वडा बाल सञ्जालले मनायो बालमैत्री दिवस, नगरस्तरीय बक्तृत्वकला प्रतियोगीता

दमक/ दमक नगरपालिकाको ५ नम्बर वडा कार्यालय बालमैत्री वडा घोषणा भएको दोश्रो बर्ष पुरा भएको छ । बालमैत्री वडा घोषणा भएको दिनलाई वडा बाल सञ्जाल दमक ५ ले बालमैत्री दिवसका रुपमा मनाएको छ ।
यस अवसरमा वडा बाल सञ्जालले बालबालिकाहरुबीच नगरस्तरीय बक्तृत्वकला प्रतियोगीता सञ्चालन गरेको छ ।
५ नम्बर वडा कार्यालयको सहयोगमा शनिबार सो प्रतियोगीता सम्पन्न भएको हो ।
सञ्जालले दमक ५ स्थित दिपीनि आधारभुत बिद्यालयको सभाकक्षमा आयोजना गरेको प्रतियोगीतामा प्रनिसा चौहान पहिलो, परिधी शिवाकोटी दोश्रो , केनिसा सुवेदी तेस्रो र डिजायर नेपाल सान्तवना घोषित भएका वडा बाल सञ्जाल दमक ५ का उपाध्यक्ष दिवस वाग्लेले जानकारी दिए ।
बालमैत्री समाज निर्माणमा बालबालिकाको भुमिका शीर्षकमा नगर भित्रका ३० जना प्रतियोगी बालबालिकाहरुले भाग लिएका आयोजक वडा बाल सञ्जालका सहसचिव बिदुर पौडेलले जानकारी दिए ।


दमक नगरपालिकाका प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्य र वडा बाल सञ्जाल दमक ५ की सुकृति पराजुलीको अध्यक्षतामा सञ्चालन भएको सो कार्यक्रमको उदघाटन वडा सदस्य गोपालकृष्ण संग्रौलाले गरेका थिए भने कार्यक्रममा वडाका जनप्रतिनिधिहरु शोभा खतिवडा बेलबाँसे र ख्यामकुमारी परियार, नगर बाल सञ्जालकी पूर्व अध्यक्ष आकृति बस्नेत, बाल सञ्जालका पूर्व पदाधिकारी , सदस्यहरु, नगरका विभिन्न वडा बाल सञ्जालका प्रतिनिधिहरुको पनि आतिथ्य रहेको थियो ।
वडा बाल सञ्जाल सदस्य रिया आचार्यले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन बाल सञ्जालका सहसचिव पौडेलले गरेका थिए ।

सर्वोदयमा होटल मेनेजमेन्टका बिज्ञहरुसँग बिद्यार्थीले गरे अन्तरक्रिया

दमक/  दमक ५ मा सञ्चालित सर्वाेदय अंग्रेजी माविमा होटल मेनेजमेन्ट (कुलिनरी आर्ट) बिषयको अध्ययन अध्यापनका बिषयमा आज बिद्यार्थीहरुले बिषय विज्ञहरुसँग अन्तरक्रियात्मक छलफल गरेका छन् ।
सिक्ने स्कूलका रुपमा पहिचान बनाइरहेको सर्वोदयले चालू शैक्षिक सत्रदेखि कक्षा ११ मा होटल मेनेजेमेन्ट सम्बन्धि बिषयको अध्यापन गर्न लागेको सन्दर्भमा अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटीका उपाध्यक्ष समेत रहेका साइकुमार शर्माको प्रमुख उपस्थितीमा सो कार्यक्रम गरेको हो ।

सर्वोदय एजुकेशन फाउण्डेशनका अध्यक्ष अनिल सुवेदीको अध्यक्षतामा सञ्चालित सो कार्यक्रममा सर्वोदयका अतिरिक्त विभिन्न बिद्यालयका कक्षा ११ पढ्ने तयारीमा रहेका बिद्यार्थीहरु सहभागी थिए । सो अवसरमा प्रमुख अतिथी शर्माले विश्व बजारमा पाक शिक्षक (सेफ) विज्ञहरुको माग बढ्दो रहेकोले नेपाली युवा बिद्यार्थीहरु बिषयको अध्ययन गरेर र प्रयोगात्मक रुपमा आफू दक्ष हुनुपर्ने सुझाए । बिद्यालयका प्रिन्सीपल नविन योगीले बिद्यालयले पछिल्लो समय बिद्यार्थी र अभिभावकहरुको रोजाईमा पर्दै गएको कुलिनरी आर्टको बिषयमा अध्यापन गराउन लागेको बताए ।
विद्यालयले होटल मेनेजमेन्ट अर्थात कुलिनरी आर्टसँगै कम्प्युटर साइन्स विषयको समेत कोर्ष सञ्चालन गर्न लागेको योगीले बताए ।
उच्च माध्यमिक तहका विद्यार्थीलाई गुणस्तरीय तथा प्रविधिमैत्री  शिक्षा प्रदान गर्ने उद्देश्यले विद्यालयले भौतिक पूर्वाधार र दक्ष बिषय शिक्षकको क्षेत्रमा समेत लगानी बढाएको अध्यक्ष सुवेदीले जानकारी दिए ।


प्रयोगात्मक तथा सीपमूलक शिक्षालाई प्रभावकारी बनाउन अत्याधुनिक कुलिनरी ल्याब, कम्प्युटर ल्याब र विज्ञान प्रयोगशालाको व्यवस्था गरिएको बिद्यालयले जनाएको छ । विद्यार्थीको सुरक्षा र नियमित हाजिरी व्यवस्थापनका लागि च्ँक्ष्म् कार्ड तथा विद्यालयको आफ्नै मोबाइल एप सञ्चालनमा ल्याइएको छ ।
यस प्रणालीमार्फत विद्यार्थी विद्यालय प्रवेश तथा बाहिरिनेबित्तिकै अभिभावकले मोबाइलमा तत्काल जानकारी प्राप्त गर्ने व्यवस्था गरिएको विद्यालय प्रशासनले जनाएको छ ।

 

पहिलो पाइला दमक शाखाको अध्यक्षमा पुनः निरौला

दमक/  देशव्यापी सञ्जाल रहेको सामाजिक सेवामा क्रियाशील पहिलो पाइला नेपाल नामक संस्थाको दमक शाखाको पाँचौं अधिवेशनले पुनः गोविन्द निरौला (राजु)को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
शनिबार सम्पन्न अधिवेशनले उपाध्यक्षमा लवराज खड्का, सचिवमा पुजा दाहाल र कोषाध्यक्षमा विनोद अधिकारीलाई निर्विरोध निर्वाचित गरेको हो । कार्यसमिति सदस्यहरुमा तुलसा शिवाकोटी, रक्षा पाण्डे, सञ्जु शिवाकोटी, रोशन अधिकारी, दिपक पौडेल, सोनु चौधरी र नवराज अधिकारी निर्वाचित भएका छन् । संस्थाले दिवस खतिवडाको नेतृत्वमा निर्वाचन समिति गठन गरेर सो निर्वाचन प्रकृया पुरा गरेको हो ।

प्रधानन्यायाधीश सिफारिसमा मर्यादाक्रम मिचिएपछि मतभेद

काठमाडौं/   प्रधानमन्त्री बालेन शाहले सर्वाेच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको नाम सिफारिस गरेपछि संवैधानिक परिषद्मा मतभेद देखिएको छ । वरिष्ठताक्रम मिचेर सिफारिस गरिएको भन्दै परिषद्का दुई सदस्यले लिखित असहमति जनाएका छन् ।
बैठकमा प्रधानमन्त्री शाहले क्षमता र योग्यताको आधारमा शर्मालाई प्रधानन्यायाधीश बनाउनुपर्ने प्रस्ताव राखेका थिए ।
तर उक्त प्रस्तावले परम्परागत वरिष्ठताक्रम र नियुक्ति प्रक्रिया उल्लङ्घन गरेको भन्दै राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल र प्रमुख विपक्षी दलका नेता भिष्मराज आङदेम्बेले फरक मत राखेका हुन् ।
“प्रतिपक्षी र राष्ट्रिय सभाको अध्यक्षको रूपमा हाम्रो फरक मत रह्यो । विधि प्रक्रिया मिचेर हठात प्रस्ताव आएकाले सहमति जनाउन सकिएन” राष्ट्रिय सभाका अध्यक्ष दाहालले भने ।
प्रधानमन्त्रीले भने न्याय सम्पादन मात्र नभई दक्षता र विज्ञताका आधारमा शर्मालाई उपयुक्त ठहर गर्दै नाम प्रस्ताव गरेका थिए ।
नेपालको न्यायिक इतिहासमा वरिष्ठतम् न्यायाधीशलाई नछोई रोलक्रमको चौथो नम्बरमा रहेका न्यायाधीशलाई प्रधानन्यायाधीशमा सिफारिस गरिएको यो पहिलो घटना भएको बताइएको छ ।
संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएमा डा. शर्मा नेपालको ३३ औं प्रधानन्यायाधीश बन्नेछन् ।

६ वैशाख २०७६ मा सर्वाेच्च अदालतको न्यायाधीशमा नियुक्त भएका शर्मा अनुमोदन भएमा करिब ६ वर्ष कार्यकाल प्रधानन्यायाधीशका रूपमा रहनेछन् ।

सहकारीको ऋण तनिर्ने ठुला ऋणीहरुको नाम सार्वजनिक

काठमाडौं/ संघीय सरकार अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारी संस्थाका ठुला ऋणीहरूको नाममा सार्वजनिक गरेको छ।

समितिले समस्याग्रस्त घोषित १० सहकारी संस्थाका ठुला ऋणीहरूको नाम सार्वजनिक गरेको हो । समितिले अन्य समस्याग्रस्त सहकारीका ठुला ऋणीको नाममा क्रमशः सार्वजनिक गरिने जनाएको छ।

समितिले आज घेदुङ बहुउद्देश्यीय सहकारी, हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी, तपाई हाम्रो बहुउद्देश्यीय सहकारी, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी, आइडियल यमुना बहुउद्देश्यीय सहकारी, तुलसी बहुउद्देश्यीय सहकारी, नेपाल वित्तीय सहकारी, ओरियन्टल कोअपरेटीभ सहकारी , गौतम श्री सहकारी र नेपाल सहकारी वित्तीयका ठुला ऋणीको नाममा सार्वजनिक गरेको हो।

समितिले सूचना जारी गर्दै सम्बन्धित ऋणीहरूले यथाशीघ्र समितिको कार्यालयमा सम्पर्क गरी ऋण चुक्ता गर्न आग्रह गरेको छ। अन्यथा कानून बमोजिक कारबाही गरिने समितिले जनाएको छ।

इरान – अमेरिका युद्ध अन्त्यको संकेत

वासिङटन/  इरान र अमेरिकाबीच युद्ध अन्त्यका लागि एक पृष्ठ लामो दस्तावेजमा सहमति गर्ने तयारी भएको अमेरिकी सञ्चारमाध्यम एक्सियोसले जनाएको छ । 

दुई अमेरिकी अधिकारीहरुलाई उद्रृत गर्दै एक्सियोसले यस्तो समाचार प्रकाशित गरेको हो । इरानले आणविक कार्यक्रम तत्कालका लागि निलम्बन गर्ने र अमेरिकाले इरानमाथिको प्रतिबन्ध खुला गरेर पश्चिमा देशका बैंकहरुमा रोक्का भएको उसको खर्बौं डलर बराबरको सम्पत्ति खुला गरिदिने विषय सहमतिपत्रमा उल्लेख भएको एक्सियोसको समाचारमा उल्लेख छ ।  दुबै पक्ष हर्मुजको जलमार्गमा भएको अवरोध खोल्नका लागि तयार भएका छन् । एक्सियोसको समाचारमा उल्लेख भएअनुसार अमेरिकाले ४८ घण्टाभित्र यस विषयमा इरानको प्रतिक्रिया आउने अपेक्षा गरेको छ ।

तर दुबै देशले कुनै औपचारिक टिप्पणी गरेका छैनन् ।

बजेट बहस – किन बढाउने सुर्तिजन्य पदार्थमा कर ?

स्वास्थ्यवर्दक, दैनिक उपभोग्य वस्तुहरुमा कर बढाउँदा निश्चय नै उपभोक्ता मारमा पर्छन् । तर हाम्रो जनमानसमा कतिपय यस्ता वस्तुहरु छन् जो धेरैले प्रयोग गरेपनि हानिकारक देखिन्छन् । त्यस्ता वस्तुहरुमा बढाइने करले एकातिर राज्यलाई कर आम्दानी बढ्छ भने अर्कोतिर कर बढाएकै कारण महगों भएर ती वस्तुहरुको उपभोग घटेमा लत बसेकाहरुको स्वास्थ्यलाई नै फाइदा पुग्छ । त्यसकारण त्यस्ता वस्तुहरुमा कर बढाउँदा हरेक हिसावले राज्यलाई, प्रयोगकर्तालाई र समाजलाई नै बहुआयामिक फाइदा मिल्छ । त्यस्तै वस्तुहरुमा पर्छ जनस्वास्थ्यलाई प्रतिकुल असर गर्ने सुर्तिजन्य पदार्थ र मदिरा । सुर्ति, चुरोट, गुड्खा, मदिया जस्ता हानिकारक चीजहरुमा कर बढाएर महंगो बनाइदा त्यसको उपभोग घट्ने विश्वव्यापी अध्ययनहरुले देखाउँदै छन् । नेपालमा पनि पुरानो तथा अनुसन्धानका लागि प्रतिष्ठित नेपाल विकास अनुसन्धान प्रतिष्ठान (एनडिआरआई) ले यसबारे धेरै अध्ययन, अनुसन्धान र बहस गर्दै आएको छ ।
एनडिआरआईको अनुसार नेपालमा सुर्तिजन्य पदार्थमा लाग्ने करको दर हाल ४१ प्रतिशतमा सिमित छ । त्यो दक्षिण एसियामै सबैभन्दा कम दर हो । जबकि दक्षिण एसियाकै मुलुक बंगलादेशमा सुर्तिजन्य पदार्थमा ७३ प्रतिशत कर छ । बंगलादेशले विश्व स्वास्थ्य संगठन (डल्लुएचओ) ले निर्धारण गरेको मापदण्ड ७५ प्रतिशत हाराहारी सुर्तिजन्य पदार्थमा कर लगाएर एउटा उदाहरण प्रस्तुत गरेको छ । त्यसैगरी श्रीलंकामा ६८ प्रतिशत, माल्दिब्समा ६५ प्रतिशत, भारतमा ५८ प्रतिशत कर सुर्तिजन्य पदार्थमा लगाइएको छ । बेलायत र फिनल्याण्ड जस्ता विकसित देशहरुले त सुर्तिजन्य पदार्थमा खुद्रा मुल्यको ९० प्रतिशतसम्म कर लगाएका छन् । त्यसकारण नसर्ने रोगमा मृत्युदर बढीरहेको र उपचार लागत झन् अचाक्ली बढिरहेको नेपाल जस्तो कम विकसित देशमा यस्ता वस्तुहरुमा अधिकतम कर बढाउनु हरेक हिसावले बुद्धिमानी देखिन्छ ।
नेपालमा हाल सुर्तिजन्य पर्दाथमा लगाइएको ४१ प्रतिशत करमा ६० प्रतिशत बृद्धि गरिने हो भने १२ अर्ब थप राजस्व बृद्धि हुने अध्ययनले देखाएको छ । सो दरमा कर बृद्धिले सुर्तिजन्य पर्दाथको ५ देखि ११ प्रतिशतसम्म प्रयोग घट्ने एनडिआरआईको अध्ययनले देखाएको छ । हानिकारक वस्तुको रुपमा रहेको सुर्तिजन्य पर्दाथमा कर बढाउँदा एकातिर सरकारको राजस्व आम्दानी बढ्ने र अर्कोतिर त्यस्ता वस्तुहरुको प्रयोग घटेर जनस्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने कारण पनि कम्तिमा अहिलेको करको दरमा ६० प्रतिशत कर बढाउनु पर्ने एनडिआरआईको सिफारिस छ ।
एनडिआरआईका अनुसार सुर्तिजन्य पदार्थकै सेवनका कारण हरेक बर्ष नेपालमा ३९ हजार २ सय जनाले मृत्युवरण गर्ने गरेका छन् । अर्थात प्रतिदिनन १०७ र प्रतिघण्टा ४ जना नेपालीलले सुर्तिजन्य पदार्थकै कारण मृत्युवरण गर्छन् ।
विश्वमा हाल १ अर्ब ३० करोड बढी मानिस सुर्तिजन्य पर्दाथको लतमा छन् । त्यसमध्ये ८० प्रतिशत भन्दा बढी मानिस कम र मध्यम आय भएका देशहरुमा बस्ने अध्ययनहरुले देखाएका छन् । नेपालमै पनि ६७ लाख मानिस सुर्तिजन्य पर्दाथको सेवनकर्ता छन् । पछिल्ला बर्षहरुमा नेपालमा मृत्यु र रोगहरुको लागि सुर्तिजन्य पर्दाथ एक प्रमुख कारण बन्दै आएको छ । नेपालमा सुर्तिजन्य पदार्थको सेवनबाट हुने मृत्यु सन् १०९० मा १० प्रतिशतबाट बढेर सन् २०२३ सम्म आइपुग्दा २४ प्रतिशतको बृद्धि भएको छ । जसले जनस्वास्थ्यमा चिन्ता, चासो र सरोकार बढाउनु पर्ने आवश्यकता दर्शाएको छ ।
सुर्तिजन्य पदार्थको सेवनबाट लाग्ने क्यान्सर, मुटु तथा फोक्सो सम्बन्धी रोग लगायतको कारणबाट ग्रसित व्यक्तिको उपचारमा अधिक खर्च हुने अध्ययनले देखाएको छ । अझ क्यान्सर लागे त निको हुन्छ नै भन्ने ग्यारेन्टी हुदैन ।
नेपालमा धुम्रपानका कारण प्रति वर्ष झण्डै ४८ अर्ब क्षती हुने गरेको अध्ययनले देखाएको छ । यसरी सुर्तिजन्य पदार्थको सेवनबाट बार्षिक अरबौको आर्थिक क्षती त प्रत्यक्ष रुपमा छदैँछ । यसले अप्रत्यक्ष रुपमा मुलुकलाई खरबांैको क्षती गराएको छ । सुर्तिजन्य पदार्थको सेवनको लत सामान्यतया १५–१९ बर्षको उमेर अवस्थामा लाग्ने र त्यसरी लत लागेकाहलाई लतबाट छुटाउनै मुस्किल पर्ने पनि अध्ययनले देखाएको छ । त्यस हिसावले एकचोटी कुनै ब्यक्ति सुर्तिजन्य पर्दाथको सेवक भइसकेपछि उ यस्ता पर्दाथको जिवनभर नियमित ग्राहक जस्तै हुने देखिन्छ । त्यसले निरन्तर अर्थतन्त्रमा कति गहिरो असर पार्छ, अनुमान लगाउन सहजै सकिन्छ ।
अर्को व्यक्तिको स्वास्थ्य स्थीतिमा सुर्तिजन्य पर्दाथले अत्याधिक हानि–नोक्सानी गरिरहेको हुन्छ । व्यक्तिको काम गने क्षमता घटाउनुका साथै उत्पादकत्व घटाइरहेको हुन्छ । देशको अर्थतन्त्रलाई नै अप्रत्यक्ष क्षती पुगिरहेको हुन्छ ।
त्यसकारण पनि सुर्तिजन्य पर्दाथमा सरकारले कर बढाउनु अत्यन्तै जरुरी छ । संसारको उदाहरणहरु हेर्दा पनि त्यस्ता चीजहरुको सेवन घटाउने एउटा मुख्य उपाय कर बढाइदिने हो ।
अहिले बजेट बन्ने प्रक्रिया चलिरहेको छ । विद्धवान अर्थमन्त्री स्वर्णिम वाग्लेले सरोकारवालाहरुसँग सुझाव पनि मागेका छन् । यस बखत अर्थमन्त्री तथा अर्थमन्त्रालयले सुर्तिजन्य पर्दाथले देशलाई पुर्याइरहेको क्षती र जनस्वास्थ्यलाई मध्यनजर गर्दै करको दरमा परिमार्जन गर्न जरुरी छ । सुर्तिजन्य पर्दाथमा कर बढाउँदा एकातिर दुखी गरिवको पहँचबाट यस्ता हानीकारक चीज टाढा पुग्छन् । साथै, यसले राज्यको राजस्व कोष समेत बलियो बनाउन सहयोग गर्दछ ।
हाल नेपालमा कुल जनसङख्याको झण्डै ३० प्रतिशत मानिसले सुर्तिजन्य पर्दाथको सेवन गर्ने भएकाले त्यसलाई घटाउन पनि करवृद्धि स्वभाविक छ । नेपालमा पनि सुर्तिजन्य पर्दाथमा बंगलादेशमा झै ७० प्रतिशत माथी पुर्याउन सके झनै राम्रो ।
विकसित देशहरुमा मिहिन ढंगले अनुसन्धान भएर सुर्तिजन्य पर्दाथको सेवन घटाउने प्रयास सुरु भएका देखिन्छन् । नेपाल जस्तो विपन्न देशले पनि यस्ता कुरामा विचार पुर्याउन जरुरी छ ।
विगत बर्षहरुमा सुतिजन्य पदार्थहरुमा अत्यन्तै झिनो मात्रामा कर बढाइयो । फलस्वरुप जनताको क्रय क्षमताले पनि धानिरहेको कारण यसको सेवन घटेन । तर यदी यसमा रामै्रसँग कर बढाइने हो भने सुर्तिजन्य पर्दाथको प्रयोगकर्ता घट्नेमा दुईमत छैन । अन्र्तराष्ट्रिय प्रयोगहरुले पनि त्यही देखाएको छ ।
राज्यले नागरिकलाई स्वस्थ बनाउने कुरामा जोडदिनु पर्छ । बजेट बनाउने कुरा होस् अथवा मन्त्रालय चलाउने कुरा होस् त्यो आखिर आम नागरिकका लागि हो । त्यसकारण जनस्वास्थ्यको विषयलाई सम्बोधन गर्नु राज्यको कर्तब्य नै हो । जनता स्वस्थ रहे भने मुलुकको स्वस्थ्य हुने हो । अनि न मुलुकले आर्थिक लगायतका विविध क्षेत्रहरुमा प्रगती गर्ने हो । त्यसकारण सुर्तिजन्य पदार्थ मात्रै नभएर विषाक्क्त उत्पादन, मदीरा सबैको उपभोग घटाउने हिसावले सरकार अघि बढ्नुपर्छ । सिमित आसेपासे, व्यापारी वा कमिसनखोरलाई हित हुनेगरी होइन् । आम नागरिकलाई केन्द्रमा राखेर बजेटका करका दरहरु थपघट हुनुपर्छ ।
कतिपयले के पनि तर्क गर्न सक्लान् भने नेपालमा चरोट, सुर्तीमा कर बढाउँदा भारतबाट अवैध व्यापार बढ्न सक्छ् । तर त्यो तर्कमा कुनै दम छैन । किनकी भारतमै नेपालमा भन्दा बढी कर सुर्तीजन्य पर्दाथमा छ । त्यो उसले अझै बढाउँदै लगेको पनि छ । त्यस हिसावले पनि नेपालले निधक्क रुपमा चुरोट, सुर्तीजन्य पदार्थमा कर बढाउन बुद्धिमानी हुन्छ । बजेटको नीति कार्यक्रममै सुर्तिजन्य पदार्थको सेवन तथा व्यापारलाई निरुत्साहित पार्न विशेष कार्यक्रम समाहित गर्न जरुरी छ । जसले नेपालको अर्थतन्त्रमा प्रत्यक्ष वा परोक्ष रुपमा दिर्घकालिन हिसावले सकारात्मक प्रभाव पार्दछ । जनस्वास्थ्य तथा मुलुकको अर्थतन्त्रमा विगत कयौं बर्षहरुबाट पर्दै आएको क्षतीलाई कम गराउन सहयोग गर्दछ ।
गौतम आर्थिक लेखक तथा विश्लेषक हुन् ।

गोकुल श्रेष्ठ दोस्रो पटक नेपाल उद्योग वाणिज्य महासंघमा निर्वाचित

काठमाडौं /  नेपाल उद्योग वाणिज्य महासंघको मंगलबार काठमाडौंमा सम्पन्न निर्वाचनबाट झापा दमकका व्यवसायी नेता गोकुल श्रेष्ठ दोस्रो कार्यकालका लागि केन्द्रीय कार्यकारिणी समिति सदस्यमा निर्वाचित भएका छन्।

दमक उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं सल्लाहकारसमेत रहेका लोकप्रिय युवा व्यवसायी श्रेष्ठले उक्त पदका लागि खसेको १२९ मतमध्ये ९७ मत प्राप्त गर्दै विजयी भएका हुन्।

दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईंका अनुसार अन्य पदहरूको मतगणना जारी रहे पनि केन्द्रीय कार्यकारिणी समिति सदस्यतर्फको गणना सम्पन्न भई नतिजा सार्वजनिक भइसकेको छ।

लोकतान्त्रिक उद्योगी व्यवसायीहरूको समर्थन पाएका श्रेष्ठलाई दमक उद्योग वाणिज्य संघले आधिकारिक उम्मेदवारका रूपमा अघि सारेको थियो। उनको जितका लागि कोशी प्रदेशसहित देशभरका उद्योगी व्यवसायी नेताहरू केही दिनदेखि काठमाडौंमा केन्द्रित भई चुनावी अभियानमा सक्रिय रहेका थिए ।

श्रेष्ठको पुनःनिर्वाचनले दमक क्षेत्र मात्र नभई समग्र कोशी प्रदेशका उद्योगी व्यवसायीहरूमा उत्साह थपिएको छ।

धरमपुर सहकारीले मनायो १७औँ स्थापना दिवस

झापा/ धरमपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न भएको छ। शिवसताक्षी–१ स्थित धरमपुरमा आयोजित कार्यक्रम अन्तर्गत रक्तदान, प्रहरी बिट हस्तान्तरण तथा सम्मान कार्यक्रम सम्पन्न गरिएको हो।

स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा १३ महिला र २७ पुरुष गरी जम्मा ४० जनाले रक्तदान गरेका थिए।

त्यसैगरी, जेन्जी आन्दोलनका क्रममा तोडफोड भएको प्रहरी बिट पुनर्निर्माण गरी शिवसताक्षी–१ धरमपुर चौकमा इलाका प्रहरी कार्यालय झिलझिलेलाई हस्तान्तरण गरिएको छ। प्रहरी बिट नारायण प्रसाद पौडेललाई औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो।

कार्यक्रम सहकारीका अध्यक्ष कुमार संकरको अध्यक्षतामा सम्पन्न भएको हो भने प्रमुख अतिथिका रूपमा जिल्ला बचत तथा ऋण सहकारी संघ झापाका सचिव बिनोद ढकालको उपस्थिति रहेको थियो। साथै संस्थाका पदाधिकारी, सञ्चालक सदस्य, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार, उपसमिति संयोजक तथा सदस्यहरू र शेयर सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा दमकका इन्चार्ज ओमा श्रेष्ठ, प्रमुख सिद्धार्थ दाहाल लगायत प्राविधिक टोलीको उपस्थिति रहेको थियो।

यसै अवसरमा विभिन्न विधामा सम्मान समेत गरिएको छ। उत्कृष्ट बचतकर्तातर्फ भिमबहादुर थापा, फुलकुमारी चेम्जोङ्ग र कुमारी लिम्बुलाई सम्मान गरिएको छ भने असल ऋणीका रूपमा दीपक श्रेष्ठ, देवेन्द्रकुमार आङदेम्बे र शान्ता खापुङलाई सम्मान गरिएको सहकारीले जनाएको छ।

संसद् अधिवेशन वैशाख २८ मा

काठमाडौं/ सरकारले आगामी वैशाख २८ गते सोमवारदेखि सङ्घीय संसद्को अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले वैशाख २८ गते अधिवेशन आह्वान गर्नेगरी राष्ट्रपति समक्ष सिफारस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले बताए ।

मन्त्री पोखरेलले वैशाख २८ गते संसद अधिवेशन आह्वान गरिएको जानकारी दिनुभयो । यसअघि वैशाख १७ गते अधिवेशन बोलाउने सिफारिस गरिएको थियो ।

राष्ट्रपतिबाट अधिवेशन आह्वान भइसकेको भएपनि सरकारले पुनः स्थगित गरी वैशाख २८ गते बोलाउने निर्णय गरेको हो । यो अवधिमा सरकारले केही अध्यादेश ल्याएको छ ।

राष्ट्रपतिबाट अध्यादेश जारी भएसँगै सरकारले नयाँ मितिमा संसद् अधिवेशन आह्वान गर्ने निर्णय लिएको हो ।

कनियमित प्रक्रियाअनुसार राष्ट्रपतिले सरकारको सिफारिसमा संसदको अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था रहेको छ ।