कसैसँग पनि तालमेल हुँदैन, कसैले गरे कारवाही – गगन थापा

दमक/  विशेष महाधिवेशनबाट पुनगर्ठित नेपाली कांग्रेसले चुनावी तालमेल नगर्ने यस अघिको घोषणालाई दोहोरयाएको छ ।
नेतृत्वमा आएपछि कांग्रेस सभापति गगन थापाले चुनाव अघि कसैसँग गठबन्धन नगर्ने र देशभरका कांग्रेसले रुख चिन्हमा मतदान गर्न पाउने व्यवस्था मिलाउने सार्वजनिक घोषणा गरेका थिए ।
बुधबार अनलाइनखबरसँगको अन्तर्वार्तामा पनि सभापति थापाले कसैसँग कुनै किसिमको तालमेल संभव नरहेको प्रष्ट पारेका छन् ।
‘म कांग्रेस सभापतिको हैसियतले स्पष्ट भन्दैछु– नो, नट एट अल ! कुनै पनि तहको नेताले कहिँ कतै त्यस्तो सम्झौता गरेको पाइएमा त्यो कारबाहीको विषय बन्छ ।
यो पटक १६५ वटै निर्वाचन क्षेत्रमा कांग्रेस एक्लै लड्छ । कसको क्षेत्रमा के होला भनेर कसैले अलमलिनु पर्दैन,’ थापाले भनेका छन् ।थापाले आफू सभापति निर्वाचित भएर आएपछि नेपालमा असफल सावित चुनाव अघि गरिने गठबन्धन संस्कृति भत्किएको बताएका छन् ।

महिला उम्मेदवारलाई समर्थन जनाउँदै ग्रामिण महिलाहरु उत्साहित

दमक/ झापा निर्वाचन क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसबाट उम्मेद्वार बनेकी मन्धरा चिमरिया पौडेलको पक्षमा ग्रामीण क्षेत्रका आदिवासी महिलाहरूले उल्लेख्य समर्थन जनाएपछि उत्साहित बनेकी छिन् ।
महिला तथा बालबालिकाको क्षेत्रमा लामो समयदेखि सामाजिक अभियन्ताका रूपमा सक्रिय मन्धरा उम्मेद्वार बनेर गाउँ–गाउँमा महिलाहरुलाई प्राथमिकता दिदैं भेटघाटमा पुग्दा उनीहरुले एक ढिक्का भएर समर्थन जनाएका छन । यसले उनलाई उत्साह बढाएको प्रतिक्रिया दिएकी छिन् ।

दमक र गौरादहमा समेत रहेका अस्पतालकी सञ्चालकसमेत रहेकी पौडेलले यसअघि ग्रामीण क्षेत्रबाट उपचारका लागि आउने विपन्न समुदायका नागरिकलाई उपचार र सेवामा प्रत्यक्ष, अप्रत्यक्ष रुपमा गरेको सहयोगको महिलाहरुले प्रशंसा गर्दै राजनीतिक आस्था र विचार भन्दा माथि उठेर समाजसेवामा क्रियाशील मन्धरालाई सहयोग गर्ने बचन दिए । दमकको अनाथ बाल वृद्धाश्रमको अध्यक्षका रूपमा अभिभावकबिहिन बेवारिसे बालबालिकाको अभिभावकत्व ग्रहण गर्दै संरक्षण र हेरचाहमा समेत उनको महत्वपूर्ण भूमिका छ ।
सामाजिक र महिलाहरुको न्यायका क्षेत्रमा गरेको योगदानका कारण यस क्षेत्रका असहाय तथा विपन्न समुदायको अभिभावकका रूपमा परिचित पौडेल उम्मेद्वार बनेर गाउँमा भेटिँदा मतदाताहरू उत्साहित देखिएका हुन् ।

आज झापाको गौरिगञ्जमा आयोजित कार्यक्रममा ठूलो संख्यामा आदिवासी महिलाहरूको उपस्थिति रहेको थियो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेश सुब्बाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा पौडेलको सामाजिक योगदान नै उनको जितको बलियो आधार भएको बताए । यसअघि गरेका सामाजिक कामले पौडेललाई चिनाएको उल्लेख गर्दै सुब्बाले मन्धरा पौडेल यस क्षेत्रका असहाय र विपन्न समुदायको अभिभावक भएको धारणा व्यक्त गरे ।

कार्यक्रममा उम्मेदवार पौडेलले यस क्षेत्रका नागरिकबाट पाएको माया र समर्थनले आफू थप उत्साहित भएको बताइन् । नेपाली कांग्रेस झापा जिल्ला कार्यबाहक सभापति शेरबहादुर भट्टराईले अन्य दलले धेरै हल्ला गरे पनि कांग्रेसले असली स्थानीय र सामाजिक अभियान्तालाई उम्मेद्वार बनाएकोले जिततर्फ अग्रसर रहेको बताए ।

कार्यक्रममा कांग्रेस क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीले सामाजिक सञ्जालहरुमा विपक्षीहरुले अनेकौं तडकडक र काल्पनीक मत सर्वेक्षणहरु राखेर निर्वाचन आचारसहिंताको उल्लंघन गर्दै महिला उम्मेदवारमाथि अन्याय गरिरहेको भए पनि मतदाताले न्याय गर्ने विश्वास व्यक्त गरे । सो अवसरमा महासमिति सदस्य रोहितकुमार शाह, महिला संघ झापाकी उपसभापति नौतली राजवंशी, प्रदेश प्रतिनिधि दीक्षा कोइराला घिमिरे लगायतले मन्तव्य राखेका थिए ।

 

पत्नीको हत्यापछि पतिले गरे आत्महत्या

मोरङ /  मंसिर १२ गते कंकालिनी माईको मन्दिरलाई साक्षी राखेर मुकेश र अम्बिकाले सँगै जिउने कसम खाएका थिए। लगत्तै कानुनी रूपमै विवाह दर्ता पनि भयो। तर, मन्दिरका देउता र अड्डाका कागजले उनीहरूको मन भने जोड्न सकेन। विवाहको दुई महिना नबित्दै रंगेली–५ बहुवानमा बुधबार बिहान यो प्रेम सम्बन्धको अन्त्य भएको छ।

२१ वर्षीय मुकेशकुमार मण्डलले ससुराली घर पुगेर २१ वर्षीया पत्नी अम्बिकाकुमारी मण्डलको हत्या गरी आत्महत्या गरेका छन्। मंगलबार राति भएको यो घटनाले गाउँ शोकमा डुबेको छ।

प्रहरीका अनुसार, विवाहको केही समयदेखि नै उनीहरूबीच खटपट सुरु भइसकेको थियो। विवाद बढ्दै गएर कुटपिटको उजुरी प्रहरीको महिला सेलसम्म पुग्यो। त्यहाँ मिलापत्र गरेर उनीहरूलाई घर पठाइएको थियो। तर, सम्बन्धमा सुधार आउनुको सट्टा झन् दूरी बढ्यो र उनीहरू अलग–अलग बस्न थाले।

मंगलबार साँझ साढे ६ बजेतिर मुकेश अचानक अम्बिकाको माइती पुगेका थिए। उनले ‘म श्रीमान् हुँ, सँगै बस्छु’ भन्दै जिद्दी गरेपछि माइती पक्षले सम्झाइबुझाई गरेका थिए। तर मुकेश नमानेपछि उनीहरूलाई एउटै कोठामा सुत्न दिइएको थियो। राति पौने ३ बजेतिर कोठाभित्र चिच्याएको आवाज सुनेर अम्बिकाकी आमा ब्युँझिइन्। उनी अत्तालिँदै ढोका ढकढक्याउन पुगिन्, तर ढोका भित्रबाट थुनिएको थियो। “झ्यालबाट हेर्दा कोठा रगतले राताम्मे भइसकेको थियो,” मोरङ प्रहरीका एक अधिकारीले भने, “अम्बिकाको ज्यान गइसकेको थियो भने मुकेश घाँटी काटिएको अवस्थामा छटपटाइरहेका थिए।”

घटनास्थल पुगेका मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवालका अनुसार प्रारम्भिक अनुसन्धानले मुकेशले चक्कु प्रहार गरी पत्नीको हत्या गरेपछि आफ्नो पनि घाँटी रेटेको देखाउँछ। “घरेलु विवादले उग्र रूप लिँदा यो बीभत्स घटना भएको देखिन्छ,” एसपी कटुवालले भने, “घटनाको प्रकृतिबारे हामीले गम्भीरताका साथ थप अनुसन्धान अगाडि बढाएका छौँ।”

बिहानै कोशी अस्पतालका फरेन्सिक डाक्टरसहितको टोलीले घटनास्थलको जाँच गरेको थियो। अहिले दुवैको शव पोस्टमार्टमका लागि कोशी अस्पताल पठाइएको छ। मन्दिरबाट सुरु भएको उनीहरूको सहयात्रा रंगेलीको एउटा सानो कोठामा रगतको टाटो बनेर टुङ्गिएको छ। नेपाल खबरबाट

झापा गोल्डकपको खेल तालिका सार्वजनिक

झापा/ सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करणको खेल तालिका सार्वजनिक गरिएको छ । आयोजक झापा गोल्डकपले  सामाजिक सञ्जालमार्फ खेल तालिका सार्वजनिक गरेको हो ।
माघ २४ गतेदेखि हुने प्रतियोगिताको खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजकको टिम झापा ११ फुटबल क्लबले नेपाल पुलिस क्लबको सामना गर्नेछ ।

त्यस्तै, माघ २५ गते त्रिभुवन आर्मी फुटबल क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुने अध्यक्ष केदार गिरीले बताए ।
त्यस्तै, प्रतियोगिताको पहिलो क्वार्टर फाइनल खेल माघ २६ गते उद्घाटन खेलको विजेता र सिक्किमको सिंग्लिङ स्पोर्टिङ क्लबबीच हुनेछ । दास्रो क्वार्टर फाइनल खेल माघ २७ गते दोस्रो दिनको विजेता र पोखराको लालीगुराँस एसोसिएसनबीच हुनेछ ।

तेस्रो क्वार्टर फाइनल खेलमा माघ २८ गते एपिएफ फुटबल क्लब र भुटानको रोयल थिम्पु कलेजले प्रतिस्पर्धा गर्नेछन् । अन्तिम क्वार्टर फाइनल खेल माघ २९ गते मछिन्द्र फुटबल क्लब र मलेसियाको एन पेनाङ फुटबल क्लबीच हुने महासचिव बुद्ध तामाङले बताए । प्रतियोगिताको पहिलो सेमिफाइनल खेल फागुन १ गते र दोस्रो सेमिफाइनल खेल फागुन २ गते हुनेछ । फाइनल खेल फागुन ४ गते हुनेछ ।
प्रतियोगिताको विजेताले नगद १५ लाख रुपैयाँ र ट्रफी पाउने कोषाध्यक्ष चन्द्रमणि कट्टेलले जानकारी दिए । त्यस्तै, उपविजेताले सात लाख ५० हजार रुपैयाँ पाउनेछ ।
प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २५ हजार रुपैयाँ पाउनेछ । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई यामाहाको एकथान मोटरसाइकल प्रदान गरिनेछ । उत्कृष्ट गोलकिपर, प्रशिक्षक र उच्च गोलकर्ताले नगद ३५ लाख रुपैयाँ पाउनेछ ।
बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा सञ्चालन हुने प्रतियोगिताको मुख्य प्रयोजक एग्रो थाई फुड्स प्रालिको उत्पादन एक्स्ट्रिम इनर्जी ड्रिंग्स रहेको वरिष्ठ उपाध्यक्ष गजेन्द्रबहादुर पौडेलले जानकारी दिए ।

गौरादहमा जन्ती लिएर फर्किएको ट्रयाक्टर पल्टिएर मृत्यु , ११ जना घाईते

दमक/ झापाको गौरादह ४ स्थित रामचन्द्रे खोलाको पूलमा बेहुला बेहुलीसहित जन्ती बोकेको ट्रयाक्टर पल्टिएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १२ जना घाईते भएका छन् ।
सोमबार साँझ करिब ७ बजे रामचन्द्रे खोलाको पुलस्थित भित्री सड्क खण्डमा कुञ्जीबारीबाट गौरादह हुँदै स्कुलचनतर्फ जादै गरेको प्र.न.१–०१–००१ त.९७२० नम्बरको ट्याक्टर आफै अनियन्त्रीत भएर पुलबाट खोलामा खसेर भएको दुर्घटनामा मोरङ रतुवामाई ८ की ३८ बर्षिया स्वस्तिका मर्डीको मृत्यु भएको हो ।

घाईते मर्डीलाई दमकस्थित निम्स हस्पिटलमा उपचारका लागि ल्याइएकोमा ७.५५ बजे चिकित्सकहरुले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटनामा सोही ठाउँकी ५० बर्षिया मुनीमती सतार रतुवामाई ५ बस्नेत बर्ष १५ की सन्तोषी किस्क, वडा नं ५ बस्ने बर्ष ६० का एतोबार मुर्मु रतुवामाई ८ कै २३ बर्षिया बिनिता मर्डी , २० बर्षिया सरिता मर्डी निजकै छोरा बर्ष ३ को गंगाराम मर्डी रहेका छन् । त्यस्तै रतुवमाई –५ की पुजा मर्डीको छोरी बर्ष ८ की मेलिना मर्डी, मोरङ सुनबर्षी नपा–२ की ३० बर्षिया शिला मर्डी, झापा गौरादह ९ बैगुनधुराका १७ बर्षिय बिजय वास्की, रतुवामाई ८ बस्ने बर्ष २६ की मिना मर्डी, पुल मर्डीको छोरी बर्ष १२ की सम्झना मर्डी समेत घाईते भएका हुन् । उनीहरुको उपचार भइरहेको जनाइएको छ । ट्याक्टर चालक रतुवामाई ५ का २५ बर्षिय चमलाल मुर्मुलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

 

विश्वप्रकाशले दमकमा आएर भने– मिडियामा नपत्याएको उम्मेदवारले चुनाव जित्दै हुनुहुन्छ

झापा/ नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सर्लाही र झापा जोडेर विपक्षीहरुले फैलाएको भ्रमलाई मतदान मार्फत झापा ५ का मतदाताले जवाफ दिने बताएका छन् ।
चुनावी दौडाहाको सिलसिलामा सोमबार साँझ झापाको दमकमा आएका नेता शर्माले पार्टी कार्यालयमा आयोजित अगुवा नेता, कार्यकर्ताहरुको भेलालाई सम्बोधन गर्दै सामाजिक सञ्जालमा झापा ५ र सर्लाही ४ लाई जोडेर आएका भ्रमपूर्ण सूचना सामग्रीमा कुनै सत्यता नरहेको प्रष्ट पारे ।

उनले यसपटक झापा ५ का मतदाताले प्रायोजित, नियोजित रुपमा चलाइएका भ्रमपूर्ण समाचारहरु, फेक न्यूजहरुलाई पनि चुनौती दिने विश्वास व्यक्त गर्दै भने– यसपटक मिडियाहरुको नजरमा नपरेको वा नपत्याएको उम्मेदवारले झापा ५ मा चुनाव जित्दै हुनुहुन्छ ।

सबैलाई भन्नु होस कि नपत्याउने खोलाले बगाउँछ । नेता शर्माले भने– कांग्रेसले १६५ वटै क्षेत्रमा उम्मेदवार उठाएको छ । कांग्रेसजन र कांग्रेसका समर्थक, शुभचिन्तकहरु कसैले पनि अरु चिन्हमा भोट हाल्न पर्दैन र हाल्ने छैनन् त्यही सन्देश दिन म अहिले दमकमा आएको हुँ ।
उनले भावी प्रधानमन्त्रीको रुपमा कांग्रेसले सभापति गगन थापालाई अघि बढाएको,देशैभर १०६ जना उम्मेदवार नयाँ अनुहार उठाएको र कांग्रेस व्यवहारमै रुपान्तरित भएर आएको पार्टी भएकाले अब कांग्रेसको विकल्प कांग्रेसनै हो भन्ने सन्देश गएको प्रष्ट पारे ।

झापाको क्षेत्र नं ५ मा नेपाली कांग्रेसले सामाजिक अभियान्ताको पहिचान बनाउन सफल महिला नेतृ मन्धरा चिमरिया पौडेललाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाएको छ । यो क्षेत्रमा एमालेका केपी ओली र रास्वपाका बालेन्द्र साह प्रतिस्पर्धी भन्दै मिडियाहरुले कांग्रेससहित अन्य दलका उम्मेदवारहरुलाई पत्रकारिताको मूल्य मान्या विपरित अवमुल्यन गरिरहेको प्रति लक्षित गर्दै नेता शर्माले यस्तो बताएका हुन् ।

पार्टी क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीको सभापतित्वमा भएको सो कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य सुरेश सुब्बा, गौरादह नगर सभापति यादवराज सेढाइँ, कमल गाउँ समिति उपसभापति पदमबहादुर निरौला लगायतले प्रतिनिधिमूलक रुपमा आआफ्नो भुगोलमा चुनावी अवस्था र गतिबिधिहरुका बारेमा रिपोर्टिङ गरेका थिए ।

विचार भन्दा व्यक्तिलाई प्राथमिकता पुँजीवादी संस्कार – विप्लव

काठमाडौँ/ नेकपा (माओवादी)  महासचिव नेत्रविक्रम चन्दले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सत्तामा पुग्ने हतारो गरिरहेका टिप्पणी गरेका छन्।

आइतवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले लोकप्रियतावादको नारा उरालेर जनतामा भ्रम छर्दै नयाँ भनिएका पार्टीहरूले सत्तामा पुग्नका लागि हतार गरिरहेको आरोप लगाए।

महासचिव विप्लवले नयाँ पार्टीहरूले विचार केही होइन, व्यक्ति भए हुन्छ भनेर पुँजीवाद संस्कार अंगीकार गरेको दावी गरे।

उनले विचार केही होइन भन्नेहरूले उपभोगवादी संस्कृतिलाई प्राथमिकतामा राखेको बताए।

विप्लवले भने, ‘विचार केही होइन, पार्टी र नेता भए हुन्छ। यो त नयाँ भन्नेहरूको सिद्धान्त हो। यो पुँजीवादीहरूको तरिका हो। पुँजीवादमा पनि अहिले यो लोकप्रियतावादको नारा हो यो। मान्छे देखाउने, अनि केही भ्रम छर्ने अनि हत्तनपत्त सत्तामा पुगेर गरिहालिन्छ भन्ने यो उपभोगवादी र लोकप्रियतावादी नारा हो।’

विप्लवले कम्युनिष्ट पार्टीहरुबीचको एकता प्रक्रियाबाट आफ्नो पार्टी पछि हटेको भनेर भ्रम छर्ने काम गरिएको प्रतिक्रिया दिए।

झापा चारका मतदातालाई बिर्सिन नसकेका देउकुमार थेवे

दमक/ आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै झापा निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार देउकुमार थेवे आफ्नै निर्वाचन क्षेत्रका गाउँघरमा पुगेर नागरिकहरुसँग साक्षात्कार गरिरहेका छन् ।
मतदाताको धारणा बुझ्ने र आफ्ना योजना सुनाउने अभियानमा नेता थेवे यो सहित तेस्रो पटकको चुनावमा उम्मेदवारका रुपमा मैदानमा उत्रिएका हुन् ।
‘चुनाव आउँछ–जान्छ, तर म सधैँ गाउँघरमै हुन्छु, नागरिकका दुःख–सुखमा साथ दिँदै आएको छु,’ उनले भने– ‘त्यसैले क्षेत्र नं ४ भित्रका गाउँ बस्ती मेरो लागि नयाँ होइनन् ।’
यसअघिको निर्वाचनमा मतदाताको पर्याप्त विश्वास जित्न नसक्दा एउटा सांसदको रुपमा आफूले चाहेको काम गर्न नपाएको स्वीकार गर्दै थेवेले एउटा सामाजिक , राजनीतिक नेतृत्व हुनुका नाताले भने सधैं क्षेत्र नं ४ कै भुगोलमा क्रियाशील रहेको स्मरण गरे । मत परिणाममा पराजित हुँदा पनि यो ठाउँलाई सधैं आफूले मन मुटुमा राखेका कारण यसपटक भने मतदाताले वास्तविकता बुझेर मतदान गर्ने विश्वास लिएको थेवेले बताए । ‘अब जनता सचेत छन्, को केका लागि उठेको हो भन्ने कुरा बुझिसकेका छन्,’ उनले भने ‘त्यसैले म ढुक्क छु ।’
उनले यसै निर्वाचन क्षेत्रमा पर्ने तत्कालिन कुमरखोद गाउँ विकास समितिमा दुई पटक अध्यक्ष भएर गरेका विकास तथा सामाजिक कामहरू नागरिकले अझै स्मरण गरिरहेको उल्लेख गर्दै कांग्रेसको संगठन यस क्षेत्रमा बलियो रहेको र कार्यकर्ताको सक्रियताले पनि आफूलाई थप आत्मविश्वास बढाएको उल्लेख गरे ।


नेपाली कांग्रेस झापाका सभापति समेत रहेका थेवेले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्नु ठूलो जिम्मेवारीको विषय भएको बताउँदै स्वास्थ्य, शिक्षा, सामाजिक सेवा र स्थानीय पूर्वाधार विकासलाई आफ्नो मुख्य चुनावी एजेन्डा बनाएको जानकारी दिए ।
घरदैलो अभियानका क्रममा मतदाताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको भन्दै थेवेले कांग्रेस परिवर्तन भएर अघि बढेको सन्देश नागरिकले बुझिसकेको दाबी गरे । ‘पदमा नरहे पनि मैले गरेको कामको मूल्यांकन जनताले गरिरहेका छन्,’ उनले भने ।
थेवे यसअघिका दुई निर्वाचनमा लगातार नेकपा एमालेका लालप्रसाद (एलपी) साँवासँगको चुनावी प्रतिस्पर्धामा पराजित हुँदै आएका नेता हुन् । तेस्रो पटक पनि यो क्षेत्रमा साँवा र थेवेबीच प्रतिस्पर्धाको अनुमान चलिरहेको छ । यो क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट पुरुषोत्तम चुँडाल (राजु) , रास्वपाका शम्भु ढकाल, नेकपा माओवादीका ताराबहादुर थापा, उज्यालो नेपाल पार्टीका सन्तोष तामाङ लगायत उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

ब्राउनसुगर र प्रतिबन्धित औषधीसहित नौ जना पक्राउ

दमक/ झापा, मोरङ र सुनसरीका बिभिन्न स्थानहरुबाट लागुऔषध ब्राउनसुगर र प्रतिबन्धित औषधी सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
झापाको भद्रपुर नगरपालिका–४मा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले सोही ठाउँका भवानी लिम्बुलाई ४ ग्राम ८१० मिलिग्राम ब्राउन सुगर सहित र बुद्धशान्ती गाउँपालिका–३का श्याम धिमाल र कविन्द्र बस्नेतलाई ६ ग्राम ६५० मिलिग्राम ब्राउन सुगर सहित इलाका प्रहरी कार्यालय काँकरभिट्टाले नियन्त्रणमा लिएको छ ।
चेजजाँचकै क्रममा मोरङको लेटाङ–३ की तारा कुमारी लिम्बुलाई २ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर सहित इलाका प्रहरी कार्यालय लेटाङले र अस्थायी प्रहरी चौकी डाम्राभिट्टाले रतुवामाई–८ का इन्द्रराज घिमिरेलाई ३०० मिलि ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । त्यसैगरी सुनसरीको इलाका प्रहरी कार्यालय धरानले धरान–१६ का राम तामाङ र संगे शेर्पालाई २२० ट्याब्लेट प्रतिबन्धित औषधी सहित, धरान–१२ का विनय राई र धरान–१९ का रुविन राईलाई ३७० ट्याव्लेट प्रतिबन्धित औषधी सहित नियन्त्रणमा लिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

 

कांग्रेस झापाको कार्यवहाक सभापतिमा भट्टराई

दमक/ नेपाली कांग्रेस झापाको कार्यवहाक सभापतिको जिम्मेवारी शेरबहादुर भट्टराईले पाएका छन् । आज आईतबार सम्पन्न पार्टीको जिल्ला कार्यसमिति बैठकले उपसभापति शेरबहादुर भट्टराईलाई कार्यबाहक सभापतिको जिम्मेवारी तोकेको हो ।
नेपाली कांग्रेसका केन्द्रीय उपसभापति विश्वप्रकाश शर्माको विशेष उपस्थिति पार्टी झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा सम्पन्न बैठकले तत्काल २१ फागुनमा प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न नहुञ्जेल सम्मका लागि भट्टराईलाई कार्यबाहक सभापतिको जिम्मेवारी दिने निर्णय गरेको हो ।
सभापति थेवे झापा क्षेत्र नं ४ बाट उम्मेदवारका रुपमा सक्रिय भएको र अर्का उपसभापति केशवकुमार पाण्डे समेत क्षेत्र नं १ मा उम्मेदवार रहेकाले पार्टी संगठनको दैनिक कार्य सञ्चालन सहज बनाउन भट्टराईलाई कार्यबाहक सभापति तोकिएको हो ।
निर्वाचनको समयमा पार्टीका प्रमुख नेताहरू उम्मेद्वारी प्रक्रियामा व्यस्त हुने भएकाले संगठनलाई सशक्त र एकताबद्ध बनाएर अघि बढाउन कार्यबाहक सभापतिको जिम्मेवारी तोकिएको नेताहरूले बताएका छन् ।
नवनियुक्त कार्यबाहक सभापति झापाको दमकका स्थायीबासिन्दा हुन् । उनले नेपाली कांग्रेस दमक नगर सभापति, क्षेत्र नम्बर–५ का क्षेत्रीय सभापति हुँदै महासमिति सदस्यको जिम्मेवारी सम्हालिसकेका छन् ।