नेविसंघ र तरुणले गरे दमकमा बृहत शक्ति प्रदर्शन

दमक/ दुई अतिवादको बिकल्पका रुपमा झापा ५ मा नेपाली कांग्रेसको तर्फबाट आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रस्तुत गरिएकी उम्मेदवार मन्धरा चिमरिया पौडेलको पक्षमा चुनावी माहोल तातेको छ ।
यो क्षेत्रमा राष्टिय राजनीतिमा चर्चा गरिएका एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वापाका बालेन्द्र साह समेत चुनावी मैदानमा उत्रिएपछि दुवैप्रति नागरिकहरुमा बढदो आशंका र वितृष्णा रहेको बुझेको कांग्रेसले स्थानीय उम्मेदवारका रुपमा चिमरियालाई अघि सारेको हो ।
वडास्तरका चुनाव प्रचार प्रसार गतिबिधिहरुमा कांग्रेस र शुभचिन्तकहरुको सक्रियताले मतदाताहरु उत्साहित बन्दै आज नेविसंघ र तरुण दलको संयुक्त आयोजनामा निकालिएको नगरस्तरीय चुनाव प्रचार र्यालीमा सहभागी भएका छन् । दमक ९ स्थित रणभुमी फुटसल मैदान नजिकैबाट शुरु भएको बृहत चुनाव प्रचार रयालीमा सयौंले सहभागिता जनाएका छन् ।
नेविसंघ नेता सुनिल राईले रयालीमा झण्डै एक हजार जना सहभागी भएर कांग्रेसको पक्षमा चुनावी माहोल बढाएका दाबी गरे । उनले भने– कांग्रेस उम्मेदवारसहितको अहिले सम्मकै यो क्षेत्रमा सबैभन्दा ठुलो जनसहभागितामा रयाली निकालिएको छ । यसले कांग्रेसको पक्षमा माहोल बढाएको र जितको बाटो खोलेको महसुस हामीले गरेका छौं ।
रयालीले दमकको अमरसिंह चोक, किराँत चोक, पशुहाट , हनुमान मन्दिर हुँदै बजार क्षेत्र प्रवेश गरेको थियो । कांग्रेसले औपचारिक चुनाव प्रचार प्रसारको अन्तिम दिन भोली दमकको ५ र ६ नम्बर वडा केन्द्रित रयालीसहित शक्ति प्रदर्शन गर्ने जनाइएको छ ।

 

दमकका बिभिन्न टोलमा पुग्दै एमाले अध्यक्ष ओली

दमक/  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज दिनभरी दमकका बिभिन्न टोलमा पुगेर स्थानीयबासिन्दासँग भेटघाटमा व्यस्त हुँदैछन् ।
झापा निर्वाचन क्षेत्र नम्बर ५ नेकपा एमाले निर्वाचन प्रचार उपसमितिका संयोजक इन्द्र भण्डारीका अनुसार दमकका बिहान ११ बजेदेखि अपरान्ह्र ५ बजेसम्म बिभिन्न स्थानमा अध्यक्ष ओलीको भेटघाट कार्यक्रम रहेको छ ।
बिहान ११ वजे पहिलो कार्यक्रम दमक ५ स्थित क्याम्पस मोडमा रहेको छ । त्यसलगत्तै सोही वडाको ज्येष्ठ नागरिक भवनमा रहेको जनाइएको छ ।
यहाँको कार्यक्रम सम्पन्न भएपछि १२ वजेदेखि वाड्न ७ को कालिका टोल र बुद्धमाया टोलमा पुग्ने कार्यक्रम रहेको छ ।
यहाँ स्थानीय मतदातासँग भेटघाट गर्नुहुनेछ ।
यस क्रममा जनताका समस्या, सुन्ने समाधानको प्रयास र उपायका बिषयमा मसिनो गरि कुराकानी हुनेछ । यसरी नै मध्यान्ह्र १ बजे वाड्न १ स्थित हिन्दु वैद्धिक सेवा समाजको सभाहलमा भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
अपरान्ह्र २ वजे दमक १० को नलवारी (पुरानो दमक १८) पुग्ने कार्यक्रम रहेको जनाइएको छ ।
यहाँ भेटघाट सकेपछि अपरान्ह्र ४ बजेदेखि वाड्न ३ को गोलाटार चौक र ओमशान्ति टोल र कुमाल टोल पुगेर आजको अन्तिम भेटघाटको कायक्रम सम्पन्न गर्नु हुने छ ।
अध्यक्ष ओलीले यो पटक आफै उपस्थित भएर स्थानीय टोलटोलमा पुगेर मतदाताका समस्या बुझ्ने र समाधानका उपायका बिषयमा छलफल गरेका छन् ।
यसले गर्दा आगामी दिनमा कुन क्षेत्रमा कस्तो प्रकारको समस्या रहेको छ भन्ने कुराको जानकारी पाएको र अव सोही बमोजिम योजना तय गरिने अध्यक्ष ओलीको धारणा छ ।
जनतासँगको भेटघाटको क्रममा बिभिन्न स्थानका फरक फरक समस्या रहेको पाइएको छ ।

कमल गाउँपालिकामा ५२८ किशोरीले लगाए एच.पि.भी. खोप

दमक/  कमल गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा सञ्चालन गरिएको विद्यालय केन्द्रित एच.पि.भी. खोप कार्यक्रम अन्तर्गत ५२८ जना किशोरीहरु लाभान्वित भएका छन् । पाठेघरको मुखको क्यान्सर रोकथाम गर्ने उद्देश्यले सञ्चालन गरिएको अभियान गाउँपालिकाका विभिन्न विद्यालयमा चरणबद्ध रूपमा सञ्चालन गरिएको थियो ।

सो खोप लगाउने लक्षित किशोरीहरुको संख्या ५०३ रहेको अनुमान गरिएको भएता पनि ५२८ जना यो सेवाबाट प्रत्यक्ष लाभान्वित भएका छन् । बिद्यालय नजाने १० वर्षको किशोरी तथा गत वर्ष छुट भएका २६ जना किशोरिलाइ एच पि भि खोप लगाइएको थियो ।
कमल गाउपालिकाको सामुदायिक र संस्थागत ३३ विद्यालयमा खोप कार्यक्रम सञ्चालन गरिएको थियो ।
विद्यालयमा खोप कार्यक्रम सञ्चालन गरेर अन्तिम दिन सवै स्वास्थ्य सस्थामा खोप कार्यक्रम सञ्चालन भएको थियो । केही विद्यालयमा १–२ जना अनुपस्थित र स्वास्थ्य अवस्थाका कारण खोप नलिएको उल्लेख भएको छ ।
कार्यक्रम अन्तर्गत लक्षित उमेर समूहका किशोरीहरूलाई कमल गाउपालिकाको सम्पुर्ण विद्यालयमै पुगेर निःशुल्क खोप सेवा प्रदान गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपक दाहालले जानकारी दिए । खोप कार्यक्रम अघि अभिभावक तथा विद्यार्थीहरूलाई एच.पि.भी. संक्रमण, पाठेघरको मुखको क्यान्सरको जोखिम तथा खोपको महत्वबारे अभिमुखीकरण समेत गरिएको उनले बताए ।

दहालका अनुसार एच.पि.भी. भाइरसनै पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण भएकाले समयमै खोप लगाउँदा भविष्यमा क्यान्सरको जोखिम उल्लेखनीय रूपमा घटाउन सकिन्छ । उच्च सहभागिताको दरले समुदायमा स्वास्थ्य सचेतना र अभिभावकको सकारात्मक सहभागिता देखाएको भन्दै गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले कार्यक्रमलाई सफल बनाउन विद्यालय प्रशासन, शिक्षक, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा अभिभावकहरूको सक्रिय सहयोग प्रशंसनीय रहेको बताए । “आजको खोप, भोलिको सुरक्षा” भन्ने सन्देशका साथ सम्पन्न अभियानले कमल गाउँपालिकामा पाठेघरको मुखको क्यान्सर रोकथाम अभियानलाई थप सशक्त बनाएको विश्वास गरिएको छ ।
तत्कालिन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलको कार्यकालमा महिलाहरुलाई भबिष्यमा हुन सक्ने पाठेघरको मुखको क्यान्सरको जोखिमबाट हटाउन बिद्यालय उमेरका किशोरीहरुलाई देशैभर यो खोप लगाउने कार्यक्रम शुरु भएको थियो ।

अमेरिकी सैन्य आक्रमणको जवाफ दिने इरानको तयारी

इजरायल र अमेरिकाले शनिबार गरेको संयुक्त सैन्य आक्रमणपछि इरानले त्यसको कडा जवाफ दिने तयारी गरेकाे छ। इरानी सरकारी सञ्चारमाध्यमहरूका अनुसार तेहरानले ‘प्रतिशोध’ का लागि आफ्नो सैन्य संयन्त्रलाई उच्च सतर्कतामा राखेको छ। अन्तराष्ट्रिय सञ्चारमाध्य सिएनएनले उल्लेख गरे अनुसार इरानले इजरायल विरुद्ध बदला लिन र ध्वंसात्मक जवाफ दिन तयारी गरिरहेको छ।

जसमा मध्यपूर्वमा रहेका अमेरिकी सैन्य आधार इलाकाहरूमा छोटो दूरीका मिसाइल प्रहार गर्न सक्ने, इजरायलका सैन्य र नागरिक क्षेत्रहरूमा मिसाइल वर्षा गराउन सक्ने। त्यस्तै समुद्री सैन्य शक्ति पर्सियन खाडी र वरपरका क्षेत्रमा रहेका अमेरिकी युद्धपोतहरूमाथि इरानी मिसाइल, साना नौसैनिक डुङ्गा र पनडुब्बीहरूले खतरा पैदा गर्न सक्ने  इरानसँग विकल्पहरु रहेका छन् ।
यस्तै इरानसँग ड्रोन हमलाका लागि अत्याधुनिक ड्रोनहरूको ठुलो भण्डार छ, जसले अमेरिकी र इजरायली सुरक्षा संयन्त्रलाई चुनौती दिन सक्छ।

इरानले आफ्नो सार्वभौमसत्तामाथि आँच पुगेको भन्दै कुनै पनि बल प्रयोगको कडा जवाफ दिने प्रतिबद्धता जनाएको छ। यसले गर्दा खाडी क्षेत्रमा पूर्णकालीन युद्ध सुरु हुन सक्ने भन्दै विश्वभर चिन्ता व्यक्त गरिएको छ।

दुर्घटनामा युवकको मृत्यु

दमक/  बिर्तामोड नगरपालिका वडा नं ४ कञ्चनजंघा स्कुल छेउमा कार र मोटसाइकल एकापसमा ठोक्किएर भएको दुर्घटनामा २५ बर्षिय एक युवकको मृत्यु भएको छ ।
शुक्रबार राती बिर्तामोडबाट शैनिक बजार तर्फ जाँदै गरेको बागमती प्रदेश–०१–०२५च ६०५० नम्बरको कार र बिपरित दिशाबाट आउँदै गरेको प्र१–०१–०१६प ३९५९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक मेचीनगर १३ चारआलीका बिशाल पौडेलको मृत्यु भएको हो । दुर्घटनामा घाईते उनलाई उपचारको लागि बि एण्ड सी अस्पताल बिर्तामोडमा पठाईएकोमा तत्काल मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मोटरसाइकल पछाडी सवार कनकाई ६ का २५ बर्षिय चन्द्रकिशोर चापागाइँ सोही अस्पतालमा उपचाररत रहेका छन । कार चालक बिर्तामोड नगरपालिका ६ का २५ बर्षिय चिराग सिन्हालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

दुई खाले अतिवादबाट सचेत रहन मतदातालाई गगनको आग्रह

पोखरा/ नेपाली कांग्रेसका सभापति गगन थापाले फागुन २१ को निर्वाचनले दुई वटा अतिवादलाई पोषित गर्ने खतरा रहेको टिप्पणी गरेका छन् । शुक्रबार पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले अतिवादबाट देशलाई जोगाउन सचेत हुन मतदाता र कार्यकर्तासँग आग्रह गरे ।

‘निर्वाचनपछिको अवस्थाले दुइटा किसिमको अतिवादलाई पोषित गर्ने खतरा छ,’ सभापति थापाले भने, ‘एउटा अतिवाद भदौ २३ र २४ घटनाको अवमूल्यन गर्छ । त्यो भएको हुँदै होइन भन्छ, त्यो केवल षडयन्त्र हो भन्छ । त्यहाँ युवाहरूको सहभागिता देख्दैन । त्यहाँ असन्तुष्टि व्यक्त भएको देख्दैन ।’

..त्यस्तै प्रकारको अर्काे अतिवाद छ । जो मौका छोपेर सिंहदरबार पनि जलाउन लगाउँछ, मौका पर्दैगर्दा आफै जेलबाट पनि भाग्छ ।’ यी दुवै अतिवाद हिजो देखेको बताउँदै उनले त्यो भोलि पनि आउनसक्ने उनले बताए ।

आगामी पाँचवर्षको समय सम्हाल्नुपर्ने उनले बताए । ‘अब कुनै पनि प्रकारको द्वन्द्व नेपालले खेप्न सक्दैन । न जातीय, न धार्मिक, न सहर–पहाडको कुनै पनि बेहोर्नसक्दैन । यो भन्दा बढी घाउ यसले बेहोर्न सक्दैन,’ सभापति थापाले भने । यसलाई सम्हालेर मिलाएर लैजानुपर्ने उनले बताए ।

‘स्कुलको पोशाकमा भएका विद्यार्थीलाई प्रहरीले केही गर्दैन’ भन्ने भ्रम कसले फैलायो? – जेनजी अभियन्ता तनुजा

जेनजी अभियन्ता तनुजा पाण्डेले भदौ २४ गतेको आन्दोलन र त्यसपछि उत्पन्न हिंसात्मक घटनालाई लिएर राज्य, सुरक्षा निकाय र आन्दोलनका नेतृत्वकर्ताहरूमाथि गम्भीर प्रश्न उठाएकी छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले शान्तिपूर्ण भनिएको आन्दोलन कसरी उग्र बन्यो र नाबालकहरूमाथि गोली चलाउने आदेश कसले दियो भन्दै सत्य सार्वजनिक गर्न माग गरेकी हुन्।

पाण्डेले शान्तिपूर्ण प्रतिबद्धताका साथ सुरु भएको आन्दोलनमा नियोजित स्वार्थ बोकेका मानिसहरूको भूमिका रहेको आशंका पनि गरेकी छन्। ‘करिब ११ बजे नै जेनजी समूहले आन्दोलनमा घुसपैठ भएको भन्दै घर फर्किन सूचना जारी गर्दा पनि माइकको पहुँचमा रहेका नेतृत्वकर्ताले किन सुनेनन्?’ उनले प्रश्न गरेकी छन्, ‘जोखिम स्पष्ट हुँदाहुँदै आन्दोलन अघि बढाउने निर्णय कसको थियो?’

ब्यारिकेड तोड्ने मनसाय नभएका मानिसहरू संसद् भवन अगाडि कसरी पुगे भन्ने प्रश्न पनि उनको छ।  शान्तिपूर्ण भनिएको प्रदर्शनको दिशा कसले बदल्यो भन्दै उनले आन्दोलनको मोड परिवर्तन गर्ने शक्तिको पहिचान हुनुपर्ने बताएकी छन्। ‘स्कुलको पोशाकमा भएकालाई प्रहरीले केही गर्दैन भन्ने भ्रम कसले फैलायो?’ उनको अर्को प्रश्न छ।

देशभर एउटै समय र संगठित रूपमा सिंहदरबार जलाउन कसले उक्सायो भन्दै उनले जवाफ माग गरेकी छन्। साथै, भाटभटेनी सुपर मार्केटमा भएको आगजनी र त्यहाँ ज्यान गुमाएका ७ जनाको विषयमा राज्य मौन रहेकोमा उनले आपत्ति जनाएकी छन्।

पाण्डेका अनुसार रास्वपा सभापति रवि लामिछानेलाई प्रहरीले सुरक्षित निकास दिए पनि त्यही दिन १० जना बन्दीहरू प्रहरीको गोलीबाट मारिएको आरोप लगाउँदै यसमा राज्यले दोहोरो चरित्र देखाएको भनेकी छन्।

कार्की आयोगको प्रतिवेदन रोकेर चुनावमा कसैलाई फाइदा पुर्‍याउन खोजिएको भन्दै आशंका व्यक्त गरेकी उनले सत्य लुकाएर गरिने चुनावलाई ‘व्यवस्थित भ्रम’ को संज्ञा दिएकी छन्। ‘गोली चलाउन लगाउने र सिंहदरबार जलाउन लगाउने दुवैको सत्य बाहिर आएपछि मात्र जनताले सही मूल्यांकन गर्न पाउँछन्,’ उनले लेखेकी छन्।

समसामयिक राजनीतिक अवस्था: चुनौती, अवसर र जिम्मेवार निर्णयको समय

नेपाल आज इतिहासकै जटिल मोडमा उभिएको छ। राजनीतिक संक्रमण, आर्थिक अस्थिरता, वैदेशिक ऋणको बढ्दो भार, शिक्षा र स्वास्थ्य क्षेत्रको कमजोर अवस्था, युवाशक्तिको पलायन, सामाजिक ध्रुवीकरण—यी सबैले राष्ट्रको आधारभूत संरचनालाई नै चुनौती दिइरहेका छन्। संविधान जारी भएको एक दशक नपुग्दै संघीय लोकतान्त्रिक गणतन्त्रले अपेक्षित स्थायित्व र सुशासन दिन नसकेको गुनासो जनतामा व्यापक छ।
विगतका दशकहरूमा विभिन्न राजनीतिक शक्ति र नेतृत्वले बारम्बार शासनको अवसर पाए। तर, जनताको जीवनस्तरमा संरचनात्मक परिवर्तन ल्याउनेभन्दा सत्ता-सन्तुलन, दलीय स्वार्थ र व्यक्तिगत लाभलाई प्राथमिकता दिएको आरोप उनीहरूमाथि लाग्दै आएको छ। अहिले फेरि त्यही पुराना अनुहारहरू नयाँ नारासहित जनतामाझ उभिएका छन्। यस्तो अवस्थामा भावनात्मक आवेग होइन, तथ्य र कार्यसम्पादनका आधारमा निर्णय गर्ने समय आएको छ।
नेपालको राजनीतिक इतिहासमा परिवर्तनको कमी कहिल्यै रहेन—नेपालमा२०४६ सालको जन आन्दोलन देखि २०६२/०६३को लोकतान्त्रिक  आन्दोलनहरूले शासन प्रणाली नै परिवर्तन गरिदिए। त्यसपछि संविधान सभा मार्फत नेपालको संविधान बनाउनका लागि २०६४ सालमा पहिलो संविधन सभा निर्वाचन मार्फत नयाँ संविधान निर्माणको प्रक्रिया अघि बढ्यो र अन्ततः नेपालीको संविधान २०७२ जारी भयो। तर संरचना परिवर्तन भए पनि राजनीतिक संस्कार र शासकीय चरित्रमा अपेक्षित रूपान्तरण हुन सकेन भन्ने अनुभूति व्यापक छ।
पटक–पटक सत्तामा पुगेका केही नेताहरूले विकासको भाषण गरे, तर परिणाम कागजमै सीमित रह्यो। सरकार फेरबदल, गठबन्धन राजनीति र सत्ताको अस्थिरताले दीर्घकालीन नीति निर्माणलाई कमजोर बनायो। राजनीतिक दलहरूभित्र आन्तरिक लोकतन्त्रको अभावले नयाँ र सक्षम नेतृत्वलाई माथि उठ्न कठिन बनायो। एउटै अनुहार फरक–फरक गठबन्धनमा देखिने पुनरावृत्तिले जनताको भरोसा क्षीण बनाएको छ।
देश आधारभूत आवश्यकतासमेत धान्न नसक्ने अवस्थामा पुगेको भन्ने जनगुनासो निराधार छैन। वैदेशिक ऋण क्रमशः बढ्दै गएको छ, उत्पादनमुखी अर्थतन्त्र कमजोर छ, आयातमा अत्यधिक निर्भरता छ, र युवाशक्ति रोजगारीका लागि विदेशिन बाध्य छन्। नेपालको अर्थतन्त्र ठूलो मात्रामा रेमिट्यान्समा टिकेको छ। हजारौँ युवा खाडी मुलुक र अन्य देशमा श्रम बेचिरहेका छन्। यसले अल्पकालीन आर्थिक राहत दिए पनि दीर्घकालीन रूपमा देशभित्रको उत्पादन, सीप र नवप्रवर्तनलाई कमजोर बनाएको छ।
छिमेकी देशहरू जस्तै चीन र भारतले विगत केही दशकमा पूर्वाधार, उद्योग, प्रविधि र शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरेका छन्। तुलना गर्दा नेपाल विकासको दौडमा निकै पछाडि परेको देखिन्छ। तर यो तुलना केवल निराशा होइन, सिकाइको अवसर पनि हो। दीर्घकालीन नीति, लगानीमैत्री वातावरण, प्रशासनिक सुधार र भ्रष्टाचार नियन्त्रणजस्ता पक्षहरूबाट नेपालले पाठ सिक्न सक्छ।
भोट दिनुअघि आफ्नै गाउँको विद्यालयको अवस्था हेर्नु भन्ने सन्देश अत्यन्त सान्दर्भिक छ। सार्वजनिक विद्यालयहरूमा गुणस्तरीय शिक्षाको अभाव, शिक्षक व्यवस्थापन र उत्तरदायित्वमा कमजोरी, पाठ्यक्रम र बजारको मागबीच असन्तुलन, ग्रामीण र सहरी शिक्षाबीच गहिरो विभेद—यी सबैले शिक्षा प्रणालीलाई कमजोर बनाएका छन्। निजी र सार्वजनिक शिक्षाबीचको खाडल बढ्दै जाँदा सामाजिक असमानता पनि बढिरहेको छ। शिक्षा सुधारका लागि शिक्षकको पारदर्शी नियुक्ति र मूल्यांकन प्रणाली, प्राविधिक तथा व्यावसायिक शिक्षामा जोड, स्थानीय तहको प्रभावकारी निगरानी र डिजिटल शिक्षाको विस्तार अपरिहार्य छन्।
अस्पतालको सेवा सम्झनुहोस् भन्ने आग्रहले स्वास्थ्य क्षेत्रको वास्तविकता उजागर गर्छ। सरकारी अस्पतालमा उपकरण र जनशक्तिको अभाव, ग्रामीण क्षेत्रमा आधारभूत स्वास्थ्य सेवाको कमी, उपचार खर्च अत्यधिक महँगो हुनु र बीमा प्रणालीको कमजोर कार्यान्वयनले नागरिकलाई असुरक्षित बनाएको छ। स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार हो, तर जब सेवा पहुँचभन्दा बाहिर हुन्छ, राज्यप्रतिको विश्वास कमजोर हुन्छ। प्राथमिक स्वास्थ्य केन्द्र सुदृढीकरण, औषधि खरिदमा पारदर्शिता, विशेषज्ञ चिकित्सकलाई ग्रामीण क्षेत्रमा प्रोत्साहन र आपतकालीन स्वास्थ्य संरचना मजबुत बनाउने नीति आवश्यक छ।
राजनीतिक लाभका लागि जातीय, क्षेत्रीय वा धार्मिक भावना उचाल्ने प्रवृत्ति समाजका लागि घातक हुन्छ। नेपाल विविधताले भरिएको देश हो र यही विविधता हाम्रो शक्ति हो। समावेशी नीति, समान अवसर, कानूनी शासन र पारदर्शी प्रशासनले मात्र सामाजिक सद्भाव कायम राख्न सक्छ।
युवा र नयाँ अनुहारहरू राजनीतिमा प्रवेश गर्दै छन्। उनीहरूसँग ऊर्जा, प्रविधि–ज्ञान र परिवर्तनको आकांक्षा छ। तर केवल नयाँ हुनु पर्याप्त छैन। नीतिगत स्पष्टता, दीर्घकालीन दृष्टिकोण, नैतिक प्रतिबद्धता र संस्थागत सुदृढीकरण अनिवार्य छन्। नयाँ नेतृत्वले भावनात्मक भाषणभन्दा स्पष्ट कार्ययोजना प्रस्तुत गर्नुपर्छ।
सबै पुराना नेता भ्रष्ट छैनन्। केही अनुभवी र इमान्दार व्यक्तित्वहरूले सीमित स्रोतका बाबजुद जनताका लागि काम गरेका छन्। अनुभव र युवाशक्तिको संयोजन नै सफल लोकतन्त्रको आधार हो। “पुराना सबै खराब, नयाँ सबै असल” भन्ने सरल निष्कर्ष समाधान होइन। मूल्यांकन व्यक्तिको काम, पारदर्शिता र निष्ठाका आधारमा हुनुपर्छ।
लोकतन्त्रमा अन्तिम शक्ति जनतासँग हुन्छ। भोट दिनुअघि उम्मेदवारको विगतको कार्यसम्पादन जाँच्नु, सम्पत्ति विवरण र पारदर्शिता हेर्नु, स्थानीय विकासको वास्तविक अवस्था मूल्यांकन गर्नु र भाषणभन्दा कामको प्रमाण माग्नु अत्यावश्यक छ। झुटा आश्वासन दिएर मत ठग्ने प्रवृत्तिलाई पराजित गर्ने शक्ति मतदातासँगै छ।
नेपाल भूराजनीतिक रूपमा संवेदनशील स्थानमा छ। दुई ठूला छिमेकीबीच सन्तुलित कूटनीति अपरिहार्य छ। राष्ट्रिय हितलाई पहिलो प्राथमिकता दिँदै आर्थिक कूटनीति सुदृढीकरण, लगानी आकर्षण र प्रविधि तथा पूर्वाधार सहकार्यलाई प्राथमिकता दिनुपर्छ।
देशलाई पछाडि पार्ने, व्यक्तिगत हितलाई राष्ट्रहितभन्दा माथि राख्ने प्रवृत्तिलाई पराजित गर्ने अवसर यही हो। परिवर्तन केवल नाराले सम्भव हुँदैन; संस्थागत सुधार, कानूनी शासन, पारदर्शी प्रशासन, उत्तरदायी नेतृत्व र सचेत मतदाता अनिवार्य छन्। हामीले आज गर्ने निर्णय भोलिको पुस्ताले मूल्यांकन गर्नेछ। यदि हामी भावनामा बगेर निर्णय गर्छौं भने परिणाम फेरि उही हुनेछ। तर यदि तथ्य, कार्यसम्पादन र इमान्दारिताको आधारमा नेतृत्व चयन गर्छौं भने नेपालले नयाँ दिशा लिन सक्छ। लोकतन्त्र केवल व्यवस्था होइन—यो निरन्तर अभ्यास हो, र देशको भविष्य प्रत्येक सचेत नागरिकको हातमा छ।हामीले बारम्बार देखेका छौँ—निर्वाचन नजिकिँदै जाँदा सडक कालोपत्रे हुन्छन्, अधुरा भवनमा रंगरोगन गरिन्छ, हतारमा शिलान्यास गरिन्छ, र जनताका घरदैलोमा पुगेर मीठा भाषण सुनाइन्छ। तर निर्वाचन सकिएपछि ती प्रतिवद्धताहरू प्रायः कागजमै सीमित हुन्छन्। विकासलाई निरन्तर प्रक्रियाको रूपमा होइन, चुनावी कार्यक्रमको रूपमा हेर्ने प्रवृत्तिले राष्ट्रलाई दीर्घकालीन रूपमा कमजोर बनाएको छ।
देशको आर्थिक अवस्था गम्भीर चुनौतीको सामना गरिरहेको छ। उत्पादन र रोजगारी सिर्जना गर्ने क्षेत्र कमजोर हुँदा आयातमा निर्भरता बढेको छ। व्यापार घाटा चुलिँदै गएको छ। वैदेशिक ऋणको भार बढ्दै जाँदा भावी पुस्तामाथि आर्थिक दायित्व थपिँदै गएको छ। ऋण आफैंमा समस्या होइन, तर ऋणको सदुपयोग नहुनु समस्या हो। यदि ऋण उत्पादनशील क्षेत्रमा लगानी भएर उद्योग, कृषि, ऊर्जा र पूर्वाधारमा रूपान्तरण हुन्थ्यो भने त्यसले दीर्घकालीन प्रतिफल दिन्थ्यो। तर योजनाबद्ध दृष्टिकोणको अभाव र भ्रष्टाचारका कारण अपेक्षित उपलब्धि हासिल हुन सकेको छैन।
कृषि, जुन नेपालको ठूलो जनसंख्याको जीवनाधार हो, अझै परम्परागत प्रणालीमा सीमित छ। युवा पुस्ता कृषिप्रति आकर्षित हुन सकेको छैन। मल, बीउ, सिंचाइ, भण्डारण र बजार व्यवस्थापनमा कमजोरी छ। कृषिलाई आधुनिकीकरण, व्यावसायिकीकरण र मूल्य शृंखलासँग जोड्न नसक्दा देश खाद्यान्नमा समेत आत्मनिर्भर हुन सकेको छैन।
उद्योग क्षेत्र पनि नीतिगत अस्थिरता, ऊर्जा आपूर्ति, लगानी सुरक्षाको अभाव र प्रशासनिक जटिलताका कारण अपेक्षित रूपमा विकास हुन सकेको छैन। वैदेशिक लगानी आकर्षित गर्ने वातावरण बनाउने कुरा भाषणमा सीमित रहँदा पूँजी पलायन र लगानीकर्ता निराशा बढेको छ।
युवाशक्ति देशको सबैभन्दा ठूलो सम्भावना हो। तर अवसरको अभावले गर्दा हजारौँ युवा विदेशिन बाध्य छन्। यसले परिवार विखण्डन, सामाजिक असर र सीप पलायन जस्ता समस्या निम्त्याएको छ। यदि देशभित्र उद्यमशीलता, प्रविधि, नवप्रवर्तन र रोजगारी सिर्जनालाई प्राथमिकता दिइन्थ्यो भने यही युवा शक्ति देश निर्माणको मेरुदण्ड बन्न सक्थ्यो।
भ्रष्टाचार विकासको सबैभन्दा ठूलो अवरोध हो। सार्वजनिक खरिद, ठेक्का प्रणाली, नियुक्ति प्रक्रिया र प्रशासनिक निर्णयमा पारदर्शिताको अभावले राज्य संयन्त्रप्रति अविश्वास बढाएको छ। भ्रष्टाचार केवल आर्थिक हानि होइन; यसले नैतिक पतन र सामाजिक अन्यायलाई पनि प्रोत्साहन गर्छ। जब इमान्दार व्यक्ति हतोत्साहित हुन्छ र अनियमितता गर्नेहरू पुरस्कृत हुन्छन्, तब प्रणाली नै कमजोर हुन्छ।
यस अवस्थामा नागरिक समाज, सञ्चारमाध्यम र न्यायपालिका पनि महत्वपूर्ण स्तम्भ हुन्। उनीहरूले निगरानी, खबरदारी र उत्तरदायित्व सुनिश्चित गर्न भूमिका खेल्नुपर्छ। तर यी संस्थाहरू पनि राजनीतिक प्रभाव र दबाबबाट पूर्ण रूपमा मुक्त हुन नसक्दा अपेक्षित प्रभावकारिता देखाउन सकेका छैनन्।
नयाँ नेतृत्वको उदयले आशा जगाएको छ। तर केवल नाराले परिवर्तन सम्भव हुँदैन। नयाँ नेतृत्वले पारदर्शी कार्यशैली, सार्वजनिक जवाफदेहिता र स्पष्ट नीति प्रस्तुत गर्नुपर्छ। डिजिटल प्रविधिको प्रयोग, खुला डाटा प्रणाली, सामाजिक लेखापरीक्षण र नागरिक सहभागिताले शासनलाई प्रभावकारी बनाउन सक्छ।
साथै, पुराना इमान्दार र अनुभवी व्यक्तित्वहरूको योगदानलाई नजरअन्दाज गर्नु उचित हुँदैन। उनीहरूको अनुभव, नीति निर्माणको ज्ञान र प्रशासनिक समझलाई समेट्दै नयाँ पुस्तासँग सहकार्य गराउनु आवश्यक छ। पुस्तान्तरण भनेको टकराव होइन, सहकार्य हो।
राष्ट्र निर्माण दीर्घकालीन प्रक्रिया हो। पाँच वर्षको कार्यकालमा सबै समस्या समाधान नहुन सक्छन्, तर सही दिशा तय गर्न सकिन्छ। त्यसका लागि स्पष्ट राष्ट्रिय प्राथमिकता आवश्यक छ—शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पूर्वाधार, सुशासन र सामाजिक सद्भाव।
मतदाता सचेत भए परिवर्तन सम्भव छ। भावनात्मक भाषण, जातीय वा क्षेत्रीय उत्तेजना, क्षणिक लोभ र व्यक्तिगत सम्बन्धभन्दा माथि उठेर राष्ट्रिय हितलाई केन्द्रमा राख्नुपर्छ। उम्मेदवारको पृष्ठभूमि, विगतको काम, सम्पत्ति विवरण, सार्वजनिक व्यवहार र नीतिगत स्पष्टता मूल्यांकनका आधार हुनुपर्छ।
यदि जनताले बारम्बार उही असफल नेतृत्वलाई जिताइरहन्छन् भने परिवर्तनको अपेक्षा गर्नु व्यर्थ हुन्छ। लोकतन्त्रमा मत नै सबैभन्दा ठूलो शक्ति हो। सही प्रयोग भयो भने यसले देशको दिशा बदल्न सक्छ; गलत प्रयोग भयो भने पछुतो मात्र बाँकी रहन्छ।
देशलाई बर्बाद पार्ने, व्यक्तिगत स्वार्थलाई राष्ट्रहितभन्दा माथि राख्ने, झुटा आश्वासन दिएर मत ठग्ने प्रवृत्तिलाई यसपटक निर्णायक रूपमा पराजित गर्न सकिन्छ। यो अवसर गुमाइयो भने फेरि वर्षौं पछाडि धकेलिन सक्छौं।
अन्ततः राष्ट्रको भविष्य कुनै एक नेता, दल वा समूहले मात्र निर्धारण गर्दैन। यो सामूहिक चेतना, उत्तरदायित्व र सक्रिय सहभागिताबाट निर्माण हुन्छ। आज हामीले गर्ने निर्णय भोलिको पुस्ताको आधार हुनेछ। त्यसैले निर्णय सोचेर गरौँ, प्रमाण र कामका आधारमा गरौँ, इमान्दार र सक्षम नेतृत्वलाई अवसर दिऔँ, र देशलाई आत्मनिर्भर, समृद्ध र न्यायपूर्ण मार्गतर्फ अघि बढाऔँ।

पूर्वमा रास्वपा सभापति लामिछानेको चुनावी दौडाहा , दमकमा बालेन्द अनुपस्थित

दमक/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अन्य राजनीतिक दलहरुकै शैलीमा पूर्व क्षेत्रमा चुनावी दौडाह गरेका छन् । लामिछानेले मंगलबार झापाका विभिन्न ६ स्थानमा आयोजना गरिएका कार्यक्रमहरूमा सम्बोधन गरेका छन् ।
बिहानै ८ बजे झापा क्षेत्र नम्बर ३ को चन्द्रगढी (महेन्द्र पार्क दक्षिण क्षेत्र) बाट सुरु भएको उनको दौडाहा झापाका मुख्य बजार चोकहरू हुँदै दिउँसो करिब १ बजे इटहरी पुगेको थियो ।
उनी बिहान ८ः४५ मा काँकडभिट्टा र इटाभट्टा, ९ बजे धुलाबारी र चारआली, तथा ९ः३५ मा बिर्तामोड, चारपाने र लक्ष्मीपुर चोकमा पुगे ।
त्यसैगरी, बिहान १०ः२० मा सुरुङ्गा, दुधे र झिलझिले हुँदै करिब ११.३० बजे दमक आएका थिए । उनले दमकमा संक्षिप्त सम्बोधन गरेर पश्चीम तर्फ लागे ।
झापाका सबै निर्वाचन क्षेत्रमा पार्टीका तर्फबाट प्रस्तुत उम्मेदवारको उपस्थितीमा सम्बोधन गरेका लामिछानेसँग देश विदेशको ध्यान खिचेको झापा निर्वाचन क्षेत्र नं ५ का उम्मेदवार बालेन्द्र साह भने देखिएनन् । यसलाई रास्वपा भित्रै र यस क्षेत्रका मतदाता र विश्लेषकहरुले विभिन्न आशंका पनि व्यक्त गरेका छन् ।
झापाका कार्यक्रमहरू सकेर लामिछाने इटहरी पुगे । इटहरीमा आयोजना गरिएको कोशी प्रदेश लक्षित सभामा लामिछानेका साथ शाहले समेत सम्बोधन गरे ।

 

तीन दिन सार्वजनिक बिदा

दमक/ सरकारले प्रतिनिधिसभा निर्वाचनका लागि फागुन २० देखि २२ गते सम्म सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगको सिफारिस अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि फागुन २० देखि २२ गते सम्म सार्वजनिक विदा दिने निर्णय गरेको हो । प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते देशैभर हुँदैछ ।