र चिकित्साजन्य सामाग्रीहरु -Implant, Surgical items, Consumable items छुट हुने छैन । सम्झौता एक वर्ष सम्म कायम रहने छ । दुवै पक्षको सहमतिमा यस सम्झौताका बुँदाहरु परिमार्जन गर्न तथा सम्झौतालाई निरन्तरता दिन सकिने पनि सम्भौतामा उल्लेख छ ।
सामाजिक उत्तरदायित्व वहन गर्दै केएमसी र नोबेल मेडिकल कलेजले विभिन्न संघ संस्थामा आवद्ध व्यक्तिहरुलाई उपचारमा सहुलियत उपलब्ध गराउँदै आईरहेकाले त्यसैको निरन्तरता स्वरुप चुलाचुली गाउँपालिकासँग पनि यो सम्झौता गरिएको जनाएका छन् ।
केएमसीसँगको सम्झौता पत्रमा चुलाचुली गाउँपालिकाका तर्फबाट गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङ र प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्य तथा केएमसीका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले हस्ताक्षर गरेका छन् भने नोबेल मेडिकलका तर्फबाट महाप्रवन्धक दिपेश राई र जनसम्पर्क अधिकृत नविन राईले हस्ताक्षर गरेका छन् ।

झापा ४ मा बाढी पीडित परिवारबाटै उम्मेदवार इञ्जीनियर तामाङ

झापा/ झापा जिल्लालाई देशभरकै सुगम जिल्लाको सूचीमा राखिन्छ ।  भौतिक पूर्वाधारलाई मात्रै बिकास मान्ने हो भने यो केही हद सम्म साँचो हो तर सिमित घेरामा बसेर हेर्दा ।

झापाको क्षेत्र नं ४ यो सुगम जिल्ला भित्रको दुर्गम क्षेत्रका रुपमा लिन सकिन्छ । निर्माणाधिन एशियन हाईवेदेखि दक्षिणमा ३० किलो मिटर सम्मको भुभाग यो क्षेत्रमा पर्छ । यसको दक्षिण सीमा भारतको बिहारसँग जोडिन्छ भने उत्तर सीमा चुरे सम्म । पश्चीममा कमल खोला र पूर्वमा बिरिङ खोला । खोलै खोलाबीचको यो भुगोलको अन्त्य पनि खोलासँगै जोडिएर हुन्छ ।

यति भने सकेपछि यहाँका नागरिकले पुस्तौदेखि खोलाकै कारण घरबार बिहिन भएर बस्नु परेको कुरा भनिरहन पर्दैन । यो भुगोलबाट जनताका प्रतिनिधि बनेर संसद सम्म पुगेका नेताहरुको सूचीमा पर्नु हुन्छ पूर्व मन्त्री स्वर्गीय चक्रप्रसाद बाँस्तोला, पूर्व मन्त्रीहरु राधाकृष्ण मैनाली, सीपि मैनाली , तारासम याङया, स्वर्गीय केशवकुमार बुढाथोकी देखि हालसालका एलपी साँवा । अधिकाशं यो क्षेत्रको माथिल्लो भेगबाट चुनिएका सांसदहरु मन्त्री पनि बने ।

कोही मन्त्री बन्ने दौडमा लागेर थाकिसके । तर यहाँका जनताको खोला नालाको पीर हटेको छैन । आखिर किन त ? नेतृत्वतकर्ताको जनताप्रतिको हेपाहा प्रवृत्ती, अनुुत्तरदायी व्यवहार र व्यक्तिगत स्वार्थ लिप्ततानै यसको वास्तविक उत्तर हो । यस्तै प्रवृत्तिसँग चुनावी मुकाबिला गर्ने साहस बटुलेर उभिएका छन गौरीगञ्ज १ माहाभाराका ३२ बर्षिय युवा उम्मेदवार सन्तोष तामाङ ।

सन्तोष र उनको सिंगो परिवार अनि गाउँ बस्ती यहाँका पुस्तौनी बाढी पीडित हुन् । कोक्रोमा खेल्ने उमेर छँदा सन्तोषलाई उनका आमा बुबाले कन्काईको भेल बाढीबाट जसोतसो जोगाएर निकाले । कहालिलाग्दो त्यो कन्काईको बाढीमा कैंयौं गाउँलेले ज्यान गुमाउँदा बाँचेका तिनै सन्तोष तामाङले भोगेको खोला बाढीको पीडालाई सधैका लागि अन्त्य गर्ने स्पष्ट योजना र खाका बनाएर उज्यालो नेपाल पार्टीका तर्फबाट संसदीय चुनावका लागि उम्मेदवार छन् । विसं २०५० सालमा माहाभाराको होक्कलबारीमा जन्मिएका तामाङले प्रारम्भिक तहको शिक्षा गाउँमै लिए पनि उनको परिवार र आफन्तहरुको साथ सहयोगमा काठमाडौंबाटै ७६प्रतिशत अंक ल्याएर २०६६ सालमा एसएलसी उत्तीर्ण गरेका हुन् ।

Morgan International Collage हुँदै Accme Engineering Collage in Kathmandu बाट इन्जिनियरिङ पास गरेर विभिन्न कम्पनीमा आवद्ध भएर पेशामा जोडिए । उनले अध्ययनको सिलसिलामा देशको शासकीय संरचना, स्वरुप र देशको संविधान, कानुनबारे पनि बुझ्‌ने मौका पाएका छन् । उनको बुझाईमा नागरिकहरुप्रति उत्तरदायी जनप्रतिनिधि नहुँदा राज्यप्रतिनै उनीहरुमा विद्रोह भाव बढ्न पुगेको छ । त्यसैको उदाहरण हो भाद्र २३ र २४ को जेनजी आन्दोलन । जेनजी आन्दोलनमा व्यक्त जनभावलाई सम्बोधन गर्ने उनीसँग स्पष्ट खाका र योजना छ । कुलमान घिसिङले नेतृत्व गरेको उज्यालो नेपाल पार्टीले झापाको यो दुर्गम क्षेत्रमा सन्तोषलाई दिएको उम्मेदवारीका अवसरलाई यहाँँका मतदाताले कसरी उपयोग गर्छन भन्ने हेर्न फागुन २१ सम्म कुर्नै पर्ने हुन्छ ।

कमला मदन आश्रित स्मृति माविको ६३ औं बार्षिकोत्सव

दमक/ कमल गाउँपालिका वडा नं २ क्याम्पास्थित कमला मदन आश्रित स्मृति माध्यमिक विद्यालयले ६३औं वार्षिकोत्सव तथा अभिभावक दिवस विशेष कार्यक्रम सम्पन्न गरेको छ । बुधबार, विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा विद्यार्थी, अभिभावक र शिक्षक–शिक्षिकाहरुलाई खादा र अविरसहित सम्मान तथा पुरस्कृत गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होमबहादुर बरालको अध्यक्षतामा र कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा नम्बर २ को कार्यालयद्वारा उत्कृष्ट शिक्षकको रुपमा दोर्णप्रसाद लिम्बुलाई दोसल्ला ओढाएर नगदसहित सम्मान पत्रद्वारा पुरस्कृत गरिएको थियो भने विद्यालयको तर्फबाट अनिल श्रेष्ठ र रङ्गनाथ गौतमलाई पुरस्कृत गरिएको थियो ।
त्यसैगरी विद्यालयले प्रत्येक वर्ष एकजनालाई प्रदान गर्दै आइरहेको वर्षकै उत्कृष्ट विद्यार्थीको तर्फ राहुल राजवंशी (कक्षा १२) लाई नगदद्वारा पुरस्कृत गरिएको थियो ।
स्वर्गीय नेत्रबहादुर श्रेष्ठ कोषबाट २०८१ सालको एसईई परिक्षामा उत्कृष्ट जिपिए ल्याउने खेममणी अधिकारी, जसमिन धिमाल, मलिन ईङ्गनाम र रश्मिका पौडेल, स्वार्गिय सोमनाथ रेग्मि छात्रवृत्ति कोषका कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने उमेश ढकाल र अनिषा गजमेर तथा श्रीमाया लिङदेन स्मृति कोषबाट सज्ञराज विश्वकर्मा र विवेक अधिकारीलाई नगदद्वारा पुरस्कृत गरिएको विद्ययालयले जनाएको छ ।
त्यस्तै, तोपगाछी धरमपुर मैत्री समाजबाट २०८१ सालको एसईईमा उत्कृष्ट नतिजा ल्याई कक्षा ११ मा अध्यायनरत मलिन ईङनाम, सुश्मिता विक, राजु (बस्नेत) र यशोदा दकाललाई छात्रवृत्ति बापत नगद १० हजार रुपैय प्रदान गरिएको मैत्री समाज सचिव यज्ञप्रसाद न्यौपानेले बताए । कार्यक्रममा कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी, पूर्व विद्यार्थी तथा पूर्व शिक्षक बन्धु निरौला लगायतको उपस्थिति थियो ।

सो कार्यक्रममा विद्यालयका शिक्षक तथा शिक्षिकाहरु र विद्यार्थीहरुले अलगअलग नृत्य टोलीले मनोरञ्जनात्मक नृत्य प्रस्तुत गरेका थिए ।
सोही अवसरमा विद्यालयका प्रधानध्यापक हिमप्रसाद दाहालले विद्यालयको प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रधानध्यापक दाहालले विद्यालय स्थापनादेखि हालसम्मका अवस्था, स्थापनादेखि हालसम्मका प्रधानध्यापकहरु, शिक्षक, शिक्षिकाहरु, व्यवस्थापन समितिका अध्यक्ष तथा सदस्यहरुको बारेमा समेत प्रतिवेदनमा उल्लेख गरेका छन् ।
विद्यालयका शिक्षक याम प्रधानले सञ्चालन र सहायक प्रधानाध्यापक ईश्वरीप्रसाद दहालले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै स्वागत मन्तव्य राखेका थिए ।

 

इन्टरनेशनल फिल्म फेस्टिभलको सातौँ संस्करण माघ १६ गतेदेखि

काठमाडौँ /  नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा ‘ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल (NCIFF) को सातौँ संस्करण आयोजना हुने भएको छ । माघ १६ गतेदेखि १८ गतेसम्म चाबहिलको चलचित्र विकास बोर्ड, भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड र नेपाल पुलिस क्लबमा आयोजना हुने महोत्सवमा ३९ देशका ८५ चलचित्रहरु प्रदर्शन हुने भएका छन् । काठमाडौँमा विश्वभरका सांस्कृतिक, सामाजिक र सिर्जनात्मक चलचित्रको प्रवद्र्धन गर्ने उद्देश्यले विगत सात वर्षदेखि निरन्तर आयोजना हुँदै आएको यो महोत्सव नेपालकै एक प्रतिष्ठित अन्तर्राष्ट्रिय चलचित्र उत्सवका रूपमा स्थापित हुँदै गएको आयोजकको भनाई छ । यस वर्षको महोत्सवमा ७५ भन्दा बढी देशबाट ७०० चलचित्र प्राप्त भएका मध्येबाट ५२ देशका १३८ चलचित्रहरू महोत्सवका लागि चयन भएका थिए ।

महोत्सवमा लघुचलचित्र, कथानक चलचित्र, वृत्तचित्र, एनिमेटेड चलचित्रसँगै महिला, बालबालिका, मानव अधिकार तथा सांस्कृतिक विषयवस्तुमा आधारित चलचित्रहरू समावेश गरिएका छन् । “तीन मिनेटदेखि साढे दुई घण्टासम्म अवधिका चलचित्रहरू महोत्सवका लागि छनोट भएका छन्,” महोत्सवका निर्देशक तथा अध्यक्ष सन्तोष सुवेदीले बताए । चाबहिलको चलचित्र विकास बोर्डमा उद्घाटन समारोह रहने महोत्सवमा चलचित्र प्रदर्शनसँगै सांस्कृतिक कला प्रदर्शनी, नृत्य, कला–संस्कृति र पर्यटनसम्बन्धी अन्तरक्रिया लगायत थुप्रै कार्यक्रमहरु रहेको महोत्सवकी सह–निर्देशक सृष्टि न्यौपानेले जानकारी दिइन् । अस्ट्रेलियाली निर्देशक मौलीनाथ गंगोलीद्वारा चलचित्रसम्बन्धी मास्टर क्लास पनि दिनेछन् ।

चलचित्र महोत्सवको लागि अन्तर्राष्ट्रिय निर्णायक मण्डलमा अमेरिकाकी निर्माता–निर्देशक जेसिका एकर्सन, बेलायतकी निर्माता एड्रियाना कुलिग, जर्जियाकी अनुसन्धानकर्ता निनी सिभेलिज, इटालीकी लेखक तथा निर्देशक भ्यालेन्टिना गाल्डी, बेलायतकी निर्देशक–निर्माता म्याग्डालिना कोर्पास, अर्जेन्टिनाका निर्देशक तथा चिकित्सक डा. जर्ज ग्युलेर्मो क्याराभोटा, ट्युनिसियाका निर्देशक नुमिन नुमिन, लाट्भियास्थित स्कार्लेट फिल्म्सका संस्थापक इमरोज होसेन रहेका छन् । राष्ट्रिय तर्फको जुरीमा चलचित्र लेखक, निर्देशक तथा कलाकार रमेश बुढाथोकी, अभिनेता धिरेन शाक्य, अभिनेत्री तथा निर्माता दीपाश्री निरौला, अभिनेता आर्यन सिग्देल र निर्माता तथा छायाँकार रविन आचार्य रहेका छन् ।

महोत्सवमा दक्षिण एसियाली मुलुक भारत, बंगलादेश, पूर्वी एसियाली देशहरू चीन, थाइल्यान्ड, कोरिया, काजकिस्तान, यूएई, कतार, हङकङ, फिलिपिन्स, इन्डोनेसिया, ताइवान लगायतका चलचित्रहरू चयन भएका छन् । साथै अमेरिका, क्यानडा, अस्ट्रेलिया, अर्जेन्टिना, बेलायत, फ्रान्स, इटाली, जर्मनी, रुस, स्विजरल्यान्ड, ट्युनिसिया, युक्रेन, स्पेन, नेदरल्यान्ड, मेक्सिको, फिनल्यान्ड, लिथुआनिया, चिली, नर्वे, ब्राजिल, सर्बिया, पोर्चुगल, पोल्यान्ड, हंगेरी, ग्रीस, डेनमार्क, बुल्गेरिया, चेक रिपब्लिक लगायत युरोप, दक्षिण अमेरिका तथा अफ्रिकी मुलुक मोरक्को, इजिप्ट, दक्षिण अफ्रिकाका चलचित्रहरू पनि समावेश छन् ।

महोत्सवमा उत्कृष्ट चलचित्र, निर्देशक, अभिनेता, अभिनेत्री, छायाँकारसँगै उत्कृष्ट लघु चलचित्र, वृत्तचित्र, एनिमेटेड चलचित्र, महिला चलचित्र, बालबालिका चलचित्र तथा मानव अधिकारसम्बन्धी चलचित्र विधामा प्रतिस्पर्धा हुनेछ । नेपाल पुलिस क्लबमा हुने महोत्सवको समापन समारोहमा विभिन्न विधामा उत्कृष्ट ठहरिएका चलचित्र, कलाकार तथा प्राविधिकलाई अवार्ड प्रदान गरिने अध्यक्ष बताउँछन् । यस वर्ष १५ राष्ट्रिय र १५ अन्तर्राष्ट्रिय गरी ३० उत्कृष्ट चलचित्र सम्मान गरिनेछ । साथै चलचित्र क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका व्यक्तित्वहरूलाई विशेष सम्मान प्रदान गरिने सुवेदी बताउँछन् ।

कांग्रेसका सबै तहबाट प्रसाइँलाई कारवाही, कार्यकर्तालाई पार्टीले गरायो सजग

दमक/ नेपाली कांग्रेस झापा क्षेत्र नं ५ र अन्तर्गतका सबै इकाई नेतृत्वले संयुक्त विज्ञप्ती निकालेर तत्कालिन दमक नगर सभापति प्रकाश प्रसाइँलाई पार्टी अनुशासनको कारवाही गरिएको जनाएका छन् ।

नेपाली कांग्रेस वडा, नगर, प्रदेश (ख) तथा प्रतिनिधिसभा क्षेत्रीय समिति क्षेत्र नं ५ झापाको संयुक्त बैठकले प्रतिनिधि सभा सदस्यका उम्मेदवारको मनोनयन मिति (माघ ६ ) देखिनै प्रसाईंलाई पार्टीको साधारण सदस्यतासमेत नरहने गरी कारबाही गरिएको आज सार्वजनिक विज्ञप्तीमा उल्लेख छ।  विज्ञप्ती अनुसार मिति २०८२ माघ ६ गते नेपाली कांग्रेस दमक नगर समितिका तत्कालीन सभापति प्रकाश प्रसाईंले पार्टी परित्याग गरी अर्को दलमा प्रवेश गरेपछि पार्टीको विधान र निर्णयअनुसार कारबाही प्रक्रिया अघि बढाइएको हो।  सुशासन सहितको समुन्नत नेपाल निर्माण गर्ने अभियानमा नेपाली कांग्रेस दृढ संकल्पित रहेको भन्दै दमक नगर कार्यसमितिले पार्टी हितविपरीत गतिविधि गर्नेहरूप्रति कडा कारबाही गर्ने जनाएको छ ।

प्रेस विज्ञप्तीमा पार्टीको दोस्रो विशेष महाधिवेशनबाट पारित “बलियो कांग्रेस, बदल्छौं देश” भन्ने मूल नारालाई आत्मसात गर्दै आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टी एकताबद्ध भएर अघि बढ्ने जनाएको छ।

लोकतान्त्रिक पार्टीको जीवनमा प्रवेश र बहिर्गमन स्वाभाविक प्रक्रिया भए पनि पार्टी हितविरुद्धका गतिविधिप्रति सचेत रहनुपर्ने आवश्यकता औंल्याउँदै विज्ञप्तीमा वडा तहदेखि क्षेत्रभरिका कार्यकर्तालाई भ्रामक, कपोलकल्पित तथा प्रतिगमनकारी गतिविधिबाट सजग रहन आग्रह गरिएको छ।

विज्ञप्तीमा वडा नं. ६ का वडा सभापति मणिकुमार बढाथोकी, कार्यवाहक नगर सभापति प्रेम भट्टराई, प्रदेश (ख) सभापति रवि केसी न्यौपाने तथा प्रतिनिधिसभा क्षेत्र नं. ५ झापाका क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीको हस्ताक्षर रहेको छ। 

 

सुगम जिल्लाको दुर्गम बस्तीका युवा उम्मेदवार इञ्जीनियर सन्तोष

दमक/ झापाको क्षेत्र नं ४ मा उज्यालो पार्टी नेपालका तर्फबाट चुनावी मैदानमा रहेका सन्तोष तामाङ सुगम जिल्ला झापाको दुर्गम बस्तीका युवा उम्मेदवार हुन् । फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य चुनावमा
३२ बर्षिय युवा उम्मेदवार तामाङको सिंगो परिवार मात्रै होइन साविकको महाभारा, हालको गौरीगञ्ज गाउँपालिका वडा नं १ को साझा उम्मेदवारका रुपमा उनलाई हेर्न थालिएको छ । अधिकांश चुनावमा भोट बैंकको रुपमा यो भुगोल उपयोग हुँदै आएको छ ।
यस अघिका चुनावमा सबै पार्टीमा सबै पार्टीलाई यहाँका मतदातालाई मतदानको दिन मात्रै महत्व दिने र बाँकी समय उपेक्षा गर्ने गरेको गुनासो रहेकाले उनीहरुलाई यसपटकको चुनावमा गतिलो जवाफ दिने उद्धेश्यले आफू चुनावी मैदानमा उत्रिएको तामाङको भनाई छ ।
हुन पनि साविकको महाभारा गाविस ३० बर्षदेखि लगातार कन्काई र कमल बनियानी खोलाको कटान र डुबानबाट प्रभावित क्षेत्र हो । खोला नदीमा दिगो तटबन्धन नहुँदा र कन्काई सिँचाई आयोजनाको नहरलाई व्यवस्थित नगरिँदा यो क्षेत्रका बासिन्दाले सधैं पीडामा जिवन बिताउनु परिरहेको छ ।
भारतीय सीमासँग जोडिएको यो भुगोलका मतदाताहरु सधैं उपेक्षित छन् । कहिले झापा ६ त कहिले झापा ५ का रुपमा रहेको यो भुगोल बिगतका दुई चुनाव यता भने झापाको क्षेत्र नं ४ का रुपमा छ ।
यो भुगोलबाट संसदीय चुनावमा बारम्बार नेकपा एमालेले चुनाव जित्दै आएको छ । राजमार्ग छेउछाउ, शहर बजारका मान्छे सँधैं हाम्रो क्षेत्रमा आउँछन र हामीलाई प्रयोग मात्रै गर्छन । बाबुबाजेको पालादेखिको यो समस्याका विरुद्ध अब हामी आफैं अग्रसर हुनुपर्छ भन्ने सोचले म उम्मेदवारका रुपमा अघि सरेको हुँ– उम्मेदवार सन्तोषले भने ।

गाउँमै बिद्यालय तहको पढाइ सकेर काठमाडौंमा उच्च शिक्षा हासिल गर्दै प्राविधिक (इन्जीनियरिङ) बिषय अध्ययन गरी स्वैच्छिक रुपमा इन्जीनियरिङ पेशा गर्दै आएका सन्तोष झापाको क्षेत्र नं ४ लाई छुट्टै किसिमको प्रतिनिधि खाँचो भएकाले त्यसको परिपूर्ति गर्न आफूले बैकल्पिक शक्तिका रुपमा उदाएको उज्यालो नेपाल पार्टीबाट उम्मेदवारी दिएको बताउँछन् । युवाहरुले देशमानै केही गर्नुपर्छ भन्ने मान्यता राखेर उज्यालो नेपाल पार्टीमा क्रियाशील हुँदै उम्मेदवार बनेका सन्तोष भन्छन– मेरो योग्यता र क्षमता अनुसार विदेशमा पनि ४÷५ लाख रुपैयाँ पैसा कमाउन सक्थें तर मैंले मेरो गाउँ , मेरो ठाउँ र मेरो परिवार, समाजले भोगेको समस्यालाई निकास दिन यही ठाउँमा बस्नु पर्छ भनेर उभिएको छु ।
सन्तोषको सिंगो परिवार मात्रै होइन साविक महाभारा ५ को सिंगो वडानै यहाँको कन्काई बाढी पीडित क्षेत्र हो । तामाङ परिवारसहित झण्डै ४०० परिवार २०५२/०५३ मा आएको कन्काईको बाढीका कारण विस्थापित भई अहिले विभिन्न ठाउँमा पुगेका छन् । कैंयौंले बाढीकै कारण ज्यान गुमाउनु पर्यो भने यहाँको सयौं बिगाहा धान खेतमा अहिले पनि खोलो कुदिरहेको छ । काँस उम्रिएर छोपेको छ । अल्पकालिन योजनाहरु धेरै अघि सारिए पनि आश्वासन धेरै पाए पनि यहाँका नागरिकको जिवनस्तर उकास्न र यहाँको सडक, पूल, शिक्षा, स्वास्थ्य लगायतका आधारभूत आवश्यकताको परिपूर्तिन गर्ने तर्फ सरकारले ध्यान दिन सकेका छैनन् । कन्काईको निर्माणाधीन पक्की पूल १४ बर्षदेखि अलपत्र छ । मुख्य मुख्य सडकमा कालोपत्रे छ तर खोलामा पुल नहुँदा यहाँको बिकास जहिंको त्यहीं जस्तै बनेको छ ।

 

 

कांग्रेस नेता सुब्बाले भने – व्यवहारमानै परिवर्तनको प्रमाणित देखाएका छौं

दमक/  नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य सुरेस सुब्बाले युवा पुस्ताको भावना सम्बोधन गर्ने पार्टीका रुपमा नेपाली कांग्रेसले आफूलाई प्रमाणित गरेर देखाएको बताएका छन् ।
भाद्र २३ अघिको अवस्थामा मुलुक अहिले नरहेको र २३ र २४ का घटनालाई कांग्रेसले गम्भिर रुपमा लिएरनै आफूलाई रुपान्तरित गर्दै परिवर्तित र नविन कांग्रेसका उम्मेदवारहरु लिएर चुनावमा गइरहेको उनको भनाई छ ।
पार्टीको विशेष महाधिवेशनबाट कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएर आफ्नो गृह नगर दमक आए लगत्तै कार्यकर्ताहरुसँगको भेटमा नेता सुब्बाले उच्च मनोबलका साथ चुनावमा केन्द्रित हुन कार्यकर्ताहरुलाई निर्देशन दिने क्रममा त्यस्तो बताएका हुन ।
गगन विश्व नेतृत्वनै कांग्रेस रुपान्तरणको उदाहरण भएका भन्दै नेता सुब्बाले भने– कांग्रेसले भाद्र २३ /२४ मा व्यक्त जेनजी भावना अनुसारनै गगन थापालाई पार्टी सभापति र भावी सरकारको नेतृत्वका रुपमा समेत गगनलाई नै प्रधानमन्त्रीका रुपमा अघि बढाएको छ त्यतिमात्रै होइन १६५ क्षेत्र मध्ये ११० क्षेत्रमा नयाँ उम्मेदवार बनाएको छ । कैयौं ठाउँमा जेनजी पुस्ताका उम्मेदवार बनाएको छ । यो नै कांग्रेस रुपान्तरण र परिवर्तनको उदाहरण हो ।


उनले परिवर्तनको गफ र कुरा फिँजाएर व्यवहारमा परिवर्तन नआउने भन्दै अगाडी भने– कांग्रेसले व्यवहारमानै परिवर्तन गरेर देखाएको छ ।
उनले आज बिहान कांग्रेस दमक १ द्धारा आयोजित बधाई शुभकामना तथा चुनावी छलफलमा कांग्रेसले अनपपुलर र विभिन्न प्रकरणमा मुछिएका नेताहरुलाई उम्मेदवार नबनाएको बताउँदै निष्कलंकीत र स्वच्छ छबि भएका उम्मेदवारहरुलाई मात्र अघि सार्नुनै निर्वाचन जितको शुरुवात भएको तर्क गरे ।
यस अघि सोमबार नेपाली कांग्रेस झापा क्षेत्र नम्बर ५ ‘ख’ प्रदेश समितिले दमकमा आयोजना गरेको स्वागत तथा चुनावी भेलामा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै नेता सुब्बाले विशेष महाधिवेशनबाट नयाँ कांग्रेस आएको उल्लेख गर्दै समयअनुसार आफू परिवर्तन हुन नसक्नेहरू आफैं पलायन हुदैं जाने टिप्पणी गरे ।
कार्यक्रममा नेपाली कांग्रेस क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीले झापा ५ का सन्दर्भमा भ्रमपूर्ण कुराहरु बहिर लैजाने गिरोह सक्रिय रहेको र बिगतमा पार्टीलाई गरिखाने भाँडो बनाएका मान्छेहरुनै आज पनि कांग्रेसको नाम बेचेर झुक्याउने दाउपेचमा रहेकाले त्यस तर्फ सचेत हुन कार्यकर्ताहरुलाई आग्रह गरे ।
उहाँले गगन थापा सभापतिमा निर्वाचित भएपछि गाउँ–सहरमा कांग्रेसको लहर देखिएको दाबी गर्दै सुधारिएको कांग्रेसले देशलाई समृद्धितर्फ लैजाने विश्वास व्यक्त गरे ।
प्रदेश क्षेत्र ‘ख’ सभापति रवि केसी न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा झापा क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसकी उम्मेदवार मन्धरा चिमरिया पौडेल, संविधानसभा सदस्य विश्वदिप लिङदेन, कांग्रेस दमक नगर कार्यबाहक सभापति प्रेम भट्टराई लगायतले पनि शुभकामना मन्तव्य राखेका थिए ।

 

कवि गोपाल दहालको “जीवन यात्रा” बिमोचन

दमकमा बिद्यालय स्तरीय बुद्धिचाल प्रतियोगिता सम्पन्न

दमक/ दमक नगरपालिकामा विद्यालय स्तरीय बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको छ । दमक नगरपालिका वडा नं. ७ वडा कार्यालयको समन्वय तथा वडा बाल सञ्जाल दमकको आयोजनामा सम्पन्न प्रतियोगितामा ग्लोबल एजुकेसन एकेडेमीका श्रीयन्स चौलागाईं प्रथम भएका छन्। । यस्तै, सूर्याेदय एजुकेसन इङ्लिस स्कुलका तनय पाण्डेले दोस्रो र सोही विद्यालयका हिलिहाङ लिम्बूले तेस्रो स्थान हासिल गर्न सफल भएका ७ नम्बर वडा कार्यालय सचिव योगेश भट्टराईले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुनेलाई मेडल, ट्रफी तथा नगद ४ हजार रुपैयाँ प्रदान गरिएको थियो भने दोस्रो हुनेलाई ३ हजार, तेस्रो हुनेलाई २ हजार, चौथो हुनेलाई १ हजार र पाँचौं हुनेलाई पनि १ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो । त्यस्तै सहभागीहरु मध्ये सबैभन्दा धेरै अंक ल्याउने महिलालाई पनि नगद १ हजार पुरस्कार प्रदान गरिएको वडा बाल सञ्जालका सचिव अभिषेक ढकालले बताए ।

दमक नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष भीमप्रसाद पौडेलको प्रमुख आतिथ्य र वडा बाल सञ्जाल दमक–७ की अध्यक्ष शुभेच्छा बिमलीको अध्यक्षतामा भएको प्रतियोगितामा दमक नगरपालिकाभित्रका २० वटा सरकारी तथा सामुदायिक विद्यालयहरूले सहभागितामा जनाएका थिए ।
कार्यक्रममा वडा नं. ७ का वडा सदस्यहरू अतित वान्तवा राई, मानबहादुर खवास, तारादेवी रणपहेंली लगायत विद्यार्थीहरू तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । प्रतियोगिता कार्यक्रमको सञ्चालन वडा बाल सञ्जाल दमक–७ का सह–सचिव कमल पोख्रेलले गरेका थिए ।

 

 

नेशनल लाइफको सीइओ क्लब सम्मान कार्यक्रम

दमक/ नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले कोशी प्रदेशका अभिकर्ताहरुलाई बिर्तामोडमा सीइओ क्लब सम्मान कार्यक्रम गरेको छ । होटल द किंग्सबरीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा सीइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको हो ।

आर्थिक वर्ष २०८१/ ८२ मा तोकिएको बीमाशुल्क संकलन गरी कोशी प्रदेशबाट योग्य भएका ३०० जना अभिकर्ताहरु, विभागिय प्रमुखहरु, प्रदेश प्रमुख एवं कोशी प्रदेश अन्तर्गत रहेका शाखा कार्यालयका शाखा प्रमुखहरुको सहभागितामा कम्पनीले सीईओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरुलाई सम्मान गरेको नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले जनाएको छ ।
सम्मान कार्यक्रममा सहभागि अभिकर्ताहरुलाई प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले सीइओे क्बलको सदस्यता वितरण तथा सम्मान गरेका थिए । साथै सो प्रदेशबाट आफ्नो कोडमा र संजालमा प्रथम, द्वित्तिय र तृत्तिय हुन सफल अभिकर्ताहरुलाई विशेष सम्मान तथा पुरस्कृत गरेका थिए ।
यसैगरी सो अवसरमा कम्पनीले बार्षिक योजना अन्तर्गत जारी गरेको नेशनल अवार्ड योजना अन्तर्गत नेशनल रत्न तथा नेशनल स्टार विजेता अभिकर्ताहरुलाई पनि नेशनल लाइफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गरेका थिए ।
समारोहमा प्रमुख कार्यकारी अधिकृत खत्रीले सीईओ क्लब र नेशनल अवार्ड अन्तर्गत योग्य हुने अभिकर्ताहरुलाई प्रदेश स्तरिय रुपमा सम्मान गर्ने क्रममा कोशी प्रदेशबाट छनौट भएका अभिकर्ताहरुलाई सम्मान गरिएको बताए । साथै उनले कम्पनीले ल्याएको सीइओ क्लब कार्यक्रममा नेपाल भरबाट १ हजार ६०० जना जना भन्दा बढि अभिकर्ताहरु छनौट हुनुले यो योजना अत्यन्तै सफल भएको बताउदै कम्पनीले सबै तहका अभिकर्ताहरु माझ लोकप्रिय हुने यस्ता खाले योजनाहरु ल्याउन प्रयासरत रहेको पनि बताए ।

चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक सैयद अफजल अहमदले मोटिभेसनल तालिम प्रदान गरेको सो समारोहमा सहभागी अभिकर्ताहरुले तालिमबाट थप उर्जा मिलेको र प्रमुख कार्यकारी अधिकृतबाट आफ्नै क्षेत्रमा सम्मान ग्रहण गर्न पाउँदा गर्व महशुस भएको बताए ।